इतिहास कलासँग कसरी प्रत्यक्ष–परोक्ष रुपमा जोडिएको छ यस्मा खोजी पस्ने यसपल्टको अभिष्ट हो । मूलतः सबै जसो राष्ट्रमा सबै भन्दा पहिला स्वाभावतः राजनैतिक इतिहास लेखिन्छ । अनि यसैसँग गाँसिएर यसबेलाको सामाजिक व्यवस्था वा धार्मिक अवस्था, अर्थ व्यवस्था, संस्कृति र कलाको अवस्था बारेमा लेख्ने गरिन्छ । यी सबैको अलग अलग इतिहास पनि लेख्ने प्रचलन छ । जति यी विविध क्षेत्रमा इतिहासको लेखनी भयो, अध्ययन र अनुसन्धान हुन सक्यो, हरेक जसो क्षेत्रमा उन्नति हुने प्रक्रिया पनि प्रारम्भ हुने गरेको देखिएको छ । यसैले त भन्ने गरिन्छ, कुनै पनि क्षेत्रमा इतिहासको जानकारी छैन भने वर्तमान अवस्था थाहा पाइँदैन । वर्तमान अवस्था थाहा भएन भने भविष्यको योजना बनाउन सकिन्न । यसर्थ विश्वभरि नै इतिहासलाई गहन अध्ययन गरेर अभिलेखन गर्ने संस्कार बनाइने गरिन्छ ।

इतिहासको सम्बन्ध विकास र कलासँग
हरेक क्षेत्रको आ–आफ्नै इतिहास हुन्छ र हुनुपर्छ । अध्ययन गरिनु पर्छ । गराइनु पर्छ । यसैबाट आफ्नो एक थप अलग्ग इतिहास लेख्ने क्रम हुन्छ । इतिहासकै सेरोफेरोमा चर्चा, परिचर्चा वा बहस गर्ने संस्कारले विकासलाई कसरी उजिल्याउँछ विकसित राष्ट्रलाई हेरियो भने स्पष्ट नै हुन्छ । यसरी राजनैतिक इतिहास लेखिँदा अमूक राजाहरूको

मुकेश मल्ल

वर्णन अनि राजाले मान्ने गरेको धर्म अनि धर्मसँग गाँसिएर आएको मठ–मन्दिर, स्तुप, विहार (वास्तुकला) व्यक्ति–चित्र वा व्यक्ति–मूर्ति पनि सँगै गाँसिएर आँउछ । यसका साथसाथै सामाजिक व्यवस्था, राजनैतिक संरचना र विशेष गरेर संस्कृति, जात्रा–चाडपर्व, परम्पराको वर्णन हुन थालेपछि लोककलाका सन्दर्भहरू देखापर्ने गर्दछ । मानवको दिनचर्याको सन्दर्भ उठ्न थालेपछि हस्तकलाको सन्दर्भ देखा पर्दछ । कलाको प्रत्यक्ष वा परोक्षरुपमा देखापर्ने क्रम भनेको तत्कालीन मानव समुदायले किन कसरी के उद्देश्यका साथ कला बनाए होलान् भनेर हेर्दै, बुझ्दै जाँदा भविष्यमा विकासका लागि गरिनु पर्ने अनेकौँ योजनाहरू मन मस्तिष्कमा उब्जन थाल्छन् । अनि हामी कलालाई राष्ट्रको अति बहुमूल्य निधिको रुपमा संरक्षण गर्नपट्टि लाग्छौँ ।

नेपालमा पनि यस्तै भएको छ । झण्डै २०० वर्षभन्दा पनि बढी भइसकेको यो राजनैतिक इतिहास लेख्ने परम्पराले पहिला अङ्ग्रेजी भाषामा र पछि नेपाली भाषामा लेखिदै आज प्रशस्तै मात्रमा लेखिएको हाम्रो राजनैतिक इतिहास हामीसँग छ । तथापि अलग्ग कलाको इतिहास भने अझै पनि लेखिएको छैन । अन्य इतिहासमा कलाले यस्तो सहयोग गर्दा नेपालमा भने समग्र कलाको इतिहास नदेखिनु भने हाललाई दुर्भाग्य नै मानौँ । यसैले त हाम्रा कलाहरू हामीले संरक्षण गर्न सकेका छैनौँ । आजका कलालाई हामीले बुझेका छौँ भन्न सक्तैनौँ, अनि यसैको आधारमा भविष्यमा लेखिने वा लेख्नपर्ने अन्य क्षेत्रको इतिहासबारे हामीबीच अन्योल किन नहोस् त ? आजको जमानामा कुनै पनि कुरा आइसोलेसनमा विकास हुँदैन, विश्वभर नै होलिस्टिक याप्रोचको चलनचल्ती छ । यसलाई मनन गर्नु आजको आवश्यकता पनि हो ।

