यसपल्ट साहित्यकारसँगको सन्दर्भ ।
अमेरिकाको न्युयोर्कमा कलाकार र्मासल डुचेम्पले सन् १९१७ को अप्रिलमा पिसाब फेर्ने एउटा युरिनल प्यानलाई लिएर एउटा अनौठो काम गरे । यो चित्र वा मूर्ति होइन, न वास्तुकला नै थियो । यसैले यसको परिचय स्थापित गर्ने क्रममा यसलाई काम भन्न थालियो । ( केही विद्वानहरूले भने यसलाई रेडिमेन्ट स्कप्चर पनि भन्ने गर्दछन् ।) ललितकलाको अभिन्न अङ्ग रहेका यी तीनै वटा नाम यसमा नगाँसिएपछि आज यसलाई काम भन्ने गरिन्छ । विश्वमा सन् साठीको दशकपछि यस्तै अनेक कलाका सिर्जनालाई काम नै भन्न थालियो । नेपालमा भने यस्ता कलाको प्रवृत्ति सन् २००० को उत्तर कालमा देखा पर्यो । यस्तो खाले कलामा प्रक्रियाको एक अलग्गै महत्त्व हुने गर्दछ । सिर्जना हुनका लागि गरिने प्रक्रिया यसको एक अभिन्न अङ्ग हुने–हुँदा अहिले यस्ता उत्तरआधुनिक कामहरू अक्कासिएर छुनै नसकिने भएको छ । आज भिजुअल आर्टिष्टहरू वर्क इन प्रोग्रेस भन्ने शब्द खुबै प्रयोग गर्न रुचाउँछन् । यसैबेला साइट स्फेसिक काम हो भन्ने र मेरो काम त कन्सेप्चुअल कला हो भन्दा बढी आनन्द महसूस गर्दछन् । यी सबैजसो एकै मुद्राका विभिन्न पाटाहरू हन् । यो कला सिर्जना हुनअघि प्रक्रियामा रहेको अवस्था हो । प्रक्रियामा रहँदा–रहँदै आम भावकमा आइ–नपुग्दै पनि कलाको रुपमा खबर र चर्चाको रुपमा देखिनु यसको विशेषता नै हो ।
कलाका विद्यालयहरूमा आफ्ना मौलिकता प्रमाणित गर्न प्रोडक्ट ( कलाको सिर्जना ) भन्दा पनि प्रक्रियालाई भौतिक रुपमै देखाउन आवश्यक छ । एउटा राम्रो कुरा, चोरी गरेर गरिने कलाको सिर्जना यसो भएपछि हतोत्साही हुन पुग्यो । यसबाट अब्वल श्रेणीमा रहने कलाकारहरू लाभान्वित पनि भए । कलाका क्याम्पस स्कुलहरूमा प्राज्ञिक काम ( एकेडेमिक वर्क )गर्न प्रोत्साहित गरिन्थ्यो । यसैमा उनले अन्तिम परीक्षामा पनि यसैलाई प्रदर्शन गर्न पर्दथ्यो । यसपछि अथार्त् क्यापसबाट बाहिर आएपछि मात्र, रचनामा प्रवेश गर्ने सन्दर्भदेखि प्रयोग गर्न छुट थियो । तर पछिल्लो कालमा आएर यो नियम तोडिएको छ । र पढ्दै गरेको अवस्थामा पनि कलाकारहरू प्रयोगात्मक काम गर्न पाउँछन् र गर्छन् पनि । यी सबै जसो कुराहरू डुचेम्पको अवधारणको नजिक भएको मानिन्छ । डुचेम्पले स्थापित गरेको काम (कलाको नवीन रुप ) आज विश्वमा समसामियक कलाको रूपमा स्थापित छ । मूलतः यसलाई दादा पिरियडको रुपमा मानिने गरिएको छ । अनि साइट स्फेसिफिक कामको रुपमा व्याख्या गर्ने प्रचलन पनि छ । अर्को सन्दर्भ भनेको यो कला एन्टी आर्ट मुभमेन्टको गहकिलो कलाको रुपमा पनि लिने गर्दछन् । यस्ता कलाहरू विश्व बजारमा यसरी फैलिदै गयो । विश्वभर नै यस्ता कलाहरू सिर्जना गर्न कलाकारहरू लागिपरेका देखिन्छन् । स्वाभावतः नेपालमा अहिलेका युवा कलाकारहरू पनि यो कलाको पथमा हिँड्न औधि रुचि राख्छन् । यसले उनीहरूलाई अन्तर्राष्ट्रिय कलाको प्रवृत्तिसँग नजिक राख्दछ । अनि कलाका कार्यक्रममा सहभागी हुन यथेष्ठ मौका पनि पाउने गरेको देखिन्छ ।
