पछिल्लो केही दिनदेखि आनन्दको स्वास्थ्य ठीक थिएन । ऊ सुतिरहेको थियो । भुमिकाले उसलाई उठाउनु उचित ठानिन… आफ्नो लागि मात्र चिया बनाएर बाहिर बार्दलीमा अखबार पढ्दै चिया पिउन थालिन् । उनको ध्यान एउटा समाचारमा तानियो… घरेलु कामदारले वृद्ध दम्पतीको हत्या… प्रहरीले पक्राउ गरी हत्याको अनुसन्धान गरिरहेको छ ।

‘ओहो ! मान्छे कति तल खस्छन्…!’ यसो भन्दै बाह्र वर्ष पुरानो घटनाले उनको मनमा अशान्ति पैदा गर्न थाल्यो … ।

०० ०० ०० ००

“आन्टी, फिल्म हेर्न जाने हो ?” सुमित्राले भित्र पस्दै सोधिन् ।

“फिल्म…।”

“हो आन्टी, ‘प्रेमपिण्ड’ विश्वज्योती हलमा लागेको छ…।”

“तिमीहरू दुई जना जाओ, म बुढी मान्छे, तिमीहरू सँग कहाँ जान सक्छु…?” यति भनिरहँदा एक्कासि भुमिकाको आँखामा त्यो दिनको सम्झना आयो, जुन दिन आनन्दले हुन्न भन्दा पनि बुहारी र छोरा फिल्म हेर्न गएको देखेर ऊनी पनि जान खोजिरहेकी थिइन् ।

आमाको जिद्दी देखेर बुहारी केही बोलिनन् तर छोरा अनुजले भन्यो, “आमा ! कहाँ जाने ? मेरो साथीको परिवार पनि हामीसँगै जाँदैछन्, त्यहाँबाट हामी सबै खाना बाहिर खाएर मात्र फर्कन्छौं ।”

अनुजले साथमा लैजान नमान्दा ऊनी रिसाएकी थिइन् । तर आनन्दको डरले केही बोल्न सकिनन् । किनभने उनलाई अनावश्यक झगडा पटक्कै मन पर्दैनथ्यो । ऊनीहरू गइसके पछि आनन्द रिसाएको थियो, पछि शान्त हुँदै भन्यो, “भुमिका, तिम्रो गल्ती हो, ऊनीहरू अहिले ठूला भइसकेका छन्, ऊनीहरूको आफ्नै जीवन छ, किन सधैं बच्चाजस्तै ऊनीहरूको जीवनमा अनावश्यक हस्तक्षेप गरिरहन्छौ । अब सधैं तिमीले चाहे जस्तो हुँदैन । फिल्म हेर्नै पर्‍यो भने हामी दुवै जना गएर कुनै दिन हेरौंला ।”

आनन्दको कुरा सुनेर चुपचाप भइन्… आनन्द सँग यस कुरामा बहस गर्नुको कुनै फाइदा थिएन, तर साथीको लागि आफूलाई वास्ता नगर्दाको पीडाले सताइरहेको थियो । शान्त मनले सोच्दै जाँदा पछि बुझिन्, आनन्दले ठिकै भनेको हो…। हिजोसम्म औंला समातेर हिंड्ने बच्चाहरू अहिले साँच्चै ठूला भइसकेका रहेछन्…।  थाहा भएन ऊनी किन बच्चाहरू जस्तै जिद्दी बनिरहेकी छन् । ससुराले प्रायः भन्नुहुन्थ्यो, केटाकेटी र बुढापाका उस्तै उस्तै हुन्छन्  । त्यति बेला यो भनाइलाई ठट्टामा लिइयो तर अहिले ऊनी आफैले जानीजानी वा नजानी त्यस्तै व्यवहार गर्न थालेकी छन्…। आखिर के आवश्यकता थियो ? ऊनीहरूसँग चलचित्र हेर्न । ऊनीहरूले सँगै जाऔं पनि भनेका थिएनन् ।

