न त मैले देखेजस्तो
न त तिमीले सुनेजस्तो
हुनेछ तानाशाहको अनुहार ।
उनीहरूजस्तो देखिन्छन्, त्यस्तो हुँदैनन्
उनीहरूजस्तो हुन्छन्, त्यस्तो देखिँदैनन् ।
टीभीको पर्दामा या
चिल्ला पत्रपत्रिकाहरूमा देखाइएजस्तो
या नागरिकहरूको खुला आँखाले देखेजस्तो
हुनेछैनन् तानाशाहका अनुहारहरू ।
तानाशाहहरूको
आँखामा चमक
ओठमा मुस्कान
चालमा लचकता र
बोलीमा मिठास हुन्छ ।
एक जादुगरजस्तै
चतुर हुन्छन् तानाशाहहरू
दुनियाँका आँखा छल्न सक्छन्
भ्रमजाल बुन्न सक्छन्
रूप बदल्न सक्छन्
मन्त्रमुग्ध बनाउन सक्छन् ।
तानाशाहहरू
बाँसुरी बजाउँछन्
कविता सुनाउँछन्
नानीहरूको कपाल सुमसुम्याउँछन्
वृद्धवृद्धाहरूको हात समाउँछन्
युवाहरूलाई भुलभुलैयामा पार्छन्।
जब लहरे झारजस्तै
सत्ता हुँदै शक्तिको टुप्पोमा पुग्छन्
क्रमशः फेरिँदै जानेछन्
तानाशाहका अनुहारहरू ।
मुस्कान अहम्तामा
क्रूरता आँखामा
धेय बदलामा
विश्वास धोकामा
हातहरू नानीहरूका घाँटीमा
खुट्टाहरू नागरिकहरूका छातीमा !
बिस्तारै उदाङ्गिँदै जानेछन्
तानाशाहका अनुहारहरू ।
तानाशाहहरू चाहन्छन् कि
उनीहरूका विरुद्धमा बोल्ने जिब्राहरू थुतिदिऊँ
उनीहरूका विरुद्धमा लेख्ने औँलाहरू काटिदिऊँ
उनीहरूका कुकृत्य देख्ने आँखाहरू फोडिदिऊँ ।
उनीहरू चाहन्छन्
उनीहरूको बोलीमा लोली मिलाउने
मात्र जिब्राहरू होऊन्
उनीहरूको आदेश सुन्ने
मात्र कानहरू होऊन्
उनीहरूको चालमा चाल मिलाउने
मात्र गोडाहरू होऊन् ।
शक्तिले मैमत्त तानाशाहहरू
आफू बाँचेको पृथ्वी बिर्सन्छन्
आफू मान्छे हुँ भन्ने पनि बिर्सन्छन्
र आकाशतर्फ चोर औँला ठड्याउँदै
आफूलाई ईश्वर घोषणा गर्दछन् ।
अवश्य पनि
कठिन हुनेछ यो समय
भोग्नुपर्नेछ तानाशाहहरूको बौलाहापन
हेर्नुपर्नेछ तानाशाहहरूको ताण्डव नृत्य
सुन्नुपर्नेछ तानाशाहहरूको कर्कश आवाज ।
तर जब एक दिन
उदाङ्गिनेछ तानाशाहको असली अनुहार
तब उनकै पछिपछि जयजयकार गर्ने भीडहरूले
लखेटिरहेका हुनेछन् उनैलाई अघिअघि
र गर्नेछन् एउटा तानाशाहको दुःखद अन्त्य
कुनै एउटा चोक, सडक वा सहरको बीचमा ।
इतिहासमा, आजसम्म
यसरी नै लेखिएको पाइन्छ
तानाशाहहरूको इतिहास।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ असार २०८३, सोमबार 







