आमुख
बाछिटा नेपाली कविता काव्यका फाँटमा नवप्रवर्तित साहित्यिक रूप हो । छोटो, छरितो र सूत्रात्मक खालको संरचना हुने बाछिटा जम्मा तीन पङ्क्तिमा रचिन्छ । यसले जम्माजम्मी एघार अक्षरको आयाम ओगटेको हुन्छ । यो ३–५–३ को आक्षरिक ढाँचामा संरचित हुन्छ । साहित्यका अन्य विधामा जस्तै यसमा पनि विविध विषयवस्तु समेटिन सक्छ । कुनै एउटा विषयको उठान गरेर त्यसको सूत्रात्मक समाधान गर्ने काम यसमा गरिन्छ । यसमा प्राकृतिक बिम्बको प्रयोग अनिवार्य मानिन्छ भने सकभर निपातको प्रयोग गरिँदैन ।

शृङ्गार रसको सामान्य चर्चा
रस सिद्धान्त पूवीर्य साहित्य सिद्धान्तको सर्वप्राचीन र सबैभन्दा विकसित साहित्यिक मान्यता हो । आचार्य भरतमुनिले नाट्यशास्त्रको व्याख्या गर्ने क्रममा रसको प्रतिपादन गरेका हुन् । उनले रसको व्याख्या गर्दै यसको अङ्गका रूपमा विभाव, अनुभाव, व्यभिचारी भाव र स्थायी भावको चर्चा गरेका छन् । त्यस्तै रसको वर्गीकरण गरी शृङ्गार, वीर, करुण, हास्य, रौद्र, भयानक, अद्भुत र वीभत्स गरी आठ प्रकारको चर्चा गरेका छन् । उनी पछिका आचार्यहरूमध्ये कसैले नौवटा, कसैले दशवटा, कसैले एघारवटा र कसैले बाह्रवटा सम्म रसको चर्चा गरेको भएपनि अचेल भरतमुनिको वर्गीकरणमा शान्त रस थपेर जम्मा नौवटा रसको चर्चा गर्ने सर्वसम्मत मान्यता पाइन्छ ।
नायक नायिकाको पारस्परिक अनुराग, आशक्ति; शारीरिक तथा आत्मिक प्रेम सम्बन्ध, नैसर्गिक कामेच्छा र प्रणय उन्मादका भावहरूले भरिएको रस नै शृङ्गार रस हो । साहित्यमा सर्वाधिक उपयोग हुने रस भएकाले यसलाई नवरसमध्येको रसराज पनि भनिन्छ । यसको स्थायी भाव रति हो । प्रियवस्तुप्रतिको उन्मुखता अथवा प्रेमाद्र्र अवस्थालाई नै रति भनिन्छ । प्रेम, मान, प्रणय, स्नेह, अनुराग र राग गरी छवटा चरणमा रति भावको विकास हुन्छ । यस रसमा परकिया तथा अनुराग शून्य नायिकालाई छोडेर अन्य प्रकारका नायिका तथा दक्षिण आदि प्रकार नायक आलम्बन विभाव हुन्छन् । एकान्त बगैंचा, चन्द्रमा, चन्द्रिका, भ्रमर, मन्दतालको कर्णप्रिय सङ्गीत, चन्दनानुलेपन, भ्रमर, ललित पहिरन, सुमधुर एवम् रतिराग प्रधान गीतहरू ललित मुद्राहरूको सञ्चालन, मन्दगतिमा मधुर ध्वनि दिने सङ्गीत आदि शृङ्गारिक परिवेश उद्धीपन विभाव हुन् । भ्रुविक्षेप, कटाक्ष, आलिङ्गन, चुम्बन आदि अनुभाव तथा उग्रता, मरण, आलस्य र जुगुप्सा यी चार व्यभिचारी भावलाई छोडेर अन्य सबै सञ्चारी भाव शृङ्गार रसमा प्रयोग हुन सक्छन् । शृङ्गार रस संयोग/सम्भोग शृङ्गार र विप्रलम्भ शृङ्गार गरी दुई प्रकारको हुन्छ ।

