महर्षि वेदव्यासको दर्शन पाएपछि उहाँकै आज्ञा र व्यवस्थाअनुसार पाण्डवहरू आफ्नी आमा कुन्तीका साथ एकचक्रा नाम गरेको, हस्तिनापुरको सुदूरवर्ती नगरीमा एक ब्राह्मणको घरमा बस्न थालेका थिए । उनीहरू त्यहाँ कसरी बस्दथे त ? महाभारत भन्दछ :
रमणीयानि पश्यन्तो वनानि विविधानि च
पर्थिवानपि चोद्देशान् सरितश्च सरांसि च ।
चेरुर्भैक्षं तदा ते तु सर्व एव विशाम्पते
बभूवुर्नागराणां च स्वैर्गुणैः प्रियदर्शनाः ।। मभा, आप, १५६ अ,३–४ श्लो ।
राजा जनमेजयलाई सम्बोधन गर्दै मुनि वैशम्पायन भन्नुहुन्छ :
हे राजन्, त्यस एकचक्रा नगरीमा थरि–थरिका रमणीय वन, सुन्दर भूभाग, पुण्यसलिला सरिता, अनि रमणीय सरोवरहरूका शोभाशाली दृश्यहरूको आनन्द लिँदै, भिक्षावृत्तिद्वारा जीवन निर्वाह गरेर ती पाण्डुनन्दनहरू ती अज्ञातनामा ब्राह्मणका घरमा बस्दथे । आफ्नो देवोपम रूप र उत्तम गुणहरूका कारण त्यहाँका समस्त नागरिकहरूका ती प्रियपात्र बनेका थिए ।
उत्कृष्ट मानवीय एवम् दैवी गुणले सम्पन्न परमपराक्रमी पाण्डुनन्दनहरू किन भिक्षावृत्ति लिएर बसेका थिए त ? भन्ने प्रश्न तीव्रताले मनमा उठ्दछ । वास्तवमा तिनीहरू दुर्योधनको षड्यन्त्रका शिकार बन्दा–बन्दै उम्किएका थिए । लाक्षागृहको अग्निकाण्डमा परेका भए उनीहरूको इहलीला समाप्त भइसकेको हुने थियो । त्यहाँबाट सुरुंग–मार्गबाट रातारात भागेर उनीहरू धेरै संकट पार गर्दै अहिले यहाँ आइपुगेका थिए । सारा राज्यको शक्ति र स्रोत लगाएर दुर्योधनले उनीहरूको खेदो गरिरहेको थियो । गुप्तचरहरू उनीहरूको सुराग पत्ता लगाउन दिनरात वरपर सुँघिरहन्थे । त्यसैले तिनीहरूको नजरबाट बच्न उनीहरू हस्तिनापुरबाट सुदूर ग्रामीण इलाकामा रहेको एकचक्रा नगरीमा बस्न पुगेका थिए, भनौं एकप्रकार छद्म–रूपमा रहेर अनुकूल समयको प्रतीक्षा गर्दै, महर्षि वेदव्यासको आज्ञानुसार, एक महीनासम्मका लागि त्यहाँ रहेका थिए । त्यसैले उनीहरू सकेसम्म कसैको नजरमा नपरियोस्, कुनै काम र व्यवहारले आफूलाई कसैले पनि चिन्न नसकून् भन्ने आशयले अत्यन्त अकिञ्चन जस्तो भूमिकामा रही भिक्षावृत्ति द्वारा जीविका चलाइरहेका थिए ।
तर, जतिसुकै सामान्य–भावमा रहेका भए पनि उनीहरूलाई देखेर नागरिकहरू आपसमा यस्ता कुरा गर्दथे : आहा, यी ब्राह्मणहरू त हेरिरहूँ जस्ता छन् । यिनका आचार–विचार सबै शुद्ध छन् । यिनीहरूको आकृति हेरम् त, आहा! देवकुमारको जस्तो छ । यी भीख मागेर खाने खालका पटक्कै होइनन् । इनीहरू राज्य गर्न लायक पो छन् त । तपस्वीको वेशमा रहन्छन् । वास्तवमा यिनीहरू कुनै उद्देश्यवश भिक्षुकको रूप धारण गरेर उपयुक्त समयको प्रतीक्षामा विचरण गरिरहेका छन् जस्तो लाग्दछ ।
