जन्मोत्सव धरती साँच्चै रमाइलो थियो । त्यहाँ सधैँभरि वसन्त ऋतुको वातावरण रहिरहन्थ्यो । चम्किलो तर धेरै नपोल्ने घाम, मधुर-मधुर फूलका बास्ना बोकेको मन्द-मन्द हावा, नीलो र सफा आकाश सधैँभरि त्यहाँ रमाइलो रहन्थ्यो । सधैँभरि हरिया र भरिला फलफूलले लटरम्म भएका रूखहरूमा कोइली, जुरेली, धोबिनीजस्ता मिठो स्वर भएका चराहरू फुत्रुक-फुत्रुक नाच्तै गाइरहन्थे । चमेली, जुही जाई, गुलाफ, गोदावरी, केवरा, सयपत्रीजस्ता फूलहरूले धरती सधैँ हाँसिरहेझैँ देखिन्थ्यो । तिनका वरिपरि घुमिरहने रङ्गी-विरङ्गी पुतलीहरू, भमरा र माहुरीहरूको भुनभुन स्वर त्यहाँ सधैँ गुन्जिरहन्थ्यो ।
‘कति रमाइलो धरती’ गीता खुसीले उफ्रँदै कराई ‘भकुन्डे भाइ ! तर हामी यस्तो रमाइलो ठाउँमा पुराना लुगा लाएर आयौँ, कति नमज्जा ।’
‘धन्दा नमान गीता !… ऊ त्यो घरमा भनेजस्ता नयाँ-नयाँ र ढाँचा- ढाँचाका लुगाहरू पाइन्छन् ।’ भकुन्डेले अलि परको चिटिक्क परेको एउटा घर देखाउँदै भन्यो । अनि सबै जनालाई लिएर ऊ त्यतै गयो । साँच्चै त्यस घरभित्र लुगा राख्ने बडे-बडे दराजहरू थिए । ती दराजहरूमा अनेक जातका, रङ्ग- बिरङ्गका अनेक ढाँचाका लुगा-कपडाहरू खचाखच थिए । त्यो देखेर अमर र अरू सबै जना खुसीले कराए ।
‘ऊ त्यो कति राम्रो लुगा !’ एउटा भुवादारी थाक्से लुगातिर देखाउँदै अमरले भन्यो । अनि उसले त्यो टोपसहितको भुवादारी लुगा लिएर लगायो । यो पोसाक उसको आङमा चिटिक्क मिल्ने थियो ।
अनि गीताले चाहिँ आफ्नो लागि एउटा परीको पोसाक छानी । आशिषले सरकसको जोकर लुगा छान्यो । भकुन्डे भाइले समुद्री डाँकुको पोसाक रोज्यो र हिमानीले फूलका लहँगा लिई । यसै गरी के-नाम-के-रेले पुलिसे लुगा छान्यो । तर काम्टेको चारैतिर काम्टाको माला बेरिएकोले उसलाई कुनै लुगा पनि मिलेन ।
सबैले आफ्ना-आफ्ना लुगा लगाएपछि उनीहरू विचित्रका देखिए । गीताको लुगामा चराका झैँ पखेटा जडिएका थिए । त्यसैले ऊ कथाको पुस्तककी नीलम परीजस्तै देखिएकी थिई । तर ऊ अलि निन्याउरी भएकी थिई । किन भने ऊ पखेटा भएर पनि उड्न सक्तिनथी । साँच्चैकी परीजस्तै पखेटा फिँजाएर उड्न सकेकी भए ऊ कति खुसी हुने थिई । कति रमाएर उड्ने थिई ।
अनि अमर साँच्चै भोटको थाक्सेजस्तै देखिएको थियो । ऊ अहिले थाक्से लुगा लगाएर भोटे नाच नाच्तै थियो । आशिष चाहिँ चुच्चे फुर्के टोपी जोडिएको बुट्टै बुट्टा भएको ह्वाङ्ग्राङे लुगा लगाएर हातले टेकेर खुट्टा ठाडो पार्दै अरूलाई हँसाउन लाग्यो । भकुन्डे भाइ समुद्री डाँकुको लुगा लाएर डाँकुकै जस्तो अभिनय गर्न लागेको थियो र के-नाम-के-रे पुलिस बनेर उसलाई पकड्ने खेल खेल्न थाल्यो । हिमानी चाहिँ फूलै-फूलको घाँगर, श्रीपेचजस्तो मुकुट लाएर फूल रानी बनेकी थिई । सबै आ-आफ्ना लुगामा खुब खुसी थिए ।