कलाको सबै क्षेत्रमा प्रवेश हुन्छ
कलाले सबैक्षेत्रमा प्रवेश गरेको हुन्छ । मूलतः कुनै पनि क्षेत्रमा कला घुसेपछि यसले आफ्नो सार्थकता पाउने सन्दर्भ देखा पर्दछ । विज्ञापनको सन्दर्भमा राम्रो कला घुसी राम्रो विज्ञापन भएपछि व्यवसाय फस्टाउने गर्दछ । व्यापारीले लगानीको ठूलो भाग विज्ञापनमा यसै कारण अलग्याउने गर्दछ । राम्रो शिल्प दक्षता हुन सकेन भने राम्रो विज्ञापनका रुपरेखा तयार गर्न सकिन्न । अनि यसले ग्राहकलाई प्रभावमा लिन नसक्दा व्यापार व्यवसाय धरापमा पर्ने हुन्छ । मात्र कुरा आवश्यकताको होइन, आम मान्छेको चाहना र सोचले पनि व्यापार व्यवसायमा ठूलै भाग ओगटेको हुन्छ । मन पर्नुसँग क्रयको गहिरो सम्बन्ध हुन्छ । मनपर्नु भनेको कलाको लालित्य–पक्ष नै हो । यसैको सेरोफेरामै बसेर व्यापारको इतिहास लेख्ने काम पनि हुन्छ । इतिहासले कसरी व्यापार हुने गर्दोरहेछ अनि कसरी गर्नुपर्ने रहेछ वा कलालाई अभिन्न अङ्ग बनाई व्यापार व्यवसाय कसरी फस्टाउँदोरहेछ सम्भवतः चेत पनि आउँछ ।

धर्मको इतिहासमा कला
राम्रो मूर्ति वा चित्रबाट देवी देवतामाथिको आस्था आममान्छेमा पुग्ने क्रम रहेको हुन्छ । स्वाभावतः यसले त्यो धर्म फस्टाउने बाटो पाउँछ । विशेष गरेर वौद्ध धर्म र हिन्दु वा सनातन धर्मको आरोह–अवरोह हेर्‍यौँ भने पनि यसलाई महसुस गर्न सकिन्छ । ईसापूर्व पहिलो र इसाको पहिलो वा दोस्रो शताब्दीमा हिन्दुधर्मको पुनर्उत्थान हुन पुगेको अवस्थामा गौर गर्‍यौँ भने कसरी भक्तिमार्गको स्थापना भएको थियो अनि यसलाई आवश्यक हुने वस्तुवादी मूर्तिहरूको सहारा किन र कसरी लिइएको थियो सहजै आकलन गर्न सकिन्छ । सुन्दर मूर्तिहरूको अगाडि बसेर भक्तहरूले गर्ने गरेको पूजा–आजा, ध्यान र यसलाई आममान्छेको स्वास्थ्यसँग जोडेर हेर्न थालेपछि यो अमूक धर्ममा आममान्छेको गहिरो आस्था जागेको देखिन्छ । यसरी आममान्छेको परिवर्तन भइरहेको सोचको इतिहास, यसले फरक पार्दै ल्याएको सामाजिक संरचनाको इतिहास आदि पनि अभिलेखन भएको पाइन्छ । सामान्य मानवको व्यवहार र दिनचर्या परिवर्तन हुँदै आएपछि समाजका देखापर्ने परिवर्तनले अन्य सबै क्षेत्र परिवर्तनको परिधिभित्र आउने क्रम रहन्छ । देशमा मुखिया वा राजाको परिकल्पना, राजनैतिक व्यवस्थाको परिकल्पना आदिइत्यादिको इतिहास आएको हामी इतिहासमै पढ्न पाउँछौँ । आम समुदायको आस्था कसरी गाडिन्छ वा गाडिनपर्छ भन्ने सोचको पछाडि अतिसुन्दर मूर्तिसँग गाँसिएको छ । यही मूर्तिहरूको शैली र प्रवृत्तिलाई आधार मानेर अमूक राजाले कस्ता कस्ता सुन्दर कलाको विकास गरे भनेर लेखिँदा इतिहासको निर्माण बन्दै जाने क्रम रहन्छ । यसर्थ स्पष्ट छ, आमसमुदायको आस्थालाई जीवित राखिराख्न कलाले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । धर्मको इतिहास लेखिदै गर्दा वौद्ध कला वा हिन्दु वा जैन वा मुस्लिम कला वा इसाई कलाको अनेकौँ पक्षलाई साथ लिई अगाडि बढेको देखिन्छ ।

सबै धर्मको आ–आफ्नै इतिहास छ । एउटै कलाकारले कहिले वुद्धको कहिले रामको वा कहिले जिससको मूर्ति बनाई राख्दा धर्मको इतिहासमा भने वुद्धकला वा हिन्दुकला वा इसाई कला भनेर आ–आफ्नो धर्म–सन्देशलाई प्रवाहित गरिरहको हुन्छ । आज प्राप्त भएको प्राचीन यस्ता वुद्धका वा वोधिसत्वका मूर्तिहरूलाई लिएर ईशापूर्व तेस्रो शताब्दीका शक्तिशाली राजा अशोक बारेमा इतिहासको लेखनी भएको छ । सम्राट अशोकले नै वौद्ध धर्मको प्रचारप्रसार विश्वभरि फैलाएको इतिहास छ । जसलाई अभिलेखमा राख्न उनले स्थपना गरेको स्तम्भ कला, स्तुपाहरूकै आधारमा सम्भव भएको मान्न पर्छ ।