पाण्डुपुत्रहरू जहाँ भिक्षा माग्न जान्थे त्यस घरका मानिसहरू तिनलाई आफ्नै बन्धुजन मानेर अत्यन्त श्रद्धाका साथ भोज्य पदार्थ दिने गर्दथे । मौनव्रती भिक्षुकका रूपमा उनीहरू भिक्षा लिएर चूपचाप अगि बढ्दथे । माता घरमा एक्लै हुनुहुन्छ– भनेर चाँडै वासस्थानमा फर्कन्थे र सबै भिक्षान्न मातालाई सुम्पन्थे, माता कुन्ती पनि भिक्षामा जे–जति आएको छ त्यसलाई दुई भाग लाएर आधा भाग एक्लै भीमसेनलाई दिन्थिन् । बाँकी आधा भाग अरु सबैलाई बराबरी बाँडेर दिन्थिन् । यसै गरी समय व्यतीत हुँदै थियो ।
…
एक दिनको कुरो हो । अरु सबै भाइ भिक्षाटनमा गएका थिए । कार्यवश भीमसेन घरमै माताका साथमा थिए । अचानक ब्राह्मणको घरभित्रबाट आर्तनादको तीव्र आवाज आयो । भीमसेनको प्रेरणाले, के भएछ भन्दै कुन्ती दौडिएर त्यसै गरी भित्र पसिन् जसरी घरभित्र आफ्नो बाछो बाँधिएको छ र कराईरहेको छ भने गाई आकुल बनेर स्वयं त्यहाँ पस्दछ ।
उनले देखिन् : घरभित्र ब्राह्मण परिवार थियो । चार जनाको परिवार । आमा बाबु छोरी र छोरो । छोरो सारै सानो थियो । छोरी अलिक ठूली थिइन् । तिनीहरू अत्यन्त पीडित देखिन्थे । बाबु बोल्दै थिए :
धिगिदं जीवितं लोके गतसारमनर्थकम् ।
दुःखमूलं पराधीनं भृशमप्रियभागि च ।।
यस जगत्मा बाँच्नु नै धिक्कार हो । किनभने जीवनको कुनै सार छैन । जीवन निरर्थक हो, दुःखको जड हो, पराधीन हो अनि सदा अप्रिय कुराको अखडा हो ।
जीविते परमं दुःखं जीविते परमो ज्वरः
जीविते वर्तमानस्य दुःखानामागमो ध्रुवः ।।
जिउनुमा परम दुःख छ, जिउनु भनेको परम रोग हो, जो बाँच्दछ उसले पल–पल दुःख त भोग्नै पर्छ । म यस्तो कुनै उपाय देख्दिनँ जसले यस विपत्तिबाट छुट्कारा पाउन सकूँ । हे ब्राह्मणी, मैले तिमीलाई कतिपल्ट भनें, यस ठाउँमा नबसूँ न! अरुतिरै सुरक्षित ठाउँमा जाऊँ । तर तिमीले कहिल्यै मानिनौ । मेरो जन्म यहीं भयो । मेरा पिता–पुर्खाको यो थात–थलो छोडेर जान्न– भन्यौ । अब हेर त, आज यो विपत्ति आइलाग्यो । अब के गरुँ? तिमीलाई त्यागूँ त कसरी त्यागूँ । तिमी नै मेरो सर्वस्व हौ । तिमी नभए जीवन कसरी चल्छ । यी आँखाका नानी छोरा छोरीलाई त झन् कसरी परित्याग गरुँ? म आफैं तिमीहरूलाई छोडेर जाऊँ भने पनि म विना तिमीहरूको बिजोग हुन्छ । अब कुनै उपाय छैन । बरु सबैजना जाऊँ, सँगै मरुँला । यही सबैभन्दा राम्रो हो ।
ब्राह्मणीले भनिन् :
भार्या पुत्रोSथ दुहिता सर्वमात्मार्थमिष्यते
व्यथां जहि सुबुद्ध्या त्वं स्वयं यास्यामि तत्र च ।
आपदर्थे धनं रक्षेत् दारान् रक्षेत् धनैरपि
आत्मानं सततं रक्षेत् दारैरपि धनैरपि ।।
हे प्राणनाथ, त्यसो नभन्नुहोस् । पत्नी, पुत्र र पुत्री यी सबै आफ्नै लागि अभीष्ट हुन्छन् । हजुर बुद्धि विवेकको आश्रय लिएर शोकसन्ताप छोडनुहोस् । म आफैं त्यहाँ जान्छु । शास्त्रमा भनेको छ : आपत्ति परेका वेला चाहिन्छ भनेर धनको रक्षा गरोस्, धनद्वारा पत्नीको रक्षा गरोस्, पत्नी र धन दुवैद्वारा समेत सततः आफ्नो रक्षा गरोस् । त्यसैले हे प्रियतम, मेरो त्याग गरेर आफ्नो र यी सन्तानको रक्षा गर्नुहोस् ।
