ॐ नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।
समादरणीय प्रिय पाठक बन्धु !
यही मंगलाचरणका साथ महाभारतका रोचक कथाहरूको सिलसिला प्रारम्भ भएको एक वर्ष पूरा भएको छ । परम श्रद्धेय भगवान् वेदव्यासकृत बृहत्तम ग्रन्थ महाभारत आख्यान–मालाका वृत्तान्त हरेक सप्ताहको शुक्रवारका दिन सहृदयतापूर्वक प्रकाशित गर्ने साहित्यपोस्ट परिवार एवम् सप्रेम पढेर हामीलाई कृतार्थ तुल्याउने समस्त भावकवृन्दप्रति सनतकुमार आत्मीय अभिनन्दन एवम् हृदयतः साधुवाद टक्य्राउँदछ एवम् यो सिलसिला निरन्तर कायम रहनेछ भन्ने आत्मीय विश्वास पनि प्रकट गर्दछ ।
……
प्रिय सहृदय पाठक बन्धु ! आउनुहोस्– आज चित्ररथ गन्धर्वको यो रोचक आख्यानको आनन्द लिऔं ।
माता कुन्तीका साथ पाण्डवहरू एकचक्रा नगरीमा ब्राह्मणका घरमा आश्रय लिएर बसेको करीब एक महिना बित्नै लागेको थियो । यसै बीच नरभक्षी भीषण राक्षस बकासुरको वध गरेर भीमले ब्राह्मण–परिवारको रक्षा गरेका थिए, त्यस घटनापछि नगरवासीहरूले पनि चैनको सास लिन थालेका थिए । महर्षि वेदव्यासको व्यवस्थानुरूप तिनीहरू एक महिनाका लागि त्यहाँ रहेका थिए ।
एक महिना बित्नै लाग्दा एक जना घुमन्ते ब्राह्मणले आएर सबैतिरको हालचाल सुनाएका थिए, अनि पाञ्चालनरेश द्रुपदले यज्ञकुण्डबाट आविर्भूत आफ्नी देवकन्योपमा पुत्री कृष्णा यद्वा द्रौपदीको स्वयंवर–सभा आयोजना गरेको खबर सुनाएका थिए, अनि कुन्तीलाई के पनि भनेका थिए भने–
राजा द्रुपदले त सर्वश्रेष्ठ धनुर्धर अर्जुनलाई नै छोरी दिन चाहेका थिए नि, तर के गर्नु र, उनी त लाक्षागृहको अग्निकाण्डमा पो परेछन् भन्ने थाहा पाएर द्रुपद सारै दुःखी बनेका छन् । तपाईंका यी छोराहरू एक से एक रहेछन् । त्यो स्वयंवरमा यिनीहरूलाई सहभागी गराउनुहोस् । कृष्णाले कुनै न कुनै एक भाइलाई पक्कै वरमाला पहिराइदिनेछन् । अनि पाञ्चालदेश बस्नलाई पनि सारै सुविधासम्पन्न छ, तपाईंहरू त्यतै बसेको राम्रो ।
वास्तवमा ती अज्ञातनामा ब्राह्मणका घरमा पाण्डवहरू गुप्त रूपमा रहेकाले, उनीहरू जीवितै छन् भन्ने कुराको सुइँको कसैले पनि पाएको थिएन ।
यो समाचार सुनेपछि पाण्डवहरूको मन स्थिर हुन सकेन । ती सबै अब पाञ्चालतिरै लाग्नुपर्छ भन्न थाले । माता कुन्तीले पनि के भनिन् भने– कति दिन यी ब्राह्मणका घरमा बस्ने ? वरपरका गृहस्थहरूले अब त पहिले जति भिक्षा पनि दिन छोडिसकेका छन् । यसरी निर्वाह गर्न असम्भव छ । अब यहाँबाट हामीले प्रस्थान गर्नैपर्छ । सबै भाइले आमाका कुरामा सहमति जनाएपछि, सबै त्यहाँबाट बिदा लिएर पाञ्चालतिर जान भनेर निस्किन ठीकमात्र के पर्दै थिए, त्यसै वेला महर्षि व्यास टुप्लुक्कै त्यहीं आइपुग्नुभयो ।
