जीवनको पहिलो लक्ष्य उसको स्नातकोत्तर पास गर्नु थियो तर सोही परीक्षा प्रथम श्रेणीमा पास भएको दिन पनि ऊ खुशी भएन । मनभित्र कताकता के गुम्सिरहेको हो त्यसको भेउ उसले पाइरहेको थिएन । काठमाडौं शहरको घच्चाघमासान, भौतिकता र अर्थोपार्जनमा भागदौड गरिरहेका मानवको रमिता उसले नियालेको धेरै वर्ष भैसकेको थियो । आफूले के चाहेको हो, के गरिरहेको छु र किन मनमा बेचैनी छ यही प्रश्नहरूमा ऊ केहीबेर घोत्लिएर सोचमग्न भयो । जति गहिरिएर उसले त्यसको निष्कर्ष निकाल्न सकेन ।

त्यो दिन ऊ काममा पनि गएन । कोठामै ढोकाको चुकुल लगाएर दिनभर घोरिएर नै बस्यो । दिउँसोको तीन बजे उसलाई निद्रा लागे जस्तो भयो । उसको एउटा गजबको बानी छ , जब तनाव हुन्छ उसलाई गहिरो निद्रा लाग्छ र केहिबेरको गहिरो निद्राबाट उठेपछि उसको तनाव टाढा भाग्छ । सुतेर उठिसकेपछिको छोटो समय प्राप्त हुने ताजगीमा उसले समस्याको समाधान भेट्ने गर्दछ । यो उसको तनावमुक्तिको शैली हो ।

बेलुकी पाँच बजेसम्म सुत्यो । तनावमा बटारिएका आँखा र तातिएका मथिङ्गलले उसलाई दुई घण्टा राम्रैसँग सुतायो । जाडो होस् या गर्मी यस्तो बेलाको सुताइमा ऊ सिरक ओढेर नै सुतिदिन्छ । तातिएको दिमाग सहित पूरै शरीर पनि तताएपछि हो उसलाई गजबको निद्रा आउने । जब ऊ उठ्यो, थाहा पायो टाउको हल्का भएको छ । शरीरमा कता कता स्फूर्ति जागेको छ ।

उसले सोच्यो, म आज दिउँसो किन सुतेँ ? सुत्नुअघिको दिमागी हलचल र तनाव उसले सम्झियो । फेरि सोच्यो, के हुन सक्छ यसको समाधान ? मिनेटकै सोचमा फ्याट्ट दिमागमा एउटा उपाय आयो अनि त्यसलाई नै उसले समस्या समाधानको जुक्ति ठान्यो र अब उक्त जुक्ति कार्यान्वयन गर्न तम्तयार भयो ।

ऊ ओच्छ्यानबाट जुरुक्क उठ्यो, ओढेको सिरक फाल्यो र झ्यालको पर्दा खोल्यो । पश्चिम आकाश लालीमय देखियो । घाम अस्ताउन लागिसकेको थियो । “कति चाँडै अस्ताउँछ यो जाडो याममा घाम” मनमनै सोच्यो । उसको दिमागले सामान्य कुरा सोच्न थालिसक्यो अब । अलिक असामान्य समस्याको समाधान उसले अघि नै जो प्राप्त गरिसकेको छ । एउटै काम बाँकी छ अब अघि प्राप्त तनाव मुक्ति उपायलाई कार्यमा उतार्ने ।

उसो त उसको चिया पिउने बानी छैन, चिन्तनको उडान बाहेक कुनै लत या कुलत छैन । आज उसलाई एक कप चिया पिउने मन भयो । यो मन किन भयो उसलाई पनि थाहा भएन, सामान्य उत्तर यही थियो ‘आखिर मनै त हो’ । ग्याँस बालेर चिया बसाल्यो । फोन उठायो अनि डायल गर्यो अफिसको हाकिमलाई । “अलिक सञ्चो फिल भएको छैन एक हप्ता जतिलाई छुट्टी मिलाइदिनुहोला ।” उताबाट स्वीकृत भयो बिदा । चिया उम्लियो, अनि उसको मन पनि खुशीले ।

चिया पिएर एउटा पुरानो सुटकेस खोतल्न थाल्यो, जहाँ उसका केही सेट कपडाहरू गुन्द्रुकझैं कोचिएका थिए । सुटकेसबाट केही कपडा निकालेर सानो झोलामा कोच्यो । एकदुई पकाउने भाँडा, अरू आवश्यक सामाग्री सहित एउटा सानो पाल पनि प्याक गर्यो अनि उसको एक्लो यात्राको योजना तयार भयो ।

उमेर भर्खर पच्चीस वर्ष मात्र हो उसको । आफैंले राखेको हो आफ्नो नाम ‘अभिशप्त’ । उसको शैक्षिक प्रमाणपत्रमा पक्कै होलान् उसका कथित सक्कली र औपचारिक नाम थर तर उसलाई ती नाम थर भ्रमपूर्ण लागेर आफैंले नै आफ्नो नाम परिवर्तन गर्यो । थर उसले उल्लेख गर्न चाहेन । त्यसैले चिन्नेजतिले जानेको उसको नाम नै अभिशप्त हो । उसलाई चिन्ने उति सारो मान्छे पनि छैनन् यस शहरमा । साथीसङ्गी कोही छैनन् , समाजसँग घुलमिल हुन उसलाई रहर र जाँगर नै छैन । उसको यही शैली र पाराले गर्दा कलेजका केही सहपाठीले उसलाई ‘साइकोलोजिकल डिसअर्डर’ भनेर पनि चिन्ने गर्दछन् ।

