१.

‘कुकुर पालुम् न !’

उसले कालेलाई देखेपछि इच्छा व्यक्त गरेको थियो । उसकी आमाले शुरूमा आपत्ति जनाई । त्यसपछि बाउले ।

बाउ अर्थात् म ! मैले भनेँ, ‘यो काले रोगी छ, बूढो छ । यसको सेवा गर्न सक्छस् ? सक्छस् भने यसैलाई पालौँ ।’

ऊ रोगी, बूढो कालेलाई पाल्न, हेरचाह गर्न राजी भयो तर उसकी आमा राजी भइन ।

यसको अर्थ, उसलाई घृणा गरिन्थ्यो भन्ने हैन। काले घरबाहिर बसिरहन्थ्यो । मेरी आमाले तीन समयको खाना दिनुहुन्थ्यो । ऊ पनि दिउँसोभरि कता कता डुल्थ्यो वा अल्छी मानेर कतै पल्टिरहन्थ्यो तर खाने बेलामा ढोकाछेउमा उभ्भिइरहेको हुन्थ्यो।

ऊ घरभित्र छिर्न पाउँदा खुसी हुन्थ्यो तर केहीबेरमै खाना खाइसकेपछि ऊ ढोकाबाहिर खेदिन्थ्यो । यसमा उसले कहिल्यै गुनासो गरेन ।

प्राचीन मिश्रमा यस्ता बूढा कुकुरहरूलाई विशेष सम्मानका साथ एउटा गाउँमा राखिन्थ्यो । त्यसको नाउँ नै किनोपोलिस अर्थात् कुकुरको शहर राखिएको थियो । त्यहाँ कुकुरमाथि आक्रमण गर्नु अपराधको श्रेणीमा राखिएको थियो! यो काले कसैको घरमा पालिएको शिष्ट कुकुर थियो तर बुढेशकाल लागेपछि यसलाई सम्भवतः घरबाट निकालिदिए । मैले भेट्दा ऊ रोगी थियो । लुतोले घिनलाग्दो देखिएको थियो । जसले पालेको थियो, ऊ घिनलाग्दो हुन थालेपछि निकै टाढा र अनकञ्टार ठाउँमा ल्याएर छाडेको हुनुपर्छ । उसले पनि मालिक खोज्ने जाँगर चलाएन र जहाँ छाडिएको थियो, त्यहीँ बसिरह्यो ।

हुन त वरिपरि अरू पनि भुस्याहा कुकुरहरू थिए तर तिनले पनि यसलाई कहिल्यै दुःख दिएनन् । यो एउटा अदबी कुकुर थियो । सधैँ आफूमै मग्न ! पक्कै यसले जीवनमा धेरै भोगेको हुनुपर्छ । उसले केही कुरामा पनि धेरै आशक्ति देखाएन । मूल सडकमा मासु पसल थियो । यो अदबी कुकुरलाई जसले पनि माया गर्थ्यो र उसले चाहेको भए त्यही मासु पसल छेउमा डेरा जमाउन सक्थ्यो तर उसले त्यसमा कहिल्यै आशक्ति देखाएन । हुनसक्छ, उसको अनाशक्ति देखेरै अरू कुकुरले पनि यसलाई सम्मान गरेका हुँदा हुन् ।

कुकुरलाई अचेल कुकुर भन्न पाइँदैन, मनुमित्र भन्नुपर्छ तर मलाई यस्ता पोलिटिकल्ली करेक्टेड शब्दले यिनको प्राचीनता मार्छन् झैँ लाग्छ । सम्मान शब्दले होइन, व्यवहारले हुनुपर्छ । कालेले हाम्रो घरबाट पर्याप्त सम्मान पायो । शुरूमा अरूको कुकुर, के कसो हो भन्ने डरले यसलाई अँगाल्न सकेनौँ तर पछि उसले आफ्नो इज्जत यसरी कमायो कि अहिले म उसैका लागि यत्तिका शब्दहरू खर्च गरिरहेको छु ।

कहिलेकाहीँ सोच्छु… इज्जत त कुकुरले पनि आर्जन गर्नु पर्दो रहेछ !

कालेलाई देख्दा मलाई उसको शाखासन्तानको सम्झना हुन्थ्यो । कहाँबाट, कहाँ आइपुगेको होला ! यसका पुर्खाहरू कहाँका थिए होलान् !

इतिहासकारहरू भन्छन्, कुकुर घरपालुवा हुन थालेको १३ हजार वर्ष वरपरदेखि हो रे ! त्यो भन्दा पहिले के थिए होलान् ? जङ्गली कुकुर कसरी घरपालुवा भयो होला ? कसले बनायो होला ?

