बाछिटा लघुत्तम काव्यिक उपविधा हो। यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ।
जीवन, जगत् र भोगाइका अनन्त चेतना,चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप,दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ।
बाछिटा रचना तीन पाँच तीन अक्षरयुक्त तीन पंक्तिमा गरिन्छ।बाछिटाको पहिलो पंक्तिले विषयवस्तुको उठान गर्नुपर्छ।
बाछिटाको दोस्रो पंक्तिले विषयवस्तुलाई विस्तार गर्दै उत्कर्षमा पऱ्याउनुपर्छ।बाछिटाको तेस्रो पंक्तिले विषयवस्तुको पुष्टि गर्दै मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्छ।
बाछिटाको तीन पंक्तिबीच भाव र अर्थगत सामन्जस्यता हुनैपर्छ।बाछिटाको अक्षर संरचना वा गणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्छ।बाछिटाको प्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा  प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्छ।बाछिटाको अभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्छ।बाछिटा रचना गर्दा निपात र संयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिन्छ।बाछिटाकारले समाजमा परम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडि पछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य मानिन्छ।
बाछिटा लेखनमा उल्लेखित मान्यताको सर्वोपरि महत्व रहेको छ। तीन पाँच तीन अक्षर मिल्दैमा बाछिटा हुँदैन, त्यसमा प्रकृति बिम्ब र प्रतीकात्मक प्रस्तुति हुनैपर्छ।
बाछिटा काव्यिक उपविधा हो। यसको लेखन सहज पनि छ र असहज पनि छ।बिम्ब के हो ?  प्रतीक के हो ?  वा लक्षणा र व्यञ्जना शब्दशक्ति के हो ?  लेखनमा यसको प्रयोग कसरी गर्नसकिन्छ ?  भन्ने कुराको गहन अध्ययनबाट स्पष्ट भएर बाछिटा रचना गर्दा यसको लेखन सहज बन्नसक्छ। साथै मानव जीवन र मानव जीवनका सम्पूर्ण क्रियाकलापहरूलाई
प्रकृतिकरण गरेर वा प्रकृतिजन्य सम्पूर्ण क्रियाकलापहरूलाई मानवीकरण गरेर अर्थात् प्रकृतिका विविध स्वरूपलाई जीवन भोगाइका विभिन्न पक्षसँग वा जीवन भोगाइका विभिन्न पक्षलाई प्रकृतिका विविध स्वरूपसँग दाँजेर वा तुलना गरेर बाछिटा रचना गर्दा प्रकृतिबिम्बको उपस्थिति पनि देखिन्छ र प्रतीकात्मक पनि बन्छ वा बाछिटा लेखन सहज बन्छ।
बाछिटाको काव्यिक उपविधाको रूपमा २०७७ साल जेठ २ गते सर्जक खगेन्द्र बस्यालको साथ र समर्थनमा बाछिटा काव्यिक उपविधाका परिकल्पनाकार अमर त्यागीले सिद्धान्त निर्माणसहित प्रवर्तन गरेका हुन्। प्रवर्तनको छोटो समयमै अनेकौं अग्रजदेखि नवसर्जकहरूबाट बाछिटा लेखिदै आएको छ।अहिलेसम्म आधा दर्जन बाछिटा कृति प्रकाशित भइसकेका छन् भने दर्जन कृतिहरू प्रकाशनका लहरमा छन्। साहित्य पोस्टको   “बाछिटा प्रकाशनमाला-१७ मा लक्ष्मी थापा, मीरा ज्ञवाली, भगवती दवाडी, जानुका गुरागाईँ र प्रभादेवी पौडेलका पाँच दर्जन बाछिटाहरू प्रस्तुत गरिएका छन्।यसपछि अन्य अभियन्ता तथा सर्जकहरूका बाछिटाहरू क्रमश: प्रस्तुत गरिने छन्।सय शृङ्खला पुगेपछि सबै बाछिटाहरू सङ्कलित “समकालीन नेपाली बाछिटा” नामको बृहद् कृति प्रकाशन गर्ने उद्देश्यका साथ बाछिटा प्रकाशनमाला आरम्भ गरिएको हो।

पाँच दर्जन बाछिटा

१. लक्ष्मी थापा

निश्चल
पिताको माया
शीतल

ममता
संसार धान्ने
क्षमता

शुद्धता
विवेक तत्व
श्रेष्ठता

आवाज
लय तालको
आभास

प्रकृति
जीवन छटा
संस्कृति

अनन्त
सौर्य जीवन
जीवन्त

सङ्गीत
मनको मित
प्रतीत

माधुर्य
प्रेमको गीत
सुरम्य

प्रवर
आत्मिक प्रेम
अजर

दर्शन
जीवन जगत्
चिन्तन

पल्लव
वासन्ती बैंस
उत्सव

स्वभाव
कर्म वचन
प्रभाव

~~<>~~

२. मीरा ज्ञवाली

हितको
उज्यालो खुसी
जितको

हरित
पिरती बाग
पुष्पित

विकास
बिहानी लाली
निकास

खेतको
हरियो बाली
प्रीतको

मूल हो
एकता  साँचो
पुल हो

मित्रता
सम्बन्ध शैल
उच्चता

सुकर्म
जीवनज्योति
सुधर्म

बकस
प्रकृति कम्प
सकस

जोवन
फलेको वृक्ष
जीवन

टाकुरा
उचाल्ने युवा
पाखुरा

धरती
नारीको कर्म
आरती

समय
फूलको बास्ना
अक्षय

~~<>~~

३. भगवती दवाडी

अबला
कर्मगतिमा
चपला

भाषामा
ज्ञानको सिन्धु
आशामा

सम्झना
झरीमा चरी
चाहना

सुन्दर
कर्मण्यतानै
शिखर

बिहानी
फूलको डाली
जवानी

असार
श्रमको फल
अपार

संसार
लौकिक भोग
आधार

सुसेली
प्रीतिको भाका
पहेली

ध्यानको
उज्ज्वल दीप्ति
ज्ञानको

जीवन्त
चेतनाघाम
अनन्त

सृष्टिको
रहस्य भिन्न
दृष्टिको

खलाको
सम्पत्ति कुन्यू
कलाको

~~<>~~

४. जानुका गुरागाईँ

सरिता
सलल बग्ने
कविता

सहारा
बन्दछ सधैं
किनारा

दुःखमा
आशाको माड
मुखमा

कलम
चेत चोटको
मलम

बिहानी
दिवश कर्म
निसानी

घामको
न्यानो सुखद
कामको

सेवाको
फल  सुस्वादु
मेवाको

मङ्गले
खोल्टोमा स्वार्थी
ढङ्गले

फोहोरी
भेल सत्ताको
दोहोरी

गङ्गाको
छालमा जुनी
डुङ्गाको

व्यथाको
काँडा भोगाइ
कथाको

हँसिलो
फूलको बैंस
रसिलो

~~<>~~

५.  प्रभादेवी पौडेल

भवमा
स्वतन्त्र पंक्षी
नभमा

प्रफुल्ल
हर्षको ताल
निर्मल

माटोमा
अमुल्य रत्न
कर्ममा

धनको
फसल खेती
मनको

धरामा
श्रम रोपाइँ
गरामा

असार
किसानी श्रम
अपार

डरमा
उराठ जुनी
घरमा

बरर
पिरको वर्षा
धरर

बाढीमा
बगेर युवा
खाडीमा

देशमा
उजाड सत्ता
क्लेशमा

जेथाको
उजाड सधैं
व्यथाको

नगर
स्वार्थभेलले
बगर

~~<>~~