साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

हाम्रो जस्तै जन्मदिन उसको पनि

बिहानको यो समय आमा बडो हतारमा हुनुहुन्छ । मैले वहाँलाई केही सघाउँदै छु । दाल केलाएर, लसुन छोडाएर, तरकारी काटेर । त्यस्तै अरू पनि साना कामहरू गरेर ।

प्याजभन्दा छ्यापी अझ बडी कडा लाग्छ । त्यसको राग अति नै चर्को हुन्छ । मसला पिस्दा म त्यसैले आँत्तिने गर्छु । आँसुले पुरिएका आँखा पिरा भएका थिए । घरको डिपिसी गर्ने हुँदा आज एककिसिमको उत्सव नै थियो । भित्रबाहिर गर्दैमा मेरो बिहान निख्रिसकेछ । आँगनमा सिमेन्ट बालुवा घोल्नेको हात कति छिटो-छिटो चलेको, मेसिनजस्तै । म त्यो सब हेरिरहेकी छु । तिनीहरूको मस्तिष्कमा कति चाँडो सूचना पुगेको होला? म एकदमै जुम्सो छु हरेक कुरामा ।

खाना खाएपश्चात् पनि त्यो परिवेश उस्तै थियो । मिस्त्रीका हातहरू त्यसरी नै सक्रिय थिए । मैले भने केही फुर्सद पाएँ । यतिखेर मलाई आफ्नै निवासमा बेग्लै ठाउँ पुगेकी छु जस्तो भयो । किन हो थाहा छैन । शान्त र एकान्त परिवेश पूरै खलबलिएको म पाउँछु । अरू रमाइरहेको ठाउँमा म रम्न सकिनँ । भित्रभित्रै म स्तब्ध छु ।

अनिता पन्थी

खुकुरीमा धार लगाउने मान्छे अनौठो उत्साहमा थियो । त्यो धारिलो हतियार ! मेरो आङ सिरिङ्ग हुन्छ । एकैछिनमा त्यो मार उसले खानुपर्छ जो बगालमा रमाएर चरिरहेको छ । सुरुमा त चौतारे कान्छाको पाठो काट्ने कुरा गरेका थिए । त्यसो त जसको पाठो काटे पनि त्यो एउटा आत्माको घर हो । जननीको सन्तान हो । हामीजस्तै प्रकृतिको एकांश हो । ऊ पनि एउटा पुत्र हो । के मानिसका मात्रै पुत्रपुत्री हुन्छन्? जीव जीवात्मा सम्पूर्णको आफ्नै कुल, वंश बगाल पुत्रपुत्रादि हुन्छन् भने, व्यर्थमा मानिस किन गर्व गर्छ ? यस धर्तीमा हामी मात्रै अस्तित्वमा छौँ भन्ने ठानेर ? ऊ आफ्नो सन्तानलाई मुटुको टुक्राजस्तै गरेर मेरो छोरो मेरी छोरी भन्छ । त्यस्तै उसले बाँच्नका लागि कुनै स्थान नदिएका पशुपक्षीहरू पनि त कसैका छोरा छोरी हुन् नि । होइन र ? भैँसीले पाडो पायो पाडी पायो, बाख्राले पाठो पायो पाठी पायो ऊ भन्छ । उसका पनि ती छोराछोरी हुन् भन्ने भावना मानिसमा कहिल्यै आएन । यस कुरालाई गम्भीर रूपमा हेर्ने उसको ज्योति छैन । अन्धकारमा उसले आफूबाहेक अरूको अस्तित्व स्विकारेन । त्यसैले ऊ आफूलाई महान् ठान्छ, बाँकी सबै उसका दृष्टिमा तुच्छ लाग्छन् । यही त उसको अज्ञानता हो, मूर्खता हो, अन्धता हो, कसैलाई नदेख्ने । अरूको जन्म, मृत्यु र जीवनलाई सकार्न नसक्ने । यही चेतनाले मानिस अरू बढी हिंस्रक भएको छ ।

