१.प्रवेश:

इतिहासकार कुमार प्रधानअनुसार ‘इतिहास केवल घटनाहरूको इतिहास होइन, घटनाको व्याख्या इतिहासको धर्म हो ।’ भारतमा नेपाली भाषाको विकासमा मिसनेरिजहरूको अवदान एउटा इतिहास हो । यो त्यो इतिहास हो जसले देशको मूल प्रवाहमा बग्ने विचारधारा अनि भावनासँग आफैलाई पृथक् राखेर मानव विकासलाई अघि बढाएर लगेको छ । उक्त इतिहासको धर्म पूर्ण त्यतिबेला हुन्छ जब अध्ययनले भारतमा नेपाली भाषाको विकासमा मिसनेरिजहरूको योगदानलाई युग लामो घटनाको व्याख्या बनाएर प्रस्तुत गरिन्छ ।

इतिहासअनुसार भारतमा नेपाली भाषा-साहित्य अनि शिक्षाको प्रादुर्भाव नै बाइबल अनुवादबाट भएको छ । त्यो परम्पराले बाइबल अनुवाद, शब्दकोश निर्माण अनि पठनपाठन गर्दै एउटा विशिष्ट भाषिक समुदायको दह्रिलो जग बसाइदिएको छ । त्यसै जगमा डटेर स्वातन्त्र्योत्तर भारतभित्र सामाजिक, राजनैतिक, भाषिक, शैक्षिक, साहित्यिक आदि जस्ता अभिव्यक्तिलाई आवाज दिन एउटा साझा भाषालाई सम्मिलन बिन्दु बनाई देशको संविधानको आठौँ अनुसूचीमा आफ्नो पहिचान बनाई सकेको एउटा ऐतिहासिक विमर्श हामी सम्मुख छ । यस अध्ययनका विविध संरचनाले नेपाली भाषाको विकासमा देखिएका विविध घटनाको व्याख्या गर्दछ ।

कार्यपत्रको रुपरेखा- प्रवेश, मिसनेरिजको अर्थ, भारतमा मिसनेरिजको आगमन, भारतमा नेपाली भाषाको स्थिति, भारतमा नेपाली भाषाको विकासमा मिसनेरिजहरूको अवदान, अनि अन्त्यमा निष्कर्ष राखिएको छ ।

 ० ० ० ०

२. ‘मिसनेरिज’ को अर्थ:

‘मिसनेरिज’ शब्दको मूल स्रोत ल्याटिन भाषा हो । ल्याटिन शब्दको missio बाट आधुनिक ल्याटिनमा आइपुग्दा missionarius हुँदै अंग्रेजी भाषामा mission भयो । १७ औँ शताब्दीको मध्यकालदेखि यो शब्द प्रचलित बन्दै missionary शब्द हुन पुग्यो अनि मुख्य रूपले यहि नै ‘मिसनेरी’ शब्द आजसम्म प्रचलनमा आएको हो भन्ने विभिन्न अध्ययनमा भेटिन्छ । मिसनेरिज शब्दलाई नेपाली भाषाको शब्द्कोशीय अनुवादले  ‘धर्म प्रचार गर्ने व्यक्ति’ भनेर बताइएको पाइन्छ ।

मिसनेरिजको अर्थ अझ बुझ्न खोज्दा- यो एउटा संज्ञा शब्द हो जसको अर्थ कुनै मिशनमा जाने व्यक्ति अनि यसको विशेषण अर्थमा भने उक्त मिसनमा जाँदा गरिने कार्यलाई बुझिन्छ । विभिन्न शब्दकोश अनि सामाजिक संचार माध्यममा यसको अर्थ यस्तो बताइएको पाइन्छ- ‘आफ्नो देश छोडेर कुनै विदेशी मुलुकमा गई त्यहाँ परोपकारको कार्य गर्ने अनि मुख्यतः आफ्नो धर्ममा अन्यलाई अग्रसारित गर्ने व्यक्ति’ ।

मिसनेरिजको अर्थ विस्तार हुँदै यो एउटा धार्मिक समूहको सदस्य हो जसलाई आफ्नो विश्वासको प्रवर्द्धन गर्न वा मानिसहरूलाई शिक्षा, साक्षरता, सामाजिक न्याय, स्वास्थ्य सेवा अनि आर्थिक विकास जस्ता सेवाहरू प्रदान गर्न विशेष क्षेत्रमा पठाइन्छ; इत्यादि पाइन्छ । अर्थात् ‘कुनै एउटा विशिष्ट कार्यका लागि खटिएका व्यक्ति वा समूहका नागरिक जसले सामाजिक न्यायसँगै आफ्ना कार्यप्रति दायित्वपूर्वक कार्य निर्वाह गर्दछ’ जस्ता अर्थ बुझ्न सकिन्छ ।

बाइबलको ल्याटिन अनुवादमा मिसनेरीको अर्थ ईशु मसिहले आफ्ना चेलाहरूलाई संसारका विभिन्न स्थानमा गएर सुसमाचार प्रचार गर्ने आदेश दिएका हुन् । मिसनेरिजको अर्थ यस सन्दर्भमा इशाई धर्मसँग सङ्लग्न रहेको नै भेटिन्छ । समकालीन अर्थमा मिसनेरिजको अर्थ विभिन्न अन्य धर्म अनि विचारधारासँग पनि जोडिएको पाइन्छ । यद्यपि यस कार्यपत्रको सन्दर्भमा भने मिसनेरिजको अर्थ यहाँ इशाई धर्मसँग सम्बन्धित बुझ्न पर्ने भएकाले यसै सन्दर्भ वरिपरिकै चर्चा यस कार्यपत्रमा गरिएको छ ।

 २.१:भारतमा मिसनेरिजको आगमन:

