अचम्म लाग्छ ! औपचारिकताहीन, सिलसिलाविहीन निर्बन्ध जीवन पनि कहिलेकाहीँ थाहै नपाई सिलसिलेवार बनिदिँदो रहेछ । ठीक छ, आफैँ निर्माण भएको सिलसिलासँग केही आपत्ति छैन । तर म आफैँ भने सिलसिला कहिल्यै रचाउँदिनँ होला । मलाई यस्तै बेपर्वाह, असङ्गत, विसङ्गत, अराजक जीवन मनपर्छ । योजनाविहीन भएर जति बेला जस्तो इच्छा आउँछ, त्यसैलाई सुन्न मनपर्छ ।

त्यही क्रममा यतिखेर लगातार मैले केही औपन्यासिक कृति पढेछु । तर निरन्तर पढ्नकै लागि भनेर पढेको चाहिँ होइन । संयोगहरू यसरी एकपछि अर्को आफैँआफैँ मिल्दै गएछ । भर्खरै साहित्यकार विमल सुवेदीद्वारा अनूदित हर्मन हेसको ‘सिद्धार्थ’ सकेको थिएँ तर त्यसको प्रभाव अझै सकिएको थिएन । तरङ्गिएकै थिएँ । त्यस अघि बखतबहादुर थापाकृत ‘देशान’ अझ अगाडि अर्नेस्ट हेमिङग्वेको बूढो मान्छे र समुद्र (ओल्ड  म्यान एण्ड द सी ) पढिसकेको थिएँ ।

आख्यानात्मक कृति अध्ययनकै सिलसिलामा पुनः मुक्तिप्रसाद उपाध्यायलाई पढ्न पुग्छु ‘पदचिन्ह पहिल्याउँदै’ यात्रा उपन्यासमा । अघिल्ला पठनमा स्रष्टा उपाध्यायलाई मैले नाटकमा पढेँ, नियात्रामा पढेँ, अनुवाद र सम्पादनमा पढेँ र विज्ञान उपन्यासमा पनि । वाङ्मयका अनेक विधामा बराबर सक्रिय रहेका स्रष्टा । भारतीय नेपाली साहित्यमा उनको परिचय ठूलो छ । बाल साहित्यमा उस्तै लोभलाग्दो परिचय छ । असमिया र अङ्ग्रेजी भाषामा समेत अनुवाद भइसकेको, अकादेमी बाल साहित्यबाट पुरस्कृत ‘मालती’ उपन्यासले त्यो कुरा बताउँछ । ‘हिमाली’ र ‘कान्छी’ जस्तै यो पनि एउटा विज्ञान उपन्यास हो ।

स्रष्टा उपाध्याय अझ नाटक तथा चलचित्र लेखन अनि निर्देशन कर्ममा ज्यादा विशेषित छन् । उनी अभिनयकर्मी पनि हुन् । थुप्रै नाटकमा उनले अभिनय गरेका छन् । चलचित्रमा पनि । नाटक, एकाङ्की, रूपक, गीत, कविता उनले सबै लेखेका छन् । थुप्रै पटकथा पनि । आरम्भमा कथाबाट शुरु भएको उनको लेखन कार्य अन्ततः वाङ्मयका हरेक विधामा सक्रियताका साथ चलेको देखिन्छ । समीक्षा, समालोचना तथा सम्पादनको क्षेत्रमा पनि उत्तिकै देखिन्छ ।

नेपाली वाङ्मयमा ठूलो योगदान पुर्याएका; साहित्यमा साधनारत स्रष्टा, जसको झण्डै पचास कृति प्रकाशनमा आइसकेका छन् । कथा, यात्रा संस्मरण र निबन्धका केही कृति प्रकाशोन्मुख अवस्थामा छन् । आफ्नै शब्द सङ्गीतमा स्वर दिने, सङ्गीत भर्ने उनको अर्को रुचि छ । अनेक मानसम्मान, पुरस्कार तथा संलग्नताले पनि उनको वाङ्मयिक व्यक्तित्वको परिचय दिएको छ ।

