(‘अन्तिम पात’ (२०८०) निबन्ध कृतिका लेखक नारायण ढकाल (२०१०) हुन् । आजका मितिसम्म उनले नेपाली साहित्यमा सात वटा कथासंग्रह, पाँच वटा उपन्यास, एउटा कवितासंग्रह, दुई वटा बालकथासंग्रह र तीनवटा निबन्ध संग्रह दिइसकेका छन् । उनको पछिल्लो साहित्यिक कृति बनेर आएको अन्तिम पात निबन्ध संग्रहमा कल्पना, भावना र कलात्मक कुराभन्दा पनि आफ्ना पठन अनुभवलाई ज्यादा पोखिएको पाइन्छ ।)
नारायण दाइ, तपाईं कति पढ्नुहुन्छ हँ ?
पहिला म आफूलाई निकै पढन्ते सम्झन्थें । हो, वर्षमा सरदर पचासभन्दा बढी नयाँ कृति र लगभग त्यसको आधा जति पहिले पढिसकेका कृति दोहोर्याएर र कति त तेहर्याएर पनि पढ्छु म । आजका दिनसम्म मैले सबैभन्दा बढी पटक पढेको कृति पारिजातको ‘शिरीषको फूल’ उपन्यास हो । पेसाले भाषा शिक्षक भएको हुँदा नपढी कक्षामा उभिन मनै लाग्दैन मलाई । अघिल्लो वर्ष पढेकै आधारमा कक्षामा उभिन गइयो भने गम्भीर त्रुटि हुने सम्भावना रहन्छ ।
आफूलाई तरोताजा राख्न पनि पढ्छु म । पढेर चल्छ मेरो रोजीरोटी । पढेरै सँगाल्छु म ज्ञान । पढेरै लिन्छु म मनोरञ्जन । तर नारायण ढकाल दाइको निबन्ध कृति ‘अन्तिम पात’ पढेपछि मेरो त्यो अहम् चकनाचुर भएको छ । म सदाबहार कवि भूपी शेरचनले भनेझैं डाँडामाथि उम्रिएको छाते च्याउ भएको छु, रविन्सन क्रुसोको लिलिपुट भएको छु । आफूलाई यस्तो कमजोर सम्झँदा पनि मलाई मज्जा नै आइरहेका छ ।
रामप्यारी सुनुवारको मात्र होइन, रमेश प्रभातको पनि उही प्रश्न छ, “नारायण दाइ, तपाईं कति पढ्नुहुन्छ हँ ?” पढेका कुरा सम्झने क्षमता देखेर म त छक्कै परेको छु । म यहाँनेर प्रकाश सायमी दाजुलाई पनि सम्झिन चाहन्छु । म प्रकाश दाइको स्मरण क्षमताको फिदा हुँ । उहाँ घटना, तिथिमिति र पात्रलाई कति जतनले सम्झनुहुन्छ । त्यस्तै गुण मैले तपाईंमा पनि देखें । यो फुच्चे भाइले मलाई अरूसँग तुलना गर्यो भनेर माइन्ड चाहिं नगर्नुहोला । मलाई त्यस्तै लाग्यो त म के गरूँ ?
——
तपाईंको ‘अन्तिम पात’ पढ्दा क्या मज्जा आयो !
नारायण दाइ ! सामान्यतया म पनि एउटा ३०० पृष्ठ जतिको पुस्तक काम गर्नुपर्ने समयमा एक हप्तामा पढेर सक्छु । फुर्सदमा छु भने त त्यत्रो किताब दुई दिनमा नै पढेर सक्छु म । मलाई तपाईंको २४० पृष्ठको निबन्धकृति पढ्न ठ्याक्कै छ दिन लाग्यो । किताब पढ्दा मलाई लाग्यो, मेरो जस्तै बानी रहेछ तपाईंको पनि । यो कुरा तपाईंको ‘दासमुक्तिको ओडिसी या इतिहाससँग पलायन ?’ शीर्षकको यी निबन्धांश पढेपछि थाहा भयो :
एक साताभित्र पढिसिध्याउने लक्ष्य राखेर पढ्न बसेको थिएँ, तर किताब समातेपछि प्रस्तावित लक्ष्य भत्कियो । पढ्न थालेपछि अरू काम गर्नै मन लागेन । फलस्वरूप दुई दिनका लामा दुई बसाइँमा पढिभ्याइयो । (पृष्ठ : १०५)
विशेषगरी कविता र आख्यान पढ्छु । निबन्ध पनि पढ्छु तर निकै कम । यो मेरो पठनको सीमा हो भन्दा पनि हुन्छ । मलाई मेरो सीमा नै मन पर्छ । तर यतिवेला मैले लगातार श्यामल दाइको ‘रित्तो गाउँ’, भीष्म उप्रेतीको ‘हिमाल, शेर्पा र यती’ अनि नारायण ढकालको ‘अन्तिम पात’ जस्ता निबन्ध कृति पढेर सकें । यिनले ममा छुट्टै ऊर्जा भरेको छ । त्यसमा पनि ‘अन्तिम पात’ ले निकै तान्यो किनकि त्यसमा भावनाभन्दा पनि पठन अनुभूति ज्यादा रहेछ । मज्जा आयो, हो, साँच्चै मज्जा आयो ।
——
तपाईंको ‘अन्तिम पात’मा पठन अनुभूति कति धेरै हो ?