भारतमा मिसनेरिजहरूको आगमनको इतिहास खोज्दै जाँदा पाँचौँ शताब्दीतिर इशु मसिहका एकजना चेला प्रेरित थोमस भारतको दक्षिण प्रान्तमा आएर इशाई धर्मको प्रचार-प्रसार प्रारम्भ गरेका थिए भन्ने विविध इशाई धर्म पुस्तक, दस्तावेजहरू अनि सामूहिक धार्मिक चर्चाहरूमा पाइन्छ । भारतमा मिसनेरिजहरूको आगमनको सन्दर्भमा प्रेरित थोमसबारे कुनै दस्तावेजी सन्दर्भ भेटिन्न । तर ‘सन् १५३७ मा तत्कालीन भारतको बङ्गाल प्रान्तको हुगली नदीको तटमा पोर्तुगालीहरूले आफ्नो जग बसाले पछिनै इशाई मिसनेरिजहरूको आगमन’[१] भइसकेको जान्न सकिन्छ । यस पोर्तुगाली समूहसँगै सन्त अगस्टिन सामाजी पुरोहितहरू नै बङ्गालमा आउने प्रथम मिसनेरिजहरू हुन् भन्ने अनुमान छ । त्यसपछि क्रमैले सन् १५७६ मा येशु सामाजी पुरोहितहरू अनि सन् १५९७ मा डोमिनिकन सामाजी पुरोहितहरू बङ्गाल पसेका थिए ।[२] सन् १८१३ को चार्टर अधिनियमअनुसार तत्कालीन ब्रिटिस कम्पनी सरकारले भारतमा शिक्षाको प्रचार प्रसार गर्न इङ्ग्ल्यान्डबाट मात्र इशाई मिसनेरिजहरू ल्याउन अनि यहाँ शिक्षाको ज्योति प्रारम्भ गर्न बाध्य थियो । सन् १८३३ मा संशोधित अधिनियमअनुसार अन्य देशहरूबाट पनि मिसनेरिजहरू आउन सक्ने अनि धर्म प्रचार-प्रसार गर्न सक्ने प्रावधान तयार भयो ।[३] फलस्वरूप, यस अधिनियमका आधारअनुरुप भारतका धेरै प्रान्तमा अठार शताब्दीदेखि नै इशाई मिसनेरिजहरू आउन थालेका हुन् ।

भारतको दार्जिलिङमा भने अङ्ग्रेज सरकारले सिक्किमको हातबाट दार्जिलिङलाई हत्याएको छ वर्षपछि मात्र इशाई मिसनेरिजहरू आउन थालेका हुन्[४] भन्ने विवरण पाइन्छ । इतिहासविद् डेविड फिल्ड रेन्नीले दार्जिलिङमा सन् १८४१ मा इशाई धर्म प्रचार गर्न आउने प्रथम व्यक्ति नै विलियम स्टार्ट हुन् भन्ने उल्लेख गरेका पाइन्छ ।[५] त्यसपछि मात्र अमेरिका, फ्रान्स, स्वीडेन, क्यानाडा, बेल्जीयम, फिनल्याण्ड, जर्मनी आदि देशहरूबाट मिसनेरिजहरू भारतभित्र प्रवेश गर्दै दार्जिलिङ पसेका हुन् भन्ने शोधकर्ता विनिता राईले आफ्नो शोधभित्र उल्लेख गरेकी छन् । मिसनरिजहरूको मुख्य उद्देश्य धर्म प्रचार-प्रसार गर्नु मात्र भए तापनि उनीहरूले यहाँका सामाजिक, शैक्षिक, भाषिक, स्वास्थ्य आदि क्षेत्रमा विशेष ध्यान दिए । विभिन्न कालखण्डमा भारत प्रवेश गरेका मिसनेरिजहरूका उल्लेख निम्न ढंगमा गर्न सकिन्छ ।[६] जस्तै-

सन् १८४१-१८५२ मा एङ्ग्लिकन मिसन

सन् १८४२-१८६५ मा जर्मन मोराभियन मिसन

सन् १८४६ देखि वर्तमानसम्म आइरिस लरेटो क्याथोलिक मिसन

सन् १८४६-१८४८ मा आइरिस सेक्युलर मिसन

सन् १८४८-१८८७ मा क्यापुचिन क्याथोलिक मिसन

सन् १८६८-१८७८ मा ब्याप्टिस्ट मिसन

सन् १८७०-१९३६ मा स्कटिस् मिसन

सन् १८८२-१९३७ मा मिसिओँ एत्राँजेर द पारी क्याथोलिक मिसन

सन् १८९०-१९३० मा द फिनिस् एलाइन्स मिसन

सन् १८९१-१९२० मा द फ्रि चर्च अफ् फिनल्याण्ड मिसन

सन् १८९२-१९५० मा द स्केन्डिनेभियन एलाइन्स मिसन

सन् १८९५ देखि वर्तमान सम्म अमेरिकी मेथोडिस्ट मिसनेरी

सन् १८९५ मा द सिस्टर्स् अफ् द अडर अफ् सेन्ट जोहन ब्याप्टिस्ट मिसन । आदि ।

                                              

२.२: भारतमा नेपाली भाषा अनि साहित्यको स्थिति:

दार्जिलिङबाहेक भारतका अन्य प्रान्तमा पनि नेपाली भाषीहरू थिए तथापि अध्ययनले दार्जिलिङमा नेपाली भाषी अन्य स्थानका तुलनामा बेसी थिए भन्ने पाइन्छ । भारतमा दार्जिलिङबाहेक देशका अन्य स्थानहरूमा नेपाली जातिको सङ्ख्या कम देखिन्छ भन्ने उल्लेख सन् १९२५ साल दार्जिलिङमा स्थापित नेपाली साहित्य सम्मेलनको अपिल पत्रमा पाईन्छ ।[७]  भारतीय  नेपालीहरूको बाहुल्य भएको स्थान दार्जिलिङको उल्लेख यस प्रसङ्गमा सही ठहर्दछ कारण सिङ्गो विश्वमा नै दार्जिलिङका नेपाली समाज र समुदायका भूमिका एवम् उपस्थिति त्यस क्षण क्रियाशील थियो । सक्रिय थियो ।

