नेदरल्यान्डको स्वर्ण युग मानिने मध्य १६०० ताकाको एउटा पेन्टिङलाई धेरैले मुस्कुराइरहेकी तरकारीवालीका रुपमा चिनिरहेका थिए । तर जब सन् २०२० को बन्दाबन्दीका बेला बेलायती कला मर्मज्ञहरुले यसको उडेका रङहरुलाई पुनर्जीवित पार्ने प्रयास गरे, भित्र खोतलखातल पारी हेर्दा पेन्टिङकी तरकारीवाली भने मुस्कुराउन बिर्सिएकी युवतीका रुपमा देखा परी ।

चार सय वर्षअघि बनाइएको यो पेन्टिङ खास कसले बनाएको हो भन्ने अझै निक्र्यौल हुन सकेको छैन । नेदरल्यान्डमा बनेको भन्नेसम्म यसका केही अभिलेखबाट पुष्टि भए पनि कुनै पनि चित्रकारले यसमा हस्ताक्षर नगरेका कारण कसको चित्र हो भनी खुट्याउन विज्ञहरुलाई समेत कठिन भइरहेको छ ।

१९ औँ शताब्दीमा यो चित्र कसैलाई पछ्याउँदै नेदरल्यान्डबाट बेलायत छिरेको थियो । त्यसपछि भने ब्रिटिस हेरिटेज नामक संस्थामा संरक्षित रहेर बसिरहेको थियो ।

केही विज्ञहरुले भने यसलाई जोआकिम बेउकलरको कृति मान्छन् । त्यसैले आधिकारिक रुपमा उनैले यसको सर्जकका रुपमा मान्नेहरुको पनि कमी छैन ।

४०० वर्ष पुरानो यो पेन्टिङलाई बेलाबेलामा पुछपाछ र कतिपय अवस्थामा थपथाप गर्ने चलन निकै पुरानो हो किनभने पुराना चित्रहरुका रङहरु उडिसकेका हुन्छन् र तिनलाई नचम्क्याउञ्जेलसम्म त्यसलाई हेर्न दर्शकहरु संग्रहालय वा प्रदर्शनीस्थलमा पुग्दैनन् ।

यही कुरा यस पेन्टिङमा पनि लागू हुन्छ । सन् २०२० मा जब ब्रिटिस हेरिटेजले यसलाई पुछपाछ गर्न थाल्यो, यसलाई अझ गहिरिएर सफा गर्न चाह्यो । केही विज्ञहरुले यस चित्रको अझ भित्र के होला भनी जान्न चाहे । एक्सरे गरी हेर्दा भित्र तरकारीवालीको मुस्कानै गायब रहेछ ।

विज्ञहरु भन्छन्, बेलाबेलामा पुराना पेन्टिङलाई चम्काउने गरिन्छ र धेरै वर्षअघि शायद मुस्कानरहित तरकारीवालीभन्दा मुस्कानसहितकी तरकारीवालीले दर्शकहरुलाई लोभ्याउली भनी थपथाप गरिएको हुनसक्छ ।

जब यसको वास्तविकता थाहा भयो, ब्रिटिस हेरिटेजले पुरानै स्वरुप र शैलीमा यसलाई प्रदर्शनीमा राख्ने तयारी गरेको हो ।