अब प्रसङ्ग सन्दर्भित कृतितर्फ मोडिएको छ । कुरा के भने, मानिस नित्य गतिशील छ । अस्थिर छ, महत्त्वाकाङ्क्षी छ । त्यसैले असन्तुष्ट छ र अधैर्य पनि । सम्भावित उज्यालो र भविष्यको खोजीमा ऊ नित्य भड्किएको छ, यायावरी भएको छ । ‘पदचिन्ह पहिल्याउँदै’ नियात्रा आख्यानले यही थिम बोकेको छ । किन्तु मानवको यायावरीय गुणलाई देखाउनु मात्र यस कृतिको अभिप्राय भने होइन । विश्वयुद्ध हुनु पहिले नै, राजनैतिक तथा भौगोलिक सीमा रेखा पनि सुदृढ हुनु अघि नै नेपाली जाति सम्भावित जीवनको खोजी गर्दै कहाँ कहाँ पुग्यो ? हो, त्यही कुरा देखाउन खोजेको छ प्रस्तुत कृतिले । छिमेकी मुलुक भारत हुँदै बर्मा, थाइलेण्ड पुगेका; हङकङ, मलेसिया पुगेका नेपाली जातिको सुख दुःखको कथालाई देखाएका छन् लेखकले । उक्त कृतिमा बर्माको आदिवासीबाट हेपिएर, लुटिएर, अत्याचार सहेर पुनः पूर्वोत्तर भारतमा बास खोज्दै आएका नेपालीको जीवन बडो मार्मिक  छ । पौरखी छ, नेपाली जाति उस्तै परिश्रमी छ । समृद्धि आर्जन गर्न सिपालु छ । तर अझ पनि सन्तुष्ट छैन । मन विभाजित छ । मूल भूमिलाई ऊ बिर्सिन सक्दैन । लक्ष्य भूमि त्याग्न पनि सक्दैन । द्वैध मानसिकतामा ऊ बाँच्दै आएको छ । अन्ततः उसका सन्ततिलाई त्यस भूमिले पनि तृप्ति दिन सक्दैन । अज्ञात सुख, समृद्धि र भविष्यको खोजमा पुनः ती सन्ततिहरू गन्तव्य खोज्दै फड्को मार्न पुग्छन् बेलायत, अमेरिका, अस्ट्रेलिया कता कता ।

यस दृष्टिले ‘पदचिन्ह पहिल्याउँदै’ एक डायास्पोरिक उपन्यास बनेको छ र यसलाई डायास्पोरिक दृष्टिले हेरिनु पर्दछ । लेखक स्वयं एक डायास्पोरिक स्रष्टा हुँदा होमल्याण्ड छोड्नेहरूको कथा, आफ्नै कथा, आफ्ना पुर्खाहरूको कथा लेख्न उनी अभिप्रेरित भएको हुनुपर्छ । कृति पढ्दै जाँदा थाहा हुन्छ डायास्पोरिक मनोविज्ञान बडो विचित्रको हुने रहेछ । मन सदा विचलित छ । भौतिक अस्तित्व सङ्कटमा परिरहन्छ । ती बर्मेलीहरूले गरेको दुर्व्यवहार कति निन्दनीय छ, असह्य पनि । नेपालीहरू कहाँ कहाँ पुगे, कुन मार्ग भएर त्यहाँ पुगे, कस्तो जीवन पद्धति अपनाए ? त्यसको दृश्याङ्कन गरिएको यो एक खोज अनुसन्धानात्मक कृति पनि हो । यसमा यथार्थ र कल्पनाको संयोजन प्रभावकारी छ । इतिहास भइसकेको विषयलाई आख्यानात्मक अभिव्यक्ति दिँदा; यसलाई इतिहासपरक दृष्टिले पनि हेर्न सकिन्छ । एक देशबाट अर्को देशमा बसाइँसराइ गर्नेको जीवन कति विघ्न असुरक्षित हुने रहेछ । तर पनि बसाइँसराइ तथा डायास्पोरिक गतिविधि थामिने स्थितिमा छैन । बरु तीव्र गतिमा बढ्दो छ । मानिस साँच्चै सामुद्रिक छालको माछा जस्तै रहेछ नित्य अस्थिर, नित्य गतिशील । चिनियाँ, भारतीय, मुसलमान तथा विविध जातिको छाल त्यस्तै देखिन्छ ।

जीवन त आखिर जसरी पनि भोगिने रहेछ । अठार खण्डमा विभक्त ‘पदचिन्ह पहिल्याउँदै’मा लेखकले यही कुरा देखाउन खोजेका छन् । प्रायः यी प्रत्येक खण्डका शीर्षकले व्यक्त गर्न खोजेको आशयलाई प्रष्ट गर्न सकेका छन् । आरम्भको शीर्षक ‘मानवको घुमन्ते प्रवृत्ति’ले भने पाठकलाई केही अन्योल बनाउन खोज्छ । उपन्यास भए पनि अलिक भिन्न विषय जस्तो लाग्छ । आख्यानिक अनुभूति हुनबाट केही टाढिन खोजेको हो कि भन्ने आभास हुन्छ । इतिहासको कुरा आउँछ, त्यसको समीक्षा हुन्छ र विश्लेषण पनि । नेपाली जाति किन कसरी पुर्खौं पुर्खादेखि जरा टेकेको भूमि छोडेर फिरन्ते भयो ? यस कुरालाई स्पष्ट पार्न पृष्ठभूमिका रूपमा झण्डै चार खण्ड उपन्यास गैराख्यान ढाँचामा अगाडि बढ्छ । 

लेखकले उपन्यासमा इतिहास तथा पौराणिक विषय सन्दर्भलाई जतिसक्दो रोचक तरिकाले प्रस्तुत गरी; पाठकलाई डोर्याउँदै डोर्याउँदै खास घटनामा पुर्याएका छन् । उनको आख्यानमा मञ्चित कतिपय पृष्ठभूमि आज पनि पौराणिक दृष्टिकोणले उतिकै विशेष रहेको देखिन्छ । मिथकीय घटनामा वर्णित ती ठाउँहरूको लेखकले राम्रो जानकारी दिएका छन् । जस्तो ब्रह्मपुत्रको नाम कसरी रहन गयो ? त्यस्तै कामाक्षाको ? इतिहास तथा पुराणमा सम्बद्ध भई उनले त्यो बताएका छन् ।