नामथर नै हटाएर किन अभिशप्त मात्र राख्यो उसले । यसको खासै पुख्ता सबुद नभेटिए पनि उसको एउटा सँगै स्कूल पढ्दाताकाको साथीबाट प्राप्त जानकारी अनुसार जब ऊ आमाको गर्भमा पाँच महिना जतिको थियो उसकी आमाले जहिले नराम्रो सपना मात्र देख्न थालिन्, गर्भको बच्चा पक्कै अपशकुनी भएर नै यस्तो सपना आएको उनको ठम्याइ भएछ र गर्भ फ्याँक्न चाहेकी रहिछन् । तर पछि डाक्टरहरूले त्यति समयको गर्भ फ्याँक्न जोखिमपूर्ण हुन्छ भनेर सम्झाएपछि बल्ल पछि हटेकी थिइन् अरे ! उसले यो कुरा आफ्नै आमाको मुखबाट अरू कसैलाई सुनाउँदै गर्दा आठ वर्षको उमेरमा नै सुनेको थियो । त्यही दिनदेखि शायद उसले आफूले आफैँलाई अभिशप्त ठानेको हुनुपर्छ । जुन माटोमा बिरुवाको अङ्कुरण हुन्छ त्यही माटोले अनिच्छित रूपमा आफ्नो जमीनमा बिरुवा अङ्कुरण गराउनु नै आखिर अभिशप्त हुनु हो, अनिच्छित गर्भबाट जन्मनु नै आखिर श्रापित हुनु हो । उसलाई यस्तै लागेको हुनुपर्छ ।

ऊ कसरी जन्माइयो र हुर्काइयो यसको उसले धेरै सोचविचार गर्न छाड्यो । एक दिन ऊ ठूलो भैसकेपछि उसका बाबुले आफूले भनेको मानेन वा भनेको जस्तो काम गरेन भनेर “तँ मेरो लागि मरिस्, तँ मेरो सन्तान भन्न योग्य छैनस् !” भनेर सरापे । यस्ता श्रापित शब्दहरूले उसको मुटु चकनाचुर भयो । आफ्नै आमाले गर्भमा नै मार्न खोजेपछि र बाबुका शब्दवाणले जिउँदै मारेपछि उसले आफूलाई अभिशप्त घोषणा गर्यो । त्यही नाम नै उसलाई प्यारो भयो र कतै न कतै मनको अन्तरकुन्तरबाट आमाबाबुप्रतिको श्रद्धा, विश्वास र प्रेमबाट मोहभङ्ग भयो । बिरक्तिएर काठमाडौं छिर्यो र आफ्नै शैलीको जीवनयापन गर्न थाल्यो । जुनदिन देखि उसले आफ्नो नाम फेर्यो, उसले आफ्नो भावभंगी फेर्यो, जिउने शैली फेर्यो, हाँस्न छाड्यो तर कहिल्यै रोएन र चिन्तनको आनन्दी लतमा फस्यो ।

० ० ० ०

भोलिपल्ट बिहान पूर्वी आकाश उज्यालो हुनुपूर्व नै ऊ तयार भएर बाटा लाग्यो । उसलाई आफ्नो गन्तव्य कहाँसम्म हुने हो त्यो निश्चित थिएन तथापि उसको उद्देश्य अनुरूप मनभित्रको उकुसमुकुस र शान्तिको उपाय खोज्न ऊ यात्रामा निस्किएको थियो । उसको दिमागले सरसर्ती हिमाली हावापानी स्पर्शको इच्छा जाहेर गर्यो अनि उसले हिंड्दै गर्दा तत्काल गोसाईंकुण्ड सम्मको यात्रा योजना बनायो । हिजो दिउँसो र बेलुकासम्म बनाएका योजनाहरू एकाएक परिमार्जन गर्यो दिमागले । हिंडेरै गोसाईंकुण्ड पुग्ने निक्र्यौल गरे उसको मनमष्तिष्क सँगै मिलेर । यात्राको नयाँपन चाह्यो कुण्ठित मनमष्तिष्कले । मन मष्तिष्कको जिद्दीको अगाडि तनको जीत कहिल्यै हुँदैन र नै ऊ अब लुखुरलुखुर हिंड्न थाल्यो ।

गोसाईंकुण्ड पुग्ने छोटो पैदलमार्ग कता हुन सक्छ एकचोटि मोबाइल खोलेर गुगल म्यापमा चेक गर्यो अनि म्यापले देखाएको मार्ग अनुसार नै अघि बढ्न थाल्यो । मोबाइलको स्क्रीन लक गर्ने बेलातिर समय पनि देखियो । यतिबेला बिहानको पाँच बजेर अठ्तीस मिनेट गएको थियो ।

उसका पाइलाहरू काठमाडौंको उत्तरपूर्वी दिशातर्फ मोडिन थाले । कुनै हतार थिएन यात्रामा । पाइलाहरू बिस्तारै लम्कँदै थिए तर मष्तिष्कभित्र विचार र चिन्तनका बाढीहरू द्रूत बगिरहेका थिए । यात्रा कस्तो हुने होला, के के अनुभवहरू समेटिन पाइएलान्, के साँच्चै फर्किएर आउँदा मन शान्तिले भरिएला ? यस्तै प्रश्नका सिलसिलाहरू दिमागमा आउजाउ गर्दै थिए ।