यो त्यही छोरा अनुज थियो, जसले बाल्यकालमा केही किन्न वा फिल्म हेर्न जानु पर्दा सिधै बुबालाई आफूले भन्नुको साटो आमाको सिफारिस लिने गर्दथ्यो । समयसँगै सबै कुरा परिवर्तन हुँदो रहेछ । अब उसलाई ऊनीहरूको साथ पनि मन छाडेको थियो । किनभने उसको नजरमा ऊनीहरू रूढीवादी, पुरानो जमानाको भए । समय सँगै पक्कै पनि परिवर्तन आएको छ तर पनि उनले सधै समय सँगै हिंड्ने कोशिश गरेका छन् तर अहिले ऊनीहरूको बानी देखेर कतै जान मन लाग्दैन । बाल्यकालमा सन्तानको लागि आमाभन्दा प्यारो कोही हुँदैन । त्यही आमा बुढेसकालमा ऊनीहरूका लागि बोझ बनेकी छिन् ।

“आन्टी, तपाईं के सोच्दै हुनुहुन्छ …? यो प्रेमपिण्ड डायमन शम्शेरको उपन्यासमा आधारित राम्रो चलचित्र हो । तपाईंलाई पक्कै मन पर्नेछ ।” सुमित्राले जोड दिँदै भनिन् ।

सुमित्राको स्वर सुनेर भुमिका विगतबाट वर्तमानमा फर्किइन्..डायमन शम्शेर उनको मन पर्ने लेखक हुन् । उनले प्रेमपिण्ड उपन्यास पढिसकेकी छिन्, तर पनि सुमित्राको आग्रहमा उनले त्यो फिल्म हेर्ने चाहनालाई थाम्न सकिनन् र आग्रहलाई स्वीकार गरिन् । उनको स्वीकृति पाएपछि सुमित्राले तयार हुन भन्दै आफू पनि तयार हुन गइन् ।

आनन्द साथीकी छोरीको बिहेमा गएका थिए । आनन्द पनि साथमा भए रमाइलो हुने थियो ।

आनन्द घरमा नहुँदा एक्लै बस्दा टिभीमा सिरियल हेरेर समय बिताउँथिन् । अब यो उमेरमा समय बिताउन के गर्ने ? नचाहेर पनि टिभी हेर्नु बाध्यता बनेको छ । आत्मकेन्द्रित बन्दै गएको यो संसारमा कसैको लागि समय छैन । त्यसै पनि आजकल छोराछोरीले आमाबुवाको वास्ता गर्दैनन् भने अरूबाट के आशा गर्ने ? यस्तो मनस्थितिमा बाँचिरहेकी भुमिकालाई सुमित्राको आग्रहले राहत मिल्यो, त्यसैले केही बेर नाइँनास्ती गरेपछि उनले अनुरोध स्वीकार गरेकी थिइन् । तयार हुँदाहुँदै अनायासै उनको मनमा एकाएक विगतका सम्झनाहरू घुम्न थाल्यो ।

चार सन्तान भए पनि अहिले दुवै जना एक्लो जीवन बिताइरहेका छन् । छोरा गोपाल र छोरी रंजना क्यानडा र अमेरिकामा छन् भने दुईजना अनुज र शुषमा काठमाडौं र पोखरामा छन् । ऊनीहरू दुई पटक विदेश गएर गोपाल र रञ्जनासँग बसे तर त्यहाँको दौडधुप जीवन ऊनीहरूलाई मन परेन । विदेशको के कुरा, अहिले काठमाडौं जस्ता महानगरको अवस्था पनि उस्तै छ, यहाँ पनि दिनभर एक्लै बस्नु परेको छ । आजकल श्रीमान् र श्रीमती दुवैले नकमाए जीवन धान्न मुश्किल छ ।

कुनै समय थियो जब मानिसले आफ्नो सम्पूर्ण जीवन बच्चाहरूको लागि समर्पण गर्थे, तर आजकल युवाहरूका लागि करियर सबैभन्दा महत्त्वपूर्ण हुन पुगेको छ । आमाबुबाको त कुरा छाडौं, कहिलेकाहीँ लाग्छ आजको पुस्ताले आफ्ना सन्तानलाई समेत समय दिन सक्दैनन् । ऊनीहरू पैसाले सारा संसार किनेर दिन चाहन्छन् तर सँगै बसेर मायाको मीठो दुई शब्द बोल्ने समय छैन ।

