विराटनगरमा कला महा–उत्सव

विराटनगरमा गत माघको अन्तिम अन्तिमतिर लहरै तीन वटा कलाका कार्यक्रम भए । एउटा २४, अर्को २६ अनि अर्को चाहिँ २९ माघमै भएको थियो । कला सँगसँगै साहित्य, संस्कृति, खेलकुद अनि पत्रकारिता समेत यसैमा गाँसिँदा यी कार्यक्रमहरू अझ रोचक बनेका थिए । हरेकको स्वरूप अनि ढंग नितान्त अलगअलग थियो । तापनि सबैमा ललितकला नै बाहुल्य रहेको देखिन्थ्यो । कतै कला–कलाकारलाई सम्मान गर्ने कुरा, कतै कलामाथि बहस गर्ने कुरा, कतै कलामाथि नै कविता कोर्ने वा कविता वाचन गर्दैगर्दा चित्र पनि प्रदर्शनमा हुने कुरा, वा कतै कला नै बिक्री गरी आय बढाउने कुरा हुँदा मूलतः ललितकला कार्यक्रमको केन्द्रमै बसेको देखियो । यसबाहेक तीन वटै कार्यक्रममा कला प्रदर्शन समेत भएको देखियो । समसामयिक चित्रकला, लोकचित्र र मूर्तिकला एवं हस्तकलाका विभिन्न स्वरूपमा प्रदर्शन भयो । यसो हुँदा त विराटनगर स्वयं कलामय भएको थियो ।

अर्थात् महत्त्वपूर्ण सन्दर्भ भनेको चाहिँ यस भेगका विभिन्न खाले कलाहरूलाई राम्ररी अवलोकन गर्न मौका मिलेको थियो । गाउँघरमा मनाउने संस्कारमा बन्ने गरेको कला, दैनिक व्यवहारका लागि बन्ने गरेको कला, सिर्जनशील कलाका रूपमा यहाँ प्रदर्शनमा थिए । प्रदर्शित भएका कलाहरू मैथिली वा थारु कला देखि जरा–कला सम्म देखा परेका थिए । यसबाहेक विकट गाउँघरबाट आएका महिलाहरू आ–आफ्ना कलाहरू (क्राफ्ट) बोकेरै आएका थिए । बेचविखन गर्न पसल थापेजस्तो गरी रहरलाग्दो किसिमबाट सजाएको पनि देखिन्थ्यो । समग्रमा यो एउटा घच्चीको मेलाजस्तो पनि देखिन्थ्यो । यो अर्को रमाइलो परिदृश्य थियो । अझ महत्वपूर्ण कुरा भनेको चाहिँ कला विभिन्न रूपमा प्रस्तुत हुँदा भावकहरूलाई रमझमका साथ नाचगान पनि गर्दै गरेको देखिन्थ्यो । अर्थात् संगीत, गीत अनि नाचको (कलाको) पनि रमाइलो संगम थियो । जताततै कला नै देखिरहँदा हुने गरेका अन्य कार्यक्रमभन्दा यी कार्यक्रमहरू थोरै अलग्ग पनि देखिन्थे । समग्रमा भन्दा यो कला महोत्सवजस्तो देखिन्थ्यो ।

अझ भन्नै पर्दा यति छोटो समयमै भावकहरूलाई यति विघ्न कलाहरूको रसस्वादन गर्न अनुकूल पनि मिलेको थियो । यता विराटनगरमा सम्भवतः यसरी यति छोटो समयमा यति वृहत रूपमा यस्ता कलाका कार्यक्रमहरू भएका थिएनन् होला । अनि भविष्यमा पनि यसरी हुन सक्छ जस्तो चाहिँ देखिँदैन पनि । यसपल्ट यो एक प्रकारको काकताली जस्तो पनि हुन गयो ।

===

पहिलो कार्यक्रम

पहिलो कार्यक्रमको रूपमा माघ २४ गते एउटा भव्य समारोह भयो । सम्मान गर्ने कार्यक्रमको रूपमा देखा परेको यो समारोहमा अलि चर्को रूपमा नै भीडभाड थियो । आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत दिइने यी सम्मान–पुरस्कारहरू सम्मान मात्र पनि थिएनन् । हरेकजसो विशिष्ट व्यक्तिहरूलाई एकै ठाउँमा जम्मा गर्ने मेलेमेसो पनि थियो ।

