दार्जिलिङको रङ्बुल गोर्खा बस्तीका निवासी प्रणय शंकर साहित्यपोस्ट (अंग्रेजी संस्करण)मा भारतबाट सम्पादकीय संयोजकको रूपमा जोडिनु भएकाे छ। हालै उहाँको पहिलो कवितासङ्ग्रह “काँसभाँडा” प्रकाशित छ। उहाँ पेसाले भारतीय स्टेट ब्याङ्कमा प्रबन्धकको रूपमा कार्यरत हुनुहुन्छ। 

प्रस्तुत छ, कवि प्रणय शंकरसँग  उत्तर बंग विश्वविद्यालयमा स्नातकोत्तर तहका अन्तिम वर्षमा अध्ययनरत अजित विश्व ‘वियोगी’ले गरेको संवादको सम्पादित अंश: 

“काँसभाँडा” कविता सङ्ग्रह लिएर पाठकमाझ आउनु भएको छ, आउनु मात्रै उत्साहित कि कृतिको भरोसा माथिको उत्साह पनि छ ?

प्रणय शंकर

_  ‘काँसभाँडा’ मेरो जीवनमा टर्निङ पोइन्ट भएर आएको छ । कस्तो प्रकारले भने गोलाईबाट फुत्त निस्केको नयाँ गाडी जस्तै । मनै तर्साएर जाने खालको ।  बुकएन्ट (प्रकाशन गृह)का पार्टनर सुरज गुरुङ र राजा पुन्यानीले काँसभाँडा माथि मीठो काम गरेका छन् । २०१८ मा दार्जिलिङ ( मिरिक सरुवा भएर ) फर्किएपछि अचानक फेरि लेख्न थालेँ । दसकौँ मनमा गुम्सिएर बसेका आक्रोशहरू, तिक्तताहरू, समाजमा एक सदस्य भएर बाँच्दा उब्जेका-देखेका विरोधाभासहरू, स्वादका अनि केही बेस्वादका प्रेम, उखरमाउलो घृणा हिंसा-अहिंसाका भावहरूसँगको जम्काभेट, एक एक गर्दै हतारसाथ बाहिर निस्किए । कविता बनियो मसिना झिना-मिना अनि केही ठुला लामो कदका ।  प्रत्येक कविता लेखिसक्दाको उत्साह जोस अब पुस्तक आकारमा आउँदै छ, ह्वात्तै । यसैले उत्साहित छु ।

मिरिक बस्दा धेरै सर्जक, कवि साहित्यिक मित्रगणको प्रेरणा, हौसला स्वरूप राखिदिए  आशीर्वचनहरूले अब मूर्त आकार लिन गइरहेको छ । उत्साहित छु । यति वर्षसम्म ओझेलमा रहेको  जिन्दगी अचानक पब्लिक/ साहित्यिक ग्लेरमा आउँदा एक प्रकारको डर अनि रोमान्सले भरिँदो रहेछ । अहिले यस्तै यस्तै अनुभव छ – उत्साहको, डरको, एक प्रकार भयपूर्ण असहजपनको, रोमाञ्चित- शब्दमा व्यक्त गर्न नसकिने अनुभव । यस्तै भावनात्मक अनुभूतिबाट पार भैरहेको छु ।

अब रह्यो कृतिको भरोसा माथिको उत्साह । उत्साहित छु  धेरै नै । केही नयाँ काम गर्ने कोसिस नगरे पनि, नव्य भाषा, बिम्ब, काव्यिक अनुभूति, कवि-सत्ता माथिको हस्तक्षेप अनि कविताको संरचना अनि टेक्निक माथि केही थप काम गर्ने कोसिस गरेको छु । अब “थप काम गरेको छु” सुन्दा र पढ्दा मेरा यी कुराहरू अलिक सेल्फ बुस्टिङ अनि सेल्फ प्रोमोसन लाग्ला । तर याद राखौँ अवचेतन तहमा कुनै पनि कविको कविता लेख्ने काम self promotion (आत्मा प्रचार)  र self boasting  – (आफ्नै अहम् सेकाइ) कै परिधिभित्र आउँछ (विमति भए विरोध पोख्न होला) ।

म शुद्ध फेसबुके कवि हुँ मलाई मेरा पाठकसँग जोडिन फेसबुक सहज लाग्छ । फेसबुकबाटै धेरै मेरा कविताहरूको प्रशंसा बटुलेको छु । अब ती कविताहरू बटुलेर सँगालेर एकाकृत आकारमा आउँदै छ । भरोसा छ अब पाठकहरूले ती कविताहरू कृतिको रूपमा पनि मन पराउने छन् । यसैले उत्साहित छु।

सधैँ उपन्यासको चर्चा गरिरहने, उपन्यास नै धुइँधुइँती खोज्दै पढिरहने अनि कविता लेख्न सक्दिन भन्ने मान्छे कविता सङ्ग्रह नै लिएर फेरि किन ? सक्दिन भन्दा भन्दै सजिलो परेर हो ?

_   एउटा  दृष्टिकोण बनी सकेको छ कि म धरै पढ्छु । पढ्छु केही हदसम्म । कलेजमा धेरै पढियो, साथी भाइ शिक्षकहरूसँग बहस गरियो । अहिले समय छैन । कामको व्यस्तताले त्यति समय दिँदैन । किताब अहिले धेरै किनिए पनि सब आधा पढ्दै छाड्दै गर्नु पर्ने स्थिति छ । सायद आफैं अलिक indisciplined (अव्यवस्थित) भएर पनि हो कि ? यसै पनि ती किताबहरूमा “माइन्ड ब्लोविङ” मन उदाउने विचारहरू पाइरहेको छुइन । यसैले डा इन्द्रबहादुर सर तिर दिमाग तताउन बेला बेला फर्किरहन्छु । उनले शब्दहरू नाप तौल गरेर प्रयोग गरेको मज्जा लाग्छ ।

अरू त पहिला पढेका कुराहरूले नै यस समय भरथेग दिँदैछ । अहिले म कति छिपछिपे पानीमा छु मलाई मात्र थाहा छ !  कुन दिन  उदाङ्गो हुन्छु होला  थाहा छैन ! उपन्यासहरू खोजी खोजी पढ्दै थिएँ अहिले अलिक कम्ती पढ्दै छु । मलाई मान्छेको मनोविज्ञान अध्ययन गर्न, मान्छेको मनोविज्ञानसँग खेल्न मन पर्छ । प्रत्येक दिन २० देखि ३० जनासँग इन्टरएक्ट गर्ने मौका पाउँछु। दैनिक काम नै त्यस्तो छ । प्रत्येक मान्छेको मनभित्रको baises,  म भित्रको baises (कोल्टे धारणा, विचार, पूर्वाग्रह) खुट्याउन सहज पर्छ ।

भनिन्छ मान्छेलाई, भाषा आफैलाई व्यक्त गर्नका निम्ति दिएका हैनन् तर आफैलाई ढाँट्नका निम्ति दिएका हुन् । यस कुरा बुझ्न कसैलाई पनि धेरै समय लाग्छ । यसैले मान्छेले धोका पाएका, सम्बन्धमा ठगिएका कुराहरू धेरै छन् । मान्छेले जे बोल्छन त्यसको ठिक विपरीत निस्कन्छन् । यस्तै विरोधाभासहरू उपन्यासका पात्रहरूमा र लेखकमा हेर्न म पढ्छु । किनभने उपन्यासले मानव जीवनको larger than life को चित्र तपाईंसामु एक झमकमा राखी दिन्छ ।  केही नसिक्नका निम्ति पनि धेरै पटक पढ्छु ।

अहिले नेपालका कृष्ण धरावासीको उपन्यास राधा पढिरहेको छु केही नसिक्नका लागि । धेरैले नारीवादी सर्जकहरुले पनि राधा उपन्यासलाई नारीवादी लेखनको रूपमा सेलिब्रेट गरिएको देखियो । सर्जकले त राधालाई राधापुराण कै रूपमा नामकरण गरिएको पनि पढियो भूमिकामा । गज्जबको कुरा लग्यो। राधाको कृष्णदेखि अलग अर्को अस्तित्व छैन । उपन्यासबाट नयाँ कुरा सिकिन्छ जस्तो लग्यो । तर उपन्यास भित्र के देखियो भने राधा पात्रलाई कृष्ण पात्र वरिपरि फनफनी घुमाएका रहेछन् । कृष्णलाई नै फेरि हिरो बनाउन ! पितृसत्ताले यसरी नै काम गर्दछ । भाषणमा मञ्चबाट नारी मुक्तिको कुरा गरेर घरमा कज्याएर राखे जस्तै ! आधा पढेर राखेको थिएँ फर्किन्छु त्यहाँ फेरि केही नसिक्नका निम्ति !