भौतिक संरचनामा कला
भौतिक संरचनामा राम्रो कलात्मकता भएपछि मात्र यसले आममान्छेलाई लोभ्याउँछ । कवितामा कला भएन भने तरकारीमा नुन नहालेको जस्तो हुन्छ । घर सजाउनेदेखि लिएर बोल्ने कला अनि लेख्ने कलादेखि पकाउने र खाने कला सर्वत्र फैलिएको हुन्छ । यसर्थ वाह्य राष्ट्रहरूमा औपचारिक शिक्षामा कहीँ न कहीँ कलासम्बन्धी विषयहरू समावेश गरिएको हुन्छ ।

हाम्रोमा भने यसलाई उति महत्त्व दिइन्न । यो एउटा प्राज्ञिक कार्य हो । यस्तो ज्ञानले गर्दा नै विकसित राष्ट्रहरू विकसित भएका हुन् । ठूला ठूला सहरहरूमा ठूला र अग्ला भवनहरू मात्र हुँदैनन्, कलात्मक मूर्तिजस्ता भवन हुन्छन् । बाटा र बत्तीका पोलहरू, बाटोभरि कलात्मक बगैँचा र ठूला साना रुखहरू पनि कलात्मकताका साथ काटेर छाँटेर राखिएको हुन्छ । यस्तो सोचका सदियौँदेखि बचाइँदै आएको वास्तुकला र त्यसलाई नयाँरुप दिने मोहको भूमिका पनि उत्तिकै छ ।

यो इतिहास सम्भवतः अर्काको लागि पनि लाभदायक सिद्ध हुन्छ । यसो गर्न हरेक राष्ट्र अर्कै ठाउँको भौतिक विकासको इतिहासलाई गहन रुपमा अध्ययन गरेकै हुन्छ ।

नेपालको इतिहास र कला
नेपालमा भने पाँचौँ शताब्दीका शक्तिशाली सम्राट मानदेव प्रथमका पालाबाट इतिहास लेख्न थालिएको पाइन्छ । राजा मानदेवले स्थपना गरेको शिलालेख नै यसैको मूल आधार बन्यो । कर्कपेट्रिक भन्ने विद्वानले यही शिलालेखलाई आधार मानेर नेपालको इतिहास लेखे । मानदेव अघिका राजाहरूको बारेमा अनि उनैले थापेका अन्य शिलालेखका आधारमा त्यतिबेलाको सामाजिक व्यवस्था, धार्मिक अवस्था र राजनैतिक अवस्थाको व्याख्या विश्लेषण गरिएको हो ।

नेपालमा यसभन्दा अगाडि शिलालेखहरू पाइएका छैनन् । किम्वदन्तीमा जतिसुकै अगाडि ताने पनि आधिकारिक रुपमा नेपालको इतिहास यसभन्दा अगाडि तान्न सकिन्न । अझ रमाइलो प्रसङ्ग त केही वर्षपूर्व काठमाडौँको हाँडीगाउँमा घरको जग खन्दा एउटा मूर्ति भेट्टाइयो, जस्को पाद–पिठमा व्राह्मी लिपिमा सन् १८५ स्पष्ट लेखिएको भेट्दा यसले नेपालको राजनैतिक इतिहासलाई अधिकारिक रुपमा ईसाको दोस्रो शताब्दीसम्म तान्न बल मिल्यो । यो मूर्ति जयवर्माको हो भन्ने खुल्न आएपछि नेपालमा लिच्छविभन्दा पहिला वर्मा वंश पनि हुन सक्ने भनेर विद्वानहरूले आँकलन समेत गरे । मूलतः नेपालमा गोपाल वंश, यसपछि महिषपाल, किरात, लिच्छवि, मल्ल र शाह वंश मात्र उल्लेख गर्ने गरिन्छ । मल्ल र लिच्छवि कालको बीचमा कसैकसैले ठकुरी वंशको सन्दर्भ पनि निकाल्छन् तर वर्मावंश भनेर कसैले पनि उल्लेख गरेको पाइन्न । यो इतिहासको सिलसिलेवारलाई अझ राम्ररी जोड्न यस्तै अन्य कलाका सामग्रीहरू प्राप्त हुँदै गएपछि नेपालको इतिहास अझ स्पष्ट लेखिदै जाला । यसैबेला व्राह्मी लिपि प्राप्त भएबाट यसपछि विकसित भएको पूर्वलिच्छवि लिपि, उत्तरलिच्छवि लिपि, रञ्जना लिपि हुँदै आज देवनागरिक लिपिको पनि इतिहास लेखिएको छ ।

(मल्ल कलाकार र कला समीक्षक हुनुहुन्छ ।)