पक्कै कुनै गर्भिणी स्त्रीले गर्भिणी कुकुर्नी फेला पारेकी हुँदी हो ! उसले छाउराछाउरी घर ल्याएर पालेकी हुँदी हो । गर्भिणी स्त्रीले आफ्ना सन्तानसँगै छाउराछाउरी पनि हुर्काएकी हुँदी हो । अथवा, गर्भ खेर गएकी कुनै स्त्रीको मन बहलाउन उसको प्रेमीले छाउरो उपहारमा दिएको हुँदो हो । उसले छाउरोलाई आफ्नै सन्तानसरी हुर्काएकी हुँदी हो । ऊसित बात मारी होली, उठ् भन्दा उठ्ने बनाई होली, बस् भन्दा बस्ने पारी होली । यसरी उसले एउटा कोरा छाउरोलाई तालिम दिएकी हुँदी हो र जवान बनाएकी हुँदी हो । जवान छाउरोले गर्भिणी स्त्रीको प्रेमीलाई पछि शिकारमा सहयोग गर्न थालेको हुँदो हो । यसबाट पुरूषले कुकुरलाई कसरी काममा लगाउने भनी सिक्दै जाँदा उसले शिकार सँगसँगै पशुपालनका लागि पनि सहयोगी पनि भएको हुँदो हो । हुँदाहुँदा स्वयं शिकार हुने कुकुरको प्रजाति, मानिसको मित्र हुन पुगेको हुँदो हो।

अहिले त यस्ता कुकुरले मान्छेको उपचारसमेत गर्न थालेका छन् । यी नहुँदा हुन् त शहरी क्षेत्रका आधाभन्दा बढी मानिसहरू डिप्रेसनको शिकार हुँदा हुन् । यी अचेल साथीभन्दा बढी भएका छन् । कतिका लागि बच्चा (सन्तान)सरह नै भएका छन् ।

मेरी एक जना साथी थिई । उसलाई म सानी भन्थेँ । उसको कुकुर्नी मर्दा १३ दिन नून बारेकी थिई ।

मेरा एक जना साथी छन्, घरमा दुई वटा कुकुर पालेका छन् । उनका ती कुकुरलाई कुकुर भन्न पाइँदैन । तिनका नाउँले बोलाउनु पर्छ । अझ एक जना चिनजानका साथीकी पत्नीले त आफ्नो टोलभरिका भुस्याहाहरूलाई दिनमा दुई पटक मासुभात खुवाउने गर्छिन् । उनका पतिले भन्थे, ‘म तिनै ‘बच्चा’का लागि बढीभन्दा बढी मिहिनेत गरिरहेको छु । महिनामा ५० हजारभन्दा बढी त तिनको खानामा खर्च हुन्छ ।’

हिजो छाडी अस्ती हाम्रो कालेको पनि देहान्त भयो । बिहान मोर्निङ वाकमा जाँदा सडकमा बेजान लडिरहेको थियो। ठक्कर दियो कि ? अँहँ, त्यस्तो निशान थिएन । बूढो भएरै मर्यो ।

बूढीले भनी, ‘दुःखै बिसाएछ !’

खै, के बिसायो ! तर आज दुई दिन भयो, मेरो मन चाहिँ एकतमास भएको छ । आज बिहान मोर्निङ वाकमा जाँदा जताततै कुकुर मात्र देखेँ ।

मैले उसलाई खुब मिस गरेँ… थाहा छैन कति दिन गर्नेछु…

कहिलेकाहीँ सोच्छु… कुकुर बनेर पनि मान्छेलाई संवेदित बनाउन सकिने रहेछ !

२.

सिनोपीको डायोजिन एउटा गज्जबको फिलोसफर थियो । दिउँसै बत्ती बालेर हिँड्ने गर्थ्यो । त्यसैले शहरबासीले उसलाई साइनिक अर्थात् खुस्केट पनि भन्थे । डायोजिन द साइनिक !