१. संयोग/सम्भोग शृङ्गार

ramesh pravat

रमेश प्रभात

प्रेमी– प्रेमिकाको मिलन , सुन्दर स्वरूपको चित्रण र सौन्दर्यको प्रस्तुति भएमा त्यो सम्भोग शृङ्गार हुन्छ । त्यस्तै परस्पर प्रेममा अनुरक्त भएका नायक नायिकाले एकआपसमा हेराहेर गर्नु, परस्पर छुनु, चुम्बन गर्नु, आलिङ्गन गर्नु आदिक्रिया व्यापार गरेर आनन्दानुभूति प्राप्त गरेमा सम्भोग शृङ्गार हुन्छ । सम्भोग शृङ्गार धेरै प्रकारको हुन्छ । यसको भेद निर्धारण गर्न कठिन छ किनभने चुम्बन, आलिङ्गन आदि सुखभोगको गणना गर्न सकिंदैन तर पनि यसलाई पूर्वरागान्तर सम्भोग, मानान्तर सम्भोग, प्रवासान्तर सम्भोग, करुण विप्रलम्भान्तर सम्भोग गरेर चार प्रकारमा बाँडेको पाइन्छ । सम्भोग शृङ्गारको उद्दीपन विभावमा सबै ऋतुहरू, चन्द्र चन्द्रिका, सूर्यको उदयअस्त, जलविहार, वनविहार, प्रभात, मधुपान, रतिक्रीडा, चन्दनादिको अनुलेपन, गहनाहरूको धारण तथा अन्य सुन्दर तथा सुमधुर पदार्थहरू रहन्छन् ।

२. विप्रलम्भ शृङ्गार
नायक नायिकाको परस्परमा पे्रमानुराग प्रगाढ हुने तर परस्परमा मिलन नहुने शृङ्गारलाई विप्रलम्भ शृङ्गार भनिन्छ । विप्रलम्भ शृङ्गार पूर्वराग विप्रलम्भ, मान विप्रलम्भ, प्रवास विप्रलम्भ र करुण विप्रलम्भ गरी चार प्रकारको हुन्छ । यसको उद्दीपन विभावमा सबै ऋतुहरू, चन्द्र चन्द्रिका, सूर्यको उदयअस्त, जलविहार, वनविहार, प्रभात, मधुपान, रतिक्रीडाको स्मरण तथा गहनाहरूको धारणजस्ता कुराहरू पर्दछन् ।

नेपाली बाछिटामा शृङ्गार रसको प्रयोग
रसहरूमध्ये श्रेष्ठ रस कुन हो ? भनेर प्रश्न गर्ने हो भने अधिक व्यक्तिको उत्तर पक्कै पनि शृङ्गार रस भन्ने आउँछ । साहित्यका अन्य विधामा पनि अधिक रचना शृङ्गार रसमै रचिएको पाइन्छ । त्यसमा पनि कविता काव्यका अधिकांश रचनामा यसैले स्थान ओगटेको पाइन्छ । नेपाली साहित्यका बाछिटामा पनि यसको प्रयोग यथेष्ट मात्रामा भएको पाइन्छ । यहाँ बाछिटा चौतारी नामक फेसबुक पेजमा प्रकाशित पचास जना बाछिटाकारका एक एक वटा शृङ्गार रसका बाछिटा साभार गरी तिनमा प्रयुक्त शृङ्गारिक भावको निम्नााुसार समीक्षा गरिएको छः

अमर त्यागी बाछिटा सिर्जनाको आरम्भकर्तामध्येका एक बाछिटाकार हुन् । उनले वनमा फुलेको लालीगुराँसलाई मानव मनसँग दाँजेर हेर्ने काम आफ्नो बाछिटामा गरेका छन् । फूल फुल्नु भनेको सुन्दरताको प्रतीक हो । सुन्दरता भन्नु शृङ्गारको पर्याय हो । यसर्थ तलको बाछिटामा शृङ्गारिक वर्णन मात्र पाइन्छः

वनको
लालीगुराँस
मनको । – अमरत्यागी

प्रेमको प्रतीकका रूपमा चखेवा जोडीलाई लिने प्रचलन नेपालमा ज्यादै पुरानो हो । केशव न्यौपानेले आफ्नो बाछिटामा सोही पुरातन प्रतीकको प्रयाग गरेका छन् । उनको बाछिटामा यसरी चखेवाले माया साटेर बसेको चर्चा गरिएकाले तलको बाछिटा शृङ्गारिक बनेको छः

चखेवा
माया साटेर
बसेका । – केशव न्यौपाने

विष्णु भट्टराई ‘विभु’ आफ्नो बाछिटामा रातको चित्रण गर्दै त्यस्तो समयमा प्रियदर्शिनी साथमा भएको कुरा समेत जोड्छन् । यसरी प्रियदर्शिनीसँग रात बिताउन पाउनु भनेको मिलनको सुन्दर चित्रण हो । अझ रातको समयमा प्रेमी र प्रेमिका मात्र हुनु भनेको प्रणयका सबै अवसर मिल्नु हो । यसर्थ यो बाछिटामा सम्भोग शृङ्गारको सुन्दर प्रयोग गरिएको पाइन्छः

