हामी सोझियौँ पाख्रीबासतिर । हिले र पाख्रीबासबिचमा पर्ने बागवानी केन्द्रले मुस्कुराएर स्वागत गर्यो । उसका मुस्कान देख्ने आँखा सौन्दर्यको बाहुपासमा बेरिएकै हुन्छन् । लठ्याएकै हुन्छ यसको गहिरो आकर्षणले । हाम्रा आँखा पनि नराम्रोसँग लठ्ठिए । कल्पनाको स्वर्गभन्दा सुन्दर फूलबारी, बगैँचा, बाटोघाटो, बान्की मिलेका सुन्दर घरहरू, आधुनिक पद्धतिबाट पालिएका जीवजन्तुहरूले मोहनी त लगाउने नै भए । विकासे मुसादेखि मुजुरसम्म, खरायो, कुखुरा, बँदेल, बाख्रा, गाई, भैँसीका उच्चकोटिका नमुनाहरू नियाल्दा बाँकी संसार सबै भुलियो । कहिल्यै धित नमर्ने दृश्यहरूलाई मस्तिष्कमा सजाउँदै लाग्यौँ पाख्रीबास बजारतिर ।

पूर्वतिर सुन्तले नाघी र पश्चिमतिर लामेआहाल डाँडो । दुवैलाई आफ्नो सुरक्षार्थ उभ्याएर भन्ज्याङमा लमतन्न सुतेको छ पाख्रीबास । आफ्नो छातीमा उठाएको सुन्दर शहरलाई पालिका केन्द्र घोषित गराएर राष्ट्रिय परिचय पनि बोकेको छ । यो शहरले आजसम्म गर्मी महसुस गरेको छैन । जाडोमा बाक्लै तुसारो ओढ्छ र बाँकी समय मकालुको चिसो हावा बटुलेर वातानुकूलित बनाइरहन्छ आफूलाई । यति सुन्दर नगरीको नाभीमा उभिएकी थिइन् विशाल पाखरी (वृक्ष) । उनै पाखरीको छहारीमा बास बस्न आइपुग्ने भोजपुर, संखुवासभाका भरियाहरूले न्वारान गरिदिएका हुन् नगरीको । राखिदिएका हुन् सुन्दर नाम “पाखरीबास” । पछि जन्मेका सन्तानले उच्चारण छोट्याए र भने “पाख्रीबास” । अहिले दशवटा हाँगा फिँजाएको छ पाख्रीबासले र दशौँ हाँगाले शीतल छहारी प्रदान गरेको छ मेरो जन्मभूमि “चुङमाङ”लाई पनि ।

पाख्रीबास बजारकै कवि रोशन परियारले खोजेको इतिहास खेल्दै थियो मनमा, झ्यालबाट मुन्टो निकालेर पुलुक्क चिहायो बजारले । हातमा अति सुन्दर दुई तलाउ उचालेर मुस्कुरायो बायाँतिरको ‘संसारी सिमसार क्षेत्र’ । पहिलो तलाउका बिचमा ध्यानमग्न थिए शिवजी । दुवैको वरिपरि थियो चियाबगान । हरियाली पार्क । बिचमा भुइँ छोड्न तम्तयार थियो हवाइजहाज । त्याग, सरलता र वैराग्यको प्रतीक सुनौला त्रिचीवरमा सजिएका बुद्धले शान्तिको अँगालोभित्र सुमसुम्याए । हामीले सबैलाई ढोग गर्यौं । सबैले शिर निहुर्याएर स्वागत गरे हामीलाई । आनन्दविभोर भयौँ हामी । कलाकृतिमा कुँदिएर हुर्केकी, प्रकृतिको काखमा लडिबुडी खेल्दै आँखाभरी मनोरम दृश्य सजाइदिने सुन्दरी संसारी सिमसारलाई मनमा बसाएर पश्चभागको दैलोबाट पस्यौँ मुख्य बजारभित्र ।

