साथी, पुलिस भनेको भ्रष्टाचार, दुराचार, व्यभिचारलाई दमन गर्न बनाइएको हो तर भ्रष्टाचार, दुराचार, व्यभिचार सधैं जनताबाट हुँदैन सरकारबाट पनि हुन्छ । अँ… धेरैजसो । वाह ! जनता र पुलिस शत्रु रे, खै यहाँ त जति गरे पनि जनता र पुलिस शत्रु ।
၀၀၀၀
कताकता एउटी केटीको डायरीमा पढेको थिएँ- “मलाई सबैभन्दा बढी घृणा पुलिससँग हुन्छ । यिनीहरू बाटाभरि मात्तिएर, छिल्लिएर अश्लील बोलेर हिँड्छन् । यिनीहरू आफूलाई सरकार सम्झन्छन्, शासक ठान्छन् । जबरस्वाँठ सामन्तीजस्ता हुन्छन् पुलिसहरू । म त्यो बाटो आजभोलि हिँड्दिनँ, कारण त्यहाँ पुलिसको अखडा छ ।”
यसो हेर्छु र विचार गर्छु निकै सृष्ट डायरी हो यो, अचानक मलाई एउटा पुलिस साथीको सम्झना आउँछ । जो जागीर खाएको कैयन् वर्षपछि जमदार भएको थियो साथसाथै अवकाशप्राप्त पनि । अहिले ऊ यहाँ छैन, गरिखाने धुनमा मधेस झरेको छ । गरिखाने धुन यथावत् छ र सधैं रही त रहन्छ ।
जागीर खाएको लामो अवधिमा यसो भनौं प्रगति गर्न नसकेका दिनहरूमा ऊ आफै निकै बौद्धिक, निकै दार्शनिक, निकै राजनीतिज्ञ जस्तो भएको थियो । भट्टीमा प्रायः हामी सँगै हुन्थ्यौं । एउटा वाक्य ऊ सधैंभरि भन्ने गर्थ्यो अथवा गफ ऊ यसै वाक्यबाट सुरु गर्थ्यो, “साथी, पुलिस भनेको भ्रष्टाचार, दुराचार, व्यभिचारलाई दमन गर्न बनाइएको हो तर भ्रष्टाचार, दुराचार, व्यभिचार सधैं जनताबाट हुँदैन सरकारबाट पनि हुन्छ । अँ… धेरैजसो । वाह ! जनता र पुलिस शत्रु रे, खै यहाँ त जति गरे पनि जनता र पुलिस शत्रु ।”
त्यसपछि निधार खुम्च्याएर ऊ हाँस्थ्यो । एक चौथाइ लगाइसकेपछि फेरि बोल्थ्यो, “तपाईंलाई थाहा छ ? मेरो एउटा ग्रेज्युएट साथी छ, ऊ आफ्नो शारीरिक नापतौलबिना कोरा नातावादको नातामा पुलिस इन्सपेक्टरको पदमा छानिएको थियो । उसकी स्वास्नीले थाहा पाइछ… तुरुन्त भनी – सारा साथीहरू क्रान्तिकारी हुन लागिरहेछन् तिमीचाहिने पुलिस इन्सपेक्टर ! पछि तिमी साथीहरूलाई समात्दै जेल हाल्नुपर्दा पछुतो नगर्नु नि… अँ । पैसा र ओहदाले के गर्छ ?