‘लौ अब बेलुन उडाउने’ हिमानी पर बेलुन बेच्न बसेकी आइमाईतिर दगुर्दै कराई । आइमाई ग्याँस भरिएका थुप्रै रङ्गीचङ्गी बेलुनका बिच आफू पनि बेलुनजस्तै फुलेर बसेकी थिई । केटाकेटीहरू आफू-आफूलाई मन परेका बेलुन
छानेर चौरमा गई खेल्न थाले ।
त्यसै बेला एक्कासि चियाको घण्टी बज्यो । सबै खेल्न छोडेर आश्चर्य मान्दै चौरतिर हेर्न थाले ।
‘लौ, चियाको घण्टी बज्यो !’ भकुन्डे भाइ खुसीले चिच्याउँदै उफ्य्रो । नभन्दै अगाडि चौरमा एउटा रूखको छहारीमा एउटा लामो टेबिल र टेबिल वरिपरि धेरै मेचहरू राखिएका थिए । टेबिलमाथि चियाको जग, कप, प्लेटहरू सजाइएका थिए । भकुन्डे भाइ दगुर्दै गएर एउटा मेचमा बस्यो । गीता पनि उसको पछिपछि गएर टेबिलको सिरानको मुख्य मेचमा बसी । अरू पनि एउटा-एउटा मेच छानेर बसे । तर गीताले के देखी भने टेबिलका चिया र अरू मिठाईका भाँडाहरू रित्ता थिए । उसलाई बडो नमज्जा लाग्यो ।
‘खोइ ! खाली भाँडा मात्रै पो रहेछन् । मिठाई र चिया त …’ गीताले रुँला झैँ गरेर भनी । तर भकुन्डे भाइले उसलाई सम्झाउँदै भन्यो “अँध्यारो मुख नलाऊ गीता । … यो जन्मोत्सव धरती हो । यहाँ त अचम्म-अचम्म पो हुन्छ ।’
‘तिमीले मनमा जे-जे चितायो त्यही-त्यही भाँडामा आउँछ’ हिमानीले पनि गीताको कानमा भनी ।
‘के मैले जे जे चितायो त्यही-त्यही आउँछ ?’ गीताले चकित परेर सोधी ‘क्या गजब !… त्यसो भए त खेलेको जस्तै भयो नि !’
‘हो त नि । हो नि’ हिमानीले भनी ‘तिमी चिताऊ, त्यहाँ तयार । तर सधैँ खाएको मकैको खजुरी, परोठा, चिया, दूध मात्रै नचिताऊ नि नौला नौला मिठाईहरू, आइसक्रिमहरू, सुन्तला, आँपको सर्बत, फलफूलका रस, अनि दूध बरी, पेडा, बर्फी, यस्तै मनमा चिताऊ ।’
‘त्यसो भए म त सबैभन्दा पहिले दूध बरी र रसमाधुरी अनि आँपको रस चिताउँछु’ गीताले भनी । अचम्म उसले भन्न नपाउँदै एउटा खाली भाँडाभरि दूध बरी र अर्कोमा रसमाधुरी पो आयो । अनि गिलासका गिलास आँपको रस टेबिलमा थुप्रिए ।
‘अब पुलाऊ, मासु र दही चिताऊ गीता’ के-नाम-के-रेले भन्यो ‘मलाई दही र मासु खुब मन पर्छ ।’
‘मलाई त खीर मन पर्छ’ खैरे जुँगेले जिब्रो मिठ्याउँदै भन्यो ‘खीरसँगै आलु- काउलीको लदरो तरकारी ।’
सबैले माग गरेजस्तै गीताले चिताउँदै गई । खाली भाँडाहरूमा ती-ती खानेकुरा भरिँदै गए । दही, राइता, फलफूल – अङ्गुर, गाजर, स्याउ, सुन्तला पनि आए । सबै खानेकुरा आएपछि बडो रमाइलो मानेर सबै खान थाले । क्या मिठो । सबैले जिब्रो फड्कारीफड्कारी खाए । जसलाई जे मन पर्छु त्यही पेटभरि खाए ।
