घरको आँगनमा पुगेर ‘बा मैले योग गर्ने खसी ल्याएको छु’ भन्दै गर्वले सुनाएँ । खसी देखेर बाले बार्दलीबाटै झन्डै झटारो हानेनन् । आमाले मतर्फ बढिरहेको सुनामीलाई रोक्नुभयो । साँच्ची खसीको बोसो पनि मीठो चाहिं हुने रहेछ है ।
…
कुनै भेगमा आलुकै भात आलुकै दाल भए झैं, सादा जीवन उच्च विचार, खसीकै भात, खसीकै दाल, खसीकै तरकारी, खसीकै अचार हसुर्ने विशेष समयलाई दशैं भन्छन् । सोह्र श्राद्धभरि शाकाहारी भोजन गर्न बाध्य मानिसहरूको मानसिक अवस्थालाई सन्तुलनमा ल्याउन लगत्तै दशैं राखिएको हो कि जस्तो मलाई लाग्छ । यसमा शाकाहारीले विमति राख्न पाए । दशैं भनेको त्यति मात्र होइन भन्न पाए । मान्छेका आआफ्ना दुःख हुन्छन् । तर, मांसाहारीलाई दशैं भनेकै खसी हो । खसी भनेकै खुशी हो ।
मान्छेहरूले दशैंलाई दशा भन्ने गरेको धेरै पटक सुनेको छु तर खसीको भनेका रहेछन् भनेर बल्ल बुझ्दै छु । खसीलाई खसी हुन चौपट्टै गाह्रो छ । खसी बनाइने अङ्गमा चोट खप्नेलाई अलिअलि थाह होला । आफ्नो बन्ध्याकरण गर्न उति नरुचाउने मान्छेले जबरजस्ती बन्ध्याकरण गरिदिएपछि ऊ खसी हुन्छ । अनि मान्छे खुशी । खसीका परिवारले पिण्ड दान गर्नुपर्दो हो त देशको सारा उब्जनी त्यसमा सकिँदो हो । हडताल गर्दा हुन् त आउँदो सत्ययुगसम्म देश नखुल्दो हो ।
पक्कु, भुटन, फ्राई, झोल, ग्रेभी, सेकुवा, तास के के हो के के, पाककलामा प्रवेश गरेपछि उसले देवता झैं अनेक नाम पाउँछ । फरक यति हो देवताले हाम्रो पेट भरि दिँदैनन्, खसीले भर्छ । अनि मन्दिरमा बस्नेहरूको त्यत्रो भुँडी कसरी भयो भन्नुहोला । त्यता नलागौँ । जिन्दगीको स्वाद चाख्न नपाएको खसीको मृत्युको स्वाद रमाउँदै लिन्छन् जिब्राहरू । ह्याकुलादेखि फिलासम्म, कानदेखि पुच्छरसम्म सबै चपाउँछन् दाँतहरू । माफ गर्नुहोला मांसाहारी दाँतहरू । जीवनलाई भोजनमा परिवर्तन गरिरहेका मानिसहरूको तमासा देखेर पुच्छर हल्लाउँदै उफ्रिन्छन् कुकुरहरू । अनि पो भेट्छन् चपाउन नसकेका हड्डी । यसलाई राजनीतिक हिसाबले सोच्दा पनि भयो ।
हामीजस्तो शहरमा कोठा भाडामा लिएर बस्नेले यति बेलै त हो खसीको अनुहार देख्न पाउने । अरू बेला त सम्झनाको दाँतमा अड्किएको खसीको परिकार स्मरण गर्दै भात निल्नपर्छ । सम्झना भनेको कुनै महिलाको नाम होइन, याद भनेको । यता खसीको भाउ सुन्दा कानले श्रवण शक्ति गुमाउँछ । देख्यो भने आँखाको ज्योति हराउँछ । उस्तै परे एक किलो खसीको मासु किन्न बैङ्क अथवा फाइनान्सबाट ऋण लिनुपर्छ । फाइनान्सको कुरा गर्दा कसैको याद आए म जान्दिन । हुन त खसीको कुरा गर्दा पनि कसैको याद आयो होला । छोडौँ त्यसलाई । कुनै प्रेमी/प्रेमिका झैं खसीको मासुको सम्झनामा वर्षभरि छटपटाएको आत्माले दशैंमा शान्ति पाउँछ । जिब्रो र दाँतले तृप्तता लिन्छन्, आन्द्राहरू रमाउँछन् । अघि नै भने त मैले दशैं भनेकै खसी, खसी भनेकै दशैं । शाकाहारीले खसीको ठाउँमा पनिर अथवा च्याउ राखेर पढ्नुहोला ।
