मेथीबारीको चोकमा हाकु फल्चा बाटाको बिचमा नरुचाइएको पाहुनाजस्तै बसिरहेछ । मलाई यो चोक निकै जटिल स्थान लाग्छ, चालकको दृष्ट्रिले हेर्दा तर हरेक बिहान त्यो चोकबाट अगाडि बढेर नै मात्र मेरो दैनिकी सुरु हुन्छ । एक दिन म मोटरसाइकलमा त्यहीँबाट अगाडि बढ्दै थिएँ । केही दूरी पार गरेपछि मेरो अगाडि एउटा स्पेल्न्डर प्लस गुडिरहेको देखेँ । खरानी रङ्गको ब्यागकभरले आफ्नो पिठ्युँको ब्याग छोपेको त्यो चालक युवक चौबिस–पच्चिस वर्षको जस्तो देखिन्थ्यो । ऊ पनि म जस्तै जीवनको खोजीमा हिँडिरहेको हो भनी म अनुमान लगाउन सक्थेँ ।
सुगठित शरीरको धनी त्यो मानिस होसियारजस्तो देखिन्थ्यो । उसको ड्राइभिङ सलल बग्ने किसिमको, रोमाञ्चक थियो । त्यसो त सडकमा गुडिरहदा एक अर्कातिर ध्यान जानु त्यति राम्रो त मानिँदैन तैपनि म चाहिँ सकेसम्म ठुलो तस्बिर मनमा उतार्न खोज्नेहरूमध्ये पर्दछु र त त्यो दिन पनि म ढिलो गतिमा मनमा विभिन्न चिन्तनको चित्र बनाउँदै हिँडिरहेको थिएँ । बिहानीको उत्तरार्द्धमा पनि चिसो हावा बहिरेहेको थियो र आकाशमा बादलले डम्म भरिएको थियो – खुलेको थिएन । द्विविधा सबैतिर व्याप्त भएझैँ लाग्थ्यो : एकातिर गर्मीमा चिसो हावाले मन फुरुङ्ग पारेको थियो भने अर्कातर्फ दिउँसोसम्म वर्षा हुन्छ कि भन्ने झिनो तर्कना मनमा छिरेको पनि थियो । यो तर्कनाले नै मन अमिलिन्छ । बेमौसमको पानीले बाटो हिलो गराउँछ, नौ थरीका भाइरसलाई शरीरमा घुसाएर ज्वरो निकालिदिन्छ, अनि नभएको हिलो बाटामा जम्मा हुन्छ र सुक्नेबित्तिकै पक्की बाटामा पनि धुलो उड्न थाल्छ । शीतल हुने भए तापनि वर्षाले गराउने नकारात्मक कुराहरूप्रति नै मन गयो आज ।
त्यसै समयमा अगाडि एक जोडी भँगेरा उडेर अकस्मात् छेवैको घरको छतबाट एकाएक कालो पत्रे बाटामा हावामा डुबुल्की मारेझैँ गरी आएको देखेँ । एउटा भँगेराले भँगेरीलाई पछ्याइरहेको झैँ लाग्यो । भँगेराले भँगेरीको पुच्छरमा के छुन मात्रै लागेको थियो त्यो स्पेल्न्डर प्लसको अगाडिको टायर उसको ढाँडबाट कुद्यो । भँगेरा त्यही सडकमा लिपियो । पखेटाका छेउबाट रगत बग्यो । अत्तालिएकी भँगेरी हाकु फल्चाको दिशा पूर्वतिर उडी । त्यो मोटरसाइकल केही नभएको जस्तो गरी सलल आफ्नै गतिमा अगाडि बढ्यो । मेरा पैतालाबाट एक किसिमको चिसोपना पूरै शरीरलाई जिरिङ्ग गराउँदै ढाँडतिर लाग्यो । गोडाबाट पसिना आएर ब्रेकमा भएको गोडा जुत्ताभित्रै चिप्लिएलाझैँ लाग्यो । एकै क्षणमा मेरो जमिन नै हल्लिएजस्तो लाग्यो । मेरो मोटरसाइकलको गति त्यति धेरै थिएन । त्यस्तै तिस किलोमिटर प्रतिघण्टा जति हुँदो हो तर पनि मलाई आफूलाई र आफू बसेको यन्त्रमाथि नियन्त्रण कायम राख्न हम्मे-हम्मे परिरहेको थियो ।
