भारतीय नेपाली भाषी समुदायको साहित्यिक अभिव्यक्ति समय, समाज, र राजनीतिक घटनासँग गहिरो रूपमा जोडिएको हुन्छ । यसैले भारतीय नेपाली भाषी समुदायको सबैभन्दा तिखो स्वर नै यसभित्रबाट आउने साहित्यिक अभिव्यक्ति हो । यस साहित्यिक अभिव्यक्तिभित्र समाज अनि समयसँग जोडिएका यहाँका मुद्दा, घटना अनि सरोकारहरू मुख्य रूपले रहेका हुन्छन् । जुलाई २०२२ मा बुकआन्ट, सालबारीबाट प्रकाशित काँसभाँडा कविता सङ्ग्रह भारतीय नेपाली समकालीन कविताको महत्त्वपूर्ण दस्तावेज हो । यस कृतिका कवि प्रणय शङ्कर भारतीय नेपाली साहित्यका क्षेत्रमा देखिने एकजना सशक्त कवि, समालोचक व्यक्तित्त्व हुन् । यस कृतिभित्र पाइने छुट्टै काव्यिक परिपाटीका कारण काँसभाँडा विशेष छ । यसैले काँसभाँडा कविता सङ्ग्रह भारतीय नेपाली समकालीन कविताका लहरमा देखिने एउटा विशेष कृति हो । प्रणय शङ्करकृत यस काँसभाँडा कविता सङ्ग्रहले भारतीय नेपाली भाषीका सामुदायिक अभिव्यक्तिको एउटा दह्रिलो पक्षलाई समेटेको छ । यसलाई हेर्न अनि अध्ययन गर्न उत्तिकै दह्रिलो विचार चेतना चाहिन्छ ।

यस सङ्ग्रहभित्र कविताहरूलाई विभिन्न खण्डअन्तर्गत राखिएका छन् । प्रत्येक खण्डलाई चिनाउन कविताको ताक भनेर लेखिएको छ अनि यसभित्र पर्ने कविताहरूबाट एउटा प्रतिनिधि कविताको शीर्षकले त्यस खण्डको उप-शीर्षक बोकेको छ । पहिलो खण्डअन्तर्गत कविताको ताकभित्र हत्यारा उप-शीर्षक रहेको छ जसभित्र ११ वटा कविता रहेका छन् । दोस्रो खण्डअन्तर्गत कविताको ताकभित्र कुकुलढुकको घर उप-शीर्षक रहेको छ जसभित्र १० वटा कविता रहेका छन् । तेस्रो खण्डअन्तर्गत कविताको ताकभित्र राप उप-शीर्षक रहेको छ जसभित्र ११ वटा कविता रहेका छन् । चौथो खण्डअन्तर्गत कविताको ताकभित्र तिसिथा उप-शीर्षक रहेको छ जसभित्र आठ वटा कविता रहेका छन् । पाँचौँ खण्डअन्तर्गत कविताको ताकभित्र टसको फोकसभा भ्रम उप-शीर्षक रहेको छ जसभित्र सातवटा कविता रहेका छन् अनि छैटौँ खण्डअन्तर्गत कविताको ताकभित्र कटुसको ठुटा उप-शीर्षक रहेको छ जसभित्र ११ वटा कविता रहेका छन् ।

समग्रमा, यस कविता सङ्ग्रहभित्र झन्डै पाँच दर्जन कविता रहेका छन् । प्रत्येक खण्डभित्रका कविताहरूले नौलो आयाम अनि अभिव्यक्ति बोकेका छन् । खण्ड-खण्डमा उप-शीर्षक दिँदै कविले आफ्ना कवितालाई यसरी राख्नमा अति नै ध्यान पुऱ्याएका छन् जो नितान्त आवश्यक पनि रहेको पाइन्छ । प्रत्येक कविता अभिव्यक्तिका दृष्टिले अनि यसका विचार चेतनाका दृष्टिले दह्रिला अनि कसिला छन् । यिनै कुराहरूलाई ध्यानमा राखेर यस सङ्ग्रह भित्रका हत्यारा उप-शीर्षकभित्रबाट एउटा कविता फ्रात्रीसाइड-को प्रतिच्छेदन गरिने यहाँ जमर्को रहेको छ ।

