दशैंको नजिकै एकदिन घरको स्टोर सफा गर्नु पऱ्यो भन्ने विचार आयो । जमारा राख्नु पर्नेछ त्यही ठाउँमा । अनि अत्यन्तै अल्छी भनेर आफूले सानोतिनो नाम पनि कमाएको छु, परिवारमा । आफ्नो बारेमा बनेको स्टेरियोटाइप आज भत्काउँछु भन्ने जोसले स्टोरभित्र छिरेँ । ल्गोभ लगाएर शुरू गरेँ समान मिलाउन । त्यही बेला उहिलेको हर्पे भेटियो । आमालाई थाहा छ, त्यो हर्पेसँग हाम्रो परिवारको साइनोको कथा । त्योभन्दा बढी त आमाले भन्नुहुन्छ, हजुरआमाले त्यो हर्पेमा घिऊ हालेर हामीलाई ख्वाउन ल्याएको कथा ।

पुराना समान आफ्ना कथा आफैँ भन्दैनन् । उनीहरूका मुखपात्र आमा हुनुहुन्छ । आमाबाट आफ्नो कथा बिस्तारै फुस्काउँदै गर्दा ती समान आमालाई नै भावुक बनाउँछन् । ‘उहिले मलाई दारको ठेकी लिन त्यसले बोलाएकी थिई ।’ आमा थप्नुहुन्छ, ‘उसको छोराले देवदारको रूख ढालेर खोलाभरि ठेकी बनाउन सरजम गरेको रहेछ । आउनु है दिदी भनेकी थिई । म जान पाइनँ । तर पनि यो हर्पे चाहिँ देवदारकै हो । एउटा पुरानो ठेकी पनि छ । त्यही कतै चांगमा होला ।’

म काठमाडौँको उचाईमा देवदारको वृक्षको कल्पना गर्छु । हिमाली वृक्षको काठमाडौँको दक्षिणी भाग महाभारत पर्वततिर कसरी उपस्थिति भयो होला र भन्ने लाग्छ । तर आमा थप्नुहुन्छ, ‘त्यतै बनेको हो यो हर्पे ।’ केहीबेरपछि म त्यसको भानुभक्त आचार्यको टोपीको झलक दिने खालको बिर्को फेला पार्छु । एउटा तार त्यसको दुईतिरको कुमबाट छिराएर त्यसलाई पर्खालको किलामा अड्काएर राख्न मिल्ने बनाउँछु ।

‘मलाई देवदारको सबैभन्दा रोचक पक्षचाहिँ देवताको रूख भन्ने अर्थमा देव नै लाग्छ । नेपालको पश्चिम हिमाली क्षेत्रतिर पाइने देवदार पहिलोपटक नारायणहिटी दरवारमा पो देखिएको भनेर लेखिएको थियो’, प्रा.डा. रामप्रसाद चौधरीले एकदिन मलाई भन्नुभयो, ‘त्यो समयमा राजामहाराजाको शोख पूरा गर्न कसैले पश्चिमी हिमालतिरबाट देवदारको वृक्ष ल्याएर रोपिदियो होला । कुनै बौद्ध भिक्षुले पो ल्यायो कि ? म अझै त्यसको बारेमा चर्चा अगाडि बढाउन चाहन्छु । अब प्रमाण ठ्याक्कै नभएको कुरामा हामी यसै भन्नसक्ने कुरा त भएन । त्यस्तो भएको हुनुसक्छ, नहुन पनि सक्छ ।’

धमिरा, किरा नलाग्ने विशेषता भएको हुनाले देवदार दिव्य वृक्षको रूपमा चिनियो । मन्दिर निर्माणमा प्रयोग भयो । हजुरआमाको हर्पे यही काठको हो । अहिले यसको उपयोगभन्दा पनि भावना प्रधान हुनु पुगेको छ । घिऊ राख्न स्टिलको डब्बा, प्लास्टिकका बट्टा जुटेका छन् । हामीलाई दारका भाडाँ, ठेकी किन चाहियो र ? युगयुगका कुरा न हुन् ।

दीर्घ काठको महत्त्व त पश्चिम पहाडका मानिसले पो बुझेका रहेछन् । उनीहरू देवदारलाई अलग ढंगले बुझ्छन् । भन्छन्, ‘यो त हजार वर्ष खडा, हजार वर्ष पडा अनि हजार वर्ष सडा रहन्छ ।’ है, लोक ज्ञानले त स्थापित नै गरिदिएको छ । भावी पुस्तालाई के कुरा प्रयोग गर्ने, के प्रयोग नगर्ने भनेर बताइदिएको छ । लोकयुक्तिमा स्थापित भएर बसेको यस्तो वृक्ष कसका देवताको दार होला ? प्रश्नमाथि प्रश्न जन्मिन्छ ।

