
ओशोको आत्मकथाः स्वर्णिम बालापन
सत्र १७ : परमात्माको मृत्यु कसरी मर्ने ?
गएको राति अजित सरस्वतीले मलाई सुनाएको पहिलो कुरा थियो, ‘ओशो, यस्तो गर्न सकूँला भन्ने मैले कहिल्यै सोचेको थिइनँ ।’
जो मानिस त्यहाँ उपस्थित थिए, उनीहरूले कम्युनमा आएर बस्ने कुरा भइरहेको होला भन्ने सोचे । एक किसिमले त्यो पनि सत्य नै थियो किनभने मलाई के याद छ भने, बीस वर्ष पहिले जब उनी पहिलो पटक मसँग भेट्न आएका थिए, मसँग केही मिनेट भेट्नका लागि उनले आफ्नी पत्नीसँग स्वीकृति लिनु परेको थियो । त्यसैले जो त्यहाँ थिए, आफ्ना सारा कामधाम, बालबच्चा, श्रीमतीसमेत छाडेर यहाँ आउलान् भन्ने स्वभावतः बुझे । सबै कुरा छोडेर यहाँ मसँग बस्न त गाह्रै छ ! यसैलाई त वास्तविक त्याग भनिन्छ तर उनको त्यो अर्थ थिएन । र पनि मैले बुझेँ ।
मैले उनलाई भनेँ, ‘अजित, म पनि त छक्क परेको छु ! मलाई त्यस्तो नभएको होइन, मलाई त त्यस्तो क्षणको आशा, इच्छा र अपेक्षा थियो नै ! र, तिमी आयौ, म निकै खुसी छु ।’
अन्य मानिसहरूले फेरि सोचे होलान्, मैले उनी यहाँ आएर बस्ने कुरा गरिरहेको छु । म त अरु नै केही भनिरहेको थिएँ तर उनले बुझे । उनको बुझाइ उनको आँखामा देखिइरहेको थियो । उनका आँखा बच्चाको जस्तो सरल हुँदै गइरहेको थियो । मैले के पनि देखेँ भने छेउछाउका मानिसहरू बुझिरहेका थिए, गुरुछेउ आउनुको सही अर्थ के हुन्छ । यसको अर्थ होः ‘स्व’मा पुग्नु । यसको अर्थ होः स्व–बोध । उनको मुस्कान बिल्कुलै नयाँ थियो ।
म उनका बारेमा चिन्तित थिएँ । उनी दिनप्रतिदिन गम्भीर हुँदै गइरहेका थिए । मलाई चिन्ता थियो किनभने मेरालागि गम्भीरता एउटा फोहोर शब्द रहिरह्यो सधैँ । एउटा रोग, क्यान्सरभन्दा पनि बढी खतरनाक । कुनै पनि रोगभन्दा बढी संक्रामक तर मैले राहतको गहिरो श्वास फेरेँ र एउटा ठूलो बोझ मेरो छातिबाट हट्यो ।
उनी ती थोरै मानिसहरूमध्येका छन्, जो म मर्नुभन्दा पहिले समाधिस्थ भएनन् भने मैले चक्रलाई दोहोर्याएर चलाउनुपर्छ, मैले पुनः जन्मनु पर्छ । हुन त चक्रलाई दोहोर्याएर चलाउनु असम्भव छ– र यसलाई चलाउने यान्त्रिक विधिका बारेमा मलाई थाहा छैन, खासगरी समयको चक्र । म मेकानिक होइनँ, म टेक्निसियन होइन । त्यसैले चक्रलाई दोहोर्याएर चलाउनु मेरालागि ज्यादै कठिन हुन्छ । र, जब म एक्काइस वर्षको थिएँ, त्यो बेलादेखि यही चल्दै आइरहेको छ ।