ल्याटिन शब्दको ‘फ्रात्रीसाइड’ (fratricide) लाई fraticidium भनिन्छ । यो शब्द frater अर्थात् ‘भाइ / दाजु’ अनि cidium अर्थात् ‘मार्नु’ दुइवटा पदावली मिलेर बनिएको शब्द हो । शब्दकोशमा fratricide को अर्थ-‘आफ्नै दाजु-भाइलाई मार्ने क्रिया’ भनेर देखाइएको छ ।

धार्मिक ग्रन्थ अनि मिथक प्रसङ्गमा यसका दृष्टान्त धेरै देख्न पाइन्छ । महाभारत-मा अर्जुनले आफ्नै भाइ कर्णको फ्रात्रीसाइड गर्दछ । कर्ण आफ्नै भाइ हो भन्ने कुरा अर्जुनलाई थाहा हुँदैन । आफ्नो छोरा अभिमन्युलाई चारैतिरबाट घेरेर विभत्स ढंगमा हत्या गरेको प्रतिशोधमा अर्जुनले आफ्नो छोराका हत्याराहरूलाई सोही ढंगमा मार्ने प्रतिज्ञा गरेको हुन्छ । अभिमन्युलाई मार्ने समूह भित्रका कर्ण पनि एकजना भएको हुनाले अर्जुनले कर्णलाई मारेको हुन्छ । सत्ता हत्याउन आफ्नै सन्तानसँग पनि लडाइँ  गर्न पछि नहट्ने दुर्योधनको पक्षमा कर्ण उभिएको हुन्छ । ऊ आफ्नैलाई मार्न वा नाश गर्न दुश्मनको पक्षमा उभिएको हुन्छ ।

बाइबलको ‘उत्पत्ति’ अध्यायभित्र अब्राहमका दुई सन्तान काइन् अनि आवेलको दृष्टान्तले अब्राहमीय धर्म अनुसार बाइबलभित्र आफ्नै दाजुले आफ्नै भाइको हत्या गरेको देखाइएको पहिलो घटनाको रूपमा यसलाई पाइन्छ । बाइबलको यस दृष्टान्तअनुसार, बारीमा काम गरिरहेको मौका छोपेर काइनले आवेललाई मारेको हुन्छ । आफ्नै सन्तानमा भएको यो हत्या, बाइबलमा वर्णित पहिलो ‘फ्रात्रीसाइड‘को रूपमा देख्न सकिन्छ ।

साहित्यका सन्दर्भमा देख्न सकिएका ‘फ्रात्रीसाइड‘हरूमध्ये शेक्सपियरको हेमलेट‘मा क्लाउडिउसले आफ्नै दाजु राजा हेमलेटलाई डेनमार्कको सत्ता हत्याउन हत्या गर्दछ अनि आफ्नै भाउजुलाई बिहे गर्दछ ।

यसरी नै साहित्यमा अर्को उल्लेखनीय फ्रात्रीसाइड जर्मन साहित्यिक कृति ‘Ein Brudermord’ अर्थात् ‘A Fratricide’ भन्ने लघुकथा सङ्ग्रहभित्र लेखक फ्रान्ज काफ्काले अति विभत्स फ्रात्रीसाइड देखाएका छन् ।

साहित्यका विविध सन्दर्भहरूभित्र यसरी समाज अनि समयसँगै धेरै यस्ता कृतिहरू लेखिएका छन् जसभित्र आफ्ना सन्तान अर्थात् दाजु भाइको हत्या भएको छ । नेपाली साहित्यका सन्दर्भमा पनि यस्ता धेरै कृति देखा परेका छन् जसको विवरण धेरै लामो हुन सक्छ । नेपालबाट सत्य घटनामा आधारित फ्रात्रीसाइडको कथा बोकेको आख्यान कृष्ण अविरलको ‘रक्तकुण्डलाई लिन सकिन्छ । भारतीय सन्दर्भमा सिङ्गो कृतिभित्रै चर्चा नभए पनि आफ्ना कविता सङ्ग्रह ‘काँसभाँडाभित्रका एउटा कवितालाई प्रणय शङ्करले फ्रात्रीसाइड भनेर लेखेका छन्  ।