अब केक काट्नु पर्छ ।’ हिमानीले भनी ।
‘तर खोइ केक ?’ गीताले चारैतिर हेरेर भनी ‘घरबाट बनाएर ल्याइएन ।’
‘कस्तो कुरा गर्छे गीता’ यो जन्मोत्सवको धरती यहाँ जन्मोत्सव केक नहोला र ?’ हिमानीले भनी । नभन्दै टेबिलको बिचमा एउटा ठुलो चाँदीको किस्तीमा एउटा ठुलो केक बन्दै गयो । ओ: कस्तो अद्भूत रोटी । गीता खुसीले गद्गद् भई । हेर्दाहेर्दै त्यो ठुलो केकमा राता, सेता, पहेँला, सुनौला दूधको तर(क्रिम)का बुट्टाहरू जडिए । त्यसका चारैतिर मिठाईका फूल बुट्टा बने । वरिपरि आठ ओटा बलेका मैनबत्ती पनि ठडिए । अनि बिचमा चिनीको अक्षरले- ‘गीता ! तिम्रो रमाइलो जन्मदिन शुभ होस्’ भनेर लेखिएको थियो । आठ ओटा मैनबत्तीले गीता आठ वर्ष पुगेको जनाउँथ्यो । यो देखेर गीता अत्यन्तै प्रसन्न भई । अनि उसले किस्तीको स्याङ्गी लिएर त्यो ठुलो रोटी काटी ।
‘यो मनचिन्ते केक हो । यो मुखमा लिएर जसले जे चिताउँछ एकपल्टलाई त्यो कुरो पुग्छ ।’ भकुन्डे भाइले भन्यो । अनि सबैले आफ्ना आफ्ना भागका केक हातमा लिएर बसे । तर के मनमा चिताउने ?… केही सोच्न नसकेर सबै अलमल्ल परे । त्यसै बेला काम्टे बाले सबै खेल भताभुङ्ग पारिदियो ।
काम्टे बा चुप लागेर बसेको देखेर भकुन्डे भाइले भन्यो “होइन, तिमी के गरिरहेका काम्टे बा ? तिमी केही गर्दैनौ ?”
” हँ ?’ काम्टेले हत्तपत्त केकको टुक्रो मुखमा हालेर भन्यो ‘केरे?… माछा मार्दैनौ ?… कहाँ मार्नु माछा ?… हो मलाई माछा मार्ने त खुब मन छ । तर समुद्र भइदिए, माछा र बल्छी भए पो ।’
काम्टेले यति मात्र के चिताएको थियो, त्यहाँ उसको मुखको मनचिन्ते केकले चमत्कार देखाइहाल्यो । एक्कासि त्यहाँ एउटा हुरी चलेर सबैलाई अन्धो बनाइदियो । अनि उनीहरूले आफूलाई हावामा उडेको जस्तो अनुभव गरे । अनि एउटा नुनिलो पानीको फोहराले उनीहरूलाई बर्साले रुझाएझैँ रुझाइदियो । अमरले बल्लतल्ल आँखा खोलेर हेर्यो । तल त एउटा अजङको समुद्र उर्लिरहेको । एकै छिनमा सबैलाई बगरमा लगेर थचारिदियो ।
त्यस ठाउँमा बालुवै-बालुवाको बगर भएकाले उनीहरूलाई कुनै चोटपटक लागेन । तर उनीहरू बसेको मेच टेबिलहरू गुल्टन बाजी खाँदै पर-पर पुगे । उनीहरूले विचित्रसँग आँखा च्यातेर चारैतिर हेरे । जुँगे हिउँमानव ज्यादै तर्सेझैँ देखिन्थ्यो । भकुन्डे भाइ माछाले जस्तै प्याक्-प्याक् मुख बाउँदै बन्द गर्दै गर्न लागेको थियो । अमर भुतभुताउँदै थियो र रिसाहा बाउन्ने ढुनमुनिँदै थियो ।
‘हामी कसरी यहाँ आइपुग्यौँ ?’ लुगा धुने आइमाई साह्रै डराएकीझैँ लाग्दथी ‘हामी कहाँ आइपुग्यौँ ?’
‘हामी कुनै माछा मार्ने टापुमा आइपुग्यौ जस्तो छ’ हिमानीले भनी ‘उता हेर त कतिका बल्छी ?’