ढुङ्गे युगमा यही हिंस्रक गतिविधिकै कारण आत्मरक्षा गर्न सामाजिक एकता कायम भयो । त्यसपछि मात्रै सभ्यताको आरम्भ भएको थियो । मानव संस्करण हुँदै गयो । दुःखको कुरा त्यो सभ्यताले पूर्णता भने पाउन सकेन; बीचमै तुहियो । हाम्रो हिंस्रक चेतनाले अर्को सभ्यता भेट्टाएन । पूर्ण मानव बन्न असमर्थ भयौँ । बरु उल्टै मानवताको क्षय हुँदै जाँदा प्रश्न उठ्छ, हामी कतै उही ढुङ्गे युगमा प्रवेश गर्दै त छैनौँ ? एकदेखि अर्को तर्सिनुपर्ने । लाग्छ यो ढुङ्गे युगको नवीन संस्करण हो । दया, मायाँ, करुणा, हार्दिकता सबै-सबै बगर भएको छ । त्यसैले मानिस मूढ भएको छ । प्रकाश निभेको छ ।

यहाँ उसको बाँच्न पाउने अधिकार हाम्रो भन्दा कम थिएन । तथापि हामीले कम्ती बनाइदियौँ । चित्र गुप्तको हातबाट उसको जन्म र मृत्युको बहीखाता खोसेर लियौँ । हाम्रो उच्च विकेकले त्यसो गर्न लगायो । चेतनशील त्यसै कहाँ भइएको हो र ? आफूअनुकूल शत्रु मित्रु बनायौँ । उपयोगी अनुपयोगी ठहऱ्यायौँ । महत्त्व र महत्त्वहीन देख्यौँ ।

मानिसले आफूबाहेक अन्यलाई यी जनावर त हुन नि, हेरन कसरी भनेको ? ऊ पनि त जनावर नै हो नि । एक साँझको कुरा हो, म गाउँको एउटा घरमा गएकी थिएँ । त्यस घरका दाइले छोरालाई, “तँलाई जनावर अझ भनेको मान्दैनस् ?’ भनेर गाली गरिरहेका थिए । त्यही निमेष नेपाल प्रज्ञा–प्रतिष्ठानले निकालेको नेपाली बृहत् शब्दकोश (मोबाइल) मा मैले जनावरको अर्थ खोजेकी थिएँ । त्यसको अर्थ पक्षी र कीराफट्याङ्ग्राबाहेक अन्य हातखुट्टा भएका प्राणी (मानिसलगायत), पशु । मूर्ख अविवेकी लेखिएको रहेछ । ती दाइलाई म पनि जनावर हुँ भन्ने थाहै थिएन । त्यसैले त छोरालाई जनावरको उपमा दिएका थिए । अन्य प्राणी जगत्‌लाई उनले त्यसरी हीन दृष्टिले हेरेका थिए । प्राणी जगत्‌प्रति उनमा सकारात्मकता थिएन । अरूको जीवनलाई जीवन हो जस्तै नठान्ने वास्तवमा मानव पहिलो नम्बरको जनावर हो जस्तो लाग्छ । उसको चेतनाले जुन सभ्यतामा पुऱ्याए पनि आखिर त्यो उसको जीविकाको लागि आविष्कार भएको विचार र धारणा त हो नि । विज्ञान प्रविधि उसले आफैँका लागि सिर्जना गरेको थियो । उसको सभ्यताले अन्य जगत्‌लाई लाभ दिन सकेको खै ? बरु क्षति नै भोग्नुपरेको छ । प्रकृति विकृत भएको छ । क्षयीकृत भएको छ, विनष्ट भएको छ । जहाँ पुगे पनि त्यही एक जीवन त हो नि; अन्त्य छँदै छ ।

उसको चेतनाले आविष्कार गऱ्यो, परिष्कार गऱ्यो, परिवर्तन ल्यायो । आवश्यकताहरू थपिँदै गए । त्यही बाँच्नका लागि । यता अन्य प्राणीलाई परिष्कार परिवर्तन केही नभएर पनि निर्वाह चलेको छ । आखिर जीवनको उद्देश्य बाँच्नु त रहेछ नि । त्यसो हो भने उसको बँचाइलाई हामी किन सामान्य मान्छौँ ? किन महत्त्व दिँदैनौँ ?

