
तुँवालाको झुलभित्र ढसमस्स पल्टेको पहाड अझै उँघ्दै छ । वरिपरि फिजिएको रिक्तताले चुस्न थालेको हुँदा पोखरीमा गुजुल्टिएको हिउँपानी त्यस्तै देखिंदैछ, जस्तो लाहामा टाँसिएको रुवा बेसरी लुछ्दा देखिन्छ । छानाको कलशमाथि तन्द्रिल पाराले अडिएका कुहिरा पनि एक्कासि सक्रिय भएर अङ्ग भाँच्न थाल्छन् र हातमुख धुनु नै छ भने जस्तो गरी झ्याइँझ्याइँ गर्ने खोलातिर बहुलासरी हलक्क हल्किन्छन् । चारैतिर झिसमिस झिसमिस छ ।
झिसमिसेमै उठेर म अग्लो डाँडातिर जाँदैछु । पाइलाको प्रत्येक चालमा शहर मबाट पछिपछि सर्दै छ । रुझेको धरतीमाथि ढलपलाएर बसेका थोपाहरूले मेरो कपडाजुत्तालाई पूरै सिञ्चित गरेका छन् । लफ्फ भिजेका जुत्तालाई देख्दा मेरा स्मृतिमा आफ्ना कोठाको त्यो चित्र झिलिक्क हुन्छ जसमा घामले डढाएर खरिएको युवकलाई एउटी स्नेहार्द्र युवतीले घैलाबाट पेटभरि पानी ख्वाएकी छ ।
निरन्तर उचालिँदै गएको पातलो बाटाले मलाई माथिमाथि उकाल्दै छ । यस अग्लो डाँडालाई टाढा मेरा कोठाको झ्यालबाट हेर्दा धरतीको नाक ज्यादै उन्नत भएर उठेछ भन्ने झझल्कामा प्रायः म डुब्छु । अहिले मेरा पाइलाले कुल्चिंदै गरेको बाटाका दुवैतिर गहिरा गहिरा भीर छन्, हेर्दै भाउन्न आउने । भीरमा उम्रेका सल्लाका रूखहरू आकाश छुने धुनमा नबिसाई मास्तिर लम्किरहेका देखिन्छन् । मेरा मनलाई उँधो भीरतिर झर्ने विचारले कुतकुत्याउँछ, तर उभिन्डिने डरले पाइलामा अङ्कुसे हाल्छ । मेरा चटपटाउँदै गरेका आँखा चाहिँ भीरको त्यस बिन्दुमा पुगेर टक्क अडिन्छन् जहाँ मस्त च्याङ्ग्राहरू खुरमुनि सर्दै गरेका माटाको समेत सुद्धि नराखी बेफिक्री चर्दैछन् । डराउने मनलाई ओगटेर बाँचेको मलाई यस दृश्यले आँखा तल झार्न वाध्य गराउँछ ।
भीरको दृश्यलाई सीमित पार्दै निहुरिंदै गरेका मेरा आँखा फनक्क फर्केर सल्लाको त्यस आग्लो रूखमा अल्झिन्छन् जसलाई स्नेहसिक्त प्रेमीले आफ्नी प्रियतमालाई जागा गराए झैं म थपथपाउँदै हुन्छु । हावाले रूखका टुप्पामा ल्याएको कम्पन जरातिर ओर्लेको चाल थपथपाउँदै गरेको हातले पाएपछि ओठ पनि सुस्तरी हल्लिन्छन्, “बौलाहा रूख, जति अग्लिए पनि बाउन्नेले चन्द्रमा भेटेको छ के ?”