‘हो, त्यो सिल्ली काम्टे बूढाले मुखमा मनचिन्ते रोटी हालेर माछा मार्ने कुरा गर्दा हामी यहाँ आइपुग्यौ ।’ भकुन्डे भाइले भन्यो ‘मलाई बाले कुरा गरेको सम्झना छ, हराउने टापुका बारेमा । मलाई लाग्छ, हामी अहिले त्यही टापुमा आइपुगेका छौँ । यो टापु कहिल्यै एक ठाउँमा बस्तैन, समुद्रमा पौडिरन्छ-कहिले यहाँ कहिले उहाँ । त्यसैले यसको नामै हराउने टापु रहेको । तर यहाँ एउटा कुरा भने बडो मजाको छ । माछा खुब पाइन्छ ।’
‘अब हामी जन्मोत्सव धरतीमा कसरी फर्कने ?’ गीता रुनेरुनेझैँ गर्न थाली ।
‘तर कसरी फर्कने ? … यहाँ त डुङ्गा एउटा पनि देखिँदैन, न हवाईजहाज नै’ हिमानीले भनी । त्यसै बला उसको घडी टाङ्टाङ्टिङ्टिङ् बाजा बजाउँदै समुद्रतिर कुद्यो । हिमानी आत्तिएर कराउन थाली ‘ए !… ए… सिल्ली घडी । कहाँ जान्छ समुद्रतिर, तँ पौडन जान्दैनस् ।’
घडी फर्केर बगरको बालुवामा आएर थ्याच्च बस्यो । अमरले उठेर चारैतिर हेर्यो, चारैतिर पानी पानी । बगरमा अनगिन्ती माछा मार्ने बल्छी छरिएका थिए । तर कसैको पनि माछा मार्ने मन थिएन । त्यो सानो टापु डाँड डाँडाको हरियो थुम्को थियो । अनि चारैतिर समुद्र र समुद्रको बगर । त्यहाँ अरू केही थिएन ।
‘अब के गर्ने ?’ जुँगे हिउँमानवले पनि कुनै उपाय बताउन सकेन । उसले आफ्नो सेता र लामा दाह्री हल्लाउँदै निराशा प्रकट गर्यो । उसले त्यति बेला ला सन्त क्लजको जस्तो लुगा लाएको थियो । उ साँच्चै महन्त क्लज जस्तै देखिन्थ्यो । उसले भकुन्डे भाइको कुरा सुनेर आफ्नो छोहराजस्तो डल्लो नाक माड्यो । अनि गम्भीर भएर टाउको हल्लायो ‘कसैले जादुको मन्त्र जानेको भए काम लाग्थ्यो ।’
‘अहँ, मेरा पुराना लुगा सबै जन्मोत्सव धरतीमा छुट्यो । त्यसमा जादुको मन्त्र थियो । तर यो नयाँ लुगामा त जादुको मन्त्र छैन’ भकुन्डे भाइले भन्यो ।
‘तर हामीले भोकै मर्न त हुन्न नि । यहाँ माछा त पाइन्छन्’ के-नाम-के- रेले सुझाउ राख्यो । तर अमरले त्यसलाई नकार्यो । माछा मात्र कति खान सकिन्छ र ? जन्मोत्सव धरतीमा छुटेका ती अनेक परिकार सम्झेर उसको मुख रसायो । उसलाई पनि रुन मन लाग्यो ।
आशिषले एक्कासि आफ्नो हातमा केही भएको चाल पायो । यो मनचिन्ते रोटीको एक टुक्रो थियो । वा: अब उसलाई खाने कुराको के चिन्ता ! उसले त्यस रोटीको टुक्रो मुखमा हालेर निल्न खोज्यो ।
‘ए, ए, आशिष ! तिमीले के खाएको ?’ भकुन्डे भाइले हडबडाउँदै सोध्यो । आशिषले मुखको बुजो मुखैमा लिएर मनचिन्ते रोटीको टुक्रो हो भनेर बतायो । अनि भकुन्डे भाइले एकदम खुसी हुँदै भन्यो ‘पख पख, त्यो ननिल ।… बिन्ती छ मुखैमा राख ।’
गीताहरू भकुन्डे भाइको त्यो सिल्लडझैँ खुसी देखेर पक्क परेर हेर्न थाले । हिमानीले त ज्यादै अनौठो मानेर सोधी ‘होइन तिमीलाई के भयो भकुन्डे भाइ ?… किन त्यसरी बौलाहाजस्तो रिङ्न थालेको !’
