
ओशोको आत्मकथाः स्वर्णिम बालापन
सत्र १० : दुई पटक अपहरित हुनबाट जोगिएँ
म राजकुमारी डायनाको बिहेको झाँकीका केही तस्बिर हेरिरहेको थिएँ । आश्चर्य, त्यो भिडभाडमा, सारा ती बकवासमा, मलाई त सुन्दर घोडा र तिनका प्रफुल्लित नाचले मात्र प्रभावित गरे । ती घोडा देखेर मलाई मेरो घोडाको सम्झना आयो । मैले यसका बारेमा कसैलाई भनेको छैन– गुडियालाई पनि बताएको छैन । उसलाई पनि घोडा त बहुतै राम्रो लाग्छ ! यतिबेला मैले केही पनि लुकाइरहेको छैन, त्यसैले यो पनि बताउन सकिन्छ ।
मसँग एउटा मात्र होइन, चार वटा घोडाहरु थिए । एउटा मेरो आफ्नो थियो र तिमीहरूलाई थाहै छ, म कति जिद्दी छु ! आज पनि मेरो रोल्स रोयल्समा अर्को कोही छिर्न पाउँदैन । यो एउटा जिद्दीपनाबाहेक केही होइन । त्यो बेला पनि म यस्तै थिएँ । मेरो घोडामा कोही पनि सवार हुन पाउँदैनथे, म दिँदैदिन्न थिएँ । कतिसम्म भने मेरा हजुरबाले पनि मेरो घोडामा चढ्न पाउनु हुन्न थियो । म चाहिँ अरुको घोडामा सवार हुन रत्तिभर डराउन्नथेँ ।
हजुरबा–हजुरआमाको एक एक वटा निजी घोडा थिए । भारतीय गाउँमा कुनै स्त्रीले घोडसवारी गर्नु केही अनौठो थियो तर के गर्ने ! उहाँ त्यस्तै अद्भुत हुनुहुन्थ्यो !
चौथो घोडा भने भुराका लागि थियो, त्यही नोकर, जो सधैँ थोरै दुरीका साथ मेरो पछिपछि बन्दुक लिएर हिँड्थ्यो ।
नियति पनि अनौठै छ । मैले आफ्नो जीवनमा कसैलाई नोक्सानमा पारिनँ– मेरो सपनामा पनि नोक्सान पुर्याइनँ । म त शुद्ध शाकाहारी हुँ तर भाग्यको खेल हेर त, बालापनदेखि नै मेरो रक्षाका लागि एउटा पहरेदार सधैँ सँगै रह्यो । थाहा छैन किन, भुरादेखि अहिलेसम्म बिना रक्षक म कहिल्यै पनि हिँडिनँ । अचेल पनि मेरा पहरेदार या त मेरा अगाडिअगाडि हिँडिरहेका हुन्छन् कि मेरो पछाडि– तर मलाई छाड्दैनन् तिनले । यो सारा खेल भुराबाट शुरु भएको थियो ।
यसअघि नै मैले तिमीहरूलाई भनिसकेको छु, ऊ अंग्रेजजस्तो देखिन्थ्यो । त्यसैले मानिसहरूले उसलाई भुरा भन्थे । त्यो उसको वास्तविक नाम थिएन । भुराको अर्थ, गोरो हो । मलाई पनि उसको वास्तविक नाउँ थाहा छैन । ऊ अंग्रेजस्तो देखिन्थ्यो, ज्यादै अंग्रेज र यो बडो अनौठो लाग्थ्यो । खासगरी त्यो गाउँमा जहाँ शायदै कुनै अंग्रेज आएको थियो होला !