त्यहाँ भेटिए सियोको दुर्बिनबाट संसार नियाल्ने उनै कवि रोशन परियार ‘रोपनी’ । जमघट रहेछ पाख्रीबास कला साहित्य समाजको । उहाँको एलेक्स टेलरिङ सेन्टरमा आइपुग्नुभएका मुगाली कलाकार मुकुन्द प्रसाय, पाख्रीबासकै कवि प्रज्वल पुकार, ध्रुव एलेक्स, गजलकार अनन्त अनुराग, ओमप्रकाश निरौला, रोजा नानू, मातृका रिजाल, कवि तुलसा स्वदेशी राई, मनु विश्वकर्मा, केजी सुब्बा र धनकुटा बजारभित्रको घरजग्गासहित आफ्नो सम्पूर्ण सम्पत्ति पुस्तकालयलाई सुम्पेर घरमै विशाल पुस्तकालय निर्माण गर्दै भाषा साहित्यमा समर्पित हुनुहुने महान् व्यक्तित्व टीकाप्रसाद लामिछानेले हामी ढुङ्गालाई देवता सम्झनुभयो । मनको मन्दिरभित्र प्रवेश गराउनुभयो । मनमौजी चल्ने हामी यायावर पनि ‘जता घमाइलो त्यतै रमाइलो’ मान्न थाल्यौँ । साहित्यको मोहजालमा लटपटिँदै कार्यक्रममा केही क्षण सहभागी बन्ने र आरामले ओरालो झर्ने निष्कर्षमा पुग्यौँ ।  

बाध्यताले आफ्नो खोरिया सपार्न कोरिया भासिएका झर्रा गजलकार ईश्वर दाहाल “रुन्चे काइँला” लाई सम्झियौँ पहिलो बसाइँमा । सँगै सम्झना गर्यौं पाख्रीबास कला साहित्य समाजले ५ वर्षअघि गरेका राष्ट्रव्यापी साहित्यिक जमघटलाई । त्यो बेला समावेश भएका देशभरका कवि, कलाकारहरूलाई । भरखरै दिवङ्गत हुनुभएका पोखरेली गजलकार प्रकट पङ्ग्यानीलाई । प्रादेशिक राजधानी धनकुटालाई घोषणा गराउन सडक बन्दको संस्कृति अपनाउनेहरूले पुसको ठन्डीमा भेडेटारको सिरेटोमा सेकाएर हामीलाई आइसका मूर्ति बनाएका कुरालाई । चोरजस्तो लुसुक्क भागेर दुई बजे राति पाख्रीबास पुगेका र भोलिपल्टको कार्यक्रम सिध्याएपछि उसैगरी भुइँमा उज्यालो नखस्तै दमक पुग्नुपरेका अविस्मरणीय क्षणहरूलाई । 

विगतलाई पुनर्ताजगी गराएपछि खुल्यो सिर्जना वाचनको लहर । त्यो सुवर्ण अवसर किन गुमाउनु र मैले ? हृदय साटासाट गर्यौं हृदय पोखिएका रचनाहरू पस्केर । रोशनजीको उज्यालो रोशनीमा रमाएका हाम्रा मन भाग्न मानेनन् कतै । त्यही माहोलले साँझ खसायो र रात कटायो । 

भोलिपल्ट बिहान भूमिसँग आफ्नो अस्तित्व साटेर समाधी लिएकी पाखरीको समाधी स्थलमा पुग्यौँ । ढलेको पुरानो हुलाकघरका भग्नावशेष पनि देखाउनुभयो रोशनजीले । पहिले पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापा आफ्नो घर जाँदा आनन्दविभोर भएर सुस्ताउने ठाउँ रहेछ पाखरीको छहारी । फर्कँदा घुमाउनुभयो विभिन्न चिया बगानहरू, पानीविनै मुङ्ग्रो आकारमा बसिरहेको मुङ्ग्रे आहाल, क्याम्पस र आफूले पढाउने विद्यालय । अन्त्यमा, घरको मिठो खाना खुवाएर खाँदबारीका लागि बिदाइ गर्नुभयो । 