“मलाई रोटी निल्न किन रोकेको ?’ आशिषले पुकुमपुकुम गर्दै भन्यो ‘किन ? झट्टै भन ।’
‘तिम्रो मुखमा मनचिन्ते रोटीको टुक्रो छ होइन ? भकुन्डेले पहिले एउटा अनि अर्को गोडाले टेकेर उभिँदै भन्यो ‘मनमा केही कुरा चिताऊ आशिष, केही चिताऊ ।’
‘म के चिताऊँ ?’ आशिषले अझै रोटी चपाउँदै सोध्यो ‘मलाई त केही इच्छै छैन । मलाई त जन्मोत्सव धरतीमा गएर गीताले जोरजाम गरेको मिठाई खान पाए खुब आनन्द आउने थियो, बस ।’
क्या गजब !… आशिषले त्यति भनिसक्न पाएको थिएन, उनीहरूका चारैतिर बाक्लो कुइरो फैलियो । के फेरि हुरी चल्न आँट्यो ? …कि अर्कै अनर्थ हुन आँट्यो ? सबैका अनुहार डरले काला नीला भए । सबै एकै ठाउँमा गाँठो परे । अनि एक्कासि त्यो बाक्लो कुइरो फाटेर गयो । सबैका आँखा आश्चर्यले च्यात्तिएझैँ भए । किनभने अब उनीहरू जन्मोत्सव धरतीमा पो थिए । खोइ त्यो हराउने टापु ?… खोइ त्यो वरिपरिको समुद्र ? … अनि खोइ त्यो बालुवैबालुवाको बगर र त्यहाँ छरिएका बल्छीहरू ? बरु त्यहाँ त तिनै टेबिल, मेच, टेबिलमाथि अनेक थरी खानेकुरा र मिठाईहरू पो थिए । ।
‘वा: क्या गजब !’ आशिष खुसीले चिच्यायो । सबै जना खुसीले त्यसै गरी चिच्याए । अमरले त एक टुक्रा मनचिन्ते रोटी भाँचेर मुखतिर लाँदै भन्यो ‘हेर, अब यो रोटी खाँदा सबैले बडो विचार गरेर मात्र मनमा केही कुरा चिताउनु । नत्र फेरि अगिजस्तै बेपत्ता होइएला ।
‘लौ अब खाने’ खन्चुरो आशिषलाई खानाको भन्दा अरू कुराको चासै थिएन । उसलाई घण्टा घण्टामा भोक लाग्न थाल्थ्यो । तर अहिले त डर र अतासले गर्दा सबैलाई नै भोक लागेको थियो । त्यसैले सबै आफ्ना आफ्ना रोटी लिएर मनमा आफूलाई मन परेको कुरा चिताउँदै खान थाले । काम्टे बा र आशिष अनि गीताले आफ्ना आफ्ना इच्छा पूरा गरिसकेकाले उनीहरूको कुनै इच्छा पूरा भएन । त्यस कारण आशिषको मुख अलि निन्याउरो भयो । त्यो देखेर हिउँमानवले उसलाई फुल्याउँदै भन्यो ‘निन्याउरो मुख नलाऊ । तिम्रो लागि म इच्छा गरिदिन्छु ।’
अनि आशिषका लागि उसले हाँस्ने र बोल्ने र हिँड्ने पुतलीको इच्छा गरी दियो त्यो राम्रो लुगा लाएकी सानी पुतलीको रङ नीलो थियो । पुतली पाएर आशिष असाध्य खुसी भयो । त्यसलाई बोकेर म्वाइँ खाँदै नाच्न थाल्यो । एक्कासि पुतलीले भन्यो ‘आशिष म तिम्रो पुतली हुँ । मेरो नाउँ पुन्टु हो।… मलाई तिमी धेरै माया गर है !’
“ओहो कति राम्रो नाउँ’ आशिषले खुसी भएर भन्यो ‘तिम्रो झोलामा के छ पुन्टु !’
‘मेरा लुगाहरू छन्’ पुन्टुले ब्याग खोलेर देखायो । साँच्चै त्यहाँ राम्रा राम्रा लुगाहरू थिए । अमरले आफ्ना लागि घोडाको इच्छा गर्यो । त्यहाँ एउटा कालो, राम्रो घोडो आइपुग्यो । त्यसको निधारमा सेतो टीका थियो । अमर खुसीले चिच्याउँदै त्यसलाई अँगालो मार्न पुग्यो ‘ओ ! मेरो प्यारो घोडो ।… म तँमाथि चढ्छु। तँ मलाई घुमाउन लैजा, म तँलाई बिजुली भनेर बोलाउँछु ।… तँ बिजुली
चम्केजस्तै चम्केर पैयाँ ठोक ।’
अमर बिजुली घोडा चढेर एक चक्कर लगाएर आयो । सबै खुसी भए ।
‘त्यसो भए मेरो पखेटामा चराको जस्तै उड्ने बल आओस्’ गीताले एक टुक्रो रोटी मुखमा हालेर चपाउँदै चिताई । नभन्दै ऊ पुतलीजस्तै आकाशमा उड्न पो थाली । सबैजना खुसी भएर जिल्ल पर्दै हेर्न थाले । तर हिमानीले एक्कासि कराउँदै भनी ‘गीता धेरै माथिमाथि नउड ! फेरि कता कता पुगेर हराउल्यौ ।’
हिमानीको कुरा सुनेर गीता केही माथिसम्म उडेपछि बिस्तारै धरतीमा ओर्ली । उसका गाला खुसीले गुलाफी भएका थिए । साँच्चै आजको दिन उसको आठौँ जन्मोत्सव सबैभन्दा खुसीको जन्मोत्सवको दिन भएको थियो । यसभन्दा अगिका जन्मोत्सवहरू यति रमाइलोसँग कहिले मनाएको थियो र ?
