चुरोटको ठुटो भुइँमा फाल्नेबित्तिकै तीन दिनदेखि परिरहेको भदौरे झरी रोकियो ।
यो के भएको हाँ ? मनुज तर्सियो ।
केहीबेरपछि फेरि अर्को चुरोट सल्कायो । ढिला नगरी फेरि झरी पर्यो । तानिरहेको चुरोट फ्याक्यो । झरी रोकियो ।
उसले यो काम तीनचार पटक दोहोर्यायो । झरीले पनि त्यही गर्यो । यो के भइरहेछ ? परिस्थिति बुझ्न नसकेर ऊ अलमलियो ।
मनुज एकान्तप्रिय थियो । साथीभाइ बटुलेर खासै हिँड्दैनथ्यो । आफैमा रमाउँथ्यो । जहाँ भएपनि साथमा एउटा पुरानो बाँसुरी हुन्थ्यो । बाँसुरी उसको लागि फेरिरहेको सास जत्तिकै प्यारो थियो । जसलाई खुब प्रेम गर्थ्यो । अरु कसैलाई छुन दिँदैनथ्यो । जहाँ भएपनि हरेक साँझ आधा घण्टा बजाउने गर्थ्यो । जसबाट मुटु निचोरिने विरही धुन हावाको मैदानमा नाच्न थाल्थ्थे।
एकदिन बाँसुरी कसैले चोरिदियो । सेतीदेवी भञ्ज्याङमा गुञ्जने विरही धुन लोप भयो । धुन लोप भएपछि त्यहाँका चराहरू अन्तै बसाइँ सरे । नाचिरहेका गुराँसका थुँगा र सल्लाका हाँगाहरू लोलाउन थाले । मन्दिरको घण्टाले पनि केही महिना विश्राम लियो । गाउँ अचानक सुनसान भयो । छङछङ नाचिरहने टिमुरे झरना पनि अचानक शान्त भयो । टोलमा मुर्दाशान्ती छायो ।
बाँसुरी चोरिएको पीरले मनुज पनि गाउँबाट हरायो ।
***
कथा दुई हजार त्रिपन्न सालको हो ।
म मनुज ! मानिसहरूको मनको रहस्य बुझ्छु । भविष्यमा मनोचिकित्सक बन्छु । अबको दुनियाँ मनोरोगीहरूले कब्जा गर्नेछन् । जसको दुनियाँमा सयौँ थरी विषको पोकाबाहेक अरु केही हुन्नन् । पहिला विष पिएर अमृत ओकल्नेहरु थिए । अब अमृत पिएर विष ओकल्नेहरू हुनेछन् …! मनसँग बोल्दै ऊ कक्षा छिरेथ्यो ।
त्यो दिन पढाइमा ध्यान गएन । मन कता कता उडिरह्यो । भर्खरै मनोरोगको प्रसंग उठाएको ऊ आफैं अचानक मनोरोगी भयो । स्कूल छुट्टी भएपछी मात्रै मनोरोग निको भयो ।
तिम्रो नाम के हो ?
मनुज !
घर कहाँ ?
माथि सेतीदेवी मन्दिर छेऊ ।
अचेल दिन लामो छ । मलाई मन्दिर घुमाउँछौ ?
घुमाउँछु ।
यात्रामा उसले ठाउँ निकै मन परेको बताइ । साथै आफ्नो परिवारको कथा भनि । आफूलाई मन पर्ने फूल, पुस्तक, खेल र बाजाको नाम भनि । अरु पनि केही सुनाएपछि अन्तमा फेरि भनी, ‘र तिमीजस्तो साथी मलाई धेरै मन पर्छ ।’
किन ? म कस्तो छु र ?
असल छौ । अरूको मन पढ्न सक्छौ ।
हुँ… !