लेखकले आख्यानमा व्यापक परिवेश निर्माण गरेका छन् । समय त्यस्तै व्यापक छ । चार पुस्ताको घटना छ तर सूत्रात्मक । त्यसपछिको अर्को पुस्ता स्मृतिमा आउँछन् किन्तु प्रत्यक्ष घटना तथा वर्णन छैन । रत्न र गोपाल अमेरिकामा जनाति जन्मिएको कुरा मोबाइलबाट थाहा पाई खुशी हुन्छन् । 

यतिखेर म असमञ्जसको स्थितिमा छु । कृतिको अन्त्यमा पुग्दा समेत निश्चित हुन सक्दिनँ नायकत्व कसलाई दिने ? आ-आफ्नो समयका प्रमुख पात्र सबै नायकझैँ लाग्छन् । भक्तलाल नायक लाग्छन्, उनका छोरा रविलाल फेरि उनका छोरी ज्वाइँ रुक्मिणी र श्रीकृष्णले पनि उसै गरी समय थामेका छन् । उनीहरूको एउटै सन्तान गोपाल र उसकी श्रीमती रन्न त झन् उपन्यासको निष्कर्ष दिने पात्र भइहाले ।

कृतिमा ‘नयाँ क्षितिजको खोजी’बाट भनौँ या चतुर्थ खण्डबाट बल्ल कथा आरम्भ हुन्छ । तेह्रथुमबाट पात्रहरू गतिशील हुन थाल्छन् । केही युवाहरू अध्ययनका लागि काशी जान हिँडेको अस्पष्ट दृश्य आउँछ । तिनैको पछि लागेर एउटा अनाथ बालक अर्थात् श्रीकृष्ण काशी पुग्छ र तिनै पढ्न जानेहरूको भात भान्छा सघाएर ऊ पनि विद्या आर्जनमा लाग्छ । साधुहरूको सङ्गत गर्छ, त्यस दिन ऊ कामाक्षा मन्दिर गएको छ । जुन विश्वयुद्ध (सन् १९१४) हुनु अघिको कुरा हो । मन्दिरमा कोटीहोम महायज्ञ चलेको छ । श्रीकृष्णको रुक्मिणीसँग त्यहीँ भेट हुन्छ । उनीहरू एर्काकाप्रति सम्मोहित हुन्छन् ।

त्यसपश्चात् मूल कथा त्यहीँ रोकिन्छ । रुक्मिणी कसकी छोरी हुन् ? को हुन् ? उनको परिचय गराउन, उनको पुर्खाको अतीत देखाउन कथानक अन्त्यै मोडिन्छ । रुक्मिणीको वंश पछ्याउँदै समय धेरै पछाडि फर्किन्छ । घटना अर्कै घट्न थाल्छ । परिवेश बदलिन्छ बर्माको वस्तुस्थितिमा पात्र फेरिन्छ । धनकुटाबाट बर्मा पसेका भक्तलाल खनालबाट कथाको नायकत्व शुरु हुन्छ । उनीसँगै आएका कति साथीहरू थाइल्याण्ड गए भनिएको छ तर दृश्य देखाइएको छैन । 

‘पदचिन्ह पहिल्याउँदै’ एउटा यस्तो आख्यान हो; जसमा यो पनि, त्यो पनि, यस्तै त्यस्तै धेरै कुराको आभास मिल्छ; आख्यानजस्तै, समीक्षाजस्तै, कविताजस्तै, इतिहासजस्तै, मिथकजस्तै । प्रस्तुत कृतिमा जस्तैजस्तै लाग्ने अनेक आभास मिसिएका छन् ।

उपन्यासका प्रथम नायक भक्तलाल मानिस अत्यन्तै चतुर स्वभावका छन्, मिहिनेत गर्न सक्ने खालका छन् । उनको एउटा सम्पन्न परिवार छ । सुख समृद्धि पर्याप्त छ । यशकीर्ति पनि छ । तथापि उनको त्यो समृद्धि नियतिलाई स्वीकार्य हुँदैन किनभने ज्यादा विलासीमा रमाउने, अकर्मण्यतामा जीवन व्यतीत गर्ने बर्मीहरूलाई नेपाली जातिको सम्पन्नता मन पर्दैन । सह्य हुँदैन । सहिष्णु हुन सक्दैनन् । नेपालीप्रति ज्यादा विद्वेषी हुन्छन् । नेपालीको धन दौलत लुटपाट गर्न पल्किएका तिनीहरू काटमार गर्न, तहसनहस पार्न जसो गर्न पनि तत्पर हुन्छन् ।

बर्माको आतङ्कबाट भक्तलालको परिवार हेर्दाहेर्दै क्षतविक्षत हुन्छ । छिनभरमै असहाय हुन्छ । लुटेराहरूले घरमा आगो लगाइदिन्छन् । श्रीमतीसहित दुई छोरी र एक छोरा त्यहीँ भस्मीभूत हुन्छन् । अनि त  विरक्तिएको भक्तलालको मन त्यहाँ अडिन सक्दैन । मिचिनबाट केही नोकरचाकरसहित बासस्थानको खोजी गर्दै अन्ततः उनी आसाम आइपुग्छन् ।

