
आज सुस्ताएर ऊ ओछयानमै पल्टिरही । बाहिर घनघोर वृष्टि भइरहेथ्यो । बिजुली चम्कँदै च्याट्याङ हानेर घरका झ्यालका सिसाहरू चर्काउला जस्तै गर्दै थियो । ऊ फेरि सिरानीमा अडेसिन लगाएर पल्टिरही । छेउमा सुतेकी छोरीलाई हेरी र कुन्नि के सोचेर हो छोरीको गालामा च्वाक्क म्वाई खाई । सानी छोरी चुलबुले कुञ्जिनी अघि नै उठेर बाबाको अघि र पछि गर्दै घरी भित्र अनि घरी बाहिर गर्दै थिई । सुन्दर र सुखी परिवारको नमुना छ यो उनीहरूको परिवार ।
रातभरिकै मुसलधारे पानीले उनलाई विगतका दिनहरूको यादमा पुर्याइदियो । ऊ साईँ सुन्दरम् स्कुलकी एक शिक्षिका थिई । अध्यापिका मात्र होइन उनी त्यहाँ होस्टेल इनचार्ज पनि थिई । पूर्णिमाको रातमा आकाशै उज्यालो बनाइदिने सौन्दर्य र मुस्कानले भरिएको उसको मुहारमा क्रोध र घृणाको छाप कहिले पनि देखिँदैन थियो । विद्यालयमा ऊ सबैकी प्यारी थिई । डायरेक्टर सहाब र उहाँकी श्रीमतीको त झन् उसमा मायाँ र सहानुभूति मात्र होइन सय प्रतिशत विश्वास र भरोसा पनि थियो । सबैसित मिलेर बस्न जान्ने उसमा एउटा चोट भने सदैव रहिरन्थ्यो, सो के भने आफू सानै छँदा उनले आफ्नो प्राणप्रिय मातापितालाई गुमाएकी थिई तर पनि आफ्नो दाजुभाउजूको न्यानो मायाँ र देखरेखमा ऊ हुर्कैकी थिई । पोस्टग्रेजुएटको पढाइ सकेपश्चात् यहाँ कार्यरत थिई । हरेक बिहान चार बजे नै उठी स्नान गरी सुन्दर रङ्ग र भित्री हालेको कुर्तामा म्याचिङ्ग सलवार पहिरेर होस्टेलका नानीहरूलाई उठाई तयार गराएर विद्यालयको प्रेक्षागृहमा पङ्क्तिबद्ध गरी राखेर ॐकारम् एवं सुप्रभातम् पश्चात् सुरु हुन्थ्यो उनको दिनचर्या । होस्टेलका विद्यार्थीहरूलाई पाठ्यक्रमअनुसार अध्ययन गर्नमा सहायता गर्नु अनि फेरि किचनमा गई केही समय किचन इन्चार्जसित त्यसदिनको भोजनका बारे जानकारी लिनु अनि बिहानीको चिया चमेना लिएपछि कक्षाको सुरुवात ।

शारदा लामा योञ्जन (दार्जीलिङ)
‘अहा! कति रमणीय, आनन्दमय थिए ती पलहरू । अँ, त्यो दिन जुन महिनाको मध्यतिर डायरेक्टर सरको म्याक्स गाडी आएर विद्यालयको प्राङ्गणमा रोकियो । सुन्दर, सरल र भद्र एक हुल युवतीहरू उत्रे गाडीबाट । होस्टेल इनचार्ज शिखा यानि कि ऊ उनीहरूको स्वागतमा हाजिर भई । साँच्चै आत्मैदेखि उसले स्वागत गरेर भित्र उनीहरूका निम्ति आरक्षित राखिएको कमराहरूमा पुऱ्याई अनि परिचयको आदानप्रदानपश्चात् सबै होस्टेलका डायनिङ हलमा उत्रे । चियापानी सेवनपश्चात् भोलिको कार्यक्रमबारे बुझ्नलाई सबै प्रिन्सिपल सहेबको दफ्तरमा गएका थिए ।
