बसाइँसराइलाई केवल व्यक्तिगत चाहना, आर्थिक बाध्यता वा आकस्मिक निर्णयको परिणामका रूपमा मात्र बुझ्नु मानव जीवन र सभ्यताको दीर्घ यात्राप्रतिको कमजोर दृष्टिकोण हो । यस्तो बुझाइले बसाइँसराइलाई अस्थायी समस्या वा अपवादजस्तो प्रस्तुत गर्छ, जब कि वास्तवमा याे जीवनको मौलिक चरित्रसँग गाँसिएको प्रक्रिया हो । जीवन कहिल्यै स्थिर रहेन, न त स्थिर रहन सक्छ । परिवर्तन, गति, रूपान्तरण र अनुकूलन जीवनका आधारभूत नियम हुन् । यही नियमको प्रत्यक्ष अभिव्यक्ति बसाइँसराइ हो—चाहे त्यो जीवको स्तरमा होस् वा सभ्यताको ।
पृथ्वीमा पहिलो सूक्ष्म जीवको उत्पत्तिदेखि आज मानव चेतना अन्तरिक्षसम्म फैलिएको अवस्थासम्मको सम्पूर्ण इतिहास नियाल्दा एउटा साझा सत्य प्रकट हुन्छ—जीवनकाे अस्तित्व सधैँ सर्ने प्रक्रियाबाटै विकसित भएकाे छ । महासागरका धारसँग बग्दै विभिन्न टापु–टापु पुगेका बीउहरू, ऋतु परिवर्तनसँगै हजारौँ किलोमिटर दूरी तय गर्ने चराचुरुङ्गीहरू, हिमयुगपछि नयाँ भूभाग खोज्दै अघि बढेका मानव समूह र पृथ्वीको कक्षमा परिक्रमा गरिरहेका अन्तरिक्ष यात्रीहरू एउटै जीवन्त सत्यका फरक–फरक अभिव्यक्ति हुन् । त्यही नै सत्य हो जुन, जीवन अघि बढ्न एक ठाउँबाट अर्को ठाउँ सर्छ । यदि प्रकृति स्वयं स्थिर हुन्थ्यो भने न विकास सम्भव हुन्थ्यो, न चेतनाको आवश्यकता नै जन्मिन्थ्यो । स्थिरताले जीवनलाई जड बनाउँथ्यो र सभ्यताको इतिहास शुरु हुनै पाउँदैनथ्यो ।
प्रकृतिले सबै जीवित प्राणीहरूमा एउटा मौन तर अपरिहार्य नियम लागू गरेको देखिन्छ । जब वातावरण अनुकूल रहँदैन, जब स्रोतहरू सीमित हुन्छन्, जब जलवायु परिवर्तन वा प्राकृतिक अवरोधले अस्तित्वलाई चुनौती दिन्छ, तब अस्तित्व बोधका निमित्त जीवन नयाँ दिशातर्फ उन्मुख हुन्छ । मानव बसाइँसराइको प्रारम्भ कुनै दार्शनिक अवधारणाबाट होइन, अस्तित्व जोगाउने सहज प्रवृत्तिबाट भएको हो । यही प्रवृत्तिले वनस्पतिलाई पनि हावा, पानी र जीवजन्तुका माध्यमबाट आफ्नो सीमा विस्तार गर्न प्रेरित गर्छ । यही प्रवृत्तिले जनावरलाई नदी, मरुभूमि र महादेश पार गर्न अनुकूल गराउँछ । यसैले नै मानिसलाई सुरक्षित, उर्वर र सम्भावनायुक्त भूभाग खोज्दै निरन्तर अघि बढ्न उत्प्रेरित गर्यो । यदि जीवन एकै स्थानमा सीमित हुन्थ्यो भने आजको पृथ्वी जैविक, भाषिक, सांस्कृतिक र वैचारिक विविधताले भरिएको हुने थिएन । यस अर्थमा, बसाइँसराइ कुनै अपवाद होइन; जीवनको परिभाषासँग गाँसिएको मौलिक सत्य हो ।