त्यतिखेर पचास साठी जनाको ठूलो लस्कर; गाईवस्तु, घोडा, राँगा, खच्चर, बाला वनिता, वृद्ध वृद्धा तथा असहायहरू बसाइँ हिँडेको दृश्य कस्तो थियो होला ? म कल्पना गर्छु । ती प्रत्येकले आफू अनुसारको ढाकर बोकेका छन् । अश्वारोही अगाडि अगाडि छन् । गाईवस्तुको पिठ्युँमा पनि भारी छन् । पूर्ण प्रबन्धका साथ हिँडेको समूह, यात्रा बिसाउँदै बिसाउँदै चालीस दिन अझ धेरै दिन लामो यात्रा गरी; आसामको जागुनमा आएर थामिन्छ ।

उपन्यासमा अङ्ग्रेज शासनको समय र उपनिवेशित समाज कस्तो थियो ? त्यसको केही झल्को देखाइएको छ । विकासको पथ द्रुत गतिमा अघि बढेको देखिन्छ । जलमार्ग, रेलमार्ग निर्माण भएका छन् । अङ्ग्रेजहरू नेपालीप्रति आकृष्ट छन् र पौरखी जातिको दृष्टिले सम्मान गर्छन् । आफ्नो व्यापार बढाउन अङ्ग्रेजहरू अनेक तरिका अजमाउन सिपालु छन् ।

अङ्ग्रेजसँग भक्तलालको राम्रो सम्बन्ध छ । डा. जनवेरी ह्वाइटसँग पनि उनको निकटता छ । उनी जङ्गलको ठेक्का लिन्छन् । उन्नतिका अनेक उपाय गर्छन् । दिन रात पौरख गरेर समयमै मिचिनामा हुँदाको जस्तै सम्पन्नशाली हुन्छन् । केही समयपछि बर्मा बस्दाको जस्तै उर्वर भूमिमा कृषिकर्मका लागि आसामको सुन्दर भूमि शोणितपुर जान्छन् । छोरा रविलाल पनि अब जवान भइसकेका छन् । बाबुलाई पालो दिने भइसकेका छन् । पोख्रेलकी छोरीसँग उनको बिहे हुन्छ । कामाक्षा मन्दिरमा आयोजित कोटीहोम महायज्ञमा; श्रीकृष्णसँग भेट भएकी रुक्मिणी उनैकी छोरी हुन्छिन् ।

कृतिमा घटित विषयवस्तुलाई तन्काउँदै जाने हो भने सम्हाल्नै नसक्ने गरी कथानक धेरै लामो हुन सक्छ । घटना धेरै विविधतापूर्ण छ । समय त्यस्तै दीर्घ अवधिको छ । परिवेश विराट छ । त्यही बुझेर होला लेखकले घटना छिटो छिटो घटाएका छन् । कति ठाउँमा कथानकलाई सूचनात्मक किसिमले गतिशील बनाएका छन् । श्रीकृष्ण र रुक्मिणीको भेटपश्चात् रोकिएको कथा अब भक्तलालले प्रतिनिधित्व गरेको कथासँग जोडिएर एउटै रेखामा हिँड्न थाल्छ । त्यसपछि भक्तलालकी नातिनी रुक्मिणीसँग श्रीकृष्णको बिहे हुन्छ । यसरी अनाथ, निराश्रयी श्रीकृष्ण दुई पुस्ता पहिले नै मुगलान पसेको एउटा सम्पन्न परिवारसँग वैवाहिक नाता जोडिन्छ ।

भक्तलालको उद्यमी जीवन बडो गौरव योग्य लाग्छ । उनले त्यहाँ गोर्खालीको रूपमा; एउटा सम्मान योग्य चिनारी आर्जन गरेका छन् । उनको उदार तथा सहयोगी व्यक्तित्व उस्तै आदर योग्य लाग्छ । उनको यस व्यक्तित्व मार्फत लेखकले नेपाली जातिको चरित्र देखाउन खोजेका छन् ।

कृतिमा स्रष्टा उपाध्यायले अचानक संयोगहरू एकपछि अर्को घटाउँदै गएका छन्; कति स्वाभाविक किसिमले त कति नाटकीय तरिकाले । त्यस दिन कामाक्षा देवीको दर्शन गरेर फर्किएका श्रीकृष्ण दम्पतिले; नीलाचल पहाडको ओह्रालोमा दश बाह्र वर्षको एउटा असहाय बालक भुइँमा लडिरहेको अवस्थामा भेट्छन् । कोमल संवेदना भएकी रुक्मिणीले उसलाई उठाएर आफूसँगै लिएर हिँड्छिन् । तब आफ्नी श्रीमतीको सद्भावमा श्रीकृष्ण खुशी हुन्छन् । उसलाई धर्मपुत्र बनाउँछन् ।