दार्जिलिङको समाज निर्माण र यसको वास्तविक अवस्थाबारे अध्ययनका क्रममा यस्तो पनि भेटिन्छ –‘लगभग १५० वर्षअघि पहाडमा हाम्रा मानिसहरू गहिरो निद्रामा थिए । हाम्रा मानिसहरू, विदेशी राष्ट्र, विशेष युरोपेलीहरूका प्रयास एवम् गतिविधिको कारणले त्यस निद्राबाट विस्तारै ब्युँझिए । …सन् १८३५ मा इष्ट इन्डिया कम्पनीले लिएपछि यहाँ शिक्षा र ज्ञानमा नौलो अनि अभूतपूर्व परिवेश निर्माण हुँदै गयो….।’[८]

‘सन् १८४१ तिर धर्मप्रचारका निम्ति आउने सी.जी. निबेल थिए ।’[९] उनीहरूले धर्म प्रचार गर्नभन्दा पनि पहिला नेपाली भाषा अध्ययन र कोश निर्माण गर्ने काम गरेका पाइन्छन् । सन् १८४०-६०को दसकतिर दार्जिलिङमा जर्मन धर्म प्रचारकहरूले नेपालीमा धर्मका पर्चा छापेर बाँडेको उल्लेख पनि पाइन्छ । सन् १८६०मा क्याम्बेलले दार्जिलिङको डाकघरमुनि सरकारी स्कूल बनाइदिएका थिए जसमा एक स्थानीय शिक्षक पनि नियुक्त गरिएको थियो’ भन्ने पनि जानकारी पाइन्छ । उक्त घटनाहरूका उल्लेखअनुसार तत्कालीन दार्जिलिङे समाज शुरुदेखि नै निरक्षर थियो भन्न मिल्दैन यद्यपि तत्कालीन नेपाली समाज अभावमा बाँचेको थियो । यहाँको समाजले शिक्षा, भाषा, साहित्य जस्ता कुराहरू विदेशीहरू आएपश्चात मात्र जान्न थालेका थिए भन्ने तथ्य यहाँ भेटिन्छ । अत: यहाँ सामाजिक अन्तरक्रिया र सिर्जनशीलता यसरी नै शिक्षाको शुरूवात हुँदै विदेशीहरूको  आगमन पश्चात् नै भएको हुन सक्छ भन्न सकिन्छ ।

‘सन् १८४०मा डा.क्याम्पबेल, तत्कालीन ब्रिटिस अधिकारी, काठमाडौँबाट दार्जिलिङ स्थानान्तर भएर आएपछि उनले असममा गर्नसकेको चियाखेतीको स्मरण गर्दै प्रयोगका रूपमा दार्जिलिङमा पनि चियाका बुट्टा रोप्न थालेका देखिन्छ । त्यससमय दार्जिलिङको आधा जनसङ्ख्याभन्दा पनि धेर जनसङ्ख्यामा नेपालीहरू थिए।’[१०]

 ० ० ० ०

३.भारतमा नेपाली भाषाको विकासमा मिसनेरिजहरूको अवदान:

ब्रिटिश अधिनमा रहे तापनि त्यस समयमा विदेशी विद्वानहरूद्वारा उनीहरूकै विद्वान अध्येता, सेनामा रहेका अधिकारी अनि सेनाका जवानहरू, प्रशासनिक पदमा बसेका अधिकारीहरू, अनि धर्म प्रचारमा लागेका मिसनेरीहरू आदिलाई नेपाली भाषा ज्ञानको आवश्यकता बोध गर्दै नेपाली भाषाका व्याकरण अनि शब्दकोशका रचना भएका छन् । यस कार्यले भारतमा उनीहरूको वर्चस्व मात्र नभएर समग्रमा नेपाली भाषा र साहित्यका निम्ति मजबुत जग बनाएको पाइन्छ । साथै यस कार्यहरूले नेपाली समुदायका निम्ति एउटा प्राज्ञिक धरातल पनि निर्माण गर्दै गएको बोध गर्न सकिन्छ ।

 

३.१: नेपाली भाषा व्याकरण र शब्दकोश निर्माणको क्षेत्रमा योगदान:

नेपाली भाषाको व्याकरणको प्रसङ्ग आउने बित्तिकै सन् १८२० को ए ग्रामर अफ् द नेप्लीस ल्याङ्ग्वेज र यसका लेखक जे.ए. एटनको नाम पहिला आउँछ । जे. ए. एटन फोर्ट विलियम कलेजका अरबी र फारसी भाषाका प्रोफेसर थिए । उनले यो व्याकरण कलकत्ताबाट प्रकाशित गरेका थिए । सन् १८२० मा तत्कालीन ब्रिटिश सरकारका आफ्ना महत्वकांक्षी अभियानलाई सफल बनाउन अनि नेपाली समुदायमा प्रवेश गर्ने उद्देश्यले यो निर्माण गरिएको भए तापनि यसले नेपाली भाषामा लेखिएको प्रथम व्याकरणको स्थान प्राप्त गर्न सक्छ भन्ने कुरा डा. जस योन्जन ‘प्यासी’-ले एउटा लेखमा लेखेका छन् ।[११]

एटनको व्याकरण प्रकाशित भएको झन्डै छ दशकपछि अर्का विदेशी विद्वान आर्चीवाल्ड टर्नबुलको नेपाली ग्रामर एण्ड इङ्ग्लिस-नेपाली नेपाली इङ्ग्लिस भोकाब्युलारी सन् १८८७ मा दार्जिलिङबाट प्रकाशित भएको थियो ।