२१ वर्ष पहिले चक्र बन्द भएको थियो । अब त त्यसमा खिया पनि लागिसक्यो होला । तिमीले त्यसमा तेल हाल्यौ भने पनि केही फाइदा हुने छैन । कतिसम्म भने मेरा संन्यासीले पनि यसका बारेमा केही गर्न सक्तैनन्, यो कुनै रोल्स रोयसको पैँया होइन । यो त कर्मको पैँया हो र हरेक कर्ममा समाहित चेतनाको चक्र हो । मेरो यो चक्र सकिएको छ तर अजितजस्ता व्यक्तिका लागि मैले कुनै पनि मूल्यमा पुनः आउने प्रयास गर्ने थिएँ ।
जबसम्म मेरा एकहजार एक शिष्य सम्बुद्ध हुने छैनन्, म यो शरीर छाड्ने छैन भन्ने निश्चय गरेको थिएँ । देवराज, यसलाई सम्झनू । यो त्यति गाह्रो छैन । आधारभूत काम गरिसकेको छ, मात्र केही धैर्य चाहिन्छ ।
म भित्र छिर्दै गर्दा अजित सम्बुद्ध भए भन्ने सुनेर गुडियाले भनी, ‘बडो अद्भुत कुरा भयो । यता उता सबैतिर बुद्धत्व घटिरहेको छ ।’
अँ, यस्तै हुन्छ । यही त मेरो काम हो ! र, ती एक हजार एक मानिस कुनै पनि क्षण बुद्धत्वमा पुग्नका लागि करिब करिब तयार छन् । थारै मात्र हावाको झोँक्का र फूल फक्रने छ अथवा सूर्यको पहिलो किरण र कोपिलले आफ्नो हृदय खोल्ने छ ।
त्यो के कुरा थियो, जसले अजितलाई सहयोग पुर्यायो ? गएका बीस वर्षदेखि म उनलाई चिन्दछु र उनीमाथि प्रेमको वर्षात गराइरहेको छु । मैले उनलाई कहिल्यै कुटिनँ । त्यसको कहिल्यै आवश्यकता नै परेन । मैले केही भन्नुभन्दा पहिले नै उनी बुझ्छन् । मैले केही भन्नु भन्दा पहिले नै उनी सुन्छन् । गएका बीस वर्षमा उनी मसँग जति नजिक हुन सके, त्यति नै नजिक हिँडिरहे । उनी मेरा महाकाश्यप हुन् ।
गएको राति के भयो ? कसरी भयो ? किनभने हरेक क्षण उनी हरेक क्षण मेरा बारेमा मात्र सोचिरहेका थिए र जसै उनले मलाई हेरे, उनका सारा विचार रोकिए । र, यही एउटा विचारले उनलाई बादलले झैँ घेरेका थिए । उनी स्वयंले पनि आफ्ना शब्दहरूका उचित अर्थ बुझ्न सके होलान् भन्ने मलाई लाग्दैन । केही समय लाग्छ र शब्द अचानक प्रकट हुन पुग्छन् । केही सोच्दै नसोची, उनले अचानक मलाई भने, ‘मलाई यो आशा थिएन, मैले कहिल्ये यो अपेक्षा गरेको थिइनँ । म यसलाई गर्न सकूँला भन्ने सोचेको थिइनँ ।’
मैले भनेँ, ‘चिन्ता नगर । मलाई सधैँ पूरापूर विश्वास थियो, अब ढिलोचाँडो एक न एक दिन यस्तो अवश्य घट्नेछ ।’