त्यस बालकको परिचय, पछि खुल्दै जान्छ । त्यति सानै उमेरमा शिलाङको कोइलाखानीमा काम गर्नेसँग; ऊ पछि लागेर आएको हुन्छ । आउँदा आउँदै बाटामा बिरामी पर्छ र ऊ बीचैमा छोडिन्छ । यस घटनाले के बताउँछ भने नेपालबाट मुगलान पस्न हिँडेका जीवन कति अस्तव्यस्त हुँदा रहेछन् । कामको खोजीमा, सुगमताको खोजीमा मानिसहरू कति धेरै अस्थिर हुँदा रहेछन् ।

उफ् ! नेपालीको जीवन कति निरीह ? जीवन धान्न कति मुस्किल ? नेपालीहरू रहरले त्यसै मुगलान कहाँ पसेका हुन् र ? यस्तै अनेक आशय बाटामा भेटिएको बालक र स्वयं श्रीकृष्णको जीवनले बताउँछ । बिहे भएको चार वर्षपछि रुक्मिणीको छोरो जन्मिन्छ —गोपाल । धर्मपुत्र पनि अब ठूलो भइसकेको छ । त्यस दिन उसले घर सम्झिन्छ । रुक्मिणी र श्रीकृष्णसँग केही दिनको लागि पाल्पा फर्किने प्रस्ताव राख्छ । फिर्ती हुँदा उतै बिहे गरी श्रीमती लिएर आउँछ । 

‘पदचिन्ह पहिल्याउँदै’ भित्र यस्ता अनेक कथाहरू समेटिएका छन् । जसलाई बहु दृष्टिकोणबाट हेर्नु पर्ने हुन्छ । खासमा त यो मूल भूमि छोडेर मुगलानिएका नेपाली जातिको; वंश वृद्धिको कथा हो । त्यस्तै जहाँ जहाँ पुगे पनि देश सम्झिनेहरूको कथा हो यो । अनि पराई मुलुकमा जीवन खोज्नेको पनि कथा हो । 

रुक्मिणी दम्पतिको धर्मपुत्र बलबहादुरलाई सबैले थापा दाइ भनेर चिन्ने गर्छन् । उनका जुम्ल्याहा छोरीहरू जन्मिसकेका छन् । कथानक यहाँ आइपुग्दा दोस्रो विश्वयुद्ध शुरु भएको छ । भारतमा स्वतन्त्रता आन्दोलन चर्किएको छ । रविलाल, श्रीकृष्णलगायत धेरै नेपाली त्यस आन्दोलनमा सक्रिय भएर लागेका छन् । यहीँनेर के थाहा हुन्छ भने भारतीय स्वाधीनता भारतीयहरूले मात्र लडेर ल्याएको स्वाधीनता होइन । त्यसमा त्यहाँका नेपाली जातिको योगदान पनि उतिकै महत्त्वपूर्ण रहेको छ ।

थापा दाइ दोस्रोपल्ट फेरि घरदेश फर्किएका छन्, साथमा गोपाल छ श्रीकृष्णको छोरो । कति दिन बास बस्दै उनीहरू पाल्पा पुगेका छन् । गन्तव्यमा पुग्नुअघि नै बाटामा गाउँका निष्कपट तथा स्वच्छन्द प्रवृत्तिका युवतीहरू भेटिन्छन् । लेखकले तिनीहरूलाई अलिक उत्ताउलो बनाएका हुन् कि ? शालीन, केही लज्जाशील बनाएको भए परिवेश सुहाउँदो हुन्थ्यो कि ? गन्तव्य पुगिसकेपछि भेट भएका गीता र रत्न पनि उस्तै स्वच्छन्द लाग्छन् । गोपाललाई देखेर उनीहरू अस्वाभाविक ढङ्गले आकृष्ट हुन्छन् । एकछिन भेट भएको युवकसँग त्यसरी प्रेमको याचना गर्दा; प्रेमको अवमूल्यन हुने त होइन ? खोला किनारमा गीता, रत्न र गोपालबीचको त्यस दृश्यलाई स्वाभाविक बनाउन तथा उनीहरूबीचको घनिष्टता देखाउन अलिक हतार भएकोझैँ लाग्छ । त्यस्तै, उताबाट आउँदा केही थाहा नभएको अबोध देखिने गोपालमा बलात् आसक्ति चेत हालिदिएको आभास हुन्छ ।

विषयवस्तु, पात्र, परिवेशको हिसाबले घटना नेपालमाभन्दा उतै बढी घटेको छ । आरम्भमा द्रुत गति लिएर अन्ततः कथा सुस्तरी हिँडेको लाग्छ । तथापि कथामा त्यस्तो सुस्तता भने छैन । आख्यानमा नेपालका दृश्य परिदृश्य थोरै छन् तर केही अनौठा छन् । गीता र रत्न एक युवकलाई पालैपालो प्रेम गर्छन् । प्रतिस्पर्धी जस्ता हुन्छन् गोपाललाई आफ्नो बनाउन । लेखकले यहाँ त्रिकोणात्मक सम्बन्ध रचेका छन् । ती दुईको प्रेमले रोमाञ्चित भई गोपाल घर पुग्छ । जाने बेला उसले वचन दिएको हुन्छ, “म पढाइ सकेर आउँछु ।” 