सन् १८९९ मा कलकत्ताबाट अर्का विद्वान लेफ्टिनेन्ट एम.इ.डोपिङ होपेन्सरले खस गोर्खाली ग्रामर एण्ड भोक्यबुलारी प्रकाशित गरेका हुन् । उनले भारतमा ब्रिटिश सेना अनि अधिकारीहरूलाई नेपाली भाषाको ज्ञानका लागि उक्त व्याकरण लेखेका थिए अनि यसका लेखनमा उनले बुडाथोकी भन्ने एकजना व्यक्तिका सहयोग लिएका थिए भन्ने जानकारी पनि पाइन्छ ।

सन् १९०७ मा गोर्खा प्रेस, दार्जिलिङबाट आर. किल्गोर भन्ने अर्का विद्वानले प्याराडिम अफ् द नेपाली भर्ब्स् भन्ने अर्को व्याकरण लेखेका हुन् । उनको यस व्याकरण टर्नबुलको व्याकरणमै आधारित रहेको पनि चर्चा पाइन्छ ।

सन् १९१६ मा प्रसिद्ध भाषा विद्वान जर्ज अब्राहम ग्रियर्सनको लिङ्ग्विस्टिक सर्भे अफ् इण्डिया बाह्र अङ्कसम्म छापियो । यसको अङ्क नौ-को पहिलो अनि चौथो प्रभागमा नेपाली भाषाको व्याकरण अनि ध्वनिगत विशेषताबारे चर्चा गरिएको पाइन्छ ।

सन् १९५० मा लेफ्टिनेन्ट जी.जी. रोजर्सको कोलोक्विअल नेपाली कलकत्ताबाट प्रकाशित भएको भेटिन्छ ।

यसरी नै शब्दकोश निर्माणको क्षेत्रमा सर्वप्रथम सन् १८११ मा नेपालबाट तत्कालीन इष्ट इण्डिया कम्पनीका अधिकारी कर्णेल डब्ल्यु. जे. कर्क प्याट्रिकले एउटा अनुसन्धानात्मक पुस्तक एन एकाउन्ट अफ् द किङ्डम अफ् नेपाल लेखेर प्रकाशित गरेका थिए । यसभित्र उनले नेपालका प्रमुख आठवटा भाषाहरूका नाम लिँदै पर्वते भाषाको पनि उल्लेख गरेका छन् । यस पुस्तकभित्र सङ्ग्रहित शब्दावलीहरूको सङ्ख्याबारे विभिन्न मत पाइन्छ । शोधकर्ता विनिता राईले आफ्नो शोधमा पर्वते र नेवारी भाषाको क्रमैले ५६७ अनि ५९९ शब्दावली अङ्ग्रेजी शब्दहरूको पर्यायसहित रोमन लिपिमा राखिएको फेला पारिएको चर्चा गरेको पाइन्छ ।[१२]

सन् १८१६ तिर भारत आइपुगेका पादरी क्यारेले प्रचलनमा रहेका भारतीय भाषाको खोज अनुसन्धान गर्दै ३३ वा ३४ भाषाका नमुना हरूका संकलन अनि अध्ययन गर्दै नेपाली भाषाका पनि झन्डै ५००/६०० शब्द सङ्कलन गरेका थिए भन्ने जानकारी पाइन्छ ।

सन् १८८७ मा नेपाल राज्यमा इन्डियन मेडिकल सर्विसका प्रतिनिधि डानियल राइटले हिस्ट्री अफ् नेपाल नामक पुस्तक देखा परेको छ । यसभित्र रोमन लिपिमा लेखिएका २१६ अंग्रेजी शब्दका अर्थ पर्वते (नेपाली) भाषामा दिएका छन् भन्ने समालोचक चूडामणि बन्धुले बताएका छन् ।[१३]

सन् १८४२-६३ भित्र केही जर्मन मिसनेरीहरूले अंग्रेजी-नेपाली शब्दकोश तयार परेको जानकारी जस योन्जन प्यासीले एउटा लेखमा दिएका छन् ।[१४]

सन् १८८७ मा आर्चीवाल्ड टर्नबुलको नेपाली ग्रामर एण्ड इङ्ग्लिस-नेपाली नेपाली इङ्ग्लिस भोकाब्युलारी दार्जिलिङबाट प्रकाशित भएको पाइन्छ ।

सन् १८९२ मा मेजर ए.जी.एफ. ब्राउनले म्यनुएल् अफ् खस गोर्खाली अर् पर्वतीय आएको देखिन्छ।

सन् १८९९ मा अंग्रेज सेनाका सुबेदार कुशलसिंह बुडाथोकीको सहयोगमा लेफ्टिनेन्ट एम.इ.डोपिङ होपेन्सरले कोलकत्ताबाट खस गोर्खाली ग्रामर एण्ड भोक्याबुल्यारी प्रकाशित गरेका पाइन्छ ।

सन् १९१६ मा जर्ज अब्राहम ग्रियर्सनको लिङ्ग्विस्टिक सर्भे अफ् इण्डिया भित्र अंग्रेजी शब्दावली अनि वाक्यांश हरूको अर्थ रोमन नेपाली भाषामा दिएका पाइन्छ ।

सन् १९१८ मा मुम्बई बाट क्याप्टन जी. डब्ल्यु. पी. मोनेको गोर्खाली म्यानुएल प्रकाशित भएको पाइन्छ ।

सन् १९२३ मा आर. किल्गोर, एच.सी. डङ्कन र गङ्गाप्रसाद प्रधानको संयुक्त प्रयासमा अंग्रेजी-नेपाली शब्दकोश प्रकाशित भएको देखिन्छ । यस पुस्तकलाई भारतीय इतिहासमा पुस्तकाकारका रूपमा निस्किएको प्रथम नेपाली शब्दकोश भनेर भनिन्छ ।