अब आकाशमा कसैको लाज रातो-रातो भएर छरपष्ट हुन्छ । तन्नेरी अरुण भुक्लुक्क निस्केर लाजलाई छोपिदिन खोज्छ, पातबाट मधुरोपन बेपत्ता हुन्छ र पत्थर रसाउन थाल्छ । अरुणको लिबलिबे जिब्राले चाटपुछ गरेर सारा परिपार्श्वलाई झलल्ल पारिदिन्छ । बिहानको उज्यालो सीमाहीन विस्तारमा एकनास फिँजिन्छ ।
म हिँड्दै गरेको बाटामा अजिङ्गर झैं लडेको भयङ्कर चट्टान छिनछिनमा कालो ओकल्दै छ । त्यहीं खैरा मखमले जस्ता थुप्रै फूल फुलेको छन्, व्यापारका तर च्याउभन्दा सर्वथा भिन्न ।
“के यी पत्थरका फूल हुन् ?” फट्टिएका मेरा आँखामा प्रश्नचिह्न बिउँझिन्छ ।
“फूल नलागी फल हुन्छ कहीं !” हावामा इत्तिरिंदै फूलले उत्तर दिए जस्तो गर्छन् । अनि मेरा आँखा गाडिन्छन् चट्टानको कालो बान्तामा, पत्थरको फल शिलाजितमा ।
त्यसै बखत नगिचै कसैले पिम्बा चलाउँछ, जसबाट मुखरित आकुलताले वातावरणमा सलबल उमार्छ । वातावरणमा सलबले तरङ्ग छर्दै आउने पिम्बास्वरले मेरा खुट्टालाई अहिले सवेग आफूतिर तान्न थालेको छ । मेरा खुट्टा अति सवेग भए पनि पारमाणविक भट्ठी जस्तो विशाल गुमज चाहिँ धेरै सुस्तरी नगिचिएको देखिन्छ । केही छिनपछि म एउटा ठूलो चैत्यका अगाडि उभिएको हुन्छु । त्यस विस्तृत गुमजका माथबाट विशाल तर अर्धनिमीलित दुई आँखा चिहाइरहेका हुन्छन् । अनुहारको शेष भाग पनि अब झट्ट बाहिर निस्किन्छ भन्ने भ्रमले एकछिन मलाई जेल्छ ।
“यसका कान र मुख छैनन् !” सोच्दासोच्दै मलाई ठाँगे लाग्छ । अनि गला फुटाएर आफैँ हाँस्छु, “हा, हा, हा ! यसलाई नाक र मुखको के काम ?”
चैत्य मलाई प्रतीक जस्तो लाग्छ, सम्य र उन्नत मानवको प्रतीक । प्रतीकको भावना डुबेको डुब्यै छेउका पसलको खाली तखतामा म बस्न पुग्छु, जसको ज्ञान मलाई त्यतिखेर मात्र हुन्छ जतिखेर बाख्राको एउटा सुग्घर पाठो उफ्रिंदै मेरा काखमा बस्न आउँछ । पाठो बस्नासाथ मेरा स्मृतिमा अजङ्गको चर्खा उल्टो गतिमा घुम्न थाल्छ । म त्यसैमा बेरिएर आफ्ना कोठामा पुग्छु ।
सलक्क परेको त्यो सानो बालक पनि यस्तै छौनै त थियो नि । ऊ मेरा काखमा खेलिरहेको थियो, म चाहिँ उसको चञ्चलतायुक्त निर्दोष छविलाई मनमा उतार्दै थिएँ । आन्तरिक छविलाई शब्दबद्ध गरेर जतिखेर मैले मूर्त गर्न खोजें, त्यतिखेरै छिमेकीका मुखबाट निस्केको उग्र विष थोपाथोपा गरी मेरा कानमा चुहिन थाल्यो । घिनलाग्दो अनुहारको एउटा अधबैंसे मेरा दैलामा उभिएर कुर्लिंदै थियो, “सरमछाडा बेतर, यत्रो उमेर भइसक्यो, तर टोलका केटाकेटी बिगार्न अझै बिहे नगरी बसेको छ । खबरदार, अब उपरान्त टोलका केटाकेटीलाई काखमा राखेर यसरी खेलाएको देखें भने ढाड भाँचेर कविता कोर्न बिर्साइदिनेछु, बुझिस् ।”
चर्खा टक्क अडिन्छ । काखमा बसेको पाठालाई आत्तिंदै पर हुत्याउँछु । सारिंदै पाठो माउतिर पुग्छ र एकछिन जिल्ल परेर उभिएपछि थुनमा तारन्तार सुख हान्न थाल्छ । मलाई आफ्ना छातीमा तीखो सुइरो रोपिएको जस्तो लाग्छ र म पीडाका स्वरमा मनको छटपट सुसाउन थाल्छु, “पशुका मापदण्डले मानिसलाई नाप्ने मूर्ख हो, चैत्यका आँखाले हेर्नसिक ।”
