सौम्य पहाडका शान्त कन्दराहरूमा जब मेसिनको कर्कश घर्घर सुनिन्छ, तब कतिपयलाई लाग्छ- यो समृद्धिको सुमधुर संगीत हो । तर, त्यही माटोमा हजारौँ वर्षदेखि आफ्नो मुन्धुमको सुस्केरा साँचिरहेकाहरूका लागि यो कुनै ‘डेथ वारेन्ट’ भन्दा कम छैन । ताप्लेजुङको त्यो भव्य चुचुरो, जसलाई राज्यका ढड्डा र पूँजीका दलालहरूले ‘पाथीभरा’ को नाम दिएर पर्यटकीय वस्तु बनाउन तम्सिरहेका छन्, त्यहाँका रैथानेहरू त्यसलाई ‘मुक्कुमलुङ’ भन्छन् । मुक्कुमलुङ- अर्थात् शक्तिको अलौकिक स्रोत र किराँती सभ्यताको ‘नाभी’ ।
समयको यस्तो मोडमा हामी उभिएका छौँ, जहाँ ‘विकास’ को नाममा ‘विनाश’ लेखिँदैछ । एउटा सिङ्गो सभ्यताको छातीमा आधुनिकताको धारिलो चक्कु घोपिँदैछ ।
नामको जालसाँझी र ‘खसकरण’ को राजनीति
मुक्कुमलुङ कसरी पाथीभरा बन्यो ? मुन्धुम अनुसार ‘मुकु’ को अर्थ शक्ति र ‘लुङ’ को अर्थ ढुङ्गा हो । यो किराँतीहरूको आध्यात्मिक शक्तिको केन्द्र हो । वि.सं. १८३१ को लालमोहरपछि गोर्खाली शासन विस्तारको क्रममा सुरु भएको ‘खसकरण’ ले यसलाई ‘पाथीभरा’ मा सीमित गरिदियो । यो लिम्बुवानको ऐतिहासिक स्मृतिमाथि फ्याँकिएको ‘क्षेप्यास्त्र’ थियो ।
पहाडको आकृति ‘पाथी’ जस्तो देखिनु त बहाना मात्र थियो; वास्तविक मनसाय स्थानीय आस्थालाई विस्थापित गर्नु थियो । पञ्चायती व्यवस्थाको ‘एक भाषा, एक भेष’ को नीतिले यसलाई सरकारी कागजातमा सदाका लागि ‘पाथीभरा’ बनाइदियो । आजको विवाद केवल नामको होइन, यो त राज्यले गरेको ऐतिहासिक अन्यायको खोजी हो ।
’अवतार’ को पर्दा र पूर्वको यथार्थ
हलिउड निर्देशक जेम्स क्यामरुनले ‘अवतार’ चलचित्र मार्फत् एउटा प्रश्न उठाए- आदिवासीको आस्थाको केन्द्र ‘होम-ट्री’ जोगाउने कि खनिज लोभी कर्पोरेटको स्वार्थ ? चलचित्र हेरिरहँदा हामी ती आदिवासीको पक्षमा उभिन्छौँ । विडम्बना ! आज जब मुक्कुमलुङमा मेसिनले त्यस्तै पवित्र आस्था उधिन्न खोजिँदैछ, तब हामी ‘विकास’ को नाममा चुपचाप रमिता हेरिरहेका छौँ ।
मुक्कुमलुङका रैथानेहरू यो पहाडका ढुङ्गा र वनस्पतिमा आफ्ना पितृको श्वास सुन्छन् । के हामी सिनेमाको काल्पनिक पीडामा रुने तर आफ्नै आँगनको जीवित सभ्यताको चीत्कारमा बहिरो बन्ने ढोंगी पुस्ता हौँ ? फिल्मको ‘होम-ट्री’ जोगाउन चाहनेले मुक्कुमलुङ ढल्न लाग्दा मौन बस्ने छुट पाउँदैनन् ।
‘मनकामनाकरण’ र पूँजीको कब्जा
नेपालमा ‘मनकामना मोडल’ लाई सफलताको मानक मानिन्छ। तर, के केबलकार पुगेपछि त्यहाँको सांस्कृतिक मौलिकता जोगियो ? मनकामना अब मन्दिर मात्र रहेन, एउटा ‘आध्यात्मिक बजार’ बन्यो । केबलकार पुग्नुअघिको पैदल यात्राले जुन श्रद्धाभाव पैदा गर्थ्यो, आज त्यो ‘मेकानिकल प्रक्रिया’ मा बदलिएको छ । यो भनेको ‘ब्राण्ड’ ले ‘आस्था’ लाई निल्नु हो ।
चन्द्रागिरीको अवस्था त झन् भयावह छ । त्यो ऐतिहासिक गढी अब निजी रिसोर्टको आँगन बन्यो, जहाँ छिर्न आम नागरिकले चर्को शुल्क तिर्नुपर्छ । जब पूँजीले आस्थाको डाँडो ओगट्छ, तब सर्वसाधारण त्यहाँबाट निष्कासनमा पर्छन् । के मुक्कुमलुङलाई पनि हामी त्यस्तै व्यापारिक ब्राण्ड बनाउन चाहन्छौँ, जहाँ छिर्न एकजना गरिब लिम्बूले आफ्नो आस्थाको मूल्य तिर्नुपरोस् ?
