साहित्यपोस्टबाट पुरस्कृत बाछिटाहरुको संग्रह बाछिटा प्रवर्तक तथा साहित्यकार अमर त्यागीको सम्पादनमा प्रकाशनमा आएको छ । साहित्यपोस्टमा ५० शृंखलासम्म सञ्चालित ‘बाछिटा प्रतियोगिता’का विजेता बाछिटाहरुको संकलन ‘उत्कृष्ट बाछिटा’का रुपमा प्रकाशनमा आएको हो ।

साहित्यपोस्ट (इ) दैनिकमा २०७८ फागुन ७ गतेदेखि ५० शृखलासम्म बाछिटा प्रतियोगिता सञ्चालन भएको थियो । उक्त प्रतियोगितामा विजेता बन्नुभएकाे एक सय ५० बाछिटाकारकाे बाछिटा पुस्तकमा समेटिएको छ । प्रत्येक विजेता बाछिटाकारका १० बाछिटा पुस्तकमा संकलित छ ।

पुस्तकमा अमर त्यागीको ‘बाछिटा लेखनको सैद्धान्तिक अवधारणा’ शीर्षकको लेख पनि समावेश छ । यो लेख बाछिटा विधामा कलम चलाउन चाहनेहरुका लागि महत्त्वपूर्ण रहेको छ ।

पुस्तकलाई शब्दमिडिया प्रा.लि (साहित्यपोस्ट) ले प्रकाशनमा ल्याएको हो । पुस्तकको मूल्य तीन सय ५० रुपियाँ रहेको छ ।