अब कुरा गरौँ कविता लेख्नको । भनेँ हुँला कुनै समय कविता लेख्न सक्दिनँ । जुन दिन भनेँ त्यस दिन हुनसक्छ मेरो दिमागमा कविता खेलिरहेको थिएन । कोही बेला महिनौँ दिन दिमाग खाली हुन्छ । सोच्नै सक्दिनँ । लाग्छ लेख्नै सक्दिनँ ।  त्यस बेला जसले सोधे पनि भन्ने छु, कविता लेख्न सक्दिनँ । भनिन्छ the best poems are written when the poets are distressed। जब म कुनै घटनाले विचलित (outraged) हुन्छु, तनावग्रस्त हुन्छु, कतिबेला कविता लेखिसकेको हुन्छु थाहा पाउँदिन । म सिकेर कविता लेख्दिन। मलाई लागेका उत्तम कविताहरू यसरी नै लेखेका हुँ । यसरी नै कविता थुप्रियो । यसैले सङ्ग्रह लिएर आउँदै छु । रह्यो कविता लेखन धर्मको  सहजताको कुरा ।

कथा, निबन्ध, उपन्यास लेख्न अलिक समय, धैर्य, अनुशासन चाहिन्छ । अहिले छैन। कवितालाई चाहिने जति पर्याप्त कुराहरू छन् जस्तो लाग्छ ममा अहिले । यसैले यसमै ध्यान मग्न छु ।

मानिस सिक्नका लागि पढ्छन् तपाईं चाहिँ किन नसिक्नका लागि पढ्ने ? यो व्यङ्ग्य हो कि उपेक्षा ?

_   सबै कुरा सिक्नका लागि हुँदैनन् । धेरै किताबका विचारहरू खतरनाक हुन्छ । मान्छेमा दिर्घगामी नकारात्मक प्रभाव युद्धमा प्रयोग हुने बमले भन्दा किताबको विचारले अत्यधिक पार्न सक्छ । मान्छेलाई युद्ध मैदानसम्म पुर्याउन किताबको ठुलो भूमिका हुन्छ । छोरा कसरी जन्माउन सकिन्छ, त्यो पनि गोरो र अग्लो – यस्ता अवैज्ञानिक अनि अनैतिक विचार किताबको रूपमा भारतमा लछेप्रै  पाइन्छ । यस्तै इयूजेनिक्स (जातिलाई शुद्ध र पवित्र पार्ने विधि) का किताब उपल्लो तप्काका  गोराहरूले अमेरिकामा सदियौँदेखि पढिरहेका छन् । पन्ध्रौँदेखि सत्रौँ शताब्दीका वेस्ट सेल्लिङ किताब ‘ह्यामर अफ विचेस'(बोक्सीको मार्तोल)- बोक्सीलाई कसरी चिन्हित गर्ने, कसरी अपराध स्वीकार गर्न लाउने अनि कसरी सजाय तय गर्ने विस्तृत जानकारी भएको किताबले लाखौँ आइमाईहरूलाई  पितृसत्ताले यस किताबको निर्देशनमा जिउँदै जलाए ।

भन्नु हुन्छ होला यो साहित्यको विषय होइन । उसो भए सुन्नहोस् – पहिलो विश्व युद्धमा लाखौँ तन्नेरी सिपाहीहरू मरे । युद्ध मोर्चामा सिपाहीहरूको निम्ति खाद्य सामग्री, मनोबल बढाउनका निम्ति आइमाई साथै लाखौँ प्रतिमा Rupert Brooke का कविता soldier(सिपाही) वितरण गरियो । आधा संसारमा ब्रिटिश साम्राज्यको दबदबा थियो । त्यो कविता साधारण जनता अनि सिपाहीहरूले हात हात लिए । देश भक्ति-प्रेम अनि युद्ध हिस्टेरिया भुइँ मान्छेमा चरममा थियो । “म जहीँ मरे पनि त्यो जमिन मलिलो बनिने छ। किनभने म इङ्गल्यान्डको धूलोबाट बनेको हुँ” । पहिलो विश्वयुद्ध कतिको भयावह हुनेवाला थियो कसैलाई थाहा थिएन । “युद्धमा लाखौँ सिपाही मरे । अहिले म सोच्दैछु, ती मर्ने सिपाहीहरूलाई Rupert Brooke को कविताले मार्यो कि युद्धभूमिको बमले ?

त्यस्तै अर्को खतरनाक कविता नेपालका भूपी शेरचनको “हुँदैन बिहान मिर्मिरेमा झरेर नगए बन्दैन मुलुक दुईचार सपुत मरेर नगए” । दार्जिलिङमा १२०० सहिदले न्याय नपाएको पिडा हामीसँग छ । अब नेपालको भूपिले यस कविताबाट हामी पीडितलाई के शिक्षा दिन सक्ला ? न यो व्यङ्ग्य हो न उपेक्षा। यो मेरो जीवन माथिको आत्म मन्थन हो ।  रह्यो कुरा पढेर फेरि केही नसिक्ने । नसिक्नु पनि एउटा कला हो । आफूले पढेको लेखकको छाया आफ्नो लेखमा कसरी नपार्ने । अघिल्लो लेखकको प्रभावको चिन्ता (anxiety of influence) सबै लेखकमा हुन्छ  । अहिले हामीले कविताहरू अर्काको सिकेर लेखिरहेका छौँ । यसैले प्रायः कविता, लेख, विचारहरू एउटै प्रकारकाे आइरहेको छ । सिक्नका लागि मात्रै हो भने हामी पढौँ । तर लेख्नका निम्ति हो भने पढेर नसिकौँ !

“काँसभाँडा”लाई काव्यिक सौन्दर्य र नवीन चेतनाले कतिको टल्काउनु भएको छ ? कि उही लोलोपोतो छ ?

_   कुनै पनि सर्जकलाई आफ्ना कृति कहिले पनि लोलोपोतो लाग्दैन । लाेलोपाेतो लाग्ने भएको भए कसैले धूमधामसँग छाप्ने थिएनन् । यसैले विज्ञपाठकले नदेखाएसम्म काँसभाँडा लोलोपोतो छ म पनि मान्ने छुइन । हा हा ।  रह्यो कुरा काँसभाँडा टल्काउनुको – केटाकेटी छँदा वर्षमा घरको भएभरको  काँसका भाँडाहरू ब्रासोले घाममा टिलिक्क टल्काउनु पर्थ्यो ।  घाममा ताबाका गाग्री खरकुण्डोहरू अमिलो झार चरिअमिलो ठोट्ने चुचुरके कुटेर टल्काउन पर्थ्यो । राम्ररी नटल्किए फुपूले टक्सिङ लाउन हुन्थ्यो । अब काँसभाँडा टल्कियो टल्किएन हेर्ने काम पाठकको हो । समालोचकहरूको हो । त्यसअनुरूप मलाई टक्सिङ लगाउन्।

“काँसभाँडा”लाई पाठकले किन अध्ययन कोठाको ताकमा राख्ने ? कविता(काँसभाँडा सङ्ग्रह)मा के के छ त, जो अरूमा छैन ? अरूमा नभएको कि आफूमै पनि नभएको कुरा छ कवितामा ?

