गत १५ जनवरीमा तारा गाउँ म्यूजियममा अलि अचम्म लाग्दा कलाहरू देखा पर्यो । खासै औपचारिक कार्यक्रम केही भएन । तापनि मान्छेको सानो हूलले यस कार्यक्रमको महत्ता जनाइरहेको भने देखिन्थ्यो । कलाकार थिए सौरव कोइराला ! उनी पूर्व विराटनगरका हुन् । स्व–अध्ययनबाट कलाका ज्ञान अनि सीप बटुलेका यी कलाकार थुप्रै कुराहरूमा पारङ्गत छन् । गहिरो ध्यान गरेर कला निर्माण गर्ने यी कलाकार मूर्ति बनाउने कुरामा त खप्पीस छँदैछन् । सँगसँगै, क्यारीकेचर, डिजाइन अनि दृष्टान्त चित्र आदिमा कला बनाउन पनि उनीमा गजबको खुबी देखिन्छ ।

यसो हुनुमा चाहिँ उनीभित्र कला, जीव–विज्ञान अनि इन्जिनियरिङको गजबको घुलमिल छ । उनीमा नयाँ केही गरौँ भन्ने हुटहुटी छ । अनि बहुआयामिक स्वभाव र प्रकृति हुँदा पनि यस प्रकारको कृतिले जन्म लिन जुरेको हुनुपर्छ । यसका क्यूरेटर चाहिँ कलाकार रोशन मिश्र हुन् ।

जंक–आर्ट भित्रका उनका कलाहरू

यो उनको एकल कला प्रदर्शनी हो । यसको नाम उनले ‘मेटामोर्फोसिस’ राखेका छन् । यसलाई उनले आफ्ना कलाहरूसँग कसरी जोड्छन् थाहा छैन । तथापि कलाहरू चाहिँ सामान्य नै देखिन्थे । अझ यथार्थ पनि थिए । तापनि अलौकिक देखिन्थ्यो । यसो हुनुमा चाहिँ उनको कलाको माध्यम (एसेम्बल किँवा जंक–आर्ट) मुख्य जिम्मेवार थियो ।

एसेम्बल कला भनेको जोड्दै बनाउने कला हो, वा कोलाजको यो विकसित रूप हो, वा एसेम्बलको विकसित रूप जंक–आर्ट हो । क्यानभासमा कागजहरू टाँसेर कोलाज कलाको विकास भयो । क्यानभासमा दाउराका टुक्राहरू, धातु आदि टाँसेर एसेम्बल कला शुरू भयो । अनि टुटे–फुटेका फोहर भनी फालिएका मोटर गाडीका टुक्राटाक्रीहरूलाई अलग्ग जोडजाड गरेर कला बनाउँदा जंक–आर्ट बन्यो ।

तेस्रो आयामिक रूपमा यस्ता कला बनाउँदा यो नितान्त अलग्ग रूपमा देखा परेको हो । सबैमा जोड्ने प्रसङ्ग नै बढी देखिने गर्दछ । जोडिनुको सन्दर्भ पनि भिन्दा–भिन्दै विशेषताहरू बोकेका वस्तुहरू एकै ठाउँमा देखिनु पनि हो । अनि यसरी आपसमा गाँसिँदा देखिने अलग्ग सौन्दर्यता नै सम्भवतः कलाकारको खोज पनि हो । यही खोजको सर्वनवीन प्रयोगात्मक कला जंक–आर्ट नै हो । जसलाई सौरवले माध्यमको रूपमा छान्नु नै पनि सबै दर्शकका लागि आकर्षणको केन्द्रबिन्दु हुन पुग्यो ।

बेकारका चीजहरू जोडजाडमा परिणत (माध्यमको सन्दर्भमा) हुँदै गर्दा पनि उनको कलाको पृथक् रूप देखा पर्ने गर्दथ्यो । उनी टुटे–फुटेका बिग्रे–भत्केका यस्ता बेकारका वस्तुहरू जम्मा गर्दै जान्थे । अनि यसैलाई पुनः जोडजाड गर्दै कलाको निर्माण गर्दथे । कला बनाउन अघि आफूलाई मनले छोएको विषयको स्केच गर्दथे । अनि यसैअनुरूप कलाको निर्माणमा तल्लीन हुन्थे । पूरा हुन घण्टौँ–घण्टौँ वा कैयौँ दिन लाग्दथ्यो । उनी लागिरहन्थे । अन्ततः एउटा कला बनिहाल्थ्यो ।