उनले काँसभाँडा‘मा फ्रात्रीसाइड कवितालाई एउटा समय अनि समाजको वास्तविक घटनासँग जोड्दै एउटा विशेष अवसर बनाएका छन् । त्यस अवसरभित्र भारतीय नेपाली समुदायका समाज-राजनैतिक अवस्थाका दुस्साहसी बहादुरी अनि पछितोको पहाड राखिएको छ । प्रणय शङ्करले फ्रात्रीसाइड कविताद्वारा भारतीय नेपाली समुदायका सामूहिक सङ्कटलाई देखाउँदै २१ मई, २०१० मा दार्जीलिङको मुटु क्लबसाइडमा घटेको एउटा वास्तविक घटनाको उल्लेख गरेका छन् । उक्त घटनाका वास्तविक पात्र जति नै साङ्केतिक बनाउन खोजे पनि त्यस सङ्केतभित्र मदन तामाङ स्वत: देखा पर्दछन् ।

मदन तामाङ

मदन तामाङ, तत्कालीन राजनैतिक परिदृश्यमा अखिल भारतीय गोर्खा लीगका मात्र नभएर समयकै एकजना ओजस्वी राजनैतिक व्यक्तित्व थिए । उनको व्यक्तित्व अनि भारतीय नेपाली भाषी समाज सदैव एकार्कामा भेट भइरहने सन्दर्भ हुन् । उक्त दिन, दिनको उज्यालोमा उनकै गर्दन काटिन्छ । भारतीय राजनीतिमा मदन तामाङ नेपाली भाषी समुदायका निम्ति लड्दा-लड्दै यस संसारबाट सधैँका लागि बिलाउँछन् । मानिसहरूले उनलाई शहीद भनेका छन् । उनलाई दिनको उज्यालोमा आक्रमण गर्नेहरूलाई हामी कानूनी भाषामा हत्यारा, अपराधी भन्छौँ । ती हत्याराहरू आजसम्म पक्रा परेका छैनन् । अनि यस मुद्दा कानूनी रूपमा आजसम्म न्यायलयमा विचाराधीन छ । यसबारे धेरै अड्कल अनि काल्पनिक विचारहरू गैरकानूनी हुन सक्छन् । तथापि भारतीय नेपाली साहित्यले प्रत्यक्ष रूपमा कुनै एउटा सत्य घटनालाई लिएर अभिव्यक्त दिन सकेको साहित्य शायद फ्रात्रीसाइड नै पहिलो हुन सक्छ ।

प्रणय शङ्कर आफ्ना कविताभित्र आफ्ना सन्तानले आफ्नै सन्तानलाई हत्या गरेको घटनालाई उजागर गर्दै उक्त घटनालाई ‘हत्या’ शब्दभित्र होइन तर फ्रात्रीसाइड-भनेर हेर्न रुचाएका हुन सक्छन् भन्ने अड्कल गर्न सकिन्छ । कारण शब्द्कोशीय अर्थअनुसार फ्रात्रीसाइडको अर्थ नै ‘आफ्नै दाजु-भाइलाई मार्ने क्रिया’ लेखिएको छ । भारतीय बृहत् राजनैतिक गतिमा बारम्बार छोडिन पुगेका नेपाली भाषी समुदाय अनि यस समुदायभित्र देखिएका लक्ष्यहीन प्रयासहरूलाई अदृश्य अनि अप्रत्याशित फ्रात्रीसाइडहरूले डर देखाएर बसिरहेका छन् । प्रणय शंकर संस्मृति साहित्यभित्र मदन तामाङलाई फ्रात्रीसाइड कविताभित्र संस्मरण गर्ने सम्भवत: पहिलो भारतीय कवि हुन सक्छन् ।

फ्रात्रीसाइडको पहिलो लहरदेखि नै कविले एउटा घटनाको विवरण शुरू गरेका छन् जो उक्त ऐतिहासिक २१ मई दिनलाई आजका समय अनि समाजले ‘परम उत्सर्ग दिवस’ भनेर नामकरण गरेका छन् । कविताले त्यसदिनको घटनालाई साङ्केतिक व्याख्या गर्दै, २१ मईको ऐतिहासिक दिनलाई स्मरण गराउँदै, कविताको पहिलो लहर यसरी शुरू भएको छ-

‘२१ मई २०१०-को बिहान

हतारमा चौरस्ता

क्लब साइडमा हठात् धक्कामुक्कीको खबर

‘सुन्नुहोस् न भाइ, मेरो कुरा सुन्नुहोस् न!’