_   काँसभाँडा केही गहकिलो विचार लिएर बाहिर आइरहेको छ ।

भुइँमान्छेको साइकोलोजी अनि कविको पारम्परिक सत्तामाथि नौलो हस्तक्षेप लिएर आउँदैछ । भुइँमान्छे अनि कविको सत्तालाई हेर्ने त्यो दृष्टिकोण काँसभाँडाको प्रयास नौलो हो । भुइँमान्छे कत्तिको खतरनाक बन्न सक्छ ? कत्तिको हिंसात्मक बन्न सक्छ ! यस्ता संवाद अरूमा सायद पाउनु हुन्न । मेरो साथी फिन्जो शेर्पा, दोस्त मनोज बोगटी, भाइ अजित बियोगी, अनि मित्रद्वै सुरज गुरुङ र राजा पुनियानीले काँसभाँडा यस गेटअपमा ल्याउन निकै खटेका छन् । किताब राम्रो बनेको छ । किताबको कन्टेन्टले सबैलाई छुन सक्ला नसक्ला त्यो आफ्नो आफ्नो बुझाई हो । तर किताब सुमसुम्याई रहनु मन लाग्ने भएको छ । यसैले किन्ने जतिले अवश्य अध्ययन कोठामा राख्ने छन् ।

अब आउने सङ्ग्रहमा शब्दको खेल र जालझेल मात्रै छ कि यथार्थको अस्तित्व पनि निहित छ ? उसै पनि क्वान्टम फिजिक्सले यथार्थको भन्दा सम्भाव्यता कुरो गर्‍या छ ।

_   अब यस प्रश्नले चैँ मलाई इन्द्र बहादुर राई सरको लीला बोल्न लाउने रहेछ । शब्दको खेल त छ, तर म त्यसलाई जालझेल त भन्दिनँ । शब्दहरू कवितामा त्यतिकै आएका छैनन् । विचार बोल्न आएका छन् । हुन सक्छ कहीँ कतै विचार बोल्न शब्दहरूलाई श्वास पुगेको छैन । या हम्मेहम्मे परेको छ । मलाई कुनै पनि कविताले च्यालेन्ज गरेको मन पर्छ । कवितामा निहित विचारले या त्यसको काव्यिक रहस्यले सुन्दर आइमाई होस् या कविता, कसैलाई च्यालेन्ज गर्दैन भने- के मज्जा, हैन ? एकै बसाइँमा सबै थोक उदाङ्गो होस् मज्जा आउँदैन । तपाईं काँसभाँडा शब्दको खेल भन्नोस् या जालझेल तपाईंलाई त्यस भित्रको पाठले अवश्य च्यालेन्ज गर्नेछ । पाठको रूपमा पनि वा तपाईं आफैलाई पाठकको रूपमा पनि । कविता लेखन एउटा कला हो अनि कविता पठन पनि एउटा कला हो । कविता पढेर बुझ्न भएन भने बुझ्नुस् कविमा कविता लेख्ने कला छैन । पढेर बुझ्नु भएन भने बुझ्नुहोस् तपाईंमा कविता पढ्ने कला छैन । कवि र पाठक कविता दुईतर्फी हाइवे हो ।

अब कुरा गरौं क्वान्टम, यथार्थ र प्रोव्याब्लिटीको  । म क्वान्टमको छात्र त पक्कै हैन । यसैले क्वान्टममा लामो बहस गर्न नसकुँला । भौतिकशास्त्र जब अणुदेखि परमाणुसम्म पुग्यो तबसम्म पनि संसार स्थिर थियो । किनभने कुनै पनि वस्तुको अणुमा त्यस बस्तुको गुण हुबहु पाइन्थ्यो । यसैले संसार प्रिडिक्टेबल थियो । यथार्थको कुरा थियो । शब्द एकर्थी थियो । परमसत्य भन्ने कुरा थियो । साहित्य दर्शनमा आधुनिकता थियो । कार्ल मार्क्सले कुनै पनि विचारको उद्भव त्यस समाजको आर्थिक आधारलाई चिन्तित गरिसकेका थिए । यसर्थ मानव जाति वर्गरहित समाज बनाउन थुप्रै विद्रोह चलिसकेको थियो । कार्फ मार्क्सका बिचार पनि स्थिर अनि निश्चित पथमा थियो ।

धार्मिक दृष्टिकोणमा ईश्वर पृथ्वीमा स्थापित थियो । संसार उसकै निर्देशनमा चलिरहेको थियो । पाठको स्थिर अर्थ सबैले खोजिरहेका थिए ।  संरचनावादी सासुरले हरेक वस्तुमा निश्चित अर्थ वा पटेर्न दिएका थिए । हाम्रो यताको भाषामा भन्नु हो भने हाम्रो जातिको उन्मुक्तिको निश्चित नाम थियो गोर्खाल्याण्ड । गोर्खल्याण्ड( grand narative) बाहेक अरू कुनै विकल्प थिएन । पृथ्वी घामको वारिपारि एउटा निश्चित मार्गमा घुम्छ । र नै निश्चित समयमा दिन रात हुन्छ। ऋतु परिवर्तन हुन्छ । पृथ्वीमा निश्चितता छ ।

हामी कुनै पनि वस्तुको अणुसम्म पुग्दा यही गुण पाउँछौँ । वस्तुको निश्चित गुण । तर जब भौतिकशास्त्र शास्त्रीयदेखि क्वान्टममा पुगियो।  तब वस्तुको आधार अणु परमाणु देखी अव परमाणु कणमा पुग्यो जहाँ कुनै पनि वस्तुले आफ्नो निश्चित गुण हराएको थियो । अणु भित्रको कण इलेक्ट्रोन, प्रोटोनहरू आफ्नो स्वतन्त्र गुण लिएर आफ्नै गति, मार्गमा विचरण गरिरहेका थिए । प्रोटोनको वरिपरि इलेक्ट्रोन एक अनिश्चित पथ अनि अनिश्चित गतिमा घुमिरहेका थिए । जसले यस संसारको आधारको अनिश्चितता अनि सम्भाव्यता विचारको जन्म लियो । पृथ्वी बनिनु नै unpredictabilty अनि probability बिचको घटना थियो ।

भनिन्छ पृथ्वी अरबौँ ताराहरू बिच एक बिन्दु मात्र हो । अनि यस्ता विन्दुहरू सम्पूर्ण ब्रह्माण्डमा लगभग तीन करोड जति छन् जहाँ पृथ्वी जस्तै वायुमण्डल हुन सक्छ। जीवन हुन सक्छ । त्यहाँ आफ्नै ईश्वर हुन सक्छ। पृथ्वीको सौर्यमण्डल साढे चार करोड वर्षको तन्नेरी हो । सम्पूर्ण ब्रह्माण्डको उमेर खगोलविद्हरूले लगभग १४ करोड वर्ष आँकेका छन् । यसर्थ पृथ्वी भन्दा १० करोड वर्ष उमेर पाको ग्रहहरूमा हामी भन्दा अझै intellgent लाइफ  हुने सम्भावना प्रबल देख्छन् खगोलविद्हरू। अब कुन ग्रहले कसलाई कति बेला सम्पर्क गर्छन् त्यो समयको पर्खाइ मात्र हो ।