देवताको रूख नभए त महाराजको बगैँचामा कसरी प्रवेश पाउँथ्यो होला त ? लगभग सवा दुई सय वर्षअगाडि नै महाराजको बगैँचामा सुमधुर बास्ना दिइरहेको यो वनस्पति काठमाडौँको तिकडमको राजनीतिभन्दा पुरानो छ । वनस्पती विज्ञानको विकासको फड्कोलाई हामीले हेर्ने हो भने रूखको स्मृतिलाई बिस्तारै विश्लेषण गर्न सकिन्छ भन्ने निश्कर्षमा पुगिसकिएको छ । त्यसको उचित प्रविधिको विकास भएमा महाराजको बगैँचामा भएको वृक्षको हाँगा काटेर बिस्तारै एकएक कोषको इलेक्ट्रोनिक माइक्रोस्कोपबाट परिक्षण गरेर दरबारभित्रका घरबारका कथा, कहानी वा किस्सा निकाल्न सकिन्थ्यो होला । हामी मानिसहरू धेरै नै कल्पनाशील हुने हुनाले कहिलेकाहीँ सत्य र राजनीतिबीचको भेद पनि छुट्याउन सक्दैनौँ ।

बिरूवाले किन झुट बोल्नुपर्छ र ? मानिस र बिरूवाको फरक नै त्यही त हो । मानिसले आफ्नो अहंकारलाई शान्त पार्न पनि बिरूवालाई आक्रमण गर्छ । उन्नसाइसौँ शताब्दीको मध्यसम्म आइपुग्दा कहिलै नसकिने सम्राज्यवादी भोकको शिकार देवदारको जङ्गल भएकै हो । आफूलाई प्रयोग गर्नका लागि आवश्यक नै नपर्ने मात्रामा बेलाइतीहरूले देवदारको विनास गरे । जंगलमा काठका मुढा त्यसै कुहिनका लागि कुरेर बस्नु पर्ने अवस्था सृजना भयो । तर पनि देवदारले काश्मीरका पहाडदेखि भुटानका पहाडसम्म एक प्रकारको सुगन्धको आभाष गराइरह्यो।

कहिलेकाहीँ स्टोरमा छिर्छु । हर्पे झुण्डाएर राखेको तारको पहेँलो इन्सुलेटर कभरमा समातेर किलाबाट बाहिर निकाल्छु । हर्पेलाई सुम्सुमाउँछु । मलाई मेरी हजुरआमा नै देवदारको वृक्ष हुन् भन्ने लाग्छ । उनको अनुहारमा एक प्रकारको आभा पाउँछु । केटाकेटी हुँदा अनुभूत गरेको गन्ध हावामा फैलिन्छ । म हर्पेको बिर्को खोल्छु, भित्र घिऊ त छैन र पनि एक प्रकारको अलग बास्ना छ । मलाई त्यस्तो बास्ना मन पर्छ ।

शायद, मन फर्किन्छ ती पुराना दिनहरूतिरै । हजुरआमा भन्नुहुन्थ्यो, सेतीकाठ र कालीकाठको फरक थाहा पाउनुपर्छ । सेतीकाठको बोक्रो कालीकाठसँग मिल्दैन । कहिलेकाहीँ म चाहिँ काठकाठै त हो । बोक्रोको कुरा किन मिल्नु पऱ्यो भन्ने क्रान्तिकारी भावनाले पग्लिन्छु । काठकाठबीच फरक अस्वीकार गर्छु । तर पछि ‘आफ्नो बोक्रो आफ्नो काठ’ भन्ने खेल शुरू हुन्छ ।

‘भावनात्मक रूपमा कुनै रूखमा लगानी गऱ्यो भने त्यसको हुर्काई मात्रै हेर्ने हो’, बुबा उहिले भन्नुहुन्थ्यो । उहाँले निकै प्रयास गरेर एउटा शिरिषको बिरूवा भीरमा हुर्काउन सक्नुभयो । त्यसको न त फल लाग्छ, न काठमाडौँलाई नै निलाम्य पार्ने जस्तो बिरूवा हो त्यो । मैले सोधेँ, ‘बा, यसको न फूल न बासना । झ्यालढोका त बन्दै बन्दैन । दाउरा पनि धुँवाधुँवा मात्र । किन यस्तो धेरै मोह तपाईंलाई यो बिरूवाप्रति ।’ उहाँ बिरूवाको मुन्टो कसैले भाँचिदिएको देखेर विस्मित हुनुहुन्थ्यो । मलाई त उहाँलाई सम्झाउन नै गाह्रो परेको थियो ।