‘लौ अब हामी खेलौँ’ भकुन्डे भाइले भन्यो । उसले चिताउनासाथ त्यहाँ थरी थरीका खेलका सामान, बाजा-गाँजा थुप्रिए । अनि सबैले एकै मतले “मेच र सङ्गीत’ को खेल खेले ।
गीताको जन्मोत्सव समारोह खुब धूमधामसँग चल्यो । कसैले गीत गाए, कसैले बाजा बजाए । कसैले घुम्ने मेचमाथि अन्धो मान्छेको खेल खेले । भकुन्डे भाइ चाहिँ खुब उफ्री-उफ्री नाच्यो । उसले कहिले टाउकोले टेकेर र कहिले हातले टेकेर हिँडेर अनेक सर्कस देखायो । घुम्ने मेच… खेल्दा हिमानीले खुब नम्बर कमाई । ऊ खेल्दा-खेल्दा थाकेर बसेपछि आकाशबाट परीहरूले चकलेट पुरस्कार
बर्साए ।
‘ओ, चकलेट !’ हिमानी खुसीले कराउँदै उफ्री सबै भेला भएर चकलेट बटुल्दै सबै मिलेर खान थाले । त्यसै बेला एउटा विचित्रको जीव उनीहरूतिर आउन लागेको देखियो । भकुन्डे भाइले मुखमा चकलेटको बुजो हाल्याहाल्यै चिच्यायो ‘ए, हेर हेर, त्यो के आउन लागेको छ ? ‘
सबैले उसले औँल्याएतिर हेरे । चम्किला पोसाक लाएका केही पुतलीको एउटा फौज उनीहरूतिर आउँदै थियो । त्यस फौजलाई देखेर के-नाम-के-रे खुसीले चिच्यायो यो त भुइँचम्पे पुतलीको (Cracker) फौज हो ।
ती ससाना भुइँचम्पे पुतली आफ्ना ससाना गोडाले हाँस्तै, नाच्तै आए । केटाकेटीहरू तिनीहरूलाई समातेर भुइँचम्पा फुटाउन उनीहरूका पछि-पछि लागे । ती ससाना भुइँचम्पाहरू पनि भाग्दै-छल्दै दगुर्न थाले । यो एउटा बडो रमाइलो दृश्य थियो ।
आखिरमा केटाकेटीहरूले ती रमाइला प्राणीहरूलाई एक एक गर्दै समाते र तिनको पेट खोल्न थाले । वा: क्याँक्या राम्रा राम्रा साना खेलौनाहरू तीभित्र राखिएका थिए । कुनै पुतली बान्की किलिप थिए, कुनै मौरी र भमरा आकारका खेलौना । आशिषको पुन्टुले पनि एउटा पुतली बान्कीको किलिप लियो । तर उसले अर्को भुइँचम्पेलाई पनि समातेर खोल्यो । वा: त्यसभित्र एउटा सानोहिउँ- भालुको बच्चोको बान्कीको किलिप पो निस्क्यो । त्यो पाएर पुन्टु खुसीले नाच्न थाल्यो ।
त्यस्तै अमरले समातेको भुइँचम्पेबाट एउटा चाँदीको सिटी भेट्टियो । त्यो सिटी फुक्दा कोइली चरीजस्तै कराउँथ्यो । भकुन्डे भाइले बिरालो कराउने बाजा भेट्यो । त्यस बाजाको स्वर सुनेर काम्टे कुना-काप्चा बिरालो खोज्न थाल्यो । ‘आ । सुssरि आ ।’ भकुन्डे भाइ उसलाई जिस्क्याउन झन्झन् बिराली बाजा बजाउन थाल्यो । काम्टे झन्-झन् कुना काप्चामा बिरालो खोज्न घुम्न थाल्यो । त्यहाँ एउटा हाँसो भयो ।
हिमानीको घडीले पनि एउटा भुइँचम्पेलाई समातेर खोल्यो । लौ जा! त्यसभित्रबाट त एउटा पुछौरो र रोगनको बट्टा पो त निस्क्यो । घडी रिसले फनफनिँदै कराउन थाल्यो- टाङ्टिङ्, टाङ्टिङ् ।