मान्छेले गरेको प्रगतिको कारण नै पठन हो । जसले बढी पढ्छ, उसैले संसारलाई बढी मात्रामा चिन्छ । पढ्दै नपढ्ने मान्छेले त साँघुरो घेरा मात्र देख्छ । अझ लेखकका हकमा भन्ने हो भने त अरूका कुरा नपढ्ने लेखकले नयाँ कुरा लेख्नै सक्दैन भन्ने धारणा छ मेरो ।
तर लेखकले पढेका कुरालाई पचाएर लेख्ने हो । त्यो कुरा समालोचकका हकमा भने लागू हुँदैन । आफूले पढेका किताबका बारेमा नै लेख्ने हो समालोचकले । निबन्धकारले समेत पढेका कुराका बारेमा लेख्छ भने त्यो निबन्ध नभएर निसमालोचना हुन्छ भन्ने विचार हो मेरो ।
नारायण दाइ, तपाईंको ‘डोरियन ग्रे, देवीप्रसाद र कवि सान्त्वना’ शीर्षकको निबन्धमा आएको यो विचार पूर्णतः पठनसँग सम्बन्धित छ हैन र :
“साहित्य पढ्न थालेपछि मेरो स्वभाव र व्यवहारमा चपलता र अराजकता बढ्दै गएको छ, विशेषगरी, शक्तिशाली कथाले मेरो मन धेरै बिथोल्छ । शायद कथा भनेको मानव आत्मामा सङ्गृहीत अतृप्त सङ्कल्पना, आवेश र आकाङ्क्षाहरूको दस्ताबेज हो । नत्र शेक्सपियरले मानव मस्तिष्कलाई किन वासनाहरूको कोलाहल भने ? अथवा, उन्नाइसौं र बीसौं शताब्दीका युरोपेली शून्यवादीले मानवको ध्वंसको कामनामा मात्र किन चरम सुखभोगको अनुभव गरे ? यी अहिलेसम्म मैले उत्तर नपाएका प्रश्न हुन् ।” (पृष्ठ : ९२)
साहित्य पढ्न थालेपछि तपाईंको स्वभाव कस्तो परिवर्तन आएछ है ? म यसबाट ताज्जुब भएको छु । अनि तपाईंको ‘तीन स्रष्टा : एक पाठ’ शीर्षकको निबन्ध भित्रको ‘शङ्कर लामिछाने र कुमुदिनी’ उपशीर्षकमा आएको पठन अनुभव र समालोचकीय चेत यस्तो पाएँ मैले :
“जब उनलाई माइकल कर्बेको सिर्जना अनुवाद गरेर आफ्नै नाममा छापेको आरोप लाग्यो, त्यसपश्चात् उनले साहित्यलाई त्यागपत्र दिए । उनले अरू कसैको साहित्य चोरी गर्नुपर्ने स्थिति थिएन । त्यो बेला उनी साहित्य र जीवनसँग धेरै निराश भएको हुनुपर्छ, जसकारण साहित्यबाट भाग्नका लागि कुमुदिनी लाई आफैँले जन्माएको पनि हुनसक्छ । मेधावी र विलक्षण प्रतिभा भएका महत्वाकांक्षी प्रतिभाहरूले जीवनमा यस्तो जुवा खेल्न सक्छन् ।” (पृष्ठ : १२९)
मैले माथि साभार गरेका केही प्रतिनिधि कुरा मात्र हुन् । तपाईं कति धेरै पढ्नुहुन्छ ? पढेका अनुभवलाई कसरी सामग्री बनाएर राख्नुहुन्छ ? तपाईंका यी विचारलाई मैले चाहिं निःशर्त मन पराएँ ।
——
नारायण दाइ, तपाईंको ‘अन्तिम पात’ निसमालोचना भएन र ?