र, पनि त्यहाँ पहरेदार…
म बच्चै छँदा पनि म घोडामा सवार रहेका बेला भुरा केही दुरीका साथ मेरो पछिपछि किन हिँड्छ भन्ने म बुझ्थेँ । किनभने दुई पटक मेरो अपहरणको प्रयास गरिएको थियो । कसैलाई मप्रति यति रुचि किन थियो भन्ने म बुझ्दिनँ । यतिबेला चाहिँ कम्तीमा बुझ्न सक्छु । मेरा हजुरबुवा, हुन त पश्चिमा मुलुकको स्तरभन्दा धेरै धनी त थिएनन् तर त्यो गाउँका लागि उहाँ धेरै धनी हुनुहुन्थ्यो । डाकाहरु… अब देवगीतलाई ‘डकैत’ शब्द लेख्न गाह्रो हुनेछ । यो अंग्रेजी शब्द होइन । यो हिन्दु शब्द ‘डाकू’बाट बनेको हो । तर त्यो अर्थमा अंग्रेजी भाषा संसारको सबै भाषामध्ये सबैभन्दा उदार भाषा हो । हरेक वर्ष यसले अन्य भाषाबाट आठ हजार शब्दहरू बटुल्दै जान्छ । त्यसैले यो बढ्दै जान्छ । एक दिन यो सारा संसारको भाषा बन्न पुग्छ । कसैले यसलाई रोक्न सक्तैन । अर्कोतर्फ संसारका अन्य सबै भाषाहरू ज्यादै अप्ठेरो मान्दै, सङ्कुचित हुँदै गइरहेको छ । तिनले शुद्धतामा विश्वास गर्छन्, कतै अर्को भाषाका शब्दहरू यहाँ नछिरून् भन्छन् । स्वभावतः ती साना र अविकसित नै रहन पुग्छन् । अंग्रेजीका शब्द डकैत हिन्दीको डाकू शब्दले बनेको हो । यसको अर्थ हो, लुटेरा । साधारण चोर होइन तर जब हतियारबद्ध भएर केही मानिस आफ्नो दलबल लिएर संगठित ढङ्गले लुटपाट गर्छन्, त्यसलाई डकैती भन्छन् ।
म सानो छँदा पनि… भारतमा धनीका बालबालिका चोरिनु सामान्य कुरा थियो । अपहरित बालबालिकाका आमाबुवालाई तिनले डाकालाई फिरौतीको रकम नदिए बालबालिकाको हात काटिने धम्की दिइन्थ्यो । उनीहरूले पैसा दिए भने बालबालिकाको हात बचाउन सक्थे ।
कहिलेकाहीँ अन्धो बनाइदिने धम्की दिइन्थ्यो । कुनै आमाबुवा ज्यादै धनी भए, धम्की सिधा मारिदिनेसम्म पुग्थ्यो । बच्चालाई बचाउनका लागि बिचरा आमाबुवा, जे पनि गर्न तयार हुन्थे !
दुई पटक उनीहरूले मलाई चोर्ने प्रयास गरे । दुवै घटनामा म बचेँ । एउटा त मेरो घोडा थियो, जो ज्यादै शक्तिशाली थियो । अरबी घोडा । अर्को चाहिँ हाम्रो नोकर, भुरा । मेरा हजुरबुवाले उसलाई हावामा बन्दुक चलाउनु भनी सिकाउनु भएको थियो । अपहरणकारीमाथि गोली चलाउन हुन्न भन्ने उहाँको मान्यता थियो । किनभने कसैको हत्या गर्नु वा कसैमाथि गोली चलाउनु जैन धर्मविरोधी कुरा हुन्थ्यो । तर मेरी हजुरआमाले भुराको कानमा भन्नुभयो, ‘मेरा पतिले तँलाई जे भन्नुभयो, त्यसलाई ध्यान नदिनू । शुरुमा हावामा गोली चलाउनू तर यसबाट पनि पार लागेन भने उनीहरूलाई तैँले गोली चलाइनस् भने म चैँ तँलाई ठोक्दिन्छु ।’
