“आउनुहोस् । आउनुहोस् !!” म अनुहारमा कृत्रिमता भए पनि आनन्दका रेखा ल्याउने प्रयत्न गर्दै पाहुनातिर हेरेर मुस्कुराउँदै भन्छु । म साँच्चै नै चाहिएको भन्दा धेरै मात्रामा सफल भएछु क्यार, र त पाहुनाले पनि सुटकेस तल राख्दै भने, “खड्‌काज्यू । तपाईंको यो हँसिलो अनुहारले साँच्चै मलाई‘मात्र होइन, मेरा जम्मै परिवारसम्मलाई मोहनी लाएको छ यसैले म एक्लै शिलाङ आएर घुम्नु पनि हुन्छ र असल कुरो तपाईंसँग भेटघाट पनि हुन्छ भनेर आउन खोजेको त घरका जम्मै गृहिणीबाट लिएर पाँचवटा छोराछोरी पनि पछि लागेर आए ।”

मेरो टाउकोमा नै ताकेर कसैले बन्दुक पड्‌काएझैँ लाग्छ । म टाउको समाएर बस्न खोज्छु (अघि आफू बसेको मुढा त नानीहरूले कति बेला भित्र पुऱ्याइसकेछन् ।) म सोझै भुइँमा थचारिन पुग्छु । थपडी मार्दै हाँसेको सुनेर यसो हेर्छु त पाहुनाका चिचिन्डाहरू थपडी मार्दै मरीमरी हाँसेका । म केही नभएझैँ गरेर सुस्तसाथ उठेर, “उर्वशी । ए उर्वशी !!” भन्दै भीमकी आमालाई बोलाउँछु । धेरैपल्ट बोलाउँदा पनि नसुनेकोमा (हुन त पाहुनाको गन्ध पाउने बित्तिकै ऊ बहिरी हुन्छे) म आफैं भित्र पस्छु र ओछ्यानमा भित्तातिर मुख गरेर सुतिरहेकी पत्नीलाई झकझकाउँदै भन्छु, “उर्वशी । उठ् त, बाहिर…” मेरो कुरो नसकिंदै उर्वशी फनक्क मतिर फर्केर भन्छे, “के हो ? यसो टाउको दुखेर पल्टनु पनि नहुने, बोलाएको बोलायै गर्ने ।”

उर्वशी नबोलेर बस्दा त उसका दुईपट्टिका दाढे दाँतका टुप्पा ओठबाहिर देखा पर्थे, झन् अहिले मुख चलाउँदा त ती लामालामा दाँत स्पष्ट देखिएर उसको कलकलाउँदो अनुहार र नेप्टो नाकलाई अझ विकृत पारिदिएको थियो । उसको नाउँ सुनेर नै मक्ख परी गाउँलेका भनाइमा लागेर पात्रो नहेरेर नै आमाबाबुको आज्ञाकारी पुत्र श्रवणकुमार होइटोपलेको मलाई थाहा थिएन मानिसको नाउँ र रूपमा त्यतिको फरक हुन्छ भनी । तर हिजोआज प्रत्येक वस्तुको बाहिरी लेबल हेरेर नै मोल तोकिन्छ, भित्री चाहे जस्तोसुकै होस् भन्ने सोचेर मन बुझाएँ । मानिसको पक्षमा पनि त यो व्यवहार गर्न सकिन्छ नि ।

तर ठगिनु त ठगिनु राम्रै चालले ठगिनु । कहाँ इन्द्रकी अप्सरा उर्वशी अनि कहाँ मजस्तो मरन्च्याँसे करङेकी पनि अप्सरा हुन नसुहाएकी यो उर्वशी । जे होस् भाग्यमाथि गुनासो गर्दागर्दै तीन-तीनवटा छोराछोरी पनि भैसके । अब त कहिलेकहिले यसो उर्वशीलाई हेरिरहँदा म उसलाई साँच्चै नै अप्सरा र आफूलाई इन्द्र सम्झन लागेको छु ।

भान्सा गरीवरी पाहुनाले घुम्न जाने प्रस्ताव राखे र म पाहुनाको बथान लिएर हिँडेँ- शिलाङको चिसो हावा खुवाउन । दिनभरिमा यताउता गरेर रुपियाँ गोडा पन्द्रेक उपियाँ जत्तिकै फड्‌केछन् । खर्च गर्दिनँ भन्दाभन्दै पनि आफ्नो प्रेस्टिज राख्नको निम्ति ती केटाकेटीले खान्छु भनेको, श्रीमती (पाहुनाकी) ले “हिँड्न सक्तिनँ, टेक्सीमै जाऊँ” भनेकोले खर्च भैहाल्यो, तर घरभित्र पाइलो राख्दानराख्दै ती छौंडाहरू मेरा छोराछोरीलाई बखाल्न लागे, “हामीलाई काकाले मिठाई खुवाउनुभो, टेक्सीमा घुमाउनुभो…” इत्यादि । भो त अब । लागे मेरो घरका बाँदरहरू (छोराछोरी) पनि उफ्रन र खुट्टा बजार्न । उता मेरी श्रीमतीको रङ्ग बदलिएर नीलो हुँदै गयो अनि मेरो चाहिँ भित्रभित्रै नौनाडी गलेर आए ।