यसको भौतिक स्वरूप तेस्रो आयामिक हुने हुँदा पनि मूलतः यो मूर्ति नै हो । तापनि अलग–अलग विशेषता हुनुको अर्थमा, धातुका, सीसाका टुक्राहरूले गर्दा मूर्ति स्वयंलाई एक अलग्ग खालको सौन्दर्यता प्रदान गर्दथ्यो । जोडजाडमा तलमाथि हुँदै गर्दा थाहा पाएका आकारहरू आउँदैनथे । तापनि एक प्रकारको मिठास चाहिँ बनेको देखिन्थ्यो । यही सौन्दर्यतालाई उनले ल्याएका छन् । यसकारण पनि माटो, ढुङ्गा वा धातुका मूर्तिहरू जस्तो सलक्क मिलेका, चिल्लो, सफा अनि दुरुस्त नहुँदा पनि यसले एक अलग्ग विशेषतालाई जन्म दिएका हुन् । सम्भवतः यसैको खोजमा उनी लागिपर्दा पनि उनको एक अलग्ग पहिचान पनि बनेको देखिन्छ । यसैले गर्दा पनि जंक–आर्ट अलग्गै प्रकारको सौन्दर्य बोकेर बसेका हुन्छन् भन्ने भाष्यलाई उनका कलाले चरितार्थ गरेको छ । अर्को थप कुरा भनेको चाहिँ कलामा यथार्थ, अझ यसमाथि श्वैर कल्पनिकता आरूढ हुँदा पनि यसले बोकेको आयतन अलि चाक्लो नै थियो । यसकारण पनि यो कला अलि फरक देखिन्थ्यो ।

यस्तो कलाको निर्माण गर्न चाहिँ तारागाउँ नेस्टले उनलाई अनुकूल मिलाइदिएको थियो । तारागाउँको विशाल फैलिएको जमीनमा तारागाउँ कला दीर्घा नजिकै एकलासमा बनेको सानो घर छ । यो कलाकारको लागि सानो स्टुडियो हो ।

रोशन मिश्रका अनुसार सराफ फाउण्डेसनको सहयोगमा विश्वप्रसिद्ध आर्किटेक्ट सिगेरु वानले डिजाइन गरेको यो सानो घर हो । यो घरको बाहिर–भित्र गई हेरी बस्दा चाहिँ साँच्चै नै रमाइलो वातावरणमा अवस्थित भएको महसूस हुन्छ । जहाँ बसेर कलाको निर्माण गर्दा–गर्दै झन्डै पाँच महिना बिताएका थिए सौरवले ।

यसैबीच जेन्जी आन्दोलन भयो, नजिकैको पाँचतारे होटल जलेर धुवाँको मुस्लोले वातावरण जम्मै धुलोधुवाँमय भयो । तर उनी कलामा निरन्तर लागिरहे । यो टुटे–फुटेको सामानलाई बेकारको वस्तु ठानी यसलाई बिगार्न–भत्काउन कोही आएनन् । अनि बन्दै गरेको कला चाहिँ बन्दै गए । अनि थुप्रै कलाहरू यसरी नै बन्न गएको हो ।