घाम खावा डाँडाको ठीक माथि उभिएको थियो । चराहरू चिर्विराउँदै हतार हतार आफ्नो घर फर्कँदै थिए । ती चरातिर इशारा गर्दै उसले भनि, मान्छे पनि चरा हो । तर पिंजडामा थुनिएको ।
उसले के भनेकी हो ? मनुजले बुझेन ।
छेऊमा भएको एक थुंगा गुराँस हेर्दै फेरि भनि, फूलझैँ हुन सके मान्छेले कुनै पाप गर्दैन ।
त्यो घामजस्तै भयो भने ? थाहै नपाइ ऊ बोल्यो ।
सबैको लागि काम लाग्छ । सबैले पुज्छन् ।
वैशाखको पहिलो साता । पाखाभरि न्याउलीको मीठो गीत गुन्जिरहेको थियो । सयौँ थुङ्गा फूलका बास्नाले सिङ्गो वन मगमगिएको थियो । मच्छिनोको बुटामा कालिजको बच्चाहरू लुकामारी खेल्दै थिए । फुस्रो मैदानमा हरियाली पलाएपछि गाईवस्तुको आँत सित्तल भएको थियो ।
बाँसुरी बजाउन आउँछ ?
आउँछ ।
यी बजाऊ त !
ठूलो ढुङ्गामा बसेर हतार नगरी बाँसुरीमा धुन भर्न थाल्यो । एकछिनपछि केही चराहरू उनीहरुछेऊ झुम्मिए । धुपी सल्लो र गुराँसका हाँगाहरू अचानक भुइँतिर झुके । घर फर्किएका पुतलीहरू बाँसुरी र उसको हातभरि चलमलाउन थाले । लोकमा मधुर सन्नठा छायो ।
यति राम्रो बाँसुरी बजाउन कसले सिकायो ?
परिवारसँग बिछोडिएको बाँसले ।
तिमीलाई यो बाँसुरी कसले दियो ?
हजुरबुवाले ।
आँगनीको डिलमा बसी हरेक साँझ हजुरबुवा बाँसुरी बजाउनुहुन्थ्यो । तर तिमीले झैं मीठो चाहिँ हैन ।
तेरी हजुरआमाले दिएको चिनो हो । कसैलाई नदिनु । दिनै परे त्यसलाई दिनु । जसलाई तँ मनैदेखि माया गर्छेस् । बाँसुरीको धुन ईश्वरको बोली हो । जसलाई छि भन्ने दुनियाँमा कोही हुन्न । अस्ताउनु अघि हजुरबुवाले भनेका थिए ।
मनुज केही बोलेन । बाँसुरीको आफ्नो नयाँ कथा भन्न थाल्यो ।
भोलि मेरो जन्मदिन । के उपहार दिन्छौ ? छुट्ने बेला उसले भनि ।
खै ! उनलाई शिरदेखि पाउसम्म हेर्दै आफ्नो बाटो लाग्यो ।
***
आमा ! मन परेको मान्छेलाई के उपहार दिनुपर्छ ? भन्न खोजेको थियो । तर लाजले बोली फुटेन ।
निद्रा नलागेपछि बार्दलीमा गएर उभियो । बीच आकाशको जूनलाई एकोहोरो हेर्यो । यो जून र उनीमा केही फरक छैन । साँच्ची ! उनको नाउँ के होला ? कस्तो सोध्नै बिर्सेको !
चिल्लो र मीठो कुरा गर्न जान्दिनँ । जान्ने भनेकै बाँसुरी बजाउन । म जन्मेकै बाँसुरी बजाउन मात्र ।
मान्छे जन्मेको एक थोक गर्न । तर अनेक थोक गरेर अनेक रोग पालेर मर्छ । उसले कतै सुनेको थियो ।
उनलाई के उपहार सुहाउला ? सोच्दा सोच्दै त्यही बर्दलिमा निदायो ।
***
भालेको पहिलो गीतसँगै ऊ बजार दौडियो । बजार पुग्न एक घण्टा लाग्थ्यो । उपहार किनेपछि कतै नबिराई घर फर्कियो । बेलैमा स्कूल पुग्नु थियो । उपहार बुझाउनु थियो ।
त्यही साँझ रेडियोले भोलिदेखि पन्ध्र दिन नेपाल बन्दको समाचार फुक्यो ।
फेरि स्कूल जान नपाइने भयो । खिन्न हुँदै ऊ रेडियोसँग रिसायो ।
अर्को दिन दिनभर झरी परिरह्यो । ऊ आफ्नो मनसँग गफिन थाल्यो ।
उनको नाउँ किन सोधिनँ ?
नाउँ नसोधे पनि घर चाहिँ सोध्नुपर्थ्यो !
उनलाई सेतीदेवी मन्दिर थाहा छ । आएपनि त हुने नि !
उनको घर तल बगर पारीको गाउँ हैन ? बगर झर्न सके भेट हुन्थ्यो कि ?
…!
…!
…!
