
एकदिन बिहानै एक जोडी गौँथली गोपालको झ्यालको डण्डीमा आएर बस्यो । उनीहरुले भित्र हेरे । कोठा राम्रो र रमाइलो थियो । गुँड बनाउन सुहाउँदो थियो । ‘हामी यही कोठामा गुँड बनाऔं’ भालेले चिरचिर–चिरबिर गर्दै भन्यो । पोथीले उसको कुरा मानी
अनि दुवै भुर्र उडेर गए । घरअगाडि बारीमा गिलो माटो थियो । उनीहरुले गिलो माटो चुच्चाले कोतरे । चुच्चामा गिलो माटो लिएर कोठामा आए । उनीहरु दुइटा दलिनका बीचमा गुँड बनाउन थाले ।
केही दिनमा गुँड तयार भयो । गौंथलीका भालेपोथी झ्यालको डण्डीमा बसेर गुँडलाई हेर्न थाले । उनीहरु खूब रमाएर गाउन थाले । चिरबिर–चिरबिर–चिरचिरिक ।

उनीहरु उडेर बारीमा गए । बारीमा कीरा फट्याङ्गा खोजेर खाए । अनि बिजुलीको तारमा गएर बसे । त्यहाँ अरु पनि दुई जोडी गौंथली थिए । उनीहरु आफूमा कुराकानी गर्न थाले ।
केही दिनपछि पोथी गौंथलीले फुल पारी । उसले फुलबाट बच्चा कोरली । पोथी गुँडमा बसेर बच्चा स्याहार्न थाली । भाले झ्यालको डण्डीमा बसेर रमाइलोसँग गाउन थाल्यो ।

दुवै भाले–पोथी बारीमा जान्थे । चुच्चामा कीरा–फड्याङ्ग्रा लिएर गुँडमा फर्कन्थे । बच्चाहरु आँ.. गर्दै गुँडको मुखमा आउँथे । माऊ गौंथली उनीहरुका मुखमा पालैसित चारो हाल्थी
कुनै बेला पोथी गौंथली गुँडमै बस्थी । चाले चारो खोजेर ल्याउँथ्यो । पोथी र बचेरा दुबैलाई ख्वाउँन्थ्यो ।

बचेराहरु हुर्के । एकदिन बिहान उनीहरु आमासँग उडेर गए । उनीहरु तारमा गएर बसे र आमासँगै गाउन थाले । उनीहरु खुला संसारमा थिए । रुखमा धेरै थरी चराहरु थिए । आकाशमा चीलहरु कावा खाइरहेका थिए ।
हिउँद लाग्यो । रुखका पातहरु झर्न थाले । बिहान कुइरो लाग्न थाल्यो । जाडाले चराहरु कठाङ्ग्रिएका देखिन थाले । अब गौंथलीको परदेश जाने बेला भयो । भाले–पोथीले गुँडमा बसेर सल्लाह गरे – ‘अब त तराईतिर झर्नुपर्छ ।’
‘हो, झर्नुपर्छ !’ पोथीले सही थापी ।

एकदिन बिहान झ्यालको डन्डीमा भङेराका भालेपोथी आएर बसे । उनीहरुले च्यार्रच्यार्र गर्दै गौंथलीलाई बोलाए । गौंथलीका भाले–पोथी गुँडको मुखमा आए ।
‘किन ? के भन्न आएका ?’ – भाले गौंथलीले सोध्यो । भङेराले च्यार्रच्यार्र स्वरमा भन्यो – ‘गुँड खोज्न आएका । तिमीहरुको त अब तराई झर्ने बेला भयो होइन ?’
‘हो !’ – भाले गौंथलीले भन्यो ।
‘त के त ?’ – पोथी गौंथलीले सोधी ।
‘तिम्रो गुँड खाली हुन्छ, त्यो हामीलाई देऊ । हाम्रो गुँड छैन । बनाउने झन्झट किन गर्नु ?’ – नङ्ग्राले कपाल कनाउँदै भङेराले भन्यो ।
‘हुन त हुन्छ, तर हामी फर्केपछि छाडिदिनुपर्छ नि !’ – भाले गौंथलीले भन्यो ।
‘अनि सफासुघर राख्नुपर्छ । बिगार्न पाइन्न ।’ पोथी गौंथलीले कुरा थपी ।