सन् १९३१ मा राल्फ लिले टर्नरको ए कम्प्यारेटिभ एण्ड एटिमोलोजिकल डिक्सनेरी अफ् द नेपाली ल्याङ्वेज निक्कै चर्चित अनि महत्त्वपूर्ण पुस्तकका रूपमा पाइन्छ ।

सन् १९४४ मा ए. डब्ल्यु. कर्नेल्युसको अंग्रेजी टु गोर्खाली डिक्सनेरी लखनऊबाट प्रकाशित भएको पाइन्छ भने यसै साल मेजर टी. वेटनको सङ्क्षिप्त अंग्रेजी-नेपाली शब्दकोश एबटाबाद (हाल पाकिस्थान) बाट प्रकाशित भएको पनि पाइन्छ ।                      

 ३.२:अनुवाद साहित्यमा योगदान:

सन् १८४० देखि मिसेनेरीजहरूले आफ्ना आधिकारिक ‘मिसन’ कार्यलाई प्रारम्भ गरेका थिए भन्ने छ तथापि प्रत्यक्ष-परोक्ष रूपमा उनीहरू दार्जिलिङका उर्वर सामाजिकताका अघि धेरै अघिदेखि नै आकर्षित भएका हुन् । उनीहरूले स्थानीय भाषाको अध्ययन गर्नु, शब्दकोश तयार पार्नु, बाइबलका अंशहरू अनुवाद गर्नु, पर्चाहरू निकाल्नु अनि वितरण गर्नु इत्यादि कार्य गर्दै तत्कालीन दार्जिलिङको समाजमा शिक्षाको विजारोपण गर्ने कार्य पनि गरेका हुन् ।  इसाई मिसनेरिजहरूको आगमनदेखि नै यहाँको भाषा अनि साहित्यको धरातल उर्वर बनिन्दै गएको हो भन्ने इतिहासकार कुमार प्रधानको मन्तव्य पाइन्छ ।

भारतीय नेपाली साहित्यको धरातल अनुवाद साहित्यबाट तयार हुँदै अघि बढेको हो । स्वतन्त्रतापूर्व नेपाली समाजको केन्द्रीय स्थलका रूपमा दार्जिलिङलाई नै मानिन्छ । देशका अन्य भागमा नेपाली भाषी भए तापनि भाषा अनि साहित्यका गतिविधि यहाँबाट नै थालनी भएको पाइन्छ । मिसनेरिजहरूले नेपाली भाषामा अनुवाद प्रारम्भ गरेका साहित्य नै बाइबल थियो । यो इशाई धर्मावलम्बीहरूका निम्ति धार्मिक ग्रन्थ हो अनि संसारका सबैभन्दा धेरै भाषामा अनुवाद भएको पुस्तक नै बाइबल हो ।

भारतीय इतिहासमा नेपाली भाषामा मिसनेरिजहरूले प्रारम्भ गरेका अनुवादको इतिहास हेर्दै जाँदा १८ औँ शताब्दीको प्रारम्भदेखि नै सेरामपुर मिसनेरीहरूले हिन्दी, बङ्गला, उडिया, संस्कृत अनि मराठी भाषामा बाइबलको नयाँ नियम अनुवाद गरेका तथ्य पाइन्छ । यी भाषा बाहेक नेपाली भाषामा पनि सेरामपुर मिसनेरीहरूले बाइबल अनुवाद गरेका जानकारी पाइन्छ ।[१५] यस मिसनेरी सामाजका मुख्य अनुवादक विलियम केरी थिए । उनले चालिसवटा भाषामा बाइबल अनुवाद गरेका थिए भने ती भाषामध्ये नेपाली भाषा पनि एउटा थियो भन्ने कुरा शोधकर्ता विनिता राईले आफ्ना शोधका सन्दर्भमा देखाएकी छन् । यस मिसनले सन् १८२१ मा नेपालीमा अनि १८२७ मा पश्चिम नेपालमा बोलिने पाल्पाली बोलीमा बाइबलको नयाँ नियम अनुवाद गरी प्रकाशित गरेका थिए । यद्यपि यी अनुवाद अनि यसका भाषिक स्तरीयताबारे भने थोरै मात्र स्वीकृति पाइन्छ ।

सन् १८५० मा विलियम स्टार्टले नेपाली भाषामा बाइबलको एउटा अंश लुकले लेखेको सुभ समाचार अनुवाद गरे । विलियम स्टार्ट इशाई धर्म प्रचार प्रसार गर्न दार्जिलिङ आउने पहिलो मिसिनेरी हुन् । यस अनुवादपछि दार्जिलिङमा बाइबलको अनुवाद परम्परा प्रारम्भ भएको मानिन्छ ।

सन् १८५२ मा विलियम स्टार्टले नै प्रेरितहरूले गऱ्या कुरा बाइबलको अर्को अंश अनुवाद गरे ।

सन् १८५३ देखि भने उनले अनुवाद गरेका लुकले लेखेको शुभ समाचार अनि प्रेरितहरूले गऱ्या कुरा लाई एउटा पुस्तकमै राखेर विभिन्न संस्करण हुँदै आएका भेटिन्छन् ।

सन् १८६९ मा चर्च अफ् स्कटल्याण्ड मिसन दार्जिलिङमा स्थापना भयो । यस मिसनबाट विलियम स्टार्ट अनि सी.जी. निबेलले लुकले लेख्या शुभ समाचार का धेरै संशोधित संस्करणहरू प्रकाशित भएको पाइन्छ ।

सन् १८७० मा पुनः यी दुवैले लेखेका प्रेरितहरूले गऱ्या का कुरा संशोधित भएर प्रकाशित गरिएको पनि भेटिन्छ ।  

सन् १८७१ मा यी दुवै भागलाई एउटा पुस्तक बनाएर पुन: प्रकाशित गरिएको जानकारी पाइन्छ ।