बिदाको पहिलो साता उनलाई सम्झेरै बितायो ।
***
मानेटारम गाउँभरिका तरुण तरुनीहरू जम्मा हुन्थे । घाँस र पत्कारको भारी एकातिर विसाउँथे । अर्कोतिर आफूलाई मन परेको खेल खेल्थे । नाङ्गो चउर हरेक दिन रङ्गी विरङ्गी रुखको मैदान हुन्थ्यो । रात परेपछि फेरि पहिलाजस्तो रित्तो हुन्थ्यो ।
मनुज चिप्लेटी खेल्थ्यो । साथमा चिटिक्क परेको काठको फलेक सधैं बोक्थ्यो । एक्लै खेल्थ्यो । रमाउथ्यो । तरुण तरुनीको भीडमा कहिल्यै मिसिन्नथ्यो । घरमा पनि सानैदेखि एक्लै सुतेको थियो ।
अग्ला र सुरीला रूखहरू खुबै मन पराउँथ्यो । तिनको काँध चढी आकाश छुन खोज्थ्यो । हाँगाको आड लिएर पिङ खेल्थ्यो । उडिरहेका चराहरुलाई बोलाउथ्यो । मन परेको गीत गाउँथ्यो । थाकेपछि त्यही हाँगामा निदाउँथ्यो । कहिलेकाहीँ सल्लोको खोटो लागेर हत्केला काला हुन्थे । कपाल एकै ठाउँ लठ्ठा पर्थे ।
मनुज उनलाई सजिलै भुल्न सक्थ्यो । नौ वर्ष बालक न थियो । तर अहँ ! त्यसो कहिल्यै भएन । उमेरसँगै याद पनि हुर्किन थाले । तरुनो उमेरमा याद झन् तरुनो हुँदै गयो ।
छोडी जानेहरुको चिनो नराखेकै राम्रो । त्यो विष हो । तत्काल ज्यान नलिएपनि घाइते चाहिँ बनाउन छोड्दैन । मन्द विषले जीवनभर पिरोल्छ । कुनैबेलाको आकाश वाणीलाई पल पल बेवास्ता गरिरह्यो ।
बाँसुरी नै उसको परिचय थियो । जसको धुनमा लठ्ठिएर पागल हुनेहरू कैयौँ थिए । पागल भएर कैयौँ सोड्सेनीहरूले प्रेम प्रस्ताव राखेका थिए । ‘मेरो प्रेमलाई स्वीकार गर । नत्र आत्महत्या गर्नेछौं’ भनि धम्की दिनेहरू पनि उत्तिकै थिए ।
‘मेरी प्रेमिका हराएकी छ । सानो छँदाको प्रेमिका हो । यो बाँसुरी उसैको चिनो हो । बाँसुरी रहेसम्म अरु कसैलाई प्रेम गर्न सक्दिन । यसमा गुञ्जने उनको आफ्नै स्वर हो । मैले त केवल सास मात्र दिएको हुँ ।’ बदलामा ऊ भन्ने गर्थ्यो ।
उसमा बुद्धत्वको गुण थियो । घृणा गर्नेहरू कोही थिएनन् । टाढाबाट घृणा गर्नेहरू नभएका हैनन् । केहीले त हत्या गर्ने योजना सम्म बनाएका थिए । ती उसकै सहपाठीहरू थिए । तैपनि छेऊ परेपछि सबै शान्त हुन्थे । केही गर्न सक्दैनथे । खै ! यो कस्तो संयोग !
हप्ता वा महिनाको फरकमा उसको झोलामा एउटा न एउटा चिठी हुन्थ्यो । ती सबै रगतको मसीले लेखिएका हुन्थे । त्यो देख्दा ऊ निकै दुःखी हुन्थ्यो । यति लामो चिठी लेख्ने रगत यिनले कहाँबाट ल्याउँछन् हाँ ! के यो मान्छेकै रगत हो ?