त्यो व्यस्त सडक हो : इँटा बोक्ने ससाना ट्रकहरूदेखि औद्योगिक प्रयोजनका लागि ठुला-ठुला ट्रकहरूसम्म गुडिरहन्छन् त्यहाँ । त्यस्तै निर्माण सामग्री बोक्ने ट्रिफरहरूको सबैभन्दा ठुलो डर हुन्छ त्यस्ता छोटा, चौडा सडकमा । मैले आफूलाई सडकछेउतिर लगेँ र मोटरसाइकलको गति पन्ध्र–सोह्र किलोमिटर प्रतिघण्टाको औसतमा ल्याएर सम्हालेँ । मनले त सडकछेउमा रोकेर एक क्षण आराम गर्न पनि आदेश दिएको हो । शरीरले मानेन । तथापि पेटको तल्लो भागबाट वाकवाकी गर्न मन लागेको काउकुती लाग्न पुग्यो । त्यो तरङ्ग पेट र छातीको बिचमा आइपुग्दा कतै भित्र दुख्ने गरी केहीले पोलेको जस्तो भयो । सडकमा टासिएको छिर्केबिर्के खैरो, कालो पखेटा भएको त्यो भँगेरा र हाकु फल्चातिर बिलाएकी त्यो भँगेरीलाई सम्झेँ; आँसु नझरे तापनि मेरो शरीर अझै स्थिर हुन सकिरहेको थिएन तर खै कुन भाव मनमा पलायो, अहिले मैले शब्दमा समात्न सकिरहेको छैन् । त्यो विशेष भावले मलाई भन्यो, त्यो अगाडिको मोटरसाइकलको पिछा गर । मैले आफ्नै मनलाई जबाफ दिएँ, हुन्छ । मैले गेयर बढाएँ, एक्सलेटर बटारेँ, र हुइकिएँ त्यो हत्यारा मोटरसाइकललाई पिछा गर्दै । मलाई त्यसलाई केही भन्नु थियो––सायद, केही हिसाब मिलाउनु थियो ।
केहीबेरमा नै म त्यो मोटरसाइकलको पछाडि पुगेँ । हर्न मारेँ, पटक-पटक । मैले रोकेर नै कुरा गर्न मन गरेको थिएँ । हो, त्यो गम्भीर कुरालाई हल गर्नका लागि हामीले केही समय दिनुपर्ने थियो । मलाई त्यस्तै लाग्यो । एक प्रकारले भन्ने हो भने मलाई किन, किन भित्रभित्रै आक्रोशको भाव उत्पन्न भइसकेको थियो । मैले सुस्पष्ट रूपमा त्यो संवेगको कारण त शब्दमा अनुभूत गर्न सकेको थिइन तैपनि हृदयको चाल बढेको महसुस गरिरहेको थिएँ । त्यो शान्त कोठामा मध्यरात्रि घडीले निकाल्ने टिक–टिक–टिक गर्ने आवाज जसरी बढ्दै जान्छ त्यसरी नै मेरो छातीमा एउटा चाल बढी रहेको थियो । म दुवै कानले त्यो आवाजलाई हेलमेटभित्र सुनिरहेको थिएँ । त्यो चालकले मेरो हर्नप्रति कुनै प्रतिक्रिया दिएन । उसले बेवास्ता गरिरह्यो । ऊ आफ्नै गतिमा अगाडि बढिरह्यो, मानौँ कुनै पनि कुराले उसलाई कुनै असर नै गरेको थिएन । यसरी कुनै घटना नै नघटेजस्तो गरेर उसले मलाई बेवास्ता गर्दा मेरो रिसको पारो स्वभावतः निकै माथि चढ्यो । मैले गेयरलाई माथिल्लो अङ्कमा लगेँ र एक्सलरेटरलाई बटारेँ । बल्ल भेट्टाएँ । अब म ऊसँगै समानान्तर रूपमा बाटामा केही महिनाअगाडि आगाले ध्वस्त पारेको यति कार्पेटको फ्याक्ट्रीअगाडि मेरो सवारीमा गुडिगरेको थिएँ ।