डिकुरेको ओरालो झर्दैगर्दा उहिले आफू विद्यार्थीनेता हुँदा पार्टी–सङ्गठन विस्तारका क्रममा बसेका घरहरू जस्ताका तस्तै देखेँ । श्रृङ्गारको अभावमा अनुहारको चमक त घटेकै थियो तर बनावटको काँचुली कुनैले फेरेका थिएनन् । मलाई पुलुक्क हेरेर तिनीहरूले बोलाउँदैछन् कि झैँ लाग्यो । ती घरका आँगनबाट ढुङ्गा छापेका खुड्किला ओर्लँदै-उक्लँदै दोहोरीलत्त हिँड्थे भोजपुर, संखुवासभातिरका बटुवा, ढाक्रे, मलामी र जन्तीहरू । त्यस्तो चल्तीको बाटो अहिले सीमित स्थानीयहरूको चोरबाटोमा रुपान्तरित भएछ । तीन कान्लामाथिबाट फनक्क घुमेर घरहरूदेखि ठिक मुन्तिर निस्केको पीच बाटो देख्ता पुरानो बाटोको खुब माया लागेर आयो । 

म दोस्रोपटक त्यहाँ पुग्दा नेपाली सेनाले यो लोकमार्गको ट्रयाक खोल्दै गाउँ नजिक पुगेको थियो । नाम बिर्सेँ तर हामीसँग गफिँदै चिया पिइरहेका एक युवकलाई “करसाब” भन्दै फुलीधारी बडेमानका अफिसरहरूले बुट बजारेर सलाम ठोके । फेरि सतर्क भएर दुई कदम पछि सरे अनि अर्कोतर्फ मोडिँदै फटाफट आफ्नो कामतिर गए । हामी छुट्टिएर हिँड्ने बेलामा मैले “हजुर त ठुलो मान्छे हुनुहुँदो रहेछ हामीले त चिनेनौँ है करसाब” भन्दै हात मिलाउँदा उनले सारै नम्र बनेर भनेका थिए– “ए होइन नि सर, यो त हाम्रो जागिरभित्रको अनुशासन मात्रै हो, हजुरहरूजस्तो स्वतन्त्र मान्छे कहाँ बन्नसक्छौँ र हामी” । त्यति कलिलो उमेरमा हाम्रो नेपाली सेनाभित्र त्यस्तो अनुकरणीय क्षमता बनाएका विद्वत् व्यक्तित्वको सम्झना ताजा भयो अहिले । 

आफैँले बिर्सिसकेको तर इतिहासले सुम्पेको जिम्मेवार पद, एउटा बलियो विद्यार्थी सङ्गठनको “जिल्लाकमिटी अध्यक्ष”को हैसियतले ठोकेको प्रमुख आतिथ्यभाषण सुन्ने प्रावि पनि उस्तै देखियो । पाख्रीबास नगरपालिकाभित्र समेटिएपछि र यातायातले सदरमुकामलाई नजिक ल्याइदिएपछि यो क्षेत्र मोफसलमा रुपान्तरित भएछ । अनि गरिब र पिछडावर्गका बालबालिकाहरूका लागि मात्रै बाध्यताको शिक्षाकेन्द्र बनेछ डिकुरेको विद्यालय । सम्झेँ, यो पनि देशका अधिकांश सरकारी विद्यालयहरूको अवस्थाभन्दा फरक बनेनछ । लाग्यो, अम्रेला मोडल मानिने पुँजीवादी विकासपद्धतिमा केन्द्रले चुसेका सबै मोफसलहरू यसरी नै किनारा लाग्नु स्वाभाविक हो । 

बाटो ओरालिँदै जाँदा स्थानीय जिन्दगी पनि ओरालिँदै गएको देखियो । दियालो काट्न जाने खोटेसल्लाको पाखोलाई इतिहासले ‘दियाले’का नामले चिनायो । यसरी चिनिने दियालेमा फाट्टफुट्ट उभिएका सल्लाका रुख, तिल्के र सतिबयरका बुट्टाबाहेक वनमारा झाडीले ढाकेको थियो । त्यो पनि डढेलोले खाएर उजाड देखिन्थ्यो । दायाँपट्टिका अन्तरकुन्तरमा मान्छे बस्ने स–साना घर, गोठ र झाप्राहरू थिए । अझै तल झर्दा हजारौँ वर्षदेखि चर्को घाम र डढेलो पिएका, उर्वराशक्ति नष्ट भएका, माटोरहित काला पत्थरका टुक्राले बनेका, भिराला, निर्जन पखेराहरू भेटिए । त्योभन्दा पनि तलतल झर्दा वारिपारि चारैतिर हुर्हुराउँदा पाखा र ती पाखासहित सिङ्गै पहाडलाई बुई बोकेर ठिङ्ग उभिइरहेका कडा चट्टानले बनेका तारेभिरहरू भेटिए ।    

