
१.विषय प्रवेशः
भाषा अभिव्यक्तिको साधन हो। यो एउटा यस्तो व्यवस्थित पद्धति हो जो मुखका विभिन्न इन्द्रियका सहायताले मानवीय धारणालाई अरूसमक्ष सम्प्रेषण गर्दछ । भाषाका विभिन्न विशेषता र प्रकृति हुन्छन्। समग्रमा भाषाका विशेषता र प्रकृति केलाउँदा यो यादृच्छिक हुन्छ, यो वाक्प्रतीक हो । यसमा उत्पादनशीलता हुन्छ । यसमा सांस्कृतिक हस्तान्तरण हुन्छ । यसमा विविधता हुन्छ । यो सामाजिक वस्तु हो, यो पैत्रिक सम्पति नभएर आर्जित सम्पति हो इत्यादि हुन्।
सामान्यतया व्याकरण भनेको भाषाको निर्देशिका हो। यसले भाषाका आन्तरिक पक्षको चिरफार गरी त्यसका त्यसमा रहेका विकारलाई केलाइदिन्छ। यद्यपि भाषा व्याकरणका पछि लाग्दैन बरू व्याकरण भाषाको पछि कुद्छ । भाषाका कथ्य र लेख्यका दुई पक्षमध्ये व्याकरणले दुईलाई निर्देशन गर्छ। कथ्यभाषामा चाँहि व्याकरणको लगाम हलुका हुन्छ । लेख्य भाषामा चाँहि कसिलो हुन्छ। व्याकरणले भाषालाई एकरूपता दिन्छ। यदि भाषामा व्याकरण पक्ष कमजोर भइदियो भने भाषामा अराजकता हुन्छ। व्याकरण भनेको भाषाको नियम–कानुन हो। एउटै भाषा पनि विभिन्न ठाउँ, प्रान्त र देशहरूमा बोलिन्छ। यसो हुँदा विभिन्न ठाउँको एउटै भाषालाई जोड्ने केही साझा बेहोरा, प्रकृति र विशेषतालाई व्यवस्थित अध्ययन गर्ने ज्ञानानुशासन व्याकरण हो। अतः भाषाको अध्ययन, अध्यापनलगायत सम्पूर्ण क्षेत्रमा शुद्ध र एकरूपता कायम गर्न व्याकरणको महत्व र आवश्यकता रहेको हुन्छ। मान्छे बाटामा हिँड्दासमेत नियम चाहिन्छ भने भाषाजस्तो व्यापक कुरामा व्याकरणको ठुलो भूमिका हुन्छ।
व्याकरण भाषाको नियम–कानुन भए तापनि यसले भाषाको अनुशरण गर्छ। भाषा नहुँदो हो त व्याकरण पनि हुने थिएन। व्याकरणको सैद्धान्तिक ज्ञान नभए पनि भाषाको प्रयोग राम्ररी गर्न सकिन्छ। भाषा राम्ररी जान्नेले पनि सैद्धान्तिक रूपमा व्याकरण नजानेको हुनसक्छ। यसैगरी जो भाषाको व्याकरणका विषयमा कुरा गर्न जान्दैन,त्यो शुद्ध भाषा बोल्न जान्दछ र जो व्याकरणका विषयमा कुरा गर्न जान्दछ, त्यसले शुद्ध बोल्न नजानेको पनि हुनसक्छ। भाषा प्रयोगमा निर्भर रहने कुरा हो। भाषिक शुद्धताका लागि त्यसको सैद्धान्तिक ज्ञानमा जोड दिनुभन्दा भाषाको प्रयोगमा जोड दिनुपर्छ।
२) भाषामा व्याकरणको प्रयोजनः
क) शुद्ध शब्द र वाक्यको रचना गर्न सिकाउनु।
ख) एउटै पद र वाक्यका विभिन्न रूप हुनसक्छन्। तिनलाई विभिन्न रूप बनाउन सिकाउनु। शब्द निर्माण, रूपायन आदि प्रक्रियाबारे जानकारी दिएर रूप बनाउन सिकाउनु।