उनी केही असमञ्जसमा परे । उनी आउने कुरा गरिरहेका थिए र म घटना घट्ने कुरा गरिरहेको थिएँ । ठीक त्यही बेला मानौँ एउटा झ्याल खुल्यो र तिमीले हेर्यौ, ठीक त्यसरी नै एउटा झ्याल खुल्यो र उनीहरूले देखे । उनले मुस्कुराउँदै, आँखाभरि आँशु पारेर मेरो गोडा छोए । आँशु र मुस्कान एकसाथ मिसिएको देख्नु एउटा सुन्दर अनुभव हो । यो आफैँमा एउटा ज्यादै सुन्दर अनुभव हो ।
अजित सरस्वतीका कारण म त्यो कथालाई पूरा गर्न सकिनँ, जसलाई मैले शुरुमा भनेको थिएँ । निकै लामो समयसम्म उनी यति निकट रहे कि मलाई उनको बानी पर्यो । तिमीलाई थाहा छ, ‘तन्त्र आर्ट एन्ड तन्त्र पेन्टिङ’ पुस्तकका सुप्रसिद्ध लेखक अजित मुखर्जीका बारेमा कुरा गरिरहेको थिएँ नि, मैले भनेको थिएँ… लेखेको हेर्न सक्छौ, जब मैले अजित भनेँ, मुखर्जी भन्न सकिनँ । मेरा लागि सधैँ अजितको अर्थ रह्यो, अजित सरस्वती ! जब मैले अजित मुखर्जीको कुरा गरेँ, पहिले मैले भनेँ, अजित सरस्व..सम्म पुग्दानपुग्दै मैले फर्केर मुखर्जी भनेँ ।
उनी, कुनै बाधा नपारी, चुपचाप प्रतीक्षा गरिरहे । यस्तो श्रद्धा दुर्लभ हुन्छ । यद्यपि यसै किसिमको श्रद्धाका साथ मेरा हजारौँ संन्यासी छन् । जानेर होस् या अनजानमै भएका, श्रद्धा ज्यादै आवश्यक छ ।
अजित सरस्वतीको पृष्ठभूमि हिन्दु हो । त्यसैले उनका लागि यस्तो श्रद्धा राख्नु स्वाभाविक हो । तर उनको शिक्षा पश्चिममा भएको थियो । शायद त्यसैले उनी यति निकट आउन सके । हिन्दु पृष्ठभूमि र पश्चिमी वैज्ञानिक बुद्धि, यी दुवैका एक साथ हुनु दुर्लभ घटना हो । उनी अनौठा व्यक्ति हुन् ।
र, गुडिया, उनी अझ बढी सम्बुद्ध हुने तयारीमा छन् । यताउता, यहाँत्यहाँ, सबै ठाउँमा सम्बुद्ध हुनेछन् । यति चाँडो सम्बुद्ध जन्मनेछन्, किनभने मसँग अब धेरै समय छैन । तर अस्तित्वमा जब मनुष्य फक्रिन्छ, उसको आवाज ‘पप म्युजिक’जस्तो हुँदैन । शास्त्रीय संगीतजस्तो पनि हुँदैन । त्यो त यस्तो शुद्ध संगीत हुन्छ, जसलाई कुनै पनि वर्गमा राख्न सकिँदैन । तिनलाई सुन्न सकिँदैन, मात्र महसुस गर्न सकिन्छ ।
अब तिमीहरूले यसमा बेवकुफी देख्लाऊ ! म यस्तो संगीतको कुरा गरिरहेको छु, जसलाई सुन्न सकिन्न, महसुस गर्न सकिन्छ । हो क्या ! म त्यसैको कुरा गरिरहेको छु । यसलाई समाधि भनिन्छ । सबै मौन हुन्छन् । बाशोको भ्यागुतो त्यो प्राचीन तलाउमा कहिल्यै हाम्फालेको छैन, कहिल्यै छैन । मानौँ तलाउमा तरङ्ग नै उठ्दैन र सधैँ आकारलाई प्रतिविम्बित गरिरहन्छ, अविचल भावले ।