ती भिर काटेर बनाएको बाटो ठाउँठाउँ कच्ची रहेपनि सजिलै ओरालिँदै माङ्माय-महामाया खोलामा पुग्यो । पुल नपुग्दै पन्ध्र मिटर जति बाटो पूरै खाल्डोमा परिणत भएको रहेछ । खाल्डो लेदोले भरिएको थियो । पलभर नरोकी लक्ष्मणदाइले खाल्डोमा हाले गाडी र फुकेको फुकै पार गराए । उनको साहसको प्रशंसा त कसरी नगरुँला र म तर हामीले लगाएका जुत्ता, बाइकमा बाँधेका झोला र घुँडामुनिको अधिकांश भाग मोबिलको ड्रममा डुबुल्की मारेर निक्लेको मुसो भए । हामीलाई देख्नेहरू पेट मिचीमिची हाँस्तै थिए तर लक्ष्मणदाइले कुनै वास्ता गरेनन्, कतै रोकिएनन् ।

माङ्माय खोला तर्नेबित्तिकै अरुण नदीकिनारको उर्वर भूमिले छोयो । विश्वकै होचो स्थानमा रहेको अरुण उपत्यकामा लगाइएको बालीले प्रफुल्लित बनायो मन । आँखाले भ्याउन्जेल एकनास देखिने, धानचामर फक्रँदै गरेको, मकैखेतीको मनोरम दृश्यले अङ्गअङ्गमा उमङ्ग भरिदियो । उत्साहको रस बगाइदियो । हिँड्दा हिँड्दैको थकान मेटाइदियो । पीडा पखालिदियो । एकैछिन अघिसम्म चैते खडेरीले डढाएको मन ढकमक्क ढाकिदियो वसन्तको हरियालीले । आहा ! आहा ! मात्रै निस्किन थाल्यो मुखबाट । 

रमाइलो हेर्दाहेर्दै फुत्त निस्कियो लेगुवाघाट । तर छोएन त्यसले हामीलाई । प्राकृतिक सौन्दर्यले छोइरहेको बेला छुँदैन रहेछ कङ्क्रिट सौन्दर्यले । भोजपुरतर्फ स्वागत गर्न माला लिएर उभिएकी बेलीब्रीजले पनि छुन सकिनन् । भोलिपल्ट मात्र उनको स्वागत स्वीकार्ने वाचासहित उही लोभलाग्दो दृश्यमा डुबुल्की मार्न दौडिरह्यौँ दायाँभित्तैभित्ता । 

मकैखेतीका मोहक फाँटहरू अझै विचित्र ढङ्गले थपिँदै गए, तन्किँदै गए । उपत्यका अझै लामो र फराकिलो हुँदै गयो । हामी अझै उद्वेलित बन्दैगयौँ । जति हेर्यो उति हेरौँ लाग्ने । जति पियो उति पिइराखौँ लाग्ने । रक्सीको मातभन्दा अझै मिठो सौन्दर्यको मात । जति चुस्यो उति पघ्रेर आइरहने सौन्दर्यका धारा पिउँदापिउँदैे एउटा अर्को अनुकरणीय विषय देखियो त्यहाँ । त्यो के भने यति राम्रो बाली लगाउने किसानका कुनै घर गोठ देखिएनन् उर्वराभूमिभित्र । ती खेतका वास्तविक मालिकहरू जोजो भए पनि सिँचाइ हुने उर्वर फाँटमा खेती लगाएर पहाडको फेदीका सुख्खा चट्टाने जमिनमा मात्रै घर गोठ बनाइदिनु भू–उपयोगको अनुकरणीय नीति भेटियो । यस्ता दृश्यहरू धनकुटाकै खोकुटार, शेराबेँसी, हङ्समोरङ, याक्चनाघाटजस्ता फाँटहरूमा पनि देखेको थिएँ मैले । तर यस्तो प्रशंसनीय कार्य तराई र अन्य उपत्यकामा लागु भएको देखिँदैन । 