“त्यो भँगेरा मऱ्यो नि !” मैले उत्तेजना र विस्मयको भावमा उसलाई बताएँ । त्यो वाक्यमा उत्तेजना र क्रोधको अंशभन्दा विस्मय नै भारी थियो । वास्तवमा म उसको अगाडि रिस देखाउन चाहन्थेँ, झगडा गर्न चाहन्थेँ, उसलाई थर्काउन चाहन्थेँ । त्यो सडकमा पूर्णतः टाँसिएको भँगेराको आत्मालाई ग्रहण गरेर म त्यो वियोगको बदला लिन चाहान्थेँ । खै के भयो, मैले बुझ्न सकिनँ । मेरो आवाजमा मैले खोजेको कठोरता थिएन । मलाई यो वाक्य बोल्नेबित्तिकै आफ्नो शक्ति क्षीण भएको आभास भइसकेको थियो । मैले जे भन्न चाहेको थिएँ, त्यो शब्द नै निस्केन, त्यो अर्थ नै प्रकट भएन । वा मैले जे भन्नु पर्ने थियो, त्यो कुरा नै मेरो मस्तिष्कले सृजना गर्न सकेन । मेरो मनको भाव स्वरमा प्रकट हुनबाट केहीले घाँटीमा नै रोकेजस्तो लाग्यो । म जे भन्न चाहन्थेँ, जे देखाउन चाहन्थेँ, त्यो हुँदै भएन ।
मलाई सबैभन्दा बढी पीडा भएको थियो, त्यस बखत । प्रेमले रोजेको एउटा उडान र प्रेमले खोजेको एउटा गन्तव्य अनुभूत हुने क्षणमा त्यो मोटरसाइकल र त्यसको चालकले एउटा निर्मम कृत्य गरेका थिएँ । त्यो उत्तर फर्केको हाकु फल्चा र त्यसको पश्चिम तिरको हाकु–फो–हिटीचा चुप रहन सक्छन् । त्यो मेथीबारीमा भएका ती जड घरहरू शान्त बस्न सक्छन् तर प्रेमको त्यो सुखमाथि परेको त्यो निर्लज्ज वज्रपातले म विक्षिप्त भएँ । त्यो प्रेमिल क्षणमा हुन पुगेको वियोग नै हाम्रो समयको सबैभन्दा ठुलो विरोधाभास हो भन्ने लाग्छ मलाई अहिले । विज्ञान, तर्कले यन्त्र त दियो तर त्यसले सुखमाथि गरेको निर्मम प्रहार सहन सक्ने भन्दा कैयौँ गुणा ठुलो पाउँछु ।
त्यसभन्दा पनि ठुलो कुरा त्यो अत्तालिएकी भँगेरीका आँखामा मैले जीवनको प्रतिविम्ब देखेको जस्तो भान भएको थियो । त्यो भँगेरी मेरो दाहिने कुमभन्दा केही अङ्गुलमाथिबाट नै उडेर हाकु फल्चातिर गएकी मैले देखेको थिएँ । केही निमेषभरमा त्यो घटना स्थलबाट त्यो अलप भई । त्यसले देखेको सपना स्पेल्न्डर प्लसको टायरमुनि थिचियो । मैले उसका साना पखेटाले हावाको तरङ्ग पैदा गर्दा मिसिएको उसको हृदयको संवेगलाई दाहिने गालामा, नाकको टुप्पामा हावाको झोक्कासँगै महसुस गरेको थिएँ । हो, त्यहाँ एउटा चीत्कार थियो, वियोगको । अपेक्षित एउटा विरोधीभाव अनुभव गर्नुको पीडाको बोध थियो । एउटा स्वर्गको प्राप्तिको पलबाट च्युत भएर अपार दुःखको सागरमा चुर्लुम्म हुनुको अनुभव थियो । हो, त्यही दुःखको एउटा छर्काले मलाई पनि लाग्यो, कतै भित्रसम्म छोयो ।