बाटोको भित्तामा एउटा ढुंगो थियो । त्यो त अहिले पनि त्यही छ । बुबा त्यसैमा बस्नुभयो र भन्नुभयो, ‘अहिले तलाईं यो के कुरा गरेको होला भन्ने लाग्छ । तर एकदिन बुझ्नेछस्, आफ्ना रूखबुट्यान पनि सन्तति नै हुन् । यसको प्रयोग के हुन्छ हुन्न म जान्दिनँ तर मैले रोपेको बुटो फस्टाउनु पर्छ । यो बुटो पनि तँ नै त होस् ।’

बाको भावुक हुने बानी । मैले यती मात्र सोच्न सकेँ । कसरी उम्रन गयो त भन्न सक्दिनँ, अहिले मेरो घरकै छेउमा त्यस्तै एउटा शिरिषको बोट छ । कहिलेकाहीँ छुन्छु, पुराना कुरा याद आउछन् । बाका कुरा, हजुरआमाका कुरा ।

मान्छे एउटा दुनियाँमा हिँड्छ तर उसको मनभित्र अर्कै एउटा ब्रह्माण्ड लुकेको हुन्छ । उसले देख्ने बोटबुट्यानले उसलाई कता पुऱ्याउँछन्, कुन दुनियाँको तालाचाबी एकै ठाउँमा ल्याउछन् र ऊ कसरी त्यो नयाँ संसारमा हराउँछ भन्ने नै अनुमान गर्न गाह्रो हुन्छ । बाहिर जे देखिन्छ, मनमा त्यही बोकेरे मानिस हिँड्न नै सक्दैन । उसको त्यो सीमा हो । मनमा जे खुल्छ, त्यो नै संसारलाई भन्न सक्दैन । उसले देखेको विश्व, भोगेको विश्व र बुझेको विश्वमा कति फरक छ । चौडा छन् आफ्नै किसिमले उसका मनभित्रका ब्रह्माण्डहरू । तिनको गहिराई के भेटिन्छन्, के भेटिन्न ।

मान्छेको मन नै सबैभन्दा शक्तिशाली स्मृति-विस्मृतिको संगम हो । कुनै चिह्न, प्रतीक विस्मृतिको किनारामा पुगेका भावलाई पुनर्जागृत गरिदिन्छन् । त्यसलाई विचारको मूलबाटो बनाइदिन्छन् । मन अलमलिन्छ । ३६१ डिग्री घुम्छ मन ।

म हर्पेको डेरीलाई सुम्सुमाउँछु । बहिरतिर लागेको धुलो पुच्छु । फेरि पर्खालको त्यही किलामा झुण्ड्याउँछु । अफगानस्तानको हिन्दकुशदेखि काश्मीरसम्मको हिमालको चित्र कताकता झलक्क आउँछ । म देवदारको जंगलको बीचमा बसेर चराको गीत सुन्न थाल्छु । अनुभवले कल्पनालाई सहयोग गर्छ । रसुवाको कुनै घना जंगलतिर हिँड्दा भुईंबाट उठ्ने बास्ना जस्तै केही मेरो नाक अगाडि आउँछ । हो, मलाई हिन्दकुशबाट पूर्वतिरको त्यो अपूर्व मनको यात्राले देवभूमिमा नै पुऱ्याउँछ ।

भगवान् शिवको साक्षात् दर्शन गराउने यी अग्ला देवदारका वृक्षले मलाई के अनुभूत गराउँछन्, म भन्न सक्दिनँ । गदगद हुन्छु । हिमालयको शुद्धता र हार्दिकता, हिमालयको शक्ति । खस तान्त्रिकहरूको सबैभन्दा ठूलो विश्वासको प्रतीक । कति खसहरू काश्मीर उपत्यकाका पिचास जातिसँग लड्नका लागि शक्ति आर्जन गर्न यिनै रूखका फेदमा बसेर शक्ति आर्जन गर्थे । तन्त्रको साधना गर्दथेँ, अर्थात एउटा रणनीतिक तरिका निर्माण गर्दथेँ । त्यसरी नै उनीहरूको जीवन अगाडि बढ्दथ्यो ।

