१.

टेक्सस क्रिस्चियन युनिभर्सिटीकी अध्येता समर मेङेलकोचको एउटा अध्ययनले मलाई चकित पार्यो । यो अध्ययनले सम्भवतः हामी किन सुन्दर युवा वा युवती मन पराउँछौँ भन्ने प्रश्नको उत्तर देला ।

समरले सामान्य रूपमा सुन्दर मानिएका १५९ युवा र युवती भेला पारिन् । मेकअप नगरी सुन्दर अवस्थामा देखिने ती युवायुवतीको रगत जाँच गरियो । जे परिणाम आयो, त्यो परिणामसँग अन्य सर्वसाधारणको धारणा मेल खान्छ कि खाँदैन भनी करिब पाँच सय स्वयंसेवकसँग सोधियो ।

सुन्दर युवा युवतीको तस्बिर देखाउँदै स्वयंसेवकहरूलाई तिनीहरूमध्ये सबैभन्दा सुन्दर को हुन् भनी सोधियो ।

स्वयंसेवकले जसलाई सुन्दर माने, तिनमा फेगोसाइटोसिस उच्च तहमा रहेको पाइयो । फेगोसाइटोसिस रोग जन्माउने ब्याक्टेरियाविरूद्ध लडने एउटा प्रक्रिया हो ।

कुनै पुरूषमा नेचुरल किलर सेल्स (एनकेसी) बढीभन्दा बढी छ भने त्यस्ता पुरूषहरू स्त्रीका नजरमा सबैभन्दा बढी आकर्षक हुन्छन् । त्यस्ता पुरूषले सुन्दर स्त्री हात पार्ने सम्भावना बढी हुन्छ । एनकेसी (नेचुलर किलर सेल्स)ले खराब ब्याक्टेरियालाई छानीछानी मार्छ ।

स्त्रीहरूले आकर्षक पुरूष खोज्नुको कारण सुन्दरता मात्र होइन, स्वस्थ पुरूष हो । स्वस्थ पुरूषले पनि आकर्षक स्त्रीमा मरिहत्त गर्नु पनि यही मनोविज्ञान हुनसक्ने धारणा अध्येता समरको छ ।

अहिले यस्ता धेरै औषधि बनेका छन्, जसले एनकेसी बढाउन सहयोग गर्छन्, तर गुफाकालमा मान्छे हेरेरै कोही स्वस्थ रहे नरहेको पत्ता लगाउनु जरूरी थियो । यही गुफाकालीन स्मृतिले हामीलाई सुन्दरताप्रति आकर्षण गराएको त हैन ?

कहिलेकाहीँ सोच्छु…

३.

चियाको चुस्की

खै कसरी हो, चिया हाम्रो घरमा छिर्यो । आमा ठूलो गिलासभरि गुलियो दुधचिया पिउनु हुन्थ्यो, अझै पनि पिउनु हुन्छ । हरेक बिहान घरमा दुध चिया पाक्थ्यो, मैले जान्दादेखि नै ।

हाम्रातिर चिया लोकप्रिय भएको चाहिँ मेरै पुस्ताबाट थियो । शायद ४०-५० वर्षभन्दा बढी भएको छैन होला ।

चीन र जापानतिर चियाको लोकप्रियताको लामो कथा नै छ । जेन कथाले त चिया कसरी पिउनेसमेत सिकाउँछ ।

बेलायतीलाई चिनियाँहरूले चिया पिउन सिकाए । त्यहाँ चिया लोकप्रिय भएको ३०० वर्ष भयो रे ! त्योभन्दा पहिले धनीमानीले मात्र पिउँथे तर ३०० वर्षयता चाहिँ सर्वसाधारणकै पहुँचमा पुग्यो ।

चिया जति गुलियो छ, यसको इतिहास त्यति नै तीतो ! चियामा प्रयोग गरिने गुलियोका लागि हामी गुण प्रयोग गर्ने गर्थ्यौँ । हाम्रो घरदेखि मास्तिर राजवंशी टोलमा ऊखु पेलेर गुण बनाइन्थ्यो । चियामा त्यही गुण हालेर खान्थ्यौँ । पछि चिनीको स्वादले गुणको स्वादलाई बिगारिदियो । पछि त ऊखुबारी पनि मास्सिए, मिल पनि बन्द भयो । त्यसपछि त जोगबनी (इन्डिया) बाट ल्याइने चिनी हाम्रो घरभित्र छिर्न थाल्यो ।