अनि कविताको अन्त्य लहरमा-

‘पहाडबाट

एउटा गतिलो पहाडे आँटको

बिस्तारै निर्वासन !’ लेखिएको छ  ।

सुन्नुहोस् न भाइ, मेरो कुरा सुन्नुहोस् न !’

कविताको यस लहरले सामाजिक आग्रहलाई दर्शाउँछ भने कविताको अन्त्य लहरमा लेखिएको – ‘पहाडबाट एउटा गतिलो पहाडे आँटको विस्तारै निर्वासन!-ले नेताको स्मृतिलाई सामाजिक विमर्शमा कसरी पुनःस्थापित गरिंदैछ भन्ने कुराको चित्रण गर्छ ।

कविताको पहिलो लहर शुरू भएर अनि अन्तिम लहर शुरू हुनभन्दा अघिका अट्ठाइस् लहरभित्र फ्रात्रीसाइड-को पूर्ण विवरण लेखिएको छ अनि फ्रात्रीसाइडको अज्ञात कर्ताको विवरण जीवन्त ढङ्गमा कविले वर्णन गरेका छन् । कविताले बोकेका चार लहरको यस विवरणले तत्कालीन समय अनि समाजको निर्बल अवस्थाको खिल्ली उडाएको छ अनि त्यस निर्बल समाज अनि समयभित्र फ्रात्रीसाइडको अदृश्य पात्र उत्तिकै सुरक्षित अनि दोषरहित बनाइएको छ । तर कविले अदृश्य शक्तिको आश्रयमा आजसम्म लुकेर बसेको त्यस पात्रलाई देखाउने प्रचेष्टा गरेका छन्; अनि उसका बारेमा सबैलाई बताउने चेष्टा गरेका छन्-

‘निर्दोष रगतको तरल डोब चुहाउँदै

भीडको पछिपछि लुक्दै भागिरहेको

नाङ्गो खुकुरी

चोट्टा खुकुरी !’    

भीडको पछिपछि लुक्दै भागिरहेको फ्रात्रीसाइडको अदृश्य पात्रको हातमा भएको खुकुरीबाट निर्दोष रगतको डोब चुहिरहेको दृश्यको वर्णन कविले कहिले बिर्सन नसकिने घटनाका रूपमा अत्यन्तै साहसिक ढङ्गमा चार लहरे विवरण बनाएर झल्झली चित्रात्मक बनाएर देखाएका छन् । त्यो पात्र नाङ्गो खुकुरी बोकेर भीडको पछिपछि छ । भीडलाई थाहा होस् कि नहोस् ऊ चोट्टा खुकुरी बोकेर अघि बढिरहेछ भीडभित्र, भीडसँगै; मानौँ कालान्तरमा पुन: अर्को फ्रात्रीसाइड हुन सक्छ । वास्तविक समय अनि समाजले भन्न नसक्ने सबैभन्दा ठूलो डर नै त्यो अदृश्य पात्रको नाम हो । उसले गरेको फ्रात्रीसाइड एउटा युगलाई पुग्ने डरको मिथक ग्रन्थ हो जो बारबार पढिन्छ, बन्द गरिन्छ, राखिन्छ अनि कुनै युगमा एकजना आएर त्यसलाई पुन: खोलेर हेर्नेछ भन्ने आशा गरिन्छ । त्यस घटनाको विवरण कविले कविताभित्र यसरी गरेका छन्-

‘छेवैको होटलको छतबाट एक्कासि

हच्केर उडेका परेवाहरू

मध्य सडकमा रक्त्ताम्मे रोडाहरू

हत्केलाले थाम्न नसकेर औँलाहरू

माझबाट

चुहिरहेका रगतका भुल्का अनि पीडाका थोप्लाहरू….!’