रातमा
प्रियदर्शिनी
साथमा । – विष्णु भट्टराई ‘विभु’

सीता पौड्यालको बाछिटामा बसन्तको आरोप मनसँग गरिएको छ । बसन्त लाग्नु भनेको प्रकृतिमा हरियाली छाउनु भन्ने अर्थ लाग्छ । त्यसै गरी मनमा हरियाली छाउनु भनेको प्रेम वा प्रणयको सूचक हो । यसरी हरियाली छाउँदा प्रकृति सिर्जनाका लागि उन्मुख हुन्छ । सिर्जनाका लागि प्रकृति र पुरुषको मिलन हुनु जरुरी हुन्छ । यसर्थ तलको बाछिटामा सम्भोग शृङ्गारको प्रयोग भएको पाइन्छः

मनमा
बसन्त फुल्ने
रहर । – सीता पौड्याल

शान्ता रिमाल आफ्नो बाछिटामा पुतलीले फुलमा चुम्बन गर्दै हिँडेको कुरा गर्छिन् । उनको बाछिटामा फुललाई प्रेमिका र पुतलीलाई प्रेमीको प्रतीकका रूपमा चित्रण गरिएको छ । यसरी चुम्बनजस्तो मिलनका कुरा गरिएकाले तलको बाछिटामा पनि सम्भोग शृङ्गारको मोहक चित्रण गरिएको पाइन्छः

पुतली
चुम्बन गर्दै
फूलमा । – शान्ता रिमाल

वेदप्रसाद रिमालको बाछिटामा हाँगोलाई माया पिरतीको आधार बनाइएको छ भने छाँगोलाई पिरती लगाउने थलोका रूपमा चित्रण गरिएको छ । तलको बाछिटामा पिरती बस्ने अवस्थाको चित्रण गरिएकाले सम्भोग शृङ्गारको प्रयोग भएको पाइन्छः

हाँगोमा
माया पिरती
छाँगोमा । – वेदप्रसाद रिमाल

गङ्गा मानव आफ्नो बाछिटामा केँवरा फूलमा भमरा धुमेको कुरा गर्छन् । नेपाली प्रकृतिमा पाइने केँवरा फूलको कुरा गर्दै त्यसमा भमरा घुमेको कुरा गरिएकाले यसमा मौलिकता पाइन्छ । यसमा मिलनको भाव आएकाले सम्भोग शृङ्गारको समुचित प्रयोग भएको पाइन्छः

केँवरा
फूलमा घुम्छ
भमरा । – गङ्गा मानव

सबिता खत्रीको बाछिटामा पानी र नानीका अनेक रूप हुने कुरा गरिएको छ । यसमा पानी र नानीको तुलना गरिएकाले जीवनको विविधतासँग प्रणयको चित्रण पाइन्छ । यसमा शृङ्गारको चर्चा मात्र भएको पाइन्छः

पानीका
रूप अनेक
नानीका । – सविता खत्री

फेसबुकमा आफ्नो नाम इरानी चराको बकपत्र राखेका स्रष्टाले बाछिटामा मातको चर्चा गर्दै रातमा जून चुहिएको कुरा गरेका छन् । यसमा यौनक्रीडाको बिम्बात्मक प्रस्तुति पाइन्छ । प्रणयको पराकाष्ठाको प्रयोग भएकाले यसमा सम्भोग शृङ्गारको चरम रूप पाइन्छः

मातमा
जून चुहियो
रातमा । – इरानी चराको बकपत्र

प्रेममा दूरीले प्रभाव पार्ने कुरा केशव नेपालको बाछिटामा गरिएको छ । प्रेम मनमा हुने भएकाले निकट हुने तर प्रेमी वा प्रेमिका टाढा भएमा मिलन विकट हुने कुरालाई जूनलाई हेरेर तलको बाछिटामा गरिएकाले यसमा विप्रलम्भ शृङ्गारको उठान गरिएको छः

निकट
टाढको जून
विकट । – केशव नेपाल

श्याम माकजू आफ्नो बाछिटामा यौवनलाई दुबोको पातमा अडिएको शीतको थोपासँग तुलना गर्छन् । यौवन क्षणिक हुन्छ भन्ने चर्चा गरिएको भएपनि यसले प्रतीकात्मक रूपमा उक्त यौवनको भरपूर उपयोग गर्ने सुझाउ समेत दिएको पाइन्छ । यसर्थ यसमा शृङ्गारको चर्चा गरिएको पाइन्छः