मानिसले आफूलाई ठूलो देखे पनि सृष्टिचक्रमा ऊ ठूलो छैन । ठूलो हुँदो हो त उसको बेग्लै ग्रह हुने थियो विशेष प्रकृतिको । त्यहाँ अन्य प्राणीको जन्म सम्भव थिएन । विशिष्ट हुनाको कारण अन्य प्राणीको जस्तै जन्म र मृत्युका बीचमा आउने अनेक कष्ट उसले भोग्नुपर्ने थिएन, उसको जीवनको अन्त्य पनि नहुनुपर्ने ? गर्भवासको दुःख पनि नहुनुपर्ने । स्वरूप भिन्न भए पनि आखिर मानिस त्यही योनिबाट जन्मिएको होइन र ? जसरी अन्य प्राणी जन्मिएका छन् । पृथ्वी, जल, वायु, तेज, आकाशले भेद गर्नुपर्ने सानो र ठूलाको । सूर्यको ताप मानिसको लागि भिन्दै हुनुपर्ने, खै भएको ? प्रकृतिको हेराइमा मानिस उच्च हुन्थ्यो भने दैवी विपत्ति पनि उसलाई कम हुनुपर्ने । बरु उसकै कर्मले उसलाई बढी विपत्ति भोगाएको छ ।

शिशिरको चिसो उस्तै छ । आफूलाई अन्यभन्दा महान् देखेको उसका निम्ति चिसो केही होलो हुनुपर्ने होइन ? वसन्त पनि उस्तै छ । सबै उस्तै समान छ भने प्रकृतिको सम्मुख हामी कसरी विशिष्ट भयौँ ? हामीले सोचेअनुसार खै प्रकृति परिभाषित भएको ? श्रेष्ठतम हुनुको कुनै प्रमाण प्रकृतिले नदिँदा नदिँदै पनि हामी आफैँ त्यो जुटाउँछौँ र भन्छौँ हामी गौरवशाली प्राणी हौँ । विवेकी हुन सक्दा त्यो केही हद मिल्ने थियो, बरु । दुःखको कुरा हाम्रो चेतना यति क्रूर छ कि उनीहरूको जन्म, बँचाइ र अस्तित्वलाई आफूअनुकूल प्रयोग गर्छौँ । उसको स्वतन्त्र अस्तित्वलाई स्विकारदैनौँ ।
हामी आफ्नै हितका लागि श्रेष्ठ भएका रहेछौँ । हाम्रो श्रेष्ठताले अरूलाई डसिरहेको छ । त्यो श्रेष्ठताले आफूबाहेक कसैको भलो हुँदैन भने कसरी उच्चताको सुवास फैलाउनु ? अरूमाथि कब्जा गरी जोडेको सत्ता कसरी माथि हुन सक्छ ?

विपद्‌मा म जस्तै ऊ पनि दुःखी हुन सक्छ, त्यस्तै सुखमा खुसी । यही दृष्टिले मात्र हामी आत्मज्ञानी हुन सक्छौँ । त्यो ज्ञान प्राप्त नहुँदासम्म मानवसभ्यता उकालो लाग्ने छैन । मानिसले आफूलाई प्रकृतिको बेग्लै सृष्टि मान्दा प्रताडित छन् सारा जीवात्माहरू, अनि स्वयं पर्यावरण ।