उता बेलायतीले भने त्यो बेला चियामा अफ्रिकीहरूलाई दास बनाएर बेचेको ऊखुबारीबाट उत्पादन गरिने चिनी प्रयोग गर्थे । त्यो बेलाको गुलियोले अहिलेका गोराहरूलाई सताइरहेको छ, ब्ल्याक हिस्ट्रीका नाउँमा ।

खैर, हालै जारी गरिएको एउटा अध्ययनले चियाका कारण बेलायतमा औद्योगिक क्रान्तिको शुरूवात गरेको दाबी गरिएको छ । १८ औँ शताब्दीमा संसारका अन्य ठाउँमा औद्योगिकीकरण नभई बेलायतमा नै किन भयो त भन्ने अध्ययनमा फ्रान्सिस्का अन्टम्यानले चियाको खपत बढेसँगै सर्वसाधारणको स्वास्थ्यमा निकै राम्रो सुधार भएको र अन्य ठाउँको दाँजोमा बेलायतमा औद्योगिकीकरणले चाँडो आकार लिएको टिप्पणी गरेकी छन् । फ्रान्सिस्का कोलोराडो युनिभर्सिटीकी अर्थशास्त्री प्राध्यापक हुन् ।

उनको अध्ययनले पानीको गुणस्तर उति राम्रो नभएको त्यो बेला चिया खाने बानीले पानी उमाल्नु पर्ने, उमालेको पानीमा ऊर्जा बढाउने पेय खपत बढेकाले त्यो बेला मृत्युदर २५%ले घट्यो । सर्वसाधारणमा अचानक भएको यो स्वास्थ्य सुधारले स्वस्थ जनशक्ति बढायो । पहिला पहिला जनसंख्या बढ्नेबित्तिकै महामारी बढ्थ्यो र महामारीले कयौँको ज्यान लिन्थ्यो । तर चियाको खपत बढ्न थालेपछि तुलनात्मक रूपमा ज्यान जाने क्रम घट्न थाल्यो ।

औद्योगिक क्रान्ति हुँदै गर्दा गाउँबाट सहर छिर्नेको संख्या पनि बढ्न थाल्यो । सय वर्षमा गाउँबाट शहर छिर्नेको संख्या तेब्बरले बढ्यो । शहरमा संख्या बढेपछि व्यापार पनि तीव्र हुन थाल्यो र व्यापार तीव्र भएपछि छिटोछरितो काम गर्नुपर्ने र आपूर्तिको बाध्यता बढ्न थाल्यो ।

बजार बढ्नेबित्तिकै पहिला जे कुरा धनीमानीको उपभोगका लागि मात्र सोचिन्थ्यो, त्यो सर्वसाधारणको पहुँचमा बढ्न थाल्यो । माग बढेपछि आपूर्ति बढ्यो र आपूर्तिसँगै बजार भाउ पनि सस्तिन थाल्यो । सन् १७८४ मा चियामाथि लगाइएको कर ११९% बाट जम्मा साढे १२ प्रतिशतमा झर्यो । कतिसम्म भने ठीकै आम्दानी भएको एउटा किसानले पनि दिनमा दुई पटक चिया पिउन सक्ने गरी यो सस्तियो ।

चियाको खासियतका कारण यो राष्ट्रिय पेय बन्न पुग्यो ।

एकताका कामदारका लागि छुट्टी भन्ने कुनै चिज हुँदैनथ्यो तर चियाले ‘टि ब्रेक’ लिनेसम्म बनायो । मेरो अफिसमा त यस्तो टि ब्रेक त कति हो कति !

अध्येता अन्टम्यान भन्छिन्, ‘बारम्बार चियाको पत्ती प्रयोग गर्न मिल्ने भएकाले मानिसहरूले उमालेको पानीको उपभोग बढीभन्दा बढी गर्न थाले । यसले उनीहरूको स्वास्थ्यमा निकै ठूलो फाइदा दिलायो । कफीले समाजमा कस्तो परिवर्तन ल्यायो भन्ने भोलिका दिनमा अध्ययन होला तर यतिबेला हामीले चियाको योगदान भने बिर्सन हुन्न ।’

र, यो कुरा बिहानी चियाको चुस्कीसँगै पढ्दै गर्दा मलाई चैँ बडो मज्जा आइराछ ।

कहिलेकाहीँ म सोच्दिनँ… यस्तै यस्तै पढ्ने गर्छु ।

३.