ग) कथ्य बोली र आफ्नो क्षेत्रमा प्रयोग हुने भाषिकागत विचलन, त्रुटी रहेका हुन्छन् जुन स्तरीय भाषाको प्रयोग परम्परा वा शिष्ट प्रयोगको मर्यादाअनुरूपका नहुन सक्छन्। तिनलाई निराकरण गर्ने भाषिक सुझ प्राप्त गर्न उनीहरूका लागि व्याकरणको औपचारिक शिक्षण केही हदसम्म उपयुक्त हुन्छ।
घ) दोस्रो भाषाका रूपमा कुनै भाषा सिक्नका लागि पनि भाषा शिक्षणका साथै व्याकरणको समेत औपचारिक शिक्षण आवश्यक पर्दछ।
ङ) यसले स्तरीय शिष्ट प्रयोगको ढाँचालाई स्पष्ट रूपमा निर्देशन दिने गर्छ।
च) भाषाको अध्ययन र अध्यापनआदि सम्पूर्ण क्षेत्रमा शुद्धता र एकरूपतालाई कायम गर्न व्याकरणको महत्त्व र आवश्यकता रहन्छ।
भाषालाई नाप–तौल गरी यथास्थानमा मांसल र सुदृढ बनाउनु व्याकरणको प्रमुख कार्य हो। समयअनुसार भाषाले जति जति प्रयास गर्दैजान् र आफ्नो भाषिक कार्य बढ्दै–बढाउँदै जाँदा व्याकरण पनि समयअनुरूप आद्योपान्त गर्दै जानुपर्छ।
३. भाषाविज्ञान र व्याकरणका बिच भेद(साम्य)
भाषाविज्ञान र व्याकरण दुवै भाषाका अध्ययनका साधन हुन्। दुवै एक–अर्काका पूरक हुन्। व्याकरण भाषाको निर्देशनात्मक (Prescriptive) पक्ष हो भने भाषाविज्ञान भाषाको वर्णनात्मक (Descriptive) पक्ष हो। व्याकरणले भाषालाई एकरूपता, मानकत्व, अनुशासित, सुशृङलता पक्षको निर्देशन दिन्छ भने भाषाविज्ञानले समाजमा प्रचलित भाषाका हरेक पक्षलाई अध्ययन गर्छ। व्याकरणले भाषा यस्तो हुनुपर्छ भन्ने देखाउँछ भने भाषाविज्ञानले भाषा यस्तो छ भनेर जनाउँछ। यद्यपि भाषा अध्ययनका रूपमा भाषाविज्ञानले व्यापकता अँगालेको देखिन्छ। यसले भाषाको भूत, वर्तमान र भविष्य तीनै कालका बारेमा बताउँछ । दुई वा दुईभन्दा बढ़ी भाषाका साथै एउटै भाषाको पनि विभिन्न पक्षको तुलना गर्दछ, भाषाका विभिन्न सम्भावनाको खोजी पनि गर्दछ। खास गरी व्याकरण त भाषाविज्ञान भित्रकै एउटा कसी मात्र हो। यद्यपि यी दुवैका कार्य आ आफ्ना छन्।
४. नेपाली व्याकरणमा भाषाविज्ञानको प्रभावः
परम्परागत नेपाली व्याकरणमा आधुनिक भाषाविज्ञानको प्रभाव निम्न पक्षमा देखिन्छन्।
क) नेपाली वर्णमालाको सन्दर्भमा अचेल व्याकरणका पुस्तकमा दुई किसिमका वर्णको उल्लेख पाइन्छ – खण्डीय वर्ण र खण्डेतर वर्ण। संस्कृतको पारम्परिक वर्णमालामा अयोगवाह भनिने अनुस्वार, चन्द्रविन्दु, विसर्ग आदि वर्णहरू अब खण्डेतर वर्णका कोटिमा आएका छन्।