र, उहाँ साँच्चै राम्रो निशानेबाज हुनुहुन्थ्यो । मैले उहाँको बन्दुक चलाई देखेको छु र उहाँको निशाना सधैँ अचुक हुन्थ्यो । उहाँको निशाना यताउति कहिल्यै हुँदैनथ्यो । उहाँ गुडियाजस्तै हुनुहुन्थ्यो । धेरै अर्थमा मेरी हजुरआमा गुडियाजस्तै हुनुहुन्थ्यो । साना साना कुराहरूमा ज्यादै ध्यान दिनुहुन्थ्यो । जुन कुरा उहाँलाई भन्नुपर्ने हो, सधैँ स्पष्ट, सिधा र संक्षिप्तमा भन्नुहुन्थ्यो । केही मानिस कुरालाई यति घुमाई फिराई गर्छन् कि आखिर उनीहरूले भन्न खोजेको कुरा चाहिँ के हो भन्ने बुझ्नै सकिन्न । त्यो उहाँको शैली थिएन । उहाँ नापीतौली, गणितझैँ सटीक र सहीकुरा बोल्नुहुन्थ्यो । उहाँले भुरालाई भन्नुभयो, ‘यदि तैँले यसलाई छाडेर या उसलाई नलिई घर आइस् भने, या मैले बचाउन सकिनँ, डाकूहरूले लगे भन्ने शब्द निस्केको क्षण तँ मरिस् । म तँलाई सिधै गोली हान्दिन्छु ।’
हजुरआमाले भुराको कानमा भन्नुभएको भए पनि उसले मात्र सुन्ने गरी सुस्तरी भन्नुभएको थिएन । उहाँले भनेको मैले सुनेँ, हजुरबुवाले पनि सुन्नुभयो । हजुरबा अन्यत्रै हेर्न थाल्नुभयो किनभने उहाँलाई थाहा थियो, हजुरआमाले जे भन्नुहुन्छ, गरेर छाड्नुहुन्छ । हजुरबाले अन्तै हेर्न थाल्नुभएको देखेपछि मलाई ज्यादै हाँसो उठ्यो र भनेँ, ‘तपाईं किन अन्तै हेर्नुहुन्छ ? तपाईं वास्तविक जैन हो भने भुरालाई कसैमाथि पनि गोली चलाउनु हुन्न भन्नू न ।’
हजुरबुवाले केही भन्नुअघि नै हजुरआमाले भन्नुभयो, ‘मैले तिम्रातर्फबाट पनि भुरालाई भनिसकेको छ । त्यसैले अब चुप लाग ।’
उहाँ यति शक्तिशाली स्त्री हुनुहुन्थ्यो कि आवश्यक परे उहाँले हजुरबालाई पनि गोली हान्नुहुन्थ्यो होला ! म उहाँलाई चिन्थेँ । मेरो अर्थ शाब्दिक होइन, उहाँको साहसलाई मैले अलंकृत भाषामा अभिव्यक्त गरेको मात्र हुँ । र, यो शाब्दिकभन्दा पनि खतरनाक हुन्छ । त्यसैले उहाँ चुप लाग्नुभयो ।
दुई पटक मेरो अपहरण हुँदाहुँदै बचेँ । एक पटक मेरो घोडाले मलाई घर ल्याइदियो । अर्को पटक चाहिँ भुराले हावामा गोली चलाउनु पर्यो । शायद आवश्यक पर्थ्यो भने उसले मेरो अहपरण गर्ने प्रयास गर्ने व्यक्तिलाई गोली पनि हान्थ्यो होला तर त्यसको आवश्यकता परेन । उसले आफ्नो र मेरा हजुरबुवा दुवैको धर्म बचायो ।
त्यहीबेलादेखि, यो अनौठो छ… मलाई ज्यादै आश्चर्य लाग्छ– मैले कहिल्यै कसैलाई पनि केही हानि पुर्याएको छैन र पनि कयौँ पटक मेरो जीवन खतरामा परिरहन्छ । कयौँ पटक मलाई मार्ने प्रयास गरिरहिन्छ । मलाई आश्चर्य लाग्छ, एक न एक दिन त यो जीवन आफैँ समाप्त भइहाल्छ नि, फेरि कसैले किन बीचैमा सिध्याउन खोजेको होला ? उनीहरूले त्यसो गरेर के पाउलान् ? उनीहरूले एक पटक मलाई त्यसका बारेमा बुझाइदिए, उनीहरूले पाउने फाइदाका बारेमा बताइदिए, म यसै क्षण श्वास लिन बन्द गर्ने थिएँ ।
जुन मानिसले मलाई मार्न चाहेको थियो, उसलाई एक पटक सोधेको थिएँ– पछि त ऊ संन्यासी नै बन्यो । त्यसैले मैले उसलाई सोध्ने मौका पनि पाएँ ।
मैले भनेँ, ‘अब त हामी दुवै जना एक्लै छौँ । तिमी मलाई किन मार्न चाहन्थ्यौ भन त ?’