रफ्तार निरन्तर चलिरहँदा लक्ष्मीखोला, पिलुवाखोला, अक्करे भिर हुँदै सभाखोलाको पुलमाथि टुप्लुक्क निस्कियौँ बिहानको ११ नबज्दै । खोलामा झरेर सभाखोलाको सुसेलीमा निकैबेर सुस्तायौँ । कल्कलाउँदो पानीमा नाचिरहेका असला हेरेर आनन्दित भयौँ । धुलो लागेको अनुहार मज्जाले धोयौँ । माङ्मायको मोबिले हिलोले पुरिएका जुत्ता र पेन्ट हिलो सुकेर खरानी घसेको जोगीभन्दा चौगुणा धसिङ्गरे देखिँदै थिए । खोलेर माडमुड पार्यौं, टक्टक्यायौँ, ओढ्यौँ र सुस्तरी उक्लियौँ तुम्लिङटार ।

उहिले चुङमाङमा हुँदा तुम्लिङ्टारका अनेक किस्सा सुन्थ्यौँ हामी । कोही भन्थे “उज्यालो नखस्तै हिँडेको लाठेले १२ बजे पनि छिचोल्दैन तुम्लिङ्टार ।” कोही भन्थे, “हाबैजाजबाट जीप लगेर खाँदबारीसम्म कुदाउँछन् त्यहाँ त ।” “खाँदबारी बजार चाहिँ टारकै मास्तिरपट्टि भित्तामा छ,” “नेपालकै सबैभन्दा ठुलो टार”, “उदेकलाग्दो टार”, “विचित्रको टार”, “सभाखोला र अरुण मिलेर कुँदेको मैदान रे त्यो”, “हैनहैन सभाखोलाले एक्लै कुँदेको रे । र त पछि अरुणले दाबी गर्न खोज्दा सभाखोलो रिसाएर फनक्कै दक्षिण घुमेको रे ।”

मैले सानो छँदा सुनेका तुम्लिङटारका कथा र आफ्नै आँखाले आज देखेको दृश्यमा खासै अन्तर भेटिएन तर उपभोगका हिसाबले चाहिँ निक्कै फरक पाइयो । हवाइमैदान र यसको अड्डाबाहेक बाँकी ठाउँमा अघिकैजस्तो बालीनालीले हराभरा होला भन्ने लागिरहेथ्यो तर उत्पादक क्षेत्रलाई कङ्क्रीटका बगानले ढाकिसकेको रहेछ । प्लटिङ संस्कृतिको विकास त्यहाँ पनि प्रशस्तै देखियो । 

सालघारीका घुम्तीहरू छिचोल्दै हामी पुग्यौँ वरूण बहुमुखी क्याम्पसको मूल भवनमै । हाम्रो स्वागतार्थ साहित्यकारहरू ताराबहादुर बुढाथोकी, राजेन्द्र सर्वहारा र साथीहरू तयारी अवस्थामा हुनुहुँदो रहेछ । धुस्रेफुस्रे भएर पुगेका हामीलाई दुवै स्रष्टाले गोजीबाट खादा झिकेर लगाइदिँदै अँगालोमा बेर्नुभयो र डोर्याउँदै क्याम्पस प्रमुख टीकाराम गुरूङज्यूको कार्यकक्षमा पुग्नुभयो । गुरूङ सरसँगको परिचयपछि चिया पिउँदै केही बाटोका र केही साहित्यका कुरा गर्यौं । बेलामौकामा साहित्यिक सद्भावना भ्रमणहरू आयोजना गर्न सके स्रष्टाहरूबिच नजिकको सम्बन्ध रहने, गहन विषयवस्तुको उठान हुने र साहित्यले पनि फस्टाउने मौका पाउने विचारहरू व्यक्त भए । केहीबेरको भलाकुसारीपछि बेलुकीपख बजारमा भेट हुने सर्तमा हामी बिदा भयौँ र खाँदबारी बजारतिर लाग्यौँ । किमाथाङ्का जोड्ने कोशी लोकमार्गले खाँदबारीको पुच्छर छोएर भागेको रहेछ । हामी पनि त्यही पुच्छर सुम्सुम्याउँदै “गुवाबारी” पुग्यौँ । 