ख) नेपाली वर्णमालाको क्षेत्रमा आधुनिक भाषाविज्ञानको ठुलो प्रभाव देखिन्छ। अहिलेका कतिपय वर्णमालालाई लेखिने स्वरवर्ण र बोलिने स्वरवर्ण तथा लेखिने व्यञ्जनवर्ण र बोलिने व्यञ्जनवर्ण गरी दुई(दुई भागमा छुट्याइएको छ। नेपाली भाषा संस्कृतबाट उत्पत्ति भए तापनि संस्कृतका सम्पू्र्ण वर्ण आवश्यकता छैनन्। नेपाली भाषालाई चाहिने मात्र वर्ण ग्रहण गरेको देखिन्छ। संस्कृतका दीर्घ ऋ, लृ र दीर्घ लृ वर्णहरू नेपालीमा छैनन्। बोलिने नेपाली स्वरवर्णमा अ, आ, इ, उ, ए र ओ मात्र मानिन्छन् भने लेख्य नेपालीमा भने अ, आ, इ, ई. उ, ऊ, ऋ, ए, ऐ, ओ, औ गरी एघारवटा मानिन्छन्।
ग) नेपाली व्यञ्जन वर्णको परिप्रेक्ष्यमा पनि भाषाविज्ञानको अझ ठुलो प्रभाव परेको देखिन्छ। भाषाको उच्चारणमा जुन जुन वर्ण प्रयोग हुन्छन् तिनलाई मात्र वर्णको मान्यता दिएको देखिन्छ। बोलिने नेपाली व्यञ्जन वर्णमा उनन्तिसवटा वर्ण मात्र रहेका मानिन्छन्। पञ्चम वर्णमा ञ र ण का उच्चारणमा नवर्ण सुनिने हुँदा यी दुई काम नलाग्ने मानिएका छन्। सञ्च अब सन्च भएको छ भने लण्डन अब लन्डन, गोर्खाल्याण्ड गोर्खाल्यान्ड, घण्टी र बण्टी चाँहि घन्टी र बन्टी बने। तत्सम शब्दबाहेक तद्भव र आगन्तुक शब्दका लागि ञ र ण वर्णहरू अनावश्यक भए।
घ) अहिले यता दार्जीलिङ सिक्किमतिर तलथोप्ली ड र ढ विषयमा विवाद सृष्टि भएको देखिन्छ। नेपालमा शिशुहरूलाई वर्णमाला सिकाउँदा यी दुई वर्ण छँदै छैनन्। यÞता भारतका शिशु कक्षामा वर्णमाला सिकाउँदा अहिलेसम्म ड़ ढ़ वर्णहरू सिकाइँदैछ। हाम्रा अघिल्लो पुस्ताका बिहारी गुरूहरूले यी दुई वर्ण सिकाए औ पछिल्ला पीँढीका स्थानीय गुरू(गुरूआमाले ड़ ढ़ पढाउने चलन छ। शिशुहरूलाई लयबद्ध तरिकाले ख ग घ ङ भन्दै अड़ अढ़ क्ष त्र ज्ञ भन्दै सिकाइन्छ। अब ड़ ढ़ तथा क्ष त्र ज्ञ बिनाका वर्ण सिकाउनु पर्दा खल्लो, अपूरो, अधूरो लाग्छ। लागेको बानी हट्न मुस्किल नै पर्दछ। भाषा विज्ञानको वर्णविश्लेषण सिद्धान्तअनुसार व्यतिरेकी वितरण र परिपूरक वितरणका आधारमा यी दुई वर्ण अनावश्यक बनेका हुन्।
ङ) भाषाविज्ञानमा नै यादृच्छिक व्यवस्थामा चर्चा हुन्छ। भाषिक व्यवस्था वक्ताको इच्छामा निर्भर हुन्छ भन्ने मान्यता छ। पानी, मान्छे, घर भन्नु यी वस्तु र शब्द र वर्णमा केही सम्बन्ध छैन। वक्ताले मानेर ल्याएको मात्र हो। यसकै आधारमा हेर्नु हो भने यता दार्जीलिङ– सिक्किमका नेपाली भाषी समुदायलाई यदि ड़ र ढ़ प्रयोग गर्ने अभ्यास, सुविधा, अनुकूल र इच्छा रहेको छ भने यी दुई वर्ण स्वतः रहन्छन्। यता भारतको नेपाली वर्णमालाको विशेषताका रूपमा लिँदा कसो हुने हो विचारनीय छ।