छोराछोरी सँग बस्न मन नलागेपछि ऊनीहरू वीरगन्ज स्थित आफ्नै घरमा फर्किए । आनन्दले यो घर बनाउन ऋण लिएका बेला भुमिकाले किन पैसा खेर फाल्दैछौ, बुढेसकालमा छोराछोरीले हामीलाई एक्लै बस्न दिंदैनन् भन्दै विरोध गरेकी थिइन् । ऊनीहरूको चार सन्तान तर विगत चार वर्षसम्म यताउता भौंतारिएपछि ऊनीहरूले अन्ततः एक्लै बस्ने निर्णय गरे । भाडामा दिएको घर खाली गरी बस्न योग्य बनाइयो । कुनै बेला भुमिका अनिच्छुक भएर बनेको घर एक्कासि राम्रो लाग्न थाल्यो ।

एक्लोपनको त्रासबाट छुटकारा पाउन तीन महिनाअघि घरको एउटा भाग भाडामा दिएका थिए । सुमित्रा र नरेश देख्दा राम्रो लाग्यो, ऊनीहरूको एउटा सानो बच्चा पनि थियो । यो शहरमा नयाँ आएका थिए । नरेश निजी कम्पनीमा काम गर्छ, तिनीहरूलाई घर चाहिएको थियो र ऊनीहरूलाई पनि असल मान्छे चाहिएको थियो, त्यसैले तिनीहरूलाई भाडामा राखे ।

नरेश र सुमित्रा आएको एक साता पनि बितेको थिएन । एक दिन सुमित्रा आएर भनिन्, “आन्टी, यदि तपाईंलाई झ्याउ लाग्दैन भने छोरोलाई तपाईं सँग छोड्छु, मलाई केही जरूरी काममा बाहिर जानु छ, छिट्टै आउँछु ।”

उसको आग्रहयुक्त स्वर सुनेर, किन हो कुन्नि अस्वीकार गर्न सकिनन् । बच्चासँग दुई घण्टा बितेको पत्तै भएन । यस बीचमा ऊ न रोयो न कुनै दुःख दियो । उनले आफ्नो नातिले छोडेका खेलौनाहरू उसको अगाडि राखिदिएकी थिइन् । ऊ खेलौनासँग खेलिरह्यो । ऊसँग खेल्दै र कुरा गर्दैगर्दा आफ्नो नाति रोहितको याद आयो… त्यस दिनपछि दिनचर्या नै बन्यो, ऊ नआएको दिन आफै गएर बोलाउने गर्थिन् । बच्चाले हजुरआमा भनेर बोलाउँदा … मन भावुक हुन्थ्यो ।

बिस्तारै सुमित्रा पनि ऊनीसँग सहज हुन थालिन् । जहिले पनि केही मीठो पाक्दा दिन आउँथिन् । एक दिन उनले आफ्नो खुट्टामा औषधि लगाएको देखेर , सुमित्राले औषधि मात्रै लगाइनन् यसलाई दैनिक दिनचर्या पनि बनाइन् । कहिलेकाहीं टाउकोमा मालिस पनि गरिदिने गर्थिन् । कहिलेकाहीँ उनलाई लाग्थ्यो यस्तो माया त आफ्नै छोराबुहारी बाट पनि कहिल्यै महसुस भएन । कहिलेकाहीँ ऊनीहरू नजिक आए पनि कति सम्पत्ति छ र कति पाउँछौं भनी थाहा पाउनका लागि मात्र आउँथे ।