माता कुन्तीसहित पाँचै भाइ पाण्डवले उहाँको अभिनन्दन, अभिवादन र यथोचित पूजा सत्कार गरे । वेदव्यासले सबै कुशलक्षेमको समाचार सोधिसकेपछि यो कथा सुनाउनुभयो :
धेरै दिन पहिलेको कुरा हो । एउटा भव्य तपोवनमा एक जना महात्मा ऋषिकी कन्या रहन्थिन् । छिनेको कम्मर, पुष्ट नितम्ब र वक्रिम आँखीभौंले शोभायमान ती कन्या समस्त सद्गुणले पनि सम्पन्न थिइन् तैपनि आफ्ना प्रारब्धले गर्दा दुर्भाग्यवश उनको बिहा हुन सकेन । अन्ततः उनी पति पाउनका लागि उग्र तपस्या गर्न थालिन् । चाँडै नै आशुतोष शङ्कर प्रसन्न हुनुभयो र दर्शन दिएर वरदान दिन तत्पर हुनुभयो । पतिको कामनाले व्यग्र बनेकी उनले वारंवार एउटै कुरा दोहोर्याइन् :
प्रभो, म सर्वगुणसम्पन्न पति चाहन्छु ।
आशुतोष शङ्करले तथास्तु गर्दै भन्नुभयो :
हे भद्रे, तिम्रा भरतवंशीय पाँच भाइ पति हुनेछन् ।
तिनले भनिन् :
प्रभो, म त हजुरका कृपाले एकमात्र पति चाहन्छु ।
भोले बाबा शङ्करले भन्नुभयो :
तर, तिमीले पाँच पटक पति मागेकी छौ । मैले तथास्तु पनि भनिसकें । बोलेको वचन अब अन्यथा हुन सक्दैन । पीर नगर । तिमीले अर्को जन्ममा मैले दिएको वरदान पाउनेछौ ।
यति भनेर कृपासिन्धु भगवान् शङ्कर अन्तर्हित हुनुभयो ।
अन्तमा व्यासले भन्नुभयो :
अहिले तिनै नारीरत्न महाराज पृषतकी नातिनी, पाञ्चालनरेश द्रुपदकी छोरी कृष्णा बनेर जन्मिएकी छन् । तिनै सती साध्वी द्रौपदीलाई विधाताले तिमीहरू पञ्च–पाण्डवकी पत्नीका रूपमा नियत गरेको छ । अतः हे महाबली वीरहरू हो, तिमीहरू अब पाञ्चालको राजधानीतिर लाग । द्रौपदीलाई पाएर तिमीहरू सुखी हुनेछौ, यसमा कुनै सन्देह छैन ।
यति भनिसकेर व्यास तत्काल विदा हुनुभयो । माता कुन्तीसहित पाँचै भाई पाण्डुनन्दनले पनि प्रसन्नतापूर्वक पाञ्चालदेशतिर प्रयाण गरे ।
……
एकचक्रा नगरीबाट उत्तराभिमुख हुँदै तिनीहरूले यात्रा प्रारम्भ गरे । एक दिन र एक रात हिंडेपछि ती सबै गङ्गाका किनारमा सोमाश्रयायण नामक तीर्थमा पुगे । त्यसबेला वीराग्रणी अर्जुन राँको बालेर अगि अगि लागेका थिए । तीर्थमयी गङ्गाको रमणीय एकान्त जलप्रवाहमा गन्धर्वराज चित्ररथ आफ्ना सुन्दरी रमणी स्त्रीहरूका साथ जलविहारको आनन्द लिइरहेका थिए । गङ्गाकिनारमा पाण्डवहरू आउँदै गरेको देखेपछि, आफ्नो एकान्त क्रीडामा बाधा पुग्नाले चित्ररथ क्रुद्ध भए । आफ्ना भयंकर धनुषमा ताँदो चढाएर भीषण टंकार भर्दै तिनले भने :