त्यो बेला बम्बईमा वुडल्यान्डमा म मेरा संन्यासीहरूलाई आफ्नो कोठामा एक्लै संन्यासको दीक्षा दिन्थेँ । मैले भनेँ, ‘हाी दुवै जना यहाँ एक्लै छौँ । म तिमीलाई संन्यास दिनसक्छु । यसमा केही समस्या छैन । शुरुमा संन्यासी बन । त्यसपछि मलाई भन, मलाई मार्ने तिम्रो उद्देश्य चाहिँ के थियो ? मलाई मार्ने कारण बुझाइदियौ भने म अहिले र यहाँ तिम्रासामु तुरुन्तै श्वास लिन छाड्नेछु ।’
ऊ रुन थाल्यो । उसले मेरो पाउ पक्डियो । मैले भनेँ, ‘यसले त पुग्दैन । तिमीले मलाई मार्नुको कारण भन्नै पर्छ ।’
उसले भन्यो, ‘म बेवकुफ थिएँ । के भनूँ ? भन्नलायक केही नै छैन । म पागल भएको थिएँ ।’
शायद यसै कारण मजस्तो निरीह व्यक्तिमाथि कयौँ पटक आक्रमण भएको हो र मलाई विष पनि दिइयो ।
कहिलेकाहीँ गुडियाको टाउको भारी हुन्छ तर पनि उसले कहिल्यै मलाई नोक्सान पुर्याएकी छैन । उसले यस्तो गर्नै सक्तिन । यो उसका लागि असम्भव छ । एकाध पटक त जो पनि झर्किन्छ, विशेषगरी स्त्री ! यदि मजस्तो मानिसका साथ दिनको चौबीसै घण्टा या त्योभन्दा पनि बढी– मजस्तो मानिसका साथ बस्नु पर्यो भने, जो रत्तिभर सहृदयी छैन, जो सधैँ कठोर छ र जसले तिमीलाई अन्तिम सीमासम्म पुर्याउने प्रयास गरिरहन्छ र तिमीलाई फर्कन दिँदैन । जसले धकेल्छ र धकेलिरहन्छ अनि भन्छ– अब केही र रत्तिभर नसोची हाम्फाल । यस्तोमा जो पनि रिसाउँछ, झर्किन्छ !
मेरी हजुरआमा निश्चित नै गुडियानजस्तै हुनुहुन्थ्यो । खासगरी उहाँ जब दिक्क मानेर झर्किनुहुन्थ्यो, म त्यसलाई मतलब गर्दिन थिएँ । कहिल्यै म चिन्तित भइनँ उहाँको झर्काइप्रति । मैले उहाँलाई आफ्नो बन्दुक लिएर हजुरबुवाको कोठातिर जाँदै गरेको देखेको छु । तर म जे काममा व्यस्त थिएँ, व्यस्त भइरहेँ । उहाँले मलाई सोध्नुभयो, ‘मेरो रौद्र रुप देखेर तँलाई डर लागेन बच्चो ?’
मैले भनेँ, ‘तपाईं जानु र जे गर्नुछ गर्नू । मलाई मेरो काम गर्न दिनू ।’
उहाँले हाँस्दै भन्नुभयो, ‘तँ पनि अनौठै केटो छस् ! म तेरा हजुबालाई मार्न जाँदैछु र तँ चैँ तासको पत्ताको घर बनाउने प्रयास गरिरहेको छस् । पागल त भइनस् ?..’
मैले भनेँ, ‘तपाईं जानुस् र उहाँलाई हान्दिहाल्नोस् । म आफैँ सधैँ यस्तो सपना देख्छु भने किन चिन्ता गरुँ ? मलाई दिक्क नलगाउनोस् ।’
उहाँ मेरै छेउमा बस्नुभयो र तासको महल बनाउन सहयोग गर्न थाल्नुभयो ।
तर जब उहाँले भुरालाई भन्नुभयो, ‘कसैले मेरो बच्चालाई हात मात्र लगायो भने तैँले हावामा गोली हान्ने होइन । जैन धर्ममा विश्वास गर्छौं तर मन्दिरमा मात्र । बजारमा हामीले पनि त्यस्तै व्यवहार गर्नुपर्छ, जस्तो व्यवहार अरुले हामीमाथि गर्छन् । सारा संसारले जैन त मान्दैन ! हामी चाहिँ किन जैन धर्मअनुसारको व्यवहार गर्नु नि ?’