छोरीले भनी :
धर्मतोSहं परित्यज्या युवयोर्नात्र संशयः
त्यक्तव्यां मां परित्यज्य त्राहि सर्वं मयैकया ।
आत्मा पुत्रः सखा भार्या कृच्छ्र्रं तु दुहिता किल
स कृच्छ्रान्मोचयात्मानं मां च धर्मे नियोजय ।।
हे बाबा, हे आमा, यसमा सन्देह छैन कि एक न एक दिन त हजुरहरूले पतिगृह पठाएर धर्मतः मलाई त्याग गर्नै पर्नेछ । जब म त्याज्य नै छु भने आजै त्यागिदिनुहोस् र सिंगो परिवारको रक्षा गर्नुहोस् । भनिन्छ : पुत्र आफ्नै आत्मा हो । पत्नी मित्र हुन् । किन्तु पुत्री निश्चय नै सङ्कट हो । यो सङ्कटलाई परित्याग गर्नुहोस् र मलाई पनि अलिकति पुण्य कमाउने अवसर दिनुहोस् ।
यसरी बोल्दा–बोल्दै ती सबै डाँको छोडेर रुन थाले । ती सबै रोएको देखेर त्यो अबोध शिशु ब्राह्मणपुत्र ती सबैलाई हेरेर प्रफुल्लित हुँदै तोते बोलीले भन्न लाग्यो :
बाबा, नलुनुहोछ्, आमा नलुनुहोछ्, दिदी नलुनुहोछ् ।
अनि भुइँबाट एउटा सिन्को हातमा उठाएर हर्षित हुँदै फेरि भन्न लाग्यो :
म यछैले तेस् लाच्छेस्लाई मालिदीहाल्छु नि !
उसको अबोध शिशुसुलभ बोली सुनेर त्यस्तो विकट अवस्थामा पनि त्यहाँ सबैको मुहारमा अनायास प्रसन्नताको लहर दौडिन लाग्यो । यही उपयुक्त अवसर हो– भन्ने ठम्याएर यकायक कुन्ती उनीहरुसामू देखा परिन् र भनिन् :
हे ब्राह्मणदेव! भन्नुहोस् , तपाइँका यस दुःखको कारण के हो ? सकेसम्म म यस दुःखलाई हटाउने चेष्टा गर्नेछु ।
ब्राह्मणले भने : यसो भन्नु हजुरको सज्जनता हो । तर, हाम्रो दुःखको कारण कुनै पनि मनुष्यले हटाएर हट्नेवाला नै छैन । यस नगरकै छेउमा यहाँबाट दुई कोश पर यमुनाका किनारमा एउटा बाक्लो अटव्य जंगल छ । त्यहीं त्यो भयङ्कर नरभक्षी राक्षस बस्दछ । त्यसको नाम हो– बकासुर । यो समग्र जनपद र नगरमाथि पनि उसैले कब्जा जमाएको छ । त्यस दुष्टात्मा निशाचरले प्रतिदिन मान्छे खान्छ । अब त्यसलाई के भनौं ? त्यो जब्बरको बलियो छ, उसैले यस जनपद, नगर र देशलाई शत्रु–राज्यबाट र अन्य हिंसक प्राणीबाट रक्षा पनि गर्दछ । तर रक्षक नै भक्षक भएपछि कसको के लाग्दछ ? त्यस नरभक्षी राक्षसले नियम बसालेको छ – प्रतिदिन बीस धार्नी शाली चामलको भात, दुइटा राँगा, अनि यो सबै थोक पुर्याउन जाने मान्छे उसको भोजन बन्नेछ । आफ्नो घरको पालो आएपछि हरेक गृहस्थले आफ्नो एक सदस्य उसलाई भोग चढाउनै पर्दछ । हुन त यो पालो वर्षौंपछि आउँछ । तर, यसबाट कुनै छुटकारा छैन । जसले उसको नियमलाई अटेर गर्दछ– झन् त्यस्ताको त सिंगै परिवारलाई नै उसले आएर खाइदिन्छ ।
वास्तवमा यहाँको असली राजा वेत्रकी–गृहमा बस्दछ । त्यो मन्दबुद्धि छ । उसले आफ्ना प्रजाहरूलाई सङ्कटमुक्त गर्ने चेष्टासम्म पनि गर्दैन । आज हाम्रो पालो आएको छ । मसँग धनसम्पत्ति भएको भए कुनै मान्छेलाई किनेर भए पनि यो संकट टार्ने थिएँ । अब यस संकटबाट छुट्ने कुनै उपाय देखिरहेको छैन । त्यसैले मैले आज सकल परिवारसहित त्यसको भोग बन्नु बाहेक अरु कुनै उपाय बचेको छैन ।