पीढीमा बसेर आफ्नै धुनमा ‘दशैं आयो खाउँला पिउँला’ भन्दै थिएँ । ‘घिच्लास् तँलाई !’ भन्दै बा भित्रबाटै कड्किए । ‘काम साम भुत्लो भाङ्गो केही गर्ने होइन, के को खाउँला र पिउँला ?’ बालाई चाडबाड आउनासाथ यसरी रुद्र अवतार चढ्ने गर्छ । ‘त्यत्रा नेताले केही नगरी देशै खान लाग्दा त भएकै छ, मैले चाडबाडमा पनि खान नपाउनु ?’ भन्दै मैले कुरो मोड्ने कोसिस गरेँ । रुद्र अवतार चढेको मान्छे यतिकै शान्त हुने कुरा भएन । ‘धेर जान्ने न हो औतारी’ भन्दै एकछिन फतफताए । ‘अनि खसी किन्न जानु पर्दैन ?’ बाको मुखारविन्दबाट यो अलौकिक वाक्य खस्यो । अलौकिक किन भनिएको भन्ने कुरा बुझिहाल्नु भयो । धेर बुझ्ने बानी भएका नेपालीले यति नबुझ्ने कुरा भएन । ‘कि बाइलर नै खान्छस् ?’ सुनेपछि जुरुक्क नउठी भएन । ‘बोसो कम भएको, अलिक खँदिलो ल्याएस्’ भन्ने उर्दी आएपछि ‘खँदिलो कस्तो हुन्छ ?’ भन्ने कुराले मेरो मनमा डेरा जमायो । बाटोमा धेरै चिन्तन मनन गरेपछि जिम जाने खसी खोज्ने निर्णय मेरो दिमागले लियो ।
जिम जाने खसीले पक्कै आफ्नो बोसो पगालेको होला भन्ने मलाई लाग्यो । जिमखानामा आफ्नो बोसो पगाल्दै गरेका मानव जतिलाई मैले शहरमा देखेको थिएँ । घर घरमा सोध्दै हिँडे । हाट हाटमा डुल्दै गएँ । अहँ जिम जाने खसी फेला पर्न सकिएन । कतिले ‘खुस्क्यो कि क्या हो ?’ भन्दै झन्डै लखेटे । एक दुई जनाले त झम्टिए पनि । मलाई चिन्ता ग्रस्त अवस्थामा देखेर एक जनाले त्यसको कारण सोधे । मैले आफ्नो चिन्ताको विषय बताएपछि उसले आफूसँग एउटा अलौकिक खसी भएको बतायो । ‘तर त्यो जिम चाहिँ जाँदैन’ उसको यति वाक्य खसेपछि म फेरी बसेँ । ‘तिमी चिन्ता नलेऊ मैले उसलाई घरमै योगा गराउने गरेको छु’ उसले भन्यो । मन फुरुङ्ग भयो ।
बिहानी उठेर त्यसले सूर्य नमस्कार गर्छ, एकछिन् मेडिटेसन गर्छ, पद्मासन, भद्रासन, वज्रासन अरू पनि केके गर्छ भन्दै फलाक्दै उसले खसी देखाउन लग्यो । मलाई ‘पर्ख है म बोलाउँछु’ भन्दै उसले खसी बोलाउने कुरा सुनायो । ‘सबैभन्दा बढी योग गर्ने खसी को हो ?’ उसले आफ्नो आँगनमा आवाज पुर्यायो । उसको आवाज सुनेर ‘म…..’ गर्दै एउटा खसी उफ्रियो । यो अद्भुत दृश्यले मेरो मन रमायो । तर यसो खसी हेर्छु प्याट्ट भुँडी निस्किएको छ । ‘दाइ यसको त भुँडी लागेको छ त ?’ मैले सोधेँ । ‘हैट लाटा यो बोसो होइन नि, आज उपवास लिएको छ, त्यही भएर ग्यास्ट्रिक भएको’ भन्दै उसले आफ्नो खसीलाई अभ्यस्त योगी बतायो । योगा गर्ने खसी फेला परेकाले म पनि दङ्ग परेँ र खसी डोर्याएर हिँडे ।
घरको आँगनमा पुगेर ‘बा मैले योग गर्ने खसी ल्याएको छु’ भन्दै गर्वले सुनाएँ । खसी देखेर बाले बार्दलीबाटै झन्डै झटारो हानेनन् । आमाले मतर्फ बढिरहेको सुनामीलाई रोक्नुभयो । साँच्ची खसीको बोसो पनि मीठो चाहिं हुने रहेछ है ।
शाकाहारी साथी नरिसाउने भए फेरी एकपल्ट भन्छु ‘दशैं भनेकै खसी, खसी भनेकै दशैं’ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