दार्शनिक, वैज्ञानिक र समाजशास्त्रीय चिन्तनले पनि यही यथार्थलाई फरक–फरक भाषामा पुष्टि गरेका छन् । हेराक्लाइटसले संसारलाई निरन्तर बग्ने नदीसँग तुलना गरे—जहाँ एकै पानीमा दुईपटक पाउ राख्न सकिँदैन । डार्विनले अनुकूलन गर्न सक्ने प्राणी मात्र दीर्घकालीन रूपमा बाँच्छ भन्ने सिद्धान्त प्रतिपादन गरे । मानवशास्त्रीहरूले मानव चेतनाको विकासलाई निरन्तर स्थानान्तरण, नयाँ अनुभव र अपरिचित परिवेशसँगको अन्तर्क्रियासँग जोडे । यी दृष्टिकोणहरूको साझा संकेत स्पष्ट छ—जहाँ गति रोकिन्छ, त्यहाँ विकास पनि रोकिन्छ । यदि बसाइँसराइ हुँदैनथ्यो भने भाषा सीमित घेराभित्र कैद हुन्थे, संस्कृति बन्द संरचनामा जड बन्थे, ज्ञानको आदान–प्रदान अवरुद्ध हुन्थ्यो र प्रविधिको विकास सुस्त मात्र होइन, सम्भवतः अवरुद्ध नै हुन्थ्यो । सभ्यता नदी किनार र उब्जाउ मैदानमै सीमित रहन्थ्यो र महादेशहरू एक–अर्काका लागि अपरिचित नै रहन्थे ।
प्रकृति स्थिर नभएकाले विकासको गति सम्भव भयो । ऋतु बदलिन्छन्, नदी बग्छन्, हिउँ पग्लेर हिमनदी बहन्छन्, भू–भाग सर्छन् र जलवायु परिवर्तन हुन्छ । यही निरन्तर अस्थिरताले जीवलाई नयाँ परिस्थितिमा बाँच्न सिकायो । यसैले प्रतिस्पर्धा, अनुकूलन र चेतनाको आवश्यकता जन्मायो । यदि प्रकृति स्थिर हुन्थ्यो भने न जैविक विविधता जन्मिन्थ्यो, न चेतनाको विकास हुन्थ्यो । यस अर्थमा, प्रकृतिको अस्थिरता नै चेतनाको जननी हो ।
मानव उत्पत्तिका सन्दर्भमा वैज्ञानिकहरूले अफ्रिकालाई मानव सभ्यताको प्रारम्भिक केन्द्र मानेका छन् । तर मानिस त्यहीँ सीमित रहेनन् । जलवायु परिवर्तन, खाद्य खोजी र जिजीविषाले तिनलाई अफ्रिकाबाट एसिया, युरोप, अमेरिका र ओसिनियासम्म पुर्यायो । यस यात्रासँगै मानिसले नयाँ वातावरणसँग जुध्दै भाषा विकास गर्यो, औजार निर्माण गर्यो, समूह र समाज निर्माण गर्यो र विश्वास, कला, धर्म तथा दर्शनका आधार तयार गर्यो । मानव विकास कुनै सुरक्षित स्थानमा स्थिर बसेर होइन, निरन्तर हिँड्दै, सिक्दै र रूपान्तरण हुँदै सम्पन्न भएको हो ।
मानव चेतनाको विकास प्रायः सहज र सुरक्षित परिवेशमा होइन, चुनौतीपूर्ण परिस्थितिमा भएको देखिन्छ । अपरिचित भूगोल, नयाँ जलवायु, फरक जीवजन्तु र फरक मानव समूहसँगको भेटले मानिसलाई सोच्न, तुलना गर्न, सम्झन र नवीन प्रयोगका निमित्त बाध्य बनायो । यसरी बसाइँसराइ मानव चेतनाको प्रयोगशाला बन्यो । मानिस जहाँ–जहाँ पुग्यो, त्यहाँ उसले केवल शरीर मात्र होइन; भाषा, संस्कृति, सीप, स्मृति र मूल्यहरू पनि सँगै पुर्यायो । यही प्रक्रियाले बसाइँसराइलाई इतिहास निर्माण गर्ने शक्तिमा रूपान्तरण गर्यो । सभ्यताका उत्थान र पतन, व्यापारिक मार्गहरूको विकास, ज्ञानको आदान–प्रदान र सामाजिक संरचनाको निर्माण सबै यसैसँग गाँसिएका छन् । आधुनिक राष्ट्र–राज्य कुनै एक शुद्ध मूलबाट बनेका होइनन् । ती अनगिन्ती यात्रा, संघर्ष र समायोजनका परिणाम हुन् ।
नेपाली समाजको स्वरूप पनि यही ऐतिहासिक गतिशीलताको प्रतिफल हो । किराँत कालदेखि आर्य–खसहरूको आगमन, लिच्छवि र मल्ल कालमा उपत्यकातर्फ केन्द्रित जनसांख्यिक आवागमन, राज्य विस्तारसँगै पहाडबाट तराईतर्फ तथा पूर्व–पश्चिम फैलिएको बसोबास—यी सबै नेपाली इतिहासका बसाइँसराइका जीवन्त प्रमाण हुन् । नेवार, थारु, मधेसी, गुरुङ, मगर, राई, लिम्बू, शेर्पा र खस–आर्य समुदायको सहअस्तित्व कुनै आकस्मिक संरचना होइन । यो दीर्घकालीन स्थानान्तरण र सहजीवनको परिणाम हो, जसले नेपाललाई बहुभाषिक, बहुसांस्कृतिक र बहुपहिचानयुक्त समाज बनाएको छ ।