बजार नजिकै रहेको सुन्दर गाउँ गुवाबारीमा सेतो चुनले पोतेका, निला झ्यालढोका र निलै छाना ओढेका बाक्लै घरहरू देखिए । रुद्राक्षको बगैँचाभित्र वसन्तको फूल फुलाउने गुवाबारी चकमन्न थियो त्यो बेला । “को छ हउ घरमा ?” भन्दै घरैपिछे हिड्यौँ हामी तर बोलेनन् कुनै घर । लक्ष्मण दाइको मूलघर पनि त्यस्तै अबोला रहेछ । ढोकामा लिम्बूनी दिदीको बुलाकीभन्दा सानो ताल्चा झुन्डाएर घोप्टे चाहिँ खुल्लै राखी उभिएको मूलघरमा झोलीझाम्टा छोडिराखेर फर्कियौँ बजार । बाटोमा दरर्र दर्कियो पानी । मान्छेको भागाभाग भयो । हाम्रा ज्यानमा बिहान पाख्रीबासबाट हिँड्दै ओढिराखेका रेनकोट जस्ताका तस्तै थिए, वास्तै भएन पानीको । 

हामी सर्वहारा सरको कोठामा एक्कासी पुग्दा आत्तिनुभयो उहाँ । लथालिङ्ग कोठा भताभुङ्ग परिवार भन्दै टुस्किनै नदिई पाखापाखै दौडाउनु भयो “आइबेक्स” रेस्टुरेन्टतिर । थुक्पाका लागि निकै प्रशिद्ध मानिँदो रहेछ यो रेस्टुरेन्ट । 

खाँदबारी नै बगाउलाझैँ दर्किरह्यो पानी । साहित्यकार सनम थापा, चन्द्रप्रकाश निरौला, ताराबहादुर बुढाथोकीसहितका ६ भाइ जौको पिठो, साग र सलादसहितको स्वादिष्ट थुक्पा ग्रहण गर्दै कोशीप्रदेशभरिका साहित्यिक गतिविधिहरूको समीक्षामा रमाउन थाल्यौँ भित्र । केही रचना सुन्ने सुनाउने क्रम पनि चल्यो र चल्यो फोटोसेसन पनि । पानी रहेपछि माहोल प्रभातफेरीमा परिणत भयो । अगाडि रहेको आदिकवि भानुभक्त आचार्यको शालिकमा फोटो खिच्यौँ र पस्यौँ खाँडोबारीभित्र । 

राज्यविस्तारका क्रममा पृथ्वीनारायण शाहले त्यो क्षेत्रका शासकसँगको युद्ध जितिसकेपछि “खाँडो-खड्ग पखालेको बारीलाई “खाँडोबारी” भनिएको रहेछ । पछि अपभ्रंश भएर खाँदबारी हुन पुगेछ । खाँडो पखालेको ठाउँमा अहिले एउटा सानो पोखरी, बगैँचा र स्तम्भचित्र संरक्षण गरी राखिएको रहेछ । यसको अवलोकनपछि त्यहाँबाट निस्क्यौँ हामी । वरुण होटल, तेजरत्न आँखा अस्पताल, गोपालभगत मेमोरियल अस्पताल, आरती होटल हुँदै मूल सडकमा निस्कियौँ र बाइक चढेर फेरि पुग्यौँ मानेभञ्ज्याङ । त्यहाँ पुगेपछि माथि देखिने छ्याङ्कुटी डाँडोसहित वरिपरिका महत्त्वपूर्ण स्थान तथा मकालु बेसक्याम्प, शिवधारासम्म पुग्ने बाटोको ज्ञान पनि दिलाउनु भयो राजेन्द्र सरले । 

घुमेर फेरि फेःक्मालुङ (ठुलोढुङ्गा) हुँदै झर्यौं सनमजीको घरमा । उहाँका नानीहरूसँगको रमाइलो चियागोष्ठीपछि तारासरको घरहुँदै वासबस्न पुग्यौँ गुवाबारी । जितबहादुर कार्कीसरकी नयाँ बुहारीका हातको मिठो खाना र भलाकुसारीपछि मिठो निद्रा निदाइयो ।

गुवाबारीलाई धोबिनी चरीको सुरिलो स्वरले ब्युँझायो सखारै । जितबहादुर कार्कीसरको टाँडबाट दलानमा ओर्लेपछि चियापान समारोह चल्यो र स–परिवारको तस्वीर खिचियो आँगनमा । मूलघरसँग बिदा भएर अन्य आफन्तकोमा चियाचुस्की लिँदै छोडियो हरियाली गुवाबारीलाई र छोडियो खाँदबारीलाई पनि ।