कोकाकोलाइजेसन र ‘इपिस्टेमिसाइड’ को डर
विश्वमा अहिले ‘कोकाकोलाइजेसन’ प्रवृत्ति व्याप्त छ, जसले स्थानीय विशिष्टतालाई एउटै वैश्विक व्यापारिक रङले निलिदिन्छ । यसको बीभत्स उदाहरण अफ्रिकामा देखिन्छ । विकास र खानी उत्खननका नाममा नाइजेरियादेखि कङ्गोसम्मका आदिवासीहरूलाई आफ्नै पुर्खाको जमिनमा ‘शरणार्थी’ बनाइयो ।
मुक्कुमलुङमा पनि त्यही ‘अफ्रिकी मोडेल’ दोहोरिने डर छ । जब एउटा व्यापारिक घरानाले कुनै डाँडा ओगट्छ, तब प्रकृति मात्र मासिँदैन, जातिको ‘इपिस्टेमिसाइड’ अर्थात् ज्ञान र इतिहासको सामूहिक हत्या हुन्छ ।
कानूनी डकैती र ‘ILO १६९’ को उपहास
मुक्कुमलुङमा जे भइरहेको छ, त्यो ‘कानूनी डकैती’ पनि हो । नेपालले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि (ILO १६९) अनुसार आदिवासीहरूको भूमिमा कुनै पनि परियोजना सुरु गर्नुअघि उनीहरूको ‘पूर्व सुसूचित सहमति’ अनिवार्य छ । यद्यपि, यहाँ बासिन्दाको आवाजलाई ‘विकासविरोधी’ को ट्याग लगाएर दबाउन खोजिँदैछ । जब राज्यले व्यापारिक घरानाको स्वार्थलाई काखमा राख्छ, तब लोकतन्त्रको चीरहरण हुन्छ ।
रैथाने इन्जिनियरिङ र जैविक सम्पदा
हामी विकासलाई सिमेन्ट र फलामको संरचना मात्र बुझ्छौँ । मुक्कुमलुङको ‘रैथाने इन्जिनियरिङ’ फरक छ । त्यहाँका बासिन्दाले हजारौँ वर्षदेखि प्रकृतिलाई नबिगारीकन जैविक विविधताको रक्षा गरे । केबलकारका टावर गाड्दा काटिने रुख र बिथोलिने माटोले रेड पाण्डा र कस्तुरी मृगको वासस्थान ध्वस्त पार्नेछ । मुन्धुमी दर्शनमा प्रकृति नै भगवान हो । यो दर्शन आजको विश्वका लागि सबैभन्दा ठूलो पर्यावरणीय शिक्षा हुन सक्छ ।
स्थानीय आर्थिक मोडेल: मालिक को ?
विकासले कसको गोजी भर्छ ? यो मुख्य प्रश्न हो । केबलकारको नाफा काठमाडौँका सीमित घरानाको बैंक खातामा जम्मा हुनेछ । स्थानीयले त केबल केही थान ‘गार्ड’ वा ‘हेल्पर’ को जागिर पाउने हुन् । केबलकारसँगै त्यहाँ प्लास्टिकका बोतल र जङ्क फूडको साम्राज्य खडा हुनेछ ।
यसको सट्टा हामीले विश्वव्यापी रूपमा सफल भएका स्थानीय आर्थिक मोडलहरू किन नअपनाउने ? भुटानले आफ्ना पवित्र स्थलहरूमा ‘थोरै तर गुणस्तरीय पर्यटक’ पर्यटन नीति लागू गरेर संस्कृति जोगाउँदै उच्च राजस्व संकलन गरिरहेको छ । पेरुको माचुपिच्युमा ‘इन्का ट्रेल’ मार्फत पदयात्रालाई अनिवार्य जस्तै बनाएर लाभको हिस्सा सिधै स्थानीय गाइड र भरियाहरूको हातमा पुर्याइएको छ ।
त्यसैगरी, क्यानडाको ‘आदिवासी संरक्षित क्षेत्र’ मोडलले देखाएको छ कि जब प्राकृतिक स्रोतको व्यवस्थापन आदिवासीको हातमा हुन्छ, तब मात्र जैविक विविधता जोगिन्छ । न्यूजील्याण्डले त आफ्नो ह्वान्गानुई नदीलाई ‘जीवित मानिस’ सरह कानूनी अधिकार दिएर प्रकृतिको दोहन रोक्ने विश्वकै उदाहरणीय काम गरेको छ । मुक्कुमलुङमा पनि केबलकारको यान्त्रिक मोडेल भन्दा यस्तै ‘रैथाने र दिगो’ मोडेल नै समृद्धिको वास्तविक आधार बन्न सक्छ ।
भावी पुस्ता र इतिहासको ‘ऋण’
हामीले यो धर्ती पुर्खाबाट पाएका होइनौँ, बरु आफ्ना सन्तानहरूबाट ‘ऋण’ मा लिएका हौँ । आज मुक्कुमलुङमा केबलकारका खम्बा गाड्नु भनेको भोलिको पुस्ताको अधिकारमाथि धावा बोल्नु हो । के हामी हाम्रा सन्तानको ‘अक्सिजन’ बेचेर केबलकारको टिकट काट्न तयार छौँ ?