अहिले मलाई अतीतको एउटा सानो घटना स्मरण भइरहेको छ । त्यस दिनको पूर्वसन्ध्यामा पानी बर्सिरहेको थियो । म काठमाडौँबाट घर जाँदै थिएँ । गाडीबाट ओर्लिएँ, छाता थिएन । नजिकैको प्रतीक्षालयमा गएँ । त्यहाँ केही नानीहरू खेलिरहेका थिए । त्यो दृश्य बडो आनन्दको थियो । मैले त्यहाँ उनीहरूको चञ्चलता र स्वभावलाई ध्यान दिइरहेकी थिएँ ।

बाबुआमाकी एउटै मात्र सन्तान । ऊ पुलपुलिएकी थिई । यो मेरो त्यसै वेलाको अनुमान हो । साथीका कुरामा उसको थोरै पनि मैत्रीभाव थिएन । ऊसँग सहमतिका कुरा थिएनन् तर पनि उसलाई साथीहरूले एक्ल्याउन सकेनन् किनकि प्रतीक्षालयको आडैमा उसको ठूलो पसल थियो । ऊ क्याटबरी खाँदै थिई । एक-दुईले उसका अगाडि हात पसारे । त्यसैको आड लिएर उसले साथीहरूलाई आफ्नो निर्देशनमा चल्न लगाई । त्यसो हुँदा उसप्रति असहिष्णु हुन सकेका थिएनन् । भित्री मनले नस्विकारे पनि ।

आपसमा उनीहरू खैलाबैला गरिरहेका थिए । त्यसै बखत ती खण्डित भए । त्यो हेर्न अब मलाई झन् रमाइलो भएको थियो । केटाकेटीको स्वभाव न हो उत्ति न खेरै तिनीहरू मिले । अघि भर्खरको विवाद भुलिसकेका थिए । पानी परिरहेकै थियो । मेरा लागि ती मनोरञ्जनको माध्यम भए । त्यो उनीहरूलाई थाहा थिएन । त्यो बोध हुँदो हो उनीहरू केही संयमित हुने थिए, अलिक खुम्चिने थिए या त उनीहरूले मेरो त्यो मनोरञ्जनलाई चर्को मूल्यमा बेच्ने थिए किनकि मानिस स्वभावैले निःस्वार्थ नहुँदो रहेछ । चेतनाले उसलाई अरू स्वार्थी बनाएको छ । ती नानीहरूमा चेतना परिपक्व नुहँदा निःस्वार्थी थिए । आनन्दका मन्दाकिनीहरू चुलबुलाउँदा मेरो समयचेत निर्बोध हुँदै गयो ।

फेरि अर्को खलबली सुरु भएको छ । ढ्याकी खेल्दाखेल्दै एउटी नानीले फुर्किँदै भनी, “आज मेरो बर्थडे हो, ममीले भन्नुभएको भरे केक काट्ने रे !” त्यति भनेसँगै उसको अनुहार उज्यालो भएको थियो, खुसीको रङ्ग टाँसिएको थियो । परन्तु त्यो केही बेर टिक्न पाएन । त्यो एकता उसको भनाइसँगै छिन्नभिन्न भयो । भरे जन्मदिन मनाउने नानीको पक्षमा कोही भएन किनकि केक काट्ने विषयमा तिनीहरू ईर्ष्या गरिरहेका थिए । पसलकी नानीलाई उसको कुरा मन परेन । त्यो मनोभावना बुझ्दा, आफ्नो बर्थडेमा मात्रै केक ल्याइने छ भन्ने उसमा एक किसिमको घमण्ड थियो ।
ईर्ष्या जागृत उसको भावनाले सिर्जिएको परिवेशले मलाई थप आनन्द मिलेको थियो । त्यो सानो उमेरमै वैभवप्रतिको अभिमान अहो ! कति भयावह । ठूलो ज्ञान मलाई त्यहाँ मिल्दै थियो । त्यस्तो अहम् जागृत गराउने तत्त्व उही सम्पन्नता थियो । सम्पन्नताप्रतिको दृष्टिकोण थियो, विचार थियो ।

पसलेकी छोरीले उपहासको स्वरमा भनी, “त्यस्तो जाबो बर्थडे … । ऊ.. त्यो फट्याङ्ग्राको पनि त बर्थडे छ नि … !”