बीसौँ शताब्दीको बीचतिर पुग्दा त देवदार पाकिस्तानको राष्ट्रिय वृक्ष पो हुन पुग्यो । काश्मीरका हिन्दुहरूका लागि सबैभन्दा प्रिय प्रतीक रहेको आस्थाको वृक्ष, पूर्वतिर लागेका खसहरूले आफ्ना देवालय र शिवालय बनाउने गरेका, कतैकतै त पितृ विम्बका रूपमा पनि अर्चना गर्ने गरेको यो वृक्ष कसरी मुसलमानहरूको राष्ट्रको राष्ट्रिय वृक्ष बन्न सक्छ ? बन्नु हुँदैन भन्ने त हुँदै होइन । तर म आफैँ सोचमग्न हुन्छु । कति प्रश्नको उत्तर राजनीतिक हुन्छ- अनुचित बेलामा खोज्ने प्रयाससम्मले पनि धेरै क्षति बेहोर्नुपर्ने हुन्छ।

सम्भवतः १८७० सम्म आइपुग्दा बेलायतीहरूले गरेको देवादारको जंगल फडानी गरेर देखाएको अत्याचारको इतिहास पाकिस्तानीहरूको भागमा परेको छ । उनीहरू आफ्नो रूखलाई आफ्नै किसिमले जोगाउन चाहन्छन् । उत्तर औपनिवेशिकताको असरबाट दक्षिण एशियमा को नै मुक्त छ र ? हाम्रो समयमा हामीलाई आफ्ना राष्ट्रिय प्रश्नहरू पनि छन् । क्षेत्रीय प्रश्नहरूमा पनि हाम्रो ऐक्यबद्धता छ । विश्वव्यापी विषयहरू पनि त्यस्तै उठ्ने गरेका छन् । ती विषयहरू त्यसरी नै निस्कन्छन् । अनि विस्तारित हुन्छन् ।

कहिलेकाहीँ लाग्छ, हजुरआमाको हर्पे आफैँमा पेन्डोराको बाकस हो । स्टोरमा त जान्छु तर त्यसलाई नछोई परैबाट हेर्छु । एउटा माकुरा बेजोड कुद्छ । त्यसलाई पन्छाउने जागर पनि चल्दैन । त्यो हर्पेको खासै उपयोगिता नै छैन । फ्याकिदिए हुन्न र ? एकपटक मैले कसैले भनेको सुनेँ । म तत्कालै प्रतिरक्षामा उत्रिहालेँ । व्यवहारिक रूपमा उपयोगिता सकिएका वस्तु सबै फाल्दै जाने हो भने हामीसँग के बाँकी रहन्छ ? प्रश्न राजनीतितर्फ पनि सोझिन्छ । तर मलाई त्यता जानु छैन ।

मैले सोचेको देवदारको रूख त एउटा मानसिक प्रतीक मात्र न हो । एउटा भावना हो । राजनीतिक चेत पनि त हो । मैले अनुभूत गरेको आत्मीयता हो । यस्ता चिह्न, प्रतीकले भूत जगाउँछन्- अँ, यो चाहिँ भावनात्मक रूपमा न्यायो काखको अनुभूति गराउने भूत । माया मिसिएको भूत । त्यो शिरिषको रूख त तँ नै होस् नि भन्ने बुबाको मन कुँडिएको झलक मनको पर्दामा सचित्र उतार्ने भूत । ओहो, कति कुरा ल्याउँछ है रूखले ।

म कहिलेकाहीँ नराम्ररी चुटिन्छु । हजुरआमाले भनेको शुत्र भुल्छु नि । काठ र बोक्रो आफ्नो- आफ्नैमा मिल्छ भन्ने कुरा शहरमा कुद्दाकुद्दै विस्मृतिमा जान्छ । अनि एक झरी असिनाले भिजेर घर आइपुग्छु । मलाई स्टोरमा राखेको हर्पे सुम्सुमाउन मन लाग्छ । त्यसमा देवादारको काठ त छ नै । शायद, कतैबाट बुबाले शिरिषको सुकेको कोसा नै हातमा हालिदिने हो कि जस्तो लाग्छ । बाहिर जति नै चिसोपना व्याप्त भए तापनि हर्पेको न्यानोपनाले मन छुन्छ । हजुरआमाको हातको तातो निधारतिर अनुभूत गर्छु । त्यो नै मेरो लागि आशिष होला ।