यो सबै कुरा सुनेर कुन्तीले भनिन् :
यस कुरामा तपाइँ चिन्ता नलिनुहोस् । मेरो माइलो छोरो भीम पराक्रमी, मन्त्रसिद्ध र वीर छ । उसैले तपाइँहरूलाई यो संकटबाट बचाउनेछ । उही त्यस राक्षसको भोजन पुर्याउन जानेछ र उसले आफूलाई त्यस राक्षसबाट सहजै बचाउन पनि सक्छ । तर, यो कुरो गोप्य रहोस् । कसैलाई पनि नभन्नुहोला ।
यति भनिसकेर कुन्तीले भीमसेनलाई तिमी यो काम गरिदेऊ छोरा ! भनेर आज्ञा दिइन् । उनले पनि तथास्तु ! भनेर माताको आज्ञालाई शिरोपर गरे । यस विषयमा युधिष्ठिरले पहिले त असहमति जनाए । अकार्थमा भीमसेनलाई सङ्कटमा पार्नु उचित होइन भनेर कुन्तीका वचनको प्रतिवाद गरे । तर कुन्तीले भीमसेनको अपरिमेय शक्ति र उनले केही समयअघि हिडिम्ब जस्तो भयङ्कर राक्षसलाई खेल–खेलमा यमलोक पुर्याएको घटना स्मरण गराएर– उनलाई केही हुँदैन, ब्राह्मण–परिवारको रक्षार्थ उनले यो काम गर्नुपर्छ– भनेर सम्झाइन् । आखिरमा सबैको सल्लाह मिल्यो ।
…
राती भएपछि महाबली भीमसेन राक्षसको आहारा लिएर त्यस घनघोर जंगलमा पुगे, जहाँ त्यो नरभक्षी राक्षस बकासुर बस्दथ्यो । अनि, उनी त्यहाँ बसेर ए बके, कता छस् एइ ! आइज– भनेर कराउँदै पलेंटी कसेर राक्षसको सबै भोजन आफैं चट् पार्न थाले । भीमसेनको गर्जन सुनेर रीसले क्रुद्ध हुँदै त्यो आइपुग्यो ।
भीमसेनले देखे : त्यसको शरीर विशाल थियो । त्यो कति वेगले हिँड्दथ्यो भने– अब जमीन नै फाट्ने पो हो कि जस्तो लाग्दथ्यो । त्यसका आँखा राता–राता थिए । आकृति विकराल थियो । त्यसका दाह्री जुँगा र जगल्टा सबै राता थिए । मुख बाउँदा कानसम्म फाट्दथ्यो । कान भाला जस्ता तीखा थिए । त्यो रीसले आँखीभौं तीन ठाउँमा भाँचेर ओठ टोक्दै भीमसेनका निकट आएर भन्न लाग्यो :
कसलाई कालले कुतकुत्यायो हँ ? जो मेरै आँखा अगाडि बसेर मेरो खाने कुरामा हात हाल्ने हिम्मत गर्दैछ ।
उसका कुरा सुनेर भीमसेन खित्का छोडी छोडी हाँस्न लागे । अनि, उसलाई नदेखेजस्तो गरी उसतिर पिठिउँ फर्काएर उसैगरी खाइ नै रहे । बकासुर रीसले आगो भयो र दुवै हात उजाएर भयङ्कर गर्जना गर्दै भीमसेनमाथि जाइलाग्यो । अनि पछिल्तिरबाट उनको पिठिउँमा दुवै हातले ठोक्यो । तर, भीमसेनले केही नभए जस्तो गरी उसैगरी खाइरहे, उसतिर फर्किएर हेर्दा पनि हेरेनन् । अनि ज्यादै क्रुद्ध भएर त्यो राक्षस एउटा ठूलो रुख उखेलेर भीमसेनमाथि जाइलाग्यो ।