आख्यानमा पाठकले ख्याल राख्नैपर्ने एउटा कुरा छ । त्यो हो नेपाल र भारतबीचको शैक्षिक पृथकता । त्यतिखेर नेपालमा शिक्षाको सुलभता कत्ति थिएन । शिक्षाको  महत्त्वबोध भइसकेको थिएन । जब कि उता शिक्षा अनिवार्य जस्तै भइसकेको थियो । शिक्षा लिनु स्वाभाविकता बनिसकेको थियो । गोपालले आई.ए. पढ्यो, बी.ए. पास गर्यो र बाबु आमाको वचन हार्न नसकी विवाह बन्धनमा बाँधियो लक्ष्मीसँग ।

सन् १९४७ मा भारत स्वतन्त्र भयो । यता नेपालमा चाहिँ निरङ्कुशता विरुद्धको आन्दोलन सक्रिय हुँदै थियो । विद्रोहको ज्वाला बढ्दै थियो । लेखक उपाध्यायको कृतिमा यसको गहिरो प्रभाव परेको छ । विरोध दबाउन राणाहरूले गरेको कठोर प्रयासमा उनका पात्रहरू आहत भएका छन् । गाउँ गाउँमा गस्ती छ । सुन्दर युवतीहरू खुलेआम अपहृत भएका छन् । बलात्कृत भएका छन् ।

लेखक एक नाट्यकर्मी हुँदा आख्यानमा त्यसको पनि केही प्रभाव परेको छ । अब कथा नाटकीय शैलीमा अगाडि बढ्छ । त्यस दिन कान्छी भाउजू पाल्पाको एउटा खोलामा लुगा धुँदै थिइन् । त्यसै बखत राणाका कामासक्त पुलिसहरू उनीमाथि जाइलाग्न पुग्छन् । गीता, रत्न र भाउजू तीन जना मिली त्यहीँ दुई पुलिसको प्राण लिन्छन् । अर्को जीवितै रहन्छ । वास्तविकतामा यसो हुन नसक्ला । कल्पना नै सही लेखकले यहाँ महिलाको बहादुरी देखाएका छन् । 

त्यस घटनाको केही दिनपश्चात् गीताको बिहे हुन्छ तर उनको मन गोपालको प्रतीक्षामा रहन्छ । पुलिस केस छल्नकै लागि उनको बिहे भएको हुन्छ । त्यस दिन उनी दुलही भएर जाँदै थिइन्, संयोगवश बाटैमा उनी पक्राउ पर्छिन् । 

घरजम भइसकेको गोपाल, गीता र रत्नलाई सम्झिएर दोस्रोपल्ट पुनः नेपाल आउँछ । आफू विवाहित हुँ बिर्सिएर ऊ रत्नलाई प्रेम गर्छ । त्यस दिन सल्लेरीमा प्रेम साटिरहेका ती दुई, अचानक झोडीबाट आएको करुण क्रन्दनले भयभीत हुन पुग्छन् । के हो भनी खोजी गर्दा वीभत्स स्थितिमा गीतालाई भेट्छन् ।

पुलिस पक्राउमा परेकी गीता कसरी यस अचेत अवस्थामा फेला परिन् ? यसबीचको घटना एकदम रहस्यमय लाग्छ, त्यस्तै काल्पनिक पनि । फिल्मी शैलीमा कथा घट्दै जान्छ । कान्छी भाउजूलाई हातपात गर्ने पुलिसमाथि जाइलाग्दा, प्रतिआक्रमण गर्दा; रत्नको मुखबाट निस्किएको गीताको नाम अर्को जीवित पुलिसले अड्कल राखेको हुन्छ । कसले हत्या गर्यो खुट्याउन नसकेको पुलिस प्रशासनले गीता नाम भएका जति सबै पक्डिन थाल्छ । अरू दुइटी गीता थुनामा परिसकेका थिए । अब तीन जना गीता नाम भएका बलात्कृत युवतीहरू मिलेर बडो चलाख तरिकाले; तीन पुलिस र एक भान्छेलाई कामवासनाद्वारा लोभ्याउँछन् र आफूलाई भोग गर्न इसारा दिई दिईकन नियन्त्रणमा लिन्छन् र कोठामा हुल्छन् । अन्ततः आसक्तिले शिथिल तिनीहरूलाई मारपिट गरी, मुखमा बुजो लगाई मट्टितेल खन्याउँछन् । आगो झोसेर फरार हुन्छन् । 

पुलिस दुराचारमा परेकी असहाय गीता त्यसपछि भय र त्रासले अचेत भई राति घर आउँदै थिइन् । किन्तु ठेगानमा पुग्नु अगावै लडेर अभर पर्छिन् । उनको दु:खद अवस्था देखेर गोपलको मन टुक्रिन्छ । गाउँमा उनको सुरक्षा नहुने ठहर भएपछि; सबैको सल्लाहमा उनलाई थापा दाइ र गोपालसँग आसाम पठाइन्छ । रत्न पनि पछिपछि लाग्छिन् कसैको अनुमति नलिइकन । 