बाशोको त्यो हाइकू ज्यादै सुन्दर छ । म यसलाई कयौँ पटक दोहोर्याउँछु किनभने यो सदा नयाँ छ र यसबाट नयाँ नयाँ अर्थ निस्कने गर्छन् । म यो पहिलो पटक भनिरहेको छु, भ्यागुतोले हाम्फालेको नै छैन र न त छपाक् आवाज नै आयो । त्यो प्राचीन तलाउ न त प्राचीन नै हो, न त नवीन । समयका बारेमा ऊ केही जान्दैन । त्यसको सतहमा कुनै तरङ्ग छैन । त्यसमा तिमीले जुन तारा देखिरहेका छौ, त्यो आकाशका ताराहरूभन्दा कयौँ बढी भव्य र शानदार छ । तलाउको गहिराई त्यसको वैभवलाई अझ बढाउँछ । ती सपनाका संसारको अङ्ग बन्न पुग्छन् ।
जब कोही समाधिमा फक्रन्छ, उसलाई थाहा हुन्छ, भ्यागुतोले हाम्फालेकै छैन– प्राचीन तलाउ प्राचीन थिएन । त्यो बेला थाहा हुन्छ, जे छ ।
यी सबै त मैले यसै भनिदिएँ । तर योभन्दा पहिले म बिर्सूं, हिजो भन्न थालेको कथालाई भनिहालूँ.. । तिमीहरूले शायद सोचेका पनि थिएनौ होला, मैले त्यो सम्झनेछु । तर एउटा सुन्दर कथाबाहेक सबै बिर्सन सक्छु । मेरो मृत्युपछि पनि तिमीहरूले म केही बोलूँ भन्ने चाह्यौ भने कुनै कथाका बारेमा सोध्नूः ईसपको कथाहरू, पञ्चतन्त्र, जातक कथाहरू अथवा जिससका नीतिकथाहरू ।
हिजो मैले भनिरहेको थिएँ, त्यो सबै ‘कुकुरको मृत्यु’को कहावत (लोकोक्ति)बाट शुरु भयो । मैले भनेको थिएँ, विचरो कुकुरको यसमा कुनै लिनुदिनु छैन तर यो उक्तिका पछाडि एउटा कथा छ, जुन सम्झनायोग्य छ । किनभने लाखौँ मानिसहरू कुकुरकै मृत्यु बेहोर्ने छन् । शायद तिमीहरू पनि त्यो कथालाई सुनिसकेका छौ । शायद हरेक बालबालिकाले यसलाई सुनेका होलान् । त्यो यति सरल छ ।
परमात्माले संसार बनायोः पुरुष, स्त्री, पशु, रुख, पक्षी, पर्वत आदि सबैथोक । शायद ऊ साम्यवादी हुनुपर्छ । यो त ठीक भएन, कम्तीमा परमात्मा चाहिँ साम्यवादी हुनुहुन्थेन । उसलाई कमरेड परमात्मा भनियो भने त पक्कै राम्रो नलाग्ला । ‘कमरेड परमात्मा, तिमीलाई कस्तो छ ?’ भनेको सुन्दा कस्तो लाग्ला ? पक्कै राम्रो लाग्ने छैन । तर कथाले भन्छ, परमात्माले सबैलाई बीस वर्षको आयु दियो । सबैको बराबर आयु । पुरुषलाई मन परेन । यो त स्वाभाविकै थियो । उसले तुरुन्तै प्रतिवादमा भन्यो, ‘मात्र बीस वर्ष ? यो त पर्याप्त भएन !’