क्वान्टम फिसिक्स, अष्ट्रो फिसिक्स आएको यस्ता अनिश्चित अनि सम्भावना बिचको विचारहरूले समाजका अरू तप्कालाई नछुने कुरै उठेन। क्वान्टमबाट प्रभावित आइन्स्टाइनको सापेक्षताको सिद्धान्तले वस्तुतःको यथार्थ र परमसत्यको सिद्धान्तलाई ध्वस्त पार्यौं । अब यथार्थ र सत्य अनिश्चित र सम्भावित मात्र भयो ।  सत्य व्यक्ति सापेक्ष भयो ।

उत्तरसंरचनावाद आयो । कुनै पनि संरचनाको केन्द्रबिन्दु अनिश्चित हुन्छ भनेर देरिदाले सासुरको संरचनावादलाई ध्वस्त पार्यौं। रोला बार्थले पाठकको जन्मको सिद्धान्त हामीलाई दिएर  पाठको निश्चित अनि एकल अर्थ (authorial intent अनि authorial voice) लाई भञ्जन गरेर पाठक सापेक्षित बनाई पाठको अर्थलाई अनिश्चितता र सम्भाव्यता भित्र ल्याए ।

दार्जिलिङमा डा इन्द्र बहादुर राई बस्तुको सम्पूर्णता ( reality र absolute truth  आयामदेखि अर्थ बाहुल लीलालेखन तिर आए । डा राई आयाम देखि लीला लेखनमा सर्नु पनि यथार्थ देखि अर्थहरूको सम्भाव्यतामा सर्नु थियो । गोर्खाल्याण्ड शब्द पनि दागोपाप जीटीए  हुँदै  छैटौँ अनुसूची, पि पि एस ( little narative !) सम्म पुग्दा पनि त्यही जनता नाचेको नाचेकै छ ।

जे होस् अहिले संसार अनिश्चितता अनि सम्भाव्यताको बिचमा हिँडे रहे पनि, हरेक क्षेत्रमा केन्द्रभन्जन, अर्थहरूमा अनिश्चितता आए पनि, संसारमा हिंसा, शोषण, बहुसङ्ख्यक जातिको अल्पसङ्ख्यक  माथिको दबदबा निश्चित अनि अनुमानित देखिन्छ । श्वेतको कालेहरू माथिको हिंसा, सियाले सुन्नी अल्पसङ्ख्यकहरूमाथि गरेको हिंसा, हिन्दुअतिवादी समूहको मुस्लिममाथि, मुस्लिम जिहदीहरूको हिन्दु अल्पसङ्ख्यक माथि, सन्नी बहुसङ्ख्यकको हाज्रा, सिया अल्पसङ्ख्यकमाथि, हानकम्युनिस्टकाे  अल्पसङ्ख्यक उगुर मुस्लिममाथि, बौद्ध बहुसङ्ख्यकको रोहिङ्ग्या अल्पसङ्ख्यकमाथि, पितृसत्ताको नारी, तेस्रोलिङ्गी माथि, स्ववर्णको दलित आदिवासीमाथि परापूर्व काल देखिको हिंसा, शक्ति प्रदर्शनको प्याटर्न एकनासे अनि निश्चित देखिन्छ । बहुसङ्ख्यक हुँदैमा हिंस्रक होइन्छ भन्ने होइन ।

तर बहुसङ्ख्यकले अल्पसङ्ख्यकलाई हेर्ने दृष्टिकोण वा विचार जे छ त्यसमा हिंसा सधैँ सुषुप्त हुन्छ । यसलाई क्वान्टम l मेकानिस्कको प्रोव्यबलिटी अनि डा राईको लीला लेख्नेले  कसरी हेर्छ ? त्यसमा चासो छ मेरो ।

अन्तमा यथार्थ र काँसभाँडाको कुरा गरौँ । अघि माथि उल्लेख गरे झैँ परम सत्य अनि यथार्थ कसैले देख्दैनन् । देख्ने भएँ, समाजकाे यस्तो विद्रुप अनुहार हाम्रो सामु आउँदा पनि समाजका बहुसङ्ख्यक यसरी चुपचाप बस्ने थिएनन् । समाजमा हरेक वर्ग उसको घाइते इतिहास वा त्यसको पवित्रताबाट पीडित हुन्छ । जर्मनमा ६o लाख यहुदीलाई सखाप पार्ने हिटलर एक्लै दोषी थिएन । दोषी त्यस समयको सम्पूर्ण जर्मन समाज हो । तर जर्मन समाजले त्यस विकराल घटना देख्दै देखेनन् । भिडतन्त्रले घटना कहिले देख्दैन । यथार्थ मात्र देख्छ । अनि यथार्थ कुनै न कुनै  इडियोलोजिको खोल ओढेर आएको हुन्छ । यथार्थ सापेक्षित छन् । काँसभाँडामा घटनापरक कविताहरू छन् ।

ती कविताहरूलाई म यथार्थवादी कविता भन्न रुचाउँदिन । तर Non-fiction poetry भन्न रुचाउँछु ।  Fiction शब्दको दुई अर्थ लाग्छ- एउटा आख्यान अर्को शुद्ध कल्पना । यहाँ Non-fiction लाई गैरआख्यानको रूपमा नबुझेर अकाल्पनिक कविताको रूपमा बुझ्नुपर्ने हुन्छ । अर्थात् घटेको घटना न शुद्ध कल्पनाको उपज हो वा न शुद्ध यथार्थ ।  अब घटना र यथार्थको भिन्नता बुझ्न जरुरी छ । घटना घट्छ दिक अनि कालको परिधिभित्र । तर जब ती घटेको घटना समाजमा प्रस्तुत गरिन्छ, त्यस समय घटना घटना नभएर यथार्थको रूपमा प्रस्तुत गरिन्छ । यथार्थमा थुप्रै विचारधाराको खोल ओडाइन्छ । यथार्थ समाजमा स्थापित गरिन्छ समूहको सुविधा अनुसार। यथार्थ ( सत्य) सधैँ कोल्टे हुन्छ, समूह सापेक्षित हुन्छ । यसर्थ काँसभाँडामा कविताहरू शुद्ध घटनाको रूपमा उभ्याउने कोसिस गरिएको  छ । कुनै ideology को खोल नओढाई । यसर्थ काँसभाँडाका अधिकांश कविता नन फिक्सनल छन् । कल्पना अनि यथार्थदेखि धेरै पर । शुद्ध घटना मात्र । कविताहरू ओपन एन्डमा छ। पाठकले आफ्नो सुविधा अनुसार  बुझुन्।

कविको दिन र रात साधारण मानिसको उज्यालो र अँध्यारोसित मेलमिलाप नै छैन भन्छन् अर्थात् कवि कवितामा जसरी प्रस्तुत भएको छ व्यवहारमा त्यसरी बसेको हिँडेको, पाइँदैन भन्छन् नि। यो आरोप मात्र हो कि होइन ? होइन भने कसरी सत्यापित गराउनु हुन्छ ?