साँच्ची ती रगत मान्छेकै हुन्थे ।
चिठी लेख्नेमध्ये एकदिन एउटीले भनी, ‘तिमी असल ! तर बुद्दु रहेछौ । तिमीलाई के भइरहेछ, त्यो सबै हामीलाई थाहा छ । हामीले, तिमी उसको या मेरो हुनुपर्छ भनेका हैनौँ । रगतको मसीले चिठी लेखेर दुःख दिन चाहेको पनि हैनौँ । कृपया ! आज चाहिँ हाम्रो कुरा ध्यान दिएर सुनिदेऊ ।’
हिमाल हेरेर मोहित नहुने को होला र ? तिमी त्यही हिमाल हौ । फूललाई प्रेम नगर्नेहरू को होलान् ? तिमी त्यही फूल हौ । मलाई त्यसरी नहेर्नु । मेरो काँधमा कोही नचढ्नु, हिमालले कहिल्यै भन्दैन । मलाई नटिप्नु, नछुनु । फूलले कहिल्यै भन्दैन । बरु सबैलाई समभावले हेर्छन् ।
खै ! कसरी वर्णन गरौँ । तिम्रो बाँसुरीमा त्यस्तो के चीज छ ? । त्यो तिमी आफैंलाई थाहा छैन । जसले हाम्रो हरेक पीडाहरू यसरी लुट्छन् कि…!
थाहा छ ? युवतीहरु तिम्रो पछि लागेको देखेर कैयौँ अल्लारेहरू जलेका छन् । तिमीलाई मार्न भनि कैयौँ षड्यन्त्र रचेका रच्छन् पनि । तर अहँ ! केही गर्न सकेनन् । तिमीलाई देख्यो कि षड्यन्त्र कहाँ भाग्छ भाग्छ । तिनीहरू आफैंलाई थाहा हुन्न ।
हामी तिमीलाई निस्वार्थ प्रेम गर्छौँ । यसलाई स्वीकार । तिमी फूल हौ । हामी माहुरी ।
ऊ कलेजको नयाँ छात्र थिई ।
***
केही महिना अघि उनको बिहे भएको थियो । भर्खरै आफ्नो गाउँ फिरेकी थिई । गाउँ छोडेको पनि एघार वर्ष बितेको थियो । ऊ त्यही केटी थिई । जसलाई मनुजले एघार वर्ष अघि मन पर्ने उपहार दिएको थियो ।
अर्कैसँग विवाह किन ? त्यो नलेखौं ।
उनीहरूको कक्षा साँझको थियो । एकदिन घर फिर्दा बाटोमा ऊ हिँक हिँकाउन थाली । त्यो देखेर सँगै हिँडिरहेकी साथीले सोधी, किन रोएकी ? अघि त हाँस्दै हिँडेकी थिइस् त !
म पागल भएकी छु । आश्चर्यमा परेकी छु ।
किन ?
भो ! यी कुरा नगरौँ । बतासले संसार फैलाउँछ ।
मलाई विश्वास गर । कसैलाई भन्दिनँ ।
विश्वास नै विश्वासघात हो ।
नभन्ने भए किन सुनाएकी त ! कथा पूरै सुनाउनु । आधा सुनाए पाप लाग्छ ।
एउटा सर्त छ । मान्छेस् ?
के सर्त ?
तेरो मुखबाट कथा फुत्किएको दिन म धरतीमा रहन्न ।
हाँ…! चकित हुँदै सर्तमा सहमति जनाइ ।
***
एघार वर्षअघि सेतीदेवी प्राविमा ऊसँग भेट भएको थियो । जस्तो अहिले छ, त्यो बेला पनि उस्तै थियो । असल मान्छे सधैँ उस्तै रहन्छन् रे !
प्रायको प्रेम कथा लामो र घतलाग्दो हुन्छन् । तर हाम्रो निकै छोटो । केवल दुई घण्टाको । यो कस्तो संयोग !
ऊ विनाकारण मन परेको मान्छे । मन पराउनु र प्रेम गर्नुमा धेरै कारण हुन्छन् । यस्तो प्रेम कहिल्यै उचाइमा पुग्दैन । वास्तवमा त्यो प्रेम नै हैन । एक अर्काप्रतिको आकर्षण, लोभ र कुण्ठा हो । समयको सदुपयोग गरी, जरूर तिनलाई कुण्ठा पोख्नु छ । कुण्ठा पोखिएको दिन प्रेम पनि सकिन्छ ।
ब्रम्हाण्डमा हर चीजको आयु हुन्छ । तर प्रेमको हुन्न । बूढो भएर नासिने चीजको मात्र आयु हुन्छ । प्रेम न बूढो हुन्छ । न नासिन्छ ।
जोसँग बिहे भयो, उसँग प्रेम छैन । जोसँग भएन, उसँग अनन्त प्रेम छ । त्यही एकदिनको भेटपछि हामी यतिका वर्ष छुट्टियौं । उसले मलाई सम्झ्यो सम्झेन त्यो जरुरी छैन । तर मैले दस वर्षसम्म सम्झिन । बिर्सिएँ ।
धेरैले भन्छन्, जीवन यात्रा हो । तर हैन । जीवन सुन्दर कथा हो । यात्राको निश्चित विन्दु हुन्छ । कथाको हुन्न ।
विचरा ! तेरो यादमा कति तड्पिदो हो ऊ । जे नहुनु थियो भयो । सत्य कुरा भनेर उसको पीडाको तौल त घटाइदे । तँलाई धर्म हुन्छ ।
अहँ ! मेरो चाहना त्यो छैन ।
किन ?