सम्मानित हुने हामी सबैजसो बाहिरबाटै आएका थियौँ । स्थानीय सम्मानित व्यक्तित्व त थिए नै । बाहिरबाट आसाम अनि नेपालबाट चाहिँ पाँचथर, जनकपुर, महोत्तरी हुँदै काठमाडौंसम्मका थिए । कोही कसैसँग पहिले कहीँ कतै भेटिएका यी व्यक्तित्वहरू थिएनन् । यसकारण पनि भेट हुँदा, कुराकानी हुँदा थप रोचक पनि बनेको थियो । यसैमा आयोजकको एक अलग्ग कार्यक्रम पनि रहेछ । यो भेटघाटको कार्यक्रमले अझ थप रमाइलो भयो । यसरी भेट हुँदा गराइदिँदा पनि आ–आफ्ना विधाबारे खुलेरै बहस गरेको पनि देखिन्थ्यो । यो कार्यक्रमको सबल पक्ष नै थियो । अझ औपचारिक–अनौपचारिक छलफल र बहस गर्ने कार्यक्रम हुँदा त यसको आकर्षण अझ बढी नै थियो । आयोजक संस्थाकै नाम नै चेतना भएर हो कि क्याहो, सबैजसो सन्दर्भलाई मानव मात्रको चेतनासँग जोड्ने काम गरेको देखिन्थ्यो । यो आफैँमा नौलो अनुभव पनि रह्यो । चेतनाको वृहत अर्थ अनि हरेकजसो विधामा हुनुपर्ने चेतना आदि इत्यादिले गर्दा पनि यो एउटा अलग्ग कार्यक्रमको रूपमा देखिन गएको थियो ।

अझ अर्को रमाइलो सन्दर्भ चाहिँ यी कार्यक्रमहरूलाई आध्यात्मिक बाटोबाट सहज जीवनको मार्गमा डोर्याउने पुनीत लक्ष्यसँग जोडिएको थियो । उद्घाटन सत्रमै देवी–देवतालाई पूजाआजा अनि प्रसादको थुप्रो अनि मन्दिर गएजस्तो प्रसादहरू सबैमा बाँडिरहँदा मन्दिर गएर पूजा गरेजस्तो भान हुन्थ्यो । अनि चित्रलाई पनि सँगै प्रदर्शनमा राखिँदा पनि कलामाथिको स्नेह, मान अनि श्रद्धा आदिको पनि आभास हुन्थ्यो ।

अन्ततः कार्यक्रम आफैँ पनि मान्छेको सजिलो गरी बाँच्ने जीवनको बारेमा लक्षित भएजस्तो थियो । यसबारे हरेक क्षेत्रमा लागिपर्ने सर्जकको ध्यान आकर्षित गर्ने पनि थियो । यसो हुँदा पनि यो कार्यक्रममा एउटा अर्कै माहौल सिर्जना भएको देखिन्थ्यो । कला, साहित्य वा खेलकुदको कुरा गरिरहँदा आफ्नै स्वास्थ्यको कुरा पनि भइरहेको थियो । खुसीहाल घरपरिवारको कुरा पनि भइरहेको थियो । अनि आपसी सद्भावको सन्दर्भ पनि यसैमा जोडिएको थियो । यी आदि इत्यादिले गर्दा पनि कार्यक्रम रोचक बनेको थियो ।

अर्थात् समाजमा रहेका हरेक क्षेत्रमाथि हुनुपर्ने समचेतनाको सन्दर्भ पनि उठेको थियो । यसैको विकासको प्रक्रिया अवलम्बन हुँदै गर्दा यसलाई धर्मको अनिवार्य उपस्थिति पनि गराइएको थियो । कला–साहित्यको जगेर्ना गर्ने चासोलाई पनि गाँसिएको देखिन्थ्यो । यति मात्र होइन, परम्परा, संस्कार, संस्कृति बचाइराख्ने प्रवृत्तिको सन्दर्भ पनि उठेको थियो । अनि आजको दिनमा यसलाई कसरी निरन्तरता दिन सकिन्छ भन्ने कुराको सन्दर्भलाई पनि जोडिएको देखिन्थ्यो । यसकारण पनि यसको रौनक अलग्ग प्रकारको देखिन्थ्यो ।