एउटा झिनो, तुवाँलोको क्षितिजमा हराउने किसिमको अस्पष्ट विचारले मलाई त्यस बखत घेरा हाल्यो : त्यो विकृत भाव उत्पन्न मेरो मस्तिष्कमा ती चराको प्रेमको भाव छिर्न पुग्यो । त्यो बिचरी चरीमा बिहानीको कुनै क्षण कतै विचरण गर्दै गर्दा प्रेमको भाव विकाश भयो र उनीहरूले आफ्नो प्रेमलाई मूर्त रूप दिनुभन्दा अगाडि आकाशमा केही पूर्व तयारीका उडान मार्न व्यस्त भए । उनीहरूले भक्तपुरको सुन्दरता वा कुरूपता केही पनि देखेनन् । भँगेराले भँगेरीलाई देख्यो, भँगेरीले भँगेरालाई देखी । उनीहरू सल्लाघारीको जङ्गलमाथि केही क्षण नाचे । हो, केही बेरअगाडि सल्लाघारीको चौर, कटुन्जेको बस्ती, सुवर्णेश्वरको डाँडा, पाइलट बाबाको सोमनाथको मन्दिरलगायत हनुमन्ते खोला तर्दै यतातिर तानिएका थिए तिनीहरू । एक हजार सुन्दर फूल, आरूका पालुवा, सल्लाका सुसेली, बैसका चिल्ला हरिया पातहरू र चौडा चौरका बुकी फूलहरूले पनि उनीहरूलाई रोमाञ्चक उडानबाट अन्यत्र तान्न सकेनन् । तिनीहरूले बाधा हाल्न यत्न नगरेका भने होइनन् । सबै उडान भर्ने चराहरू कुनै न कुनै बहानामा त्यता ओर्लिन्छन् । केही बेर अलमलिन्छन् । अनि फेरि आफ्नो गन्तव्यको पहिचानमा उड्छन् ।
अर्काप्रति आफ्नो हृदयमा उम्लिरहेको भावमा सम्पूर्ण रूपमा उनीहरूले आफैँलाई बिर्सिसकेका थिए । अगाडिको सुन्दर संसारमा के छ वा के छैन भन्ने कुनै कुराको मतलब उनीहरूलाई थिएन । त्यो भँगेरालाई उसको उडानको पृष्ठभूमिमा आकाश छ वा पानी छ भन्नेसम्म पनि याद थिएन । एउटा स्वर्गलाई उसले पछ्याइरहेको थियो । एउटा सुखको कल्पनामा उसको उडान टिकेको थियो । हो, उसको सम्पूर्ण दृष्ट्रि भँगेरीप्रति केन्द्रित थियो । उसको सम्पूर्ण रोमाञ्चक भावको स्रोत नै त्यही भँगेरी थिई । उसको हृदयको ब्याट्री त्यही भँगेरीलाई हेरेर रिचार्ज भइरहेको थियो । भँगेरी पनि आफ्नो शरीरमा उत्पन्न मधुर ऊर्जालाई अनुभूत गर्दै उडानको क्रममा पिछा गरिरहेको भँगेराको मोहक र वाञ्छित उपस्थितिलाई मुटुले नाप्दै रोमाञ्चित हुँदै थिई । उसले पनि युगौँदेखि यो उडान चाहेकी थिई, यसको कल्पना मनमनै गरेकी थिई र आज यो उडान सँगसँगै भर्दाको माधुर्यले लट्ठ भएकी थिई ।
आफ्नो शरीरमा आएको भावनात्मक परिवर्तन र एउटा रुमानी कामनाले पूर्ण रूपमा समय र परिस्थितिको बन्धनबाट मुक्त अनुभव त्यो जोडीले गरिरहेका थिए । समयको यही अंशलाई सायद मुक्तभावको आनन्द भनिन्छ होला । परन्तु भौतिक परिस्थितिहरू सधैँ मुक्तभावको आनन्दको पक्षमा हुँदैनन् । संसार सधैँ परम इच्छाले मात्र निर्देशित हुँदैन् । परम इच्छा वा परमेश्वरको उपस्थिति यस