नरेश पनि अफिसबाट आएर सधैं हालखबर सोध्ने गर्दथ्यो… बिजुली, पानी र टेलिफोनको बिल उसैले तिर्ने गर्दथ्यो । बजार जाँदा पनि ऊनीहरूले प्रायः केही ल्याइदिनु पर्छ भनेर सोध्न आउँथे । ऊनीहरूको यस घरको बसाईंबाट धेरै समस्या समाधान भएका थिए । कहिलेकाहीँ ऊनीहरूलाई लाग्थ्यो, बुढ्यौलीमा छोराछोरीको सुख नपाए पनि भगवान् यो ऊनीहरूको हेरचाहको लागी भगवानले पठाउनु भएको हो ।

आनन्दले उनलाई धेरै पटक सचेत गराएका थिए कि कसैलाई यति धेरै विश्वास गर्नु ठीक होइन । तर भुमिकाले ‘म मान्छे चिन्छु…राम्रो परिवारबाट आएका हुन्, राम्रो संस्कार छ, अन्यथा आजको जमानामा कसैले कसैको यति ख्याल गर्दैनन् ।’ भनेर आनन्दलाई चुप गराएकी थिइन् ।

“आन्टी, तपाईं तयार हुनुभयो, नरेशले अटो ल्याएको छ…।”

सुमित्राको स्वरले भुमिकालाई सोचको भुमरीबाट बाहिर ल्यायो… आजकल के भयो थाहा छैन, उठ्दा, बस्दा, खाँदा, पिउँदै गर्दा नचाहिने विचारले सताउन थालेको छ ।

“म आइहालें…।” भन्दै केही पैसा पर्समा राखिन् ।

भुमिकाले फिल्मको टिकटको पैसा लिन अनुरोध गरिन्… फिल्म राम्रो लागिरहेको थियो । ऊनी कथाका पात्रहरूमा यति मग्न भइन् कि उनले समय बितेको थाहा नै भएन । मध्यान्तर हुँदा उनको एकाग्रता बिग्रियो । मध्यान्तर हुने बित्तिकै नरेश उठेर बाहिर गयो र केही समयपछि केही खानेकुरा लिएर फर्कियो । सुमित्रा र उनलाई खानेकुरा दिएर केही पैसा लिनु बाँकी छ, भन्दै बाहिर निस्कियो ।

फिल्म सुरु नै भएको थिएन बच्चा रुन थाल्यो…। “आन्टी ! म यसलाई चुप गराएर तुरुन्तै आउँछु ।” यति भन्दै सुमित्रा पनि बाहिर गइन् । आधा घण्टा बित्यो तर दुई जना मध्ये कोही पनि नफर्केको देखेर मन सशंकित हुन थाल्यो… केही बेर पछि फर्केर ढोकामा हेर्छिन्, अनि सोच्छिन् सायद बच्चाले दुख दिइराखेको होला, त्यसैले दुवै जना बाहिर हुनुपर्छ ।

वास्तवमा, साना केटाकेटीहरूसँग फिल्म हेर्न कत्ति गाह्रो हुन्छ भन्ने कुरा उनलाई थाहा छ … आफ्नै बच्चाहरू साना हुँदा, फिल्म हेर्न आउँदा टफी र बिस्कुट दिएर पनि कहिलेकाहीं दुई मध्ये एक बच्चाहरूसँगै बाहिर उभिनु पर्थ्यो ।  केही वर्ष त ऊनीहरूले हलमा गएर फिल्म हेर्न छाडे । यही सोचेर भुमिकाले अनावश्यक बिचारलाई पन्छाएर फिल्ममा ध्यान केन्द्रित गर्ने प्रयास गरिन्… ऊनी फेरि कथाका पात्रहरूमा हराइन्… अन्त्य खुसी भए पनि आँखा आँसुले भरिए ।

