एउटा सफल निर्देशनमा निर्माण भएको चलचित्रको पटकथाले साधारण दर्शकको मनभित्र पनि जग्गा बनाउँछ अनि अटुट सम्बन्ध स्थापित गर्दछ । चलचित्रभित्र अभिनय गर्ने पात्रहरूसँग दर्शकको पारदर्शिता एकदमै निकट रहन्छ ।

नेपाली कथानक चलचित्र ‘धागो’ हेरेपछि मलाई एउटा भिन्नै किसिमको अनुभूति भयो । वास्तवमा जब कुनै विषयले मन छुन्छ, तब त्यससँग हाम्रो भित्री अनुभूतिसँग गाँसिएको कुनै न कुनै सम्बन्ध अवश्य हुन्छ । कुनै दृश्य मन पर्नु केवल त्यसको बाह्य सुन्दरता मात्र होइन, त्यससँग जोडिएका अनेक अनुभूति, स्मृति र अर्थहरूको समष्टि पनि हो । जसरी कुनै रचना मन पर्नुको पछाडि त्यसभित्र वर्णित कुनै पक्षले पाठकलाई गहिरो रूपमा छोएको हुन्छ, त्यसैगरी चलचित्रको शुरूआत र अन्त्य (क्लाइम्याक्स) ले सम्पूर्ण पटकथाको भाव र मर्म प्रस्ट रूपमा अभिव्यक्त गरेको हुन्छ ।

‘धागो’ पटकथाको भावार्थ (जीवन‌ संघर्ष) जुन बुझें मैले त्यो मैले मात्र हैन हामी सबैले भोगिरहेको कथा हो । खासमा चलचित्र भनेको मनोरञ्जनको उच्चतम माध्यम मानिन्छ । यहाँ समाहित विभिन्न छायाङ्कन, कलाकारको संवाद, गीत–सङ्गीतले आम दर्शकलाई तान्ने गर्दछ । अझ कुनै चलचित्रको पटकथा आफ्नो जीवनसँग संयोगवश जोडिन्छ भने चलचित्रको छाप जीवनभर इतिहासको रूपमा रहिरहन्छ ।

‘धागो’ ले नेपाली समाजलाई मात्र होइन, संसारभरका ती सामान्य परिवारहरूको कथा समेट्न सफल भएको छ, जो आफ्नै बलबुतामा आधुनिक युगसँग संघर्ष गर्दै परिवार र विशेषतः आउँदो पुस्ता—छोराछोरीका सपना साकार पार्न प्रयासरत छन् । चलचित्र अन्त्यमा स्पष्ट र सकारात्मक सन्देशसहित सफलतामा पुग्छ ।

अहिलेको आधुनिक प्राविधिक उपकरणहरूको प्रयोग र ए.आईले प्रभाव पारेको समयलाई समानान्तर रूपमा दृश्यीकरण गर्नु स्वयंमा ठूलो चुनौती हो । यही चुनौतीपूर्ण समयलाई मध्यनजर राख्दै निर्माण गरिएको ‘धागो’ चलचित्रले समाजलाई बहुआयामिक सन्देश दिन प्रयास गरेको देखिन्छ ।

तीमध्ये मैले नजिकबाट महसूस गरेका तीन मुख्य विषयवस्तु यस प्रकार छन्—

१) कथावस्तु
चलचित्रको आत्मा नै कथावस्तु हो । कथाले चलचित्रको विषय, सन्देश, द्वन्द्व र भावनात्मक पक्षलाई अघि बढाउँछ । सशक्त कथावस्तुले दर्शकलाई शुरूआतदेखि अन्त्यसम्म बाँधेर राख्छ र चलचित्रलाई अर्थपूर्ण बनाउँछ ।

२) अभिनय
कथालाई जीवन्त बनाउने काम अभिनयले गर्छ । कलाकारहरूको संवाद, हाउभाउ, भाव–भङ्गिमा र चरित्र–चित्रणमार्फत पात्रहरू दर्शकसँग नजिकिन्छन् । प्रभावकारी अभिनयले दर्शकको मनमा गहिरो छाप छोड्छ ।

३) प्रविधि
यसअन्तर्गत क्यामेरा प्रयोग (सिनेमाटोग्राफी), प्रकाश, ध्वनि, संगीत, सम्पादन तथा दृश्य–संयोजन पर्दछन् । प्रविधिले चलचित्रलाई आकर्षक, प्रभावशाली र व्यावसायिक बनाउनुका साथै कथाको प्रभावलाई अझ सबल बनाउँछ ।

‘धागो’ले यी तीन वटै पक्षलाई सन्तुलित र न्यायोचित ढंगले प्रस्तुत गर्न सफल भएको छ ।

