बिहे भएको १३ वर्षसम्म मोतीमान दाजुका केटाकेटी भएनन् । दुवै लोग्ने स्वास्नी त्यसका लागि दुःखमनाउ गर्थे । बल्ल १३ वर्षपछि रत्नमान जन्म्यो । भाउजूको कोख सफल भयो । कतै रत्नमान नै त शङ्काको कारण होइन ? 

0000

आज पनि म कथा भन्न तम्सिएको छु । तर यो कथा मैले अघि भनेका कथाहरूजस्तो नभई केही बेग्लै हुनेछ । घटनाका बारेमा आफू निश्चित नभएकाले शङ्काकै आधारमा कथा भन्न अघि सरेको छु । अवश्य, यस्ता घटना आजको अत्याधुनिक संसारमा खोजी गरे छ्यापछ्याप्ती पाइन्छन् । तर के भने यस्ता घटनालाई निचोरे मात्र रहस्यको रस टप्किन्छ । निचोर्नुपर्छ शङ्काले, शक्तिले होइन । सुन्नुहोस् अब, मैले भन्न लागेको कथा यस प्रकारको छ :

कन्दर्प र ममा घनिष्ठता छ । हामी दुवै परम बन्धु । मोतीमान हामी दुवैका दाजु । बोलीचालीको सुविधाका लागि बनाएका दाजु थिए उनी । हुन त कन्दर्पकै माध्यमबाट मोतीमान दाजुसँग मेरो परिचय भएको थियो तापनि आफ्ना अन्य कुनै दाजुजत्तिकै ठान्दछु ।

हिजो साँझमा कन्दर्प र म बिदाको दिन हुनाले मोतीमान दाजुको घरतिर गएका थियौँ । दाजु आफ्नो तीनवर्षे छोरो रत्नमानलाई काखमा लिएर आँगनमा बसी घाम तापिरहेका रहेछन् । कन्दर्पले पुग्नेबित्तिकै रत्नमानलाई दाजुको काखबाट टप्प टिपेर च्वाक्क म्वाइँ खाए । बालक स्नेह पाएर मुसुक्क हाँस्यो । मोतीमान दाजुले भित्र बस्ने आग्रह गरे । कन्दर्पले रत्नमानलाई भुइँमा राखिदिए । ऊ दगुरेर भित्र पस्यो । हामी दुई जना पनि भित्र पसेर बस्यौँ । मोतीमान दाजु भित्र आएनन् । ‘बस्दै गर है, म बजारसम्म पुगेर आउँछु’ भनेर उनी हिँडे ।

कन्दर्प र म बसिरहेका थियौँ, यत्तिकैमा रत्नमानलाई डोऱ्याउँदै भाउजू आइन् । उनले मतिर हेरेर प्रश्न गरिन्- “नानी त धेरै दिनमा पो आउनुभयो त ! किन, कतै बाहिर जानुभएको थियो र ?”

“उनको कुरा के र !” मलाई उछिनेर कन्दर्प बोले, “अस्ति राति त बल्ल आइपुगेका गौहाटीबाट ।”

प्रकृतमा म कतै बाहिर गएको थिइनँ । कन्दर्पको कुरामा निश्चय केही रहस्य छ भन्ने मैले बुझेँ । बोलिनँ ।

भाउजूले फेरि प्रश्न गरिन्- “कति कामले गौहाटी जानुभएको थियो कुन्नि ?”

“कम्पनीको काममा ।” यस पल्ट पनि मेरो जवाफ साथीले नै दिए । त्यसरी उनले सरासर ढाँटेको देख्दा मनमनै मलाई रिस नउठेको होइन, तर विवश थिएँ ।

“किन, हामी आउनासाथ दाजु हिँड्नुभयो नि त ?” मैले सोधें।

“खै कुन्नि ? दुई महिनाजति भयो, मसित पनि राम्ररी बोल्दैनन् । कामबाट पनि अबेर गरेर फर्किन्छन् ।” भाउजूले प्रत्युत्तरमा भनिन् र भित्र पसिन् । मलाई नरमाइलो लाग्यो । मेरो कुराले उनको मनमा आघात पो पुऱ्यायो कि भन्ने शङ्का जाग्यो । कन्दर्प पनि भाउजूकै पछि-पछि पसे । म बसिरहेँ । कोठामा जतातता झुन्ड्याइएका क्यालेन्डरहरूको अनावश्यकीय निरीक्षण गर्न लागें ।

एक्कासि भित्र भाउजूले बोलेको चर्को स्वर मेरा कर्णकुहरमा आएर ठोक्कियो ।

उनी भनिरहेकी थिइन्, “आजसम्म जे-जति भयो ती सबै बिर्सिदेऊ कन्दर्प ! तिमी अबदेखि यहाँ नआऊ ! भत्किन लागेको हाम्रो यो घरमा तिमी आगो नलगाऊ !”