ऊ महान मानिस भएको हेर्ने रहर छ । सामान्य केटीको श्रीमान हैन । मेरो चाहना छ कि, महान मानिसको प्रेमिका भनि मलाई लोकले चिनुन् ।
पीडाले मान्छे महान हुन्छ र ?
अवस्य । विना पीडाको जिन्दगी बाँच्नु बेकार छ । संसार पीडाको मैदानमा फुटबल खेलेकाहरूको इतिहास पढ्छ । सुखमा सुतेकाहरुको हैन ।
एउटा आश्चर्य ! उसले तँलाई चिन्न नसकेको किन ?
चिन्थ्यो । यदि मैले चिउँडोको कोठी नहटाएको भए ।
हाँ…!
पूर्व क्षितिजमा जून मुस्कुराउँदै थियो । त्यही क्षितिजबाट हावाको मैदान हुँदै आएको मधुर बाँसुरीको धुन उनीहरूको कानमा प्रवेश गर्यो ।
बाँसुरी बजाउनु उसको कला हो । तेरो बारेमा थाहा पाउँदैमा बाँसुरी बजाउँदैन भन्ने के प्रमाण छ ?
बचेरा भएपछि भाले पोथी चारो खोज्न टाढा टाढा उड्छन् ।
श्रीमती भएपछि लोग्ने परदेश उड्छ ।
बच्चाबच्ची भएपछि आमाले घर छोड्न सक्दिन ।
प्रेम अन्धो हुँदैन । स्वार्थले प्रेमलाई अन्धो बनाउँछ ।
संसार स्वार्थमा अडिएको छ । स्वार्थ सकिएको दिन संसार सकिन्छ ।
साँझ छिप्पिएपछि उनीहरू छुटे ।
***
एकदिन, सदरमुकाम रेडियोमा मनुजलाई बाँसुरी बजाउन निम्तो आयो । निम्तो स्वीकार गर्यो ।
कति राम्रो बाँसुरी । कहाँ पाउनुभयो ? ढिला नगरी पत्रकारले सोध्यो ।
छोडी जानेको चिनो हो । बाँसुरी हेर्दै मन्द मुस्कुरायो ।
असम्भव ! तपाईंजस्तो मान्छेलाई छोड्ने पनि हुन्छन् र ?
उसले जानेर छोडेकी हैन । सायद कतै टाढा बसाइँ सरी होली । कक्षा दुईमा छँदा हाम्रो भेट भएको थियो ।
दुई कक्षामा प्रेम ! यो दन्त्य कथा भएन र ? पत्याउने कसरी ?
त्यो यस्तो समय हो, प्रेम के हो थाहा हुँदैन । कसैलाई प्रेम गर्छु पनि भनिँदैन । मीठो बोल्न जानिँदैन । बोल्नु जरूरत पनि छैन । तर कोही मान्छे अन्जानमै मन पर्छन् । जसलाई प्रेम गर्छु भनिँदैन । मन पर्छ पनि भनिँदैन । विनाकारण मनमा बसेकाहरू प्रेमि प्रेमिका भन्दा नीकै माथि हुँदा रैछन् । र त यसको कुनै सीमाना हुँदैन । जहाँ सीमाना त्यहाँ धेरै प्रश्न र कारण हुन्छन् ।
उनको खोजी गर्न मन लागेन ?
हामी छुटेको नीकै वर्ष भैसक्यो । रूप रंग बदलिएर उनी पनि अर्कै भइसकिन् । तर उनले चाहिँ चिन्छिन् ।
तर कसरी ?
मेरो मन्द र शान्त आँखा ।
उनलाई केही भन्नु छ ?
