विषय प्रवेश 

साधकहरूलाई सदैव प्रेरणा दिने एक संस्कृत सूक्ति छ- “अभ्यासेन सिध्यति” । फेरि, साधनालाई निरन्तर गरिरहनुपर्ने कर्मका रूपमा हेर्ने हो भने सिद्धीको विन्दु अमूर्त विषय बन्न पनि सक्ला । साधनाका सरल उदाहरणहरू हुन्-  लेख्नेहरूमा लेखिरहने भोक र पढ्नेहरूमा पढिरहने प्यास । लेखिरहने भोकको परिणाम हो हालै काव्य पाठकहरू माझ आएको एक विशिष्ट गजल सङ्ग्रह, अक्षराञ्जलि । 

नेपाली वाङ्मयका अनेकौं आयामहरू माथि विमर्श, टिप्पणी, क्रियाप्रतिक्रिया र समालोचना भइरहने भए तापनि त्यस्तो सौभाग्य गजल विधाले विरलै पायो वा पाएको छैन भन्दा पनि हुन्छ । यदि गजलमाथि पनि पारदर्शी विमर्श र बहस हुन सक्थ्यो भने बेतुकका विरोध र निषेधको हालत नेपाली गजलले बेहोर्नु पर्दैनथ्यो कि भन्ने यस टिप्पणीकारलाई लागिरहन्छ । हुन त गजल समालोचना गर्न सानो हिम्मतले पुग्दैन तथापि अक्षराञ्जलिलाई आद्योपान्त मिहिन ढङ्गले पढिसकेपछि टिप्पणीका रूपमा केही लेखौँ भन्ने लाग्यो । 

गत मध्य-शरदको एक साँझ चियागफमा कवि डा. नवराज न्यौपानेलाई मैले उनको कविता सङ्ग्रह ‘निर्मुक्त’को दोस्रो संस्करणबारे जिज्ञासा राखेँ । आफ्नो निकै व्यस्त प्राज्ञिक कर्मसँगै काव्य रचनामा पनि सक्रिय रहिरहने, हरेक दिन केही न केही लेखिरहने र लेख्नैका लागि सोचिरहने स्रष्टालाई मेरो जिज्ञासा केवल पाठकको रूपमा मात्रै नभई शुभेच्छुकका रूपमा पनि थियो । गफ चल्दै जाँदा डा. न्यौपानेले बोलिहाले- 

                         नियाल्न अझै छन् लीला जिन्दगीका

                         म फेर्दै छु पुर्जा ढिला जिन्दगीका

                          निखारेर कसले सक्यो दु:खका क्षण ?

                          हजारौँ रहेछन् पिला जिन्दगीका । 

यी दुई शेर भनी नसक्दै मलाई “वाह !” लागिहाल्यो । मैले बुझेँ डा. न्यौपाने अहिले गजलको तयारीमा छन् । सोधेँ- फेरि गजल सङ्ग्रह ल्याउँदै ? उनले भने- स्वर्गीय आमाको महाप्रस्थानको प्रथम वार्षिकी तिथि अघि नै लेख्ने छोराको लेखकीय श्रद्धाञ्जलि स्वरूप । जवाफले मलाई निकै छोयो । एकैछिन नि:शब्द रहेँ, सोचेँ, अहो ! कति गहिरो आदर्श ! अहिले पनि सोचिरहेको छु ‘अक्षराञ्जलि’ केवल श्रद्धाञ्जलि स्वरूपमा आएको गजल सञ्चयन मात्रै होइन, यो त नेपाली गजलको बहुआयामिक सम्भावनाहरूको खोजी पनि हो जसमा प्रेम र सुन्दरताको वर्णन मात्रै नभई सुख, दु:ख, वेदना, आदर्श, नीतिशास्त्र दर्शन आदि सबै अटून् । यस कृति मातृवियोगको शोक र सन्नाटाका बाबजुद पनि गजलकारको निकै कठोर साधना र प्रतिज्ञाका रूपमा वार्षिकी तिथि वरपर नै विमोचन भई गजलानुरागी पाठकहरू माझ आएको छ । 

मूल्यशास्त्रीय विवेचना

डा. न्यौपानेको गजल सङ्ग्रह ‘अक्षराञ्जलि’ ले कुल १०१ गजलहरू समेटेको छ । फरक फरक रस र भावका गजलहरूमा एक दर्जन बढी बहरहरूको प्रयोग गरिएको छ । बहरका सम्पूर्ण शास्त्रीय अनुशासन पालनाबाट गजलकारमा गजलको शास्त्रीय मूल्य मान्यता प्रति पूर्ण सम्मान रहेको छ भन्न सकिन्छ । खास गरी मुतकारिब, मुतदारिक, मुजारे, हजज, रमल, रजज, वाफिर, जमिल, मीर जस्ता प्रख्यात शास्त्रीय बहरहरूमा रचिएका गजलहरूले भिन्न भिन्न परिवेश र सन्दर्भलाई आफ्ना शेरमा सजाएका छन् । ‘अक्षराञ्जलि’ अवश्य पनि प्रस्तुत स्रष्टाको दु:खद परिस्थितिमा निर्माण भएको हो, तथापि यसमा सन्तापका अलावा वात्सल्य प्रेम छ, आत्मबोध छ, पुनर्जागरणको चेत छ र सांसारिक सत्य प्रतिको गहिरो दर्शन छ । काव्य सौन्दर्यका अलङ्कार, प्रतीक र बिम्बको प्रयोग आभूषणकै रूपमा बडो सुन्दर ढङ्गले प्रयोग भएको पाइन्छ । अधिकांश गजलका शेरहरूमा प्रयोग भएको वक्रोक्ति कलाले समग्र सङ्ग्रहलाई नै ओजस्वी तुल्याएको महसुस हुन्छ । 