श्रेष्ठ सम्मानको यो कार्यक्रम मूलतः चेतना संरक्षण प्रतिष्ठानको वार्षिकोत्सवको सन्दर्भ पारेर गरिएको थियो । ठूलो कक्षमा अनि विशाल ठूलो भीडमा जम्मा भएका सहभागीहरूको उपस्थितिमा आठ जनालाई पुरस्कारसहितको सम्मान प्रदान गरिएको थियो । कला, साहित्य, संस्कृति, खेलकुद, समाजसेवा, पत्रकारिता, धर्म लगायत बालप्रतिभा समेतलाई समेटिएको यो कार्यक्रममा स्वदेशमात्र होइन, विदेशमा बसेर नेपाली संस्कृतिलाई जगेर्ना गरिरहेको व्यक्तिलाई समेत सम्मान गरिएको थियो ।

साहित्यबाट डा. राजेन्द्र विमल, संस्कृतिबाट कलाश्री विनोद खनाल, सामाजिक सेवाबाट डा. ओम मूर्ति अनिल, धर्मबाट परमार्थ सिघिया आरती सेवा, ललितकलाबाट मुकेश मल्ल, पत्रकारिताबाट मातृका पौडेल, युवा प्रतिभाबाट एञ्जिला तुम्बापो सुब्बा, बाल प्रतिभाबाट वविता राजवंशी र मिसराना खातुनलाई सम्मान गरिएको थियो । अलि अनौठो नामका साथ राखिएको एउटा अलग्ग थप पुरस्कार पनि थियो । यसको नाम थियो ‘असल सन्तान पुरस्कार’ । यसलाई ग्रहण गर्ने दम्पति चाहिँ विनोद सिग्देल अनि रुपा सिग्देल थिए । अझ मलाई त त्यहाँ नै कलाको सिर्जना गर्नुपर्ने कार्यक्रम राखिदिएर मैले अलग्गै एउटा कला बनाउन पनि परेको थियो । अनि यसैबारे पनि चर्चा–परिचर्चा हुँदै गर्दा कार्यक्रम आफैँ पनि कलामय बनेको थियो । कार्यक्रमभरि यो चित्र प्रदर्शन भइरह्यो ।

चेतना संरक्षण प्रतिष्ठानका अध्यक्ष चाहिँ कलाकार, साहित्यकार गंगा सुवेदी हुन् । उनी कला अनि साहित्यमा समान रूपमा सिर्जना गरिरहने सर्जकका रूपमा चिनिन्छिन् । उनकै सोच अनि भिजनले गर्दा पनि हरेक क्षेत्रलाई समेटिने गरी यस्तो सम्मानको व्यवस्था भएको रहेछ । यता विराटनगरमा झन्डै बीस वर्षदेखि यस्तायस्तै कार्यक्रम गरिरहने सक्रिय संस्थाका रूपमा देखिँदा पनि यसको चर्चा अलि बढी नै रहेछ । सबैभन्दा रमाइलो पुरस्कार, जुन कतै कुनै संस्थामा देखिँदैन, ‘असल सन्तान सम्मान’ हो । जुन चाहिँ असल सन्तान जसले (छोरा, बुहारी) आफ्ना आमा–बुवालाई राम्रोसँग स्याहार–सुसार गरेर बसेको छ, त्यस्तालाई दिइने रहेछ । यस्तो जोडी कैयौँ महिना लगाएर खोजिँदो रहेछ । अनि त्यस्ता जोडीलाई ल्याई पुरस्कारसहितको सम्मान दिने रहेछ । यसरी झन्डै सबैगरी दश जनालाई सम्मान गर्ने यो परम्पराले पनि यो चेतना संरक्षण प्रतिष्ठान यस भेगको सबैभन्दा अग्रपंक्तिमा रहेको संस्था रहेछ ।

===

दोस्रो कार्यक्रम

माघ २६ मा भएको कार्यक्रम चाहिँ मूलतः महिला उद्यमीहरूको थियो । यस भेगका महिला उद्यमीहरूले बनाएको हस्तकलालाई प्रदर्शन अनि बिक्री–वितरण गरिने गरी भएको यस कार्यक्रममा स्थानीय सामग्रीहरूको सही सदुपयोग भएको देखिन्थ्यो । फाल्न परेका वस्तुहरूको पनि सदुपयोग भएको देखिन्थ्यो । सदुपयोग मात्र होइन, यसबाट सिर्जना पनि अनि आय पनि आर्जन हुने वस्तु बनिदिँदा त यसको महत्त्व अलग्ग पाराले देखा परेको देखिन्थ्यो । उपयोगी वस्तु, अर्को अर्थमा यो उपयोगी कलाको प्रदर्शन पनि थियो ।