रूपान्तरणको मोडको सन्दर्भ

आफै परिवर्तन हुँदै जानु, रूपान्तरणको मोडमा पुगेर वास्तविक एक अलग्ग रूपमा देखिनु–देखाइनु पनि यी कलाहरूको स्वभाव थियो । आफू आफै परिवर्तन हुन पनि आफू वरिपरिको वातावरण, गाउँ–ठाउँ अनि यसलाई चहार्दै गर्दा जन्मिएका अनुभवहरू आदि इत्यादिलाई बटुल्दै जाँदा पनि उनका यस्ता कृतिहरूले जन्म पाएका हुन् । उनले अनुभव गरेका प्राकृतिक अवयवहरू, यसको प्रभाव अनि यही विषयवस्तुले कलालाई छुँदा पनि स्वाभाविकता माथि थोरै अलौकिकता देखा परेको थियो । हुन त जीव–विज्ञान अनि पर्यावरणको थोरै अंश उनीमा लुक्नुले गर्दा उनका कलाहरू यथार्थ हुँदै–हुँदै पनि अमूर्ततामा प्रवेश हुन पुगेको हो । यसरी मूर्त अनि अमूर्त दुवैको भाव उनको कलामा देखा पर्यो, जसले गर्दा उनका कलामा एउटा अलग्ग सौन्दर्यता थपिन गएको हो । हेर्दाखेरि हो–हो होइन–होइन जस्तो, देखिँदै जाँदा भावकको मन–मस्तिष्कमा जोड पर्दै जाँदा यसमा अडाइ बस्ने भनेको यसैमा बसेको सौन्दर्यताको बोध नै हो । यही सौन्दर्यता उनका कलामा रहेकाले गर्दा पनि यो मूर्त वा अमूर्त हुनुमा केही फरक नपरेको पनि हो ।

उनका कलामा उनका विचार, सोच पनि गजबले टाँसेर बसेको देखिन्छ । उनी सोच्छन् – संकट हामीलाई थाहा छ । यसको समाधान पनि यही नै छ । तब गर्न चाहिँ हामी किन ढिलो गर्दछौँ ? एउटा गजबको अवधारणा बोकेर आएको सौरव यसैको सेरोफेरोमा आफ्ना कलाको सिर्जना गर्ने गर्दछन् ।

उनी भन्छन्, “प्रकृति मेरो कलाको पहिलो स्रोत हो । जीवजन्तुको आकार–रूप अनि गति नै मेरा कलाका आधारभूमि हुन् । अनि वनस्पति, जीवजन्तुले नै मेरो कामको प्रक्रियामा गहिरो गरी प्रभाव पारेको म महसूस गर्दछु । गाउँघर घुमिबस्नु, समुदायसँग अन्तर्क्रिया गरिबस्नु अनि यसैबाट सञ्चित गरेको अनुभव नै कतै न कतै मेरा कलामा उत्रन भ्याएका छन् । यसैले जलथलका प्राणीहरू नै बढी मात्रामा मेरा कलाको रूपमा देखा पर्ने गर्दछ ।“

विराटनगरदेखि थोरै पर कोशी टप्पुमा घुमिबस्दा पनि उनको ध्यान जंगलको सेरोफेरोमा, पोखरीका माछा, भ्यागुता, बकुला, धानखेततिर गंगटा, हिले माछो आदिमै बढी ध्यान जाने गर्दथ्यो । चितवनको सौराहा वा चिडियाखानामा घुम्न जाँदै गर्दा पनि झालेँटा, पुतली, गंगटो आदिमा पनि उनको यसैगरी गहिरो ध्यान गर्ने गर्दथे । घरवरिपरिका आफ्नै खेतबारी पनि जब–जब जलमग्न हुन्थे अनि यसैमा खेलिबस्ने कमिला र गोब्रे कीराहरूसँग उनी खेलिबस्थे । रमाइलो लाग्दथ्यो । यसरी एक अलग्ग अनुभव बटुल्थे । यस्तायस्तै अनेक कुरा उनको मानसपटलमा अहिले पनि ताजै छ । आज ती सबै कता हराए भन्ने पनि चिन्ताले समात्दै गर्दा कल्पनामा बसेका यी जल–थलका जीवहरूलाई सिर्जनामा उतारेका हुन् ।