पुर्खाले हजारौँ वर्ष जोगाएको मुन्धुमलाई केही दशकको ‘व्यापारिक मुनाफा’ का लागि नामेट पार्नु अपराध हो । यदि आज यो ‘नाभी’ जोगिएन भने, भोलिका सन्तान ‘सांस्कृतिक टुहुरो’ बन्नेछन् । उनीहरूले आफ्नो जरा खोज्दै मुक्कुमलुङ जाँदा त्यहाँ पितृको कथा होइन, होटलका मेनु र टिकट काउन्टरहरू मात्र भेट्नेछन् ।
विकल्पमा कस्तो विकास ?
आजको आवश्यकता अन्धधुन्ध भौतिक संरचनाको निर्माण होइन, बरु ‘पहिचानसहितको दिगो समृद्धि’ हो । हाम्रो असहमति प्रगतिको यात्रासँग होइन, प्रगतिको परिभाषा र प्रक्रियासँग हो । मुक्कुमलुङमा डोजर चलाइनुअघि त्यहाँको मुन्धुमी दर्शन र रैथाने अर्थतन्त्रको जगमा उभिएर विकासको नयाँ मानक सोच्न सकिन्छ । समाधान केवल विरोधमा होइन, निम्न अनुसारको न्यायोचित विकल्पमा छ:
सांस्कृतिक संरक्षित क्षेत्र: मुक्कुमलुङलाई ‘मुन्धुमी सांस्कृतिक संरक्षित क्षेत्र’ घोषणा गरी यसको आध्यात्मिक र पारिस्थितिकीय गरिमालाई कानूनी संरक्षण दिइयोस् ।
सामुदायिक पर्यटन: केबलकारको व्यावसायिक एकाधिकारभन्दा स्थानीयलाई उद्यमी बनाउने ‘मुन्धुमी ट्रेल’ र होमस्टेलाई राज्यले प्रवर्द्धन गरोस् ।
नामको पुनर्स्थापना: ऐतिहासिक र सांस्कृतिक न्यायका लागि सरकारी अभिलेख र परिचयमा ‘मुक्कुमलुङ’ नामलाई प्राथमिकताका साथ स्थापित गरियोस् ।
निर्णायक अधिकार र स्वामित्व: कुनै पनि निर्माणमा स्थानीय समुदायको अनिवार्य ५१ प्रतिशत शेयर र परियोजनाको प्रकृतिमाथि ‘भिटो पावर’ सुनिश्चित होस् ।
अन्तिम प्रश्न: विरासत कि व्यापार ?
पहिचान भनेको एउटा नाम मात्र होइन, यो त एउटा लामो ऐतिहासिक शृङ्खला हो । मुक्कुमलुङ त्यो शृङ्खलाको बलियो कडी हो । आज मुक्कुमलुङ खतरामा छ, तर वास्तवमा समयले हामी सबैलाई इतिहासको कठ्घरातर्फ हुत्याएको छ ।
हामीले आज पुर्खाको पुकार सुनेनौँ भने, भोलि इतिहासले हामीलाई माफ गर्ने छैन । केबलकारका तार फेरिन सक्छन्, तर मासिएको मुन्धुम फर्किने छैन । मुक्कुमलुङमा लालीगुराँस नै फुल्नुपर्छ, फलामका टावरहरू होइन । त्यहाँ मुन्धुमको सुस्केरा नै सुनिनुपर्छ, मेसिनको घरघराहट होइन । राज्यले बुझोस्- आस्थालाई डोजरले पेल्न सकिँदैन र पहिचानलाई तारमा झुण्ड्याएर बेच्न पाइँदैन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ फाल्गुन २०८२, सोमबार 










