कवि सुमन घिमिरेको पछिल्लो कविताकृति ‘सूनको टप’ भित्र विविध खालका भावहरूको उपस्थिति देख्न पाइन्छ । यसभित्रका कविताहरू घटीमा एक पृष्ठदेखि बढीमा चार पृष्ठको आयाममा फैलिएका छन् । यी कविताहरू सरल, सरस, सुललित र स्थानीयतालाई उठाउने खालका छन् ।
आमुख
नेपाली साहित्यमा रमाउनु चितवनका एक सफल युवा व्यवसायी सुमन घिमिरको रुचि बनिसक्यो । ‘सूनको टप’ तिनै युवा व्यवसायी तथा कवि सुमन घिमिरेको हालसालै प्रकाशित कविताकृति हो । यसअघि उनको ‘मेरो बैँसको क्यालेन्डर’ र ‘Cyclone of Fire’ जस्ता कविताकृति र ‘मौनता’ नामक उपन्यास प्रकाशित भइसकेका छन् । कविताबाट साहित्यिक यात्रा आरम्भ गरेका साहित्यकार तथा व्यवसायी घिमिरेले आफ्ना कवितामा विविध भावको उपयोग गरेको देखिन्छ । सामान्यतया आम पाठकका लागि कविता लेख्ने यिनका कविताले बौद्धिकभन्दा सामान्य पाठकको खोजी गरेको भान हुन्छ । यिनले आफ्ना कवितामा सरलताको उपयोग गर्न मन पराएको भान हुन्छ भने यिनका कविता त्यत्तिकै सुललित खालका पनि हुन्छन् । उनको पछिल्लो कृतिमा प्रयुक्त विविध भावमध्ये देशप्रेम निकै सशक्त भाव हो ।
‘सूनको टप’ – छोटो चर्चा
‘सूनको टप’ कवितासङ्ग्रहमा लामा, छोटा र मध्यम खालका कूल ४१ ओटा फुटकर कविता समेटिएको पाइन्छ । यसभित्र समेटिएका कवितामा विविध खालका भावहरूको उपस्थिति देख्न पाइन्छ । आयतनका हिसाबले घटीमा एक पृष्ठदेखि बढीमा चार पृष्ठको आयाममा फैलिएका यी कविताहरू सरल, सरस, सुललित र स्थानीयतालाई उठाउने खालका छन् । बहसका रूपमा पाश्चात्य जगत्बाट सुरु भएको कविता हार्दिक हुने कि बौद्धिक ? भन्ने कुराको अन्त्य नभई अझै पनि नेपाली साहित्यमा जारी रहेको छ । यस्तो परिस्थितिमा ‘सूनको टप’ ले भने हार्दिकतालाई रोजेको भान हुन्छ । यसमा समेटिएका कविताले राष्ट्रियता, आमा-बाबुप्रति कृतकज्ञता र सद्भाव, सन्तानप्रेम, समकालीन चेत, प्रकृति चित्रण, कोरोनाको कहर, कतै निराशा र कतै आशावादिता, मृत्युचिन्तन तथा दार्शनिक चेत पनि मुखरित गरेका छन् ।
‘सूनको टप’ मा राष्ट्रप्रेम
‘सूनको टप’ कवितासङ्ग्रहको उठान ‘आगाको भुमरी’ शीर्षकको कविताबाट भएको छ भने ‘सूनको टप’ शीर्षकको कवितामा पुगेर बैठान भएको पाइन्छ । ‘आगाको भुमरी’ शीर्षकको पहिलो कवितामा घर फर्कने क्रममा आफ्नै देशको सिमाना प्रवेश गरेर पनि आफन्तलाई भेट्न नपाई हवाइजहाज दुर्घटनामा ज्यान गुमाएकाहरूको दारुण चित्रण गरिएको छ । हेरौँ कवितांश –
लामो दूरी तय गरेर
आफ्ना आत्मीय जनहरूलाई भेट्ने
उत्कट रोमाञ्चमा अनुदित भइरहेका पलहरू
एक्कासि उठेको आगाले डढिरहेका थिए । (पृष्ठ – १०-११)
‘आगाको भुमरी’ कविता मूलतः दुर्घटनासँग सम्बन्धित भए पनि विदेशबाट स्वदेश फर्कने क्रममा देशकै एयरपोर्टमा ज्यान गुमाएकाहरूको व्यथा र देशमा पाइला टेकेर पनि स्वदेश र आफन्तसँग मिलन हुन नसकेको परिवेश चित्रित गरिएकाले यसमा देशप्रेमको नमुना भेटिन्छ ।
त्यस्तै उनको ‘बाको चिन्ता’ कवितामा विदेशमा बसेका बाले आफ्ना सन्तानलाई भन्दा नेपाल आमालाई बढी सम्झिएको र चिन्ता गर्ने गरेको कुरा यसरी कवितामा मुखरित गरिएको छ –
आमालाई छाडेर परदेश लागेको मान्छे
सधैँ परदेशमै बस्न कहाँ सक्छ र ?