करीब दुई घण्टाको पैदल यात्रापछि बालाजु बाइपासदेखि टोखा सम्मको यात्रा सकियो । शिवपुरी जङ्गल छेउ आइपुगेर पछाडि फर्केर हेर्दा काठमाडौंको विकसित शहरी सभ्यता ठूलाठूला कङ्क्रिडका महल स्वरूपमा ठिङ्ग उभिएको देखियो । जङ्गलछेउ आइपुगे पछि त हावामा पनि ताजगीको महसूस भयो उसलाई । एकैछिन काठमाडौंलाई ट्वाल्ल नियालेपछि यात्रा अब जङ्गलतर्फ उकालो शुरू हुँदै थियो अचानक फेरि मष्तिष्कमा विचार आयो, “सामान्य अवस्थामा यात्रा गरेर पक्कै पनि असामान्य यात्रा रोमाञ्चकता महसूस हुनेछैन त्यसैले आफैँले केही न केही असामान्यबाट शुरूवात गनुपर्दछ ।” यस्तै सोचेर उसले खुट्टाबाट जुत्ता र मोजा फुकाल्यो अनि झाडीतिर फालिदियो र यो यात्रामा जहाँसम्म पुग्छु त्यहींसम्म पैताला यात्रा गर्छु भन्ने प्रणका साथ शिवपुरी जङ्गलको बाटोमा पहिलो खाली पैताला टेक्यो ।

रसिलो, चिसो, जङ्गली माटोमा पहिलो पाइला टेक्दा नै प्राप्त भयो यो यात्राको पहिलो रोमाञ्चकता उसलाई । प्राकृतिक माटो, प्राकृतिक पैताला यो अनुभव उसले त्यसबेलासम्म गर्न पाएको थिएन किनकि उसका खुट्टाहरू कृत्रिम पैताला भिरेर सांसारिक दौडधूपमा अभ्यस्त भैसकेका थिए ।

जङ्गल जतिजति उकालो चढ्दै गयो उति नै चिसो हावा उति नै प्राकृतिक वातावरण, ठाउँ ठाउँमा कलकल बगेका पानीका साना खोल्साहरू, कतै झरझर झरेका झरनाहरू ! काठमाडौंको छेउमै यति सुन्दर प्राकृतिक रङ्ग देखेर उसलाई साह्रै मोहित तुल्यायो । केही बेरको हिंडाइपछि ऊ जङ्गली पहाडको चुचुरोमा पुग्यो । चारैतिर डम्म कुहिरोले ढाकिएर धेरै परसम्म केही पनि नदेखिने, डाँडा वरिपरि बडेमानका ठिङ्ग उभिएका रूख र झाडीहरू ! जङ्गली जनावरले आक्रमण गर्लान् कि भनेर एकछिन त उसको जीउमा डरको काँडा उम्रियो तर बिस्तारै ध्यान अन्यत्रै मोडेर जङ्गलकै बाटो निरन्तर बढिरह्यो हातमा सानो लौरो बोकेर । बाटोमा काँडा या ढुङ्गाले घोच्ला भनेर उसलाई होसियार रहनु थियो ।

उकालो चढेर विजय गरेको डाँडाबाट उसलाई अब तलतिर झर्नु थियो र झर्दै पनि थियो । कुहिरो बिस्तारै पातलिंदै गयो र तलतिर फाट्टफुट्ट घरहरू देखिन थाले । उसलाई मनमा निडरताको आनन्दभाव प्राप्त भयो । फेरि उसले आफू आएको बाटो फर्किएर हेर्यो । काठमाडौंलाई एउटा डाँडाले छेकिसकेको थियो भने उक्त डाँडाले अझै कुहिरोको सेतो टोपी लगाइरहेको जस्तो देखियो । अलिकति तल झरेपछि उसले गाडीको हर्नको आवाज सुन्यो । जङ्गलकै बीच बाटो भएर सडक गएको रहेछ । उसलाई त्यहाँसम्म पुग्दा गाडी चढेर नै जाऊँ जस्तो पटक्कै लागेन, यसैले प्रमाणित गरिदियो कि ऊ कथित विकसित स्थानमा बसेर प्रकृतिसँग सामीप्यता बढाउन कति आकुलव्याकुल भएको रहेछ ।

मोटरबाटो छाडेर ऊ मानिसहरू हिंड्ने जङ्गलको गोरेटो नै लम्कियो । बिहानको करीब एघार बज्दै थियो । घामले पोल्ने रूप लिइरहेको थियो तथापि उसले यसको महसूस गरेन किनकि जङ्गलको शीतलतामा ऊ हिंडिरहेको थियो । अलिअलि भोक भोक लागेजस्तो गर्यो उसले । तल सानो झरना बगेको ठाउँनेर पुगेपछि एउटा ढुङ्गामा बसेर उसले आफ्नो झोला खोतल्यो । एकदाना स्याउ र सानो प्याकेट बिस्कुट निकाल्यो अनि झरनाको पानीमा धोइपखाली खायो । अँजुली थापेर झरनाको पानी पियो । उक्त प्राकृतिक चिसो पानीको मिठास उसलाई शहरमा पाइने उच्च गुणस्तरको मिनिरल वाटर भन्दा कम लागेन ।