रात्रि प्रारम्भ हुनुभन्दा पहिले, पश्चिम दिशामा लाली लागेका सान्ध्य वेलामा, अस्सी लव समय छोडेर अरु सारा समय, इच्छानुसार विचरण गर्ने हामी यक्ष, गन्धर्व र राक्षसका लागि निश्चित गरिएको समय हो । बाँकी समय मानिसहरूका लागि हो । जुन मान्छे लोभी पाराले हाम्रो समयमा यता घुम्न निस्कन्छ त्यस्ता मूर्खलाई हामी झ्यालखानमा हाल्छौं । ए मूर्ख मनुवा हो, खबरदार यतातिर एक कदम पनि नबढाओ । म यक्षराट् कुबेरको प्रिय मित्र अंगारपर्ण हुँ । यो सारा वनस्थली पनि मेरो हो । मेरो इलाकामा प्रवेश गर्ने धृष्टता नगर, नत्र अनाहकमा कालका मुखमा परौला ।
वीरवर अर्जुनले जवाफ दिए :
हे दुर्मति ! समुद्र, हिमालय र तराइको भूभागका साथ पतितपावनी गङ्गाको तट यो सबै, सबै समय सबै मानवजातिका लागि हो । यसमा आफ्नो अधिकार जताउने तिमी को हौ ? हे आकाशचारी गन्धर्व, हामीलाई नजिस्क्याऊ । अरु दुर्बल मनुष्य जस्तो हामीलाई नठान । हामी शक्तिशाली छौं, कुनै पनि समय आएर तिमीलाई धराशायी बनाउन सक्छौं ।
प्राचीनकालमा हिमालयका स्वर्णशिखरबाट निस्किएकी गङ्गा सात धारामा बाँडिएर अन्ततः समुद्रमा गएर मिलेकी छन् । गङ्गा, यमुना, सरस्वती, रथस्था, सरयू, गोमती र गण्डकी यी सात नदीको जल जसले पिउँदछ उसका सकल पाप तत्कल नष्ट हुन्छन् । यी पारमपावनी गङ्गाको एकमात्र किनार भनेको आकाशमात्र हो । यिनी देवलोकमा अलकनन्दाका नामले, पितृलोकमा वैतरणीका नामले र पृथ्वीलोकमा भागीरथी गङ्गाका नामले रहन्छिन् भन्ने कुरा भगवान् कृष्णद्वैपायन व्यासले स्वयं उद्घोष गर्नुभएको छ । त्यस्ती गङ्गाका पवित्र जलप्रवाहमा आउन रोक लगाउने तिमी को हौ ?
अर्जुनका यस्ता कुरा सुनेर क्रोधले उद्दीप्त भएका ती गन्धर्वले केही नबोलिकन विषालु सर्पजस्ता तीखा बाण पाण्डवहरू उपर वर्षाउन लागे, तर वीरवर अर्जुनले उनका ती सबै बाणहरुलाई हातको राँको घुमाएर अनि आफ्नो उत्तम ढाल तेस्र्याएर निष्फल बनाइदिए । अनि भने :
हे मूढमति गन्धर्व, जो शस्त्रास्त्रविद्याको विद्वान् छ त्यस्ता व्यक्तिमाथि तिम्रो यस्तो तुच्छ धम्की अर्थहीन छ । मेरा अगि यस्ता तिम्रा मायाका खेल जलको फिँजजस्तो भएर विलीन बन्दछन् । सक्छौ भने आऊ, म तिमीसँग दिव्यास्त्रले युद्ध गर्दछु । हे गन्धर्व, यो आग्नेयास्त्र हो । पहिले यो देवगुरु बृहस्पतिले भरद्वाज मुनिलाई, उहाँले अग्निवेश्यलाई र उहाँले पनि मेरा गुरु द्रोणाचार्यलाई प्रदान गर्नुभएको हो । उहाँको कृपाले यो दिव्यास्त्र मैले प्राप्त गरेको हुँ । अब तिमी यसको सामना गर !