पाहुना ! पाहुना !! पाहुना पनि साँच्चै नै मेरो घरमा त कति आएका हुन् कोनि । महिनाको २०/२२ दिन पाहुनाले गर्दा खाटको अनुहार नै देख्दिनँ । कारण, पाहुनालाई भुइँमा ओछ्यान लाइदिएर आफू पलङमा सुत्नु पनि नसुहाउनाले, भन्नोस् मन मान्दैन र पलङ उनीहरूलाई छोडिदिए आफू घरकाहरूचाहिँ चूलाकोठामा यसो फाटेका बोरा टुक्राहरू गाँसेर बनाइएका गदेला ओछ्याएर ढाड सोझ्याउनुपर्छ । घरका जहान पनि किन वाक्क नहुन् । आफ्नो घरको पिरलो त छँदैछ, त्यसैमाथि पाहुनाको ठस्सा सहनुपर्ने । भएन यो चर्को दामको समयमा एक्लो मानिसको सीमित आयमा यसै त पाँच-पाँच जना (तीनवटा छोराछोरी र हामी दुई जना) प्राणीको भुँडी भर्नुपरेको छ, त्यसैमाथि पाहुना पनि कस्ता माछामासु नभए खान्की घिस्रोबाट तल नझर्ने । ठाउँ हेर्ने सोख तर गाडीभारा तिर्न भनेपछि अनकनाउने र कतिले त “ए हतारमा मनिबेग पनि घरैमा पो बिर्सिएछु” भनेर घर फर्कने खर्चसम्म माग्ने । साँच्चै नै मलाई कहिले कहिले त कसैलाई नचिनूँ र चिनेकालाई पनि बिर्सिदिऊँ कि झैँ लाग्छ । तर के गर्नु स्मरणशक्ति तेज भएकोले कहिल्यै यसो दुई मिनेट देखेको मानिसलाई पनि वर्षौंपछि भेट्दा पनि चिनिभ्याउँछु र उसले “तपाईंले शिलाङ घुम्न आउनुहोला भन्नु भएको थियो ।” भन्दै उसका शाखासन्तान लिएर घरमा आएर मेरो अघि ठिङ्ग उभिदिँदा पो मलाई त त्यसै बेला धरती फाटिदिएर सीताझैँ म पनि धरतीभित्रै पसेर बिलाउन सके त हुन्थ्यो झैँ लाग्दछ । तर यहाँ आजको युगमा न त सीता नै हुन सकिन्छ न त धरती नै फाट्छ ।

मेरो परिस्थिति चाहिँ “भीरको चिन्डो, उँधो न उँभो” भनेझैँ पाहुनालाई खेद्न पनि सक्तिनँ, यता श्रीमतीको मन पनि दुखाउन चाहन्नँ (तर खास कुरो चाहिँ उसको मन दुखेकोमा मलाई उति वास्ता छैन, मात्र ऊ ठुस्किई भने भात खान नपाएर मेरो आन्द्रा सुक्छ कि भन्ने पीरले मात्र हो नि । तर उसका कानमा यो कुरा नपरोस् नि । तपाईं र ममा मात्र सीमित रहोस् है ।)

छोराछोरी पनि मेरा त कस्ता हुन् कोनि । यो भीम सानोमा निकै गोथल्के देखिन्थ्यो र बाहुनले न्वारनमा राखिदिएको नाउँ सिन्केबहादुर नभनेर मैले आफै नाउँ राखिदिएँ “भीम” । भर शास्त्र झूटो कहाँ हुन्थ्यो र ? दिनदिनै उही बाहुनले राखेको नाउँलाई पहिल्याउँदै सिन्काझैँ हुँदै गयो र अहिले त ऊ मेरो छोरो होइन भन्दा पनि “हो” भनेझैँ करङ बाहिरैबाट गनिन सकिने र आमाको नाक र दाँतसमेतलाई लिएर बढ्दैछ । अरूको पनि चाला उही त होला। अब त “ठूलो भएपछि मात्र आफैं सलक्क हुन्छ, अहिले त दूधे गालाले गर्दा नेप्टो देखिएको हो” भन्ने कुरामा ठ्याम्मै विश्वास गर्न छोडो ।