एकछिन थकाइ मारेपछि फेरि आफ्नो यात्रामा अघि बढ्न खोज्दैगर्दा पैताला केही पोलेको जस्तो अनुभव भयो । यसो पल्टाएर हेर्दा पैतालामा केही पानी फोकाहरू र काँडा बिझेका देखिए । उसलाई यत्तिको शारीरिक दुखाइ केही पनि लागेन । “वर्षौंदेखि मनभित्र बोकेका पीडा र तिरस्कारको चोट अगाडि यी सबै अति सामान्य हुन् ।” उसले मनलाई बुझाउने कोशिश गर्यो । पैतालाका फोकाहरू फुटेर रगत बग्न थालेपछि हिंडाइ अलिक मत्थर भयो र पनि डाँडाबाट तल झरिरह्यो ।

पश्चिमतर्फ घाम अस्ताउने सुरसार गरिसकेको थियो । डाँडाको फेदीमा उसले एउटा नदी देख्यो अनि नदीको छेउमा सानो बजार क्षेत्र । आज उसले यहाँभन्दा टाढाको यात्रामा नबढ्ने र त्यहीँ कतै बास बस्ने निर्णय गर्यो । उसले आफूलाई पुग्ने बन्दोबस्तीको सम्पूर्ण सामाग्रीहरू बोकेको नै थियो । उसले बजार छेउबाट बग्ने नदीलाई राम्रोसँग नियाल्यो । “कति सफा र स्वच्छ नदी, उसलाई नदीको मोहनीले तान्यो । रात त्यही नदीको किनारमा बिताउने निर्णय गर्यो । नदीको बगरमा उसले आफ्नो पाल टाँग्यो । सामानहरू पालभित्र बिसायो । आज पहिलो दिनको यात्रा उसलाई बडो थकाइ लागेकोले पनि होला वा बजार नजिकै देखेर पनि हो कि खाना बनाउने मन भएन । सामान सबै पालभित्रै छाडेर ऊ खाना खान भनेर बजारतिर लाग्यो ।

झुस्स दाह्री पालेको अनुहार, नाङ्गो खुट्टा, पाइन्ट पानीले घुँडाघुँडा भिजेको हुलिया सहित होटलमा खाना खान पुग्दा एकछिन होटलका मालिकले उसलाई पागल ठानेर हकारे तर उसले राम्रोसँग बोलेर खानाको लागि तिर्ने पैसा छ भनेर देखाए पछि मात्र उसलाई खाना दिए । बिहानदेखि केही फलफूल र एक प्याकेट बिस्कुटको भरले ऊ यहाँसम्म आइपुगेको थियो ।  भोक मज्जैले लागेको थियो तर उसले धेरै खान सकेन । अघि होटलवालाबाट भएको व्यवहारले पनि होला उसलाई धेरै रुच्दै रुचेन ।

खाना खाएर ऊ पालमा आएर छिर्यो । होटलका मालिकको व्यवहार उसलाई झलझली याद आयो । “खुट्टामा एकजोर जुत्ता नहुँदा त मानिसले यस्तो व्यवहार गर्दा रहेछन् भने वर्षभरि आङमा एकजोर लुगा जुटाउन नसक्नेहरूलाई समाजले गर्ने व्यवहार कति हेपाहा प्रवृत्तिको हुँदो हो” उसले विचार गर्यो ।

लगत्तै उसको दिमागमा अर्को एक विचार आयो । पालभित्र छिरिसकेको मान्छे जुरुक्क उठ्यो अनि फेरि बजारतिर लाग्यो । सरासर कपडा पसलमा गयो र सात मिटर गेरु कपडा किनेर फर्कियो । त्यही कपडाको सिरानी हालेर सुत्यो । दिनभरको थकान, पैतालाको जलन, भर्खर मात्र होटल मालिकबाट देखाइएको व्यवहारको जलन अनि वर्षौंदेखि मनको अन्तरकुन्तर भित्र दबिएर बसेका अनेकन जलनहरूले उसलाई जलाइरहे । रातभरी गतिलो निद्रा परेन । नदीको एकोहोरो सुसेली सुनेर नै उसको रात कट्यो । बिहानी कतै टाढा भालेको डाँकसँगै उसले यात्रा तयारीको शुरुवात गर्यो ।

बेलुका किनेर ल्याएको गेरुवस्त्रलाई उसले दुई टुक्रा बनायो अनि शरीरका कपडा फुकालेर उक्त वस्त्र धारण गरी अन्य कपडा र रुपियाँ उसले नदीको पानीमा बगाइदियो र आवश्यक सामान मात्र लिएर त्यहाँबाट बाटो लाग्यो ।

अब ऊ औपचारिक जोगी जस्तो देखियो । यो पनि उसले यात्रामा रोमाञ्चकता अनुभव गर्न थप गरेको अर्को प्रयोग थियो साथै होटलमा उसले भोगेको व्यवहारको नतिजा पनि थियो । पागल भनेर अरूबाट गरिने व्यवहार भन्दा जोगीको भेषमा सम्मानित व्यवहारको अपेक्षा थियो त्यो सायद उसको ।

आजको उसको यात्रा डाँडैडाँडा उकालो चढ्नु थियो । पैतालाका आलो घाउहरू चहर्याइरहेका थिए । यसको पर्वाह नै नगरी ऊ निरन्तर अगाडि बढी नै रह्यो । आज मानिसहरूले उसलाई उति सारो चासो राखेर हेरेका छैनन् । सबैलाई लागेको छ कि ऊ एक जोगी हो । उसलाई यो गजब लाग्यो । “कसैले कसैको बारेमा चासो, चियो र चर्चो नगरी आफ्नै कर्ममा लागे कति जाती हुँदो हो, यहाँ त आफ्नो काम भन्दा अरूकै चियोचर्चो र खुट्टा तान्ने कर्ममा नै मानिसहरू रमाउँछन् र नै त कलह फैलिरहेको छ समाजमा, यस्तै सोच्यो ।