संसारको अन्तर्यमा हुने हो भने त्यस्तो अस्तित्व कुनै पनि प्रकारको आनन्दको परिस्थितिमा प्रतिकूल हुन सक्दैन । परम इच्छा वा परमेश्वरमा विवेक हुन्छ । हामीले मान्ने त्यस्तै हो । सर्वव्याप्त त्यस्तो विवेकले विभेद गर्न सिकाउँछ, कुनै कुरा हुन वा नहुन बाध्य पार्न सक्दछ । कुनै परिस्थितिलाई आनन्दको पक्षमा निर्माण गर्न वा आनन्दलाई पक्षपोषण गर्ने परिस्थिति सृजना गर्न सक्दछ । हो, त्यस्तो विवेकको उपस्थितिको कामना मैले गरेको छु, स्तुति गरेको छु तर मेरो कामना र स्तुतिको नियतिको अगाडि के अर्थ छ र? मैले अनेकौँपटक यो प्रश्नलाई मनमा खेलाएको छु, छामेको छु, र यसको उत्तर पत्ता लगाउनका लागि मध्यरातमा जागा बसेको छु । के सम्भव छ यस्तो कामना वा स्तुतिले कुनै फरक पार्नलाई, अस्तित्वको गतिमा कुनै प्रकारको फरक मार्ग स्थापित गर्नलाई, फरक कल्पनाको पक्षपोषण गर्नलाई? के त्यस्तो अन्तर्यामी विवेक सम्भव छ त? सम्भव छ भने त्यस्तो विवेकले कुनै पनि प्रकारको अस्तित्वलाई प्रभावमा राख्न सक्दछ त? यस्तै प्रश्नले त हाम्रो अस्तित्वलाई, चैतन्यलाई बढी गालेको पाउँछु, बढी जिस्काएको पाउँछु ।
प्रश्नहरूको हिमालय पर्वत खडा हुन्छ । समाधान हामीले चाहेजस्तो र सोचेजस्तो सहज हुँदैन । म हरेक प्रश्नलाई चुइङगमजस्तै बुद्धि बङ्गाराले थिच्छु, जिब्रोको मुनि, माथि लैजान्छु, एउटा बबल दुवै तर्फका दाँतको बिचबाट ओठबाहिर निकाल्छु । बबल फुट्छ र नाकको टुप्पामा अलिकति गम टासिन्छ । चिनी रहेसम्म चुइङगमको मजा रहन्छ । त्यसलाई जता लगे पनि हुन्छ । जुन दाँतले थिचे पनि हुन्छ तर चिनीको पनि सीमा हुन्छ । त्यस्तै प्रश्नहरूको हृदयमा म अन्धकार मात्र पाउँछु, जबाफको अपेक्षाले नै अधीर बनाउँछ । खासमा त्यहाँ निराशाको सत्ता देख्छु, पाउँछु । त्यसपछि अझै चित्त अशान्त हुन्छ । परम विवेकको कल्पना नै एउटा दिवास्वप्नाजस्तो लाग्दछ । मानवसमाजमा नै त हामीलाई यन्त्रवत् तर्क गर्न बाध्य पारिन्छ । सधैँ हामीले आफ्नो विवेकलाई विभेदको सेवामा अर्पण गर्न सक्दैनौँ ।
सधैँ हामी हाम्रो निर्णयले आनन्दको सेवा गर्न सक्दैनौँ । मानवीय अस्तित्वको अर्को सीमारेखा तब कोरिन्छ जब मानव यन्त्रमाथि सवार हुन्छ । मानवको अन्तर्मनले भनेको र विवेकले पहिचान गरेका सबै कुराहरू यन्त्रमा सवार मानिसले हाँसिल गर्न सक्दैन । मानिस विवेक वा विभेदको परिधिबाट यन्त्रका कारण बाहिरिन्छ; अब मानिस पनि प्रकृतिको एउटा शक्ति बन्दछ, विवेकहीन नियतिको अनिवार्य हिस्सा बन्दछ । अझै किटान गरेर भन्ने हो भने जीवनका परिस्थितिहरू नै मानिसका