म जसरी पनि आउँदै छु छोरा,
मलाई चिन्ता त्यो दुरवस्थासँग जुध्नुको होइन,
त्यो अवस्था खेपेर बसेकी मेरी आमाको हो,
नेपाल आमाको हो । (पृष्ठ – १७)
कवि घिमिरे आफ्नो ‘आमा र हिमाल’ कवितामा आमालाई हिमालसँग तुलना गर्छन् । जसरी हिमाललाई हिमाल भएर उभिन कठिन छ, त्यसरी नै आमालाई आमा भएर आफ्नो भूमिका निर्वाह गर्न कठिन हुन्छ भन्ने भाव यसरी अभिव्यक्त गर्छन् –
हिमाल हुनु भनेको
आमा जस्तै हुनु हो
आमा हुन निकै गाह्रो छ । (पृष्ठ – ६०-६१)
उनको ‘नयाँ धर्साहरूमा देश’ शीर्षकको कवितामा कविले देश भनेको सिमाना मात्र होइन, देशको पहिचानका लागि अरू कुरा पनि चाहिन्छ भन्ने भाव यसरी व्यक्त गरेका छन् –
नयाँ धर्साहरूमा देशले
स्वरूप त बदल्ने छ,
तर बदलिएको स्वरूपमा
सँगसँगै गुमाउने छ आत्मीयता । (पृष्ठ – ५६)
त्यस्तै उनको ‘अमा हम घर आ गैली’ शीर्षकको कवितामा सहरलाई सपना ठानेर गाउँ छाडेको छोराले बन्दाबन्दीमा सहरले बेवास्ता गरेपछि भोकै र पैदलै हिँडेर लामो समयपछि घर फर्केको र आमासँग अब कहिल्यै सहर नफर्कने कुरा गरेको छ । यो कवितामा गाउँ छाडेर सहर पसे पनि सहरले उसलाई बेवास्ता गरेपछि गाउँलाई नै अब आफ्नो गन्तव्य ठानेको कुरालाई यसरी देखाइएको छ –
अब उसको सपनाको सहर
गाउँ नै हुनेछ,
ऊ त्यहीँ मिहिनेत गरेर बस्ने छ । (पृष्ठ – ९६)
सङ्ग्रहको अन्तिम कविता ‘सूनको टप’ मा राष्ट्रवादी भावलाई अझ मिहिन ढङ्गले बुनिएको छ । यसमा कविले नेपालमा प्रचलनमा रहेको बुच्चे नक्साको प्रसङ्ग उठाउँदै केही समयअघि नेपाल सरकारले लागु गरेको चुच्चे नक्साको टुप्पालाई फोटोमा देखिने कानसँग तुलना गरेका छन् । एउटा छोराको हैसियतले आमाको कानमा सुनको टप लगाइदिने रहर लागेको कुरा गरेका छन् । उनले यस्तो भावलाई काव्यात्मक तबरले यसरी गरेका मुखरित गरेका छन् –
आमाको अहिलेको फोटोमा
देखिएजस्तै कान
आमाले हातले छाम्दा पनि भेटिने होस्
मलाई यसपालि
एउटै भए पनि
आमाको कानमा
सूनको टप लगाइदिने मन छ । (पृष्ठ – १११)
यसरी कवि सुमन घिमिरेको पछिल्लो कविता कृति ‘सूनको टप’ मा राष्ट्रवादी भावका विविध कविताहरू समेटिएका पुष्टि हुन्छ । उनी विविध भावमा कविता लेख्ने कवि भएर पनि राष्ट्रप्रेम उनको निकै प्रयोगमा आउने भाव हो ।
समापन
कवि सुमन घिमिरेको ‘सूनको टप’ कवितासङ्ग्रहका कुल ४१ ओटा कवितामा विविध भावका तरेली भेटिन्छ । उनी कवितामा पोखरी होइन, झरनाको चाहना राख्छन् । उनमा गाउँको माया असाध्यै छ । गाउँमा बोलिने भाषाले पनि उनलाई तानेको छ । उनको ‘अमा हम घर आ गैली’ शीर्षकको कवितामा चितवनको सौराह क्षेत्रमा बोलिने थारू भाषाका शब्दको मिठास पनि पाइन्छ । उनका कवितामा विविध भाव सामग्री बनेर आउने भए पनि राष्ट्रप्रेम उनको निकै प्रयोगमा आउने भाव हो । उनी जहाँ बसे पनि मुटुमा देश राखेर बस्छन् । उनको देशप्रेमलाई सलाम । उनको लेखनीलाई साधुवाद । ‘सूनको टप’ को सफलताको कामना । आगामी कृति अझ सशक्त बनोस् । अस्तु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।