मसँग एउटा कविता छ
जो रातभरि निदाउन सक्दैन
उसलाई लाग्छ
उसले कुनै किसानलाई न्याय दिलाउन सकेन ।

बाढी रोक्न सकेन
पहिरो थाम्न सकेन
भू-कम्प टाल्न सकेन ।

कसैको मासिक रक्तश्राव या प्रसव पीडा
सुनाएर भावनाको व्यापार गर्यो
माइतीघरमा चिच्याएर
जात व्यवस्थाको जरो उखेल्ने फूर्ती लगायो ।

खादा/माला पहिरिएर गजक्क पर्दै
वर्गीय समानताका घतलाग्दा हरफहरू भट्यायो
अन्तर्वार्ताहरूमा भावुक भएको नक्कल गर्दै
परदेशीहरूको वेदना फलाक्यो ।

हो ! मेरै आदेशमा
शब्दहरूलाई छिर्के लगाएर पछार्यो
र लैङ्गिक हिंसाविरुद्ध उफ्रने मौका पायो
देशका हरेक घट्नामा अतिरन्जित भावना मिसाउँदै
लाइक/कमेन्ट गनेर बस्यो ।

उसले भन्न मात्र सकेको छैन ‘ए कवि ! अब मलाई मुक्ति दे
तेरो फुस्रो दैनिकीबाट’ ।

त्यसैले मातिएको हरेक साँझ भावविह्वल भएर
म बरबराउँछु
कि, कविताको दाँत फुस्किनुभन्दा अघि
कपाल नफुल्दै
र, छाला नचाउरिँदै
जिउन दिनु छ
उसलाई कम से कम एक पंक्ति जीवन ।