हरेक सपनाको एउटा उमेर हुन्छ
हरेक उमेरका फरक–फरक सपना हुन्छन्
र, समयमै पूरा भयो भने ठिकै छ
अन्यथा, तिनीहरूको म्याद समाप्त हुन्छ

बाल्यकालमा नयाँ झोलाको सपना
नयाँ जुत्ता पनि आकाशभन्दा कम थिएन
दसैंमा स्कुल ड्रेस पाउनु नै ठूलो सपना
सपनाको चाङ त्यसपछि जागिरको सपना
पैसा कमाउने, घरजम गर्ने

सपनाहरू फेरिइरहे
वर्षहरू बित्दै गए
ठूलो घर, ठूलो कार, विलासिता
सपना बुन्दै भत्किदै गए
बस्, यसैमा अल्झिरहे

जब उमेरले सताउने छ
शरीर पनि भारी हुन थाल्ने छ
सपनाहरू फेरि साना लाग्नेछन्
सानो घर, सानो-सानो खुसी
बस्, हुनेछौं हामी बुढाबुढी

त्यसैले साथीहरू
आफ्नो सपना समयमै पूरा गरौँ
म्याद सकिने प्रतीक्षा नगरौँ
पछि पूरा भइहाल्यो भने पनि
रमाइलो हुने छैन, किनकि
म्याद नाघेको चिजले स्वाद बिगार्छ।