म उहाँको सिधा स्पष्ट तर्क बुझ्न सक्छु । तिमीले नेपाली भाषा नजान्ने मान्छेसँग नेपालीमा कुरा गर्न सक्तैनौ । बरु उसको भाषामा तिमीले कुरा गर्यौ भने बरु त्यहाँ सम्वादको सम्भावना बढी हुन्छ ।
र, जब मैले मेरी हजुरआमाले भुरालाई भनेको सुनेँ, ‘कुनै डाकाले मेरो बच्चालाई चोर्यो भने त्यही भाषामा बोल्नु, जुन भाषा उसले बोल्छ । त्यस क्षण जैन धर्मलाई बिर्सिनू ।’ मलाई त्यसै बेला कुरा बुझेँ । हुन त त्यो बेला यति स्पष्टसँग बुझेको थिइनँ, जति पछि बुझेँ । भुराले त बुझ्यो नै होला । मेरा हजुरबुवाले पनि परिस्थिति राम्रोसँग बुझ्नुभयो होला । किनभने उहाँले आफ्नो आँखा बन्द गर्नुभयो र मन्त्र जप्न थाल्नुभयोः
नमो अरिहंताणम् नमो नमो
नमो सिद्धाणाम् नमो नमो…
म हाँस्न थालेँ । मेरी हजुरआमा पनि सुस्त सुस्त हाँस्न थाल्नुभयो । भुरा मुस्कुरायो मात्र । तर सबैले परिस्थितिलाई बुझे । र, त्यो सधैँझैँ बिल्कुलै सही थियो ।
गुडिया र मेरी हजुरआमामा एउटा अर्को समानता थियो, त्यो म तिमीहरुलाई भन्छु र करिब करिब सधैँ सत्य हुन्छ । उसले जे सुकै भने पनि कहिलेकाहीँ म सहमत भइनँ, मैले मानिनँ भने पनि अन्त्यमा ऊ नै सत्य ठहरिन्छे । उसले भनेको पुग्छ । मैले कयौँ पटक तिमीहरूलाई भनेको छु, म ज्यादै जिद्दी छु । म ठीक होऊँ या गलत, त्यसको चिन्ता म लिन्नँ । जुन कुरामा म ढिठ कस्छु, कसिरहन्छु । मेरो गल्ती, मेरो गल्ती हो र म त्यसलाई मन पराउँछु किनभने त्यो मेरो हो । तर जहाँसम्म ठीक र गलत हुने प्रश्न छ, जहिले पनि मतभेद भयो भने मलाई थाहा हुन्छ, गुडिया नै सही प्रमाणित हुन्छे । म ज्यादै जिद्दी मानिस हुँ ।
मेरी हजुरआमामा पनि सधैँ सही हुने गुण थियो । उहाँले भुरालाई भन्नुभयो, ‘ती डाका जैन धर्मलाई मान्छन् होला भन्ने लाग्छ तँलाई ? मेरा बूढालाई त बुढेसकाल लागिसक्यो ।’
उहाँले हजुरबुवातिर हेर्दै भन्नुभयो, त्यो बेला उहाँ मन्त्र दोहोर्याउँदै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, ‘उहाँले त तँलाई हावामा गोली चलाउन भन्नुहुन्छ किनभने हामीलाई कसैको ज्यान लिनु छैन । उहाँलाई आफ्नो मन्त्र पढ्न दिनू । उहाँलाई कसले पो गोली चलाउन भन्या छ र ? तँ त जैन होइनस् नि ?’