_    यसमा मेरो अलिक diplomatic उत्तर आउनेछ । यो न सोच्नुहोला म कविहरूलाई गाली दिएर जानेछु ! “कविको कविता अनि कविको व्यवहार” यस विरोधाभास पूर्ण स्थितिको बिचमा नै हामीले विश्वको उत्कृष्ट कलाका नमुनाहरू पाएका छौँ। कविता कविको शुद्ध कला हो कि कविको प्रतिबद्धता ? जब हामी कवितालाई कविको कला कम प्रतिबद्धता ज्यादा मान्छौँ भने तब यस्ता विरोधाभास पुनः प्रश्नहरू हाम्रो सामु उभिन्छ। विश्वका उत्कृष्ट कलाका नमुनाहरू  हामीलाई निरङ्कुश शासकहरूले दिएका छन् । उदाहरण ताजमहल हेर्नुहोस् ।

हामीले पढेका छौँ, मुम्ताज शा जाँको प्रिय रानी थियो। तर हामीले यो पनि पढेका छौँ, मुमताज १४औँ प्रसव वेदनामा मरेकी थिइन। हजारौं प्रजामाथि भारी कर लादिएको थियो। हजारौँ करीगरहरू मारिए। भनिन्छ अर्को ताजमहल नबनियोस् भनेर, मुख्य कालिगडहरूको हात नै काटियो। यति बीभत्स पृष्ठभूमि भएको कलाको नमुनाले अहिले पनि हामीलाई अमर प्रेमको नमुना दिइरहेको छ । तरुण प्रेमीहरूको तीर्थस्थल बनेको छ । हजार कविहरू ताजमहलबाट अहिले पनि प्रभावित भइरहेका छन् । अब शाजहाँलाई कविको रूपमा हेर्नुहोस् अनि ताजमहललाई कविताको रूपमा।

रिचार्ड वाग्नार जर्मन सङ्गीत ओपेरा कम्पोजर, नाटककार, पोलिमिस् जर्मन साङ्गीतिक आकाशमा अविस्मरणीय नाम हो। यिनका सङ्गीत सारा संसारमा अहिले पनि बजाइन्छ।  जर्मनका बाक, विथोवियन कै हाराहारीमा आउने वाग्नर तर यति बदनाम छ कि उसको सङ्गीत बजाउन अहिले पनि इस्राएलमा प्रतिबन्ध छ । वाग्नर आफ्ना समालोचनात्मक लेखहरूमा, अपेराहरूमा स्पष्ट रूपमा यहुदी विरोधी देखा पर्यो। जर्मन संस्कृति अनि सङ्गीतमा यहुदी समुदायको प्रभावको उनले आफ्ना लेखहरूद्वारा कडा आलोचना गर्थे । पछि जर्मन राष्ट्रभक्ति अनि यहुदी विरोधी नाजीवाद यिनै महान् सङ्गित्यागकाे लेखहरू ओपेराहरूबाट प्रवाहित भएको मानिन्छ।

हिटलरले नाजी शासनको समयमा उनलाई सर्वश्रेष्ठ जर्मनसङ्गित्यको रूपमा स्थापना गरे । अब सङ्गीतले हामीलाई सिकाउने पाठ र वाग्नेरले संसारलाई दिएको पाठको तुलना आफै गरौँ । भारतका यहुदी कवि निस्सिम इज्जेकियल जसलाई भारतीय आधुनिक अङ्ग्रेजी कविताका पितामह मानिन्छ परस्त्रीगामी व्यवहारका निम्ति बदनाम थिए।

आफ्ना पत्नी अनि छोरीसँग उनको कुनै सम्बन्ध नै बनेन। यति अन्तर्राष्ट्रिय स्तरमै ख्याति प्राप्त कवि बडो कष्टकर अनि गुमनाम मृत्यु प्राप्त गरे। उनको मृत्यु खबर कसैले पाएनन्। मात्र घनिष्ठ एक दुई मित्रहरूले चुपचाप दाह संस्कार गरिदिए। उनका कविताहरू सारा विश्वमा पढाइन्छ। के कलाले सर्जकको व्यवहारलाई ढाक छोप गर्छ ? यस्ता लाखौँ उदाहरण होलान् हाम्रै आँगनमा पनि ? मान्छेले समाजमा बहु आयामिक भूमिका खेल्न पर्ने हुन्छ । त्यसमा कविता लेख्न एउटा भूमिका मात्र हो । अरू भूमिकामा कवि कस्तो छ खासमा समाजलाई त्यसले असर गर्छ ।

एक दिन जगदीश घिमिरेले भूपी शेरचनलाई सोधेछन्, कि साहित्यकारहरूको सङ्गत तपाईंलाई कस्तो लाग्छ ? भूपीले एकै शब्दमा भनेछन् -“घिनलाग्दो”। मैले तपाईंलाई नै सोधेँ,  साहित्यकारहरूको सङ्गत कस्तो लाग्छ ?

_  भूपीले कुन कन्टेक्सटमा  साहित्यकारहरू घिनलाग्दो हुन्छन् भने मलाई थाहा छैन। साहित्यकारहरूसँगको मेरो सङ्गत सारै पुरानो हैन । लगभग तीन वर्षको मात्र हुँदै छ । यसअघि साहित्यकारहरूलाई पढेर चिनियो अहिले सङ्गतले । पहिला लाग्थ्यो उनीहरू महामानव हुन् । अहिले लाग्छ उनीहरू पनि साधारण मान्छे जस्तै रहेछन् । हामी जस्तै । यसैले उनीहरूको सङ्गत मलाई जुलुम लाग्छ ।

पाठक त छोटो मीठो,सरल सरस कविता रुचाउँछन् । तपाईंका फुटकर कविता पत्र पत्रिका र फेसबुकतिर पढ्दा थाहा हुन्छ उति सरल छैन । दर्शनका कसीले बडी कसिएका छन्। बिम्ब र प्रतीकको बाहुल्यता छ।पाठकलाई यो कविता किताबले तनाव गर्ला कि तल्लीन बनाउला ?

_   भनिन्छ असल कविता कवि तनावग्रस्त हुँदा नै लेखिन्छ ।  म घटनापरक कविता लेख्छु । अब त्यस घटना पाठकलाई हेरेर घटेको हुँदैन।  जब कुनै घटनाले म तनावमा हुन्छु तब लेख्छु। म चाहन्छु “काँसभाँडा”  पढेर पाठक पनि तनावग्रस्त होस् । अनि जुन पाठक यस किताब पढेर तनावग्रस्त हुनेछ त्यही पाठक तल्लीन पनि हुनेछ । लेख्दा मेरो पाठकले कस्तो कविता  मन पराउँछ भनेर लेख्दिन । सायद कसैले लेख्दैन होला । यहाँले सोध्न भो, मेरो कविता सरल छैन विम्ब प्रतीकको बाहुल्यता छ । खासमा यस्तै कविता मेरा पाठकहरूले मन पराएका छन् र नै पहिलो कविता सङ्ग्रह लिएर आउँदै छु ।

कसैले भन्छ कविता सरल हुनपर्छ, हार्दिकता हुनपर्छ ।  त्यो उसको राजनीति हो । म भन्छु कविता तनाव ग्रस्त हुनु पर्छ । त्यो मेरो आफ्नै राजनीति हो । पाठकले कस्तो कविता रुचाउँछ त्यो कविले तय गर्ने वस्तु हैन । तर पाठक स्वतन्त्र छ कस्तो कविलाई पढ्ने । कविता जटिल हुँदैमा त्यसले दर्शन बोकेको हुँदैन फेरि सरल हुँदैमा कविता बन्दैन । तर कविताले कहिले गीत सँग प्रतिस्पर्धा गर्नु हुँदैन । गीत बन्न खोज्न हुँदैन । नभए गीतको के काम ? यसै त यहाँ सरलताको नाममा दिनहुँ हजार कविता जन्मिरहेका छन् अनि मरिरहेका छन्।

तपाईंको फेसबुकीय साहित्यिक गतिविधि, कवि गोष्ठी र यताउता हेर्दा तपाईं पनि निर्दिष्ट झुण्डमा नै देखिनु हुन्छ। चलिरहेकै शब्दमा भनौँ न, गुटमा भेटिनुहुन्छ, गुटकै बुट बजारेर साहित्यको रिङ कोर्ने हो ?