नियन्त्रणमा हुँदैनन् । मानिस त जटिल प्राकृतिक परिस्थितिको एउटा सुगठित प्रणालीको विवेकविहीन साझेदार पो बन्दछ । उसले अनिवार्य रूपमा बृहत् प्रकृतिले षड्यन्त्रपूर्ण रूपमा कुनै पनि जीवको आनन्दको विरुद्धमा खेल्ने चाललाई साथ दिनुपर्दछ । सर्तविनाको नियतिको पहरेदार बन्नुपर्दछ, बफादार सिपाही बन्नुपर्दछ । नियतिको खेललाई पूरा गर्ने एउटा कारिन्दा बन्नुपर्दछ ।
“हो, दाजु । त्यो भँगेरा मऱ्यो भनेको । हेर्नुस् न, त्यस्तो पो भयो ।” ती युवकले अनुनयको भाषामा मलाई घटना घटेको र आफूले पनि त्यसलाई मनमा राखेको कुरा स्वीकार गरे । उनको भाषाले नै मेरो रिस केही कम भयो तर पनि मैले कन्चटमा मिल्किरहेको मेरो नाडीलाई महसुस गरेँ । टाउको पनि त अलि गह्रौँ भइसकेको रहेछ । अनुहारमा चिसो हावाको एउटा झोक्काले हिर्काउँदा हामी समानान्तर रूपमा नै मोटरसाइकलमा अगाडि बढिरहेका थियौँ । मलाई त्यो युवकको अनुहारको ग्लानिभाव मन पऱ्यो । बिहानीको समयमा उसको बाइकको अगाडिको टायरमा लागेको त्यो आनन्दको खोजीमा निस्केको भँगेराको रगतका छिटालाई उसको मनले पहिचान गरेको थियो र स्पष्ट रूपमा देखेको थियो भनेर अर्ध हेलमेटको टाउकातिर उचालिएको भाइजरका कारण म उसको अनुहारमा देखिएको भावमा पढ्न सक्थेँ । मैले उसको निधारमा पोतिएको नराम्रो भावलाई नियालेँ । ती जोडीको वियोगको कारण बन्नुपरेकोमा उसलाई पनि नमिठो किसिमले छोएको थियो ।
जीव अस्तित्वको सबैभन्दा उत्कृष्ट खोजी भनेको नै आनन्द हो । शरीरमा प्राप्त ऊर्जालाई विसर्जन गर्नका लागि जीवले विभिन्न प्रकारका तरिकाहरू आवलम्बन गर्दछ । हुन त पीडाबाट पनि जीवनको ऊर्जा विसर्जन हुन्छ, दुःखले पनि जीवनको एउटा अनिवार्य अंश ओगट्छ र यो नकारात्मक भावबाट पनि जीवको गतिशीलता कायम हुन्छ । यद्यपि जीवनले रोज्ने भनेको सुख हो, आनन्द हो, स्वर्ग हो । त्यो स्वर्गको खोजी जीव बाहिर गर्छ, भित्र छ, यत्रतत्र सर्वत्र गर्छ । हो, यो खोजीमा सबैतिरबाट व्यवधान हाल्ने षड्यन्त्र गर्दछ, नियति । म आनन्दको विरोधमा नियतिको सबैभन्दा ठुलो हात रहेको देख्दछु । चट्याङ, वर्षा, भूकम्प जस्ता शक्तिहरू आनन्दलाई निषेध गर्न देखा पर्दछन् । कुनै पनि प्रकारको जीवनको समस्या विवेक शून्यतामा नै रहेको पाउँछु । हो, जीवात्माको पीडाको कारण बुद्धले पनि त यन्त्रवत् हुनुमा देखेका थिए । आनन्दको भावको विरोध भनेको पीडाको भावको अभिवृद्धि हो जुन विभेद प्रयोगको असामर्थ्यमा नै लुकेको हुन्छ ।