यसले पुरुषका बारेमा जनाउँछ, उसका लागि केही पनि पर्याप्त हुँदैन । प्रतिवाद गर्न स्त्री उभिइन । यसले स्त्रीका बारेमा थाहा हुन्छ । ऊ साना साना कुराबाट नै सन्तुष्ट छे । उसका इच्छा मानवीय छन् । ऊ चन्द्रमा तारा पाउने प्रयास गर्दिन । सत्य त के भने जब पुरुष सगरमाथा वा चन्द्रमा या मंगलमा पुग्ने प्रयास गर्छ, ऊ त्यसमा खुब हाँस्छे । उसलाई पुरुषका यी सारा काम मुर्खतापुर्ण लाग्छन् । ऊ सोच्छेः यी सारा कुरामा के छ ? त्यत्रा सारा कुरा गर्नुको साटो घरमा बरु टेलिभिजन हेरेर बस्नु पर्छ ।
आशु तल हेरिरहेकी छ । नलजाऊ । म स्त्रीहरूको टेलिभिजन हेर्ने विरुद्ध बोलिरहेको छैन । म त आफ्ना बारेमा कुरा गरिरहेको छु । म सोच्छु, स्त्रीहरू त विज्ञापनका लागि टेलिभिजन हेर्छन् । अरु कुनै चिजका लागि होइन । कुन नयाँ साबुन या सेम्पु आयो, कुन नयाँ कार आयो… केही नयाँ… केही नवीन ।
विज्ञापनमा सबै कुरा सधैँ नयाँ हुन्छन् । हरेक पटक नयाँ प्याकेटमा पुराना कुरा हुन्छन् । अँ, प्याकेट नयाँ हुन्छन्, लेबल नयाँ हुन्छन्, नाम नयाँ हुन्छन् । स्त्रीका रुचि सधैँ वर्तमानमा हुन्छ । उसको चासो नयाँ वासिङ मेसिनमा हुन्छ, नयाँ रेफ्रिजेरेटरमा हुन्छ, नयाँ साइकलमा हुन्छ ।
यो कथामा स्त्रीले उभिएर परमात्मालाई भनिन, ‘बीस वर्ष मात्र ?’ बरु सत्य त के भने, जब पुरुष उभिएर जब प्रतिवाद गर्न थाल्यो, स्त्रीले उसलाई तानेर तल बसाउन चाहँदी हो र भन्दी हो, ‘चुप लागेर बस । किन गुनासो गरिरहेको ? सधैँ गुनासो मात्र गरिरहेका हुन्छौ । बस ।’
तर पुरुष आफ्नो कुरामा अडान लिएर उभिइरह्यो । भन्यो, ‘यो बीस वर्षको सीमा मलाई मञ्जुर छैन । मलाई अझ बढी चाहियो ।’
परमात्मा असमञ्जसमा पर्यो । साम्यवादी परमात्मा हुँदा, ऊ गरोस् पनि के ? उसले त सबैलाई एकैजसो आयु दिएकै हो । तर पशुहरूलाई यो साम्यवादी साथीभन्दा बढी बुझ्झकी थिए ।
हात्तीले हाँस्दै भन्यो, ‘चिन्ता नगर । तिमी मेरो जीवनबाट दस वर्ष लिन सक्छौ । किनभने बीस वर्षको समय ज्यादै लामो हुन्छ । बीस वर्ष म के गरुँ ? मेरा लागि त दस वर्ष नै पर्याप्त छ ।’
मानिसले हात्तीको जीवनको दस वर्ष पायो । यो उसको बीस र तीस वर्षको बीचको समय हो । बीसदेखि तीस वर्षबीचको मानिसको व्यवहार हात्तीजस्तो हुन्छ । यही बेला जब हिप्पी यिप्पी र उनकाजस्ता जाति जन्मन्छन् । संसारका सबै ठाउँमा यस्ता मानिसहरूलाई हात्ती भन्दा राम्रो हुन्थ्यो । त्यो उमेरमा मानिसले आफूलाई निकै महान् सम्झन्छन् ।
तीस र चालीस वर्षको उमेरका बीच मानिस सिंहले जस्तो चिच्याउँछन्, मानौँ कि उनीहरू आफैँलाई भन्दाहुन्, म त अलेक्जेन्डर महान् हुँ । जब अलेक्जेन्डर नै वास्तविक सिंह थिएन भने अरुको त झन् के कुरा भयो र ? तीस र चालीस बीचका हरेक मानिस सिंहजस्तो व्यवहार गर्छन् ।
त्यसपछि बाघले उठेर भन्यो, ‘जब सबै विचरा मानिसलाई केही न केही दिइरहेका छन् भने म पनि आफ्नो उमेरको दस वर्ष उसलाई दिन्छु नि त !’
चालीस र पचास वर्षका मानिस बाघले जस्तो व्यवहार गर्छन्, जुन सिंहको भन्दा अलि कमजोर हुन्छ, बढी शालिन हुन्छ र एउटा ठूलो बिरालोभन्दा अरु केही पनि हुँदैन । तर आफ्ना बारेमा प्रशंसा गर्न र गफ लडाउन तिनलाई जति कसलाई आउला ?