‘ठिकै त भयो नि तँ फोहरीलाई, त्यही पुछौरोले पुछ् न आफ्नो फोहर’ हिमानीले भनी तर घडी रिसाएर धुम्म परेर बस्यो । अब सबैले लुकामारी खेल्ने विचार गरे । त्यो विचार मनमा उब्जनासाथ त्यहाँ अचम्मसँग झाडीहरू र झुरमुटहरू उम्रे । साँच्चै त्यो जन्मोत्सव धरती गजबकै थियो ।
उनीहरू खेल, नाच-गान र उफ्राउफ्रीमा मग्न थिए, त्यसै बेला उनीहरूले ससाना खेलौना मोटरहरू आफैतिर दगुर्दै आउन लागेका देखे । ती मोटरहरू उनीहरूका नजिकै आएर अडे । अनि सबै जना एकएकओटा मोटर छानेर त्यसमा चढे । पुन्टु र हिमानीको घडीका लागि पनि एकएकओटा मोटर थिए ।
मोटरको दौड सुरु भयो । त्यो दौडमा काम्टे पैला भयो । तर बाटामा उसका केही काम्टाहरू खसे । भकुन्डेले उसलाई इनामको चकलेट दिँदै भन्यो ‘लौ काम्टे बा । तिमी दौडमा पैला भयौ । त्यसैले तिमीलाई यो इनाम !’
‘के भन्या तिमीले ?’ काम्टेले कान थाप्दै सोध्यो ।
‘तिमीले मोटरको दौड जित्यौ भन्या क्या, दौड’ भकुन्डेले कराएर भन्यो । एक्कासि काम्टे दौडन थाल्यो । उसका काम्टाहरू टाङ् टाङ् र टुङ्टुङ् गर्दै बज्न थाले । काम्टे झन्झन् हौसिएर दौडन थाल्यो ‘लौ, दौड भनेको होइन ? … म ? कति छिटो दगुर्छु !’
‘वा: क्या काम्टे ! क्या दौडन्छ ! लौ लौ, दौड ! स्याबास ! स्याबास !’ भकुन्डेले उसलाई हौस्याउन थाल्यो । काम्टे झन्झन् रौसी रौसी दगुर्न थाल्यो । त्यसै बेला त्यहाँ अर्को अचम्म भयो, एउटा च्याउको त्रिपाई उम्रयो । त्रिपाईमाथि किसिम-किसिमका सर्बतका सिसीहरू थिए । त्यस ठुलो त्रिपाईका चारैतिर ससाना अरू त्रिपाईहरू पनि उम्रे । ठुलो त्रिपाईमा सर्बतका साथमा फलफूल र रोटीहरू पनि थिए ।
‘लौ हेर ! हाम्रा लागि सर्बत र फलफूल’ भकुन्डे एकदम खुसी हुँदै उफ्र्यो । हिमानी गएर एउटा सानो त्रिपाईमा बसी । ऊ, एउटा स्याउ लिएर टोक्न थाली । अनि उसले भनी ‘लौ, तिमीहरू पनि भोक लागेको भए आएर खान थाल ।’
अमर पनि आएर एउटा त्रिपाईमा बस्यो । सबै आएर बसेपछि हिमानीले सर्बत र फलफूल बाँडी । सबैले पेटभरि खाए ।
बिस्तारै अँध्यारो हुन थाल्यो । तर प्रत्येक रूखका हाँगामा जुनकिरीका लालटिन झुन्डिएर त्यहाँ अँध्यारोलाई टिक्नै दिएनन् । त्यसै बेला पर कतैबाट बन्दुक पड्केझैँ ढ्वाङढ्वाङ स्वर आयो । सबै आत्तिएर उता हेर्न थाले । पुन्टु त झन् डरले आशिषको बगलीमा पस्यो । त्यसै बेला परको आकाश रङ्गी-चङ्गी भुइँचम्पाले ढाक्यो ।
‘ए, त्यो त भुइँचम्पा पो उडाएको रहेछ, हेर हेर’ अमरले पर आकाशतिर देखाउँदै भन्यो । सबैले उसले देखाएतिर हेरे । वा: क्या गजबका भुइँचम्पा ! भुइँचम्पा माथि आकाशमा गएर फुट्यो । अनि त्यहाँ हजारौँ-हजारौं रङ्गी-बिरङ्गी ताराका फूलहरू छरिन्थे । अनि ती ताराका फूलहरू चक्रजस्तै भएर घुम्थे । यो भुइँचम्पा गीताको जन्मोत्सवको खुसीमा परीहरूले उडाएका थिए ।