सम्बन्धित पोस्टहरु

फेरि यस विषयमा पनि उनीहरूको मतविमत चल्यो । जन्मदिन मनाउने नानीको पक्षमा अहिले पनि कुनै मत थिएन । साथीको समर्थन नपाएकी ऊ ठुस्सिएर अलग्गै बसी । मतभेद अझै सकिएको थिएन । त्यसपछि उनीहरूले खेल खेलेनन् । छ्यान्नब्यान्न भए र असहमतिमै छुट्टिए । प्रतीक्षालयमा भरे म एक्लै भएँ । वर्षा अझै रोकिएला जस्तो थिएन । उनीहरू रुझेजसरी म रुझ्न सकिनँ । मेरो बाटो टाढा थियो ।

अहिले म विस्मित छु । हो त उसको पनि जन्मदिन छ नि । कहिल्यै थाहा नभएको कुरा जानेजस्तै भयो । अन्य प्राणीको जन्मदिनबारे मैले त केही सोचेकै रहेनछु । पसलेकी छोरीले जाने जति कुरा पनि मैले जानेकी रहेनछु । कति कुराहरू आफूलाई बोध भएर पनि अबोध भइँदो रहेछ । अहिले मलाई त्यस्तै भएको छ । फट्याङ्ग्राको पनि जन्मदिन ? सुरुमा त मलाई आश्चर्य लोगेको थियो । उसको जन्मदिनसँगै मैले उसका बाबु र आमा पनि छन् भन्ने बोध गरेँ ।

म अँध्यारो गुफाबाट बाहिर निस्किँदै थिए । त्यसपछि जीवजीवात्माप्रति हेर्ने मेरो दृष्टिकोण बेग्लै भयो । ती अन्जान प्राणीप्रति मेरो स्नेही भाव दोब्बर बढ्यो । ‘उसको पनि जन्म दिन छ नि !’ यही एउटा वाक्य बोध गर्न सक्ने हो भने अन्य प्राणी जगत्‌प्रति मानिसमा ठूलो दयाभाव पैदा हुने रहेछ । पसलेकी छोरीले बोध गर्न सकेको कुरा किन अरूले गर्न सकेनन् ? हुन त त्यस्तो कुरा जानेकी उसलाई त्यो बोध थिएन कि मसँग यस्तो पनि ज्ञान छ । त्यसो त ज्ञानले होइन अहंले उसलाई त्यो वाणी बोल्न लगाएको थियो । अभिमानले प्राप्त ज्ञान कहिल्यै चहकिलो हुन सक्तैन । साथीलाई उपेक्षित दृष्टिले हेर्न, ईर्ष्याको अनुरोधमा ज्ञान होइन तथ्यको उद्बोध गर्न लगाएको थियो । आज हामी समस्त तथ्याङ्कजस्तो एउटा सूचनामा बाँचेका छौँ तथापि ज्ञानमा होइन । अहिलेको शिक्षा ठीक यस्तै तथ्यान्वेषणमा केन्द्रित; रहस्यपूर्ण ज्ञानको खोजी अहम् छैन । अनि त हाम्रा नानीहरू हरेक दिन सूचनामूलक तथ्यले हृदयहीन प्रस्तर बन्ने प्रतिस्पर्धामा आफू शिक्षित भएको प्रमाणपत्र लिँदै छन् ।

साँच्ची नै भन्ने हो भने हामीलाई थाहा नभएको विषय नै के छ र ? त्यो सानी बालखीलाई पनि त कति कुरा थाहा रहेछ नि । जन्मदिनका लागि उसले दिएको दृष्टान्त त्यो फट्याङ्ग्राको पनि जन्म छ मृत्यु छ जीवन छ । त्यस्तै शत्रुबाट बाँच्ने अनेक प्रयास छन्, जस्तो हाम्रो हुने गर्छ । यतिको ज्ञान प्राप्त हुँदा पनि हामी फेरि किन अज्ञानी हुन खोज्छौँ ? हामी सम्पूर्ण पसलकी छोरीजस्तै अहं र घमण्डले परिपोषित छौँ, त्यसैले हामी ज्ञानी हुनबाट वञ्चित छौँ ।