च) भाषाविज्ञानको प्रभावस्वरूप क्ष, त्र, ज्ञ जस्ता संयुक्त वर्णहरू वर्णमालामा राखिन अनावश्यक ठानिन्छ। यदि यी दुई राखिने भए द्य, क्त. क्क पनि राखिनु पर्ने हो भन्ने भनाई छ।
छ) आधुनिक भाषाविज्ञानको आधारमा लेखिएको नेपाली व्याकरणमा शब्दवर्गको वर्गीकरण पनि कार्यगत आधार, रूपात्मक, कोशिय र संरचना आधार गरी भेद गरिएको पाइन्छ। शब्दवर्गको कोशीय वर्गमा नाम, विशेषण, क्रिया र क्रियायोगी राखिएका छन् भने संरचनात्मक वर्गमा सर्वनाम, नामयोगी, संयोजक, विष्मयादिबोधक र निपातलाई राखिएका छन्।
ज) परम्परागत नेपाली व्याकरणमा अव्यय शब्दवर्गमा अरू चारवटा पाइए तापनि निपातलाई अलग्गै मान्यता दिएको देखिन्न भने अब निपात पनि अव्ययभित्र राखेर हेरिन्छ।
झ) सबै शास्त्रहरूमा भूत, वर्तमान र भविष्यतकाल गरी त्रिकालिक वर्गीकरण गरिएका हुन्छन्। यद्यपि अब भाषावैज्ञानिक प्रभावले नेपाली व्याकरणमा व्याकरणिक कोटीका रूपमा कालको अध्ययन गर्दा भूत र अभूत गरी द्विकालिक वर्गीकरण गरिएको पाइन्छ। यसको आधार क्रियापदलाई मानिइ दुई काल मात्र भए। जो बित्यो भूतकाल भयो भने जुन बित्दैछ र बित्नेवाला छ त्यो अभूतकाल ठहरिन थाल्यो। वर्तमान काल र भविष्यत् काल बैकल्पिक मात्र बने।
ञ) परम्परागत नेपाली व्याकरणमा आठ कारक पढिँदै आएको हो तर भाषावैज्ञानिक आधारमा हेर्दा छवटा कारक हुन्छन्। सम्बन्धकारक र सम्बोधनकारकलाई अब कारकका रूपमा मानिन्दैनन्।
सम्बन्धकारकको सोझो सम्बन्ध कर्ताको क्रियासँग प्रत्यक्ष अन्वय नहुनाले यो भेदक विशेषणपद मात्र हो। सम्बोधनकारक चाँहि निपात हो भने मान्यता छ।
ट) परम्परागत नेपाली व्याकरणले तीन लिङ्गको चर्चा पाइन्छ तर भाषावैज्ञानिक व्याकरणले स्त्रीलिङ्ग र स्त्रीलिङ्गेतर गरी दुई लिङ्ग मान्छ। स्त्रीलिङ्गबाहेक अरू पुलिंग र नपुंसकलिङ्गका एउटै क्रियापद हुनाले स्त्रीलिङेतर मानिन्छ। परम्परागत रूपमा को र के भिन्नताका लागि पुलिङ्ग र नपुंसकलिङ्ग छुट्टिन्छ भन्ने मान्यता राख्छ भने क्रियापदका आधारमा हेर्दा यी दुईको एउटै रूप हुनाले दुई भिन्ना(भिन्दै रूपभन्दा एउटै स्त्रीलिङ्गेतर मानिन्छ।
ठ) अब भाषावैज्ञानिक दÞृष्टिकोणले नेपाली वर्णमालामा श, ष, स वर्णहरूको उच्चारण एउटै हुनाले यी तीनवटा उष्म सकार नभई एउटै सकार मात्र हो। तत्सम शब्दका लागि मात्र श र ष वर्ण प्रयोग हुन्छ भन्ने आशय छ।