आज नेपालमै पनि कला, साहित्य र संगीत, संस्थागत रुपमा गाँसेर चर्चा परिचर्चा हुँदै आएको देखिएको छ । अझ नेपालमा संघीय गणतन्त्रको स्थपना भएपछि त प्रदेश र स्थानीय सरकारहरूमा कला साहित्य र संगीतका कार्यक्रमहरू संस्थागत रुपमा ह्वात्तै बढेर गएको देखिएको छ । त्यसै पनि साहित्यसँग कलालाई गाँसेर व्याख्या विश्लेषण गर्ने चलन छ । साहित्यसँग कला गाँसेर आएको सन्दर्भ त अलग्ग छँदैछ । उत्तर आधुनिक साहित्य, साहित्य वाङ्मयमा फस्टाएको विधा हो । यी दुवै विधामा देखापरेको उत्तर आधुनिक प्रवृत्ति, वा दर्शन एक अर्कामा प्रभावित वा मिसिएको अनुभूत अध्ययेता वा भावकमा कहाँनेर छ, जिज्ञासाको पाटोको सन्दर्भ हो यो । युवा कवि, वा लघुकथाकार, उपन्यासकार वा कुनै पनि विधा वा उपविधाका सर्जक, अनि कलाका भिजुअल आर्टिष्ट भनिने, सर्जक कहाँनेर सँगै उठेको छ अवलोकन गर्ने जमर्को पनि हो यो ।
डुचेम्पले खासै केही गरेका होइनन् । बजारबाट एउटा युरिनल प्यान किनेर ल्याए अनि यो वस्तुको कुनामा यसलाई बनाउने कम्पनीको नाम लेखे । मूलत कम्पनीको नाम Moot लाई पनि उनले R Mutt भनेर राखिदिए । यसैमा पनि अनेक तर्क विर्तकहरू छन् । यतापट्टि अहिलेलाई नजाउँ । कलाविद् कला समीक्षकको यसबारे लामैरुपमा व्याख्या विश्लेषण छ । अवधारणगत यसको अर्थ के हो रे भने, कला भनेको तिमीले मुत्नुजस्तो हो ।
सोसाइटी अफ इन्डेपेन्डेट आर्टिष्ट जसको डुचेम्च सदस्य पनि थिए । यसैले उनले गरेको यो अनौठोको कामलाई कला प्रदर्शनीमा प्रदर्शनार्थ पठाए । रमाइलो कुरा त उनी यसै कला प्रदर्शनीमा छनौट समितिमा समेत थिए । अन्य समितिका सदस्यहरूलाई यो कामलाई कलाको रुपमा नदेखेपछि डुचेम्पलाई थाहा नै नदिएर यो कला प्रदर्शनको लागि अयोग्य घोषित गरिदिए । कसैले यसलाई अघोषित भएको थिएन तर प्रदर्शनमा भने राखेनन् पनि भन्छन् । कसैले यसको फोटोग्राफी मात्र चर्चाको विषय भयो पनि भन्छन् । जे जस्तो भए पनि डुचेम्प हतोत्साही भएनन् । पछि पुनः उनले यो कामलाई आम भावकमाझ आममान्छेको चासोको विषय बन्यो । यसपछि यो कामको सर्वत्र चर्चाको विषय बन्यो ।
रमाइलो कुरा त नेपालमा पनि भर्खरै केही महिनाअगाडि युवा भिजुअल आर्टिष्ट रवीन्द्र श्रेष्ठले प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमै यस्तै प्रकृतिको कामलाई प्रस्तुत गरे । अलिकता फरक के थियो भने उनले यो काममा समसामयिक राजनैतिक सवाललाई गाँसेका थिए । पत्रिकामा छापिएका ठूला ठूला उच्च तहमा बसेका व्यक्तिको छापाचित्रहरूलाई, मात्र पुछारमा आफ्नो सिग्नेचरका साथ, पत्रिकाको मूल्यभन्दा थोरै बढी मूल्यमा बेच्दै, कलाको रुपमा सिर्जना गरेका थिए । वस्तुको पुनर्व्याख्या, पुनर्मूल्याकंन, र छापाचित्रलाई एक सबल पात्रको रुपमा कलाकारले प्रयोग गरेका थिए । अझ रमाइलो सन्दर्भ त सात वटा पत्रिका जसको मूल्य पचास, साठी रुपैयाँ भन्दा धेरै थिएन, आम भावकले यसलाई झण्डै सात सय