केही महिनाअघि यो तस्बिर मैले एउटा फोल्डर बनाएर यत्तिकै फ्यालेको रहेछु ।

देख्नेबित्तिकै कहाँको याद नआए पनि प्रसङ्ग याद आयो ।

पछिल्लो समय ‘विकसित’ देशहरूमा किसानको अवस्था निकै खस्ता हुँदै जान थालेको छ । जर्मनी र फ्रान्समा त किसानहरूले निकै ठूला ठूला प्रतिरोध आन्दोलन नै चलाइरहेका छन् । (भारतको कुरै नगरौँ ।)

किसानहरूको आम्दानी कम हुन थालेपछि र फारम सञ्चालन खर्च बढ्न थालेपछि केहीले भने आम्दानीको वैकल्पिक बाटो खोजिरहेका छन् । तीमध्ये यो फारमका मालिकले गौ पर्यटनको बाटो खोजेका रहेछन् । (मैले समाचार मात्र पढेँ तर टिपोट गर्न बिर्सिएकाले कहाँ, को, कसले, कसरी आदि सबै बिर्सेँ ।)

यो फारममा आउने मान्छेले गाई र बाच्छा-बाच्छीसँग लडीबुडी गर्न पाउँछ । तिनको सेवा गर्न पाउँछ । सेवा भन्नाले तिनको खानपिनको ख्याल राख्ने, बेलामौका जिउ कन्याइदिने, सकिन्छ भने गाई-बाच्छा-बाच्छीसँगै सुत्ने पनि !

त्यसबापत भोलिपल्ट बिहानै उठेर गोठ सफा गर्ने तिनको पहिलो काम हुनेछ ।

तर यी गाईलाई यत्तिकै हेरचाह गर्न पाइँदैन । यसका लागि बकाइदा शुल्क तिर्नु पर्छ । साता दिने गौ सेवाबापत राम्रै रकम तिरेपछि मात्र गौ सेवामा भाग लिन पाइन्छ ।

एक दिन मेरो छोरोलाई सोधेँ, ‘छोरो, भविष्यमा तिमी के गर्न चाहन्छौ ?’

ऊ सानै थियो । भन्यो, ‘म गाई पाल्न चाहन्छु ।’

उसले मावलामा दुई वटा गाईको हजुरबा-हजुरआमाले सेवा गरेको देखिरहेको थियो । त्यै भएर उसलाई गौ सेवाको चासो लागेको हुनसक्छ । हुँदाहुँदा त्यो दिन कहाँनेर गोठ बनाउन सकिन्छ भनेर घरको नाप पनि लिइरहेको थियो ।

जब ऊ हुर्किसक्छ, फेरि सोध्नु छ, भविष्यमा तिमी के गर्न चाहन्छौ ?

फेरि पनि उसले गौ सेवा गर्छु भन्यो भने गाईलाई देखाएर कसरी बिजनेस गर्न सकिन्छ भन्ने उसलाई सुनाउनु छ ।

कहिलेकाहीँ म कल्पिन्छु…

४.

अमेरिकाको न्युयोर्कस्थित इस्लिप पब्लिक लाइब्रेरीले वरपरका बालबालिकाहरूको पठन क्षमता बढाउन, पठन संस्कृति प्रवर्द्धन गर्न विशेष पहल गर्ने गर्छ ।

पुस्तकालय भ्रमण गर्ने, त्यहाँ बसेर अध्ययन गर्ने वा पुस्तकालयका पुस्तक घर लैजाने सुविधा दिन्छ ।

बढीभन्दा बढी पुस्तक पढून् भनेर हौस्याउन हालै यो पुस्तकालयले थाइजन्ड बुक्स बिफोर किन्डरगार्टेन कार्यक्रम चलाएको थियो । यसो हुँदा बालबालिकाहरू प्रिस्कुलमै उनीहरूको रूचिका हजार पुस्तक पढिसिध्याऊन् । त्यति पढेपछि पक्कै पनि हुर्कंदै गर्दा उनीहरूको पठन रूचि अझ घनिभूत हुनेछ ।

त्यति धेरै उत्साहजनक उपस्थिति नदेखिए पनि केही सहभागिता भने थियो नै । यस्तोमा काटियाले ३०० पुस्तक पढिसकेको भन्दै पुस्तकालयले यसरी सम्मान गर्यो ।

कहिलेकाहीँ सोच्छु… मेरो घरका पुस्तक पढिसिध्याउनेलाई यस्तै केही सम्मान गरूँ…

 

५.