नेपाली मौलिक क्राफ्टका रूपमा देखा परेको लगाउन, खान र सजाउन मिल्ने अर्गानिक वस्तुहरू अलि अचम्मका त थिए नै । राम्रै बिक्री पनि भइरहेको देखिन्थ्यो । उदाहरणका रूपमा महको साबुनदेखि महको चाका नै प्रदर्शनमा देखिनुलाई उठाउन सकिन्छ । यहाँ यस्तायस्तै थुप्रै कुराहरू थिए । सिर्जनशील कला अनि उपयोगी कलाको समिश्रणका रूपमा देखा पर्दा पनि थोरै यी वस्तुहरू अलौकिकजस्ता पनि लाग्दथे । दैनिक जीवनयापनका लागि चाहिने वस्तुहरू अनि स्वस्थ रहन खानै पर्ने अर्गानिक वस्तुहरू अनि जीवनलाई आनन्दमय बनाउने कलात्मक वस्तुहरू सगोलमा प्रदर्शन हुँदा पनि यसको महत्व अलग्ग नै थियो । वर्षको एकचोटि यस्तो घतलाग्दो कार्यक्रमको आयोजना मोरङ महिला उद्यमी संघले गर्दोरहेछ । यसैबेला थुप्रै महिला उद्यमीहरूलाई सम्मान पनि गर्दोरहेछ ।

यसैबेला यसपल्ट चाहिँ स्थानीय कलाको संस्था ललितकला संगमले स्थानीय कलाकारहरूको चित्रकला प्रदर्शन गराउन पुगेको थियो । स्थानीय कलाकारहरूका थुप्रै कलाहरू यसबेला प्रदर्शनमा थिए । विभिन्न शैली र माध्यममा बनेका यी चित्रहरू आकर्षक पनि थिए । अनि भावनात्मक रूपमा भाव–अभिव्यञ्जनालाई आ–आफ्नो कलाद्वारा पस्कने काम पनि गरेका थिए ।

यसको आयोजना चाहिँ महिला उद्यमी संघ मोरङबाट भएको थियो । घरको कोठादेखि बजारसम्म ल्याउने काम यो संस्थाले गर्दोरहेछ । जसका अध्यक्ष चाहिँ कलाकार कृति श्रेष्ठ उपाध्याय हुन् । उनी इन्टेरियर डिजाइनर पनि हुन् । चित्र पनि बनाउँछन् । अनि सफल महिला उद्यमी पनि हुन् । गएका केही वर्षदेखि यस भेगमा यस्तायस्तै कलाका कार्यक्रम गर्नु देखि लिएर उद्यमी महिलाहरूलाई गाउँदेखि सहरमा ल्याउने काम गर्दैछिन् । इन्टेरियर डिजाइनलाई विधिवत कक्षा लिने उनको एक अलग्ग इन्स्टिच्युट पनि छ । अनि हस्तकलाको निरन्तर प्रदर्शन–बिक्री गर्ने लोभलाग्दो कला ग्यालरी पनि छ । यस प्रकारको कला ग्यालरी कमसेकम यस भेगमा अन्त कहीँ पनि देखिँदैन ।

===

तेस्रो कार्यक्रम

तेस्रो कार्यक्रम चाहिँ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको प्रदेशस्तरीय कला प्रदर्शनी थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले वार्षिक रूपमा आयोजना गर्ने राष्ट्रिय कला प्रदर्शनी गर्न अगावै हरेक प्रदेशमा यस्तो कला प्रदर्शनी गर्ने गर्दछन् । जहाँबाट कलाहरू छानी यस भेगको प्रतिनिधित्व गराउँदै यी कलाहरूलाई राष्ट्रिय कला प्रदर्शनीमा सहभागी गराउने प्रचलन छ । यसबेला कलाहरूलाई प्रदर्शन गर्ने मात्र होइन, स्थानीय पाका कलाकारहरूलाई सम्मान गर्ने पनि प्रचलन छ । यसपालि यस्तो श्रेष्ठ सम्मान मरणोपरान्त रत्नध्वज नेवाङ, एस. सी. सुमन, माली ठाकुर भगतलाल राजवंशी र शिवनारायण पण्डितलाई प्रदान गरिएको थियो ।