मलाई त्यो बेला यस्तो लाग्यो कि यदि भुरा जैन हुन्थ्यो भने उसको त जागिरै चट् हुन्थ्यो । त्योभन्दा पहिले मैले कहिल्यै पनि ऊ के धर्म मान्थ्यो भन्ने जान्ने प्रयासै गरिनँ । यतिबेला पहिलो पटक म त्यो बिचरोका लागि चिन्तित भएँ र प्रार्थना गर्न थालेँ– कसलाई ? मलाई थाहा छैन । किनभने जैन कुनै परमात्मामा विश्वास र्दैनन् । मलाई कुनै मत, कुनै विश्वास सिकाइएको थिएन । तर पनि मैले मनमनै भनिरहेको थिएँ, ‘परमात्मा, यदि तिमी कहीँ छौ भने यो बिचरो मानिसको जागिर जोगाइदेऊ ।’
तिमीले देख्यौ ? त्यस्तो परिस्थितिमा पनि मैले भनेँः ‘यदि तिमी कतै छौ भने…’ यस्तो स्थितिमा पनि म झूटो बोल्न सक्तिनँ । तर सौभाग्य, भुरा जैन थिएन । उसले भन्यो, ‘म जैन होइन । त्यसैले मलाई धर्मको चिन्ता छैन ।’
मेरी हजुरआमाले भन्नुभयो, ‘उसो भए मैले जे भनेँ, त्यसलाई याद राख्नू र यी बेवकुफ बूढाको कुरा बिर्सनू ।’
मेरा हजुरबुवाका लागि उहाँले सधैँ तिनै शब्द प्रयोग गर्नुहुन्थ्योः ‘बेवकुफ बूढा !’ र, मैले यो शब्द देवगीतका लागि राखिछाडेको छु । ती बुढा बेवकुफ त बितिहाले । मेरी आमा… मेरी हजुरआमा पनि बितिसक्नुभयो । माफ गर्नु, फेरि मैले मेरी आमा भनेँ । तिमीहरूलाई आश्चर्य होला, मेरा सबै भाइबहिनी, जो करिब एक दर्जन छन्, मबाहेक सबैले आमालाई आमा नै भन्छन् । म एक्लो चाहिँ आफ्नी आमालाई भाउजू भन्छु । भारतमा सबैलाई आश्चर्य लाग्थ्यो, मेरी आमालाई म किन भाउजू भन्छु ? किनभने भाउजूको अर्थ, दाइकी श्रीमती भन्ने हुन्छ । मेरा काकाले पनि उहाँलाई भाउजू भन्नुहुन्छ । त्यो त बिलकुल ठीक हो । तर म अहिलेसम्म उहाँलाई किन भाउजू भन्छु त ? म उहाँलाई भाउजू भन्नुको कारण चाहिँ हजुरआमालाई आमा मानेर हो ।
बच्चैमा आफ्नी हजुरआमालाई म आमा ठान्न पुगेँ । यसपछि अरु कसैलाई आमा मान्न वा भन्न मलाई गाह्रो भयो । मलाई सधैँ थाहा थियो, मेरी हजुरआमा मेरी आमा होइन र पनि मैले उहाँलाई नै आमा भनेँ । हजुरआमा मेरी वास्तविक आमा हुनुहुन्नथ्यो तर उहाँले सधैँ मातृत्वको प्रेम दिनुभयो । मेरी वास्तविक आमा त मभन्दा टाढा नै रहनुभयो, अञ्जानझैँ ! यद्यपि मेरी हजुरआमा बित्नुभयो, र पनि उहाँ मेरो निकै नजिक हुनुहुन्छ । मेरी आमा सम्बुद्ध हुनुभयो र पनि म उहाँलाई भाउजू नै भन्छु । म उहाँलाई आमा भन्न सक्तिनँ किनभने यस्तो भन्नु एक प्रकारले मेरी मृत हजुरआमाका प्रति विश्वासघात गर्नु हो । अँहँ, म त्यस्तो गर्न सक्तिनँ ।
मेरी हजुरआमाले स्वयं कयौँ पटक मलाई सोध्नुभयो, ‘तँ आफ्नी आमालाई भाउजू किन भन्छस् ? उसलाई आमा भन्नू ।’
म यसलाई त्यत्तिकै टार्थें । पहिलो पटक म यसबारेमा कुरा गरिरहेको छु ।
मेरी हजुरआमा कसैगरी मेरो आत्माको अङ्ग बन्नुभयो । उहाँ मलाई ज्यादै प्रेम गर्नुहुन्थ्यो । एक पटक जब हाम्रो घरमा चोर छिर्यो, बिनाकुनै हतियार उहाँ भिड्न जानुभयो । त्यो बेला मलाई थाहा भयो, एउटी स्त्री कतिसम्म भयङ्कर हुन सक्छे । तर मैले बीचैमा नरोकेको भए उहाँले त्यो मानिसलाई मार्नु नै हुन्थ्यो होला । मैले भनेँ, ‘यसलाई छाडिदिनोस् ।’ म रोइरहेको थिएँ र मेरा खातिर उसलाई छाड्न भनिरहेको थिएँ । उहाँले पनि छोडिदिनुभयो । उसलाई विश्वासै लागिरहेको थिएन, एउटी स्त्री उसको छातिमाथि चढेर दुवै हातले उसको घाँटी निचोरिरहेकी छ । अलिबेर नरोकेको भए उसको त ज्यानै जान्थ्यो होला । बिचरो मर्थ्यो नै होला ।
जब भुरालाई उहाँले भन्नुभयो, उहाँले जे भन्नु भएको छ, त्यो गर्नुहुन्छ, भुरालाई पक्का थियो । उहाँले अवश्य पनि गर्नुहुन्छ । उहाँका शब्दको अर्थ त्यही हो, जुन उहाँले भनिरहनु भएको छ । जब मेरा हजुरबुवाले मन्त्र जप्न थाल्नुभयो, उहाँले पनि बुझिसक्नुभएको थियो, हजुरआमाले भन्नुको अर्थ के हो !