यौवन
शीतको थोपा
दुबोको । – श्याम माकजू

आरम्भिक बाछिटाकार आर्त अकुलीन आफ्नो बाछिटामा फूलको दृष्टिलाई विषालु र नशालु भएको कुरा गर्छन् । जतिसुकै विषालु भएपनि त्यसको नशालु गुणका कारण आकर्षक हुने कुरा गरिएको यो बाछिटामा प्रतीकात्क अभिव्यक्ति मुखरित गरिएको छ । यसर्थ यो बाछिटामा सम्भोग शृङ्गारको प्रयोग गरिएको पाइन्छः

विषालु
फूलको दृष्टि
नशालु । – आर्त अकुलीन

लता पौड्याल निरौला आफ्नो बाछिटामा साँझमा सधैँ चन्द्रमाको प्रतीक्षा गर्ने गरेको कुरा गर्छिन् । चन्द्रमालाई प्रेमिकाको प्रतीक मान्ने हाम्रो पुरातन बिम्बको उपयोग गरिएको यसमा सम्भोग शृङ्गारको समुचित प्रयोग गरिएको पाइन्छः

सन्ध्यामा
प्रतीक्षा सधैँ
चन्द्रमा । – लता पौड्याल निरौला

सदान्द कँडेल आफ्नो बाछिटामा पाखामा नफुल्ने फूल पनि आँखामा फुल्ने कुरा गर्छन् । यसमा आशावादी भावको उल्लेख गर्र्दै प्रणयको मार्मिक चित्रण गरिएको छ । यसमा पनि सम्भोग शृङ्गारको उचित प्रयोग गरिएको पाइन्छः

पाखामा
नफुल्ने फूल
आँखामा । – सदानन्द कँडेल

नेत्रबहादुर श्रेष्ठ आफ्नो बाछिटामा कोइलीको मधुर गीतलाई जीवनसँग तुलना गर्छन् । कोइलीको मधुर गीतजस्तै जीवन पनि सुमधुर भएको भाव व्यक्त गरिएको यो बाछिटामा शृङ्गारको आंशिक छटा पाइन्छः

कोइली
मधुर गीत
जीवनी । – नेत्रबहादुर श्रेष्ठ

निर्झरिणी बेनर्जी जोशीले आफ्नो बाछिटामा गुलाफ बैंसमा उन्मत्त हाँस्ने गरेको कुरा गरेकी छिन् । अझ उनले गुलाफलाई स्त्रीलिङ्गीका रूपमा लिँदै क्रियापदको चयन गरेकीले यसमा नारी अर्थात् प्रेमिका रूपको सुन्दर चित्रण गरिएको छ । यसर्थ यसमा सम्भोग शृङ्गारको प्रयोग गरिएको पाइन्छः

गुलाफ
उन्मत्त हाँस्छे
बैँसमा । – निर्झरिणी बेनर्जी जोशी

मोहन घिमिरे आफ्नो बाछिटामा बागमा एउटै खालका फूल फुलेको कुरा गर्छन् । खासमा बागमा थरिथरि फूलहरू फुल्नुपर्नेमा सर्जक एकै खालको फूल फुलेको कुरा गर्छन् । यसरी फूलको प्रसङ्ग उठाउनु भनेको सुन्दरताको कुरा गर्नु हो । यसरी सुन्दरताको कुरा गरिएकाले यसमा शृङ्गारको चर्चा पाइन्छः

बासमा
एउटै फूल
बागमा । – मोहन घिमिरे

बाछिटाको आरम्भकर्तामध्येका एक बाछिटाकार खगेन्द्र बस्याल आफ्नो बाछिटामा मायामा छायाको भूमिका हुने कुरा गर्छन् । छाया हुनु भनेको जीवनको चित्रण हुनु हो । मायाको कुरा गरिएकाले यसमा शृङ्गारको चर्चा भएको भएपनि छायाको भूमिका देखाएर विप्रलम्भ शृङ्गारको प्रभाव देखाइएको पाइन्छः

मायाको
भूमिका भयो
छायाँको । – खगेन्द्र बस्याल

पूर्ण चामलिङ आफ्नो बाछिटामा छायामा पनि अदृश्य शक्ति हुने कुरा गर्छन् । उनी छायामा मायाको आरोप गर्छन् । यसरी अदृश्य शक्तिको कुरा गर्दै मायाको चर्चा गरिएकाले यो बाछिटामा सम्भोग शृङ्गारको उपयोग गरिएको पाइन्छः

छायामा
अदृश्य शक्ति
मायामा । – पूर्ण चामलिङ

निरु गौतम आफ्नो बाछिटामा गीतको कुरा गर्छिन् । डाँफे र मुनाल पनि गीतमा रमाउने र त्यसका कारण प्रीत बस्ने कुरा यसमा उठान गरिएको छ । यसर्थ यो बाछिटामा सम्भोग शृङ्गारको प्रयोग गरिएको पाइन्छः