बिस्तारै बिस्तारै आफ्नै गतिमा ऊ निरन्तर अगाडि बढिरह्यो । जति माथि डाँडाकाँडा उक्लिँदै गयो, शीतल मन्द बतासमा ऊ फुरुङ्ग हुँदै गयो । तनावहरू कताकता हराएजस्तो भयो । हिंड्दै जाँदा छाडिंदै गएका पैतालाका डोबहरूमा उसका खुट्टाबाट बगेका थोरै रगतहरू पनि लतपत छँदै थिए तर उसलाई पैतालामा लागेका माटोले मलमको जस्तै शीतलता दिइरहेको थियो । काँडाका चस्काहरूले मन भित्रका पीडाका चस्काहरू कम हुँदै गइरहेको आभास भइरहेको थियो ।

जङ्गलको बाटो, फाट्टफुट्ट गाउँबस्ती अनि घरहरूको बाटो ऊ अगाडि बढी नै रह्यो । आजको गन्तव्य कहाँ हो उसलाई थाहा छैन, थाहा हुनु पनि छैन । तन उसले आफ्नो मनलाई पनि जोगीझैं सजाइसकेको । “जतिबेला साँझ पर्छ उतिबेलै पाल टाँग्न योग्य ठाउँमा आफ्नो कुटी सजाउने छु ।” यस्तै सोचमा थियो ऊ ।

तीन ओटा होचा अग्ला डाँडाहरूको यात्रा गरिसकेपछि साँझ पर्यो । तेस्रो अग्लो डाँडामुनि थोरै बस्ती देखेपछि उसले अब सोही गाउँमा नै भिक्षा मागेर डाँडाको टुप्पामा गएर पाल टाँग्ने निर्णय गर्यो । सात घर चाहारेर सात मुठ्ठी चामल मागेर ऊ डाँडातिर लाग्यो । जोगीलाई एक मुट्ठी चामल सबैले सजिलै दिने, जोगीलाई कसैले नहेप्ने पनि, यो उसलाई आनन्ददायी लाग्यो । आजबाट मानिसले एक मुट्ठी अन्न नदिए उसको छाक जुट्ने छैन किनकि नयाँ रोमाञ्चकताको चक्करमा लागेर उसले सब बगाइसकेको छ ।

डाँडाको टुप्पामा आफ्नो अस्थायी अखाडा बनाएपछि आफ्नो पेट भर्ने मेसो गर्यो र ऊ सुत्यो । आज उसलाई राम्रोसँग निद्रा लाग्यो । न त उसको पैताला पोल्यो, न त मानिसको व्यवहारले मन, कताकता शीतलताको आभास भयो । सोच्यो “शारीरिक पीडा भन्नु पनि बानी रहेछ, बिस्तारै सहज हुँदै जाने रहेछ । आफूसँग भौतिक बस्तुहरू, पैसा नहुनुमा पनि त शान्तिको महसूस हुने रहेछ ।”

भोलिपल्ट बिहान सबेरै उठेर चारैतिरको वातावरण अवलोकन गर्यो उसले । नजिकैको पूर्वी डाँडाबाट रातो सूर्यले चिहाइरहेको थियो । तल कतै केही गुजुमुज्ज, कतै केही छरिएका घरहरू, सम्पूर्ण रूपमा प्राकृतिक वातावरण, मानिसहरू आ–आफ्नै दैनिकीमा व्यस्त देखिए ।  स्वच्छ हावा, स्वच्छ पानी, स्वच्छ गाउँले मन उसलाई केहीबेर हेरिरहूँ जस्तो लाग्यो ।  मनमा अनौठो ताजगी पलाएर आयो । पद्मासन कसेर आँखा चिम्म गरेर डाँडाको टुप्पामा ध्यान मुद्रामा बस्यो । बिहानी ताजा हावामा श्वास भित्र लिँदा जीवनको आभास, श्वास बाहिर फाल्दा मृत्युको आभास, उसले श्वासलाई साक्षी भावमा हेरिराख्यो । भित्र जाने श्वास, बाहिर निस्कने श्वास निरन्तर ध्यान दिएर हेरिराख्यो । यो अनुभव, यो आभासले उसलाई भित्र अनौठो सुखानुभूति र शान्तिको महसूस भयो । ऊ ध्यान मुद्रामा निरन्तर बसी नै रह्यो । त्यो सुखानुभूतिबाट उसलाई बाहिर निस्कनै मन लागेन । ऊ बिस्तारै ध्यानको शून्य चरणमा प्रवेश गर्यो । तीन दिन तीन रात ऊ एउटै मुद्रामा ध्यानस्थ भयो । उसलाई त्यो पल तीन मिनेट जति पनि लागेन । ध्यानस्थ मुद्राबाट बाहिर निस्केपछि उसले थाहा पायो आँखाबाट बगेका आँसुका धाराहरूले पूरै वस्त्र भिजेका रहेछन् । शरीरमा रहेको आज्ञाचक्र खुलेपछि उसको शरीरले देखाएको प्रतिक्रिया थियो त्यो ।

