सन् २०२४ मा संसारभर भएका चित्रकला र कलाका अन्य माध्यमहरूको बिक्रीको सारा मूल्यको ४२ प्रतिशत अमेरिकी चित्रकलाका पारखीहरूले तिरेका छन् । भनाइको अर्थ, सारा चित्रकला वा कलाका अन्य माध्यमका जे जति मूल्य लगाइयो, तीमध्ये ४२ प्रतिशत रकम अमेरिकी कलाप्रेमीले तिरेका छन् ।
यस्तै सबैभन्दा बढी कलाको मूल्य तिर्ने देशहरूमा १९ प्रतिशत चीन रहेको छ । १७ प्रतिशत बेलायत र ७ प्रतिशत फ्रान्सले मूल्य तिरेको छ ।
८८ प्रतिशत यस्ता चित्रकलाको किनबेच डिलरहरूबाट खरीद बिक्री हुने गरेको आर्ट बसेल नामक कलामाथि निगरानी राख्ने संस्थाले जनाएको छ । त्यस्तै ६७ प्रतिशत डाक बढाबढ हुने गर्छ । त्यस्तै ४१ प्रतिशत विभिन्न मेलामा यस्ता कलाहरू बिक्रीमा राखिन्छन् भने ११ प्रतिशत कलाका सल्लाहकारहरूमार्फत किनबेच गरिन्छन् ।
सन् २०२३ को तुलनामा क्रिस्टिज्, सोथबेज् लगायतका डाक बढाबढ कम्पनीबाट कलाको बिक्री २६ प्रतिशतले घटेको देखिएको छ ।
यो वर्ष अर्थात् २०२४ मा सोथबाईमा सबैभन्दा बढी महँगो डाक बढाबढ प्रख्यात चित्रकार फ्रान्सिस बेकनले १९६६ मा बनाएको पेन्टिङ पोट्रेट अफ जर्ज डायर क्राउचिङ बिक्री भएको थियो । यसलाई पाँच करोड डलर तिरिएको थियो ।
यसको न्यूनतम मूल्य दुई करोड ७७ लाख राखिएको आर्ट न्युज डटकमले जनाएको छ ।
एउटा सर्भेका अनुसार ४० प्रतिशत चित्रकला किन्नेहरू आनन्दका लागि किन्छन् । २४ प्रतिशतले भविष्यको लगानीका लागि किन्ने गर्छन् भने एक प्रतिशतले भने दानको लागि किन्ने गर्छन् ।
सन् २०२४ मा ७२ प्रतिशत क्रेताले त वास्तविक रूपमा कुनै चित्रकला नहेरीकनै सिधै अनलाइनबाट किनेका थिए । यस्तै ४३ प्रतिशतले इन्स्टाग्रामबाटै चित्र किनेका थिए । जबकि, यस्ता कलाहरू वास्तविक हुन् या होइनन् भनी यकिन गर्न सिधै सामग्री वा चित्रकला नै हेर्ने गरिन्छ । हेरिसकेपछि वास्तविक भएको यकिन भइसकेपछि मात्र किन्ने पहिलेको चलन हराउँदै अहिले इन्स्टाग्रामबाटै हेर्ने र किन्ने गर्न थालिएको आर्ट बसेल नामक संस्थाले जनाएको छ ।
वालस्ट्रिट जर्नल पत्रिकाका अनुसार यस वर्ष लगानीकर्ताका रूपमा परिचय कमाएका केन ग्रिफिथले चार करोड ४६ लाख डलरमा एउटा डायनासोरको कंकाल किन्नुलाई धेरैले आश्चर्यको रूपमा लिएका थिए ।
आशाको विपरीत यसलाई केनले तीन करोड ८६ लाख डलर बढी रकम तिरेकामा धेरैले आश्चर्य मानेका थिए ।
पछिल्लो समय अल्ट्रासमकालीन चित्रकारहरूको जगजगी बढ्न थालेको छ । उनीहरूको सहभागिता ४८ प्रतिशतले बढ्न थालेको छ । अल्ट्रासमकालीक चित्रकारहरूमध्ये लिनेट यिदम बोकी सबैभन्दा बेस्टसेलर कलाकार बन्न पुगेकी छन् । उनले ७६ लाख ८० हजार डलर बराबरका चित्रकलाहरू बेचिन् ।
जेफ कून्सले बनाएका चन्द्रमाको ससाना १२५ वटा मूर्तिकलाहरूलाई यस वर्ष अन्तरीक्षमा पठाइएको छ । अन्तरीक्षमा कुनै कला पठाइएको यो पहिलो अवसर बन्न पुगेको द न्यू योर्क टाइम्सले जनाएको छ ।
अमेरिकी युवाहरूमाझ गरिएको एउटा सर्भमा ७५ प्रतिशतले लियोनार्दो दा भिन्सी सबैभन्दा लोकप्रिय कलाकार रहेको देखाएको छ । त्यस्तै एन्डी वार्होल दोस्रो नम्बरमा रहेका छन् । उनलाई ५१ प्रतिशतले रूचाएको देखिएको छ भने तेस्रो नम्बरमा २८ प्रतिशतको मतसहित मार्क रोथ्को रहेका छन् ।
यही वर्ष जस्ट स्टप ओयल नामक संस्थाका अभियन्ताहरूले भिन्सेन्ट भान गगको सूर्यमुखी फूलका दुई चित्रकलामा सुप फ्याँकेर चर्चामा आएका थिए । नेसनल ग्यालरी लन्डनले त्यसयता म्युजियमभित्र छिर्दा कुनै पनि किसिमको तरल पदार्थ लैजान प्रतिबन्ध लगाएको छ ।
अमेरिकामा १९ प्रतिशत वयस्कहरूले कम्तीमा तीन महिनामा कुनै चित्रकला प्रदर्शनीमा जाने गरेको बताएका छन् ।
एउटा सर्भेअनुसार पछिल्लो समय निकै चर्चामा रहेको एनएफटी कलाको मृत्यु भएको विश्वास ९५ प्रतिशत कलाप्रेमीहरूले गर्न थालेका छन् । आर्ट न्युजको सर्भेअनुसार एनएफटीमा लगानी गर्नेहरूमध्ये ४४.५ प्रतिशतले आफ्नो लगानी डुबेको प्रतिक्रिया दिएका छन् । कुनै समय एनएफटी सुरक्षित लगानीका रूपमा लोकप्रिय थियो ।
स्टाटिस्टाले गरेको सर्भेअनुसार, कुनै कलाकारले बनाएको ओरिजनल कामलाई आर्टिफिसियल इन्टेलिजेन्सले पुनः बनायो वा प्रयोग गर्यो भने कलाकारलाई उसको सिर्जनाबापत केही रकम दिनुपर्ने धारणा ७० प्रतिशत सर्भेसहभागीहरूले मत जाहेर गरेका छन् । यस्तै ७६ प्रतिशत वयस्कहरूले एआईले बनाएका कुनै पनि चित्रकलालाई कलाका रूपमा मान्यता दिन नहुने धारणासमेत राखेका छन् ।
यस वर्षको सबैभन्दा चर्चित कला इटालीका कलाकार माउरिजो क्याटलनले बनाएको कमेडियन शीर्षकको केरा रहेको छ । गत नोभेम्बर महिनामा यसको डाक बढाबढ हुँदा क्रिप्टो करेन्सी कम्पनीका अर्बपति मालिक जस्टिन सनले ६२ लाख (करसहित) तिरेका थिए । उनले केरा किनेको ९ दिनमा घोषणा गरेअनुसार सबैका सामु खाएका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।