दार्जीलिङ र कालिम्पोङबाट आउने युवतीहरू केही अरू होइनन्…. श्री सत्य साईँ स्कुलका शिक्षिकाहरू थिए । यहाँ समर सर्टिफिकेट कोर्स गर्नलाई एक्काइस दिनका निम्ति आएथे । सबै उस्ताउस्तै गुण र योग्यताले भरिएका गुरुहरू अझ नवीन त ज्ञान र कौशल हासिल गर्नलाई आएका थिए । अध्ययन र अध्यापनबाहेक ललितकलाका धनी थिए कोही त कोही साहित्यानुरागी । कालिम्पोङका साईँ इन्स्टिच्युट, दार्जीलिङका श्री सत्य साईँ स्कुल अनि दिलरामका साईँ सुन्दरम्, त्रिरत्नको मेलजस्तो भएथ्यो ।
सोच्दासोच्दै उसको आँखा धपक्क बल्यो र ऊ आफैँसित लजाई ।’ अनि… अनि यहीँ नै मेरो भेट भएथ्यो उनीसित । उनी (मेरा पति) आफ्नो दिदी विजयालाई भेट्न आइरहन्थे । विजया दिदीप्रतिको मेरो सम्मान अनि मप्रतिको उनको विश्वासमा ट्रेनिङ सक्दा नसक्दा हामीले हाम्रो हृदय साटासाट गरिसकेथ्यौँ । हामी एकार्काको अति नै नगिच भयौँ । ईश्वरको योजना पहिल्यैबाट भएको हुँदो रहेछ । दिदीको चुनावमा सहमत भएर उनले मलाई विवाहको प्रस्ताव राखेका थिए । ट्रेनिङ सकेको लगत्तै दोस्रो वर्ष हामी वैवाहिक सूत्रमा बाँधियौँ । उनका घरमा वृद्ध पिता थिए । उनी मलाई छोरीलाई झैँ मायाँ गर्थे । ठूला दाजुभाउजू अलग्ग भइसकेका भए तापनि हाम्रा निम्ति दाहिने हात थिए । उनी जेठानी कम र दिदी बढी थिइन्, छिन् पनि…… ‘
घडीले टङटङ गरेर सात बजेको सूचना दियो । उसले उभोँ भित्तामा हेरी, त्यहाँ झुन्ड्याइएको चार्ट पेपरमा लेखिएको कोटेसन पढी ‘बि पोजिटिभ’ ! अनि छोरी काव्यालाई बिस्तारै उठाएर बाथरुम लिएर गई स्नान गरी अनि पूजा कोठामा गएर डोग गरेपश्चात् भनी आफ्नो पतिलाई सम्बोधन गर्दै भनी, “पापा, तपाईँ यी दुई छोरीहरूलाई याद गर्दै गर्नोस् है तबसम्म म चिया खाजा तयार पार्छु । अहिले पानी रहेका बेला छिटो छिटो गर्नुपर्छ । अलैँची बारी सफा गर्नु छ, चियापत्ति सबै हुर्केर गइसक्यो । सुन्तलाको बोटमा उकेरा लाउनुपर्छ ! पानी पनि के साह्रो परेको ! लकडाउनको फायदा उठाइ हाल्नुपर्छ नि !” एउटी सफल गृहिणीको सानदार कमान्ड (आज्ञा) साथसाथै ऊ भान्सा कोठातिर लागी । बाहिर पानी रोक्किसकेथ्यो । गर्लाङबाट उसलाई सहायता गर्ने कालु दाजु डोको बोकेर घाँसको खोजीमा आइसक्थ्यो गीत गाउँदै, “अम्रेला मौसम कहेता है माताडुङ” ….. अर्थात् अलबेला मौसम कहता है स्वागतमा !!



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 





