दमकको फाल्गुननन्द चोकमा पुगेर ‘एलपी जोशी (लक्ष्मीप्रसाद जोशी) को घर कहाँ हो ?’ भनेर सोध्दा औँलाले पारिपट्टि रहेको एक घरतर्फ इशारा गर्दै एक स्टेशनरी पसलेले उनको घर देखाइदिए । घरअगाडिको सटरमा उनको पसल छ । पसलको भित्तामा प्रमाण पत्र र दिवङ्गत श्रीमती तथा छोराको तस्बिर छ । म पुग्दा पसलकै कुर्सीमा बसेर उनी मोबाइलमा पुराना केही स्मृतिहरूमा हराइरहेका थिए ।
‘नमस्ते सर, म सुरज….’
‘नमस्ते भाइ….’
नेपाली गीत सङ्गीतको क्षेत्रमा लोकप्रिय नाम एलपी जोशी रङ्गकर्मी, चित्रकार तथा नृत्य कोरियोग्राफर पनि हुन् । नेपालको दोस्रो चलचित्र ‘हिजो आजभोलि’मा नेपालकी पहिलो नायिका भुवन चन्दसँग समेत काम गरेका जोशीले अन्य केही नेपाली चलचित्रमा पनि आफ्नो कलाकारिता प्रस्तुत गरेका छन् ।
केही बेरको परिचयात्मक कुराकानीपश्चात् उनले आफ्नो जीवनका केही तिता मिठा स्मृतिहरू साझा गरे । केही पुराना तस्बिरहरू देखाए । त्यति बेलाका सङ्घर्षका कथाहरू सुनाए । उनको जीवनका उकाली ओरालीमा हिँड्न पाउँदा मन आनन्दित र रोमाञ्चित भइरह्यो । थप सुन्न पाए हुन्थ्यो झैँ भइरह्यो कानलाई ।
कुराकानीकै क्रममा बिस्तारै उनले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सम्झिए । ०५६ सालतिर बिर्तामोडमा उनले पहिलो पटक माधवप्रसाद घिमिरेलाई भेटेको कुरा मुस्कुराउँदै सुनाए ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेसँग भेट्ने उनको ठुलो चाहना थियो । कसरी भेट्न सकिएला भन्ने लाग्दा लाग्दै त्यो भेट जुरेको थियो । धनकुटाका गीतकार शिव शङ्कर थापा, लोकगीत गायिका हिरादेवी वाइबा आदिसँग घिमिरे बसेका थिए । एलपीले घिमिरेलाई भेटेर आफ्नो अटोमा केही लेखिदिन आग्रह गरे । घिमिरे पनि उनको गीतसँग परिचित रहेछन् । घिमिरेले अटोमा उनकै गीत जोड्दै चार लाइन लेखिदिए । जुन अहिले पनि जोशी सम्झिन्छन् । उनले ‘रिटिङ रिटिङ क्या मिठो बिनायो, बिनायोले जोशीलाई चिनायो’ लेखेका थिए ।
केही समयपछि काठमाडौँमा नातिकाजी स्मृति समाजबाट एक सम्मान ग्रहण गर्ने क्रममा पनि घिमिरेसँग उनको भेट भयो । उनले राष्ट्रकविकै हातबाट उक्त सम्मान लिएका थिए । सम्मान लिने बेलामा पनि घिमिरेले सोही चार लाइन सुनाएको उनले बडो रमाइलो मान्दै सुनाए ।
कुरा गर्ने क्रममा उनले अर्को एउटा घटना र समयमा मलाई पुर्याए । २०१३ सालमा राजा महेन्द्रको राज्याभिषेक भइरहेको थियो । सोही अवसरमा धनकुटाबाट उनीसहितका कलाकारहरूको समूह काठमाडौं गएको थियो । काठमाडौं पुग्न त्यति सहज थिएन । भारतको जोगमनी, कटिहार, समस्तीपुर हुँदै रक्सौल पुगेर वीरगन्ज पुग्न पर्थ्यो । वीरगन्जबाट बल्ल काठमाडौँतिर लाग्न सकिन्थ्यो । तर, बस भने पाइँदैन थियो । ट्रकमा चढेर जानु पर्ने हुन्थ्यो । जेहेनतेहेन काठमाडौं पुगेर उनले नाचघरमा कार्यक्रम देखाए । कार्यक्रम सक्नासाथ एकजना रेडियोका कोही व्यक्तिले आएर उनलाई रेडियोबाट बोलाएको बताए । उनले ‘तपाईँलाई लिएर आउनु भनिएको छ, एकछिन जाऊँ न’ भन्दै आग्रह गरे । उनलाई पनि रेडियोमा गाउन पाइने रहेछ भन्ने लाग्यो । कौतुहलतासहित उनी सरासर बोलाएको ठाउँतिर लागे ।
