(लघुकविता)
खाडीतिर बम खस्दा
अन्ततः मेरै छाती फाटेझैँ लाग्छ
किन हो अनेक भय-त्रासले
मेरै मुटु काटेझैँ लाग्छ।

आकास गडगडाउँदा डराउने “त्यो”
बमको गोला बर्सिँदा कति डरायो होला !
कहिले कोलाहलमा करायो होला
कहिले धुलो-धुवाँमा हरायो होला ।
सम्झिँदा छिनमै पहिरोले थिचेझैँ लाग्छ
आफ्नै घरको खाँबोले किचेझैँ लाग्छ ।

जिन्दगीले उज्यालो खोज्दा
जिन्दगी नै अँध्यारोमा पर्ने त होइन ?
भुइँको टिप्न खोज्दा
हातको खुसी पहिला झर्ने त होइन ?
न अँध्यारोमा झरेको आशा भेट्न सक्छु
न भरोसामा परेको पाइला टेक्न सक्छु ।

यसबेला मलाई
सास थुनेर बाँच्नुको पीडा छ
हे ईश्वर ! हे भगवान् !
मलाई यो पीडाबाट मुक्त गराऊ ।