एक रात एक जना राजा नयाँ वर्षको उत्सवपछि दरबारबाट बाहिर निस्कियो ।

अलि पर पुगेपछि पुसे जाडोमा एउटा बूढो मानिसलाई उँघ्दै गरेको देख्यो ।

राजाले सोध्यो, ‘ए बूढा बा, तिमीलाई चिसो लाग्दैन ? तिमीसँग कुनै न्यायो बर्को छैन ?’

मलाई लाग्छ, बूढो मानिसले राजालाई चिनेन । नचिन्नु स्वाभाविक पनि हो किनभने प्रायः गरिबले राजालाई चिन्दैनन् ।

अनि बूढोले भन्यो, ‘हजूर मसँग न्यानो पार्ने कुनै कपडा छैन तर चिसोसँग मेरो गुनासो छैन किनभने म बानी नै परिसकेँ ।’

‘तिमी यहीँ बस है बूढा बा,’ राजाले भन्यो, ‘म तिम्रालागि घरबाट सिरक, राडी र न्यानो बर्को लिएर आउँछु ।’

त्यो गरिबलाई भर्खरै सुनेका कुरामा विश्वासै लागेन । आजसम्म कसैले पनि उसका अगाडि यसरी नरम कुरा गरेकै थिएन । त्यसैले न्यानो सिरक, राडी र बर्को आउला भन्ने अपेक्षा गर्यो । र, राजा गएतिर हेरिरह्यो ।

राजा दरबारमा फर्कियो । र, त्यसै पनि दरबारमा नयाँ वर्षको रमाइलो र रमरमी अझै सकिएको थिएन । गीत, संगीत, नाचगान र अन्य कुरामा व्यस्त भयो र अघि भर्खरैको कुरा र बूढो मानिस बिर्सियो ।

राजाको आँखा खुल्दा उसको टाउको भारी भइरहेको थियो । तर झल्याँस्स त्यो बूढोको याद आयो र जुरूक्क उठ्यो । उसले मन्त्रीलाई बोलायो र एउटा सिरक, डस्ना, राडी र न्यानो बर्कोको व्यवस्था मिलाउन आदेश दियो ।

केही मिनेटमै ती सारा कुरा राजाका अघिल्तिर हाजिर भए । ती सामग्री रथमा लादेर राजा मन्त्रीसहित राति भेटिएको वृद्धलाई भेट्न निस्कियो ।

वृद्ध परैबाट देखियो । घाम झलमल्ल लाग्दा पनि ऊ सुतिरहेकै थियो । रथ वृद्धछेउ रोकियो । राजाले सामग्री झार्यो र वृद्धछेउ गयो ।

वृद्ध त चिसोका कारण हिजै राति परमधाम भइसकेछ ।

राजालाई विस्मात भएर आयो । छेउमा मन्त्री पनि थियो । मन्त्रीले भन्यो, ‘महाराज, सडकमा हुनेहरूको कथा यही हो । जबसम्म उनीहरूको शरीरमा न्यानो कपडा हुँदैनन्, उनीहरू त्यसैमा अभ्यस्त भइसकेका हुन्छन् । उनीहरूमा चिसोसँग जुझ्ने अपार शक्ति थियो । तर न्यानो कपडा आउने आशा, महाराजको वचन जोडिएपछि जाडो सहने वृद्धको मानसिक शक्ति यति घट्यो कि केही घण्टा पनि उसले कुर्न सकेन ।’

त्यसपछि त्यो राज्यमा गरिबलाई सहयोग गर्ने वचन दिने कुरालाई राजाले कहिल्यै प्राथमिकता दिएनन् । वचन होइन, कर्म ठूलो हो भन्ने राजाले मन्त्रीहरूलाई सिकाए ।

त्यो राज्यमा जब नयाँ नयाँ राजा आए, उनीहरूले आफ्नो पुर्खाको शिक्षा बिर्सिए र जनतालाई वचन मात्र दिइरहे… र जनताको सहनेशक्ति ह्रास गराइरहे…

अचेल त्यो राज्यमा गरिब छैनन्… किनभने त्यहाँ आशा छैन ।

कहिलेकाहीँ सोच्छु…