ध्यानको मार्ग हुँदै अकस्मात् ज्ञानको चक्षु खुलेपछि जीवन, जगत् र समाजप्रति हेर्ने उसको दृष्टिकोण नै फरक भएर आयो । मनमा रहेका सानातिना जिज्ञासाका उत्तरहरू आफसेआफ प्रष्फुटन भएर आए । यो पृथ्वीरूपी ग्रह उसको चेतनमा साह्रै सानो लाग्यो । सारा ब्रह्माण्डको ज्ञानहरूले भरिएर आएजस्तो महसूस भयो । “संसारमा कुनै पनि समस्या छैन, यदि छ भने त्यो हामी आफैंभित्र छ र यदि समस्या छ भने त्यसको समाधान पनि जरूर छ, यस्ता अनगिन्ती कुराहरूको रहस्य खोले ।

यति विशाल ब्रह्माण्डभित्र एउटा सानो ग्रह पृथ्वी, अनि पृथ्वी भित्रको एउटा सानो जीव मानव । उसको जीवन, उसको कर्म, उसको सामर्थ्य अति नै सानो लाग्यो उसलाई । मानिसको अहंकार, घमण्ड, भौतिक वस्तुहरूको जोरजाममा गरेको मरिहत्ते साह्रै निकृष्ट लाग्यो उसलाई । जीवनको क्षणभङ्गुरता र मृत्युको शाश्वतता एकाएक प्रष्टिएर आयो । आफू कति अँध्यारोमा रुमल्लिरहेको रहेछु भन्ने उसले थाहा पायो । अहिले ज्ञानको नजरले हेर्दा मन फूलको थुङ्गाझैं आत्मिक सुख, शान्तिमा रमिरहेको छ ।

चौथो दिनको झिसमिसे बिहान उसले त्यो डाँडा पनि छाड्यो । उसको अहिले सम्मको योजनाको गन्तव्य गोसाईंकुण्ड पुग्नु नै थियो । त्यहाँबाट गोसाईंकुण्ड सम्मको यात्रा तय गर्न चौबीस घण्टा अझै लाग्ने कुरा साइनबोर्डबाट थाहा पायो । यात्रा गन्तव्य जति नै टाढा भए पनि उसलाई जीवनमा गरिने कुनै दौडधुपको अर्थ नै रहेन अब । जीवनमा गरिने हतार उसको लागि अर्थहीन भैसकेको छ । उसले बुझिसकेको छ केही भए पनि केही हुँदैन । अब उसले जीवनको प्रष्ट मार्ग पहिल्याइसकेको छ । उसले प्राप्त गरेको ज्ञानले उसको मार्ग उज्यालो बनाएको छ ।

उसका पैतालाहरू अब नयाँ मार्गमा अघि बढ्न तम्सिएका थिए । तन, मन सबै हलुका भएका थिए । गोसाईंकुण्ड तर्फको यात्रामा ऊ अनवरत अघि बढी नै रह्यो । बाटोमा हिंड्दै गर्दा उसको दिमागमा कुनै अस्तव्यस्त विचारले अड्डा जमाएनन् । दिमाग पूरै खाली, विचारविहीन जस्तो हलुको, शीतल मष्तिष्क बोकेर हिंड्दा उसलाई समय बितेको पत्तो भएन । “दिमागमा आउने अनगिन्ती सोच विचारका बाढीहरूले नै तन, मन र मष्तिष्कलाई कमजोर र थकित बनाउने रहेछन् ।” उसले यो कुरा पनि पत्ता लगायो ।

बाह्र घण्टाको यात्रा कति छिटो तय भयो उसलाई थाहा नै भएन । झमक्क साँझ परिसकेपछि उसले जहाँ पाल गाड्यो त्यो ठाउँ वरिपरि कुनै घरबस्तीहरू थिएनन् । तथापि उसले त्यो ठाउँ भन्दा अगाडि बढ्ने योजना बनाएन । त्यहाँ अरू घरबस्ती हुनु या अनकन्टार हुनु, भिक्षा मागेर खान पाउनु या खानै नपाउनु उसलाई योसँग कुनै मतलब नै रहेन अब । “दुई छाक नखाएर जीवन नै सकिँदैन र जीवन धान्न अन्न नै खानुपर्छ भन्ने पनि छैन । प्रकृतिले अनगिन्ती जंगली प्राकृतिक खाद्यबस्तुहरू दिएको छ त्यसको उपभोगमा नै पनि जीवन धान्न सकिन्छ, यस्तै सोच्यो उसले । त्यो रात उसले केही खाएन । नखाँदा पेटमा भोक होइन, सञ्चो महसूस भयो । उसलाई लाग्यो भोकमाथि विजय प्राप्त भयो । ऊ त्यो रात सुत्दा पनि सुतेन किनकि उसलाई अब निद्रामाथि विजय प्राप्त गर्नुथियो । आगोको धुनी जगाएर ध्यान मुद्रामा पद्मासन कसेर नै रात बितायो । रातको समय, हिमाली चिसो हावामा गेरु वस्त्रमा पाल छेउ पद्मासन कसेर बसेको एउटा जोगीलाई त्यस निर्जन, अनकन्टार झाडी र जंगलमा केही डर लागेन । अब ऊ डरमुक्त पनि भयो । मृत्युभय माथि उसले जीत हासिल गर्यो ।

