कथा कुमार सरको हो।
सम्झनाले “भक्कु” भनेर गाली गरी मलाई।

रिपन गौतम

 

चुपचाप बस्नु नै बेस हुन्छ यो स्थितिमा । मैले त्यसै गरेँ। गल्ती मेरो हो। हिजाे अबेर गरी म घर आएँ। नानीको एक्जाम समय छ। यसरी ढिलो आए असर मेरो नानीलाई पर्छ। तर के गर्ने ! कोई बेला भइहाल्छ। हिजाे भइहाल्याे । अनि सम्झना रिसाउँछिन्। गाली मैले खानुपर्छ। गजबले खाइयो पनि।

घरमा तनाव छ भने यो बिहान पनि बेलुकी जस्तै हुँदा रैछ। रिम-रिम अंध्यारो। नरमाइलो। त्यही बिहान छ आज मसँग। म चुपचाप छु।
सम्झनाको ठुलो-ठुलो आँखाले मलाई तीनपल्ट हेर्यो।म थुर-थुर भएँ ! आँखामा रिस यथावत छ..!
नारीको आँखादेखि डराउनु पर्छ पुरुष। त्यहाँ कति बेला के हुन्छ थाहा हुँदैन।  म डराएँ। हतार हतार बाथरुम पसेँ।
नानीलाई स्कूलको तयारी पारेर सम्झना किचनतिर गई। मौकामा नानीलाई एक पप्पी गरेँ अनि, “बेस्ट अफ लक्” भनेँ।
सात बर्ष पुगेकी मेरी छोरीले, “थ्याङ्क यु बाबा !” भनी।
मलाई आज अफिस जान मन छैन। नजाने निधो गरेको छु। अनेक सोच्दै थिएँ ।
सम्झनाले ब्रेकफास्टको निम्ति बोलाई ।म लुरू-लुरू गएँ। खुसी भएर निर्धक्क।
नानीको टिफिन बेगमा हाल्दै सम्झनाले भनी-“म पनि पर्सनल टेन्शनमा छु। बेसी कराएँ ! सरी !तर आजदेखि लेट नगर्नु। नानीको फाइनल एक्जाम हुँदै छ।”
म ट्वाँ परी सम्झनालाई हेरिरहेँ।
“आज म अफिस जाँदिन ।” उसलाई भनेँ।
“ईट्स ओके ! भरे नानीलाई रिसिभ गर्नु होला।मेरो अर्को प्रोग्राम पनि छ आज। अफिसमा पनि अडिट चल्दैछ। म भ्याउँदिन।” उसले भनी।
“हुन्छ !”को संकेत मैले टाउको हल्लाएँ।
“हामी गयौँ ।” उसले भनी।
तातोपानी पिउँदै थिएँ। सम्झना र नानी निस्के।
***
बेलुकी नानीलाई स्कूलबाट लिएर घर जाँदै थिएँ। सम्झनाको कल आयो। घर छिट्टो आउने आग्रह थियो उसको। हामी बाबा-छोरी एक क्षणपछि पुग्यौं। मान्छेहरू थुप्रै रहेछन्। तर मैले बुझेको छैन। केही पनि। पछि सम्झनाले हामीलाई देखिन।
छेउमा आई र भनी-“यो सर्पराइज प्रोग्राम हो।आज मेरो इन्गेजमेन्ट !”
सम्झना खुसी थिई। मैले खुसी भएको नाटक गरेर सम्झनालाई बधाई दिएँ।
एकक्षण पछि सम्झनाले एक भलाद्मी मान्छेसँग मेरो परिचय गराई। ऊ नै रहेछन् सम्झनाको हुने हज्बेन्ट-एब्ड्रोट बिजीनेसम्यान्।
घरमा खुसीयालीको माहोल छ। तर यो खुसीयाली उत्सवमा मैले खाएको मिस्टी र चकलेट मलाई बिख जस्तै तितो लाग्यो। मलाई यहाँबाट भाग्नु थियो। सम्झनालाई बिदा मागें।
उसले हामी बाबा-छोरीलाई भनी, “म जहाँ गए पनि तपाईंहरूलाई बिर्सन सक्दिनँ..!”
“वाई आन्टी !” छोरीले पनि बिदा मागी।
सम्झनाको घरबाट हामी निस्क्यौं।
यो कथा कुमार सरले मलाई भने पछि म ट्वाल्ल परेँ।
***
कुमार सर र ममाझ मित्रता गाँसिएको लगभग पाँच बर्ष भएछ। ऊ पहाडबाट मधेस झरेको पनि त्यति नै भयो। बिहापछि छोरीलाई जन्म दिएर पत्नीको देहान्त भएपछि उसलाई गाउँमा बस्न गाह्रो भयो। पछि यहाँ एउटा इन्टरन्याशनल कम्पनीमा काम गर्दा हाम्रो भेट भएको हो। अर्काे बिहे नगरी मुटुजस्तै प्रिय उसको छोरीसँगै  बस्ने निधो गर्यो।
कुमार सरको रेन्ट घरदेखि केही पर बस्ने सम्झनाले यो परिवारलाई आफ्नो जस्तै गरी रेखदेख गर्छिन्। बिहान बेलुकी नानीलाई पढाउन जान्छिन्। सम्झनाको सहयोग र सहायताको कुमार सर सधैं गुनगान गर्छन्।तर आज यो कथा मलाई सुनाउँदा उनको मुख मैले कालो देखें। संयोग त यो भयो यहाँ कुमार सरको स्वर्गीय पत्नीको नाम पनि सम्झना नै थियो।