पाहुनाले “आज त सारै नै हरिणको मासु खान मन लागेको छ” भनेर उनकी श्रीमतीसँग मासु ल्याउने पैसा माग्दा “यो घर हो र मैले बाकस खोलेर पैसा दिनु ।” भन्ने उत्तर पाएर दुईको माझमा तर्क परेर चरम सीमामा पुग्न आँट्दा मैले “हुन्छ म ल्याइहाल्छु नि मासु त, तर यहाँ हरिणको मासु आलो नपाइएला जस्तो छ त…” भन्दा पाहुनाले आफ्नै दुई वटा आँखाले बजारभरि हरिणको मासु काटेर बेच्तै गरेको प्रमाण दिन मसँग उत्तिनखेर जान तयार भए । अब पर्‍यो मलाई फसाद । बाकसमा भएको अन्तिम पुँजी दशको नयाँ नोट झिकेर हिँडो झोला बोकेर पाहुनासित बजारतिर । अघिअघि छिटछिटो खुट्टा चाल्दै हिँडेको पाहुना (मानौँ मासु हामी बजार पुग्दासम्ममा बेचिसकिन्छ भनेझैँ) र पछिपछि लतरङ्ग परेर हिँडेको म, बलि दिन लगिएको बोकोझैँ ।

बजार गरीवरी घर फर्कंदा दैलोभित्र पस्दानपस्दै छोराछोरीले पञ्चेबाजा ठोकेर घरै उचालेको सुनेर भित्र पसी हेर्छु त घरमा भएको त्यही माझमा चर्किएको भए पनि मुखमण्डल हेर्ने एक मात्र साधन ऐनाका असङ्ख्य टुक्रा भुइँभरि छरपस्ट भएर टल्केका र भीमको त्यही नेप्टे भए न ‘छ’ भन्ने नाकको ससाना प्वालबाट अबिरल गतिले रगत बगेर उसको करङे छाती, मुख जम्मै रक्ताम्मे पारेर उत्तानो परी नरकासुरको रूप धारण गरेर पल्टेको, अनि छेवैमा उभिएका थिए पाहुनाका चिचिन्डाहरू कम्मरमा हात राखेर युद्धविजय गरेका योद्धाहरूझैँ । रोएको को रहेछ त भनेर यसो हेर्छु त मेरा दुई वटा छोराछोरी सुँक्कसुँक्क गर्दै कुनामा उभिएका (शायद म आएको चाल पाएर पञ्चेबाजाको स्वर कमाएका होलान्) श्रीमतीहरू कता गएछन् त भनेर भित्र चूलामा पसेर हेर्छु मेरी चाहिँ एउटा कुनामा ओछ्यान लाएर भित्तासित मितेरी लाएर पल्टिरहेकी अनि पाहुनाकी चाहिँ सुटकेसमा लुगा मिलाउँदै गरेकी र केटाकेटी पनि बिहानदेखि भोकाएका र आफैलाई पनि भोक लागेकोले आफैँ भान्साकोठामा पसो र मीठोमसिनो जेजस्तो भए पनि पकाएर खुवाएँ । खाइसकेपछि पाहुनाले अप्ठ्यारो मान्दै जाने खर्च रिनकै रूपमा मागे अनि उनी घर पुग्नेबित्तिकै टी.एम्. ओ. गरेर पठाउने बाचा पनि गरे (टी. एम्. ओ. गरेर पठाउने बाचा गरी अरू दुई-एक जनाले पनि पैसा लगेका हुन् तर अहिलेसम्म टी.एम्. ओ. आइपुगेको छैन) र पनि उनीहरू जान्छन् भनेको सुनेर हतारहतार पर हरिहरकहाँबाट सयकडा दशको हिसाबले पचास रुपियाँ ल्याएर पाहुनालाई चालिस रुपियाँ दिएर बिदा गरेँ ।

पाहुनालाई बिदा गरेको भोलिपल्ट बचेको दश रुपियाँले बजारमा गएर खसीको मासु (फिलाको हेरेर) आधा किलो र मरमसला पनि ल्याएँ, साथै छोराछोरीका लागि बेलुन र उर्वशीका निम्ति जाफरानी जर्दा (जो उसले चौपट्टै रुचाउँछे) लिएर आएँ । “अँ… चार दिनको क्याजुअल लिभ त यसै गयो भने आज पनि आरामै गरूँ” भन्ने सोचेर जर्दा पाएर फुरुक्क परेकी उर्वशीलाई भान्साकोठातिर पठाएर म यसो ओछ्यानमा ढल्केर पत्रिका पढ्‌दै थिएँ, छोराछोरी बेलुन पाएर र मासुको गन्ध पाएर उफ्रँदै थिए-हठात् कसैले ढोका ढकढकाएझैँ सुनो । प्रथमतः भ्रम भन्ठानो तर क्रमशः तीव्र हुँदै गएको शब्दले मलाई उठ्नै करै लाग्यो । आर्मस्ट्रोङ चन्द्रमामा पुग्न खोज्दा जत्तिको हृदयगति बढेझैँ लाग्छ । म मन नगरी नगरी दैलो खोल्छु भनन रिङटा लाग्छ अनि अन्धकारैअन्धकार ।

आँखा खुल्दा आफूलाई ओछ्यानमा र चारैतिर नयाँ पाहुनाका हूल पाउँछु । म धमिलिंदै गएका आँखाले गन्ने प्रयास गर्छु- “एक, दुई, ती… ई… ई… ई ।”

(माया ठकुरीको कथासंग्रह ‘गमलाको फूल’)