ती युवकप्रतिको मेरो रिसलाई शरीरले कायम राख्न सकिरहेको थिएन तर मेरो मन त्यसलाई कायम राख्न चाहन्थ्यो । मैले शरीर र मनको बिचमा एउटा नमिठो द्वन्द्वको सामना गर्नुपरेको त्यो नै पहिलोपटक थियो । ती चालक नै यन्त्रको नियन्त्रणमा थिए भन्ने कुरा मैले रिसाउँदारिसाउँदै पनि बुझेको थिएँ तर पनि मलाई यो कुरा स्वीकार गरिहाल्न मन लागेको थिएन । सम्भवतः त्यो भँगेराको आत्मा केही क्षण मेरो शरीरभित्र बसेर अहिले बिस्तारै निस्कने क्रममा थियो । मैले उसलाई थप प्रतिक्रिया दिनका लागि केही शब्दहरू मनमा खोजिरहेको थिएँ तर मसँग कुनै सुस्पष्ट तर्क वा केही शब्दहरूको संयोजन केही पनि थिएन ।
हुन त ती युवक निरपेक्ष इच्छा थिएनन् । तिनमा रहेको इच्छाले शासित भएर कुनै उद्देश्यले वा उद्देश्यविहीन भएर तिनले त्यो भँगेराको ढाँडबाट आफ्नो मोटरसाइकल चलाएका थिएनन् । उनी फगत यन्त्रको नियन्त्रणमा परेका नियतिका एउटा अंश मात्र थिए । अथवा उनीमार्फत भँगेराको आनन्दको विरुद्धमा मेथीबारीको त्यो सडकमा मलाई साक्षी राखेर आफूलाई नियतिले षड्यन्त्रपूर्ण ढङ्गले अभिव्यक्त गरेको थियो । हुन त म पनि कुनै विवेकको अनुग्रहमा त्यो घटनाको साक्षी बस्नका लागि त्यहाँ पुगेको थिइन । म कतै जाँदै थिएँ । ती युवक कतै जाँदै थिए । त्यो भँगेराको जोडी पनि कतैबाट आफ्नो इच्छाले त्यही कालोपत्रे सडकमा आफ्नो तयारी पूरा गरेर आइपुग्यो । संसारको गतिमा केही कसैको साक्षी हुनु वा नहुनु नै पनि आफैँमा संयोग हो । मैले चाहेर वा नचाहेर त्यो घटना हुने वा नहुने होइन । सबै कुराहरू कुनै क्षणमा विवेकहीन शक्तिमा परिणत भएको अनुभूत गर्दा सबैभन्दा डर लाग्दछ । हो, त्यो स्पेल्न्डर प्लस मोटरसाइकल, युवक, सडक, भँगेराको जोडी, तिनीहरूको इच्छा र मेरो उपस्थिति एउटा अनौठो संयोग मात्र बनेको थियो । हामीहरू एकअर्कालाई चिन्दैनथ्यौँ ।
त्यो वियोगको सबैभन्दा मार्मिक पक्ष नै नियतिको यही संयोग थियो । भँगेरीले उडेर जाँदा उसको हृदयले मलाई छोएको थियो । भँगेराको आत्माले शरीरलाई त्यस बखत छोड्यो जब उसले आनन्दको सबैभन्दा सुन्दर सम्भावना अनुभूत गरेको थियो । हो, त्यसैले त मेरो सम्पूर्ण शरीर काँपेको थियो । आफूलाई नियन्त्रित गर्न नै कठिन भएको थियो । मेरो मन भँगेरामा अडिएको थियो; भँगेरीसँग पूर्वी दिशामा त्यो अन्धकार उडानमा मार्न चाहन्थ्यो तर ती युवकलाई उनको निर्दयी कृत्यका लागि गाली गर्न पश्चिम दिशामा कुदिरहेको थियो । म सडकमा लिपिएको भँगेरासँग बस्न चाहन्थेँ । छटपटिएर भागेकी भँगेरीसँग उडान भर्न चाहन्थेँ । एउटा डाँडामा बसेर रुन चाहन्थेँ । भँगेरा र भँगेरीले बिहानभरि के-के गरेका थिए, भँगेरीलाई के-के भन्न मन थियो त्यो सबै सुन्न चाहन्थेँ । त्यसै समयमा मोटरसाइकल रोकेर त्यो युवकलाई भन्न चाहन्थेँ, “तैले त्यो भँगेरालाई किन मारिस्? त्यसले तेरो के बिगारेको थियो? त्यो भँगेराको जीवनले तेरो अस्तित्वलाई कति खुम्चाएको थियो?” हो, म ऊसँग पूरै हिसाब माग्ने मुडमा थिएँ ।