छैन । बरु धेरै सम्झेको छु । भन्नु पर्ने कुरा भेट भएको दिन भनौंला ।
ल अब बाँसुरी बजाउनुस् ।
कुनै गायक या गायीकाको गीत नभएर, उसको बाँसुरीमा हिमालको गीत गुञ्जन्थ्यो । पाखा, पखेरा र झरनाले आफ्नो कथा भन्थे । पानी, बादल र आकाशको भलाकुसारी हुन्थ्यो । चरा, जनावर र रुखले जानेको लोककथा सुनाउँथे । र त ऊ अरुभन्दा विशेष थियो । सबैको प्यारो थियो । लोकको पहिलो मान्छे थियो । जसले बाँसुरीबाटै सबैको कथा र गीत गाउँथ्यो ।
***
हिजो तिम्रो अन्तर्वार्ता सुनें नि ! अँगालोमा बाँधिन खोज्दै थिई, तर सकिन ।
तिमी त कति सोझो । छोडी जानेलाई पनि केही भनेनौ । मैले भए जानेको थिएँ । कलेज सकिएपछि ढोकाबाट निस्कँदै उसले भनि ।
म गाली गर्न जान्दिनँ ।
भेट भो भने के गर्छौ ?
एउटा मीठो धुन साँचेर राखेको छु । त्यो सुनाउँछु ।
भेट भएन भनें ?
धरती छोड्ने दिन त्यो धुन संसारलाई सुनाउँछु ।
बिहे गर्छु भनिन् भने ?
मान्दिनँ । बिहेपछि प्रेम मर्छ ।
जबर्जस्ती गर्दै गाली गरिन् भने ?
उनलाई गाली गर्न आउँदैन ।
तिमी जस्तो उनी पनि त्यस्तै हुन्छिन् र ?
प्रेमले सबैलाई एउटै बनाउँछ ।
तिनको मुखबाट के सुन्न चाहन्छौ ?
पहिले मेरो नाउँ बोलाएको । बाँकी अरु कथा ।
उनले बिहे गरेको थाहा पायौ भने ?
उनको इच्छामा मैले केही भन्न मिल्दैन । तर प्रेम उस्तै रहन्छ ।
घर छुट्ने बाटो आयो । भोलि भेट्ने है ।
***
प्रिय मनुज ! प्रेम पहिलो र अन्तिम हुँदैन । प्रेमिका या प्रेमी हुन्छन् । पहिलो प्रेमिकाको एक भूगोल मीठो सम्झना ।
म प्रेमको तीता मीठा शब्द लेख्दिन । ती सब्दको कुनै अर्थ हुन्नन् । लेखिने नभएर प्रेम महसुस र व्यक्त गरिने चीज हो ।
तिमीलाई थाहा छ ? बिहे अघि प्रेमी या प्रेमिकालाई कति धेरै प्रेम पत्र लेख्छन् । भेटमा कति धेरै भावनात्मक कुरा गर्छन् । बिहेपछि पत्र लेख्नु त सपनाको कुरा । भावनाको कुरा सम्म गर्दैनन् । यस्तै छ दुनियाँ । बाहिर प्रेम । भित्र स्वार्थ ।
म सम्झनाका तीता मीठा पल लेख्छु । हामी छुटेपछिको विगत लेख्छु । तिमीबाट किन टाढिएँ ? त्यो लेख्दिन ।
उपहार पाएपछि खुसी हुँदै घर आएँ । खुबै सुम्सुम्याएँ । छाती च्यापेरै मस्त निदाएँ ।
नेपाल बन्द खुलेपछि परिवार काठमाण्डौं हिँड्यो । साथमा उपहार र तिम्रो सम्झना पनि ।
बिस्तारै सहरको रमझमले तिम्रो याद बिर्साउन थाल्यो ।
कोठामा पुरानो दराज थियो । कसैले छुँदैनथ्यो । ऊ प्राय खाली हुन्थ्यो । आकारमा सानो थियो । विगत केही वर्षदेखि डस्बिनमा फालिएको फोहोर जस्तै भएको थियो । तर एकदिन ! किन किन दराज खोल्न मन लाग्यो । खोलेँ । भित्र तिम्रो उपहार रहेछ । जसले ढिला नगरी तिम्रो यादको मैदानमा दौडायो ।