दुई पटक ममाथि आक्रमण भयो । मलाई त बडो मजा आयो ! मेरा लागि ती रोमाञ्चक अनुभव थिए । सत्य त के भने अन्तसमा म अपहरणको अर्थ के हो भन्ने जान्न चाहन्थेँ । यही मेरो चरित्रको सधैँ विशेषता रह्यो ! मलाई जोखिम या खतरालाई सामना गर्न मलाई ज्यादै रमाइलो लाग्थ्यो । म आफ्नो घोडामा सवार थिएँ । म हजुरबाको जङ्गलमा घुमिरहेको थिएँ । हजुरबाले मसँग वाचा गर्नुभएको थियो– उहाँले आफ्ना सारा सम्पत्ति मेरो नाममा वसियत गरिदिनुहुनेछ । र, वास्तवमा उहाँले त्यही गर्नु पनि भयो । उहाँले अरु कसैलाई एक पैसा पनि छाड्नुभएन ।
उहाँसँग हजारौँ एकड जमिन थियो । अँ, त्यस बेला त्यसको कुनै मूल्य थिएन । तर मलाई मूल्यको के मतलब ? त्यसको सौन्दर्य अनौठो थियो । ती ठूलाठूला वृक्ष, ठूलो तलाउ र गर्मी याममा पाकेका आँपको सुगन्ध ! म घोडा दौडाउँदै म दिनमा यति धेरै पटक त्यहाँ पुग्थेँ कि घोडालाई पनि बाटो थाहा हुन थालेको थियो ।
अहिले पनि म त्यस्तै छु । कुनै ठाउँ मलाई मन परेन भने म दोहो¥याएर कहिल्यै जान्नँ । म केवल एक पटक मात्र मद्रास गएको छु, एक पटक ! किनभने मलाई त्यो सहर र खासगरी त्यहाँको भाषा बिल्कुलै मन परेन । त्यो भाषा सुन्दा यस्तो लाग्थ्यो, मानिसहरु एकअर्कासँग झगडा गरिरहेका होऊन् ! मलाई यस्तो भाषा मन पर्दैन । त्यसैले मैले आफ्ना आतिथेयलाई भनेँ, ‘म यहाँ बस्ने यो मेरो पहिलो र अन्तिम अवसर हो ।’
उनले सोधे, ‘यो अन्तिम अवसर भनेर किन भन्नुभएको ?’
मैले भनेँ, ‘मलाई यस्तो भाषा मन पर्दैन । सबै झगडा गरिरहेकोझैँ लाग्छ । मलाई थाहा छ, उनीहरु झगडा गरिरहेका छैनन्, उनीहरुको बोली नै यस्तो हो । मलाई मद्रास बिल्कुलै मन परेन ।’
कृष्णमूर्तिलाई मद्रास मन पर्छ तर यो त उनको कुरा भयो । उनी हरेक वर्ष त्यहाँ जान्छन् । उनी तमिल हुन् । सत्य त उनको जन्म मद्रास छेउमा नै भएको थियो । उनी मद्रासी हुन् । त्यसैले उनी त्यहाँ जानु एकदम तर्कयुक्त छ । तर म किन त्यहाँ जाऊँ ?