अलेक्जेन्डर महानलाई झपार्दै डायोजिन

अलेक्जेन्डर महानलाई झपार्दै डायोजिन

खातेपिते घरको मान्छे थियो तर एक दिन देख्यो- एउटा मुसोले धानको उरूङ भएको ठाउँबाट आफूलाई चाहिने जति मात्र लगिरहेको छ । अनावश्यक थुपार्न जरूरी रहेनछ भन्ने बुझेपछि उसले कम्तीमै गुजाराका लागि घर छाड्यो र सानो ठाउँलाई बसोबासको थलो बनायो ।

ऊसँग एउटा कमण्डलु थियो । पानी पिउनका लागि भनेर उसले राखेको थियो ।

एक दिन देख्यो, एउटो बच्चोले पानी हातैले पिइरहेको छ । यो पनि जरूरी रहेनछ भनेर उसले त्यो पनि फ्याँकिदियो । ऊसँग एक सरो लुगा र त्यही बत्ती मात्र बाँकी रह्यो ।

अघोरै धनीहरूले गर्ने खर्चलाई उसले अश्लीलताको सूचीमा राख्थ्यो । एक दिन शहरको एक धनिकले उसलाई खान निम्तो दियो । निम्तो मान्न डायोजिन चम्चमाइलो मार्बल बिछ्याइएको घर पुग्यो ।

डायोजिनको एउटा खराब बानी थियो, पिच्च पिच्च थुकिरहन्थ्यो । स्वभावअनुसार उसले पनि त्यति सुन्दर मार्बलमा जहीँतहीँ थुकिरह्यो । धनिकले भन्यो, ‘डायोजिन, तिमीलाई थाहा छ, यो कति महँगो र दुर्लभ मार्बल हो ? यस्तो मार्बलमा पनि तिमी जहीँतहीँ थुकिरहेछौ ।’

जवाफमा डायोजिनले भन्यो, ‘खासमा जुन मार्बल तिमीले मूल्यवान् भनिरहेका छौ, त्यसको खास मतलब मलाई छैन । यो भूइँ हो र त्यो थुकिनकै लागि हो ।’

‘तिमीले जहीँ पायो, त्यहीँ थुक्न पाउँदैनौ,’ धनिक रिसायो । हुन पनि निम्तो दिएको पाहुनाको त्यो अशोभनीय नै कार्य थियो ।

‘कहाँ थुक्नु त ?’ डायोजिनले सोध्यो ।

‘ठाउँ हेरी थुक न, तर यस्तो सुन्दर मार्बलमा नथुक,’ धनिकले फेरि पनि मार्बलको मूल्यलाई जोड दियो ।

डायोजिनले ती धनिकको मुखमा थुक्यो र भन्यो, ‘वास्तवमा तिम्रो मार्बल ज्यादै मूल्यवान् छ तर तिम्रो थुतुनो चाहिँ थुकिनयोग्य रहेछ ।’

थाहा छैन, डायोजिनले यस्तो असभ्यता देखायो कि देखाएन तर इतिहासको कुरा हो । यस्तो भएको भनेर लेखिएको छ ।

एक पटक अलेक्जेन्डर द ग्रेटले त्यही डायोजिनका बारेमा धेरै सुनेपछि भेट्न भनेर गएछ । तर त्यो दरिद्र त एउटा साह्रै निम्छरो ठाउँमा बसिरहेको देख्यो ।

ऊ संसार जित्ने सपना देखिरहेको र महत्वाकांक्षा चुलिएका बेला डायोजिन सामुन्ने उभिएर भन्यो, ‘पागल बूढा, तिमीलाई के चाहिन्छ भन, म तिमीलाई उपहार दिन्छु ।’

अनिच्छापूर्वक उसले अलेक्जेन्डरलाई भन्यो, ‘यहाँबाट भाग्, तैँले मेरो घाम छेकिरहेको छस् । मलाई अहिलेलाई घाम मात्रै चाहिएको छ ।’

कहिलेकाहीँ सोच्छु… यति असभ्य र स्वाँठ विद्वान पनि मलाई चाहिँदैन…

(चित्रमा अलेक्जेन्डर महानलाई झपार्दै डायोजिन ।)

३.

जुन कम्पनी डुब्दैछ, त्यस्ता कम्पनीमा पुरूष कार्यकारीहरूको रूचि घट्दै जान्छ र त्यस्तो अवस्थामा महिला प्रमुख कार्यकारी हुने सम्भावना बढेर जान्छ ।
मोबाइलमा म सुन्दैछु…

२००५ मा गरिएको अध्ययनमा त्यस्तो अवस्थालाई ‘ग्लास क्लिफ’ नामकरण गरिएको छ । युनिभर्सिटी अफ एक्स्टरका सोसल साइन्टिस्ट मिसेल रायन र अलेक्जेन्डर हास्लमले गरेको अध्ययनको निष्कर्षलाई आधार मानेर र अन्य थुप्रै अध्ययन जोडजाड गरेर एउटा पुस्तक तयार भएको छ ।