गीतमा
डाँफे मुनाल
प्रीतमा । – निरु गौतम

मङ्गला उपाध्याय आफ्नो बाछिटामा फूलको सुगन्धजस्तै बोलीको सुगन्धको कुरा गर्छिन् । फूलको चर्चा गर्दै त्यसमा बोलीको मिठासको आरोप गरिएकाले यो बाछिटामा पनि सम्भोग शृङ्गारको उपयोग गरिएको पाइन्छः

बोलीको
सुगन्ध राम्रो
फूलको । – मङ्गला उपाध्याय

समीक्षक तथा सर्जक भरत सिग्देल आफ्नो बाछिटामा स्मृतिको कुरा गर्दै प्रीतिमा वायु समेत बेचैन हुने कुरा गर्छन् । बेचैनी प्रणयको एउटा राम्रो लक्षण हुन्छ । अझ स्मृति गर्दै बेचैन हुनु भनेको विप्रलम्भ शृङ्गारको सुन्दर प्रयोग हो । हेरौँ उनको बाछिटाः

स्मृतिमा
बेचैनी वायु
प्रीतिमा । – भरत सिग्देल

बाछिटाकार सरस्वती श्रेष्ठ आफ्नो बाछिटामा शीतको कुरा गर्दै प्रीतिमा मीठो आभासमा हुने कुरा गर्छिन् । प्रीतिको अनुभूतिको सुन्दर वर्णन गरिएकाले यसमा सम्भोग शृङ्गारको प्रयोग गरिएको पाइन्छः

शीतमा
मठेत आभास
प्रीतमा । – सरस्वती श्रेष्ठ

खतिवडा लक्ष्मी आफ्नो बाछिटामा मायाको कुरा गर्दै त्यसमा छायाको भर नहुने कुराको चित्रण गर्छिन् । यसरी मायामा पनि भरोसा नहुने छायाको कुरा गरिएकाले यसमा विप्रलम्भ शृङ्गारको प्रयोग गरिएको पाइन्छः

मायाको
भर हुँदैन
छायाको । – खतिवडा लक्ष्मी

गङ्गाराज रिमाल आफ्नो बाछिटामा पाखाको कुरा गर्दै आँखामा प्रेयसीको झल्को भएको कुरा गर्छन् । यसरी वनपाखा गर्दा पनि प्रेयसीलाई सम्झिरहने प्रेमीको चर्चा गरिएकाले यो बाछिटामा विप्रलम्भ शृङ्गारको प्रयोग गरिएको पाइन्छः

पाखामा
तिम्रै झल्को छ
आँखमा । – गङ्गाराज रिमाल

बाछिटाकार मनोज मञ्जुल आफ्नो बाछिटामा पृथक् शैलीमा प्रस्तुत हुनछन् । उनी बास्नाले वासना उन्मत्त भएको कुरा गर्छन् । यसमा सुन्दर बिम्बको प्रयोग भएको छ । स्वयं वासना पनि आफ्नै बास्नाका कारण उन्मत्त भएको सुन्दर अभिव्यक्ति पाइन्छ । यसर्थ यो बाछिटा शृङ्गार रसको समुचित उदाहरण होः

बास्नाले
उन्मत्त भयो
वासना । – मनोज मञ्जुल

भवानीश्वर खनाल आफ्नो बाछिटामा एउटी रूपसीको वर्णन गर्दै रातो सारी सजिएकी नशालु युवतीको लज्जालु गुणको चित्रण गर्छन् । प्रेयसी नशालु रूप र लज्जालु गुणको एकै साथ चित्रण गरिएकाले यसमा सम्भोग शृङ्गारको यथोचित प्रयोग पाइन्छः

नशालु
रातो सारीमा
लज्जालु । – भवानीश्वर खनाल

शर्मिला तिमिल्सिना आफ्नो बाछिटामा जवानी छाडेर जाने प्रेमीको चित्रण गर्छिन् । जवानीमै प्रेमीले छाडेर गएको भएपनि कहाँ र कसरी गएको भन्ने कुरा नखुलेकाले यसमा करुण भावका साथ विप्रलम्भ शृङ्गार प्रयोग भएको पाइन्छः

जवानी
छोडेर गयौ
परानी । – शर्मिला तिमिल्सिना

लक्ष्मी बस्याल आफ्नो बाछिटामा एउटा प्रेमी पतिले आफ्नी प्रेयसी पत्नीलाई खाना बनाउन गरेको प्रेमिल आग्रहको चित्रण गरेकी छिन् । यसर्थ यसमा सम्भोग शृङ्गार पाइन्छः