दराज र तिम्रो उपहारसँग निकै दिन रिस उठिरह्यो । अझ दराजसँग त कुरै नगरौँ । जसले मेरो अमूल्य र निस्वार्थ संसार खोसिदियो । ममाथि ठूलो घात गर्यो । लेखिनुपर्ने कथा तोडमोड गरी अर्कै बनाइदियो ।
मेरो व्यक्तिगत कथा केही लेख्दिनँ । तिमीलाई कति सम्झिएँ । कति बिर्सिएँ, त्यो पनि लेख्दिनँ । तिमीलाई कति प्रेम अनि घृणा गर्छु । तिमी कस्तो र कहाँ छौ ? यी यावत थोत्रा कुराहरू केही लेख्दिनँ ।
तिमीलाई एउटा शुभ समाचार सुनाउनु छ । त्यसैले यो पत्र लेखेकी । त्यो पनि रगतको मसीले । मेरो सपना थियो । सच्चा प्रेमीलाई रगतको मसीले पत्र लेख्ने । लेखेर उसलाई नदिने । कतै खुल्ला संसारमा सजाउने । स्वार्थ मनले लेखेको पत्र चाहिँ एक अर्कालाई दिन सुहाउँछ ।
साँच्ची ! तिमीले वर्षभरिलाई पुग्ने उपहार दियौ । त्यो मेरो जीवनको पहिलो उपहार थियो ।
बालुवामा लेखिएको नाम समुद्रको छालले बगाएजस्तै मनमा लेखिएको नाम समयको छालले बगाउँदो रैछ । धन्न, तिम्रो नाम चाहिँ बगाउन पाएन ।
बेसी हुँदै शब्दको थुप्रो पहाड उक्लिसकेँ । अब धेरै लेख्दिनँ । भनिसकेँ, प्रेममा शब्दको के अर्थ छ र ?
तिमीले दिएको उपहारलाई एउटा पार्कमा राखेकी छु । जहाँ हामीले पहिलो पटक घुमेका थियौँ । बचेका केही गुराँस टिपेर शिर सजाएका थियौँ । तिमी गएर हेर्नु । ठाउँको नाम पनि जुराइएको छ ।
अध्यात्म पुनर्जन्म हुन्छ भन्छ । भौतिक हुँदैन भन्छ । कुन सत्य ! कुन असत्य ! मलाई थाहा छैन । यदि अध्यात्म सत्य हो भने, कुनै जन्ममा म तिम्रो काखमा सुस्ताइ जूनेली आकाश हेर्नेछु । त्यही पार्कमा बसी बतासको सुमधुर संगीत सुन्नेछु । अनि एउटा कुरा, तिमीलाई बाबु मन पर्छ कि नानी ? सोध्ने छु ।
अहिलेलाई बिदा ।
***
घरछेउमै भए पनि मनुज सेतीदेवी नगएको आठ वर्ष बितेको थियो ।
सेतीदेवीको फेदमा एउटा ठूलो चौर छ । पहिला सधैँ खुल्ला रहने ठाउँ अहिले बन्द छ । वरिपरि काँडेतार बाँधिएका छन् । बीचमा एउटा ठूलो खम्बा छ । खम्बामा लेखिएको छ,
*रिबन पार्क*
तिमीले,
वर्षभरिलाई पुग्ने रिबन दियौ
मैले,
युगौंयुगलाई पुग्ने रिबन छोडेकी छु
मैले झैं त्यसलाई,
तिमीले पनि सम्हाले है !
– रिबन मैनाली ।
दिएको उपहार रिबन । उनको नाम पनि रिबन ! यो कस्तो संयोग !
खम्बाको फेदमा एउटा सानो सिसाको बक्सा छ । बक्साभित्र बाह्र जोडी रङ्गीन रिबन छन् । जहाँ लेखिएको छ, ‘रिबनमा कैयौँ रङ छन् । तर प्रेममा हुन्न । पानीजस्तै प्रेम पनि रङ्गहीन, गन्धहीन र स्वादशीन हुन्छ ।’
चिठी वाचन भएको भोलिपल्ट मनुज कलेज गएन । मनुज कलेज नगएकै दिन रिबनले कलेज छोडी ।
केही दिनपछि मनुजको बाँसुरी चोरी भयो । बाँसुरी चोरिएपछि देशभर झरी पर्यो । सम्हालिन नसकेपछि मनुजले पार्कमा बसी चुरोट सल्कायो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 