_   झुण्ड, रिङ जस्ता शब्द रहेको यस प्रश्नले किन हो मलाई पशु, प्राणी, जङ्गलको विम्ब टिपेर उत्तर दिन मन पर्यो । हरेक पशु प्राणीको आफ्नै इलाका हुन्छ। आफ्नै झुण्डमा इलाका बाँधेर बस्न मन पराउँछ । झुण्डले सुरक्षा प्रदान गर्छ । इभोलुसनेरी साइकोलजीले अहिले पनि मान्छेलाई पशुभन्दा माथिको प्राणी गन्दैन । पशुमा हुने बेसिक इन्सटिन्तक्ट मान्छेको सामूहिक मनोदशाबाट अहिले पनि गएको छैन । यसर्थ मान्छे अहिले पनि आफ्नै झुण्ड अनि इलाकामा बस्न मन पराउँछ । यसैले कुनै पनि कवि आफ्नै गुटमा बस्न सहज मान्छ । त्यो उसको बिचारको सेफ्टी भ्यालव हो । कुनै पनि कविको आफ्नै विचारको इलाका हुन्छ।

तपाईंको शब्दमा भनूँ भने रिङ । अब मेरो बसाइ रङ्गबुलमा छ। मेरो कर्मथलो मिरिकमा थियो । अहिले सुखिअपोखरीमा छ । यी सबै ठाउँहरू एउटै पहाडी भेकमा छ । यसर्थ म यसकै भेकका साहित्यिक झुण्डहरूसँग देखिनु स्वाभाविक हो । फेरि मलाई मन पनि पर्छ उनीहरू सँग देखिनु । रह्यो कुरा फेसबुकको गतिविधि । म शुद्ध फेसबुके कवि हुँ । यसर्थ थुप्रै फेसबुक प्यलटफर्ममा बोल्ने,  कविता वाचन गर्ने मौका पाएँ । सबैको माया पाएँ । यदि फेसबुकमा कसलाई बेसी लाइक र कमेन्ट गर्छु भनेँ त्यो चैँ फेसबुकको अल्गो रिदमको कमाल हो । किनभने मेरो फेसबुकवाल कसको पोस्ट देखाउनु अनि नदेखाउनु त्यो फेसबुकले निर्णय गर्छ । सुन्नु भएको होला – “मेरो वालमा तपाईंको पोस्ट त देखाउँदैन त”।

अब तपाईंको  प्रश्नको अन्तिम लाइनमा आऊँ – गुटकै बुट बजारेर साहित्यको रिङ कोर्ने हो ?  सिंहको आफ्नै झुण्ड हुन्छ, इलाका हुन्छ । बाघ पनि आफ्नै झुण्डमा बस्छ । तर म आफ्नै विचारको इलाकामा बस्छु । चितुवा एक्लै बस्छ । हा हा । तर गुटमा बस्ने झुण्डमा बस्ने प्रति मेरो कुनै द्वेष छैन । जति बेसी विचारको गुट बनिन्छ साहित्यमा त्यति विभित्ता आउँछ । साहित्य फस्टाएर जान्छ । अहिले हामीसँग हस्तक्षेप छ। समावेशी छ । उत्तरलीला। किनाराकृत लेखन, प्रगतिवादी छ । अभिसँगी छ । पहिला लीला थियो तेस्रो आयाम थियो । सङ्क्रमण थियो । अझै धरै । यसले साहित्य सृजनालाई फस्टाएर लग्यो ।

एउटा कुरा थप्छु -कुनै समय हामीले घरमा थुप्रै बाख्रा पाल्थ्याैँ। एउटा विकासे बोका थियो अनि दुई तीन माउ बाख्रा । दुई चार वर्षमा दस बाह्रवटा भयो । बाख्रा खुब सप्रियो । जङ्गलमा चर्न फुकाउँथ्याैँ। बाख्राले जङ्गलमै ब्याउँथ्यो । दुई तीन दिनमा पाठापाठीहरू जङ्गलबाट खोजेर ल्याउँथ्यौँ । केही वर्ष खुब सप्रियो । सबले भन्थे बाख्रा हामीलाई खुब फाप्छ । पछि बाख्रा तीस चालीस वटा भयो । जङ्गलमै ब्याउँदै हुर्किँदै । तर के भयो भने एक दुई वर्षमा पच्चिस तीस केजी हुने खसी पछि पछि पाँच छ केजीको पनि हुन छाड्यो । अब बाख्रा फाप्दैन भनेर सब बेचिदियौँ । पछि थाहा भो, झुण्डमा एउटै बोका चलाउनु हुँदैन रहेछ भनेर । सन्तान किट्टिएर जाँदा रहेछ । त्यस्तै साहित्यमा पनि एउटै बोका चलाउनु हुँदैन । साहित्य किट्टिन्छ ।

विद्वानहरूको  कविताको अनेक परिभाषा पढेपछि निर्धक्क मख्ख नबनी भन्न सकिन्छ। कविताको सर्वसम्मत परिभाषा हुँदैन। हुँदैन भने पनि परिभाषा त दिइने नै गरिन्छ। कविता के हो ?  भन्दा के भन्नुहुन्छ ? कि नदिने पो हो कि ! नभन्ने पो हो कि !

_  कविताका हजार परिभाषाहरू छन्। ती सबै परिभाषाहरू सत्य नै हुन् । कुनै पनि कविता माथिको परिभाषा असत्य  छैन। र पनि ती परिभाषाहरूमा केही अपुग लागियो र मेरो सानो परिभाषा थप्न चाहन्छु कविता कविको लेखन कला मात्र हो। मेरो लेखन मेरो ट्यालेण्ट मात्र हो लाग्छ । कविता कवि आफैलाई ढाँट्ने औजार मात्र हो । म आफैलाई ढाँटिरहेछु जस्तो लाग्छ। अरूलाई के लाग्छ थाहा भएन।

कुरूप थोक र विषयलाई सौन्दर्यीकरण गरेर कवितामा सुगन्ध छर्किने हो कि कुरूपतालाई मूल थोक झैँ कुरूपतामा नै लेख्ने हो ? शब्दगत तानाबाना त छँदै छ नि ! तर त्यस विषयको गन्धलाई त अत्तरले हस्तक्षेप गर्न मिल्यो र ?

_   कुरूप थोकलाई कुरूपतामा नै लेख्ने हो । सौन्दर्यीकरण गरेर लेख्ने पक्षमा छुइन । कुरूपताको साइकिक तहमा पुगेर त्यसको विद्रुप रूप साहित्यमा उतार्ने हो । अब विद्रुप छ भन्दैमा,  गाली गर्न या भाषणबाजी गर्ने मिलेन । कविताको आफ्नै भाषा हुन्छ ।  विषयअनुरूप कविताको भाषा हुन्छ । त्यस भाषामा लेख्ने हो । हुन सक्छ, विषय अनुरूप भाषाको मेल नखाला, त्यो भाषाको सुगन्धले हस्तक्षेप गर्नु हैन । त्यो कविको असफलता हो।

अरूको कुरै नगरे भयो। समाज नै राजनीतिबाट नेतृत्व गरिरहेको छ । समाजले गर्ने राजनीति र साहित्यले गर्ने राजनीतिको गाँठो र सुर्काउने एकै हो कि होइन ?