पियारी
बनाऊ खाना
तयारी । – लक्ष्मी बस्याल

शङ्कर अधिकारी आफ्नो बाछिटामा प्रेमीहरू आफ्ना प्रेमिका भेट्नका लागि कस्ता कस्ता बहाना बनाउँछन् भन्ने भावको चित्रण गरेका छन् । मिलनका लागि आतुर प्रेमीको अवस्थाको चित्रण गरिएकाले यसमा सम्भोग शृङ्गारको अवस्था पाइन्छः

बहाना
प्रेमिका भेट्ने
चाहना । – शङ्कर अधिकारी

पाको उमेरका बाछिटाकार मधुसुदनप्रसाद घिमिरे आफ्नो बाछिटामा जवानी बगेर जाने र एकै ठाउँमा नअड्ने अनुभूतिजन्य कुरा चित्रण गर्छन् । जवानी अडेर नबस्ने भएकाले त्यसको बेलैमा उपयोग गर्नका लागि प्रतीकात्कम सन्देश लुकेको यो बाछिटामा पनि शृङ्गारिक भाव पाइन्छः

जवानी
बगेर गयो
नअड्ने । – मधुसुदनप्रसाद घिमिरे

बाछिटाकार राजनीति पराजुली आफ्नो बाछिटामा मानुषी नामक पात्र उभ्याएर मायाको डोरी उसैमा अडेको कुरा गर्छन् । यसरी प्रेमिकाको वर्णन गरिएकाले यो बाछिटाम सम्भोग शृङ्गार रसको उपयोग गरिएको पाइन्छः

मानुषी
मायाको डोरी
आधार । – राजनीति पराजुली

बालसाहित्यकार तथा बाछिटाकार रमेशचन्द्र घिमिरे आफ्नो बाछिटामा एउटी रूपसी यौवनाको चित्रण गर्छन् । अझ उक्त रूपसीलाई सर्वाङ्ग छोएर जाने पानीलाई सम्बोधन गर्दै उक्त पानी आफूभन्दा भाग्यमानी भएको कुरा गर्छन् । यसर्थ यसमा सम्भोग शृङ्गारको समुचित प्रयोग पाइन्छः

ए नानी !
छ भाग्यमानी
यो पानी । – रमेशचन्द्र घिमिरे

समीक्षक तथा सर्जक सुरेश काफ्ले आफ्नो बाछिटामा पिरतीको अवस्थाको वर्णन गर्छन् । पिरतीलाई घामको छायासँग तुलना गर्दै त्यसलाई पित्तलमा आरोपित गर्छन् । सुनलाई सुन्दरता र पित्तललाई सुनजस्तै पहेँलो भएपनि केवल भ्रमका रूपमा लिने हाम्रो परम्परित धारणाको चित्रण गरिएकाले यसमा विप्रलम्भ शृङ्गारको प्रयोग पाइन्छः

पिरती
घामको छाया
पित्तल । – सुरशे काफ्ले

केदार आचार्य आफ्नो बाछिटामा बाँसुरीको धूनलाई प्रेमको धूनका रूपमा चित्रण गर्छन् । त्यति मात्र नभएर त्यो धून निकै मधुर भएको कुरा समेत गर्छन् । यसरी प्रकृति, सङ्गीत र प्रेमको त्रिवेणी बनेको यो बाछिटा सम्भोग शृङ्गार रसको सुन्दर नमुना बनेको छः

बाँसुरी
प्रेमको धून
माधुरी । – केदार आचार्य

सरस पाण्डे आफ्नो बाछिटामा प्रेमको अपार शक्तिको कुरा गर्छन् । त्यति मात्र नभएर प्रेमको शक्ति स्थिरतामा नभई प्रवाहमा हुने कुरा पनि मार्मिक रूपले प्रस्तुत गर्छन् । यसर्थ यसमा सम्भोग शृङ्गार पाइन्छः

प्रवाह
प्रेमको शक्ति
अपार । – सरस पाण्डे

दीक्षा सापकोटा आफ्नो बाछिटामा गाजलु नयन लजाएर झुकेको कुरा गर्छिन् । गाजलु नयन हुने व्यक्ति भनेको एउटी युवती हो । यसरी लजाएर नयन प्रणयका बेलामा मात्र झुक्ने हुनाले यो बाछिटामा प्रणय निवेदन छ । यसर्थ यसमा सम्भोग शृङ्गारको समुचित प्रयोग पाइन्छः

लजालु
झुक्यो नजर
गाजलु । – दीक्षा सापकोटा

नारायणप्रसाद उपाध्याय आफ्नो बाछिटामा विश्वास नै दुई मुटुको आधार हो भन्दै प्रेमको मार्मिक चित्रण गर्छन् । प्रेमको गुणको बारेमा चर्चा गरिएकाले यसमा शृङ्गार रस पाइन्छः