पुलिसलाई अर्को चुनौती थपिएको छ । अप्रत्याशित तरिकाले पुलिस थानामा आगलागी हुनु, तीन प्रहरी र एक भान्छे खरानी हुनु एकदमै असाधारण घटना बन्छ । दिन रात पुलिसको गस्ती चल्छ । रातारात सिमाना काट्न हिँडेका थापा दाइ, गोपाल, गीता र रत्नको कतै पुलिससँग जम्काभेट हुने त होइन ? ती पात्रसँगै पाठक पनि भयाक्रान्त हुन्छ । विचलित हुन्छ । जे नहोस् भनेको त्यही भएर छोड्छ । बित्थामा दुःख दिने पुलिसप्रति गोपाल आक्रोशित हुन्छ, उसमाथि पेस्तोल सोझ्याइन्छ । पुलिसको निसाना छल्न गीता आफैँ बलिदान हुन पुग्छिन् । प्रेममा बलिदान दिन्छिन् । त्यहीँ उनको दाहसंस्कार गरेर बाँकी यात्रु बाटो लाग्छन् । उनीहरूको गन्तव्य निकै दूर छ । 

समय अचानक फड्किन्छ । जीवन उत्तरार्धमा पुगिसकेको छ । परिस्थिति अर्कै भएको छ । विगतको स्मृति भने उस्तै ताजा छ । आसाम जान हिँडेकी रत्नलाई उनान्सय वर्ष पुगेको प्रसङ्गमा पुर्याइन्छ । गोपाल एक सय एक वर्ष बाँचिसकेको देखाइन्छ । उता गएर गोपालले दोस्रो बिहे गर्छ रत्नसँग । तामाङ संस्कारकी रत्न । हो, यहीँनेर लेखकले समाज परिवर्तनको क्रान्ति घटाएका छन् । गोपालको गीतासँग पनि उतिकै प्रेम थियो । उनी जीवित हुँदी हुन् त गोपालले, अर्थात् लेखकले त्रिकोणात्मक प्रेमलाई कसरी सुल्झाउँथे होलान् ? एउटा जटिल प्रश्न उठ्छ । शायद लेखकले सम्भावित कठिनताको अन्त्य गर्नकै निम्ति गीतालाई त्यस स्थितिमा पुर्याएका थिए । आफ्ना पात्रलाई त्यसरी निर्मम तरिकाले मृत्यु नभोगाएको भए हुन्थ्यो कि ? दुई घरबार गरेको गोपाल सम्पन्न छ छोराछोरी, नाति नातिनाबाट । एक दुई सन्तान बाहेक अरू सबै अर्को मुगलानको सम्भावित उज्यालो खोज्दै परदेसिएका छन् झनै टाढा । बाबु, बाजे, बराजुले डायास्पोरिक जीवनको अनेक हन्डर सहेर; जहाँ कैय्यन चुनौतीसँग जुझेर आफ्नो जरा गाड्दै थिए । किन्तु पछिल्लो पुस्ता त्यहाँबाट पनि उच्छेदित भई अर्को नयाँ डायास्पोरिक जीवन खोज्न हिँड्छ । अब जगत् यसै गरी चल्नेछ । आज आएर अस्थिर मानव स्वभावलाई विज्ञान प्रविधिले, उत्तरआधुनिकताले अझ बढ्ता यायावरी बनाएको छ । भोलिका दिनमा स्थानीयता भन्ने कुरा कहीँ नरहला । नदीको जल प्रवाह जसरी सम्पूर्ण जगत् अस्थिरतामा बगिरहने छ । अन्ततः सम्पूर्ण जीवनहरू डायास्पोरिक हुने छन् । आख्यानमा लेखकले यस्तै केही सम्भावित भविष्यको पूर्व सङ्केत दिन खोजका हुन् कि जस्तो लाग्छ । गोपालका छोरा छोरी नाति नातिनाले जगत् ढाकेको देख्दा यस्तै लाग्छ ।

गोपालका पुर्खाहरू भारतीय भूमिमा जीविका गरेर नेपालको सम्झना गर्दै बस्थे । अनि स्वयं गोपाललाई भने ऊ जन्मिएको भूमि ज्यादा प्रिय लाग्थ्यो नेपालभन्दा । उसका पुर्खाले गरेजति डायास्पोरिक अनुभव उसले त्यति गर्नु परेन । किनकि उसको पालामा आइपुग्दा नेपाली जाति त्यहाँ स्थापित भइसकेका थिए । त्यस परिवेशमा भिजिसकेका थिए । तर पनि डायास्पोरिक मनोविज्ञानमा अस्थिरताको, असुरक्षाको, लघुताभासको जुन स्थिति रहन्छ त्यसको अन्त्य भने कहिल्यै नहुँदो रहेछ । डायास्पोरिक जाति र मूल जाति कहिल्यै समान नहुँदो रहेछ मानिसक तबरमै । 

उपन्यासमा डायास्पोरिक जीवन भोग्दै गरेको पछिल्लो पुस्ताले नेपाल होइन, आफ्नो बाबु बाजेले जीवन निर्वाह गरेको भूमिलाई ज्यादा सम्झिन पुग्छ । नेपालबारे खासै उसलाई केही थाहा छैन । किन्तु प्रस्तुत कुरा कृतिमा देखाइएको भने छैन । डायास्पोरिक जीवनमा मूल भूमिका सम्झनाहरू यसरी खण्डित हुँदै जाँदा रहेछन् । कति सम्झना थपिँदै कति सम्झना मेटिँदै, कति संस्कार संस्कृति नव निर्मित हुँदै कति विलीन हुँदै जाने रहेछन् ।