भङेरा र गौंथलीका कुरा मिले । भोलिपल्ट बिहानै गौंथलीका भाले–पोथी गुँड छोडेर हिँडे । बच्चाहरु पनि माउकै साथमा गए । उनीहरु पहाड र जङ्गल नाघ्दै तराई झरे ।
त्यसै दिन बेलुकी भङेराका भाले–पोथी गौंथलीका गुँडमा आएर बसे । अल्छी भङेरालाई नयाँ गुँड बनाउने झन्झट परेन । उसले पोथीसँग रमाउँदै भन्यो – ‘यस्तो मजाको बनिबनाउ गुँडमा बस्न छोडेर को घर बनाउने झ्याउलो गरोस् !’
‘हुन त हो, तर घरपट्टी आएपछि त छाड्नै पर्छ ।’ – भङेरीले भनी ।
‘देखाजाला । त्यतिबेलासम्म अर्कै कुरा हुन्छ ।’ – भङेराले भन्यो ।

भङेराका भाले–पोथी बिहानै उठेर डन्डीमा बस्थे । उनीहरु त्यहाँ खुब रमाएर गाउँथे –चिर चिर–चिर्र–च्यार्र ।
उनीहरु बारीमा जान्थे । त्यहाँ कीरा–फट्याङ्ग्रा खोजेर खान्थे । कहिले उनीहरु घरमा सुकाएका अन्नबाली पनि चर्थे । बगैंचामा पुतली समात्थे र फलफूल ठुङ्थे ।
बेलुकी गुँडमा फर्केर आनन्दसँग बस्थे । अर्काले बनाइदिएको घर थियो । उनीहरुलाई कुनै फिक्री थिएन ।

केही दिनपछि एकबिहान चिरबिर–चिरबिर स्वरले भङेराका भाले–पोथी बिउँझे । उनीहरु गुँडको मुखमा आए । झ्यालको डन्डीमा गौंथलीका जोडी थिए । उनीहरु तराईबाट फर्केर आएका थिए ।
‘रामराम, मितज्यू !’ गौंथलीले भन्यो ।
भङेराको मनमा चिसो पस्यो – यी गौंथली त फर्केछन् । के अब गुँड छोड्नुपर्ने भयो ?
भङेराले गौंथलीलाई नचिनेझैँ गर्यो । उसले रुखो स्वरमा सोध्यो – ‘को हौ तिमीहरु ? के भन्न आएका ? कहाँबाट आएका ? मेरो इलाकामा नसोधी किन पसेका ?’
‘आच्या ! चिनेनौ तिमीले ? हामी तिम्रा घरपट्टी ।’ गौंथलीले छक्क पर्दै भन्यो ।
‘के रे ? यो घर मेरो हो । यो मैले बनाएको । तँ केको घरपट्टी ?’ – भङेराले तीखो स्वरमा भन्यो ।

भङेरा र गौंथलीको झगडा पर्यो । बर्खाभरी मिहिनेत गरेर बनाएको घर यसरी लुट्न लागेको देखेर गौंथली रिसायो । उसले भङेरालाई खूब गाली गर्यो ।
खलबल खुनेर अरु चराहरु पनि आएर बिजुलीका तारमा बसे । तिनमा सारौं, कौवा, ढुक्कुर, चुरेली, चिबे, धोबिनी धेरै चरा थिए । उनीहरुले भङेरा र गौंथलीको कुरा सुने । उनीहरुले भङेराको अर्घेलो ठहर्याए ।
‘हेर, यसरी अर्काको मिहिनेत लुट्नु हुन्न । गुन गर्नेलाई बैगुन गर्नु हुन्न ।’ – चराहरुले भङेरालाई सम्झाए । तर भङेरो मानेन । यतिका दिन भोगचलन गरेपछि यो घर मेरै हुन्छ भनेर उसले अड्डी लियो ।
मूर्ख र दुष्टसँग के लाग्छ ? …. हार खाएर सबै चरा गए । गौंथलीले पनि पोथीलाई लिएर गयो । दुष्टसँग एक्लै जुध्नुमा फाइदा थिएन ।

भङेरो आफ्नो जीत ठानेर घमन्डले फुल्यो । उसले पोथीसँग हाँस्तै भन्यो – ‘देखिस् कसरी भगाएँ मैले त्यसलाई ! लुरुक्क परेर गुँड छोडेको भए कति नमज्जा हुन्थ्यो ! लुरेलाम्रे भएर बाँच्न सकिन्न, बुझिस् !’
गौंथलीका भाले–पोथी वनतिर गए । त्यहाँ धेरै गौंथली थिए । उनीहरुसँग आफ्नो दुःख पोखे । ‘हेर्नोस्, मेरो घर भङेराले लुट्यो ।’
‘त तिमीले उसलाई गलहत्याउन सकेनौ ?’ – अरु गौंथलीले सोधे ।
‘म एक्लो के गर्न सक्थें ? त्यो बडो दुष्ट छ । त्यसैले म तपाईंहरुसँग मद्दत माग्न आएको ।’ गौंथलीले भन्यो ।