त्यहाँ पुगेपछि उनले सोचेझैँ भयो । उनलाई ‘रेडियोमा एउटा गीत गाउनुहोस्, रेकर्ड गर्नुपर्यो’ भनियो । रेडियोमा गीत रेकर्ड निकै रियाज गर्नुपर्थ्यो । त्यसैले उनलाई रियाज गर्न भनियो । केही बेर रियाज गरेपछि उनले गाउन सक्ने जानकारी दिए । ‘नेपाली माया नेपाल कस्तो छ ?’ भन्ने गीत उनले रेकर्ड गराए । तत्कालीन समयमा उक्त गीतले उनलाई जनमानसमाझ निकै लोकप्रिय बनाएको उनी स्मरण गर्छन् ।
त्यसको केही समयपछि २०२४ सालमा इलामको लुम्दे भन्ने ठाउँमा एक कार्यक्रममा सहभागी हुन उनी गएका थिए । ‘रेडियोमा बोल्ने मान्छे आएको छ’ भन्ने हल्ला टाढा टाढासम्मको गाउँमा फैलिएको रहेछ । मानिसहरू पुल्ठो बालेर रेडियोमा बोल्ने मान्छेलाई हेर्न आएको उनी सम्झिन्छन् । ‘यत्रो सानो रेडियो भित्र बसेर कसरी गाउँछ’ भन्ने कौतुहलतासहित मानिसहरू उनलाई हेर्न पुगेका थिए । केही मानिसहरूले यो जिज्ञासा उनीसामु राखेको उनले सुनाए । अन्य ठाउँमा पनि उनलाई हेर्न आउनेको भिड बाक्लै हुने गर्थ्यो । रेडियोमा बोल्ने मानिसलाई भेट्न हजारौँ मानिसहरू आएको ती दिन सम्झँदा उनलाई अहिले पनि रमाइलो लाग्छ ।
जोशीले ठ्याक्कै समय ठम्याउन नसके पनि कवि मोमिला जोशीको बाल्यकालको एउटा रमाइलो घटना पनि मलाई सुनाए । तत्कालीन समयमा राजा वीरेन्द्र धनकुटा आएका थिए । राजाको स्वागतार्थ धनकुटामा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका थिए । यद्यपि राजाको निकट जाने अवसर सबैले पाउँदैन थिए । उपस्थित मानिसहरूमध्ये राजाको निकट पुग्ने एक व्यक्ति कवि मोमिला जोशी पनि थिइन् । मोमिलाले मादल बजाएको देखेर दङ्ग पर्दै वीरेन्द्रले नजिक बोलाए । र, राजारानीले आफ्नै काखमा राखेर पुनः मादल बजाउन लगाए । मोमिला उनकी भतिजी हुन् ।
साङ्गीतिक जीवनमा अनेकौँ गीत रचना गरी गाएका एलपीले आफ्नो गीत हुबहु नक्कल भएको भन्दै चिन्ता पनि व्यक्त गरे । नेपथ्यका गायक अमृत गुरुङले गीतको शब्दलाई केही हेरफेर गरी आफ्नै लय तथा सङ्गीतसहितको गीत आफ्नो बनाइ गाएको आरोप उनले लगाए । ‘खिपीमा खिपी बिनायो बाजा’ बोलको उक्त गीतलाई ‘सानोमा सानो कमलको हाँगा’ बनाइ गाइएको उनले सुनाए । यसरी वास्तविक रचनाकार छायामा परेर अरू कोही नामी गायक भएको कुराले उनलाई दुखाउने गरेको छ । उनले यो गीत म्युजिक नेपालबाट निकालेको समेत जानकारी दिए । नेपाली गीत सङ्गीतको क्षेत्रमा भएका यस्ता समस्याहरूप्रति उनी निकै चिन्तित देखिए ।
केही बेरको गफगाफमा उनले सुख दुःखका विभिन्न पाटाहरू देखाए । कहिले अचम्मित त कहिले रोमाञ्चित पनि भए । कुराकानी अझै सकिएको थिएन । तर, समय घर्किरहेको थियो । निश्चित वासस्थान फर्कनु थियो ।
‘म दमक आउँदा फेरि हजुरकोमा पस्छु है सर । मलाई अझै सुन्न मन लागिरहेको थियो…’
‘समय मिलाएर आऊ न भाइ….’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।