तपाईंले ‘केरा कला’का बारेमा केही पहिले सुन्नु भएको थियो होला । भित्तामा केरालाई एउटा टेपले टाँसेर लाखौं डलरमा बेच्ने कलाकारले अहिले अर्को उत्पात मच्चाएका छन् । उनले असली सुनको शौचालय बनाएका छन् । आउनोस्, यसका बारेमा विस्तारमा जानौं ।
इटालीका चर्चित कलाकार माउरिजियो कातेलनले १०१.२ किलोग्राम सुन प्रयोग गरेर १८–क्यारेट सुनको शौचालय निर्माण गरेका छन् । अहिले त्यो शौचालय बिक्रीका लागि खुला गरेका छन् । यसको मूल्य हालको बजार मूल्यअनुसार झण्डै १३ अर्ब नेपाली रुपैयाँ रहेको छ ।
उनले यो शौचालय विलासी वस्तु मात्र नभई एउटा ‘कला’का रूपमा परिणत गरेका छन् । कलाकार कातेलनले यसमार्फत् तीखो व्यंग्य गरेका छन् । उनले समाज र इतिहासका वर्जित पक्षप्रति उनले प्रश्न गरेका छन् । यही कारणले विश्वप्रसिद्ध लिलामी गृह सोथबीजले यसलाई आगामी नोभेम्बर १८ मा लिलामीमा राख्ने भएको छ । यो ‘सुनको कमोड’ आफ्नो तौलभन्दा धेरै मूल्यमा बिक्री हुने अपेक्षा सोथबिजले गरेको छ ।
कातेलनले यो कृति सन् २०१६ मा बनाएका थिए । यसको नाम अमेरिका राखेका थिए । यो कृतिको नाममै व्यंग्य लुकेको छ । यसले कला, शक्ति र उपभोक्तावादी समाजको प्रतीक अमेरिकालाई उनले एक शौचालयमार्फत प्रस्तुत गरेका हुन् ।
‘म केही यति चम्किलो र महँगो कुरा त्यस्तो ठाउँमा राख्न चाहन्थें, जहाँ सामान्यतया कोही ध्यान दिंदैन,’ उनले भने, ‘शुरूमा पाइखाना भन्नेबित्तिकै हामीलाई बिहानै आवश्यक पर्ने जरुरी स्थान बुझ्छौं । यो कति महँगो छ, त्यसले हाम्रो जीवनमा खासै फरक पर्दैन । यो ठाउँमा बसिसकेपछि अन्ततः हामी सबै बराबरीका मान्छे बन्न पुग्छौं । त्यो कुरा हामीलाई सबैभन्दा साधारण तर आवश्यक स्थानमा पुगेपछि सम्झना हुन्छ ।’
यसै कारण यो शौचालय चम्किलो धातु होइन, मानव अहंकार र विलासितामाथिको व्यंग्य पनि हो ।
यो शौचालय पहिलोपटक न्यूयोर्कको गुगेनहाइम म्युजियममा सन् २०१६ मा स्थापना गरिएको थियो । जसको उपयोग दर्शकहरूले पनि गर्न पाउँथे । दिनभर एक लाखभन्दा बढी आगन्तुकले लाइनमा उभिएर यो कला ‘अनुभव’ गर्थे । संग्रहालयका कर्मचारीले हरेक १५ मिनेटमा सफा गर्थे किनकि यो कुनै सामान्य शौचालय होइन, कला र सुनको संयोजन थियो ।
पछि यो कृति इंग्ल्यान्डको ब्लेन्हेम प्यालेसमा सारियो । यो प्यालेसमा कुनै बेला प्रधानमन्त्री विन्स्टन चर्चिलले आफ्ना दिन बिताएका थिए । यो चर्चिललाई व्यंग्य गर्न सुनको पाइखाना त्यहाँ प्रदर्शनीमा राखिएको थियो तर २०१९ मा राति केही चोरहरूले हथौडा प्रहार गरी यो शौचालय उखेलेर लिएर गए । महँगो शौचालय चोरी भएपछि प्रहरीले अनुसन्धान थाल्यो तर चोरी पत्ता लगाउन सकेन । त्यो बेला शौचालयलाई सम्भवतः पगालेर बेचिएको हुनसक्ने अनुमान प्रहरीले गरेको थियो ।
यो चोरीको घटनाले यस कृतिलाई अझै चर्चित बनायो र कला बजारमा यसको मूल्य झन् बढायो ।
सोथबीजका कला विशेषज्ञ डेभिड गाल्पेरिन भन्छन्, ‘यो लिलामी सुनको मूल्य होइन, कलाको वास्तविक अर्थको पनि परीक्षा हो ।’
इच्छुक क्रेताले लिलामीअघि शौचालय हेर्न पाउने तर त्यहाँ बस्न भने नपाउने गाल्पेरिनले बताए । उनले भने, ‘मानिसहरूले कलामाथि बसून् भन्ने हामी चाहन्नौं ।’
यो लिलामीले कातेलनको कला इतिहासमा नयाँ कीर्तिमान बनाउने अपेक्षा गरिएको छ । यसअघि उनको सबैभन्दा महँगो कृति ‘हिम’ (ऊ) थियो । सो कृतिमा एडल्फ हिटलरले घुँडा टेकेको दृश्य देखिएको थियो । मैनले बनाइएको सो मूर्ति २००१ मा १७.२ मिलियन डलरमा बिक्री भएको थियो ।
कातेलनको कलामा हास्य र गम्भीरता सँगसँगै हुन्छन् । गत वर्ष उनले बनाएको ‘कमेडियन’ शीर्षकको कृतिले संसारभर चर्चा पाएको थियो । सो कृतिमा केरा भित्तामा टाँसेर बनाएको थियो । सो कृति ६.२ मिलियन डलरमा बिक्री भई विश्वलाई नै चकित पारिदिएको थियो । तर उनको सुनको शौचालय अझ गहिरो प्रतीक हो । धन, धर्म, राजनीति र समानताका प्रश्नहरूलाई यो पाइखानाले एकैचोटि उठाएको कला विशेषज्ञ गाल्पेरिन बताउँछन् ।
गाल्पेरिनको भनाइ छ, ‘यो सुनको पाइखाना मात्र होइन, हाम्रो समाजको प्रतिविम्ब हो । यहाँ सबै कुरा महँगो देखिन्छ, तर साँचो मूल्य त्यो विचारमै लुकेको हुन्छ, जसले हामीलाई समान बनाउँछ ।’
सोधबीजले शौचालयलाई आफ्नो नयाँ म्यानहट्टन मुख्यालयको चौथो तल्लामा प्रदर्शनमा राख्ने बताएको छ । यसको सुरक्षा निकै कडा बनाइएको छ । दर्शकहरूलाई केही क्षण शान्तसँग त्यो ‘सुनको ध्यानस्थल’मा बस्न दिइने बताइएको छ । शायद त्यही क्षणमा, दर्शकले महसूस गर्नेछन्— कला हेर्ने कुरा मात्र होइन, सोच्ने कुरा पनि हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 