फिल्म सकिएपछि उनले यता उता हेर्न थालिन् । यति बेला सम्म पनि नरेश र सुमित्रालाई नदेखेपछि ऊनी केही डराएकी थिइन् । लामो समय भयो ऊनी घरबाट एक्लै निस्केकी थिइनन्, त्यसैले आज ऊनी झन् डराएको महसुस गरिरहेकी थिइन् । एक्लै छोडेर ऊनीहरू  कहाँ हराए ? बुझ्नै सकिनन् । यदि बच्चालाई फकाउन सकिएको थिएन भने, कम्तीमा एकजना  उनको साथमा आएको हुनुपर्थ्यो । बिस्तारै हल खाली हुन थाल्यो तर दुवैको अत्तोपत्तो थिएन । मनमा अनेक कुरा खेलाउँदै ऊनी बाहिर निस्किन् । हलबाट बाहिर निस्केर अपरिचित अनुहारहरू माझ ऊनीहरूलाई खोज्ने प्रयास गरिन् …बिस्तारै सबै जना जान थाले । अन्ततः एक छेउमा उभिएर सोच्न थालिन् अब के गर्ने ? ऊनीहरूलाई पर्खने हो वा ट्याक्सी लिएर घर जाऊँ … ।

“आमा, यहाँ कसलाई पर्खिरहनु भएको छ…?” उनलाई यसरी एक्लै उभिरहेको देखेर फिल्म हलको सुरक्षा गार्डले सोध्यो ।

“बाबु, म जसको साथमा आएको थिएँ ऊनीहरूलाई भेट्न सकिनँ ।”

“तपाईंको छोरा बुहारी थिए…?”

“हो…।” अरू केही बोलेर कुरालाई बढाउन चाहिनन् ।

“आजकाल सबै जना यस्तै छन्, कसैलाई आफ्नो बुढा आमाबुवाको चिन्ता छैन ।” फत्फताउँदै सुरक्षा गार्डले भन्यो ।

ऊनी सँग कुनै जवाफ थिएन, अरू कुनै उपाय देखिनन्… गार्डको सहानुभूति पाएपछि उनले हिम्मत जुटाएर भनिन्, “बाबु, मलाई एउटा सहयोग गर्न सक्छौ ?”

“भन्नुस् आमा …।”

“मलाई एउटा ट्याक्सी खोजिदेऊ न… ।”

उसले भुमिकाको हात समातेर बाटो काटेर एउटा ट्याक्सीमा बसाइदियो । घर पुगेपछि ट्याक्सीबाट ओर्लिएर ढोकाको ताल्चा खोल्न खोज्दा ढोका खुल्ला देखेर स्तब्ध भइन् । ऊनी हतार हतार भित्र पसेर हेर्दा दराज खोलिएको थियो र सबै सामान जताततै छरिएको देखिन् । लाखौंको गरगहना र नगद हरायो… ठूलो स्वरले रुन मन लागेको थियो तर रोएर पनि के गर्ने ?

केही समय पहिले नरेश र सुमित्राको बारेमा सोचेर चिन्तित थिइन् तर अहिले यो नयाँ समस्याले गर्दा के गर्ने भन्ने बुझ्नै सकिनन् । त्यसपछि बच्चाकै कारणले गर्दा नरेश र सुमित्रा फिल्म अधुरो छाडेर घर आएको हुनसक्छ भन्ने सोच्दै उनले बोलाइन् । कुनै जवाफ नआएपछि ऊनीहरूको कोठा तिर गइन् । तर त्यहाँ ऊनीहरूको कुनै  सामान नभेट्दा स्तब्ध भइन्, कोठा खाली थियो, उनले दिएको पलङ, एउटा टेबल र दुइटा कुर्सी मात्र थियो । किचनमा त खासै सामान थिएन … कपडा बाहेक, ऊनीहरूको एउटा कुकर, एउटा प्यान र भाँडाको नाममा दुई वटा थाल र गिलास मात्र थियो । पोलिथिन झोलामा दाल चामल राखेको देखेर उनले सोध्दा सुमित्राले असहज मान्दै भनेकी थिइन्, “आन्टी, उहाँको नयाँ जागिर हो… धेरै किन्न सकिएको छैन, त्यसैले अहिले यसरी काम चलाइरहेको छु ।”