घुँक्कघुँक्क रोएको शब्द फेरि कानमा आएर ठोक्कियो । म असमञ्जसमा परें । पहेली झैँ लाग्यो त्यो जम्मै घटना । कन्दर्प कोठामा आए । केही बुझ्ने आशाले मैले उनको अनुहारमा दृष्टि पुऱ्याएँ, तर त्यहाँ परिवर्तनको कुनै चिह्न थिएन । उनी मुसुमुसु हाँसिरहेकै थिए । त्यसपछि हामी दुवै जना फर्क्यौँ ।

खानपिन गरेर सुत्ने तरखर गर्न लागें, तर घरी घरी केही घण्टाअघि विघटित मोतीमान दाजुको घरको घटनाले मलाई शङ्काको सागरतिर तान्न लाग्यो । भनाइ छ, शङ्काको खाडल जति छाम्यो उति गहिरिंदै जान्छ रे ! शङ्कामा म डुबें । कन्दर्प, मोतीमान दाजु र उनकी जहान यी तीनै जनाका बारेमा अनेकानेक कुरा सम्झिने चेष्टा गर्न लागेँ । जसरी स्नेहालु दृष्टिमा घृणनीय पनि आकर्षक हुन्छ, श्रद्धालु दृष्टिले हेर्दा तुच्छमै महानता देखिन्छ ठीक त्यसरी नै शङ्कालु दृष्टिले हेर्दा शीतको पनि पर्खाल देखिँदो रहेछ । १० वर्षअघि देखिका स-साना कुराहरूलाई पनि केलाउन लागें शङ्काको चाल्नोले । कन्दर्प, मोतीमान दाजु र मेरो घनिष्ठता बढेको १० वर्ष भयो । यो १० वर्षको दीर्घ अवधिमा कहिल्यै पनि हामीहरूमा वैमनस्य ढिम्किन पाएको थिएन ।

मोतीमान दाजुको उमेर ३६ को छेउछाउ हुनुपर्छ अनि भाउजू पनि त्यस्तै २८-२९ की भइन् होला, किनभने दाजुको भनाइअनुसार उनको बिहे २० वर्षको उमेरमा भएको थियो अनि कम्पनीमा काम गर्न लागेको पनि त्यसै बेलादेखि हो । अहिले उनले काम गर्न लागेको १६ वर्ष हुँदै छ । भाउजू त्यस बेला १२-१३ की थिइन् रे । तर बिहे भएको १३ वर्षपछि मात्र उनीहरूले सन्तानको मुख देखे ।

कन्दर्प र म तेल कम्पनीको एउटा पाठशालामा केटाकेटी पढाउँछौं अर्थात् शिक्षकता गर्दछौँ, अनि मोतीमान दाजु चाहिँ कम्पनीकै एउटा विभागमा कारिन्दा थिए । कहिलेकाहीँ उनले रातमा पनि काम गर्नुपर्दथ्यो । कन्दर्प र म थियौँ अविवाहित अल्लारे अनि उनी थिए परिवारका अधिकारी – भिन्नता हामी तीनमा यत्ति थियो । कन्दर्पको मोतीमान दाजुसँग मभन्दा केही अधिक घनिष्ठता थियो, अनि आवतजावत पनि बाक्लो थियो । यी जम्मै कुरा एकातिरबाट सम्झिँदै गएँ । केही अघि भाउजूले कन्दर्पलाई भनेको कुरा सम्झिएँ । कौतूहल झन् बढ्यो । कन्दर्प र भाउजूको बीचमा निश्चय पनि कुनै रहस्य लुकिरहेको हुनुपर्छ भन्ने अडकल लगाएँ । नभए हामी पुग्नासाथ मोतीमान दाजु किन त्यसरी हिँड्थे ? अघि-अघि त कहिल्यै त्यसो गर्दैनथे । हुन त कन्दर्पको चरित्रमाथि शङ्का गर्नुपर्ने कुनै कारण आजसम्म मैले फेला पार्न सकेको छैन, तर आज किन हो शङ्का झन् झन् बढ्दै जाँदै छ ।

शङ्का बढ्ने यहाँ कारण परेको छ । बिहे भएको १३ वर्षसम्म मोतीमान दाजुका केटाकेटी भएनन् । दुवै लोग्ने स्वास्नी त्यसका लागि दुःख मनाउ गर्थे । बल्ल १३ वर्षपछि रत्नमान जन्म्यो । भाउजूको कोख सफल भयो । कतै रत्नमान नै त शङ्काको कारण होइन ? हुन पनि अस्वाभाविक छैन । यहाँ एउटा कुरा भनिराखे असल होला ।

एक दिन कन्दर्पले मलाई सोधेका थिए- “भन त के रत्नमानको अनुहार मसँग मिल्दोजुल्दो छ र ?”

“कसले भन्यो र ?” मैले सोधेको थिएँ ।

उनले छोटो जवाफ दिएका थिए- “भाउजूले !”

यति मात्र होइन, दाजु-भाउजू निःसन्तान हुँदा कन्दर्प पनि कहिलेकाहीँ दुःखमनाउ गर्दथे । उसो भए उनैले त कतै दाजु-भाउजूको वेदना दूर गर्ने चेष्टा गरेनन् ? नभए किन भाउजूले रत्नमानको अनुहार कन्दर्पसँग मिल्दोजुल्दो छ भन्ने दावा गर्दथिन् ? बस, मलाई यही शङ्काले सताउन लागेको छ । अझ कन्दर्पले ‘म कम्पनीकै काममा बाहिर गएको छु’ भनेर भाउजूलाई ढाँटेछन् । त्यसमा झन् के रहस्य होला ?

(हरिभक्त कटुवालको कथासंग्रह ‘स्पष्टीकरण’बाट)