चौतारेकी श्रीमतीले पाठो नबेच्ने भइन् । अहिले ऊ सानै छ, घाटा लाग्छ रे ! घरकै मुसे काट्ने निर्णय भयो । मृत्यु उसैमा आएर खनियो । त्यो कुराले मेरो मन भङ्ग्रालियो । कति मायाँले हुर्काएको उसलाई । उसलाई कत्रो विश्वास छ हामीमाथि । ठूलो भारोसा छ । चरनमा छिस्रिक्क केही आवाज आयो कि आश्रय खोज्दै ऊ कसरी गोठालाको नजिक आउँथ्यो । सहारा माग्ने परिवेश निर्माण गर्नु अनि उसको घाँटी निमोठ्नु कस्तो विडम्बना ! यस्तो कुराले मेरो मन अधैर्य भयो ।

चौतारेकै पाठो काटे पनि या त हाम्रै मुसे ढाले पनि अखिर यी दुवै भोक, प्यास, तृष्णा र भयमा बाँचेका हामीजस्तै एक प्राणी थिए । दुवैको आफ्नै वंशबगाल थियो, कुल थियो । जन्म दिने जननी थिइन् । मार हान्दा खुन बहने त्यो देहमा पनि एउटा मुटु छ, धड्कन छ, हृदय छ । दुखाइ बोध गर्ने आत्मा पनि छ । त्योभन्दा बढी मानिसमा के छ ? बस् एउटा चेतना बढी छ । त्यही चेतनाले त उसलाई मुसे वध गर्न लगाएको छ ।
मुसेलाई वध गर्ने कुरा मैले मानिरहेकी थिइनँ । हाम्रा घरका कति खसी पाठाहरू बलिवेदीमा चढाइयो होला । त्यो कुनै निमेष मलाई शान्ति प्राप्त भएन । मेरो मन भित्रभित्रै रुन्थ्यो । यसपटक किन हो थप दुःखी भएकी छु, थप रोएकी छु । आँखा रसाए, वाणी रोकिएर बोल्न नसक्ने भएँ । ऊ कति आशामुखी थियो । उसको नजिक जाँदा अब के चाहिँ खान पाइन्छ भनेर जसरी ऊ रमाउँथ्यो । हाम्रो आश्रय र सद्भावमा धन्य ठानेको उसलाई मार्ने आदेश दिँदा त्यो आत्माले के भन्ला ? आजसम्म म त्यही प्रश्नको उत्तर खोजिरहेकी छु ।

त्यसो त उसमाथि हाम्रो सद्भाव नै के थियो र ? लाभका निम्ति गरिएको एउटा नाटक ।

मुसेलाई आजसम्म हामीले एउटै दाम्लो लगाएका थिएनौँ । ऊ बडो भलो थियो । खेती खाएर उसले कहिल्यै बिराम गरेन । उसले कसरी छुट्याउन सकेको होला आफूले खाने घाँस र खेतीबाली ? त्यही चेतनाका कारण ऊ बन्धनमा परेको थिएन । हामीभित्र खाना खाइरहँदा उसले आफ्नो थिति नियम छोडेन । धैर्यले पिँढीमा पर्खिएर बस्थ्यो । नुनिलो दुई मुख भात तिहुनका लागि । उसको त्यो संयम देखेर मलाई आश्चर्य लाग्थ्यो । साँच्ची नै भनूँ भने उसको जति संयम हामीसँग हुँदो हो हाम्रो समाज कति सभ्य हुन्थ्यो होला ? ज्यादा भावुक भएर मैले यति कुरा गरिरहेकी छैन । ऊ एउटा विचित्रको प्राणी थियो । उसका ती सद्गुण सम्झिँदा भन्न मन लाग्छ, संयमको एउटा नमुना ढालिँदै थियो, म हुर्किएको आँगनमा ।