ड) पदयोग र पदवियोगका क्षेत्रमा भने अनेक जटिलता देखिन्छ। यस सम्बन्धमा एकरूपता देखिन्न। यसका लागि भाषावैज्ञानिक प्रभावस्वरूप अब पदवियोग नै प्रधान हुने परम्परा कायम हुँदैछ। भाषा संयोगदेखि वियोगतर्फ उन्मुख हुन्छ भन्ने भाषाको विशेषता हुनाले पदयोग भन्दा पदवियोगतिर उन्मुख देखिन्छ।
ढ) भाषाको कथ्य स्वरूपलाई नै मान्यता दिनु हो भने नेपालीमा तत्सम शब्दहरू हटी तदभवीकरण हुने सम्भावना देखिन्छ। तत्समका लागि मात्र चाहिने ञ, ण, श, ष, क्ष, त्र, ज्ञ जस्ता वर्णहरू लोपोन्मुख छन्।
ण) भाषावैज्ञानिक व्याकरणमा वर्णविचार, शब्द वर्गीकरण, रचना, व्याकरणिक कोटिका अतिरिक्त प्रतिवेदन लेखन, विज्ञापन लेखन, प्रुफ रिडिङ, द्वित्व प्रक्रिया, मनोवाद लेखन,कम्प्यूटरीय भाषाज्ञान इत्यादि नयाँ गरी थपिएका देखिन्छन्। यता परम्परागत व्याकरणले व्याकरणिक कोटीका रूपमा पनि आदरार्थी, कोटिकार जस्ता नयाँ थपिएका छन्।
त) नामको वर्गीकरणमा परम्परागत व्याकरणले पाँचवटा मात्र देखाउँछ भने भाषावैज्ञानिक दृष्टिकोणले हेर्दा सजीव र निर्जीव, मूर्त र अमूर्त, मानवीय र मानवेतर तथा संख्येय र असंख्येय गरी विभिन्न वर्गीकरण गरिएको पाइन्छ। प्रायः सबै व्याकरणिक कोटिको भाषावैज्ञानिक तरिका अध्ययन हुँदा नयाँ नयाँ सन्दर्भ, वर्गीकरण, उपवर्गीकरण, उदाहरण आदि प्रस्तुत गरिएको पाइन्छ।
थ) भाषाको एकरूपता विषयमा भाषावैज्ञानिक चिन्तन भएको देखिन्छ। तत्सम शब्दबाहेक तदभव र आगन्तुक शब्दका लागि ह्रस्व(दीर्घको प्रयोग पदका आदि र मध्यमा ह्रस्व, अवस्था हेरी–हेरी ह्रस्व र दीर्घको निर्क्योल गर्ने (केही अपवाद छाडेर) भन्ने देखिएको छ।
द) भाषावैज्ञानिक अध्ययनको विविधताको फलस्वरूप नेपाली व्याकरणका विभिन्न हाँगा निर्माण हुँदै गरेको देखिन्छ। नेपाली व्याकरणमा पनि कारक व्याकरण, वाक्य व्याकरण, रूपान्तरण व्याकरण आदि व्याकरणका नयाँ नयाँ फाँट विस्तार हुँदैगरेको देखिन्छ। चम्स्की, फिल्मोर, ग्रीम आदिका सिद्धान्त र नियमहरू नेपाली व्याकरणिक क्षेत्रमा पनि स्थापित हुँदैछन्।
ध) आधुनिक भाषाविज्ञानको प्रभावमा नेपाली अक्षरको विस्तृत अध्ययन भएको देखिन्छ। नेपाली अक्षरमा स्वर वर्ण केन्द्रक औ व्यञ्जन वर्णचाँहि परिधीय रूपमा राखी यसको संरचना पक्षबारे विस्तृत रूपमा केलाइएको पाइन्छ।
न) आधुनिक भाषाविज्ञानअनुरूप नेपाली व्याकरणमा पनि संकथन विचारमाथि अध्ययन गरिएको पाइन्छ। संकथनभित्र अनुच्छेद, वाक्य, वाक्यांश, पदावली र शब्द आदि राखी अध्ययन गरिएको पाइन्छ।