सेतो भुइँकुहिरोले आफ्नो आँचल फिँजाएर ढाकिरहेथ्यो अरुण नदी, सभाखोला, तुम्लिङटार, धुपुकछाड र सतहका सबै क्षेत्रहरू । डाँडामाथि उभिएर हेर्दा धुनियाँको तानाले फिटेर बिछ्याइएको एकनम्बरी रुवाको विशाल बिस्कुनजस्तै, आकासिएको जेटप्लेनबाट चिहाउँदा तल देखिने बादलको संसारजस्तै, सबै हरिया पहाडले सेता कछाड फेरेर अन्तर्राष्ट्रिय सम्मेलनको समुद्घाटन समारोहमा प्रदर्शनी गर्न तयार भएजस्तै, अत्यन्तै मनमोहक दृश्यलाई आँखा, मन र मोबाइलमा कैद गर्दै झर्यौं तुम्लिङटारको पल्लोछेउसम्म र ओर्लियौँ तल नदीकिनारमा बस्नुभएकी मनकामना माताको चरणसम्म ।

विशाल शिलामा सिङ्गो मस्तिष्कको दर्शन गराएर नदीकिनाराको बगरमा बस्नुभएकी शैलपुत्री पार्वतीको पूजा आराधना गराउनुहुने गुरू मनोज कट्टेल र अलिमाथि भित्तामा रहेको माताको मन्दिरमा मन्त्रोच्चारणसहित विधिपूर्वक पूजाअर्चना गराएर मनोकामना पूर्ण गराउन सहयोग गर्नुहुने मनोज गुरूकै बडीआमा, पूजारीमाता राधा कट्टेलज्यूको इमान्दारिता, कोमल बोलीवचन र भक्तिभावपूर्ण व्यवहार देखेर हामी अत्यन्तै प्रफुल्लित भयौँ । त्यहाँ छरिएको अथाह ज्ञानबाट केही थोपा ग्रहण गर्न, पार्वती माताको मस्तिष्कको अनन्तता महसुस गर्न हामीले तीनघण्टा व्यतीत गर्यौं । 

अब हामीले सतीघाट तरेर बालागुरु षडानन्दको ज्ञानभूमि दिङ्ला पुग्नु थियो । अलौकिक तान्त्रिक विद्याका वास्तविक प्रयोगकर्ताको साधनास्थलको माटो शिरमा लगाउने रहर पूरा गर्नु थियो । फेरि राणा शासनका विरुद्धमा विद्रोह बोल्ने, सयौँ अनुयायीसहित अरुण नदीमा जलसमाधि लिने माता योगमाया न्यौपानेको साधनाभूमि, तीर्थभूमि, ध्यानभूमि, ज्ञानभूमि, क्रान्तिभूमिको दर्शन गर्नु थियो । समाधीस्थलको जल अभिषेक गर्दै भोजपुर निस्कनु थियो । तर अघिल्लो दिनको पानीले सतीघाटको कच्चीबाटोलाई बाइक हिँड्न नसक्ने गरी क्षति पुर्याएको जानकारी पाएपछि हाम्रो योजनाले फेल खायो र अघि झरेकै बाटो भएर फुत्त उक्लियौँ तुम्लिङटार । घुम्न बाँकी टारको अरज नाप्यौँ । तौल जाँच्यौँ । वारिपारिका धुपु, माल्टा, पाङ्ठा क्षेत्रको स्मरण गर्यौं । सभाखोलाको पुल तर्यौं र पिलुवा, अक्करे, केवाको जयगान गाउँदै संखुवासभालाई साधुवाद् चढायौँ । 

अबको पहिलो बिसौनीमा लेगुवाघाटको निशनी लागेपछि अहिलेसम्म भेटभएका चम्किला नक्षत्रहरूको गणना शुरु गर्यो मस्तिष्कले । जहाँ चम्किला नक्षत्र थिए त्यहाँ जमघट हुने चौताराहरू थिए । साहित्यका नक्षत्र भनेका चौताराका वर पिपल रहेछन् । तिनै वर पिपलका छहारीमा सिङ्गो समाज शीतल ताप्दो रहेछ । भविष्यको छाया हेर्दो रहेछ र गन्तव्यको रेखा कोर्दो रहेछ ।