मनको उपत्यकामा गुम्सिएर निसासिएको मेरो स्वर मेरै कानभरि गाइँगुइँ गरेर सेलाउँछ । म बसेको तखताका छेउमा नाली छ, फोहरको उग्र नदी जस्तो नालीमा कीरा स्याउँस्याउँ हिँडिरहेका छन् । नालीदेखि उता बाँसघारी छ । घारीका बाँस जोश झिकेर हल्लिरहेका छन् । सामुन्ने ठिङ्ग उभिएको चैत्य चाहिँ अघि जस्तै अचल र निर्विकार छ । यसका न कान छन् न मुख छ, अनि विकार पस्ने कहाँबाट ? माथिबाट चिहाइरहने ठूला ठूला रसिला आँखा भने नाकका ठाउँमा बनेको प्रश्नचिह्नतिर टोलाएका छन् ।
ढोकाढाँचाको खुल्ला ठाउँबाट म भित्र पस्छु र विशाल प्रतीकका झन् छेउमा उभिन्छु। मासु, डिम्मा, बीडी, चुरोट र अरू के के वरिपरि चढाइएको छ । एक्कासि तीव्र जाँडको कुइगन्ध मेरा नाकको पोराबाट बलजफती भित्र छिर्छ । म देख्छु, मेरा नगिच उभिएको एउटा जर्कटो अनुहार चैत्यलाई सभक्ति जाँड अर्पित गर्दैछ। ‘वामेपिमेहुम्’ को उच्चारगतिका अनुरूप उसका हातमा रिङ्दै गरेको मानेका सँगसँगै म पनि अतीतमा रिङ्न थाल्छु ।
रिङ्दारिङ्दै म त्यस दिनको त्यस क्षणमा पुग्छु जुन क्षण रक्सीका उत्तेजक थोपाहरूले मेरा शरीरका धर्सा धर्सा कोपर्दे थिए र म उत्तेजना शान्त गराउने व्यावसायिक ठिटीको सुन्दर केशका केस्रा केस्रामा भिज्दै थिएँ । त्यसै बखत छिमेकी कुकुरले भुक्यो, “हेर त स्वस्थ साहित्यका निर्माताको चाला । नशामा लट्ठिएर बेस्सेसँग लटपटिन पाउँदा पो अचेल स्वस्थ साहित्यको निर्माण हुँदो रहेछ ! थुक्क !”
“खुट्टाको हिलो देख्ने अधम, हातको कमल किन देख्दैनस् !” रीसले मेरो आकृति धप्प बलेको गोल जस्तै रातो हुन्छ ।
मेरा मुखबाट अकस्मात् निस्केको वाक्यले रिङ्दै गरेको चक्रलाई झसङ्ग पारेर अघाउँछ । मेरो वाक्य हावासँगै पौडी खेल्दै गुमजका माथमा पुग्छ, तर ठक्कर खाएर लगत्तै तल पछारिन्छ र सङ्गतिहीन शब्दको निरर्थक टुक्राटाक्री भएर छरिन्छ । चैत्यका त कानै छैनन्, अनि वाक्यले जाने कहाँ ? तर मलाई आपना टाउकामा तरल थोपाहरू चुहिएको जस्तो लाग्छ । माथि हेर्दा चैत्यका ठूलाठूला आँखा छचल्किँदै गरेका देखिन्छन् । “के म अभिषिक्त भएँ त ?” मभित्र कस्तो कस्तो भेल उन्मादित हुन्छ । मेरा टकलाई चैत्यका टलपलाउँदा अर्धनिमीलित आँखाले अचर पार्छन् ।
एकछिनपछि मेरो टक चैत्यको सम्मोहनबाट फुक्का हुन्छ र मेरा आँखा बिस्तार अझै मास्तिर कलशतिर उक्लिन थाल्छन् । चैत्यका कलशमा बसेर जथाभावी गर्ने बाँदरलाई देख्नासाथ मेरा शिरमा परेका अपवित्र छिट्टाहरू चिलाउने रोग भएर मलाई सताउन थाल्छन् । रन्थनिँदै म भुइँबाट ढुङ्गो टिप्छु र बाँदरलाई हान्न हात उझ्याउँछु । हान्ने क्रममा मेरा आँखा चैत्यका आँखासँग फेरि जुध्छन् । अहिले अर्धनिमीलित आँखामा टलपल छैन, छचल्किने कुरो छैन ।
“के यी चहकदार आँखा पनि ज्योतिहीन पिलपिल मात्र हुन् ?” म स्तम्भित र स्तब्ध हुन्छु । नाकका ठाउँमा बनेको प्रश्नचिह्न झन्झन् टड्कारिन्छ । मेरा हातबाट ढुङ्गो तल झर्छ र मेरो टाउको गुमजमा जोडिन पुग्छ । गुमजमा टाउको जोतेर म कराउँछु, “सहिष्णुताका सजीव प्रतीक, म पनि तिमी सरह बहिरो बन्छु, लाटो बन्छु, अन्धो बन्छु !” चैत्यको प्रश्नचिह्न बिस्तारै धमिलिन्छ ।
ओठको दुवै कुनामा जमेको सेतो फिँजमा म आफ्नो पाखुरा दल्छु । अनि मेरा खुट्टाहरू बाटाका उल्टा पदचिह्नहरूलाई सुल्टा पार्न व्यस्त हुन्छन् । अहिले मेरो मुख सहरतिर फर्केको छ र चैत्य पछि-पछि सर्दो छ । म देख्छु, झुलभित्र उठ्ने पहाड अहिले सावधान र अडिग भएर उभिएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