प) अबका सामान्य विद्यार्थीहरूले नेपाली व्याकरणमा सुबन्त, तिङन्त, कर्तरी र कर्मणि प्रयोग, सन्धि प्रकरणको विभिन्न सूत्र आदिबारे त्यति ज्ञान राख्दैनन्। उस्तै व्याकरणिक अर्थ र सन्दर्भ भए पनि यस्ता व्याकरणिक शब्दका बद्लीमा भाषावैज्ञानिक विद्वानहरूले दिएका पारिभाषिक शब्द प्रयोग गर्छन्। यसो हुनाको मुख्य कारण अबका विद्यार्थीलगायत व्याकरण पढाउने शिक्षक(शिक्षिकाहरू संस्कृतको सामान्य ज्ञान र व्याकरणदेखि टाढा हुँदै जानु हो।
फ) अबका व्याकरणमा नेपाली भाषाको मौलिक व्यवस्थाको अध्ययन हुन्छ। संस्कृत व्याकरणका विभिन्न तत्व, परिभाषा, निर्देशनबाट विस्तारै फुत्किदै, खुकुलो हुँदै नेपाली भाषिक र व्याकरणिक व्यवस्थाको अध्ययन, अनुसन्धान र विस्तारण हुँदैजान्छ।
५. निष्कर्षः
नेपाली भाषा एउटा विकसित, समृद्धशाली भाषा हो। विश्वका अरू भाषासरह यसमा पनि आफ्नै व्याकरणिक व्यवस्था सुदृढ़ र मौलिक छ। यस भाषाको वैज्ञानिक अध्ययन हुनका साथै आधुनिकीकरण हुँदैआएको देखिन्छ। यस भाषाका व्याकरणिक कोटि र वर्णमाला विषयमा समय–समयमा वाद–विवाद हुँदै गरेको देखिन्छ। यस भाषाको व्याकरणमा आधुनिक भाषाविज्ञानको प्रभाव परेको देखिन्छ। यद्यपि व्याकरण पनि वैज्ञानिक कुरा नै हो। यसले पनि भाषाको वैज्ञानिक तथ्यलाई नै अनुशरण गर्छ।
जे भए पनि नेपाली व्याकरणले संस्कृतका परम्परागत व्याकरणिक व्यावस्था र सस्युर, चम्स्की र ब्लूमफील्डहरूका आधुनिक भाषाविज्ञानलाई समान रूपले पहिल्याएको छ। हाम्रो भाषाको मूल संस्कृत हुनाले यसका व्यवस्था ग्रहण गरेकै छ भने आधुनिक भाषाविज्ञानका सिद्धान्तअनुरूप आफ्नो व्यवस्थालाई पनि आद्योपान्त गर्दैआएको पनि देखिन्छ। नेपाली व्याकरणमा वर्णमाला, वर्णविन्यासको वैज्ञानिक विचार र पुनर्विचार, प्रधान र गौण व्याकरणिक कोटीलगायत नयाँ नयाँ तत्व र पक्षहरूको समावेश आदि कुराहरू देखिँदै, थपिँदै आएको देखिन्छ।
सन्दर्भ ग्रन्थ सूची –
१. सम्पादक मण्डली, नेपाली लेखन शैली, मैसुर, भारतीय भाषा संस्थान,२०११.
२. हेमाङ्गराज अधिकारी, समसामयिक नेपाली व्याकरण, काठमाडौं, कुञ्जल प्रकाशन, सं २०४९।
३. घनश्याम नेपाल र कविता लामा, उच्च माध्यमिक नेपाली व्याकरण र रचना, सिलगडी, एकता बुक हाउस,२००६।
४. घनश्याम नेपाल र पुष्कर पराजुली, माध्यमिक नेपाली व्याकरण र रचना, सिलगडी, एकता बुक हाउस,२००७।
५. शिवराज शर्मा, नेपाली वर्णमालाका वर्णहरू र मेरा अन्य लेख, दार्जीलिङ, श्रीराज प्रकाशन, २००९।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ असार २०८३, मंगलवार 