सन् १८७७-१८८८ सम्मको लामो अवधिभित्र विलियम म्याकफर्लेन अनि गङ्गाप्रसाद प्रधानले नेपालीमा उत्त्पतिको पोस्तक्, मतिले लेखेको सुसमाचार, मार्कले लेखेको सुसमाचार आदि अनुवाद गरेर प्रकाशित गरेका पाइन्छन् । 

सन् १८९५ मा टर्नबुलले प्रभु येशु ख्रीस्त को सुसमाचार मति रचित् पाइन्छ ।

सन् १८९९ मा मन्सिनर जुल्स डुएनेलको नेपाली अनुवाद पुरानु अनि नया सासत्तरको कथा पर्वते कुरा प्रकाशित भएको पाइन्छ ।  

सन् १९०० मा टर्नबुल र गङ्गाप्रसाद प्रधानले पाऊल प्रेरितको पत्र रोमीलाई औ पहिलो औ दोस्रो कुरिन्थीहरूलाई अनि प्रेरित पावलले लेखेका अन्य पत्रका पनि अनुवाद गरेका पाइन्छन् ।

सन् १९०२ मा टर्नबुल र गङ्गाप्रसाद प्रधानले विभिन्न खण्ड बाट अघि नै अनुवाद गरेका विभिन्न अंश हरू संसोधन गर्दै एघार भागमा नयाँ नियम अर्थात् प्रभु येशू ख्रीस्टको सुसमाचार प्रकाशमा ल्याएका थिए ।

सन् १९०४ मा यिनी दुवैले प्रभु येशू ख्रीस्टको सुसमाचार मत्ती रचित् प्रकाशमा ल्याएका भेटिन्छ ।

सन् १९०५ मा आर. किल्गोर र गङ्गाप्रसाद प्रधानले नेपाली बाइबल अनुवादको कार्यभार लिए ।

सन् १९१२ मा यी दुवैले पुराना नियम र नयाँ नियमका बाइबल हरू क्रमैले प्रकाशमा ल्याएका थिए ।

भारतीय नेपाली भाषा साहित्यमा मिसनेरिजहरूका अवदान हेर्ने क्रममा अनुवाद क्षेत्रमा यसरी धेरै कार्य भएको देख्न सकिन्छ भने यस्तै कार्यलाई आजसम्मका अन्य स्वदेशी (मिसनेरिज)-हरूले पनि जारी राखेका विवरण पाउन सकिन्छ । ती मध्ये केही नाम लिन पर्दा एच.डी.डङ्कन, एन.एस. ज्याङ, एच.सी. प्रधान, डब्लु.एम.स्कर्ट, जिल स्कर्ट, फादर फ्रान्सिस जे. फ्यारेल(एसजे), ए.बी. राई, एम. कुमार, जे.एम. बोडी, फादर विलियम बर्क (एसजे),फादर रेने सिंह, फादर पियूस मार्कुस, दान (दानियल) खालिङ, फादर एन्ड्रु सादा, एच.बी. छेत्री, निर्मल खालिङ आदि उल्लेखनीय छन् ।

 

३.३: शैक्षिक क्षेत्रमा योगदान:

भारतका अन्य जग्गाभन्दा दार्जिलिङमा नेपाली भाषी समुदाय धेर भएका हुनाले दार्जिलिङ नै मिसनेरिजहरूका निम्ति पनि सुगम स्थल हुँदै गयो । भारतका सन्दर्भमा चर्चा गर्दा दार्जिलिङको चर्चा गर्दा नेपाली भाषी समुदायको तत्कालीन अवस्थितिलाई प्रतिनिधि सहजै गर्दछ । दार्जिलिङमा चिया ‘प्लानटर्स’-हरूले चिया श्रमिकको पददेखि लिएर सामान्य सरकारी पदहरू समेतमा यहाँका बासिन्दाहरूलाई नौकरी दिए । फलस्वरूप, साना-ठूला सामान्य पदहरूमा नोकरी गर्ने पहाडेहरूका आफ्नै छोरा-छोरीहरूका शिक्षाबारेमा सोचिदिने भने कोही भएनन् । वास्तवमा अङ्ग्रेजहरूको निम्ति त दार्जिलिङ शुरूदेखि नै शिक्षाको केन्द्र बन्यो ।’[१६]

भारतभित्र विभिन्न समय अनि अवस्थामा आगमन भइसकेका विभिन्न मिसनका मिसनेरिजहरूले आ-आफ्ना समयमा पहाडका धेरै स्थानहरूमा शिक्षाका केन्द्रहरू खोल्दै गए । मानिसलाई शिक्षित बनाउने उद्देश्य हुँदाहुँदै पनि उनीहरूको प्रशासनिक कार्य अनि विश्वासको प्रचार प्रसार निरन्तर राख्न शिक्षालाई एउटा दह्रिलो माध्यम बनाएर गए ।  यी विभिन्न मिसनहरूले दार्जिलिङ, कालेबुङ, खरसाङका मुख्य स्थलतिर ब्रिटिश कम्पनीका अधिकारी, सेना अनि अन्य कर्मचारीका छोरा छोरीका लागि शैक्षिक संस्थानहरू एकपछि अर्को गर्दै खोल्दै गए । उनीहरूकै निम्ति खोलिएका ती संस्थानबाट बिस्तारै नेपाली भाषाले प्रचार प्रसार हुने मौका पायो । यहाँका मानिसहरूका निम्ति मिसनेरिजहरूले सुदुर गाउँ ठाउँमा विभिन्न प्राथमिक पाठशालाहरू पनि निर्माण गर्दै स्थानीय बाल-बालिकाहरूलाई शिक्षातर्फ प्रोत्साहन गर्दै गए । अन्य मिसन सरह रोमन क्याथोलिक मिसनको योगदान अभेग गाउँ बस्तीतिर उल्लेखनीय पाइन्छ । सन् १९३३ तिरै कालेबुङको मरिया बस्ती गाउँ मा एकजना चन्द्रमान नेवार नामका व्यक्तिलाई नेपाली, अङ्ग्रेजी, गणित अनि धर्मशिक्षा- भजन आदिका निम्ति नियुक्ति गरिएको जानकारी पाइन्छ ।[१७] यी यस्ता उल्लेख अनेक पाइन्छन् । यसरी नेपाली भाषाको आधिकारिक पठनपाठन सुरु नभई नै क्याथोलिक प्राथमिक पाठशालाहरूतिर मिसनेरिजहरूले नेपाली भाषाका प्रचार प्रसार गरेका अनेक उदाहरण पाइन्छ जस्तो अध्ययन अझ अपूर्ण छ ।