उक्त घटना, एक समय, दार्जीलिङको क्लबसाइडमा, दिनको उज्यालोमा भएको घटना हो ! यति भन्न संसार डराइरहेको बेला कविले तत्कालीन समय अनि समाजका डरपोक हृदयलाई कविताका शब्दहरूले प्रतिच्छेदन गर्न चाहेका छन् । त्यस युगका डरपोक भीडलाई बारम्बार उक्त घटना सम्झाउन चाहेका छन् । एउटा निर्दोष मान्छेको रगत, बिना कारण बगेर सडक भिज्यो, जहाँ दार्जिलिङका मानिसहरूका हजारौँ सपनाहरू कोरिएका थिए । मानिसहरू उनको आवाजमा आफ्ना आवाज सुन्थे अनि उनको साहसभित्र आफ्ना डर, भयलाई समेटिएका पाउँथे । भारतीय गोर्खे समाजमा फ्रात्रीसाइडले मानिसका आकांक्षालाई अत्याचार गरेका कुरालाई कविले भविष्यका युगलाई सम्झना गराउन यसो लेखेका छन्-

‘यसरी समय थामिएको बीभत्स क्यान्भस देख्न नसकेर

छातीमा उठेको डरको लहर कानमा फुटेर

छरपस्ट कुदिरहेको

मान्छेको भीड !’

दार्जीलिङको छातीमा भएको गोर्खे फ्रात्रीसाइड बारे भविष्यले ढाँटोस्, राजनीति गरोस् वा जे गरोस् तर कविले त्यस घटनालाई आफ्ना कवितामा अभिलेखीकरण गरिदिएका छन् अनि भनेका छन्- भीडभित्रै फ्रात्रीसाइडको त्यस अदृश्य पात्र पनि भीडसँगै छरपस्ट बढिरहेको छ जसको निर्दिष्ट दिशा अनि लक्ष्य छैन । त्यस पात्रलाई चिन्दा चिन्दै कसैले चिन्न चाहेका छैनन् । हाम्रो जीवन बचाईँ अनि सङ्घर्षका कुनै एकदिन हामीसँगै भीडमा पसेको त्यो फ्रात्रीसाइड पुन: देखा पर्नेछ अनि हराउनेछ अर्को भीडमा । भारतीय गोर्खे समाजको सबैभन्दा ठुलो त्रास यस्तै फ्रात्रीसाइड हो जो समय अनि षड्यन्त्र सँगै झुक्याएर देखा पर्नु खोज्छ । कोही कसैले समयको नाफा-नोक्सानसँगै त्यस फ्रात्रीसाइडलाई मुसार्न खोज्छन्, काखमा राख्न खोज्छन् अनि पुनर्जीवित गर्न खोज्छन् । मदन तामाङको रगतले लेखेको उक्त परम उत्सर्गलाई समय-समयमा बिर्सन खोजिए तापनि यसरी साहित्यिक अभिव्यक्तिका पुनर्व्याखाहरूभित्र समय अनि युगका बीर स्तम्भहरू देखा पर्दछन् भन्ने कुरा कवि प्रणय शंकरले युगका प्रत्यक्षदर्शीहरूलाई सचेत गर्न बारम्बार चाहेका छन् ।

इतिहास अनि कल्पनाभित्र देखिएका फ्रात्रीसाइड जस्तै भारतीय नेपाली भाषी समुदायभित्र देखिएको ऐतिहासिक दिन २१ मई २०१० लाई पनि कविले फ्रात्रीसाइड भनेर नै नामकरण गरिदिएका छन् । कविले आउने युगका लागि ती पात्रहरू अनि त्यस दिनलाई चिन्नुपर्ने कार्य दिएका छन् । हाम्रो विगत, वर्तमान अनि आगतका दिनहरूमा २१ मई एउटा साधारण घटना मात्र भएर बस्ने हो कि एउटा गोर्खे फ्रात्रीसाइड भएर बस्ने हो? कविले भारतीय नेपाली भाषी समुदायका निम्ति साहित्यिक, सामाजिक अनि राजनीतिक मसीले लामो सम्झना कोरिदिएका छन् । यस घटनालाई केवल ऐतिहासिक घटनाको पुनरावृत्ति मात्र होइन, बरु समयसँगै स्मृतिको पुनःसंरचना बनाएर कविले प्रस्तुत गरेका छन् । कवि प्रणय शङ्करले आफ्नो कविता फ्रात्रीसाइड लाई साङ्केतिक शब्दका रूपमा प्रयोग गर्दै एउटा यथार्थ घटनालाई स्मृतिको साहित्यिक अभिलेखन बनाएका छन् ।

(यो लेख, शहीद मदन तामाङको पुण्यतिथि २१, मईका दिन सम्झना गर्दै लेखिएको एउटा साहित्यिक अभिव्यक्ति हो । उनलाई सम्झना गर्दै उनका पुण्य आत्माले शान्ति पाउन् भन्ने कामना गर्दछु ।)