रुपैयाँमा किने । यो अब त्यतिखेर मात्र पत्रिका नभएर ( वस्तु नभएर ) कलाको रुपमा देखा परेपछि यसको मूल्य अक्कासिएको थियो । आम भावकले यसलाई कलाको रुपमा ग्रहण गरे । पछि घरमा पुगेर एउटा कुनामा थन्किएपछि यो पत्रिको परिचयभन्दा फरक ढंगले देखा परेन । सम्भवतः प्रज्ञा पतिष्ठानको प्राङ्गण,( स्पेसको रुपमा) निश्चित समय, निश्चित भावक माझ निश्चित समयको लागि मात्र यी पत्रिकाहरू कलाको रुपमा देखा परेका थिए ।
मूलतः डुचेम्पले यो कामको साथसाथै कलामा रहनु पर्ने अवधारणा ( कन्सेप्ट ) र रेडिमेन्ट याप्रोचको प्रयोग र अभ्यास गरेका थिए । प्रसङ्ग कहाँनेर हो भनेदेखि यो उनको रेडिमेन्ट एप्रोचको अवधाणालाई सम्भवतः अहिले देखिएको उत्तर आधुनिकता कलाको मूल स्रोतको रुपमा मान्ने गर्दछन् । यति मात्र होइन, उत्तरआधुनिक कलामा भनिने पुनर्व्याख्याको यो पर्यायवाची पनि हो । रेडिमेन्टको अर्थ कुनै पनि बनिबनाउ वस्तु । जुन आफ्नो एक अलग्ग पहिचानको साथ अस्तित्वका थियो वा छ । जसलाई उपयोगी वस्तु ( वा कला ) को रुपमा प्रयोग गर्ने गरिन्छ । दैनिक प्रयोगमा आउने वस्तुको उपयोगिता, आम मान्छेको दैनिक क्रियाकलापमा आबद्ध हुँदा जीवनको समेत एक अङ्ग बनेको त्यो वस्तुलाई लिएर पप आर्टिष्टहरूले कलाको नयाँ शैली नै स्थापित गरेका थिए । यसो गर्दा यस्ता पपुलर वस्तुहरू भावकको लागि ग्राह्य हुन्छ र सजिलै ग्रहण गर्दछन् भन्ने यी कलाकारहरूको सोच थियो । डुचेम्पकै रेडिमेन्ट याप्रोचमा आधारित भएर विकसित रुपमा सन् साठीको दशकमा यो कलाले पदार्पण गरेको थियो । कलाकारले त्यही वस्तुलाई एक पात्रको रुपमा प्रयोग गर्दे अर्कै भूमिकाका साथ, अर्कै स्पेस, र अर्कै टाइमको सन्दर्भ र आफ्नो समसामयिक अवधारणालाई समेत यसैमा मिसाएर नवीन कलाको रुपमा सिर्जना गर्ने काम गरे । अहिले नेपालमै पनि इन्स्टलेसन आर्ट यसैको विकसित रुप हो । नेपालमा सन् २००० सालको उतारार्धमा देखा परेको इन्स्टलेसन कला अहिले पचासौँ युवा कलाकारको लागि मनपर्ने कला बनेको छ । रमाइलो कुरा त कविका कयौँ कविताहरू पनि यसका गतिला पात्र बनेका छन् । कलाकार स्वयं पनि कवि वनेर पनि यस्ता प्रवृत्तिका कलाहरूमा कविताको प्रयोग भएको देखिएको छ ।
यही सन्दर्भ सडक नाटकमा पनि देखापरेको छ । नाटकमा भावकको प्रवेश, आम समुदायबीच नाटक पुग्नु, स्वाभाविक अभिनय र वास्तविक कलाकारसँगको तालमेल आदि इत्यादिको प्रस्तुति पनि यसभन्दा खासै टाढा देखिन्न । नाटकमा देखिने यस्ता नौला प्रवृत्तिहरू यस्ता कलामा भने पर्फमेन्स आर्टको रुपमा पनि विकसित भएको देखिन्छ । निश्चित रुपमा पर्फमिङ् आर्ट र पर्फमेन्स आर्ट एकै भने होइन । नाटकमा पनि कविताको प्रशस्तै रुपमा प्रयोग भएको देखिन्छ । अब यसलाई साहित्यको सिर्जना अनि समग्रमा चर्चा–परिचर्चा आजको आवश्यकता होइन र ? आउनोस्, कला साहित्य र संगीतको समग्रमा विवेचना गरौँ ।
(कलाकार र कला समीक्षक)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।