म धेरै ठाउँमा जान्थेँ । किन ? किनको कुनै कुरै भएन नि ! मलाई जानुमा मजा लाग्छ । मलाई घुमिरहन मजा लाग्छ । तिमीले बुझ्यौ ? घुमक्कड ! म यस्तो व्यक्ति हुँ, जसको कुनै काम छैन– यहाँ त्यहाँ या कहीँ पनि म घुम्न सक्छु । म त घुमक्कड मात्र हुँ । बिना कारण घुमिरहन्छु । अब तिमीहरूले बुझ्यौ होला ।
अँ त म घोडाको कुरा गरिरहेको थिएँ । राजकुमारी डायनाको विवाहको समारोहमा घोडाहरू देखेर मलाई बडो आश्चर्य भयो कि बेलायतमा पनि यस्ता सुन्दर घोडा हुन सक्दारहेछन् । महारानी त बिल्कुल साधारण छिन् । सभ्यतावश म उनलाई कुरुप भन्न चाहन्नँ । र, राजकुमार चाल्र्स पनि राजकुमारजस्तो देखिदैनन् । उनको अनुहार त हेर ! त्यस्तो अनुहारलाई तिमी राजकुमार भन्छौ ? समारोहमा ठूलाठूला मानिस आएका थिए तर मेरो आँखा त घोडामै पुग्यो । ती वास्तविक मानिस थिए । कति खुसीले मानिसहरु नाचिरहेका थिए ! उत्सव मनाइरहेका थिए । तिनर्ला देख्नेबित्तिकै मलाई तुरुन्त आफ्नो घोडाको याद आयो र ती दिन…त्यसको सुवास अहिले पनि यहीँ छ– म देख्न सक्छु, त्यो सुन्दर तलाउ, घोडाको पिठ्युमा बसेको म सानो बच्चा, जंगल– आश्चर्य छ, हुन त अहिले मेरो नाक यो यन्त्रमा चेपिएको छ र पनि नीमको रुख, आँपको रुख, देवदारको रुख अनि मेरो घोडाको सुगन्ध अहिले पनि लिन सक्छु ।
राम्रो ! कम्तीमा त्यो बेला मलाई सुवासको एलर्जी थिएन । के थाहा ! थियो कि ? मलाई थाहा नभएको पनि हुनसक्छ ! अनौठो संयोग, जुन वर्ष मैले बुद्धत्व प्राप्त गरेँ, त्यसै वर्ष मलाई एलर्जी भयो । शायद एलर्जी पहिलेबाटै थियो होला तर त्यसलाई मैले पत्तो पाउन सकेको थिइनँ होला । र, जब बुद्धत्व घट्यो, एलर्जी पत्ता लाग्यो । अब त मैले बुद्धत्वलाई पनि छाडिदिइसकेँ ।
म अस्तित्वलाई यो एलर्जीलाई हटाइदेऊ भनेर भन्छु ताकि म फेरि घोडा चढ्न सकूँ । त्यो दिन मेरा लागि मात्र होइन, मेरा संन्यासीहरुका लागि पनि महत्त्वपूर्ण दिन हुनेछ ।
मसँग एउटा मात्र फोटो छ, जसमा म कश्मिरी घोडामा सवार भएको छु । सारा संसारले यही एउटा फोटो छापिरहेको छ । वास्तवमा म घोडामा चढेको थिइनँ तर फोटोग्राफर घोडामा चढेको मेरो एउटा फोटो खिच्न चाहन्थ्यो । मलाई त्यो मानिस, फोटोग्राफर मन प¥यो । मैले उसलाई नाइँ भन्न सकिनँ । उसले घोडा र सारा सामान लिएर आयो । मैले पनि ठीक छ त भनेँ । म घोडामा बसेँ मात्र । र, तिमीहरु फोटोमा पनि देख्न सक्छौ कि मेरो मुस्कान वास्तविक छैन । त्यो त फोटोग्राफरको अनुरोधमा ल्याइएको नक्कली मुस्कान हो ।
तर म समाधिभन्दा पनि पारि जान सक्छु भने कम्तीमा म घोडाहरुको एलर्जीभन्दा पनि पार पाउन सकूँला । र, त्यो बेला चारैतिर त्यही संसार हुनसक्ला ।
त्यही तलाउ,
त्यही पर्वत,
त्यही नदी…
केवल हजुरआमाको कमी मलाई महसुस हुनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