बिहानको प्रत्येक भान्छामा मैले उसलाई भात दिने गर्थेँ । अरूसँग उसले किञ्चित् आशा गर्दैनथ्यो । ऊ र म भिन्न कुल र बगालको भए पनि हामीबीच एउटा अत्यन्तै सुमधुर मित्रता थियो । हो अहिले म त्यही मित्रको शोकमा केही लेख्न बस्तै छु ।

उपभोक्ता र उपभोग्यबीचको सम्बन्धमा जहिले पनि स्वार्थ नै अघि सर्दो रहेछ । अत्यन्तै स्वार्थ, जस्तो कि हामी र मुसेबीचको सम्बन्ध । मैले उसलाई गरेको स्याहारलाई के भनूँ खै ? मायाँ त त्यो हुँदै होइन होला । यदि त्यो मायाँ थियो त मैले उसको भलो गर्न सक्नुपर्थ्यो, किन सकिनँ ? तर उसको मृत्यमा एउटा उराठिलो पीडाको अनुभव त मैले अवश्य गरेकी हुँ ।

मुसे चरनमा गएको थियो, सँगै उसकी आमा पनि । केही बेर अघिसम्म हामीलाई थाहा थिएन, मुसेको वध हुँदै छ । आकस्मिक मृत्यु उसलाई लिन आउँदै थियो । त्यसो त उसको काल हामी नै थियौँ । उसको मृत्यु उसलाई सधैँ आकस्मिक लाग्ने छ । बलिवेदीमा चढ्दा समेत उसले थाहा पाउँदैन, आफ्नो मृत्युबारे । त्यसो त हामी सबैको मृत्यु त्यस्तै होइन र ? योजनाबद्ध भएर कहाँ आउँछ त्यो ? हामीचाहिँ श्रेष्ठतम भएकै कारण उसको मृत्युको योजना बनाउँदा रहेछौँ ।

हिजोसम्म मुसेका निम्ति हामी संरक्षक थियौँ । भोक, प्यास, बिरामी आरामी सबै-सबै पारख राख्ने अभिन्न मित्र । चर्न गएको मुसेलाई असमयमै घर फर्काउँदा उसकी आमाले छोड्दै छोडिन रे । पछ्याउँदै ऊ पनि घरै आयो । बराकोटी कान्छाले उसलाई बडो जतनले ल्याएको छ । प्राणै जाला जसरी ऊ कराएको थियो । त्यतिखेर मैले आफूलाई थाम्न सकिनँ । कति अप्ठ्यारो मेरो रोदन, अरूले देखे भने मजाक गर्नेछन् । लुकेरै उसका निम्ति आँसुको तर्पण दिएँ ।

म जान्न चाहन्थेँ, उसलाई मात्र त्यसरी घरमा ल्याउँदा उसले अहिले के सोचिरहेको होला ? उसको भाषा बुझ्न म असमर्थ छु । त्यो वाणी निरर्थक अवश्य थिएन । विनाअर्थको शब्द नभएजस्तै विनाभावको वाणी पनि हुँदैन तर हामी उसको भाषालाई अर्थहीन एउटा ध्वनिजस्तै ठान्दा रहेछौँ ।