लाछी मोरो स्वास्नीको नोकरजस्तै थियो, तुरुन्त नाउँ झिकिदियो । कहीँकहीं त स्वास्नी पनि गजबकी हुन्छे । त्यसपछि ऊ हाँस्थ्यो फेरि । म सम्झन्थें, रक्सीले हो कि हाँसोले हो उसलाई कमभन्दा कम आफ्नो स्थितिभन्दा टाढा लागिरहेछ, नत्र ऊ साँचो पुलिस भए यो भट्टीभित्र कम भ्रष्टाचार चलेको छ ? एउटा कोरा भोटेनी ल्याएको छ साहूले रक्सी बिकाउनलाई गजब राम्री । हिजो त्यसलाई चार जनाले सुताएको थियो, खै यो पुलिसको जमदारले के गर्न सक्यो ? दालमा कालो छ है सरकार ! जमदारको के तागत ? बबुरो तातिएको रगतलाई सेलाउन रक्सी चाहिन्छ उसलाई ।
कहिलेकाहीँ ऊ त असाध्य पीर पोख्थ्यो । म पनि दिग्दार हुन्थें उसको निम्ति । ऊ भन्थ्यो – हेर्नुस् न मजति दुःख पाउने मान्छे यो संसारमा को होला र अरू ? मान बढ्ला, पैसा बढ्ला, ठाँटिएर हिँड्न पाउँला, चोर पक्रन पाउँला, पापीको नाश गर्न पाउँला भनी पुलिस भइयो । हरे ! सुन्नेले छाती फुटाउला । सुरुसुरुमा म पुलिसमा भर्ना त भएँ नि, तर के गर्ने ? थाहा छ लगातार चार वर्ष डी. एस. पी. को घरमा दाउरा चिरेर, डी. एस. पी. नीको पेटीकोट धोएर, उनीहरूका छोराछोरीको लातघुस्सा सहेर बिताएँ । कहाँ त देशको सुरक्षा गरौं भनी सुरिएर आएको जवान । हा ! हा ! हा !”
त्यसपछि ऊ मनग्गे हाँस्छ । सोध्छु, हाँसेर थोरै पार लागिन्छ र यो जीवनमा ? कि यो अवस्थामा ? तर ऊ निस्फिक्री हाँस्छ कसले रोकोस् उसलाई ?
एक रात हामीहरूले धेरैबेरसम्म भण्डारखालको जङ्गलमा गफ गरेर बितायौं । एउटा साथीको बिहेमा गएका थियौं, बिसौनी त्यहीं पर्यो फर्केर आउँदा । ऊ भन्थ्यो, “यो पन्ध्र दिनभित्रमा ३ पटक विदेशी पाहुनाहरू आइसके । स्वागत गर्न जानै पर्यो । बिहानदेखि भोको, युनिफर्मको रवाफले कति थेग्छ हँ मान्छेको जीवनलाई ? ल विदेशी पाहुना आयो रे मानें मैले, तर अखबारमा कसको तस्वीर निस्कन्छ ? प्रीतिभोज कसले खान्छ ? उपहार कसले ठोक्छ ? पुलिसको जमदारले ? वाहियात । हाम्रो जीवनको मूल्य छ केही ? युनिफर्म लगाएर मोडमोडमा उभिँदा सत्य म त यस्तै सोच्छु तर यो भावना देशद्रोही होइन है, तपाईं बुझिहाल्नुहुन्छ नि होइन ?”
ऊ अलिकति मदेखि डराउँछ, वास्तवमा मदेखि होइन वातावरणदेखि डराउँछ । बेलाबेला उसको अलिकति झस्किनु निकै रमाइलो लाग्छ मलाई । कहिले आफ्नो कमलो मनको विज्ञापन दिन्थ्यो ऊ र कहिले दुःख पोख्थ्यो। कहिलेकाहीँ हामी आफ्नो सुविधाबारे पनि गफ गथ्यौं। ऊ मेरो असुविधाहरूलाई विश्वास नै नगर्ने ।