बिहान भएपछि ऊ फेरि यात्रामा निरन्तर अघि बढ्यो । अग्लाअग्ला चट्टानी पहाडहरू, परपर बिहानी घामले सुनौलो बनाएर चम्काएका पर्वतमालाहरूले उसलाई सम्मोहित गरेझैं लाग्यो । उसका पाइलाहरू निरन्तर हिमाली उचाइतर्फ नै अघि बढिरहेका थिए । खानपिन र निद्राको रुटिनमा भएको अस्तव्यस्तताले उसको शरीर दुब्लो र पातलिएको थियो । झुस्स दाह्री अझै बढेको थियो । शरीरमा गेरुवस्त्र टाँगिएकै थियो । सानो पुन्तुरो बोकेको तन जोगी, मन जोगी बाह्र घण्टाको यात्रापछि गोसाईंकुण्डमा आफूलाई बिसाए ।

गोसाईंकुण्डको छेउमा पाल टाँगेर आफ्नो शरीरलाई रात्री विश्रामको मेसो मिलाएपछि आफ्नो पेट भर्ने जमर्कोमा लाग्यो । सधैं नखाएर त तन किन सजीव रहन सक्दो हो । बाटोमा आउँदै गर्दा उसले केही मुट्ठी अन्न भिक्षा मागेको थियो । कुण्डको शान्त र स्थिर नीलो पानी, आकाश तर्फ टिम्टिमाइरहेका ताराहरू, नजिकै केही होटलहरूमा भइरहेको खल्याङमल्याङ उसले नियाल्यो । आफूले तय गरेको गन्तव्यमा आइपुग्दा लक्ष्य पूरा भएको सुखानुभूति भएकै थियो । उसले आज आनन्दले रातभर सुत्ने निर्णय गर्यो । तन, मन सबै चङ्गा छ, पैतालामा कुनै दर्द छैन । सबै घाउ निको भएर पैतालामा एकपत्र बाक्लो छाला बसेको छ । शरीरमा एकसरो गेरु वस्त्र छ तरपनि हिमाली हावामा आँत कामेको छैन । उसमा आएको यो चामत्कारिक परिवर्तनले ऊ आफैं अचम्मित भएको छ । “म अब पहिलाको म रहिनँ, यही सोच्दै शान्त मनमा ऊ घुप्लुक्क निदायो  ।

ब्रह्म मुहूर्तमा निद्रा खुल्यो उसको । जुरुक्क उठेर ऊ कुण्डमा डुबुल्की लगाउन पुग्यो । अहिलेसम्म लगाएको गेरु वस्त्र फुकालेर चोखो गेरुवस्त्र फेरेपछि उसले आफूलाई संसारकै चोखो, शुद्ध र शान्तिको महसूस गर्यो । केहीबेर कुण्डकै छेउमा रहेको ढुङ्गामा बसेर पद्मासन कस्यो र बिस्तारै ध्यानस्थ भयो ।

ब्रह्माण्डमा रहेको अनन्त भण्डारबाट ज्ञान प्राप्त भएझैं एकाएक फेरि उसमा अनेकन प्रश्नका ज्ञान प्रष्फुटित भएर आए । “मानिस कोही पनि आफैंमा गलत या सही हुँदैन, यो त सबै ऊ जन्मेको, हुर्केको सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक र प्राकृतिक वातावरणको प्रभाव हो । एउटाले कुनै चीजलाई रातो देख्नु र अर्कोले त्यही चीजलाई सेतो देख्नु पनि कसैको दृष्टिदोष होइन यो त उसको नितान्त व्यक्तिगत दृष्टिकोण वा धारणा हो । समुद्रछेउ बस्नेले पानी नुनिलो हुन्छ भन्नु, समथरमा रहेकाहरूले पानी खल्लो हुन्छ भन्नु र हिमाली पानी पिउनेहरूले पानी स्वादिलो हुन्छ भन्नु कसैको स्वादमा दोष होइन यो त प्राकृतिक र वातावरणीय उपज हो, यस हिसाबले पानी स्वादहीन हुन्छ भन्ने मात्र तर्क गरेर सत्यलाई एउटै परिभाषामा समेट्न मिल्दैन ।” यस्ता विविध चिन्तन र तिनका आफसेआफ ज्ञान प्रष्फुटित हुँदै जान थाले ।

उसले आफू पारिवारिक र सामाजिक तवरबाट उपेक्षित हुनुको उत्तर पनि भेट्यो । “बाबु आमा बन्नु कुनै महानता होइन । सन्तान उत्पादन गरिदिएकै भरमा ती पुरुष र महिलालाई महान हुन् भनेर देवत्वकरण गरिनु आवश्यक छैन । वनस्पति, कीरा, फट्याङ्ग्रा सम्पूर्ण जन्तु जनावरले सन्तान उत्पादन गरिरहेकै हुन्छन् । यो नितान्त एक प्राकृतिक प्रक्रिया हो । जीवजन्तुले प्राकृतिक र निस्वार्थपनले सन्तान जन्माउने, हुर्काउने गर्दा मानवमा यौनिक मनोरञ्जनको स्वार्थ र भविष्यमा सन्तानले आफूलाई पालपोष गर्ला भन्ने आस पालेको हुन्छ तदअनुरुप मानवद्वारा सन्तान उत्पादन पूर्णरुपमा निस्वार्थ भावले हुनै सक्दैन ।” उसले आफू पनि मनोरञ्जन भावको क्रियाकलापले अनिच्छित अङ्कुरण भएकोले नै जन्मदाताबाट  हेलित भएको निक्र्यौल गर्यो र यो अति सामान्य प्रक्रिया भएको पनि समझ प्राप्त गर्यो । “कमै त्यस्ता आमाबाबु हुन्छन् जो सन्तानको योजना गरेर सन्तान उत्पादन गर्छन् र जीवनभर एक उदाहरणीय अभिभावक बनेर सन्तानको लालनपालन, शिक्षा दीक्षा र मार्गदर्शक बन्छन् । त्यसरी आफ्नो जीवन सन्तानका लागि आफू हारेर पनि सधैँ सन्तानलाई जिताउन लागिपर्ने बाबु आमा नै महान् र पुजनीय हुन् ।” हिजोआज जब ऊ ध्यान मुद्रामा बस्छ यस्ता अनेकन जिज्ञासाका उत्तरहरू आफसेआफ प्रष्फुटित हुन्छन् ।