यति भनेर अर्जुनले आग्नेयास्त्र मन्त्रिएर प्रहार गरे । सन्सनाउँदै गएर त्यसले ती गर्वशाली गन्धर्वको रथ एकै पलमा भस्म गरिदियो । रथहीन भएर सातो उडेका ती गन्धर्वको जुल्फी समाएर अर्जुनले घिसार्दै दाजु युधिष्ठिरका सामू हाजिर गराए । त्यस वेलासम्म ती मूच्र्छा परिसकेका थिए ।
ती गन्धर्वकी पत्नी थिइन् कुम्भीनसी । उनले युधिष्ठिरका सामू हात जोडेर पतिको जीवनदान मागिन् । युधिष्ठिरले तथास्तु भने । गन्धर्वको ज्यान बच्यो ।
होश आएपछि उनले भने : हे वीरवर अर्जुन, म हजुरसँग परास्त भइसकेको छु । मेरो जीवनरक्षाका लागि म अनुगृहीत छु । मेरो नाम चित्ररथ थियो, तर त्यो विचित्रको रथ दग्ध भइसकेकाले नयाँ नाम लिन्छु : दग्धरथ । हे अर्जुन, म तपाईंसँग मित्रता चाहन्छु र यो मेरो विद्या उपहार गर्दछु । यसको नाम हो चाक्षुषी विद्या । यो मनुले सोमलाई, सोमले विश्वावसुलाई र विश्वावसुले मलाई प्रदान गर्नुभएको हो । यो अत्यन्त दुर्लभ विद्या हो । छ महीनासम्म एउटै खुट्टामा उभिएर तपस्या गर्नेले मात्र यो प्राप्त गर्न सक्दछ । यसका प्रभावले यस जगत्मा रहेको कुनै पनि अदृश्य वस्तुलाई जतिखेर जुन रूपमा चाह्यो त्यसै रूपमा देख्न सकिन्छ । यसका अतिरिक्त म हजुरका भाइहरूलाई गन्धर्वलोकका सय–सयवटा उत्तम घोडा पनि अर्पण गर्दछु । यी घोडाहरूमा के विशेषता छ भने– यी घोडा दिव्यकान्ति भएका, मनका समान वेगशाली, आवश्यकतानुसार साना र ठूला रूप धारण गर्न सक्ने, वज्रकठोर, इच्छानुसारको रंग धारण गर्ने अनि जुन बेला चाहियो त्यही बेला प्रकट हुने गर्छन् ।
अर्जुनले भने : तिमी आफ्नो प्राण बचाएको बदलामा यी सब कुरा दिंदैछौ भने यो दान म स्वीकार गर्दिनँ ।
गन्धर्वले भने : होइन वीरवर, म त हजुरसँग मित्रता गर्न पाएकामा प्रसन्न भएर प्रीत्यर्थ यी वस्तु उपहृत गर्दैछु ।
अर्जुनले भने : उसो भए म पनि तिमीलाई यो आग्नेयास्त्रको विद्या दिएर यी वस्तुहरू तिमीसँग लिन्छु । तर, एउटा कुरा भन । तिमीले बित्थैंमा हामीमाथि किन आक्रमण गरेका ?
उनले भने :
हे पाण्डुकुमार, तपाइँहरू अविवाहित भएकाले त्रिविध अग्निको सेवा गर्नुहुन्न । प्रतिदिन अग्निलाई आहुति पनि दिनुहुन्न । तपाइँहरूका अगि कुनै ब्राह्मण पुरोहित पनि छैनन् । यिनै कमी कमजोरीका कारण नै मैले आक्रमण गरेको हुँ । म तपाइँहरू सबैलाई र तपाईंको सकल खानदानलाइ पनि राम्ररी चिन्दछु । तपाईंहरू बलशाली हुनुहुन्छ भन्ने जान्दाजान्दै पनि आफ्न स्त्रीहरूका अगि आफ्नो पराक्रम कायम राख्न मैले आक्रमण गरेको हुँ । अनि रातका बेला हाम्रो शक्ति एकदमै जागृत हुन्छ, त्यस कारणले पनि मैले आक्रमण गरेको हुँ ।
मलाई यो पनि थाहा छ कि तपाइँले मलाई कसरी जित्नुभयो । ब्रह्मचर्य सर्वोत्तम धर्म हो, त्यो तपाईंसँग छ, तर मसँग छैन । तर, यदि कामासक्त नै छ भने पनि आफ्ना अघि जो व्यक्ति उत्तम पुरोहित लिएर हिंड्दछ त्यसलाई कसैले पनि जित्न सक्दैन । हे तपतीनन्दन, कुनै पनि राजा उत्तम पुरोहितको सहायता विना कहिल्यै पनि विजय पाउन सक्दैन ।
अर्जुनले बीचमै सोधे : हे गन्धर्व तिमीले हामीलाई तपतीनन्दन भनेर किन सम्बोधन गरेको ? यसका बारेमा हमीलाई सबै कुरा स्पष्टसँग भन ।
यस प्रश्नपछि ती गन्धर्व चित्ररथले एउटा लामो आख्यान सुनाए ।
प्रिय, पाठकबन्धु ! त्यो रोचक आख्यान आगामी अंकमा प्रस्तुत गरिनेछ ।
सबैको जय होस् !
…..
महाभारत आदिपर्व, १६४ देखि १६९ अध्यायमा आधृत ।
२०८१ चैत्र १ गते शुक्रवार । ॐ अक्षरालयः ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ माघ २०८२, शुक्रबार 