विश्वास
दुई मुटुको
आधार । – नारायणप्रसाद उपाध्याय

अनिल चन्द आफ्नो बाछिटामा प्रेयसी अधरमा नजर अड्याएर हेरिरहन चाहेको कुरा गर्छन् । यसरी प्रेममा पर्न लागेको प्रेमीको चित्रण गरिएकाले यसमा सम्भोग शृङ्गार पाइन्छः

नजर
हेरिरहूँ त्यो
अधर । – अनिल चन्द

केशव वैरागी माइलो आफ्नो बाछिटामा प्रेमिकालाई देखेर लोलाउने प्रेमीको चित्रण गर्छन् । त्यति मात्र नभएर इसारा गरेर प्रेमिकालाई बोलाउन उद्यत अवस्थाको पनि चित्रण गरिएकाले यसमा सम्भोग शृङ्गारको प्रयोग पाइन्छः

लोलाए
इसारा गर्दै
बोलाए । – केशव वैरागी माइलो

नवरसमा बाछिटा लेख्ने बाछिटाकार अम्बिका धिताल शृङ्गार रसको आफ्नो बाछिटामा सुटुक्क आँखा जुधेपछि भुतुक्क हुने कुराको चित्रण गर्छिन् । आँखा जुधेर भुतुक्क त्यतिबेला मात्र भइन्छ, जतिबेला ऊसँग प्रेम बस्छ । यसरी प्रेमिल वातावरणको चित्रण गरिएकाले यो बाछिटामा सम्भोग शृङ्गारको उत्कृष्ट प्रयोग पाइन्छः

सुटुक्क
आँखा जुधेर
भुतुक्क । – अम्बिका धिताल

हीरा खनाल आफ्नो बाछिटामा प्रेमको डोरी चुँडेको कुरा गर्छन् । यसरी प्रेमको डोरी चुँड्नु भनेको विछोडको अवस्था हो । यसरी विछोडको चर्चा गरिएकाले यसमा विप्रलम्भ शृङ्गार पाइन्छः

उडेछ
प्रेमको डोरी
चुँडेछ । – हीरा खनाल

गजलकार तथा बाछिटाकार पुष्प अधिकारी ‘अञ्जलि’ आफ्नो बाछिटामा तन्नेरी मन कतै अल्झिएको कुरा गर्छन् । तन्नेरी मन स्वभावतः कुनै तरुनीमै अल्झिन्छ । यसका लागि सर्जकले थप शब्द खर्चिनु पर्दैन । यसर्थ यसमा प्रतीकात्मक रूपले सम्भोग शृङ्गारको प्रयोग पाइन्छः

बल्झियो
तन्नेरी मन
अल्झियो । – पुष्प अधिकारी ‘अञ्जलि’

प्रदीप रिमाल आफ्नो बाछिटामा भाले देखेर मसक्क हुने पोथीको चित्रण गर्छन् । भाले र पोथी भनेका प्रेमी र प्रेमिकाका सार्वभौम प्रतीक हुन् । यसमा ‘देखेर’ भन्नका लागि ‘देखेसी’ जस्तो पदको प्रयाग भएकाले भाषिकाको प्रयाग पाइन्छ । यसरी भाले देखेर मसक्क मस्किएको कुरा गरिएकाले यसमा सम्भोग शृङ्गारको प्रयोग भएको पाइन्छः

चसक्क
भाले देखेसी
मसक्क । – प्रदीप रिमाल

शम्भु चौहान आफ्नो बाछिटामा प्रेमको कुरा गर्दै त्यसमा कुनै सीमा नहुने पुरातन बिम्बको उपयोग गर्छन् । प्रेम शाश्वत हुन्छ भन्ने कुरालाई चित्रण गरिएकाले यो बाछिटामा शृङ्गारको चर्चा पाइन्छः

सारमा
कोरिन्न सीमा
प्यारमा । – शम्भु चौहान

गोविन्द खनाल आफ्नो बाछिटामा लाजले मुख छोप्ने कुनै युवतीको चर्चा गर्छन् । लाजले मुख छोप्न सुरु गर्नु भनेको युवतीमा प्रेमप्रति आकर्षण बढ्न थाल्नु हो । यसरी मनम प्रेम पलाउन थालेको अवस्थको चित्रण गरिएकाले यसमा सम्भोग शृङ्गारको चित्रण पाइन्छः