मूलतः स्थानीय कलाकार र कला संस्थाहरूलाई जिम्मेवार बनाई यो कार्यक्रम गरिन्छ । यसो हुँदा पनि स्थानीय साना–ठूला कला संस्थाहरू अनि स्थानीय कलाकारहरू महत्वपूर्ण भूमिकामा रहेका हुन्छन् । कला प्रदर्शनीलाई अपनत्वको भाव जनाई सक्रियताका साथ सहभागी हुने गर्दछन् । यसपल्ट विराटनगरमा आयोजना भएको यस कार्यक्रमको सह–आयोजक चाहिँ विराटनगर प्रज्ञा प्रतिष्ठान रहेको छ । सह–आयोजक भए पनि मूल रूपमा यसको स्वामित्व ग्रहण गरी कला प्रदर्शनीका सबैजसो काममा सक्रिय सहभागिता जनाउँछन् । यसकारण पनि विराटनगर प्रज्ञा प्रतिष्ठानले यो कार्यक्रममा पनि अहम भूमिका निभाएको थियो । स्थानीय कलाकारहरूमा विराटनगरका कृति श्रेष्ठ, गंगा सुवेदी, इटहरीका विक्रम श्री, धरानका प्रनोद दत्त, झापाका छितेन, धनकुटाका हिक्मत र डिल्ली आले आदिले महत्वपूर्ण भूमिका निभाई कोशी प्रदेश सिंगो सहभागी रहेको प्रत्याभूति दिइरहेको भान हुन्थ्यो ।

यो प्रतिष्ठान विराटनगर महानगरपालिकाले भरखरै मात्र गठन गरेको थियो । यसकारण पनि यसको सक्रियता अझ तीव्र रूपमा रहेको पाइयो । यो प्रज्ञा प्रतिष्ठानको अध्यक्षमा साहित्यकार विवस पोखरेल छन् । यस भेगमा उनी सक्रिय साहित्यकारका रूपमा चिनिन्छन् । यो प्रतिष्ठानमा कलाका साथसाथै साहित्य, संगीत सबै विधालाई समेटिएको छ । कला पक्षका प्राज्ञ चाहिँ कलाकार अनुराधा थापा हुन् । उनकै सक्रियतामा पनि कलामाथि साहित्यकारहरूको कविताको सिर्जना भयो अनि वाचन पनि रमाइलोपनका साथ भयो । उनी आफैँ चाहिँ बनारसबाट कलामा विधिवत शिक्षा ग्रहण गरी आएका राम्रा मूर्तिकार हुन् । उनी चित्र पनि बनाउँछन् ।

पूर्व प्रदेश नं. १, कोशी प्रदेशका अलग–अलग ठाउँमा यो कला प्रदर्शनी आयोजना गरिन्छ । यसैकारण यसपल्ट विराटनगरमा आयोजना भएको हो । गतवर्ष विराटनगर, उर्लाबारीमा अनि यसभन्दा अघि इटहरीमा यस्तो कला प्रदर्शनीको कार्यक्रम भएको थियो । स्थानीय कलाकारहरूलाई सहभागी हुन सहज पार्ने, उत्साहित गर्ने उद्देश्यले गरिने यस्ता कार्यक्रम सातै प्रदेशमा हुने गरेका छन् ।

प्रदर्शनीका साथसाथै यसपल्ट चाहिँ अर्को थप आकर्षक कार्यक्रम कलामाथिको बहस पनि थियो । संयोगले मैले नै कलाको बारेमा बोल्ने अवसर पाएकोले गर्दा पनि यहाँ धेरै कुराहरू भन्न अनुकूल भयो । यस बेला मसँगसँगै कलाकार, कला लेखक तीर्थ निरौला पनि यो कार्यक्रममा सहभागी हुन पुगेका थिए । यसबेला ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीले अनि प्रज्ञा परिषद्का सदस्य सञ्जय वान्तवाले कला बहसको बिट मार्दै कलाबारे महत्त्वपूर्ण कुराहरू भनेका थिए ।

यो कला प्रदर्शनीमा पुगनपुग २०० वटा कलाहरू प्रदर्शनमा छन् । यसबाहेक स्थानीय कलाकारहरूले कला कार्यशालामा थप कलाहरू बनाए अनि स्थानीय कविहरूले कविता कोरे, कविता वाचन पनि गरे । यो अर्को रहरलाग्दो कार्यक्रम बनेको थियो ।