कुरा आजभन्दा चौध वर्ष अगाडिको हो, जतिखेर अहिलेको लेटर ग्रेडिंगसहितको एसइई परीक्षाको सट्टा प्राप्तांकसहितको एसएलसी परीक्षा हुने गर्थ्यो । विद्यालयहरूमा विद्यार्थीलाई विशिष्ट / प्रथम श्रेणीसहित धेरै प्रतिशतमा पास गराउने होडबाजी नै चल्थ्यो । जुन विद्यालयले राम्रो श्रेणीसहित धेरै विद्यार्थी उत्तीर्ण गराउन सक्थ्यो, त्यो विद्यालयको शान नै बेग्लै हुन्थ्यो । त्यसैगरी विद्यार्थीबीच कसले को भन्दा धेरै नम्बर ल्याउने भन्ने प्रतिस्पर्धा नै चल्थ्यो ।

मकवानपुर जिल्लाको ग्रामीण भेगमा एउटा नमुना माध्यमिक विद्यालय थियो । एसएलसी परीक्षा आउन लगभग एक महिना बाँकी थियो । विद्यालय, शिक्षक, अभिभावक र स्वयम् विद्यार्थी कम्मर कसेर परीक्षाको तयारीमा लागेका थिए । लामो समयदेखि अध्यापन गराइरहेका गणित र अंग्रेजीका शिक्षकहरू आफ्नो फुर्सद पिरियडमा शिक्षक कर्मचारीहरू बस्ने  भवनको पहिल्लो तल्लाको बार्दलीमा बसेर विद्यालयको गतिविधि नियालिरहेका हुन्थे । बार्दलीबाट सबै कक्षाकोठाहरू, स्कुलको चौरको स्पष्ट अवलोकन हुन्थ्यो । आउँदै गरेको एसएलसी परीक्षालाई मध्यनजर गरेर उनीहरू छलफल गरिरहेका थिए  ।

  गत वर्ष यो विद्यालयले एकजना विशिष्ट श्रेणीसहित पचास प्रतिशत विद्यार्थी उत्तीर्ण  गराउन सफल भएको थियो भने यो वर्ष कम्तीमा दुईजना विशिष्ट श्रेणीसहित सत्तरी प्रतिशत विद्यार्थी पास गराउने लक्ष्य राखेको थियो । विद्यालयले उमेश र किशोरले विशिष्ट श्रेणी ल्याउने आशा जताएको थियो । तर यी दुईको पढ्ने शैली र स्वभाव बिल्कुलै फरक थियो । उमेश कुरा बुझेर पढ्थ्यो, परीक्षामा नम्बर ल्याउनकै लागि पढ्दैनथ्यो र नजानेको विषयवस्तुमा घोत्लिरहन्थ्यो भने किशोर परीक्षाकेन्द्रित भएर पढ्थ्यो, धेरै विस्तृतमा नगइ टाइमटेबल बनाएर पढ्थ्यो । विगतका नतिजामा  किशोरले उमेशलाई धेरैपल्ट उछिनेको थियो  ।

गणित र अंग्रेजीका यी दुई शिक्षकहरूको छलफल उमेश र किशोरतिर मोडियो । गणित शिक्षकले  उमेशलाई र अंग्रेजी शिक्षकले किशोरलाई अलि बढी मन पराउँथे ।

“खै के भन्नु सर ! तपाइँ उमेश जान्ने विद्यार्थी भन्नुहुन्छ, अरु साथीहरू पनि भन्छन् तर हाम्रो आन्तरिक परीक्षामा राम्रो नम्बर नै ल्याउँदैन । उता किशोरले भने राम्रो नम्बर ल्याइराखेको हुन्छ । उमेशले एसएलसीमा विशिष्ट श्रेणी ल्याउला भन्नेमा मलाई शंका लाग्छ ।”, अंग्रेजी शिक्षकले आन्तरिक परीक्षाको नतिजाको विश्लेषण गर्दै भने ।

“ल्याउला / नल्याउला, त्यो त भन्न सक्दिनँ तर मलाई विश्वास छ । उमेश जसरी बुझेर पढ्छ, परीक्षा अप्ठ्यारो आए पनि उसलाई अप्ठ्यारो नपर्ला । तर किशोरको जुन किसिमको परीक्षाकेन्द्रित पढाई छ, यदि परीक्षा बुझाइ, मौलिकता र सिर्जनात्मकता मापन गर्ने किसिमको आयो भने किशोर अप्ठ्यारोमा पर्न सक्छ ।”, दुवै विद्यार्थीको पढ्ने शैलीको आधारमा गणित शिक्षकले अंग्रेजी शिक्षकको कुरालाई खण्डन गरे ।