ध्यानस्थ मुद्रामा करीब पाँच घण्टा बितिसकेको थियो । बिहानको करीब दश बजेतिर उसको ध्यान तीर्थयात्रीहरूको खल्याङमल्याङले खुल्यो । ‘जोगीबाबा’ भन्दै ऊ ध्यानस्थ भएको बेला नै गोसाईंकुण्ड घुम्न आएका केही तीर्थालुहरूले केही चामल, फलफूल, भेटी उसको नजिकै राखेर गएका रहेछन् । उसले आँखा खोलेपछि त्यो सबै देख्यो । साँच्चै नै ऊ अब अरू मानिसको नजरमा पनि जोगी बनिसकेको थियो । हुन पनि त्यो हिमाली हावामा बिहान सबेरै देखि एकसरो गेरु वस्त्रमा जो कोही कसरी ध्यानमा मग्न हुन सक्दो हो र ! उसलाई लाग्यो, आखिर जीवनमा केही त पक्कै घटित भएको छ । त्यो अचानक घट्यो अनि शायद त्यो लेखान्त नै थियो उसको ।”

करीब महिना दिन गोसाईंकुण्डकै काखमा विभिन्न योगासनहरूमा जप, तप, ध्यान, साधनामा बिते उसको । ऊ एक ध्यानी र ज्ञानी सम्बुद्ध पुरुषमा रुपान्तरण भयो । सबै कुराबाट विजय प्राप्त गरी मुक्तपुरुष भएर उसको दोस्रो जन्म भयो । अब ऊ अभिशप्त मात्र रहेन । अभिशप्त बुद्ध बन्यो ।

जीवन र जगतप्रति हेर्ने दृष्टि पूरै परिवर्तन भएपछि उसलाई जहाँ गएपनि, जे गरेपनि केही फरक नपर्ने ‘न्युट्रल’ भावनाको जागरण भयो । अब उसलाई एकै ठाउँमा बसिराख्नु आवश्यक पनि भएन । गोसाईंकुण्डको जमीनमा टेकेको एकतीसौँ दिनको सबेरै उक्त ठाउँबाट ऊ बाटो लाग्यो ।

जुन ठाउँ पुग्छु भनेर उसले लक्ष्य बनाएको थियो त्यो ठाउँमा ऊ पुग्यो । जुन अवस्थाको जीवनमा उसले लक्ष्य राखेको थिएन त्यो पनि उसले प्राप्त गर्यो । अब जीवनमा प्राप्त गर्नुपर्ने लक्ष्यहरू केही बाँकी रहेनन् । अबको यात्रा कहाँ हुने हो ऊ लक्ष्य बिना अगाडि बढ्यो । गोसाईंकुण्डबाट ओरालो डाँडाहरू झर्दै उसले त्रिशुली नदीको बहावलाई पछ्याउने निर्णय गर्यो । उसले अब नदी जस्तै लक्ष्यविहीन यात्राको तय गर्यो । उसलाई नदीको अध्ययन गर्न मन लाग्यो । अनवरत बगिरहने नदी उसलाई मानिसकै जीवन झैं लाग्यो अनि नदीको किनारै किनार करीव पन्ध्र दिनको यात्रा तय गरेर ऊ पवित्र देवघाटधाममा आइपुग्यो । त्यहाँबाट ऊ नदीको किनारै किनार अघि बढ्न सकेन । देवघाटको के आकर्षणले तान्यो उसलाई, ऊ त्यहीँ अडियो । काली गण्डकी र त्रिशुलीको संगम छेउ उसले आफ्नो पाल टाँग्यो । त्यहाँ पनि उसको जप, तप, ध्यान, योग साधना निरन्तर जारी रह्यो ।

० ० ० ०

यस पालि दशैँ तिहार बीचको कार्यालय बिदामा सपरिवार मुक्तिनाथ दर्शन गर्ने अवसर जुट्यो । हामी गएकै समयमा अभिशप्त बुद्धको पनि त्यहाँ यात्रा सवारी भएको रहेछ । उहाँको दर्शन र प्रवचन सुन्ने मौका पाइयो । हँसिलो, रसिलो, आभा पोतिएको अनुहारमा ब्रम्हचारी सन्यासीको जीवन दर्शन सुनेर लठ्ठ नहुने कोही पनि थिएनन् । म पनि उहाँको दार्शनिक चिन्तन, योग, ध्यान, जागरण, आध्यात्मिकता र ब्रह्माण्डको समूल ज्ञानको अगाडि नतमस्तक हुन पुगेँ ।