ऊ भन्दै थियो, जानी नजानी मैले आफ्नै भाषा यसरी अनुवाद गरेँ, किन घर ल्याएको मलाई ? छोडिदेऊ म बगालमै जान चाहन्छु । यो भोको पेटभरेर आउने छु । अहिल्यै घर फर्किने वेला भएको छैन । उसले घर भनेको सुन्दा म भक्कानिएँ । साँच्ची नै यो घर उसको हो र ? उसको हुँदो हो त आफ्नै घरमा किन सहाराहीन हुन्थ्यो? ऊ अझै भन्दै छ, मेरा साथीहरू उहीँ चरिरहेका छन् । खै घाम खोलापारि तरेकै छैन, भर्खर माथि आएको छ । मलाई मात्र यहाँ किन ल्याएको ? हेर त मेरो अनुपस्थितिमा मेरी आमा कसरी बिलौना गरेकी छन् । तिमीहरूले उनको भाषा कहिल्यै बुझ्ने प्रयास गरेनौ । थाहा छ ? उनी रोइरहेकी छन् । त्यो करुण रोदन हेरत कति दुःखलाग्दो छ । उनी किन त्यसरी रोएकी हुन् भन्ने कुरा त म जान्दिनँ । परन्तु त्यो रुवाइमा केही कारण छ भन्ने चाहिँ अवश्य जान्दछु । कैली बाख्राको पाठो मेरो समवयी पनि उहीँ छ । कृपया ! तिमीमा केही सद्भाव छ भने मलाई चरनमा जान देऊ । म अहिले साथीहरूसँगै रमाउँदै आउनेछु, … अनुरोध छ … ।

छ्या ! कस्तो उदेक लाग्दो परिवेश । कुकुर र बिरालाले थाहा पाइसकेका छन्, मुसेको नियति । उनीहरू छिटै मुसेको मृत्यु आओस् भनेर कामना गरिरहेका थिए । त्यसैले त रमाएका नि । बाहिर पानी तताएको, खुकुरीमा साँध लगाएको दिन मासु खान पाइन्छ भन्ने उनीहरू, एक किसिमले तालिम प्राप्त थिए । हेर न एउटा मुसेमाथि दागा धर्नेहरू कति छन्, त्यो काले कुकुर अनि ढाडे बिरालो अझ बढी मानिसहरू, जुन कुरा मुसेलाई पत्तै थिएन । त्यहाँ उसको भोज लगाउने तयारी थियो । त्यो परिवेशमा हेर्दाहेर्दै लामा लामा दाह्रा नङ्ग्रा भुत्ला भएको राक्षसी स्वरूपको आकृति देखिन थाल्यो । अझै पनि मुसेले आफूलाई मार्ने तयारी गरेको थाहा नपाएकोमा धिक्कार लाग्यो ।

बेलुकीपख खोरमा बाख्रा थुन्ने वेला भएको थियो । मुसेलाई मार हान्दा ओछ्याएको फलेक सफा नगरी कसले हो त्यसै ल्याएछन्, बाख्रा थुन्ने खोरमा । मुसी बाख्रो अघिदेखि नै बारीमा चर्न जाने गरेको छोरो नदेखेर वाल्ल परिरहेको थियो । वेला-वेला उसलाई बोलाउँदै थियो । अरूचाहिँ मौन थिए । उनीहरूलाई लाग्यो होला चर्न गएको मुसे अझै आएन । उसकी आमाले भने हाम्रो कर्तुत थाहा पाइसकेको रहेछ । ऊ पाको छ, अनुभवी छ । उसले बारबार हाम्रो हर्कत भोग्दै आएको छ । हाम्रो चरित्रबारे ऊ अनभिज्ञ थिएन ।

मुसेकी आमा एकतमासले टोलाइरह्यो । त्यो पीडालाई बोध गरेकी म उसको नजिकै गएँ । देख्छु उसका आँखा आँसुले टिलपिलाएका थिए । छिन-छिनमा उसले त्यो फलेक सुँघ्दै थियो ।
त्यसपछि मलाई डरलाग्दो राक्षस त मानिस नै रहेछ जस्तो लाग्यो । ती लाटा पशुको आत्मा कति दुःखेको हुँदो हो ? त्यसको हिसाबै थिएन । पशु भनेर हुन्छ । पुत्रशोकमा मुसी कसरी विह्वल भएकी थिई । त्यो त एक आत्मज्ञानीले मात्र बोध गर्न सक्ने थियो ।

लमजुङ

प्रतिक्रिया
Loading...