_   “कविता के अनि को हो ?” यस विषयमा अहिले चर्चा नगरेर, कविताले  समाज अथवा सत्ता परिवर्तन गर्न सकिन्छ ? भन्ने कथनमा विश्वास नगर्ने पाठक म हुँ । जब समाजमा कुनै पनि सत्ता परिवर्तनको उथलपुथल आउँछ, थुप्रै कारकहरू मध्ये जनमत सङ्ग्रहको एउटा ठुलो आवाज कविता बन्न सक्छ । तर परिवर्तन पछि पुरानो भग्नावशेषबाट निर्मित नयाँ सत्ताको अख्तियारमाको बस्छ त्यो निर्णय लिने क्षमता कवितालाई दिएको छैन । यसैले सत्ताको खेल चली रहने छ, हेप्ने हेपिनेको आफ्नै प्रकार । मेरो साहित्यिक चासो पनि यहीँ छ ।” हस्तक्षेपी राजा पुन्यानीको अर्को लस्कर माथिको मेरो समालोचनात्मक लेखमा यस्तो लेखेकाे रहेछु । अब राजनीति शब्दलाई यहाँ परिवर्तन संवाहकको रूपमा लिऊँ ।

समाज र साहित्य जहिले पनि रुढीवादी र परम्परावादी नै हुन्छ । त्यही रुढीवादलाई भत्काउन नयाँ पुस्ताका समाज र साहित्य एक अर्कालाई खेदा खेद गरी बस्छ । घरी समाजलाई साहित्यले खेद्छ घरी साहित्यलाई समाजले । अब यी दुईको खेदा खेदमा साहित्य कहाँ पर्छ  ? कालान्तरमा साहित्य जहिले पनि समाज र राजनीतिको पछि पर्छ । अन्तमा राजनीतिले बाजी मार्छ । यसै त हामीले उहिले भनी सक्यौँ, साहित्य समाजको दर्पण हो । अब दर्पणले देखाउने

मात्र त काम गर्दछ ।

फेसबुकमा कतै पढेको थिएँ  कि प्रचारलाई सूचनाको रूपमा प्रसार गरियोस् । अत्यधिक प्रचारले आफू र (कृति)लाई विज्ञापन गर्दछ जसको सम्बन्ध व्यापारसँग छ । के तपाईं अब आउने किताबको व्यापारसँग साँठगाँठ गरेर व्यापारी बन्न लाग्या त होइन ?

_     एउटा कुरामा स्पष्ट हौ । कविता लेख्ने काम नै आत्मविज्ञापन हो । आफ्नै  विचारको विज्ञापन । आफ्नै राजनीतिको विज्ञापन । आफ्नै  गुटको  विज्ञापन। विज्ञापनलाई एक वाक्यमा परिभाषित गर्न परे कसरी गर्न सकिन्छ ? कुनै वस्तुको उपस्थितिको सूचना दिन हो ।  कविता कला होस् या सामाजिक प्रतिबद्धता । यदि कला हो भने- कविता उसको  प्रतिभाको विज्ञापन हो । यदि सामाजिक प्रतिबद्धता हो भने त्यस प्रतिबद्धतामा कुनै पनि समूहको , गुटको या राजनैतिक समूहको विचारको अलिकति भए पनि खोल त ओडेकै हुन्छ, र  कविता त्यसैको विज्ञापन मात्र हुन्छ । अब लेख्ने काम मात्रै पनि आत्मबिज्ञापन हो भने, लेखिसकिएको किताबको विज्ञापन किन नगर्ने ? मलाई साहित्यिक सङ्गोष्टीमा जान मन पर्छ कोही न कोही मुखाले कवि भेटिहाल्छ ।

अस्ति एउटा दाइले भन्दै हुनुहुन्थ्याे – हिजोआज कविहरूले पुरस्कार कै लागि भए पनि १००, २०० कविता किताब छाप्छन्  अनि आफ्नै माझ बढ्छन् । त्यो दाइकाे कुरा कहाँसम्म सत्य हो, थाहा भएन तर यदि सत्य हो र स्थापित कविहरूको यो हाल हो भने नयाँ आउने पुस्ताको स्थिति के होला । नेपालमा पनि कविता घर घर गएर बेच्न पर्ने स्थिति ६ हरे । अब भारतमा हामी नेपाली भाषी पाठकहरू देशभरि छरिएर बसेका छौँ । अहिले हामी सामाजिक सञ्जालद्वारा सहजसँग सबैसँग जोडिँदैछाैँ बिस्तारै । पाठकको सङ्ख्या बढ्दै जाँदै छ । नयाँ पाठकहरू जित्दै छाैँ । नयाँ सर्जकहरू पनि बढ्दै छन्। अनलाइन किताब बेच्ने platform हामीसँग छ अहिले।  Bukant छ। हाम्रो किताब घर छ।  हाटघर छ । अन्य अझै आउलान् । जसले किताबहरू सजिलै जहाँ पनि पठाउन सक्छ । अब बजारमा यो किताब आएको छ भनेर पाठकलाई कसरी भन्ने ? किताब अब विज्ञापन नगरेर के गर्ने ? की देरहादुन किताब बेच्नु कवि आफैँ जाने ?

जब कुनै पनि प्रकारको वस्तु उत्पादन हुन्छ अनि बजारमा आउँछ पाठकसम्म पुराएउन दुई वटा प्रिन्सिपलले काम गर्दछ । पुस सेल(push sell) अनि पुलसेल(pull sell)। माछा, मासु, दूध, घेऊ, मदिरा, पेट्रोल दबाई पुलसेल भित्र आउँछ । किन्नका निम्ति ग्राहक आफै खोज्दै आउँछ । किताब, इन्स्योरेन्स, मुट्युएलफण्ड, गाडी इत्यादि पुस सेल भित्र आउँछ । जबरजस्ती बेच्न पर्छ । यो उपभोक्तावादी बजारको नियम हो । एउटा किताब परिवारमा एक दुई जनाले पढ्लान्, त्यस्तै मदिरा पनि परिवारमा एक दुई जनाले पिउलान्, बस्तुको खपत त त्यति नै हो, र पनि सरकारले कोरोना lock down मा किताब किन बेचेन ? किन रक्सी बेच्यो । पढ्नको लागि सबैलाई फुर्सदै थियो त ? अहिलेको समयमा practicle काम गर्नु पर्यो । अब विज्ञापन गर्दा हल्ला हुन्छ नै ।

हल्लाले मान्छेको ध्यान आकर्षण गर्छ । नयाँ पाठक जोडिन्छ। कमसे कम हजार पन्ध्र सय किताब बिक्री होला । लागत खर्च निक्लेला। हल्ला त भयो तर हल्ला अनुसार किताब छैन भने चै के गर्ने ? त्यस किताबको आलोचना कान चिरिने गरेर गर्ने ।  किनभने मूल्य तिरेर पाठकले किनेको छ । तर सर्जकहरूमा आलोचना सुन्ने हिम्मत छ के ?  अब रहो कुरा किताब र व्यापारको ।  संसारमा दार्जिलिङ पहाड मात्रै यस्तो ठाउँ होला जहाँ सानो ठुलो सब लेखकहरू मिलेर सकेर होस् या नसकेर आफैले सेल्फ फन्डेड प्रकासन उद्योग चलाई रहेका छन् । (प्रकाशकहरूको पनि आफ्नै पीडा होला) ।  त्यो पनि धूमधामसँग !  त्यस पछि अरू सब यूटोपिया।

तपाईंलाई के लाग्छ नेपाली साहित्य अन्तर्राष्ट्रिय स्तरमा गुणको कारणले कमजोर बन्दै गइरहेको छ कि पहुँचको कारणले यतै कतै थन्किरहेको छ जस्तो लाग्छ ?