यसै सन्दर्भमा दार्जिलिङका प्रथम रोमन क्याथोलिक नेपाली भाषी बिशप एरिक बेन्जामिनको प्रसङ्ग महत्त्वपूर्ण पाइन्छ । सन् १९४५ मा उनी क्यान्डी, श्रीलङ्कामा पुरोहित अभिषेक भएका थिए । उनी बिशप भएपछि सन् १९६३ मा इटालीको रोममा क्याथोलिक धर्म मण्डलीको विश्वव्यापी दोस्रो भ्याटिकन सभा बोलाइन्छ । विश्व मिसनेरिज अभियानमा यो सभा एउटा मुख्य सन्दर्भ मानिन्छ ।

दोस्रो भ्याटिकन सभाले संसारका विभिन्न स्थानीय भाषा, संस्कृति, सङ्गीत अनि मानिसका वेशभूषालाई प्राथमिकता दियो । गिर्जा घरका धर्म विधिमा साधारण मानिसलाई कठिन हुने ल्याटिन भाषाको सट्टा नेपाली भाषा प्रयोगमा ल्याइयो । फलस्वरूप नेपाली भाषामा भजन, प्रार्थना, पाठ, उपदेश आदि सबैनै स्थानीय भाषामा हुन थाल्यो । यसले नेपाली भाषी जनसमुदायलाई अन्तर्क्रिया अनि अभिव्यक्ति दिन सहज अनि सुगम भएर आयो ।  नेपाली भाषा प्राथमिक पाठशालाहरूमा अनिवार्य रूपमा पठनपाठन गर्न थालियो । विभिन्न मिसन हरूले प्रशासनिक, धार्मिक आदि क्षेत्र हरूमा आफ्ना सुविधाका लागि सुरु गरेका नेपाली पठनपाठनको वास्तविक लाभार्थी नेपाली भाषिक समुदाय हुँदै गयो । फलस्वरूप नेपाली भाषाको प्रचारप्रसार अनि अध्ययनले यस समुदायलाई एकात्मकताको भावनामा एक बनाएर राख्न सफल बन्यो ।

 

३.४: नेपाली साहित्यमा योगदान:

सन् १८५७-१८८५ सम्म भारतीय साहित्यको इतिहासमा धेरै घटनाहरू घटेका छन् । यस सन्दर्भमा उत्तरपूर्वी क्षेत्र असम राज्यको उल्लेख गर्ने क्रममा- सन् १८३६ मा असमी भाषालाई हटाएर बंगला भाषा सम्पूर्ण विद्यालय अनि कोर्ट कचहरीमा अनिवार्य बनाइएको थियो । बंगालका विद्वान अनि तत्कालीन बंगाली अधिकारीहरूका प्रभावमा परेर ब्रिटिशले यसो गरेका थिए । तर त्यसको विरोध भयो । वुद्धिजीवीहरू अघि आएर असमको भाषिक चिनारी बचाउन लागिपरे । अमेरिकन मिसिनेरी डा.माइल्स ब्रोनसन्, डा. नाथन ब्रावन अनि एकजना हिन्दुदेखि इशाईमा परिवर्तित व्यक्ति निधि लेवी फेर्वेल आदिले यसको नेतृत्व गरेका थिए ।  यसरी नै तत्कालीन असमी भाषाका एकजना विद्वान लेखक आनन्दराम ढेकियाल फुकनले अंग्रेजीमा अति तार्किक दस्तावेज तयार गरेर प्रकाशित गरेका थिए । उनले- A Few Remarks on the Assamese Language and on Vernacular Education in Assam, 1855. [१८] लेखेर तत्कालीन समुदायलाई सजग बनाएका थिए । उनका उक्त लेखको प्रभाव त्यतिबेला दह्रिलो भएन ।

सन् १८५९ मा उनको मृत्यु भयो तर सन् १८७३ मा बंगाली भाषालाई हटाएर पुनः असमी भाषालाई नै स्थापित गर्नु सरकार वाध्य भएको इतिहास पाइन्छ । मिसनेरिजहरूले विभिन्न कालखण्डहरूमा गर्दै आएका अनुवाद, शब्दकोश निर्माण अनि पठनपाठनले भारतका नेपाली भाषी समुदायलाई अभिव्यक्तिको एउटा सुअवसर प्रदान गऱ्यो । त्यै सुअवसरलाई नेपाली साहित्यको नामबाट चिनिनु कुनै अत्युक्ति हुन्न । शब्दकोश निर्माण, अनुवाद अनि धार्मिक गीत सङ्गीतसँगै एउटा दह्रिलो अभियान हुँदै आएको देख्न सकिन्छ ।