यता महाबली भीमसेन भने, आरामसँग त्यो सबै पदार्थ खाइसकेर हात मुख धोएर, कुल्ला गरेर, सफा सुग्घर भएर ढ्याउउउSSअ गरी डकारीसकेपछि प्रसन्नचित्त भएर बकासुरसँग भिड्न तैयार बने । त्यस राक्षसले हानेको रुखलाई हाँस्दै–हाँस्दै बायाँ हातले च्याप्प समातेर पर मिल्काइदिए । त्यसपछि बकासुरले अरु पनि धेरै रुख उखेल्दै भीमसेनमाथि प्रहार गर्न लाग्यो । उता भीमसेनले पनि उसैगरी रुख उखेल्दै त्यस भीमकाय राक्षसमाथि हान्न लागे । हेर्दा–हेर्दै ती दुईको भिडन्तले त्यस घना जंगलका रुखहरू सबै सोत्तर भए, साँढेको जुधाइ, बाच्छाको मिचाइ! जस्तो पो भयो ।
त्यसपछि बकासुरले दौडिँदै आएर भीमसेनलाई दुवै विकराल पाखुराहरूका बीचमा बाँधेर कस्न लाग्यो, भीमसेनले पनि आफ्नो वज्रतुल्य छातीले किचेर उसलाई बाहुपाशमा कसेर वर र पर घिसार्न थाले । दुवै एक अर्कालाई घिसार्न थाले । त्यसै बीच बकासुर गलेर लोथ भइसकेको थियो । सारा वन जंगलमा भुइँचालो आएजस्तो भइरहेको थियो । त्यो राक्षस अब बलहीन भइसकेको देखेर भीमले त्यसलाई जमीनमा पछारिदिए अनि दुवै घुँडाले ड्याम्–ड्याम् त्यसका छातीमा हान्न लागे । अनि एउटा घुँडाले बलियोसँग बकासुरको डाढलाई कच्याक्क पारेर दाहिने हातले त्यसको गर्दन अँठ्याए अनि देब्रे हातले त्यसले कम्मरमा कसेको कन्दनी समाएर जुरुक्कै उठाए र उसको ढाड मरक्कै पारिदिए, कम्मरको हड्डी बड्याङ्ग भाँच्चियो र भयंकर आर्तनाद गर्दै, रगत छाद्दै बकासुरले प्राण छोड्यो ।
त्यो भयङ्कर आर्तनाद सुनेर भयभीत हुँदै बकासुरका जहान परिवार र उसका सेवक राक्षसहरू दौडँदै त्यहाँ आए । तिनीहरू डरले थर्थरी कामिरहेका थिए । भीमसेनले सबैलाई निर्भय बनाउँदै भने : अबदेखि तिमीहरूले मानिसहरूको हिंसा कहिल्यै नगर्नू, नत्र तिमीहरूको पनि यस्तै हालत होला । ती सबैले एवमस्तु भनेर भीमसेनको वचनलाई शिरोपर गरे ।
…
भोलिपल्ट बिहानै सारा नगरवासीहरूले नगरको मूलद्वारमा पसारिएको बकासुरको शव देखे । सारा शहरमा अपार हर्ष छायो । कसले यस्तो काम गरेछ– भनेर सात छक्क पर्दै हिजो राती कसको पाली थियो भन्दै ब्राह्मणका घरमा सोधपूछ गर्न गए । ब्राह्मणले भने :
हिजो राती म राक्षसको आहारा लिएर जान लाग्दै थिएँ । बाटामा एक जना मन्त्रसिद्ध तेजस्वी ब्राह्मणसँग जम्काभेट भयो । उहाँले सबै कुरा थाहा पाएर मलाई घर पठाउनुभयो र आफैं राक्षसको अहारा लिएर जानुभएको थियो । त्यसपछि के के भयो– मलाई केही थाहा भएन!
सबैले बुझे : एक तेजस्वी अज्ञातनामा सिद्ध पुरुषले हामीलाई यो सङ्कटबाट मुक्त गराएका रहेछन् । सारा नगरमा अपार हर्ष छायो । यस घटनापछि त्यहाँका मानिसहरूले के थाहा पाए भने– अब सबै राक्षस जातिका प्राणीहरू पनि यकायक भलादमी बन्न थालेछन् ।
यस घटनापछि पाण्डव–परिवार ती ब्राह्मणका घरमा अत्यन्त सम्मानित बनेर निर्विघ्नतापूर्वक रहन थाले ।
……
महाभारत, आदिपर्वको १५६ देखि १६३ सम्मका अध्यायमा आधृत ।
२०८१ साल फागुन १६ गते, शुक्रवार ।
ॐअक्षरालयः ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ माघ २०८२, शुक्रबार 