_    कुनै पनि साहित्यको गुण कसरी मापन गर्ने ? त्यस गुणको माप गर्ने मानक के हो ? यदि मानक छ भने पनि त्यो सापेक्षित छ वा राजनीतिबाट प्रेरित । म विशेष दार्जिलिङ आधारित साहित्यको कुरा गरिरहेको छु । अहिले यहाँबाट जे जति आइरहेका छन् त्यो हाम्रो निम्ति काफी छ । हामी आफै मक्ख छौँ । आफ्नै पीठ थपथपाउँदै छौँ । पुरस्कार साटासाट गर्दै छौँ। तर हामी छ सात लाख मान्छेले यतिको पनि गरेको हो भन्नु पर्छ । तर  अलिक गतिलो कृतिको निम्ति चैँ अहिले दार्जिलिङले  नेपाललाई ताक्ने स्थिति छ  । तर विडम्बनाको कुरा नेपालबाट पनि mind blowing आइडिया आइरहेको छैन ।

बिचमा सञ्जीव उप्रेतीको उपन्यास हंस पढेको थिएँ । त्यस उपन्यासको प्रयोग र विषयले प्रभावित भएको थिए । उपेन्द्र सुब्बाको लाटो पहाडले थर्किएको छु । उर्गेनको घोडाले मन अमिलो भएको छ। नगरकोटिको उपन्यासहरू छन् मसँग । खोल्ने समय पाएको छुइन ।  अरू नेपालको उपन्यासहरू अहिले जे जति पढिरहेको छु प्रयोगको हिसाबले दार्जीलिङको परिप्रेक्षमा नौला छन् ।

तर भारतको परिप्रेक्ष्यमा ? मुख्य धारा नेपालले बिचारको रूपमा अहिले जे लेखिरहेका छन्  त्यो भारतले उहिले लेखी सके । जी तब के नेपाली साहित्यले विश्व साहित्यलाई दिने केही छैन ? हामीसँग लीलालेखन छ विश्व साहित्यलाई देखाउने । तर अहिले लीलालेखन कृष्ण लीलामा संक्रिर्ण हुँदै जाँदै छ । हामीसँग चियाबारी व्यथा छ, परिचय सङ्कट छ, आन्दोलन छ र कञ्चनजङ्घा छ । कञ्चनजङ्घा बाहेक चियाबारी या अन्य कुनै व्यथा, परिचय सङ्कट, आन्दोलन अरू जातिमा पनि होलान् ।

अन्तर्राष्ट्रिय स्तरमा पुग्न के यति नै काफी होला त ? शायद कञ्चनजङ्घा माथि कसैले कविता लेखे हामी अन्तर्राष्ट्रिय स्तरमा पुग्छौ होला ! हे हे ।  नेपालसँग अन्नपूर्ण रेन्ज छ । र कवि युयुत्सु शर्मा छ । उनी अन्नपुर्ण कविताहरू लिएर विश्व भ्रमणमा छन् ।  यदि नेपाली संसारबाट कसैले कुनै समय नोबेल पुरस्कार पाए उनी प्रथम दाबेदार  होलान् ।  उनी अङ्ग्रेजी भाषामा लेख्छन् । नेपालबाट अङ्ग्रेजीमै लेख्ने थुप्रै छन् । सिक्किमबाट अङ्ग्रेजीमा राम्रो काम भइरहेको छ। प्रज्वल पराजुलीको गोर्खाज  डटर फ्रेंचमा उल्था भइसकेको छ। उनले दार्जिलिङ, सिक्किम, भुटान, नेपालका नेपालीका कथा लेखेका छन् । अब प्रज्वललाई हाम्रै कथाकार मान्ने कि नम्माने ?

दार्जिलिङ डुअर्सका कविहरू अहिले उम्दा अङ्ग्रेजीमा कविताहरू लेखिरहेका छन्। अन्तर्राष्ट्रिय पुरस्कारहरू पाइरहेका छन् । उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा हाम्रो प्रतिनिधि मान्ने कि नमान्ने । कि नेपाली भाषामा लेखको साहित्य मात्रै हाम्रो साहित्य । हामी कहिलेसम्म रोइरहनु हाम्रो साहित्य  अन्तर्राष्ट्रिय स्तरको छैन भनेर ? अब यो समय होइन हामीले सिक्ने, उनीहरूले हाम्राे कस्तो कुरा बाहिर सुनाउँदै छ। अहिलेका हाम्रो समयको उम्दा आख्यानकार छूदेन कविमाे विश्व बजारमा हामीलाई विभिन्न भाषामा प्रतिनिधित्व गर्दै छन् । उनले कसैले नहिदेको बाटो हिँड्दै छन्। त्यसकै पछि पछि लेखनाथको  फुलाङ्गे हिँड्दै छ,  छिटै पेन्गुइनले अङ्ग्रेजी भाषामा छाप्ने भएको छ। तर यति उम्दा कृतिहरूको चर्चा हामी माझ कहाँ छ ? वास्तवमा हाम्रा कृतिहरू खुम्चेका छैन हामी खुम्चाउँदै छाैँ ।

पितृसत्तावादी सोचको कवितामा कतिको सङ्घर्ष छ ? कुनै चर्चा कार्यक्रममा सुनेको थिएँ, तपाईंले पितृसत्तावादी सत्ताको जत्थालाई पक्रेको ! पितृसत्ताको यो संस्कृतिको संरचनालाई केले भत्काउला या अझै ठड्याउला ?

_  “पितृसत्तावादी सत्ताको जत्थालाई मैले पक्रेको” – सायद मैले बेसी भनी पठाएँ या भाइले बेसी सुन्न भो। दुई वटामा एउटा त पक्का हो । जे होस् म नारीवादी कवितालाई विचारले हेर्न चाहन्छु । अनि “काँसभाँडा” मा थुप्रै कविताहरू छन् जो नारी हिंसामाथि लेखिएको छ। बलात्कारमाथि लेखिएको छ।

प्रत्येक समाजमा बलात्कार भैरहेको छ । बलात्कार एउटा यौन हिंसा हो। यसलाई अन्य हिंसाकै हाराहारीमा हेर्न सकिन्छ होला। तर बलात्कार पछि ती बलात्कृतहरू को शरीरसँग ती मर्द हरू जसरी खेली रहेका छन् यो सामान्य हिंसा नभएर पितृसत्तामा आएको spiritual crisis हो। निर्भया, असिफा सँग गरिएको व्यवहार सम्झिँदा पनि आफैँ भित्रको अस्तित्व  काँप्दछ छ । यसैले नारी हिंसा माथि कविता लेख्नु त सजिलो छ तर त्यसभित्र पितृसत्ताले कसरी जरा गाडेको छ त्यो खुट्याउन सङ्घर्ष छ । त्यति मात्र हैन नारी आफैले पनि कसरी पितृ सत्ताको भाषा बोलिरहेको छ त्यो पनि खुटाउन मुस्किल छ । धेरै नारीहरूले नारीवादको कुरा उठान गरिरहेका छन् पितृ सत्ताको परिधि भित्रै । नेपालका कवि मनु मन्जिलको

एउटा कविता छ घोडा –

घोडालाई कुटेर यसरी लास बनाइएको छ

यसरी दास बनाइएको छ

उसले मुक्ति नै लगाम सँगको खोज्छ

स्वर्ग नै तबेलासँग को खोज्छ । 

पितृसत्ताको यो संस्कृतिको संरचनालाई केले भत्काउला भन्ने प्रश्नको उत्तरमा चैँ भन्न चाहे भत्काउन मुस्किल छ । अघिल्लो शताब्दी भन्दा यस शताब्दीमा नारीहरू केही उन्मुक्त छ, तर आउने शताब्दीहरू फेरि जटिल बन्नेछ । अब आउने समय AI को जमाना हो, surveillance government को जमाना हो । सम्पूर्ण मानव जातिले नै आफ्नो स्वतन्त्र गुमाउनेछ भने, त्यस समय परापूर्व कालदेखि पितृ सत्तामा दबिएको नारीसत्ताले आफ्नो उन्मुक्ति फिर्ता पाउला र ?

“काँसभाँडा” ताकमा कि दिमागमा बसिरहला कवि जी ?

_  कतिले तकमा राख्लान् । कतिले दिमागमा । हामी त काँसभाँडा मनमा राख्छु भन्ने पाठकहरू पनि पाउलान्। हे हे । किताब निस्केपछि कुन किताब जमातको स्मृतिमा बस्छ या ओझेल हुन्छ,  त्यो साहित्यकारहरूले गर्ने सहित्यइतर राजनीतिले तय गर्छ । अब काँसभाँडा बाहिर आउँदै छ । लडोस् उसले उसकै लडाइ ।

“काँसभाँडा”काे लागि शुभकामना कवि जी !

धन्यवाद !