किताबमा पूर्व ट्वीटर अर्थात् हालको एक्समा प्रमुख कार्यकारी चुनिदा लिन्डा याक्कारिनो काण्डैकाण्डमा परेको उदाहरण छ । अस्ट्रेलियाको विमान कम्पनी क्वान्टाको पहिलो महिला कार्यकारी भेनेसा हडसनको संघर्षको कथा छ । त्यो बेला मात्र उनी प्रमुख भएकी थिइन्, जब कम्पनी काण्डैकाण्डमा फसेको थियो र त्यसबाट उम्काउनुपर्ने आवश्यकता पर्यो । डब्लुएचस्मिथ कम्पनीको कार्यकारीका रूपमा केट स्वान छानिदा कम्पनी निकै सुस्त चलिरहेको थियो र लगभग टाट पल्टने अवस्थामा थियो ।

Sophie Williams को The Glass Cliff किताबमा महिलाहरूले कसरी समस्यालाई समाधान गर्न सफल भए भन्नेबारे निकै मिहिनेत गरी लेखेकी छन् भन्ने लाग्यो ।

प्रायः प्रमुख कार्यकारीका रूपमा महिलाहरूको औसत आयु ४.५ वर्ष हुने गर्छ जबकि पुरूषहरूको ७.२ वर्ष हुन्छ । महिलाहरूले डुबेका कम्पनीलाई माथि ल्याउन पर्याप्त समय पाउँदैनन् भन्ने उनको तर्क छ ।

सुन्दैछु… रोचक लाग्दैछ…

यस्ता रोचक किताब चैँ म किनेरै राख्छु, काठमाडौँमा कोसँग छ होला ?

४.

बेलायतको प्रख्यात पत्रिका द टेलिग्राफ यतिबेला बिक्रीमा छ । किन्न तम्तयार छ, आबुधाबीस्थित रेडबर्ड आइएमआई । प्रधानमन्त्री ऋषि सुनक भने स्वदेशी अखबारमा विदेशी लगानी गरिनु हुन्न भनेर रोक्न विशेष कानुन बनाउन लागिपरेका छन् ।

यसअघि ६०० मिलियन पाउन्डमा टेलिग्राम मिडिया ग्रुप किन्ने प्रस्ताव रेडबर्डका तर्फबाट आएको खबर प्रकाशित भएको थियो । यो कम्पनीको प्यारेन्ट कम्पनीले म्यान्चेस्टर सिटी फुटबल क्लब किनिसकेको छ । उसले फुटबल क्लब किनिसक्यो भने मिडिया कम्पनी त झनै खुसीका साथ किन्नेछ ।
द टेलिग्राफ मिडिया ग्रुपले निकाल्ने द स्पेक्टेटर म्यागेजिन संसारकै प्रभावशाली विचार निर्माण गर्ने म्यागेजिनका रूपमा चिनिन्छ ।

यही पत्रिकाले बेलायती टोरी पार्टीको नीति तथा नेता निर्माणमा भूमिका खेल्ने गरेको हुनाले यसलाई प्रभावशाली मिडियाका रूपमा लिइएको हो । त्यसैले पनि यो पत्रिका किन्न युनाइटेड अरब इमिरेट्सबाट लगानी ओइरिएको हो ।

यो पत्रिकाको ऋण १ अर्ब १५ करोड पाउन्ड छ । यस पत्रिकाको आम्दानी ठीकै भए पनि बैंकको त्यत्रो ऋण तिर्न अब कुनै हालतमा सम्भव नहुने भएकाले बैंकले पत्रिकालाई लिलाममा चढाएको हो । चढाएलगत्तै संसारभरका अर्बपतिहरूको चासो थियो कि यति प्रभावशाली मिडिया कसको पोल्टामा जाला !
यदि प्रधानमन्त्री सुनकले कानुन बनाएरै मिडियामा विदेशी लगानी रोके भने नेपालीहरूका लागि पनि पाठ हुनेछ ।

अनि, वर्षौंअघि अनेक कुतर्क गरेर विदेशी लगानी ल्याउने नेता, सरकारी कर्मचारी, अनेकन् नन्दीभृङ्गी र पत्रकारहरूका लागि पनि एउटा पाठ हुनेछ कि देशको विचार निर्माणका लागि मिडिया कति जरूरी रहेछ । विदेशी लगानीबाट बचाउनुपर्ने सबैभन्दा ठूलो कुरा ‘विचार निर्माण’ हो भन्ने नबुझ्दा अहिले के के गडबड भइरहेको छ भन्ने पनि बुझ्न सघाउ पुग्नेछ ।

त्यो भन्दा पनि मलाई रोचक लागेको पक्ष चाहिँ, देश ओरालो लागेपछि गीर खेल्न जो पनि आइपुग्दा रहेछन्, चाहे त्यो लगानीको नाउँमा होस् या अरू नै केही…

कहिलेकाहीँ सोच्छु…