व्यावहारिक तहमा बसाइँसराइ रोजगारी, शिक्षा, सुरक्षा र उन्नत जीवनस्तरको खोजीसँग गाँसिएको छ । पहाडका दुर्गम बस्तीबाट तराई र सहरतर्फको यात्रा तथा पछिल्ला दशकमा वैदेशिक रोजगारीका लागि खाडी मुलुक, मलेसिया, कोरिया, जापान, युरोप र अमेरिकासम्म पुगेका नेपालीहरू यही ऐतिहासिक निरन्तरताका आधुनिक प्रतिनिधि हुन् । यस प्रक्रियाले परिवार, गाउँ र समाजको संरचनामा गहिरो प्रभाव पारेको छ । स्वेच्छिक बसाइँसराइले सिर्जनशीलता र अवसर जन्माउँछ भने बाध्यतापूर्ण विस्थापनले असुरक्षा, मानसिक थकान र पहिचानको द्वन्द्व पनि निम्त्याउँछ । जब मानिस न पुरानो घरसँग पूर्ण रूपमा जोडिन सक्छ, न नयाँ स्थानलाई आफ्नै बनाउन सक्छ, तब ऊ भौतिकभन्दा बढी भावनात्मक रूपमा विस्थापित हुन्छ ।
स्थानान्तरणले समाज मात्र होइन, मानव मनलाई पनि पुनःपरिभाषित गर्छ । नयाँ परिवेशमा मानिसले नयाँ भाषा, संकेत र सामाजिक संरचना बुझ्नुपर्छ । यस प्रक्रियाले मानसिक लचिलोपन विकास गर्छ र सिर्जनशीलतालाई प्रोत्साहन दिन्छ । इतिहासले देखाएको छ—विविध अनुभव र फरक दृष्टिकोणबाट नै धेरै नवीन विचार, प्रविधि र सभ्यतागत उन्नति जन्मिएका छन् तर सन्तुलन नहुँदा यही प्रक्रियाले सांस्कृतिक टकराव, विभेद र असमानता पनि जन्माउन सक्छ । त्यसैले बसाइँसराइ न पूर्ण वरदान हो, न पूर्ण अभिशाप । यसको परिणाम मानव निर्णय, शक्ति सन्तुलन र नैतिक दृष्टिमा निर्भर हुन्छ ।
आधुनिक युगमा प्रविधि, वैश्वीकरण र जलवायु परिवर्तनले मानिसलाई अभूतपूर्व रूपमा एक ठाउँबाट अर्काे ठाउँ सर्न बाध्य बनाइरहेका छन् । डिजिटल संसारले भौगोलिक दूरीको अर्थ फेरिदिएको छ भने जलवायु परिवर्तनले नयाँ प्रकारको विस्थापन शुरु गरिसकेको छ । यस्तो अवस्थामा बसाइँसराइ बुझ्नु केवल सैद्धान्तिक विषय रहेन, यो भविष्यको साझा प्रश्न बनेको छ । यसलाई डर र विभाजनको कारण मान्ने कि न्यायपूर्ण नीति, मानवीय संवेदना र साझा भविष्य निर्माणको अवसर बनाउने भन्ने कुरा हाम्रो सामूहिक चेतनामा निर्भर गर्छ ।
इतिहासले बारम्बार प्रष्ट्याएको छ—परिवर्तनलाई आत्मसात् गर्ने समाज अघि बढ्यो, परिवर्तनसँग जुध्ने समाज समयसँगै ओझेलमा पर्यो । आदिम मानवको सुरक्षित आश्रय खोजीदेखि आधुनिक मानवको अन्तरिक्ष स्टेशनसम्मको यात्रा एउटै सूत्रले गाँसिएको छ—सर्ने, सिक्ने र नयाँ सम्भावना खोज्ने प्रवृत्ति । बसाइँसराइ मानव इतिहासको दुर्घटना होइन, यो यसको चालक शक्ति हो । यो यात्रा निरन्तर छ र त्यसको अर्थ, मूल्य र दिशा के हुने भन्ने प्रश्न अन्ततः मानिसकै विवेक, संवेदना र जिम्मेवारीसँग गाँसिएको छ । अस्तु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 