यही र यस्तायस्तै प्रकृति बोकेर आएको हुँदा पनि यो कला प्रदर्शनी अलग्ग रूपमा देखा परेको थियो । ठूला–अग्ला र घतलाग्दा यस्ता कलाहरू (चरा र किराहरू, माकुराहरू, अर्थात् जल–थलका जीवहरू) भुइँमा वामे सर्दै गरेको पनि देखिन्थ्यो । यसैबेला आकाशतिर उड्दै गरेको अवस्थामा पनि देखिन्थ्यो । यसले भावकलाई कौतुहल हुनु स्वाभाविक नै थियो । ड्र्यागनफ्लाइ, ब्ल्याक म्यान्टिस, ग्रे म्यान्टिस, अरिङ्गाल, कमान्डर एन्ट, स्मल फ्लावर, शङ्ख किरा आदि उनका यसपल्टका कलाहरू हुन् । यस्ता किसिम–किसिमका रूपहरूलाई देख्दा यसले भावकलाई अचम्भित पार्नु त स्वाभाविक नै थियो । सिकार खेल्ने क्रममा देखा परेको बकुला अझ आकर्षक कला पनि यहाँ प्रदर्शित छ ।

कलाहरू अवलोकन गर्दैगर्दा दर्शकहरू रमाइलो मान्थे, कुराकानी गर्दथे । अनि चरा वा कीरा–फट्याङ्ग्राका अनेक अस्वाभाविक रूपलाई अचम्म मानेर टोलाएर हेरी बस्थे । धातुका टुक्राहरू जोडिनु, जोड्नु पनि निक्कै नै कठिन काम त हुँदै हो । अझ दुरुस्त आकारमा ल्याउनु त झन् जटिल काम हो । यसैमा निरन्तर लागिरहनु अनि एउटा गतिलो कला जन्माउनु अझै गाह्रो कुरा हो । यसकारण पनि भावकहरू अलि अचम्म मान्दै गरेको पनि देखिन्थ्यो ।

प्रदर्शन कक्षमा देखा पर्ने यस्ता दृश्यहरू आफैँ पनि अनौठो रूपमा देखा पर्दथ्यो । यी कलाहरू चाहिँ हुने गरेका कला भन्दा अलिकता अलग्ग हुँदा, देखिँदा पनि भावकहरू स्वाभाविक रूपमा रोमाञ्चित भएका पनि देखिन्थे । कीरा–फट्याङ्ग्राको आकार बोकेका यी मूर्तिहरूका कलाकार सौरव कोइराला चाहिँ सजग र सचेत हुँदा पनि यी कलाहरू अव्वल रूपमा देखा परेका हुन् । मिहिनेत र लगनशीलता यथेष्ट मात्रामा परेकोले गर्दा पनि यी कलाहरू राम्रा बनेका हुन् ।

विशेष गरेर फालिएका धातुहरूलाई, बिग्रेका–भत्केका स्टिल, फलाम वा स्पात वा कुनै पनि धातुका पार्टहरूलाई जम्मा गर्दै गर्दा उनी कहिलेकाहीँ अलिकता भावुक पनि हुन्थे । मोटरसाइकल वा गाडीका यस्ता पार्टपुर्जा माथि कतै रगतका टाटा त छैनन् वा दुर्घटना भई भाँचेर टुक्रिन पुगेका यस्ता गाडीहरूले कुनै दुर्घटना त बोकेको छैन । कतै कुनै परिवारको दर्दनाक कथालाई समेटेको त छैन । यस्ता–यस्तै भावना आदि इत्यादि आइरहँदा पनि उनका कलामा यसैको प्रतिबिम्बहरू पनि देखा पर्दथे । यसकारण पनि उनका कलाहरू जीवन्त देखिन्थे । चराहरू अहिले उड्ला जस्ता देखिन्थे ।

कलाकारले एउटा रूप प्रदान गर्दा यसले एउटा गजबको कलालाई जन्म दियो । मोटरसाइकलका पार्टदेखि झ्यालका टुटेका सिसाहरू, मेसिन आदि इत्यादिलाई जोडजाड गर्दै एउटा यथार्थ रूप दिनु अनि यसलाई कलाको रूपमा प्रस्तुत गर्नु गराउनु पनि अलौकिक रूपमा देखा परेको थियो ।