त्यस अभियानलाई पादरी गङ्गाप्रसाद प्रधानले अघि बढाएर ल्याएका देख्न सकिन्छ । गोर्खे प्रेस, गोर्खे खबर कागत, नेपालीमा गीत रचना, भजन रचना आदि हुँदै अघि बढेको अभियानले त्यस समयमा नेपाली समुदायका दह्रिलो साहित्यिक धरातल बसाएको अनुभूत गर्न सकिन्छ । मिसनेरिजहरूको अवदानलाई छोटकरीमा राख्दै नेपाली साहित्यको यात्रा अघि बढाउने केही उल्लेखनीय व्यक्तित्वहरू मध्ये केही नाम लिनुपर्दा- फादर विलियम वर्क हुँदै अहिलेसम्मका यहाँका अन्य साहित्यिकहरू जस्तै एम.एम. गुरुङ, अगस्टिन गुरुङ, दान(दानिएल) खालिङ, गाब्रिएल राणा, एडोन रोंगोंग, मटिल्डा राई, सलोन कार्थक, मोणिका मुखिया, जोगेन दर्नाल, शिशील मुखिया, टेरेन्स मुखिया, डेनिस लेप्चा, मोणिका प्रधान, नूरन जुदु राई, स्टेफी राई, लियो छेत्री आदिलाई लिन सकिन्छ ।

० ० ० ०

४. निष्कर्ष: 

कुमार प्रधानअनुसार ‘भारतको सन्दर्भमा नेपाली एउटा विशिष्ट जाति भएर हुर्कने, नेपालीहरूमा एकात्मबोधको भावना बढाउने तत्त्वहरूमा नेपाली भाषा प्रमुख थियो ।’ मिसनेरिजहरूको अवदानले निर्माण गरेको सामाजिक, साहित्यिक, सांस्कृतिक, शैक्षिक, आध्यात्मिक, राजनैतिक आदि चेतना, आजका भारतीय नेपाली भाषिक समुदायका पहिचानका आधार हुन् । मिसनेरिजहरूले भारतीय नेपाली समुदायलाई धार्मिकताभन्दा धेर मूल्यवान नेपाली भाषाप्रतिको सचेतना अनि माया दिए । उनीहरूले दिएका अवदानबारे लेखाजोखा नभए इतिहास अपूर्ण हुन्छ । स्वतन्त्रतापूर्वदेखि स्वातन्त्र्योत्तरकालसम्म नेपाली भाषा-साहित्यका आधारहरू आविष्कार गर्दै अभिव्यक्तिको एउटा फराकिलो फाँट उनीहरूले दिएर गएका छन् । आजको विश्व विमर्शमा यो एउटा अवदान पुनः आवृत्ति हुनपर्ने बोध गरिन्छ ।

[१] विनिता राई, शोध प्रबन्ध(विद्यावारिधि), शोध गङ्गा, पृष्ठ ३७

[२] पूर्ववत्, पृष्ठ ३७

[३] डिक बी. देवान, सन् २००८ (पुनः मुद्रित), एडुकेशन इन् द दार्जिलिङ हिल्स, नयाँ दिल्ली: इन्दस पब्लिशिंग कम्पनी, पृष्ठ ७९

[४] विनिता राई, पूर्ववत्, पृष्ठ ३८

[५] डेविड फिल्ड रेन्नी, सन् २००५, भुटान एण्ड द स्टोरी अफ् द डुवर्स वार, वाराणसी: पिल्ग्रीमस् पब्लिसीङ्ग, पृष्ठ ३७४

[६] विनिता राई, पूर्ववत्, पृष्ठ ३८-६५

[७] इन्द्रबहादुर राई, सन् १९७६, टिपेका टिप्पणी,दार्जिलिङ: नेपाली साहित्य संचायिका प्रकाशन, पृष्ठ-१११

[८] डिक बी. देवान, सन् १९९१, एडुकेसन इन् द दार्जिलिङ हिल्स:एन् हिस्टोरिकल सर्भे :१८३५-१९८५, नयाँ दिल्ली: इन्दस पब्लिसिंग कम्पनी,                    पृष्ठ-२१

[९] कुमार प्रधान, सन् १९८२, पहिलो पहर, दार्जिलिङ: श्याम प्रकाशन, पृष्ठ-२३

[१०] एल.एस.एस.ओ मेल्ले, सन्१९९९ (पुन:मुद्रित ) , बेङ्गल डिस्ट्रिक ग्याजिटियर्स, लोगोस् प्रेस, पृष्ठ-४१, ७२

[११] जस योन्जन प्यासी, सन् १९९५-९६, भारतमा लेखिएका नेपाली व्याकरण र नेपाली भाषाको व्याकरणिक स्वरूप निर्धारणमा यिनीहरूको भूमिका, नेपाली अकादेमी जर्नल; डा भीमकान्त उपाध्याय, (सम्पा), उत्तर बङ्गाल विश्वविद्यालय, पृष्ठ ४२

[१२]  विनिता राई, पूर्ववत्, पृष्ठ ७७

[१३] चूडामणि बन्धु, वि.सं. २०५२, नेपाली भाषाको उत्पति, काठमाण्डौँ:साझा प्रकाशन, पृष्ठ २१४

[१४] जस योन्जन प्यासी, सन् २००२-२००३, सिक्किम एकादमी एन्युल जर्नल, पृष्ठ ९६

[१५] जे.एस.एम.हुप्पर, सन् १९६३, बाइबल ट्रान्सलेशन एण्ड इन्डिया पाकिस्तान इन् एण्ड सिल, डब्लु.जे. कुल्लस, ओक्स्फोर्ड युनिभर्सिटी प्रेस, पृष्ठ १-१४

[१६] कुमार प्रधान, सन् १९८२, ‘पहिलो पहर’, दार्जिलिङ: श्याम प्रकाशन, पृष्ठ-२४

[१७] द सिक्किम मिसन:१९३४-१९४६, सेन्ट मौरिस अब्बे स्विजरल्याण्ड, पृष्ठ ७०

[१८]  सिसिर कुमार दास, सन् २०२०(६ औँ रिप्रिन्ट, पहिलो प्रकाशन सन् १९९१), अ हिस्ट्री अफ् इण्डियन लिटरेचर (१८००-१९१०) वेस्ट्रन इम्प्याक्ट: इण्डियन रेस्पोन्स, दिल्ली: साहित्य अकादमी, पृष्ठ-१३८