गोपालका छोरा छोरी नाति नातिनाहरू विश्वकै समृद्ध मुलुक बेलायत, अमेरिका, अस्ट्रेलियाजस्ता देशमा आफ्नो भविष्य, आगामी पुस्ताको भविष्य खोज्दैछन्, बनाउँदैछन् । आखिर जहाँ गए पनि आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति थामिरहेकै छन् । संस्कार, संस्कृति भन्ने कुरा ऊ सँगसँगै जाने अभिन्न तत्त्व रहेछ । वास्तवमा मान्छे कहिल्यै एक्लो नहुँदो रहेछ । बसाइँ जाँदा आफू मात्रै नजाँदो रहेछ । लक्ष्यभूमिमा पनि आफू मात्रै डायास्पोरिक नहुँदो रहेछ । ऊ सँगसँगै उसको भाषा, धर्म, संस्कृतिले पनि डायास्पोरिक अवस्था भोग्दो रहेछ ।

लेखकले कृतिमा गोपालकी जेठी श्रीमती लक्ष्मीलाई आदर्श नारी पात्रको रूपमा उभ्याएका छन् तर यथार्थमा यस्तो नहुन सक्छ । स्रष्टाले त्यस परिवारको प्रतिष्ठा कायम राख्न उनलाई यति धेरै गुणवती बनाएका छन् । उनलाई आदर्श नबनाइकन त्यस परिवारमा हार्दिकता तथा मैत्रीपूर्ण वातावरण सिर्जिन सक्दैन । गोपाल, लक्ष्मी र रत्नबीचको सम्बन्ध सुमधुर हुन सक्दैन । यसरी लक्ष्मी परिवारमा एकता कायम राख्न आदर्श श्रीमती बन्नु परेको छ ।

अन्त्यमा लेखकले कथालाई वर्तमानसँग जोडेर कोभिडको महामारीकालीन समयलाई देखाएका छन् ।  अमेरिकामा गोपालको जनाति जन्मिएको छ । यता गोपाल र रत्न भिडियोकलमा नवजात शिशुलाई हेरेर आनन्द मनाइरहेका छन् । रमाइरहेका छन् । सन्तान वृद्धि भएर देश विदेश फैलिएकोमा तृप्त भएका छन् ।

कथा सुखद परिस्थितिमा टुङ्गिएको छ । लक्ष्मीको इहलीला उठेको छ । रत्न दुवैपट्टिका सन्तानलाई समान सद्भाव राख्छिन् । सम्झना र माया गर्छिन् । लक्ष्मीको श्राद्ध तिथि कहिले पर्छ ? उनी सम्झिँदैछिन् । 

‘पदचिन्ह पहिल्याउँदै’ले अतीतका पुर्खादेखि वर्तमानका पुस्तासम्मलाई जोडेको छ । विशेषतः डायास्पोरिक जीवन देखाउन, मानवको यायावरीय चरित्र तथा नेपाली जातिको वास्तविकतालाई देखाउनकै लागि आख्यानीकरण गरिएको छ । तीन चार पुस्तादेखिको डायास्पोरिक जीवनलाई एउटै आख्यानमा समेटर लेखिएको नेपाली साहित्यमा सम्भवतः यो पहिलो आख्यान हुनुपर्छ । डायास्पोरिक आख्यान लेखनका अरू सम्भावनाको द्वार पनि यसले खोलिदिएको छ । 

उपन्यास यथार्थको सेरोफेरोमा रचिँदा रचिँदै पनि कति घटनाहरू यथार्थ लाग्दैनन् । स्वाभाविक लाग्दैनन् । परन्तु त्यस अस्वाभाविकतामा पनि प्रतीकात्मक अर्थ भने यथार्थ नै लाग्छन् । नाटकीय शैलीमा तिनले कुनै न कुनै सत्यलाई देखाउन खोजेका छन् । कहीँ कतै अतिरञ्जित लाग्ने दृश्य र नाटकीयता कम गरी, घटनालाई तीव्र गतिमा घट्न नदिई; कथावस्तुको माग अनुसार ठिक्क गतिमा अघि बढ्न दिएको भए, कृतिको प्रभावकारिता अझ धेरै माथि उठ्ने थियो होला जस्तो लाग्छ । तर पनि कृतिको प्रशंसनीय पक्ष राम्रो छ । यस कृतिले एउटा ठूलो आँट गरेको छ; तीन चार पुस्ता अघिदेखिको नेपाली जातिको यथार्थ जीवन देखाउन । त्यस हिसाबले अरू कृतिभन्दा बेग्लै अस्तित्वको छ । हुन त ‘बसाइँ’, ‘मुगलान’ र ‘मुलुक बाहिर’ जस्ता कृति पनि देश छोड्नेकै कथा हुन् । डायास्पोरिक जीवनका कथा हुन् । तर तिनमा यति धेरै पुस्ताका कथाव्यथाहरू समेटिएका छैनन् । लामो कालखण्डको व्यापक विषयवस्तु छैनन् । त्यस हिसाबले यसको मूल्य भिन्न छ ।