विश्व कला बजारमा जंक–आर्ट

सामान्यतया कलागत भाषामा यस्तो कलालाई जंक–आर्ट भन्ने चलन छ । विश्व कला बजारमा कलामा यस्तो प्रवृत्तिले सन् १९५० मा जन्म लिएको थियो । नेपालमा भने सन् २००० को उत्तरकालमा यो प्रवृत्ति प्रवेश पाएको हो । सन् २००३ मा सूत्र भन्ने एउटा कला संस्थाले ‘कक्सिङ द नेचर’  भन्ने एक कला कार्यशाला गरेका बखत यस्तायस्तै कलाका अनेक प्रयोग भएका थिए । यसबखत अत्याधुनिक कलाका थुप्रै शैली र प्रवृत्तिहरू देखा परेका थिए । यसैबेलादेखि यस्तो जोडजाड गर्ने तौरतरिका पनि देखा परेको हो । साँच्चै भन्दा यस्ता कलाहरूमा विचार र अवधारणाले गहिरो गरी जरा गाडेको हुन्छ । अनि अनेक कन्सेप्ट बोकेर देखा पर्ने यस्ता कलाहरू मूर्तदेखि अमूर्ततासम्म पनि देखा पर्दा यसले आफ्नो नयाँ पहिचान बनाएको हो । अहिले पछिका दिनहरूमा बिना अवधारणा, मात्र अनुभव बटुलेर पनि कलामा नौला–नौला प्रयोगहरू भएका छन् । भने पुराना आधुनिक कलाका शैलीहरू पनि यसैमा समायोजन हुँदा अझ नौला अनौठा प्रवृत्तिहरू पनि उदाएका छन् । यसैको हाराहारीमा यस्ता खाले कलाले जन्म लिएको मान्नुपर्छ ।

जहाँसम्म जंक–आर्टको सन्दर्भ छ, यस्ता कलाहरू वातावरणीय सचेतना जगाउने क्रममा अगाडि देखा परेको कला शैली हो । कलाद्वारा देखाउने क्रममा यसले तत्काल मात्र प्रभाव पार्ने होइन, सयौँ वर्षपछि सम्म पनि यसलाई दरिलो दस्तावेजको रूपमा रहिरहने हुँदा पनि यस्ता कलाहरू प्रयोगमा आएका हुन् । नेपालमै पनि सगरमाथाको वेस्ट क्याम्पमा फालिएका बेकारका वस्तुहरू सङ्कलन अनि प्रयोग भएर अनेकौँ कला बनेका थिए । वातावरण नै प्रदूषण गरेको अवस्थालाई सुधार्न पनि यस्ता वस्तुहरूलाई काठमाडौँमा ल्याई एउटा सचेतनाको कार्यक्रम अनि कलाकारहरूलाई बोलाएर कला कार्यशाला नै आयोजना पनि भएको थियो । अनि प्रदर्शनी गरी आम मान्छेहरूलाई पनि फोहरलाई कसरी सफा गर्न सकिन्छ भनेर मात्र होइन, यसलाई कलाको रूपमा परिणत गर्न सकिन्छ भनेर पनि प्रयोगात्मक कलाको कार्यशाला भएको थियो ।

अझ भन्नै पर्दा उपभोग अनि खेर गएका वा फालिएका वस्तु बीचको नाताको रूपमा पनि यस्तो कला शैलीले प्रवेश पाएको हो । अनि कलाको भाषामा फाइन आर्ट र मानवको दैनिकी बीचको सम्बन्धलाई पनि यसले उजागर गर्ने गर्दछ । अर्को तर्फ यो उपभोक्ता संस्कृतिको यो जल्दोबल्दो स्वरूप पनि हो । काम नलाग्ने भनी फालिएका धातुका सामानहरू, टुक्राटुक्रा भई फालिएका वस्तुहरू, बेकारका सामानहरूबाट मूर्ति बनाउने क्रममा यसको विकास भएको थियो । दादा मुभमेन्टको कालमा डुचेम्पले बनाएको फाउन्टेन नामक कला अनि पिकासोले प्रयोग गरेको कोलाज प्रवृत्तिको यो एउटा विकसित रूप पनि थियो । सन् १९५० तिर यसको नामाकरण चाहिँ कला समीक्षक लोरेन्स अल्भोले गरेका थिए ।

कलाकार, कला समीक्षक