नेपाली साहित्यमा धेरै पहिलेदेखि लेखिंदै आएको र डा. एकनारायण पौडेलले वि.सं. २०७८ मा सैद्धान्तिक ढाँचा तयार पारेको निसमालोचनाको राजमार्गमा म यतिवेला एक्लो यात्री बनेर ढलीमली गर्दै हिंडिरहेको छु । मैले लेखेजस्तै निसमालोचना ढाँचाका साहित्यिक रचनाहरू यतिवेला नेपाली साहित्यमा थुप्रै लेखिंदै आएका छन् ।
साहित्यिक कृतिमा समेटिएका त्यस्ता निबन्धात्मक समालोचनामा निबन्धकार अनिल श्रेष्ठको ‘यो मन कहाँ दुख्छ’, रोशन शेरचनको ‘गल्ली संसार’, श्यामलको ‘रित्तो गाउँ’ र नारायण ढकालको ‘अन्तिम पात’का केही निबन्धहरू पर्छन् । म तिनलाई निसमालोचना भन्छु, तपाईंहरू चाहिं निबन्ध मात्र भन्नुहुन्छ । फरक यत्ति हो, बाँकी कुरा समान छन् । म मेरा निसमालोचनामा मेरा पठन अनुभव नै लेख्छु, तपाईंहरू पनि त पठन अनुभव नै लेखिरहनुभएको छ । भएन त समान ?
नारायण दाइ, तपाईंको ‘धेरै कठिन छ अब, घर फर्किन’ निबन्धमा भारतीय कवि सुरजीत पातर र नेपाली कवि कृष्ण सेन ‘इच्छुक’को तुलना निबन्धात्मक भए पनि समालोचनाको गुण बोकेर आएको छ भन्ने ठहर यी पङ्क्तिले गर्छन् :
पन्जाबी कवि सुरजीत पातर यहाँ स्मरणीय छन् । इच्छुकजस्तै एक समय उनी नक्सलवादी थिए । नक्सलवादी आन्दोलनको तापमा गत शताब्दीको सातौं दशकमा लेखेका उनका कविता अझै पनि चर्चित छन् । तर, इच्छुक शैलीका कठमुल्लावादी चाहिं उनी होइनन् । (पृष्ठ : ११७)
नारायण दाइले ‘कवि मञ्जुलको प्रशंसामा’ शीर्षकको निबन्धमा कवि मञ्जुलको कविताका बारेमा आफ्नो समालोचकीय धारणा राखेका छन् । त्यसमा उनका सुरुका कविताका तुलनामा पछिल्ला कविता कमजोर भएको निष्कर्ष पनि दिएका छन् । निबन्ध भनेर लेखिएको भए पनि मेरो विचारमा यो समालोचना हो । नभए हेरौँ यी पङ्क्तिहरू :
‘बाँसुरीहरू’ अहिले पनि मलाई राम्रो लाग्छ । तर, यता आएर लेखेका उनका कविताहरूको ढाँचाले पनि छुँदैछुँदैन । जस्तो, ‘चन्द्रमा र बाँसझ्याँङ’ । त्यस्तै, अरू केही कविता पनि । पढ्यो, अल्प अनुभूति हुन्छ, मानौँ, कपासको बम्बै लड्डु मुखमा हालिरहेको छु । ठूलो डल्लो मुखमा हाल्यो, तर जिब्रोले स्वाद खोज्दाखोज्दै कता बिलाउँछ, कता । (पृष्ठ : १५९)
माथि साभार गरिएका पंक्तिहरू त केवल नमुना मात्र हुन् । उनका पठन खण्डका नौ वटै निबन्धमा निसमालोचनाको छनक पाइन्छ भने पूर्वपीठिका खण्डका तीन वटै र यात्रा खण्डको ‘अन्तिम पात’ मा निसमालोचनाको छनक भेटिन्छ । यसरी जम्मा पन्ध्र वटा निबन्ध रहेको यो कृतिमा तेह्र वटा निबन्धमा निसमालोचनाको छनक पाइएपछि यी निबन्धलाई केबल निबन्ध भन्ने कि निसमालोचना ? म चाहिं पूरा का पूरा भ्रममा छु । मलाई यो भ्रमबाट कसले निकालिदेला ?
——
नारायण दाइ, अबको नेपाली निबन्धको गन्तव्य पठन अनुभूति नै हो त ?