मलाई मजाले नै लड्न मन थियो तर मेरो मस्तिष्क र शरीरको तालमेल मिलिरहेको थिएन । लड्नका लागि मेरा तन्तुहरूले मलाई साथ दिएनन् । मैले मोटरसाइकलको गति केही कम त गरेँ तर न त उसले त्यसरी लड्ने तदारुकता देखायो न त म नै त्यसरी लड्नका लागि भौतिक रूपमा तयार भएँ । मनले चाहिँ अति नै प्रयत्न गरेको हो । असन्तोषको ज्वालाले मलाई भित्र-भित्र पोलिरहेको थियो । मैले आफैँलाई शान्त राख्न खोजेँ तर सकिनँ तर ती युवकतिर हेर्दा मैले उनलाई केही गर्न सक्ने कुनै आधार पनि भेट्टाउन सकिरहेको थिइनँ ।
मैले उनलाई अन्तिमपटक केही त भन्नु नै पर्दछ भन्ने लाग्यो । नियति भनेर मात्र हुन्छ । नियति नै भए तापनि यो शक्ति उनीमार्फत अभिव्यक्त भएको सत्य हो । सडकमा टाँसिएर बसेको चराले खोजेको जीव अंशको आनन्द र पूर्वतिर उडेर क्षितिजमा अलप हुने चरीले भोगेको जीवनको क्षति मैले दुर्भाग्यवश साक्षी बस्नुपरेको पीडा जत्तिकै सत्य हो । हो, कसैको पनि इच्छा यस घटनाको कारण होइन तर अलिकति विवेक समयमा प्रयोग गरेको भए घटना त रोकिन सक्थ्यो नि! तर विवेकको पक्षमा बोलिरहँदा दोस्रो पक्षले नियति नै सबैभन्दा ठुलो हो भनेर आफूलाई त्यस घटनाको कारक भइ जिम्मेवारी लिनुबाट पन्छाउने नै छ भन्ने पनि विचार मेरो मनमा नपलाएको होइन ।
मैले के भन्ने र के नभन्ने भन्ने द्विविधाको कारण आफूलाई त्यस परिस्थितिबाट बाहिर निकाल्न नै आटेको के थिएँ, त्यसै क्षण भँगेरा र भँगेरीको आत्मा युगलबन्दी गरेर मेरा आँखा अगाडि प्रकट भए । मलाई लाग्यो, यो जोडीले मलाई केही भन्दै छ । ममा बदलाको भाव बलियो भएर आयो किनभने अब ती दुई चराको जोडीको अनुनयलाई मैले स्वीकार गरिसकेको थिएँ । अलिकति मेरो मोटरसाइकलको गति बढाएँ र स्पेल्न्डर प्लस बाइकको नजिकै गएँ । उसलाई भनेँ, “थाहा छ तिमीलाई?” उसले विस्मयको जिज्ञासु भावले मलाई हेऱ्यो, मानौँ मबाट उसले केही कुरा भर्खरै जान्न चाहिरहेको होस् । हो, यस बिन्दुमा त्यो नियतिको निर्दयी घटनाको ज्ञानको स्रोत उसले मलाई मानेको कुरा महसुस गर्दा निकै सन्तोष मानेँ । आफ्नो बुझाइ उसले राम्ररी बुझ्नुपर्छ भन्ने मलाई लाग्यो । मैले भनेँ, “राम्ररी बुझिराख्नू भाइ । तिनीहरूले सम्भोग गर्न खोजेका थिए ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।