                   कहाँ होलान् गगन धर्ती नखुलेका कुनै पाटा 

                   उनी बोल्दै नबोलेका पला मेरा छुरा हुन्छन् 

                   यता एक्लै बनाएर उता एक्लै हुँदै जाने, 

                   मेरा मनका खुशी सारा उनीसँगै बिदा हुन्छन् ।

झट्ट सुन्दा शेरहरूले कुनै प्रेमिकाको अभावलाई सङ्केत गरिरहेको जस्तो लाग्ने तर मातृवियोगको सन्दर्भलाई नबिर्सी शेरको स्वाद लिँदा वात्सल्य प्रेमको अभावमा तड्पिएको मनको पुकार झल्किएको पाउन सकिन्छ । यस सङ्ग्रहभित्र धेरै शेर बहुआयामिक दृष्टिकोणले हेर्न, बुझ्न र तदनुरूप रसास्वादन गर्न पाइन्छ । सङ्ग्रहमा स्रष्टा डा. न्यौपानेले कतिपय शेरमार्फत् आफ्नो आदर्शवादी चिन्तन पेश गर्न भ्याएका छन् ।

                   खुशी हिँड्ने बाटो के के को म सम्झूँ ?

                   भलो कुन छ पाटो गुनेको म सम्झूँ 

                   बिसाएर भारी उठी फेरि जाने, 

                   सबैको छहारी बनेको म सम्झूँ । 

केही शेरहरूमा लोकप्रिय प्राविधिक उर्दू-फारसी शैली अलिफ वस्लको प्रयोग गरी बहरको पालनामा चलाखी अपनाएको पाइन्छ । थाहा थिएन आमा छुट्ने दिन आउने छ (दिनाउने छ), पृष्ठ ५.,  निशा सुनामी खुब आइदिन्छ (खुबाइदिन्छ), पृष्ठ १७., छ याद उनको झन् आइदिन्छ (झनाइदिन्छ), पृष्ठ ५८. आदि अलिफ वस्ल प्रयोगका केही उदाहरण हुन् जसले बहर पालनामा साधकको प्राविधिक खुबीलाई दर्साउँछन् । 

यस कृतिले आदर्शवान् मूल्य, सत्य, न्याय र सदाचारको वकालत गरेको छ र प्रत्येक गजल पढ्ने पाठकलाई सकारात्मक जीवनदृष्टि प्रदान गर्छ । हरेक गजलमा प्रयुक्त शब्द, तिनको अर्थ र भावको संयोजनले पाठकलाई आत्मिक सुख प्रदान गरेको महसुस हुन्छ । शान्त तलाउमा ढुङ्गा फ्याँक्दा उचालिने लहरहरू जस्तै यस काव्यको शिल्पले पाठकको मनलाई बेला बेला उद्वेलित गराउँछ भने फरक गजलमा फेरि शान्त बनाउनेछ । मानव जीवनको अस्तित्व र महत्त्व, परिवार सुख, अभिभावकत्त्वको अर्थ, बाँच्नुको मूल्यलाई सङ्ग्रह भरि महत्त्वका साथ उठाइएको छ । 

सारमा, 

‘अक्षराञ्जलि’ गजलकार डा. न्यौपानेद्वारा आफ्नी स्वर्गीय आमाप्रति अर्पित शब्दहरूको श्रद्धाञ्जलि हो । तथापि यसलाई गजलका पारखीहरूले गजलकारद्वारा आफूप्रति अर्पण गरेको प्रथम गजल सङ्ग्रहको कोसेलीका रूपमा बुझ्न पनि सक्दछन् ।  सुन्दर स्वदेश पब्लिकेशन, काठमाडौंले बजारमा ल्याएको यस सङ्ग्रहको आवरण कलाले यस भित्रका गजलहरूको समग्र काव्यभावको संश्लेषण गरी बिम्ब उतारेको छ । मलाई लाग्यो, ‘अक्षराञ्जलि’ सम्पूर्ण उमेर समूह, चिन्तन शैली र पठनरूचिका पाठकहरूलाई आ-आफ्नै रसले पढ्न, बुझ्न र सिक्न सघाउने महत्त्वपूर्ण कृति हो ।