आफ्नो मूर्खताले गर्दा ऊनी पछुताउन थालिन् । सुमित्रालाई नगद र गहनाको बारेमा सबै थाहा थियो । त्यसैले यो षड्यन्त्र रचेको हुन सक्छ । विश्वास नलागे पनि, सबै प्रमाणहरूले ऊनीहरू तिरै औंल्याइरहेको थियो । ऊनलाई सामान चोरिएको भन्दा पनि बढी पीडा त के थियो भने जसलाई यति विश्वास गरियो उसैले उनको पिठ्यूँमा छुरा हान्यो । गल्ती ऊनीहरूको होइन आफ्नै थियो किनभने आनन्दले बारम्बार सजग गराउँदा पनि ऊनीहरूको मिठा शब्दमा फसिन् ।

अब पूरै तस्बिर प्रस्ट देखियो… फिल्म हेर्न जिद्दी गर्ने, बीचमा उठेर निस्किनु… सबै कुरा उनको अगाडि फिल्म जस्तै घुमिरहेको थियो । कस्तो चतुर ठग थिए ऊनीहरू… कसैलाई कुनै शंका नहोस् भनेर स्पष्ट योजना बनाए रहेछन् । उनलाई चलचित्र हेर्न लैजानु पनि त्यही योजनाको एउटा पाटो थियो, आनन्द घरमा छैन भन्ने थाहा थियो । जाडोको समय सबै जना घर भित्रै भएकोले छरछिमेकी कसैले पनि थाहा पाउन सकेनन् । ऊनीहरूले आफ्नो काम आरामसँग गर्न सके र भाग्ने समय पनि पाए । कहीं कतै कुनै गल्ती गरेका छैनन, न कुनै अप्ठ्यारो र डर…। अचम्मको कुरा त के थियो भने आफूले मान्छे चिन्न सक्छु भनेर दाबी गर्ने भुमिकाले यति लामो समयसम्म सँगै बस्दा पनि किन केही शंका गर्न सकिनन् ?

संयमित हुँदै आनन्दलाई फोन गरिन्… घटनाको जानकारी दिँदै ऊनी रुन थालिन् । ऊनलाई रोएको देखेर सान्त्वना दिंदै छिमेकी सिलवालको घरमा गएर सहयोग माग्न भने ।

आत्तिंदै ऊनी छेउमा बस्ने संगिता सिवाकोटी कहाँ गइन्… संगिता सिलवाललाई सबै अवस्थाको बारेमा जानकारी गराएपछि, उनले भनिन्, “केही आवाजहरू त आइरहेको थियो तर मलाई लाग्यो तपाईंको घरमा केही काम भइरहेको होला … त्यसैले ध्यान दिइन ।”

“भाउजू…  अब जे हुनु थियो भइसकेको छ, आत्तिनुको कुनै फाइदा छैन । चोरिएको सामान नभेटिए पनि प्रयास गर्दा केही फरक पर्दैन, प्रहरीलाई रिपोर्ट गरौं ।” सबै कुरा सुनेर सिलवालले भने ।

सिलवालको भनाइमा दुःख व्यक्त थियो वा व्यंग्य थियो थाहा भएन तर उनले सत्य भनेको हो भन्ने सोचिन्, अब यस्तो बेला विभिन्न मानिसबाट दश थरि फरक-फरक कुरा सुन्नुपर्छ… उनको साथमा प्रहरीमा गएर चोरीको रिपोर्ट लेखियो ।

भुमिकाको भनाइ सुनेपछि प्रहरी इन्स्पेक्टरले भने, “हामीले  पनि लामो समयदेखि त्यस्ता जोडीको खोजी गरिरहेका थियौँ । केही दिन अगाडि हामीले पत्रपत्रिकामा सूचना प्रकाशित गरी नागरिकलाई सचेत हुन आग्रह गरेका थियौं तर सायद तपाईंले ध्यान दिनुभएन । ऊनीहरूले धेरै ठाउँमा यस्ता अपराध गरेको छ तर ऊनीहरूको बारेमा कसैको विवरणसँग मेल खाँदैन । शायद ऊनीहरू विभिन्न ठाउँमा, फरक भेषमा, फरक–फरक नाममा बस्छन् । ऊनीहरूले धेरै भाषाहरू बोल्न पनि जानेको जस्तो छ, ऊनीहरूको बारेमा विवरण दिन सक्नुहुन्छ ? ऊनीहरू तपाईंको घरमा कहिले देखि बसेको हुन ?”