“यदि उमेशले बुझेर पढ्छ, जान्ने विद्यार्थी हो भने त उसले परीक्षामा झन् राम्रो गर्नुपर्ने होइन र ? तपाईं किशोरले कसरी त्यसै परीक्षामा राम्रो नम्बर ल्याइराखेको भन्नुहुन्छ ? विद्यार्थीलाई परीक्षाकेन्द्रित भएर पढाउनु गलत हो र ?”, गणित शिक्षकको कुरा अंग्रेजी शिक्षकलाई चित्त बुझेन ।

“हेर्नुस् सर ! म आफैँ पनि बुझेर पढ्ने मान्छे । तपाईंलाई एउटा उदाहरण दिएर भन्छु । जे मैले पढाएको / सिकाएको हुन्छु, किशोरले त्यो मात्र गर्न सकिरहेको हुन्छ तर उमेशले मैले नपढाएको / नसिकाएको गणितको समस्या पनि समाधान गर्न सक्छ । कतिपय मैले समाधान गर्न नसकेको समस्या पनि उमेशले सजिलै गरेको देख्छु । त्यस्तै परे उल्टै मलाई नै कतिपय गणितका अवधारणाहरू सिकाइराखेको हुन्छ ।” गणितको शिक्षकले व्याख्या गर्दै भने, “मैले यतिका वर्षसम्म पढाएर नजानेको कुरा उसले कसरी जान्यो त ? म कसरी उसलाई जान्ने विद्यार्थी नभनूँ ? जहाँसम्म उमेशले परीक्षामा राम्रो नम्बर ल्याउन नसकेको कुरा छ, खासमा उसले आफ्नो समय, मेहनत विषयवस्तु बुझ्नमा खर्चिएको छ । जब परीक्षा नजिकिएला, उसले आफूलाई त्यतातिर मोड्ने नै छ ।”

“भनेपछि परीक्षा भनेको केही होइन र ? परीक्षामा राम्रो नम्बर ल्याउने विद्यार्थी जान्ने नहुन पनि सक्छ ? परीक्षाकै नतिजाको आधारमा मात्रै विद्यार्थीको मुल्याङ्कन गर्न मिल्दैन, हो ?,” अंग्रेजी शिक्षकले जिज्ञासा राखे ।

“केही होइन भनेको होइन; सबैथोक चाहिँ होइन । परीक्षामा नम्बर ल्याउनकै लागि मात्रै पढ्नु र पढाउनु भएन । पढाइ भनेको त सीप सिक्नु, कुरा बुझ्नु, सोच्न सिक्नु, विभिन्न समस्या समाधान गर्ने बन्न सक्नु हो । अक्सर हामीले विद्यार्थीहरूलाई अस्वस्थ प्रतिस्पर्धामा उतारिरहेका हुन्छौँ । नम्बरलाई यति प्राथमिकता दिइन्छ कि उनीहरू खासमा पढ्नुपर्ने/बुझ्नुपर्ने कुरामा ध्यान नै दिँदैनन् । अनि पढाइ बोझ बन्न जान्छ । कालान्तरमा पढाइप्रति वितृष्णा नै जाग्छ र चाहेर पनि भविष्यमा राम्रो गर्न सक्दैनन् ।”, गणित शिक्षकले स्पष्ट रूपमा  भने ।

  “तपाईंको कुरा ठिक हो । आजकल रेडिमेड पढाइले बजार तताएको छ । अभिभावकहरू पनि त्यसमै रमाउछन् । विद्यार्थीहरू आफू मेहनत गरेर, अनुसन्धान गरेर पढ्न खोज्दैनन्; खालि शिक्षकले नै सबै कुरा गरिदिए हुन्थ्यो सोच्छन् । खैर छोडौँ, अबको एक महिनामा परीक्षा पनि होला, चार-पाँच महिनामा नतिजा पनि आउला, आशा गरौँ दुवैजनाले विशिष्ट श्रेणी हासिल गरुन् ।”, गणित शिक्षकको कुरामा अंग्रेजी शिक्षकले चित्त बुझाएको देखियो ।