काजले
मुहार छोपे
लाजले । – गोविन्द खनाल

फेसबुकमा आफ्नो नाम सुष्मा सुष्मा राख्ने बाछिटाकार सुष्माले आफ्नो बाछिटामा प्रेमी प्रेमिकाको फरक खालको अनुभूतिको चित्रण गर्दै बिर्सेका कुरालाई याद दिलाए फेरि सम्झने कुराको चित्रण गरेकी छिन् । प्रेममा निर्लिप्त भएर डुबेको प्रेमीले सबै कुरा भुल्छ भन्दै एउटा सिल्ली अवस्थामा पुगेको चित्रण गरिएको बाछिटा शृङ्गार रसको पृथक् नमुना होः

बिर्सिन्छु
याद दिलाऊ
सम्झिन्छु । – सुष्मा सुष्मा

जगन्नाथ अधिकारी आफ्नो बाछिटामा चन्द्रवदनको कुरा गर्दै त्यसमा चमक भएका कारण मोहक भएको कुरा गर्छन् । यसरी आकर्षणको कुरा गरिएकाले यसमा सम्भोग शृङ्गार पाइन्छः

चमक
चन्द्रवदन
मोहक । – जगन्नाथ अधिकारी

महेन्द्रमान बलामी आफ्नो बाछिटामा यौनक्रीडाको मार्मिक चित्रण गर्छन् । उनी प्रेममा हुने क्रन्दनलाई नै दह्रो बन्धनका रूपमा लिन्छन् । यसरी प्रणयको उत्कर्ष रूपको चित्रण गरिएकाले उनको बाछिटामा सम्भोग शृङ्गारको सुन्दर प्रयोग गरिएको पाइन्छः

क्रन्दन
प्रेमको दह्रो
बन्धन । – महेन्द्रमान बलामी

आफ्नो बाछिटामा अनुकरणात्मक शब्दको उपयोग गर्दै बाछिटाकार रमेश प्रभात मुसुक्क हाँसेपछि यताको दिल खुसुक्क त्यता सरेको भाव व्यक्त गर्छन् । प्रणय भनेको खुसीको चित्रण हो । यसमा प्रणय मिलनको अवस्था देखाइएकाले सम्भोग शृङ्गारको समुचित प्रयोग गरिएको पाइन्छः

मुसुक्क
यो दिल त्यता
खुसुक्क । – रमेश प्रभात

बाछिटा सिर्जनामा नारी स्रष्टाको उपस्थिति पनि बाक्लो पाइन्छ । विभिन्न बाछिटाकारहरूले आफ्ना बाछिटाहरूमा शृङ्गार रसमा उपयोग हुने प्रेम, प्रेमका लागि आह्वान, इसारा, प्रेमी प्रेमिकाको रूपवर्णन, प्रतीक्षा, मिलन, यौनक्रीडा, सम्झना, विछोड, विदाइ आदिजस्ता भावलाई सुन्दर ढङ्गले चित्रण गरेका छन् । यसका लागि कतिपय स्रष्टाले स्थानीय बिम्बको समेत उपयोग गरेका छन् । भाव र भाषामा विविधता भएका यी बाछिटाहरू शृङ्गारिकता कारण निकै सशक्त बनेका छन् ।

उपसंहार
कोरोना महामारीका समयमा प्रारम्भ भएको बाछिटाले छोटो समयमै सङ्ख्यात्मक रूपमा निकै फड्को मारेको देखिन्छ । यसले भावगत विविधतालाई समेटेर अगाडि बढेको छ । साहित्यका अन्य विधामा जस्तै यसले पनि शृङ्गार रसलाई अङ्गीकार गरेको कुरा माथिको चर्चाले पुष्टि गरेको छ । यसका आरम्भकर्ताहरू हाइकुमा जस्तै प्रकृतिको बिम्ब अनिवार्य हुनुपर्ने कुरा औँल्याउँछन् । तर अधिकांश बाछिटाकारले संरचनाको ३–५–३ को ढाँचालाई पूर्ण रूपमा पालना गरेको भएपनि प्राकृतिक बिम्बको उपयोगमा भने उदासीन देखिन्छन् । हाइकुमा प्रकृतिको बिम्ब प्रयोग गरिएन भने ‘सेन्र्यु’ बन्छ भने बाछिटामा त्यस्तो के हुने भन्ने उल्लेख गरिएको छैन । त्यसो त हाइकुले करिब हजार वर्षको यात्रा तय गरिसकेको छ भने बाछिटाले दश महिनाको यात्रा पनि पूरा गरेको छैन । यसको आफ्नो यात्रासँगै परिमार्जन हुँदै जानेछ र यसका बारेमा विशद चर्चा परिचर्चा हुनेछ भन्ने अपेक्षाका साथ यो आलेखको अन्त्य गर्दछु ।