त्यसपछि सबै गौंथली एकजुट भएर गाउँतिर उडे । उनीहरु गाउँमा पुगेर बिजुलीका तारमा बसे । बिहान सबेरै चिरबिर–चिरबिरको खलबलले भङेराका भाले–पोथी बिउँझे । उनीहरुले गुँडका मुखमा आएर च्याए । झ्यालको डन्डीमा घरपट्टी गौंथलीका भाले–पोथी थिए । बाहिर तारमा पनि धेरै गौंथलीहरु थिए । उनीहरु एकै स्वरमा भङेरालाई गुँड छोरेर जान भनिरहेका थिए ।
भङेरा डरायो । ऊ गुँडभित्र दुम्क्यो ।
‘ए, लौ बाहिर निस्की ! मेरा दश नङ्ग्रा खियाएर बनाएको घर कब्जा गर्न खोज्ने चोर ।’, गौंथलीले झ्यालको डन्डीबाट हाँक दियो ।
‘को हो ? के भन्न आएको ?’ – भङेराले भित्रैबाट सोध्यो । उसले गौंथलीलाई नचिनेझैं स्वाङ गर्यो ।
‘अझ नचिनेझैं गर्छस् ? हिजो त मलाई एक्लै देखेर हेपेको होइनस् ? हेर आज मेरा कति साथी छन् । लौ निक्ली बाहिर ।’ – गौंथलीले सुरिएर भन्यो ।
‘पोथी भङेरीले भालेसँग खासखुस गरी – ‘भैगो, जान देऊ । अर्काको घरमा बसेर हुन्न । उसको घर उसैलाई छोडिदिऊँ ।’
‘त्यसै त कहाँ छोडौंला’ – भङेराले पोथीसँग भन्यो । अनि उसले गुँडबाट टाउको निकालेर गौंथलीसँग भन्यो – ‘भैगो, माफ गर । म तिम्रो गुँड छोडिदिन्छु। तर केही म्याद त देऊ ।’

‘हुन्छ’ भनेर गौंथलीले भङेरालाई एक दिन र एक रातको म्याद दियो । उसले भन्यो, ‘भोलि बिहान तैंले घर छोड्नुपर्छ ।’
घरपट्टी गौंथली र अरु गौंथली उडेर गए । भङेरा गुँडबाट निस्केर डन्डीमा बस्यो ।
‘अब पिर गरेर के गर्ने ? बरु आफ्नै गुँड बनाएको भए यो झन्झट पर्दैनथ्यो ।’ – पोथीले भालेलाई फुल्याउन भनी ।
‘तँलाई भन्न सजिलो छ । दुःख त मैले गर्नुपर्छ ।’ – भङेरो झोंक्कियो ।
त्यसै साँझ भङेरो गौंथलीको गुँड छाडेर हिँड्यो । भोलिपल्ट बिहानै गौंथलीका भाले–पोथी झ्यालको डन्डीमा आएर बसे । भित्र हेर्दा गुँड त पूरै भत्केको ।
‘भङेराले गुँड त छोडेछ, तर भत्काएर छोडेछ !’ – पोथी गौथलीले दुःखी स्वरमा भनी ।
‘अँ, भत्काएर गएछ ! दुष्टले आफ्नो स्वभाव देखाएछ । तर धन्दा नमान । चुच्चो बलियो भएसम्म हामी फेरि यस्तै गुँड बनाउन सक्छौं ।’ – भालेले भन्यो ।
दुवै भाले–पोथी गिलो माटो ल्याएर गुँडको भत्केको भागमा माटो थोपर्न थाले । खूब मिहिनेत गरेर उनीहरुले पहिलेको भन्दा पनि राम्रो गुँड बनाए । अनि भाले–पोथी गौंथली दुवै झ्यालको डन्डीमा आएर बसे । गुँडतिर हेरे । उनीहरु खूब रमाएर गाउन थाले – चिरबिर–चिरबिर …. ।


चित्रः मोहन खड्का



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