त्यसपछि घोडा उठ्यो र उसले आफ्नो दस वर्ष पुरुषलाई दियो । पचास र साठी वर्षको उमेरका बीच मानिसले सबै किसिमका भारी बोक्नुपर्छ । त्यो बेला ऊ एउटा साधारण घोडा होइन, असाधारण घोडा बन्न पुग्छ । उसमा चिन्ताका यति ठूलो पहाड लादिएको हुन्छ कि उसले आफ्नो दृढ निश्चयले आफूलाई घिसार्दै हिँडिरहेको हुन्छ ।
साठी वर्षको उमेरमा कुकुरले आफ्नो दस वर्ष दियो । त्यसैले ‘कुकुरको मृत्यु’ कहावत प्रसिद्ध भयो । यो कथा निकै सुन्दर नीतिकथा हो । साठी र सत्तरी वर्षको बीच मानिसले कुकुरले जस्तो जीवन बाँच्छ । ऊ सबै कुराका लागि भुकिरहेको हुन्छ । ऊ भुक्ने बहाना खोजिरहेको हुन्छ ।
यो कथाले सत्तरी वर्षसम्मको कुरा मात्र गर्छ । त्यसपछिको कुरा गर्दैन किनभने त्यो बेला मानिस ७० वर्षभन्दा बढी बाँच्दैनथ्यो । कसैलाई पनि मान्छे त्यति बढी बाँच्ला भन्ने अपेक्षा गर्दैनथयो । ७०वर्ष परम्परागत आयु हो । तपाईं रुढी या परम्परा मान्ने व्यक्ति हो भने क्यालेन्डरमा ७० वर्ष पुगिसकेपछि मरिहाल्नुस् । त्योभन्दा बढी बाँच्नु चाहिँ केही आधुनिक हुनु हो । ८०, ९० र १०० वर्षसम्म बाँच्नु त अझ अति आधुनिक हुनु हो । त्यो त क्रान्तिकारी हुनु हो ।
अमेरिकामा केही असाध्य रोग भएका मानिसहरूलाई डिप फ्रिजमा चिस्याएर राखिन्छ भन्ने तिमीहरूलाई थाहा छ ? आज तिनको रोगको कुनै उपचार छैन तर शायद बीस वर्षपछि त्यसको उपचार खोजिएला । हुन त त्यो रोगका साथ ऊ केही वर्ष अझ बढी बाँच्ला र पनि उनीहरूले आफ्नो खर्चमा, बरफमा जम्न रुचाए । अमेरिकामा त सबै कुरा आफ्नै खर्चमा गरिन्छ । उनहिरु बरफमा जमेका मृतप्राय छन् र पनि पैसा तिरिरहेका छन् । आउँदा बीस वर्षको खर्च उनीहरूले पहिले नै दिइसकेका छन् ताकि उनीहरूको शरीर निरन्तर चिस्यानमा रहिरहोस् । यो निकै महँगो काम हो । जयादै सम्पन्नले मात्र यति खर्च गर्न सक्छ । मेरो विचारमा बरफमा जमाइएको शरीरलाई रेखदेख गर्न एक दिनमा एक हजार डलर लाग्छ । उनीहरूलाई आशा थियो, जब उनीहरूको रोगको उपचार खोजिन्छ, यो बरफ पगालेर तिनलाई पुनः ज्यूँदो बनाई उपचार गरिन्छ । उनीहरू प्रतीक्षा गरिरहे । ती विचरा धनी मानिस ! अमेरिकामा यस्तो कुराको केही सय मानिसहरू प्रतीक्षा गरिरहेका छन् ।
यसले प्रतीक्षाको अर्थ नै बदलियो । यो निकै नयाँ शैलीको प्रतीक्षा होः श्वास त लिइरहेका छैनन् तर प्रतीक्षा गरिरहेका छन् । यो वास्तवमा ‘वेटिङ फर गोडेट’ हो र खर्च पनि दिनु परिरहेको छ ।