चलचित्रको मुख्य भूमिकामा रहेको रौनक (नायक) को जीवनशैलीले साधारण जीवन दर्शाउँछ । स्वेच्छा अनि स्वावलम्बी प्रवृत्ति दर्शाउने रौनकको जीवनभित्र उतारचढाव आइलाग्छ जसको प्रभाव आफ्नो परिवारलाई सोझै पर्दछ । चलचित्रको पटकथाभित्र एक संघर्षशील दाम्पत्य जीवनको दिनचर्या खूब जतनले सजाइएको  छ। दुःखसुख, मिलन-बिछोड, प्रेम, सम्मान, प्रणय, रोमान्स, अन्तर्द्वन्द्व अनि घरको मूल खाँबो भएर दुवै (पति पत्नी)-को रोल निभाएको दायित्वशील अभिनयले दर्शकको ध्यान खिच्छ, मार्मिक बनाउँछ । एक मध्य स्तरीय परिवारको वास्तविकतालाई चलचित्रमा हुबहु चित्रण गर्न निर्देशकले कुनै कसरत छोडेका छैनन् । सुचारु रूपले चलिरहेको काम धन्दामा नकारात्मक असर परे पछि देखा परेको परिणामले दर्शकले आँसु रोक्न सक्दैनन् ।

कसरी एक सक्षम पुरुष कमजोर हुँदै नशाको बेहोसीमा अवगतितर्फ लाग्दछ ? यो दृश्य मार्मिक रहेको छ । पतन हुँदै गरेको आफ्नो परिवारलाई कसरी एक गृहिणीले सम्हाल्न सक्छे ? टाउकोदेखि माथि सम्मको उत्तरदायित्व बोकेर कसरी एक अडिग नारीले सम्हाल्न सक्छे परिवार ? खुशीयालीले व्यतीत भैरहेको परिवारका सपनाहरू तासको महल झैं कसरी ढल्छन् ? अनि कसरी यसको पूर्ण उत्थान हुन्छ ?

समय र समस्याले च्यातिएको हरेक सम्बन्धलाई मेहनत लगाव अनि अथक परिश्रमको धागोले जोडिएर चलचित्रको सुखद अन्त्य हुन्छ ।

पटकथामा अर्को दह्रिलो पक्ष एक लाटी केटीसँग एक सक्षम केटोले गरेको पवित्र प्रेम प्रसङ्ग पनि देख्न पाइन्छ । जसले समाजलाई सकारात्मक सन्देश दिन सफल बनेको छ । यदि सत्यता छ भने जस्तै कठिन प्रेमको पनि मिलन निश्चित रहन्छ भन्ने सन्देश लिएर देखाएको कतिपय दृश्यले भावविभोर बनाउँदछ ।

डुबर्सका एक ऊर्जाशील युवा कलाकार प्रभात थापाले डेब्यु गरेका ‘धागो’ चलचित्रको प्रमुख भूमिकामा सुरक्षा पन्तको अभिनयमा कतै पनि त्रुटि भेटाउन सकिन्न ।

चलचित्रको मुख्य कथालाई ‘धागो’ (अर्थात् सम्बन्ध/जोड्ने सूत्र) को रूपकमा बुनेको छ । फिल्मले नेपाल–भारत सीमावर्ती क्षेत्र (जस्तै: डुवर्स, सिलीगुडी, दार्जीलिङ आदि) मा बसोबास गर्ने नेपाली परिवारहरूको भावनात्मक जीवन, पारिवारिक सम्बन्ध, आर्थिक कठिनाइ र सामाजिक चुनौतीलाई केन्द्रमा राखेर प्रस्तुत गरेको छ ।

उदिप राणा थापाको निर्देशनमा निर्माण भएको यस चलचित्रले नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाएको छ । नेपाली जगतका विख्यात कलाकार सुनिल थापाको भूमिकाले फिल्ममा छुट्टै पहिचान बनाउन सफल भएको छ ।

बीचबीचमा बुद्धि तामाङको भूमिकाले दर्शकलाई हँसाउनेछ । आफ्नो छुट्टै परिचय स्थापित गर्न सफल रहेकी अनि विशेष टिपिकल कथा प्लट माथि अभिनय गर्न रुचाउने सुप्रसिद्ध नायिका सुरक्षा पन्तको भूमिका आकर्षक रहेको छ । गम्भीर अनि सुस्त मनोवैज्ञानिक भूमिका लिएर देखा परेका प्रभात थापाको भूमिकामा बलिउड अभिनेता पंकज त्रिपाठीको छाप देखें मैले । थापाको अभिनय निरन्तर रहे नेपाली सिनेजगतले एउटा स्थापित कलाकार पाउन सक्ने शुभ संकेत मान्न सकिन्छ ।

धागो चलचित्रमा जोडिएका सम्पूर्ण टिमलाई हार्दिक बधाई एवम् असीम शुभकामना व्यक्त गर्दछु ।

दार्जीलिङ