आफूले थाहा पाएको सबै जानकारी भुमिकाले प्रहरीलाई दिइन्…। नरेशले काम भन्ने गरेको अफिसमा प्रहरीले सोधपुछ गर्दा उक्त नामको कोही पनि नरहेको थाहा पाए । जानकारीका आधारमा सबै प्रहरी कार्यालयमा सूचना पठाइयो । प्रहरीले घरमा आएर पनि निरीक्षण गर्‍यो तर कुनै सुराग फेला पार्न सकेन, औंठाछाप समेत कतै भेटिएन ।

“हामीले खोजिरहेको जोडी यो नै हो जस्तो देखिन्छ । हामीले धेरै पटक नागरिकहरूलाई नोकर र भाडामा लिने क्रममा अत्यन्त सावधानी अपनाउन आग्रह गर्छौं । ऊनीहरूको बारेमा पूरा जानकारी छ … तर तपाईंहरूले बुझ्नुहुन्न, घटना भएपछि मात्र आउनुहुन्छ ।” इन्स्पेक्टरले केही क्रोधित स्वरमा भन्यो ।

“इन्स्पेक्टर साहब, हाम्रो सामान त भेटिन्छ होला नि ।” इन्स्पेक्टरको कुरालाई बेवास्ता गर्दै भुमिकाले सोधिन् ।

“आमा, हामी प्रयास गर्दैछौं, अरू ईश्वरको इच्छा … तर घरमा यति धेरै नगद र गहना राख्नु के आवश्यकता थियो ? ऊनीहरू तपाईंको घरमा भाडामा बसेको भन्ने कुनै प्रमाण छ…।”

“हामीसँग यसको कुनै प्रमाण छैन…।”

“यही त गल्ती गर्नुहुन्छ तपाईंहर … तपाईंले सम्झौता नगरी भाडामा राख्नुभयो, सम्झौता भएको भए सबै कुरा त्यसमा अभिलेख हुन्थ्यो । अब कसैको अनुहारमा लेखिएको हुँदैन सज्जन हो कि बदमाश भनेर । धन्न तपाईं सुरक्षित हुनुहुन्छ, नत्र यस्ता मानिसहरूले आफ्नो उद्देश्यको लागि कसैको ज्यान लिनु पर्‍यो भने पनि पछि हट्दैनन्…।” उनलाई चुप लागेको देखेर इन्स्पेक्टरले भन्यो ।

इन्स्पेक्टरको यथार्थ कुरा सुनेर पनि ऊनी चुपचाप बसिन्, वास्तवमा परिस्थितिले कहिलेकाहीँ मान्छेलाई मूर्ख बनाइदिंदो रहेछ । ऊनी मन गह्रौं बनाएर घर फर्किइन् ।

आनन्द पनि आयो… उसलाई देखेर रुन थालिन् । रोएको देखेर आनन्दले उनलाई भने, “मैले अरूलाई धेरै विश्वास नगर्नु भन्दा तिमी मानेनौं ।”

धेरै दिन बित्यो तर केही पत्तो लागेन । कहिलेकाहीं भुमिकालाई विश्वास नै लाग्दैन, कि यति धेरै दिनसम्म झुटा र धोखेबाज मान्छेहरू सँग कसरी बसेकी थिई । ऊनीहरू ठग भएकोले होला अफिसमा केही समस्या परेकोले तलब नपाएको भन्दै विगत चार महिनादेखि भाडा तिरेका थिएनन् । मान्छे राम्रा छन्, पैसा कहाँ जान्छ, पाइन्छ भन्ने सोचेर ऊनले पनि केही भनिनन्…वास्तवमा ऊनीहरूको स्वभाव हेर्दा नियत राम्रो छैन भन्ने कहिल्यै लागेन ।