“म परीक्षा विरोधी होइन । परीक्षामा नम्बर चाहिन्छ, सबैले हेर्ने पनि त्यही नै हो । तर पाठ्यक्रमले राखेको ज्ञान/सीप हासिल गरेर, जानेर/बुझेर ल्याउनुपर्यो । न कि श्रेणी हासिल गर्न मात्र सकी नसकी घोकेर, बाध्यताले पढेजसो गरेर उत्तीर्ण हुने परिपाटी नहोस् । उनीहरूले किन पढ्दैछु, त्यो जानेर पढुन् ; पढेको कुरा आवश्यक पर्दा दैनिक जीवनमा उपयोग गर्नसक्ने बनुन्; पढाइलाई बोझभन्दा पनि जरुरतका रूपमा लिउन्; नवीन खालका पठनका सीप विकास गरून् ताकी उच्च शिक्षामा उक्लिँदै जाँदा पढाइ बोझिलो नबनोस् र यसमा तपाईं हामी शिक्षकको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ ।”, गणित शिक्षकले आफ्नो विचार स्पष्ट राखे । 

परीक्षा समापन भएको तीन महिना पछि नतिजा प्रकाशित भयो । विद्यालयले सोचेजस्तो नतिजा नआए पनि चित्तबुझ्दो रह्यो । उमेश र किशोर दुवैजना विशिष्ट श्रेणीमा उत्तीर्ण भए तर यसपालि उमेशले किशोरलाई उछिन्यो । विद्यालयले खुशीयालीमा र्याली नै निकाल्यो । अभिभावक, शिक्षक र विद्यार्थीमा उत्सवको माहोल थियो ।

एसएलसी पछि उनीहरू प्लस-टुमा विज्ञान संकाय पढ्न काठमाडौँ गए । उमेशले पहिलो वर्ष राम्रोसँग पढ्यो र राम्रै नतिजा ल्यायो भने किशोरलाई विज्ञानको पढाइ असजिलो लागेर संकाय नै परिवर्तन गर्नुपर्यो ।

विद्यालयले आफ्नो विद्यालय स्थापना भएको पचास वर्ष पार गरेको उपलक्ष्यमा विशेष कार्यक्रम आयोजना गर्यो जसमा उक्त विद्यालयबाट सेवानिवृत भएका शिक्षकहरू, विद्यालयलाई यो ठाउँसम्म ल्याइपुर्याउन सहयोग गरेका समाजसेवीहरू र विभिन्न क्षेत्रमा काम गरिरहेका विद्यार्थीहरूलाई आमन्त्रण गरियो । उमेश र किशोरलाई पनि आफ्नो छोटो मन्तव्य राख्ने अवसर दिइएको थियो ।

उमेशले सभालाई सम्बोधन गर्दै भने, “आज मैले जे जति सफलता हासिल गरे, यो सबै यही विद्यालयको देन हो । विशेष गरी मलाई सानै उमेरदेखि बुझेर पढ्ने बानी बसालिदिनुभएकोमा सरहरूलाई धन्यवाद दिन चाहन्छु । यो सही धारणाको कारणले उच्च शिक्षामा देशका विभिन्न भू-भागहरूबाट आएका विद्यार्थीहरूको माझमा आफूलाई उभ्याउन सकेँ । बुझेर पढ्ने बानीका कारण उच्च शिक्षाको पढाइ चाखलाग्दो, रमाइलो र सहज बन्यो ।”

किशोरले आफ्नो पालो आएपछि बोले, “शुरुवातमा मेरो पढाइ परीक्षाकेन्द्रित भयो जसले गर्दा पछि गएर पढाइ नै असजिलो बन्न गयो तर साथी उमेशको संगतमा आफ्नो पठन शैलीमा सुधार गर्न सकेँ र अन्तत: आफ्नो पढाइलाई सही दिशामा मोड्न सकेँ ।”

कार्यक्रमको समापन गर्दै वि.व्य.सको अध्यक्षले भने, “हाम्रो विद्यालय नमूना विद्यालय बन्नुपर्छ । विद्यार्थीको अङ्क सफलतामा भन्दा ज्ञान सफलतामा हाम्रो ध्यान हुनुपर्छ । त्यसमा सरहरूले ध्यान पुर्याउनुहोला । हामीले रोजगारमुखी र सीपयुक्त शिक्षा दिनुपर्छ । त्यसका लागि स्रोतसाधन पुर्याउने र वातावरण बनाइदिने वाचा मेरो भयो ।” 

सबैको तालीको गडगडाहटबीच कार्यक्रम समापन भयो । भिडको बिचमा उभिएका गणित शिक्षक धेरै खुशी देखिन्थे । उनले मनमनै सोच्दै होलान्, “चलिआएको परम्परा बदल्न समय त लाग्छ तर कोसिस गरे नसकिने होइन रहेछ । जेहोस्, बुझेर पढ्नुपर्छ भन्ने धारणा आत्मसात् भयो ।”