भन्थ्यो, “पुलिसलाई के सुविधा छ ? फाँटतिर हँसेनीहरू देखे कानमा हात राखेर रसिया गाउनु, त्यसपछि सोध्नु घर कहाँ हो ? माइती कहाँ हो ? यी हँसेनीहरूको पनि मति बिग्रिसकेको छ भाजभोलि, खाकी पोसाक त देख्नै हुँदैन त्यसै छिल्लिन्छन् । अँ, हामीलाई मादल बजाउने सुविधा छ, नाच्ने सुविधा छ, उही पनि ब्यारेकमा बस्दा । म त घरमा जान्छु, स्वास्नी छे । छोरा छ । पार्टी भएको दिन माथिल्लो अफिसरको घरमा चाकरी बजाउन जानुपर्छ । वाह ! उनीहरू कति पैसा बगाउँछन् एउटाएउटा पार्टीमा । हप्तामा ३ दिन उनीहरू पार्टीमा नै व्यस्त हुन्छन् । म पनि ख्वाउनलाई खूब सौखिन मान्छे, तर एक साँझ दुई-तीन जना साथीहरूलाई डाकेर ख्वायो कि बजेट… बस कुरै नगर्नोस् । अफिसरलाई पुग्ने हामीलाई नपुग्ने कसरी होला हगि ? तर के गर्ने तलब ओहदा हेरेर पाइन्छ, खटन हेरेर होइन ।”
उसको यस्तो कुरा सुन्दा मलाई असाध्य दुःख लाग्थ्यो । मेरो प्रशस्त सहानुभूति छ ऊप्रति, यसैले कि शोषणको नातामा हामी दुवै जनता हौं। फरक यति हो जतिसुकै असन्तुष्टिहरू भए पनि उसले अनुशासन भोग्नै पर्छ । मलाई पर्दैन । यस मानेमा म एक इन्च सुखी छु।
तर बेला-मौकामा यस्तो धारणालाई पनि चकनाचूर पारिदिन्थ्यो उसले “उफ् ! विद्यार्थीका निम्ति कुनै गुनासो नै नरहोस् न, यस्तो किन हुँदैन हैं ? किन उनीहरूले बाध्य भएर जुलुस निकाल्नुपर्छ ? लाठीचार्ज गर्नुपर्दा जहिले पनि दूधमुखे भुराहरू अघिअघि आइदिन्छन् । म यस्तो सकसमा पर्छ त्यस बेला… ठीक त्यस बेला मलाई सारा युनिफर्म बादर्नी मैयाँको कथामा जस्तै डढाएर एकातिर शुद्ध मान्छे भई भागिदिन मन लाग्छ ।”
म जिल्लिन्छु उसका कुरा सुनेर । तर ऊ भन्दै जान्थ्यो, “समय सधैं एकैनास नै छ । पहिले शोभाभगवतीमा मान्छे काथ्यो ! अब जेलमा पहिले फाँसी दिने त्यसपछि शोभाभगवतीमा लगेर त्यसलाई काटिदिने ।”
त्यसपछि म डराउँथे र झस्कीझस्की बाहिरतिर हेर्थे । कुरा त हाँसो लाग्ने तर हाँस्नै नसकिने । एक दिन डरलाग्दो आवेशमा आएको थियो ऊ । घरीघरी चुनौती दिन्थ्यो कुन्नि कसलाई हो मचाहिं भर्खर मात्र भारतीय पत्रिकामा पढेर आएको एउटा लेख सम्झिरहेको थिएँ- ‘आजभोलि कलकत्तामा पुलिस र विद्यार्थी एकअर्काको डरलाग्दो दुश्मन भएका छन् । दुवै थरी एकअर्कालाई प्रतिशोध लिनको निम्ति एकअर्काको ताकमा हुन्छन् ।’ त्यो बेला नक्सलाइटको जगजगी थियो त्यहाँ ।
आवेशमा अरूले केके बोल्यो त्यो मैले सुनिनँ तर उसको अन्तिम कुराले मलाई आकर्षित नगरी छोडेन । ऊ मलाई कोट्टयाएर भनिरहेको थियो आँखाहरूलाई बिरालोले जस्तै बालेर, “जसले बन्दुकको सृजना गर्यो त्यसले बन्दुकको धर्म-निर्धारण गरेर गएको छैन । बन्दुकको अनुशासन हुँदैन, यसलाई जता घुमाए पनि हुन्छ, अत्याचारको मार जता बढी पर्छ ।” त्यसपछि एकातिर ऊ लत्रक लत्रिदियो ।
पुलिस साथीको सम्झनाले अचानक छोड्छ मलाई रातमा ऐंठनले छोडेजस्तै । म खुरुक्क त्यस केटीको डायरीको पाना च्यातेर खल्तीमा हाल्छु र हिँडिदिन्छु ।
(पारिजातको कथासंग्रह ‘सडक र प्रतिभा’बाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ माघ २०८२, शुक्रबार 