म यतिवेला जुन निबन्ध कृति पढ्छु तिनमा कतै न कतै निबन्धकारका पठन अनुभूति मुखरित भएको पाउँछु । यसले ममा एउटा प्रश्न जन्माएको छ ‘के अब नेपाली निबन्धको गन्तव्य पठन अनुभूति नै हो त ?’ मेरो यो प्रश्नमा मलजल थप्ने काम नारायण दाइको ‘डोरियन ग्रे, देवीप्रसाद र कवि सान्त्वना’ शीर्षकको निबन्धले गरेको छ । नपत्याए पाठकवृन्द, यी पंक्ति पढ्नुस् त :
डोरियन ग्रेको तस्वीरको एक ठाउँमा अस्कर पाप र दण्डबारे लेख्छन्, “अबदेखि मनुष्यले आफ्नो ईश्वरसित ‘हाम्रो पापलाई क्षमा गर’ भन्ने प्रार्थना त्यागेर भगवान्, हाम्रो पापको हामीलाई दण्ड देऊ भन्ने प्रार्थना गर्नुपर्छ ।”
सिङ्गो किताब पढेपछि लाग्छ, यो अनगिन्ती विचार र धारणाहरूको भण्डार हो । यहाँ समकालीन जीवन, कला, कलाकार, सौन्दर्य, रोमान्स, विवाह, नैतिकता, मृत्यु आदि विषयमा गम्भीर वादविवाद पाइन्छ । (पृष्ठ :८२–८३)
माथिको निबन्धांशमा पठनका कुरा नै त छन् । त्यति मात्र होइन, किताब पढेर लेखकका मनमा बन्ने धारणाको कुरा पनि छ । समकालीन साहित्यको प्रवृत्ति पनि छ । जे जे भए पनि पठन अनुभवसँग जोडिएर आएको छ । त्यही भएर मैले भनेको अबको नेपाली निबन्धको गन्तव्य पठन अनुभवको पुनर्लेखन नै हो । होइन भने होइन भन्नुस् ।
——
नारायण दाइ, तपाईंको वैचारिक अडान के भयो हँ ?
नारायण दाइ, तपाईंसँगको सङ्गतमा आजका मितिसम्म आफ्ना कुरा राख्न पाएको छैन मैले । त्यसो तपाईंसँग त्यति भेट नै कहाँ भएको छ र ? चितवन मेरो कार्यथलो, म काठमाडौं त्यति जान्नँ । त्यता गए पनि तपाईंलाई झुलुक्क देख्नु, नमस्कार गर्नु बस् त्यत्ति हो ।
पछिल्लो पटक सरस्वती प्रतीक्षाको ‘स्व’ उपन्यासको लोकार्पण समारोहमा तपाईंलाई दर्शकदीर्घामा बसेको देखेको हुँ, तर त्यो मानवसागरमा बोल्ने अवसर हामी जस्ता भुइँमान्छेलाई कहाँ हुनु ? बस् टाढैबाट देख्यो, पुग्यो । त्यसो त तपाईं चितवन आउँदा पनि त हामीले आफ्नो विचार कहाँ राख्न पाउँछौं र ? टाढाबाट हेर्ने काम त टेलिभिजन वा फेसबुकमा पनि हुन्छ नि हैन र दाजु ?
म यहाँ तपाईंसँगको प्रत्यक्ष भेटेर कुरा गर्न नपाएकोमा गुनासो गर्न लागेको छैन । कुरामा कुरा मात्र मिलाएको । बरु यहाँ म तपाईंको राजनैतिक उतारचढावको कुरा गर्न खोज्दै छु । तपाईंका कृति पढ्दा तपाईं मार्क्सवादी हो भन्ने छनक त पाइन्छ तर कित्ताकाट भने हुन छोडेको छ यतिवेला । एउटा लेखकका लागि त्यो आवश्यक हो कि ? कुनै पार्टीको समर्थन नपाए त तपाईं जस्तै अवसरबाट बाहिरै बस्नुपर्ने रहेछ नि हैन र दाजु ?
नारायण दाइ, तपाईंले ‘नाघ्न नसकिएको तोल्तोय युग’ निबन्धमा पोख्नुभएको यो विचारले तपाईंको निष्ठा र गतिविधिलाई जनाउँछ, तर त्यति धेरै निष्ठाका साथ लागेको त्यो विचार चाहिं कहाँ गयो हँ :
“म एक चोटि एउटा मात्र काम गर्न सक्ने मान्छे हँ । पार्टी सङ्गठनमा लागेको बेलामा मैले लेख्दै लेखिनँ । गाउँघरमा गएर सङ्गठन मात्र गरेँ ।” (पृष्ठ : २३४)
हुन त म पनि तपाईं जस्तै फुक्काफाल भएको छु यतिवेला । तपाईं राष्ट्रिय सभाको सदस्य छँदाताका म पनि त्यही पार्टीको झन्डा बोक्थें । त्यति मात्र नभएर सङ्गठित सदस्य पनि थिएँ । त्यसको नवीकरण नगरेको पनि एघार वर्ष पुगिसक्यो ।
यतिवेला मसँग कुनै पार्टीको सदस्यता छैन । यसो हुँदा फुक्काफाल भएको छु । यसरी फुक्काफाल हुनु कत्तिको प्रभावकारी कुरा हो ? मसँग यसको जवाफ भने छैन दाजु । त्यसैले सोध्दै छु म, “नारायण दाइ, तपाईंको वैचारिक अडान के भयो हँ ?” जवाफ जुन कुनै माध्यमबाट पाए पनि हुन्छ है । म यहाँको जवाफको प्रतीक्षामा छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ असार २०८३, सोमबार 