यो कथा पुरानो हो । त्यसैले सत्तरी वर्षसम्म मात्र छ । कुकुरको मृत्युको सिधा अर्थ हो, त्यो मानिसले कुकुरको जसरी बाँच्यो । तिमी कुकुर प्रेमी हौ भने नराम्रो नमान्नू । कुकुरसँग यो कथाको कुनै लिनुदिनु छैन । कुकुर त निकै राम्रा हुन्छन् तर कुकुरजस्तो बाँच्नुको अर्थ हो, भुक्नका लागि मात्र बाँच्नु । हर समय भुकिरहनु, मौका खोजिरहनु भुक्ने । भुक्नुको मजा लिनु नै तिनको काम हो । कुकुरको जस्तो बाँच्नुको अर्थ हो, मानिसलेजस्तो नजिउनु । मनुष्यभन्दा तल्लो स्तरमा बाँच्नु, मनुष्यभन्दा कम बाँच्नु । र, जो कुकुरले जस्तो बाँच्छ, ऊ कुकुरकैजस्तो मृत्यु वरण गर्छ । तिमीले त्यही मृत्यु बाँच्छौ, जुन तिमीले आर्जित गरेका हुन्छौ ।
म ती शब्दलाई दोहोर्याउन चाहन्छु, तिमीले त्यसतो मृत्यु पाउँदैनौ, जुन आर्जित गरेका छैनौ । जसका लागि सारा जीवनमा तिमीले मिहिनेत नगरेको मृत्यु कहाँ पाउँछौ र ? मृत्यु या त दण्ड हो या त पुरस्कार । के हो, त्यो सबै तिमीमा भर पर्छ । तिमीले सतही जीवन बाँचेका छौ भने कुकुरजस्तै मर्नेछौ । कुकुर ज्यादै बौद्धिक, जयादै मस्तिष्कप्रधान हुन्छन् तर हृदयबाट र अन्तरबोधबाट, प्रगाढतापूर्वक बाँच्यौ भने बुद्धिले होयन प्रतिभाले सारा काम पूरा प्राणले ग¥यौ भने तिमीले परमात्माको मृत्यु बाँच्नेछौ ।
डग्स डेथ, ‘कुकुरकोजस्तो मृत्यु’ उखानका विपरीत मैले एउटा नयाँ उखान बनाएको छु । गड्स डेथ, अर्थात् परमात्माको मृत्यु । अब अंग्रेजी भाषामा गड र डग शब्दका लागि तिनै अक्षर प्रयोग गरिन्छ तर लेख्न क्रम फरक हुन्छ । डिओजीबाट डग बन्छ अनि उल्टो क्रममा लेख्यो भने जिओडी बन्छ र गड हुन्छ ।
अस्तित्वको सार, तिमे ‘हुनु’मा छ र हुनु त्यही हो, चाहे तिमी टाउकाले हिँड या गोडाले, यसले फरक पर्दैन । अँ, एक किसिमले फरक पर्छ । तिमीले टाउकाले उभियौ भने निकै दुःख हुन्छ । टाउकाले हिँड्यौ भने तिमीले आफ्नो सातौँ नर्क देख्नेछौ । तर तिमी आफ्नो गोडामा उभिन सक्यौ भने, कसैले पनि रोक्ने छैन ।
कुद ! हाम्फाल ! यही त मेरो शिक्षा हो । टाउकाको बलले होइन, आफ्नो गोडामा उभिनू । स्वाभाविक बन । त्यो बेला तिमी परमात्माजस्तो बाँच्नेछौ । र, परमात्मा परमात्मालेजस्तै मनेृछ । ऊ परमात्माले जस्तो बाँच्छ र परमात्मा झैँ मर्छ ।
र, परमात्मा भन्नाले मेरो सिधा अर्थ होः ‘जो आफ्नो स्वामी हो ।’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