‘गीताको जति रमाइलो जन्मोत्सव त कसैको पनि भएन’ आशिषले भन्यो । गीताले खुसीले आफ्ना पखेटा फट्फट् गर्दै फट्कारी ।
‘तर अब हामी तल धरतीमा फर्कनु पर्छ ।’ भकुन्डे भाइले भन्यो ‘आधा रात हुन आँट्यो ।… अब यो जन्मोत्सव धरती यहाँबाट सर्दैछ । फेरि भर्याङ नभेट्टाइएला ।… दगुर छिटो भर्याङतिर ।’
सबै जना हस्याङ र फस्याङ गर्दै दगुरे । अनि तँछाड् र मछाड गर्दै भर्याङबाट ओर्लन तम्से । यसरी हतार गर्दा भकुन्डे भाइको फिलामा टाँसिएर झन्डै च्याउको त्रिपाई पनि आएको । यस्तो तँछाडमछाड देखेर अमरले भन्यो तिमीहरू त ज्यादै बेसोमती, जङ्गली भयौ । …पालै पालो, लाममा बसेर ओर्ल न । अर्काको पालो मिच्नु राम्रो होइन ।’
अनि पहिले गीता, अनि हिमानी र यसै गरी सबै पालै पालो भर्याङ ओर्लेर भकुन्डेको घरमा पुगे । सेता हिउँमानवहरू सबैसँग बिदाबारी भएर घर गए । सबैले चिप्लेटीबाट ओर्लने विचार गरे ।
‘तर घोडा कसरी लाने चिप्लेटीबाट ?’ अमर चिन्तित भयो । तर भकुन्डे भाइले त्यसलाई बाल्टिन-गाडीमा ओराल्ने सल्लाह दियो । त्यही अनुसार घोडालाई तल ओराले । अनि अमरहरू पनि सबैसँग बिदा भएर चिप्लेटीबाट तल झरे | गीताले आफ्ना पखेटा राम्ररी पट्याएर जतनसँग ब्यागमा राखी । अमर आफ्नो घोडामा चढ्यो ।
सबै जना मोहिनी वनमा आइपुगे । पहिले त त्यहाँ अँध्यारो थियो । तर त्यसै बेला जून उठेर सबैतिर उज्यालो तुल्याइदियो ।
‘फेरि चाँडै भेट्नु है ?’ रूखमाथिबाट भकुन्डे भाइ र हिमानीले कराएर भने ‘है गीता !… है अमर ।’
‘स्याइँ स्याइँ…सुइय’ रूखहरूले पनि उनीहरूलाई बिदा गरे । उनीहरू घरको आँगनमा पुगे । अमरले घोडा तबेलामा बाँध्यो ।
अनि सबै पछाडिको ढोकाबाट घरभित्र गए । आफ्नो कोठामा पसेपछि गीताले आफ्ना पखेटाहरू राम्ररी तह लगाएर बाकसमा राखी । आशिषले पुन्टुलाई लुगा फेराएर दराजमाथि राख्यो ।
‘लौ, शुभरात्री’ अमरले भन्यो र ऊ लुगा फेरेर ओछ्यानमा पल्ट्यो । सबै ‘शुभरात्री’ भनेर आफ्ना-आफ्ना ओछ्यानमा पल्टे । त्यसै बेला खुला झ्यालबाट जूनको प्रकाशमा जादुको देशजस्तो मोहिनी वन देखियो । अनि भकुन्डे भाइ इन्द्रजाली रूखमाथि आफ्नो बिराली बाजा बजाइरहेको र काम्टे बिरालो खोज्दै कराएको सुनियो ‘आ, आ ! सुssरी आ !… कता लुक्यो यो सुरी ?’
त्यो सुनेर अमर र गीताहरू हाँसे । कति रमाइलो मोहिनी वन । …कति प्यारा इन्द्रजाली रूखका साथीहरू । यस्तो ठाउँमा बस्न पाउनु त उनीहरूको भाग्यै थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।