बिक्रम काङ्भा

 

हिजो जसरी नै आज पनि

तिम्रो प्रतिक्षामा थिए

उही चिर– परिचित अनुहारहरु

मजदूरहरू, किसानहरू

नानीहरू, शिक्षकहरू ।

 

उनीहरूमा त्यसरी नै थियो

उही व्यग्रता

उही उत्सुकता ।

 

धेरै ढिला गरी आयौ तिमी

आहा ! उही सन्तृप्त मुस्कान

उही लचक चाल

उही चम्किलो अनुहार

उही ज्योर्तिमय आँखा

सबैले एकटक हेरिरहे, तिमीलाई

आहा ! उही मृदुल आवाज

सबैले चुपचाप सुनिरहे, तिमीलाई

तिमीले भन्यौ –

“भोकले अब कोही मर्ने छैन

रोगले अब कोही मर्ने छैन

विभेदको शिकार अब कोही हुने छैन ।”

मुख मिठ्याउँदै

जिब्रो फट्कार्दै

तिमीले खोलिरह्यौ सपनाका पुलिन्दाहरू

तिमीले भन्यौ –

त्यो आकाश र यो पाताल जोड्नु छ अब

त्यो जून र यी ताराहरू झार्नु छ अब

र, बनाउनु छ एउटा सुन्दर बगैँचा

यही बीचमा, थाहा छैन

पहिलो लहरबाट मजदूरहरू जुरुक्क उठे र गए

केही समयपछि

दोस्रो लहरबाट किसानहरू उठे र गए

त्यसरी नै नानीहरू गए

शिक्षकहरू गए

मात्र बाँकी थिए अन्तिम लहरमा

केही अपरिचित अनुहारहरू

जो ठोकिरहेका थिए ताली एकतमासले ।