किन हो कुन्नि सबै कुरा थाहा पाएर पनि भुमिकाले अझै पत्याउन सकेकी थिइनन् कि संसारमा ऊनीहरू जस्ता दुइटा मुहार भएका र शालीनताको मुकुण्डो लगाएको मान्छे पनि हुँदो रहेछ । ऊनीहरूको व्यवहार कति विनम्र र नम्र थियो ? नरेशमा पनि सुमित्राको जस्तो सेवाभाव थियो । जब कहिलेकाहीं छोरा र बुहारीको तुलना ऊनीहरू सँग गर्दा मन अनौठो हुन्थ्यो । उनको पालनपोषणमा के कमी थियो भन्ने कुरा बुझ्नै सकिनन् । छोराछोरीले ऊनीहरूलाई पूरै बिर्सिसकेका थिए…। यी अपरिचितहरूले त्यस्तो माया देखाए जुन माया र सम्मान ऊनीहरूले छोराछोरीबाट चाहेका थिए । के कसैले कसैको यति धेरै हेरचाह वा सेवा गरेको नाटक गर्न सक्छ ? यो धर्तीमा अझै पनि आफ्नो आमाबुबालाई जस्तै अरूको हेरचाह गर्न सक्ने मान्छेहरू छन् भन्ने सोचेर ऊनी खुसी थिइन्, तर यस्ता कोमल अनुहारमा पनि यस्तो घृणित रूप देखिन सक्छ… कहिल्यै  पनि मनमा आएको थिएन । सायद यस्ता मानिसको स्वभाव देखेर ‘मुखमा राम राम र बगलीमा छुरा’ भन्ने भनाइ बनाइएको होला । अचम्मको कुरा त यो थियो कि यति लामो समय सँगै बस्दा पनि ऊनीहरू माथि कहिल्यै शंका भएन ।

उनले छुट्टाछुट्टै बसोबास गर्ने बुढापाकाहरू लुटिएको मारिएको जस्ता घटना पत्रपत्रिका र टिभीमा पढेको र सुनेका थिइन तर आफूलाई नै यस्तो घटना होला भनेर सोचेको थिइनन् । असुरक्षाको अनुभूतिले अपरिचितहरू माझ आफ्ना प्रियजन खोज्दै गर्दा ऊनीजस्ता बृद्धबृद्धाहरूलाई मूर्ख बनाउन कति सजिलो हुँदोरहेछ भनेर बुझिन् ।

कसैको भावना सँग खेल्न, ऊनीहरूको संवेदनशीलता र असल नियतको फाइदा उठाउन, आफ्नो आकांक्षा पूरा गर्न मानिसहरु यो स्तर सम्म खस्दा रहेछन् । अलिकति पनि लाज नलाग्दो रहेछ ! आखिर, ऊनीहरू जस्ता वृद्धहरू कहाँ जाने ? कसैलाई आफ्नो ठान्नु वा ऊनीहरूलाई सहयोग गर्नु अनुचित हो र ?

कसैको भावना सँग  खेलबाड गर्ने यस्ता मानिसले किन सोच्दैनन्, एक दिन ऊनीहरूलाई पनि बुढ्यौली आउँछ ? त्यसै पनि ऊनीहरूको यो खेल आखिर कहिले सम्म चल्छ र ? झूट र छलबाट आर्जित सम्पत्तिमा शान्तिपूर्वक बाँच्न सक्छन् ? आफ्ना सन्ततिलाई कस्तो संस्कार दिनेछन् ?

०० ०० ०० ००

घण्टीको आवाजले भुमिकाको एकाग्रता भङ्ग भयो । यति बेला शायद काम गर्ने महिला आएको हुनुपर्छ । ढोका खोलेर ऊनी आनन्द सुतिरहेको कोठामा गइन् । अब उसलाई ब्युँझाइदिनु पर्छ भन्ने सोचेर चिया बनाउन थालिन् । तर मनमा चलिरहेको आँधीले ऊ भित्र शान्ति थिएन… मनमा एउटै प्रश्न बारम्बार घुमिरह्यो… मान्छेले आखिर कसलाई विश्वास गर्ने ? जसलाई आफ्नो ठानिन्छ, उसैले पिठ्यूँमा छुरा हान्यो, विश्वासमा धोका दियो भने के गर्न सकिन्छ र ?